सिपाहीलाई छाउनी, जनतालाई तिंख्यः

टुँडिखेल
कान्तिपुर संवाददाता

आज ‘अकुपाई टुँडिखेल’ (तिंख्यः) ले अतिक्रमित भूमिमा सार्वजनिक पार्क निर्माणको मागलाई स्थापित गरेको छ  । यही माग साढे ६ दशकअघि नेपालभाषाको लेखनमा उठेको थियो  ।

ZenTravel

कुलधर्मरत्न एमए कमर्स, बीएलले ‘थौंकन्हे’ पत्रिका (नेसं १०७१ बछला, वर्ष १, अंक १) मा प्रकाशित ॅसार्वजनिक केब व झीगु स्वास्थ्य’ लेखमा जनताको स्वास्थ्य र सार्वजनिक पार्कलाई एकीकृत मुद्दा बनाएका थिए ।

लेखकले ‘तिनिखेल’ (टुँडिखेल) लाई सार्वजनिक राष्ट्रिय पार्क बनाउनुपर्ने र त्यसबाट देशको शोभा बढाउने मात्रै होइन, देशवासीको फोक्सोलाई सफा गर्ने, आँखालाई उपचार गर्ने र मगजलाई शुद्ध गर्ने तर्क पेस गरेका थिए । उनले नागरिक र सरकारलाई सुझाएका थिए— सेनाका लागि छाउनी र जनताका लागि टुँडिखेल प्रयोग गर्न दिइयो भने देशकै मेरुदण्ड बलियो हुन्छ ।

Meroghar

७ दशकअघि नै तिब्बत, चीन, जापान, अमेरिका, बेलायत र स्विजरल्यान्ड आदि घुमेका र तिबेटन ट्रेड मिसनको दोभाषे भएर एसिया, युरोप र अमेरिका पुगेका कुलधर्मरत्न तुलाधर नेपाल सरकारको सचिवसम्म भएका थिए । ‘बुद्धिजम् एन्ड नेपाल’ का लेखक तुलाधर ९७ वर्ष बाँचेका थिए ।

अहिलेसम्म म जुन जुन देशमा यात्रा गरेको छु, ती सबै मुलुकमा सार्वजनिक उद्यान : पब्लिक पार्क नभएका कुनै ठाउँ नै छैनन् । भारतमा पनि प्रायःजसो सबै सहरमा जनताका पार्क छन् । कहीँ–कहीँ त एउटा सहरमै तीन–चारवटा पार्क पनि छन् । कालिङपोङजस्तो सानो सहरमा समेत जनताको पार्क छ ।
तिब्बतजस्तो चिसो सुक्खा देशमा पनि ठूलठूला उद्यान छन् । त्यहाँ जनताका लागि भन्दै सार्वजनिक पार्क बनाइएको छैन । तर, पनि त्यहाँ विशाल गुम्बा, दरबार वा सरकारका जग्गा–जमिनमा उद्यान बनाइएका छन् । यस्ता उद्यानलाई त्यहाँ ‘लिंका’ भनिन्छ । त्यस्ता लिंकामा आम मानिसहरू गएर जाफत वा पिकनिकसमेत आयोजना गर्नमा कुनै मनाही छैन । वर्षायाममा त नदी किनारमा बसेर नुहाउनु, नजिकका उद्यानमा आराम गर्नु र खानपिन गर्नु त तिब्बतीहरूको एउटा राष्ट्रिय मनोरञ्जन नै रहेछ ।

चीनमा पनि सांघाई, नानकिङ, हाङचाओ आदि सहरका ठाउँ–ठाउँमा दुई तीनवटा पार्क छन् । त्यति मात्रै होइन, ती पार्कका बीचमा पोखरी, डुंगा र बालबालिकाहरू खेल्ने साधन पनि छन् ।

