कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राशिज्ञान : नेपालको कि इराकको ?

सौरभ

विवाद
हुन ता इस्वी ३१९ भन्दा पहिले नै रोमकहरूले आविष्कार गरेका र यवनहरूले समर्थन गरेका मेष आदि बाह्र राशिका नाम भारतमा आएका थिए  । तर, भारतीयहरूले ती नाम अलिकति फरक पारेर बदले  ।

राशिज्ञान : नेपालको कि इराकको ?

जस्तै : यमलको मिथुन, अजको मकर, कुम्भबाहक मनुष्यको कुम्भ ।’ –बाबुराम आचार्य, प्राचीन नेपाल, पेज २, २०२६ ।


‘राशि ज्ञान बेबिलोनको हो र जोडियाकको अर्थ यवृत्त हो, ज्योतिषबाट बनेको होइन ।’ –पाण्डुरङ वामन काणे, धर्मशास्त्रका इतिहास, पेज २७९ र २९२, खण्ड ४ ।


‘अंग्रेजी जोडियाक ग्रीक शब्द जोडिकोस हो अर्थात् जनावरबाट बनेको हो ।’ –जोन रथवाम, अ न्यु डेरिभेटिभ एन्ड इटिमलजिकल डिक्सनरी अफ सच इंग्लिस वर्क्स एज ह्याभ देयर अरिजिन इन ग्रीक एन्ड लेटिन ल्यांग्वेजेज, सन् १८३८ ।


यो त्यतिबेलाको पुस्तक हो, जतिबेला आचार्य र काणे जन्मेका थिएनन् ।

आयोनियन ग्रीस
आचार्यको यवन आयोनिया हो, जसलाई अरिस्टोटलले ग्रीस नामले विस्थापित गरे । ग्रीक देवता अपोलोलाई सूर्यदेव मानिन्छ । अर्थात् सूर्यबोधक संस्कृत अलर्कको रूपान्तरण हो— अपोलो ।


डेल्फीमा भविष्यवाणी गरिन्थ्यो । त्यो अत्यन्त प्रख्यात चलन थियो इसाई मतको प्रकोप सुरु हुनुअघि । डेल्फी दलान शब्दबाट बनेको हो । भविष्यवाणी गरिने स्थान समर्पित थियो अपोलोप्रति । त्यस भविष्यवाणीलाई भनिन्थ्यो, सूर्यको प्रकाश अर्थात् पूर्वको ज्योतिष शब्दलाई ग्रीकहरूले सूर्यको ज्योतिका रूपमा लिएको स्पष्टै छ ।


भविष्यवाणी गर्ने व्यक्ति महिला हुन्थिन् । तिनलाई भनिन्थ्यो पाइथिया । यो अजिंगरबोधक ग्रीक शब्द पाइथनबाट बनेको हो । जुन पाइथन मोलुरस मात्रै होइन, कुनै पनि पाइथन ग्रीसमा त छोडिदिऊँ युरोपमै हुँदैन । पाइथन शब्द बनेको हो फणी अर्थात् शिवको काँधमा भएको मानिने गोमन (नाजा नाजा) बाट, जुन युरोपमा हुँदैन ।


तिनको आसन त्रिख्ट्टुी हुन्थ्यो, ॐफलमाथि । यो ॐफल भनेको ढुंगाको जलहरी हो, जसको बीचको प्वालबाट चिसो बाफ आइरहन्थ्यो ।


माथिको दुई वाक्यबाट स्पष्ट छ— पूर्वको जलहरीलाई तिनले उल्ट्याए र त्यसमाथि त्रिखुट्टी राखे । प्वालबाट आउने बाफले त्यो कुरा भनिरहेको छ । ज्ञात होस्, भुइँकटहरजस्तो देखिने ॐफल तिनको संग्रहालयमा आज पनि छ ।


पाइथियाको दुर्बोध्य अर्थात् आफैंले अर्थ लगाउनुपर्ने भविष्यवाणीलाई ओराकल भनिन्थ्यो । ओराकल शब्द बनेको हो— पूर्वको शब्द अड्कलबाट । यसैले ओराकल दुर्बोध्य हुनुको अर्थ तिनले नबुझेको ।

पहिला नै भविष्यका बारे जान्ने ज्ञान रोमनहरू वा ग्रीकहरूसँग थियो भने पाइवादीहरू (प्रोटो इन्डोयुरोपियन भाषाका हिमायती गफीहरू) ले ठान्नेजस्तो किन भविष्यवाणी (फोरकास्ट) स्थान भन्ने शब्द नभएको ?

कृतिका
ओरियन र क्लेप्टो शब्द २८०० वर्षअघिको मानिएको होमरको इलियडमा आएको छ । यो राहु र केतु हो । इलियडको खेफ्लोस पनि केतु हो र ग्रेयोन ग्रहण हो । यसो भएपछि आचार्यले रोमनहरूलाई दिएको श्रेय यसै पनि गलत भएको छ ।


२७०० वर्षअघि बेबिलोनियन ज्योतिषशास्त्रमा अहिले हामीले प्रयोग गरिरहेका राशिचिह्नहरू प्रयोग गरिन्थ्यो भन्ने कुराको खासै प्रमाण छैन । (नेट) नेटले यसो किन भनिरहेको छ, उसको रहे सहेको आधार पनि असुर वाणपालले संग्रह गरेका ‘क्युनेइफर्म’ लिपिको अध्ययनबाट प्राप्त जानकारी मात्र हो । यसर्थ बेबिलोन (उत्तरी इराक) मा केन्द्रित काणेको मन्तव्य पनि सही ठहरिँदैन ।


६ वटा कृतिकाहरूले पालनपोषण गरेकाले शिवपुत्र कुमारको नाम कार्तिकेय भयो, जसलाई षडानन पनि भनिन्छ भन्ने हाम्रो परम्परागत लेखोट छ । यो लेखोट रामायणको हो, जो कम्तीमा ३३०० वर्षपूर्वको देखिन्छ ।


कृतिका नक्षत्र अर्थात् ६ वटा ताराहरूको एक जमात हो । यसलाई ग्रीकहरूले पालिसेडस भन्दछन् । यो पालित.पाली, षडा.सेडसबाट बनेको स्पष्टै छ । फेरि कसरी ग्रीक र बेबिलोनियनहरूले नक्षत्रको ज्ञान स्वयं हासिल गरे ? बुझिनसक्नु छ । यद्यपि कृतिका वेदमै आउँछ ।


(कृतिका शब्द मात्रै होइन, ग्रीक भनिएका अन्य शब्दको बनोटको अवधारणा चीनको दक्षिण युनानको एक वनस्पतिबाट आएको हो भन्ने कुराको व्याख्या गर्दा यहाँ झन्डै १५०० शब्द थप्नुपर्ने हुन्छ ।)

सही अर्थ
योनिवाल हो जनावरको मूलरूप । जसरी अवनिवाल बन्यो ओइनवार शब्द तराईमा । मानिसले ८४ लाख जुनी (योनि) मा जन्म लिइसकेपछि मात्रै फेरि मानिस हुन पाउँछ भन्ने पूर्वीय मान्यता नै छ । अर्थात् भेडाको जुनी, वृषको जुनी भएको मानव जीव भन्ने अर्थमा योनिवाल भन्ने शब्द आयो । यसैले जनावरबोधक ग्रीक शब्द जोडिकोस नै पनि मौलिक ग्रीक होइन ।


र, के भने भेडाको जुनी, वृषको जुनी भएको मानव जीवको मान्यतामा जनावरमूलक राशि ज्ञान स्थापित भयो । हिमालयपार तिब्बत चीनमा पनि जनावर आधारित राशि र वर्षहरू हुने भएकाले पनि जनावर आधारित राशि ज्ञान मध्य एसियायी वा युरोपियन होइन भन्ने टड्कारो छ ।‘जुनोटिक डिजिज’ को अर्थ आज पशुबाट प्रसारित हुने रोग भन्ने लागे पनि मूल अर्थ यौनरोग हो । यसैले जीवन शब्दको मूल यौन हो ।

‘हलिस्टिक’ मानवहरू
चार राशि आफूअनुकूल कान्यकुब्जीहरूले बदले भन्ने मन्तव्य (अक्षर ष : एक उदाहरण, ७ जेठ २०७०, कान्तिपुर) पछि यो कहाँ लेखिएको छ ? भन्ने प्रश्नहरूको ओइरो लाग्यो । केही मित्रहरूले तर्क गरे, हजार वर्ष जतिको मुसलमानी शासनले इन्डियामा रहेका सामग्रीहरू ध्वस्त पार्दा त्यो जानकारी पनि ध्वस्त हुन पुग्यो होला ।


अभिलिखित साक्ष्य (ट्यान्जिबल इभिडेन्स) का आधारमा मात्रै तर्क र निर्क्योलको निर्माण गरेकाले नै मार्क्सवादले फेल खाएको । हलिस्टिक स्कुलका अनुयायी प्रश्नकर्ताले त्यसैतर्फ सोचे हुन्छ । नेपालमा अहिले त्यस स्कुलका दुई शाखा पूर्वीय अनुदारवाद र उदार वामपन्थवाद त्यस्तो अनुसन्धानमा ज्यान फालेर लागेका छन् ।