अमेरिकाको न्युयोर्क सेन्ट्रल पार्क त सहरको बीचैमा रहेका सार्वजनिक पार्कमध्ये त संसारकै प्रथम दर्जाको हुनुपर्छ जस्तो लाग्छ । कारण— यो पार्क न्युयोर्क सहरको मध्यभागमै कोसौंकोस लामो हुने गरी बनाइएको छ । यस पार्कमा पोखरी र डुंगा त छन् नै, नानाथरीका जीवजन्तुसमेत राखिएका छन् । ती जीवजन्तुमध्ये तिब्बत र चीनजस्ता टाढा–टाढाका देशका चौँरी गाई (याक) र सेता भालुजस्ता देखिने हाब्रे (पान्डा), उत्तरी ध्रुवको हिउँमा बस्ने भालु (पोलार बियर), समुद्रमा बसेर माछा खाने सिलसमेत पालेर राखिएका छन् । र, पार्कमा घुमफिर गर्दागर्दै भोक–प्यास लागेमा खानपिनका लागि होटल आदिको व्यवस्था पनि गरिएको छ ।

बेलायतको राजधानी लन्डनको हाइड पार्क त प्रसिद्ध ठाउँ नै भयो । यस पार्कमा प्रत्येक आइतबारका दिन मानिसहरूले अरू सबैका सामु आ–आफ्ना राय भाषणका प्रस्तुत गर्ने वा नीति उभिएर सुनाउने अधिकार र चलन छ । क्यु गार्डेन नामक स्थान पनि थरी–थरीका फूल र रूखबिरुवाले भरिपूर्ण निकै विशाल पार्क हो ।

इटालीको राजधानी रोममा पनि ठाउँ–ठाउँमा जनताका लागि सार्वजनिक पार्क बनाइएका छन् । स्विजरल्यान्डलाई त पार्क नै पार्कको देश भने पनि हुन्छ । फ्रान्सको राजधानी पेरिसमा पनि पहिलेका बादशाहहरूका दरबार र उद्यान अचेल जनताका लागि सार्वजनिक पार्कमा फेरिएका छन् । अफसोसको कुरा के भने हाम्रो देश नेपाल प्राकृतिक सुन्दरतामा स्विजरल्यान्डभन्दा सुन्दर भए पनि यहाँ एउटा पनि सार्वजनिक पार्क छैन । यो हाम्रो राष्ट्रको ठूलो भूल मात्रै होइन, बेइज्जती र हानिकारक कुरा पनि हो ।

केवल देश र बाटोघाटोको शोभा बढाउन मात्रै सार्वजनिक पार्क जरुरी भएको होइन, देशमा बसोबास गर्ने मानिसहरूका फोक्सो सफा गर्न, आँखालाई सुन्दर दृश्यले उपचार गर्न र देशवासीलाई बोटबिरुवा, जडीबुटी र फलफूल इत्यादिको ज्ञान दिन पनि आवश्यक भएको हो । त्यसैले प्रत्येक आधुनिक देशमा सकेसम्म धेरै संख्यामा सार्वजनिक पार्क निर्माण गर्दै त्यहाँका देशवासीका लागि बिहान–बेलुका हिँडडुल गर्न र बिदाको दिन त आरामसमेत गर्न, अक्सर जाफत (पिकनिक) समेत गर्न सहज हुनेगरी व्यवस्थापन गरिएको छ । यसबाट मानिसहरूको श्वासप्रश्वासको समस्या समाधान हुँदै स्वास्थ्यमा सुधार ल्याउनमा धेरै मद्दत मिलेको छ ।

अमेरिकामा त हप्तामा पाँच दिन रगत–पसिना बगाएर मिहिनेत गरिसकेपछि दुई दिन बिदामा आराम गर्न अक्सर सार्वजनिक पार्कमै गएर दिन बिताउने चलन छ । यसको कारण हो— अमेरिकामा धेरैजसो अफिस र कारखानामा हप्तामा दुई दिन बिदा दिइन्छ । चीन, भारत, युरोपका विभिन्न देशमा पनि मौसमअनुसार हप्तामा कम्तीमा एक दिन त सार्वजनिक पार्कमा गएर दिन बिताउने गरिन्छ ।