पंक्तिकार खोक्रो हलिस्टिक स्कुलको अनुयायी होइन र किमार्थ हुने पनि छैन । हलिस्टिक तत्त्व (इलेमेन्ट वा स्रोत) को अस्तित्व छ भन्नेमा मात्रै आधारित छ । तर, तत्त्वहरूको यौगिक (कम्पाउन्ड) बनेपछि त्यसले तत्त्व छँदाको रसायनिक र भौतिक दुवै गुण गुमाएर नयाँ गुण लिन्छ । यो सामान्य विज्ञानको सोझो नियम हो । यौगिक निर्माणभन्दा पहिलेको गुणको स्रोत हुँदैन, छैन ।

बेबिलोनिया र वेद
‘बेबिलोनियन एस्ट्रलजी त्यस विषयको पहिलो सुसंगठित शास्त्र हो, जसको उठान विक्रम पूर्व दोस्रो हजार वर्षमा भयो । यो ३८०० वर्षअघिको कुरा हो, जुन क्युनेइफर्म लिपिबाट ज्ञात हुन्छ ।.... सुरुका पाँच युरोपियन ग्रहहरू बेबिलोनियन देवताहरूको सोपान बराबर यसरी चिनिन्थे— जुपिटर.मार्दुक, भिनस.इस्तार, स्याटर्न.निनुर्ता, मर्करी.नाबु, मार्स.नार्गल ।’

(नेट) एस्ट्रलजी शब्द तारा वा सिताराबाट बन्ने हो । रोमन देवता जुपिटर ऋग्वेदको सूर्यदेवबोधक दायुस पितरबाट बनेको हो भन्ने सर्वज्ञात छ । मार्दुकको साथमा सुनुनु नाम भएको कुकुर हुन्छ । र, यमराजका पनि श्याम र सम्बल नाम भएका कुकुर । यसैले मार्दुक मारा हो । भिनस शब्द वेणुबाट बन्ने विणावादिका सरस्वतीलाई भनिएको हो । यसैले शुद्ध रूप ईश्वरी हो, इस्तार होइन । मर्करी पूर्वको मकर हो, मार्स मारा नै हो । र, नार्गल नर्क हो । अर्थात् बेबिलोनियन क्युनेइफर्मका जानकारीमा कुनै मौलिकता छैन ।


र, वेद बढीमा ३७०० वर्ष पुरानो मानिएको छ । (माइकेल विजेल) तर, वेदमा यति धेरै नक्षत्रहरूको सूची आउँछ, जसले यस शास्त्रमाथिको विकसित ज्ञानलाई प्रस्तुत गर्छ । क्युनेइफर्मभन्दा कान्छो हो भने यति धेरै विकसित ज्ञान हुन सय वर्षमा सम्भव नै छैन ।


र, के पनि भने रोमको स्थापना नै २७०० वर्षअघि भएको मानिएको छ भने उसले ऋग्वेदबाट टिपेको जुपिटरचाहिँ ३८०० वर्षअघिको बेबिलोनियन मार्दुकसँग कसरी दाँजिन सक्छ ? पश्चिमाहरूमा आफूलाई प्राचीनतम देखाउने कसरत उदेक लाग्दै स्तरको छ । यसैले विजेलको कुरा मान्य हुनै सक्दैन ।


नेपालका केही वस्तुहरूको फाइलोजेनेटिक अध्ययनले त्यसको मूल नेपाल नै देखाएकाले र वेदसँग मिल्न गएकाले यहाँ वैदिक प्रसंगहरू उल्लेख गर्नुपरेको हो ।

जन्तर र जनै
हरिणको सिङबीचको चन्द्रमालाई लिएर हरिशचन्द्र भनियो— यस्तो अघिल्लै लेखमा लेखियो । यही चन्द्रमा हो, जसले तिथिको निर्धारण गर्छ । त्यो पात्रोलाई लुनर क्यालेन्डर भनिन्छ । हरिशचन्द्र ऋग्वेदमै छ । छोरा रोहितको एउटा अर्थ हरिण नै हो । पुराणमा आएपछि मात्रै उसकी पत्नी शैब्या देखापर्छिन्, जसको अर्थ शिवानी हो ।


हरिणबोधक हरिश शब्द सम्भवतः एतरेय ब्राह्मणमा आएको छ पर्वतको सम्बन्धमा । र, यो पर्वतले हिमालय र बिन्ध्य संकेत गर्ने कुरा त्यसका विज्ञहरूले गरेका छन् । (मेकडनेल र किथ) यद्यपि बिन्ध्यको अर्थ छैन लेखिसकियो । (पारियात्र र महामेरु, कान्तिपुर) यसरी हरिणको शिरमा बसेको चन्द्रमा यावत् चन्द्रपात्रो (लुनर क्यालेन्डर) को मूल स्रोत हो । त्यसो भएपछि चन्द्रपात्रोमा आधारित कथित जोडियाक रोमन, बेबिलोनियन वा ग्रीक हुन जाने कुरै भएन । यसैले जोडियाकमा जति जनावरहरू आउँछन्, ती शिवलेककै छन् ।


अंग्रेजी शब्द टाइड तिथिबाट बन्ने हो, जब औंसी र पूर्णिमाको समय पारेर ज्वार (एब टाइड) र भाटा (निप टाइड) जलराशिमा चल्दछ । कर्णालीले बनाइदिएको र गण्डकीले विस्तारित गरिदिएको नेपाल सीमापारि २६० किलोमिटर परको गंगा टाइडल रिभर हो, जसको मुख हुग्लीमा ज्वारभाटा चल्दछ ।


हिमालयको शालिग्राम जुन समुद्रको पिँधबाट निस्केको मानिन्छ, त्यो टेथिस सागरको नाम यही तिथिबाट रहेको हो । ग्रीक पुराकथामा इयोस सूर्योदयकी देवी हो, जसको शुद्ध रूप उषा हो । उसको पतिको नाम तिथोनस तिथिबाटै बन्ने हो । ग्रीक पुराकथाका पात्र थेटिस र पेलेयुसको मूल रूप तिथि र पला हो । ग्रीक स्थान नाम थ्रेस, इथाका, चथोनिस पनि तिथिबाटै बन्ने हो । यही तिथि शब्दबाट इथियोपिया बनेको छ, जसको छेउको लालसागरमा भाटा आएका बेला त्यो तरेर मोशे जेरुसालेम लाग्छन् र जहाँबाट जेनेसिससहित ओल्ड टेस्टामेन्टको लेखनीको थालनी हुन्छ ।


पूर्णिमाको उकालोसँगै हरिणको सक्रियता बढ्छ र ओरालोसँगै घट्छ भन्ने मान्यताले हरिणको शिरमा अझ शिवको शिरमा चन्द्रमा विराजमान हुन पुगेको हो, जसलाई ऋग्वेदले उतिबेलै टिप्यो ।


(सुश्रुतसंहिताका टीकाकार अत्रिदेव गुप्तले पनि पूर्णिमासम्म पुग्दा प्रतिदिन एउटा फूलको दरले फूल फुल्दै जाने र औंसीसम्म पुग्दा प्रतिदिन एउटाको दरले फूल झर्दै जाने, सोमलताको कुरा गरेका छन् । तर, यो एक मिथ्या कुरा हो ।)


अब अथर्व वेदले भन्यो– ‘हरिण सिङको जन्तर लगाइन्छ ।’ जड कुरा यहीँ छ । हरिण (अजाक्स अजाक्स) ग्रीसमा हुँदैन । बरु शिवलेक शृंखलामा हुन्छ ।


राशि सूचीमा परेको भेडाको सिङ बजाइन्छ, वृष र मिथुनको गोलोचन र कछुवाको खबटा घरमा राखिन्छ, गंगटो र बिच्छीको अंकुश, बाघ, बँदेल, घडियालको दाँत जन्तरमा प्रयोग गरिन्छ, कथित नागमणि र गजमणिको पनि पूजा हुन्छ, बाघको बाजु पनि पहिरिन्छन्, हात्तीको पुच्छरको रौंको पनि कडा लगाउँछन् । माछा आफैंमा सगुन हो । अर्थात् जनावरमा रहेको शक्तिविशेषको मानव विशेषमा स्थानान्तरणको रूप हो जन्तर, जो स्वयं बनेको हो योनिवालबाट ।


जनैको पहिलो उल्लेख तैतिरीय संहितामा आउँछ– काणेले लेखे । (पेज २१५, खण्ड १) तैतिरीय संहिता लेखनको मूल स्थान पूर्वी मध्यपहाड देखिएको छ पनि । (जुन अर्को लेखमा लेखिने नै छ) अर्थात् जनैको मूल अर्थ अब ‘द्विजन्म’ वा पुनर्संस्कार भन्ने देखिएन । शैव मतको जन्तर पहिरनलाई तैतिरीय संहिता लेखिँदासम्ममा वैष्णव मतको जनैले विस्थापित गरिसकेको देखिन्छ ।