विडम्बना, धूलो उड्ने र फोहोरमैलाले भरिएको हाम्रोजस्तो सहरमा बसेर पनि सातामा एक दिन, त्यसमा पनि एक घण्टाका लागि पनि स्वच्छ हावामा सास फेर्ने सार्वजनिक पार्क छैन । यसले गर्दा हाम्रो स्वास्थ्य, हाम्रो शरीर अत्यन्त नराम्ररी बिग्रिन थालेकोमा हाम्रो होस नै पुगेको छैन । यस्तो परिस्थितिमा हाम्रो देशमा शरीर नै सुकेर जाने रोग ः ट्युबर क्लोसिस वृद्धि हुनुमा आश्चर्यचकित हुने ठाउँ नै छैन ।

‘अड्को–पड्को तेलको धूप’ भनेझैँ आम मानिसका लागि सास फेर्ने ठाउँ भने पनि घुम्ने पनि त्यही तिनिखेल (टुँडिखेल) एउटा हो । यहाँ अक्सर गरी वर्षायाममा मानिसहरूमा साँझ–साँझतिर घुमफिर गर्ने बानी भइसकेको छ । तर, बिहान र दिउँसो भने सिपाही दाजुभाइहरूको कवाज खेल्नुपर्ने भएकाले यो आम मानिसका लागि खुला छैन । यसले गर्दा बिहान–दिउँसो आम जनताका लागि नजिकै गएर हावा खाने ठाउँको अभाव छ ।
तिनिखेल बाटोहरूको पनि मुहान हो । यस्तो मुहानमा सिपाही दाजुभाइहरूको कवाज खेलिरहँदा सबै बाटा बन्द हुन्छन् । र, यस मुहानको बाटो भएर जाने सेक्रेटरियट (सिंहदरबारका मन्त्रालय) जाने कर्मचारीहरूका लागि मात्रै होइन, सबैजसो सर्वसाधारण मानिसका लागि पनि निकै असुविधा छ । त्यसैले सिपाही दाजुभाइहरूका लागि छाउनीमा पल्टन खेल्न जाने व्यवस्था भए बाटो पनि बन्द गर्नुपर्दैन, साथसाथै सिङ्गो तिनिखेललाई नै सेन्ट्रल पार्क वा सहरबीचको सार्वजनिक उद्यान बनाउन पनि सकिन्छ ।

एक जमानादेखि तिनिखेलमा कवाज खेल्ने चलन चले पनि अब त प्रजातान्त्रिक जोस जागृत भएको बेला सबैलाई नागरिक हक प्राप्त भएको छ । यस्तो बेला पुरानै चालचलन चलाइराख्नु हामी सबै नागरिकको पनि ठूलो कमजोरी हो । अब हामीले तिनिखेललाई सिपाही दाजुभाइहरू खेल्ने ठाउँमा सीमित नगरी सम्पूर्ण नागरिक खेल्ने ठाउँ बनाउनुपर्छ र सास फेर्ने फोक्सोरूपी एक विशाल राष्ट्रिय पार्क बनाउने कोसिस गर्नुपर्छ ।

यसो गर्न सकेमा मात्रै यो ‘यो’ (काठमाडौं) का मात्रै होइनन्, ‘यल’ (ललितपुर) र ‘खोप’ (भक्तपुर) का नागरिकले पनि खासगरी बिदाको दिन दिनभरि, र अरू बेला पनि साँझ–बिहान पार्कको सफासुग्धर हावा र दृश्यमा रमाउँदै आफ्नो स्वास्थ्य सुधार गर्ने अवसर पाउँछन् । कारण यो तिनिखेल यी तीनवटै सहरको मुहान वा जंक्सन मात्रै होइन, यो त ‘भुइजःसि’ (बूढानीलकण्ठ), ‘खास्ती’ (बौद्ध) र पशुपति इत्यादि देवस्थल जाने बाटो पनि हो ।