यद्यपि जनैले नाइटो छोएको हुनुपर्छ । नाइटोभन्दा माथि भयो भने आयुक्षय र तल भयो भने यशक्षय हुन्छ (स्मृतिसार) ले स्पष्टै भन्छ— विष्णुको नाइटोबाट निस्केर ब्रह्माको आसनमा पुगेको कमल डाँठको पहिरनबाट जनैको प्रादुर्भाव भयो । जुन कथा बढीमा १६०० वर्षअघिको मानिने पद्म पुराणको हो । कमल नेपालको रैथाने होइन पनि ।


कमल डाँठको पहिरन किन पनि भनिएको हो भने चौथो शताब्दीका कालिदासको शाकुन्तलमै कमलनाल पहिरेको प्रसंग आउँछ । र, छैटौं शताब्दीको हर्षचरितमै पनि कमलका डाँठका रेसाबाट बुनिएको धवलवस्त्रको प्रसंग आउँछ । यसैले कमलको वैज्ञानिक जिनस नेलुम्बो नालुबाट बनेको हो ।

यसर्थ मनसुनकालको श्रावण महिनामा पानी भरिएको पोखरीबाट हुनसम्म माथि उठेर पानी बाहिर निस्केको कमल डाँठ पहिरेर पुनर्संस्कार गर्ने चलन पछिबाट रैथाने भारद्वाजी (थेस्पेसिया लाम्पास) को रेसा पहिरिने, ३ वर्ष फेर्न नपर्ने गरी सुनको, दुई वर्ष फेर्न नपर्ने गरी चाँदीको र एक वर्ष फेर्न नपर्ने गरी तामाको भन्दै जन्तरलाई यसरी विस्मृतिको खाडलमा पछिल्ला कर्मकाण्डीहरूले पुर्‍याइदिए, मानौं जन्तर पहिरिने व्यक्ति पूर्ण संस्कारहीन हो । तिनले जन्तरमा हुने पशु अंगलाई अधिकांश इन्डियामा मात्र पाइने अर्धबहुमूल्य पत्थरले पनि विस्थापित गरे । यसरी किन्दा हीराको भाउ, बेच्दा अदुवाको भाउ हुने वस्तुको व्यापार नेपालमा बढाउँदै लगे । जन्तरमा नश्लवाद वा जातीयतावाद छैन, जति पत्थरमा छ ।


जन्तरको अंग्रेजी समानार्थी, टालिस्मान हो । तिलस्मीबाट टालिस्मान बनेको हो । अरूले जस्तै अरेबिक मूलको ठानेर हुनुपर्छ आप्टेले आफ्नो शब्दसूचीमा तिलस्मीलाई ठाउँ दिएका छैनन् । तर, हाम्रो पहाडमा निधारमा सेतो टाटो भएको गाईगोरुलाई तिल्के र सेतो छिर्बिरे कानयुक्त बाख्रोलाई तिल्कन्ना भन्ने चलन छ । यसैले सेतो थोप्लाहरूले युक्त तिल्के प्राणी हरिणको अस्मी अर्थात् जीवाष्म जन्तर भएकाले तिलस्मी हुन पुगेको स्पष्ट छ ।

यसैबाट नारीहरूले पहिरिने जन्तर तिलंहरी (पशुपति र हरिण सिङ दुवै) भएको हो ।
अब धर्मराज थापाले लेखेजस्तो लमजुङको तिलाहारको अर्थ लहरै सुतेका सुंगुर भन्ने ठहरिएन, हरिण क्षेत्र भयो । र, के भने रैथाने आक्रमणकारी तिलहरीका ठाउँमा प्रतिरक्षात्मक मंगलसूत्रको प्रयोग ठाडै गलत हो भन्ने देखिन्छ । विवाहित नारीको तिलहरी पहिरनले तिनलाई शिवानीमा परिणत गर्छ । काँडेदार तिलहरीको अर्थ हो भुवायुक्त हरिण सिङ ।

दुम्सीका काँडाहरू पहिरिन्छन् नेपाली केटाहरूले व्रतबन्धको अघिल्लो रात र इन्डियनहरूले कुशको घाँस । पद्म पुराण बंगालमा बनेको हो भनिएबाट र बंगाली महिलाहरू जनै लगाउँछन् भन्ने काणेले लेखेबाट जनै यजुर्वैदिक याज्ञवल्कको जनकपुरबाट तैतिरीय संहिताको पूर्वी मध्यपहाडमा उक्लियो भन्ने देखिन्छ । त्यसले दुम्सी विशेष (हिस्ट्रिक्स ब्रास्युरा, न कि इन्डिका) मा आधारित एनिमिजमलाई ध्वस्त पारेको पुष्टि हुन्छ ।


तैतिरीय आरण्यकमा आएको प्रसंगमा जनैसँगै दाहिनेपट्टि हरिणको छाला हुनुपर्छ भन्ने उनको उल्लेखले नै जन्तरलाई जनैले विस्थापित गरिदियो भन्ने पनि स्पष्ट हुन्छ । छेवरकै रूपान्तरण हो छाउपडी– छुवाछूतको थालनी यसरी भयो, जसमा मस्टा पुज्ने पेनेवा भनिने बोन ब्राह्मण–क्षत्रीहरू (गैरजातीय ज्ञानीहरू) अञ्जानमै मिसिन गए ।


र, बिच्छी पनि पूर्वी शिवलेकको फेदमा पाइने हट्टेनटटा टमलस बुझिन्छ, जसलाई इन्डियन रेड स्कर्पियन भनिन्छ, नकि हेटेरोमेट्स कोभारिक वा बाजुराजस्ता उचाइमा देखिने अन्य जातिका बिच्छीहरू ।

भएको र हुनुपर्ने
एरिस/बरुवाल भेडा, जसको बारेमा छुट्टै १२०० शब्दहरू लेख्नुपर्ने हुन जान्छ जुन यहाँ सम्भव छैन ।
टरस/अछामी साँढे, जसलाई जेबुगाई वा बस इन्डिकस अन्तर्गत राखिएको छ । यहाँ लुलुसाँढे भनिएन, किनभने त्यसमा बस टरसको जिन छ ।


जेमिनी/मिथुन गाई– ऋग्वेदमा आउने यम यमीको दाजु बहिनी जोडालाई ग्रीकहरूले जेमिनी पढे । त्यसलाई यौनबोधक मैथुन पढेर पूर्वकाहरूले स्त्री–पुरुष चिह्न प्रयोग गरे । इजिप्टको क्लियोपेट्रा स्वयं ग्रीक मूलकी हुन्, जसको आफ्ना भाइहरूसँग विवाह भएको थियो ।


हुनुपर्ने मिथुन गाई (बस फ्रन्टालिस) हो । यो गौरीगाई (बस गौरस) को उपप्रजाति हो । गाईको मासु खाएबापत कुनै बेला सरकारलाई तिर्नुपर्ने दस्तुर मेकचन यही मिथुनबाट बनेको हो । यो अहिले आसाममा मात्र पाइन्छ । मेचेहरूले यसलाई नाम्बित भन्छन् ।


क्राब/गंगटो– ऋग्वेदको कर्क ग्रीक क्राब हुन गएको स्पष्टै छ । कर्कको अर्थ गंगटो मात्रै होइन, सेतो घोडा पनि हो । तर, संस्कृत साहित्यको श्यामवर्ण अर्थात् सेतो शरीर र कालो कान भएको अरेबिक मूलको हो । यसैले यहाँ कर्कको अर्थ घोडा हुने कुरा आएन । कर्कोटकको अर्थ सर्प हो, तर कर्कोटक टौदह निवासी होइन । अहिलेको मध्य पाकिस्तानी भूभागको हो । यसैले यहाँ गंगटो नै लिनुपर्छ ।


लियो/बाघ– संस्कृतको शार्दूलबाट इन्डियनहरूले सार मात्रै टिपेर सिंह र बाघ दुवैलाई शेर पढ्छन्, ग्रीकहरूले ल मात्रै टिपेर लियो र लाइन बनाए । हुनुपर्ने बाघ हो । विक्रमको १३ सयदेखि ३३ सय वर्षपूर्वको भनिएको सिन्धुघाटी सभ्यतामा पाइएको पशुपति छापमा बाघ नै छ । इन्डियाले महाकालीपारि खडा गरेको शिवलेक केन्द्रित जुलजिकल म्युजियममा ‘साबर टुथ्ड टाइगर’ नै छ सिंह छैन ।


भर्गो/हात्ती– भार्गवी भनेको कन्या हो, त्यही अंग्रेजीमा भर्जिन हुन्छ तर हुनुपर्ने भार्गव अर्थात् हात्ती हो । ग्रीकहरूले भार्गवलाई भार्गवी पढे, त्यसलाई भर्जिनको अर्थ दिएपछि पूर्वकाले कन्या भनेर सारे ।


लिब्रा/तिलित्स (गोनस वा भाइपर)– तराजु ग्रीस मात्रै होइन, युरोपकै होइन । तुला शब्द पहिलोपल्ट यजुर्वेदमा आएको छ, जुन नेपाल तराईमा लेखियो । (हेर्ने तौलको आँखा दर्शन, असहमति) लिब्रा तराजुको बीचको लंगुरबाट बन्न गएको छ, जो पछि लिबर्टीमा बदलियो । हुनुपर्ने तिलित्स अर्थात् भाइपर हो । तिलित्स हुने ठाउँमा नै तुलाको परिकल्पना गरियो, वैद्यहरूले जीवविषको मात्रा मिलाउन तराजुको आविष्कार गरेका हुन् ।


स्कर्पियो/बिच्छी– संस्कृतको ‘श्ची’ टिपेर ग्रीकहरूले स्कर्पियो बनाएका छन् । यद्यपि वृश्चिकको अर्थ सनासो हो । अर्थात् बिच्छी, गंगटो, खजुर, गोब्रेकीरा सबै वृश्चिक हुन् । अहिले बिच्छी नै लिऊँ ।
सागिटारियस/बँदेल– ग्रीक चिह्नमा एउटा घोडारूपी मानवले धनु ताकिरहेको तस्बिर हुन्छ । के घोडारूपी मानव हुन सम्भव छ ?


विक्रमपूर्व ५ सयमा लेखिएको मानिएको भावगत्को १०.२१ मा धेनुकको अर्थ मानवरूपी गधा वा राक्षस भन्ने विवरण आएको छ । धेनुक अर्थात् गधा र धनुको अर्थमा अन्योल हुँदा ग्रीकहरूले त्यस्तो तस्बिर बनाउन पुगेका हुन् ।


इन्डियामा धानुकहरू कपास उधिन्ने धनुरूपी साधन लिएर हिँड्छन् । यसले बुझाउँछ, तिनको सामान बोक्ने प्राचीन सवारीसाधन गधा थियो । त्यसैबाट गधाबोधक धेनुक र गधाको स्वरबोधक ढेंचो आएको बुझिन्छ ।


शताब्दीअघि चितवनमा प्रशस्त वनघोडा हुने गरेको, डेढ शताब्दीअघि दोलखाबाट राजेन्द्रविक्रम शाहले वनघोडा झिकाएको दस्ताबेज रहेको र अहिले मुस्ताङमा दुर्लभ रूपमा पाइने गरेको भए पनि स्थानीय नाम कियाङ रहेकाले यस रैथाने गधालाई संस्कृतको धेनुक मानेर धनुअन्तर्गत नराखिएको कारण भने अर्कै छ । धेनुकको कुनै पनि अवशेष जन्तरमा प्रयोग हुने कुरा पाइएन ।


यसैगरी राशिमा स्याल परेको छैन, कुकुर परेको छैन, बाँदर पनि परेको छैन । तीनवटै उतिबेलैदेखि तिरस्कृत देखिन्छन्, स्यालको सिङको तिलस्मी अर्थ भए पनि । गैंडा परेको छैन खागको तिलस्मी अर्थ भए पनि । सम्भवतः चुरेको निकै तल भएकाले हुनुपर्छ । यद्यपि मोहनजोदारोको पशुपति छापमा हरिण र गैंडा दुवै छन् । धन्विनको अर्थ बँदेल हो ।


क्याप्रिकर्न/घडियाल– भेडा, घडियाल, हात्ती आदिलाई पनि मकर भनिन्छ । यो प्रिमोलर दाँत (मकह्रा) बाट जनावरलाई प्रयोग हुने शब्द हो । (हेर्ने एउटा नलेखिएको लेखोट, असहमति) ग्रीकहरूले यही मकर शब्दलाई टिपेर बाख्रा बुझाउने शब्द टिपे । पूर्वकाले भेडा चिह्न राख्नमा त्यसैको प्रयोग गरे । तर, सुरुमै मेष आइसकेपछि फेरि राशि चिह्नमा भेडा कसरी दोहोरिन्छ ?


अक्वारियस/कछुवा– ग्रीक नामले पानीको भनेर मात्र बुझाइरहेको छ । अक्वारियसको मूल संस्कृत रूप तलको जस्तै अप्सा हो । हुनुपर्ने कछुवा (मेलानेजेनिस ट्रिक्यारिनाटा विशेष) हो भन्ने कुरा तल दिइनेछ ।
पिसेस/सहर माछा– संस्कृतको पानीबोधक अप्सा शब्दबाट अप्सरा (मूल अर्थ जलपरी), औसानी शब्द आउने हुन् । यहाँ ‘अ’ हराएर ‘पसा’ मात्रै बाँकी रहेको छ ग्रीकमा । यसैले माछालाई तिनले पानीको भन्ने अर्थमा लिए । माथिको अक्वारियस पनि अप्साबाटै आएको हो । इसथायलजी (मत्स्यविज्ञान) पनि यही असबाट आउने हो । तर, यो सहर माछा हो भन्ने कुरा तलबाट अनुमान गरिएको छ ।

पत्थरकृत्य
अज अर्थात् अग्नि मान्ने चलन छ । कौलाचारमा चढाइने बोका अग्नि मानेर नै हो । त्यसै भएर यो राशिको पत्थर मुगा बनाउने चलाखी गरिएको छ । शुभ रङ रातो भनेर तोकिएको छ ।


ब्राह्मिनी गाई सेतो हुन्छ । त्यसैले त्यसको पत्थरलाई सेतो हीरा बनाइएको छ ।


मिथुन गाईको अस्तित्वको हेक्कै नभएकाले त्यसको प्रतीक हरियो पन्ना बनाइएको छ । नभन्दै भार्गवलाई भार्गवी पढिएकाले त्यसको रङ पनि हरियो पन्ना भनियो । सहवास र विवाह नगरेका केटाकेटीहरू त्यो बेलामा हरिया रङका हुँदा रहेछन् ? आर.एल. स्टेभेन्सनको उपन्यास ‘ट्रेजरी आइल्यान्ड’ को पात्र हरित मानवजस्तो वा ‘स्टारवार्स’ को हरियो रगत भएको पात्र स्पोकजस्तो ? ढाँटेको कुरा मिल्दैन भनेको यही हो ।


कुम्भ भनेर भाँडाकै कुरा गरिएको हो भने त्यो पकाएपछि रातो हुन्छ । नीलो र कालो कसरी हुन्छ ? यसैले कालो रङको कुम्भक अर्थात् कछुवा छानिएको हो ।


पानीमा हुने भएकाले गंगटो राशिको पत्थर र रङ सेतो बनाइयो । उदाउँदा र अस्ताउँदाको सूर्य रङ सिंह र बाघको रङसँग मिल्ने भएकाले स्वामी सूर्य राखेर शुभ रङ रातो राखियो ।


बाँडाको उपकरण तुला भएकाले सुहाउँदो पत्थर हीरा र सेतो भनियो । तर, हीरा सेतो मात्रै हुँदैन, कालो झनै बहुमूल्य हुन्छ, नीलो र पहेंलो पनि हुन्छन् कुरै गर्ने हो भने ।


वृश्चिकले रातो मुगा लिएकोले रातै बिच्छी राखिएको हो ।


मकरको पत्थर नीलो र रङ कालो राखेबाटै थाहा हुन्छ, यो नीलो जलराशिमा बस्ने कालो रङको प्राणी हो, भेडा वा बोका होइन । मीनको पत्थर अहिले पुष्पराज र शुभ रङ पहेंलो नै मानौं । त्यसो गर्नेबित्तिकै यो सहर माछा हुन पुग्छ, जसलाई सौरी पनि भन्छन् ।


चलाखी कहाँसम्म भने नागमणि र गजमणि भनेर जनावरका अंग प्रयोग गर्ने जन्तरवादीलाई उल्लु बनाउन माणिक, पितराज मणि, सूर्यकान्त मणि, चन्द्रकान्त मणिजस्ता नामहरू पत्थरलाई दिइएको छ । तर, नारी र पुरुष जननेन्द्रियको प्रत्यंग विशेषहरूको नाम मणि नै हुने भएकाले मणि शब्द जैविक नै हो भनेर पुष्टि गर्छ । रैथाने शब्द मुन्टोलाई मुण्ड बनाउँदै मणिमा परिवर्तन गरेछ संस्कृतले नकि उल्टो ।

पुछारमा
ज्योतिषीय मूलक ज्योति शब्दको उत्पत्ति २६०० वर्षअघिको पाणिनीय व्याकरण र यास्कका निरुक्ति आदिमा खोजेर हुँदैन । त्यो ‘र’/हरिण सिङको ज्योति (जुधाइका बेला निस्कने झिल्का) को अर्थमा पनि आएको हो । अर्थात् भौतिक क्रिया (फिजिकल रियाक्सन) को नतिजा हो । र, नै पनि हरिशचन्द्र आएको भने टड्कारै छ । यसैले ज्योतिषमा मृगशिरा शब्दको प्रयोगले यो सबै रहस्यलाई खोल्छ नै ।


माथि लेखियो सहरको मूल रूप सौरी हो । यसो हुनेबित्तिकै माइसेनियन ग्रीकको लिनियर बी लिपिमा पुगिन्छ । र, त्यसपछि विक्रमको ४६०० वर्षपूर्वबाट फेरि पूर्वतर्फ लाग्नुपर्ने हुन्छ ।

प्रकाशित : मंसिर २८, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?