खासगरी यो ठाउँमा राष्ट्रिय पार्क निर्माण गर्न सकियो भने राजधानीलाई नै शोभायमान बनाउन सकिन्छ । किनभने यही ठाउँको सेरोफेरोमा त्रिपुरेश्वर गेस्टहाउस (पाहाँ छेँ), टेलिफोन, घरेलु अड्डा, आकाशवाणी, जेल, परराष्ट्र अड्डा, सिंहदरबार, बिजुलीघर, न्यायालय, शिक्षा सदनजस्ता अड्डा छन् । ‘लुमरी’ (भद्रकाली) र ‘पालादेव’ (संकटा) र महाँकालजस्ता प्रसिद्ध देवस्थल पनि छन् । र, मिलिटरी अस्पतालसँगै आम जनताको अस्पताल, स्कुल–कलेज, घण्टाघर र ‘न्हू पुखू’ (रानी पोखरी) पनि यही तिनिखेलको चारैतिर अवस्थित छन् । यही तिनिखेलमा राम्रा–राम्रा फूल, फल र बोटबिरुवासँगै जडीबुटी आदि रोप्दै एउटा सार्वजनिक पार्कसँगै वनस्पति विद्या प्रसार गर्ने पब्लिक बोटानिकल पार्क बनाउन सकियो भने नेपालको राजधानीको शोभा मात्रै बढ्ने होइन । यति गर्न सकियो भने, माथि उल्लिखित ठाउँमा बस्ने र त्यहाँ आउने मानिसहरूको स्वास्थ्य पनि राम्रो हुने र मस्तिष्कलाई पनि शान्ति दिँदै उनीहरूका कामकारबाहीमा पनि दक्षता र कुशलता वृद्धि हुने तथा वनस्पति विद्या सिक्ने विद्यार्थीहरूलाई समेत मद्दत पुग्नेछ ।

वनस्पति विद्याको प्रचार वा ज्ञानमा राम्ररी वृद्धि हुँदै गयो भने हाम्रा पहाड–र वनमा भएका जडीबुटीको सदुपयोग हुने तथा कम खर्चमा रोग निवारण हुने मात्रै होइन, विदेशमा औषधि–उपचारका लागि जाँदा लाग्ने रकम पनि बच्छ । त्यसमा थप, हामीले राम्ररी काम गर्न सक्यौं भने जडीबुटीबाट औषधि नै बनाई विदेशमा निकासी गर्दै विदेशी मुद्रासमेत भित्र्याउन सक्छौं । अहिलेसम्म हाम्रा जडीबुटी अति नै सस्तोमा विदेशमा निर्यात भइरहेका छन् । हामीले जडीबुटी निकासी गर्नुको सट्टा त्यसबाट औषधि उत्पादन गर्न र औषधि नै निकासी गर्न सकेमा देशलाई धेरै फाइदा हुन्छ र देशमा व्याप्त बेकारी पनि कम हुन्छ । यसबाट अस्पतालमा रहेका रोगीहरूका लागि त अमृत समान काम हुनेछ । यही पार्कमा बालबालिकाका लागि खेल्ने ठाउँ पनि बनाउन सकिए नेपालका बच्चाहरूको स्वास्थ्यमा पनि काफी सुधार आउनेछ ।

यसका साथै ‘न्हू पुखू’ (रानीपोखरी) मा सफासुग्घर गर्दै त्यहाँ डुंगा चलाउने र पौडी खेल्न सिकाउने हो भने, सानो तिनिखेल(तिंख्यः)मा ‘कासा’ (खेल) खेल्ने र खेलाडीहरूलाई खेल खेल्ने मैदान बनाउने एवं खेलका दर्शकहरू बस्नका लागि ठाउँसमेत हुने गरी स्टेडियम बनाउन सकियो भने खेलाडी र दर्शक सबैका लागि शुद्ध हावापानीमा आराम गर्ने र मन बहलाउने साधनसमेत नजिकै उपलब्ध हुनेछ ।

त्यसैले सम्पूर्ण नागरिकले आफ्ना अधिकारप्रति सचेत भएर, ‘न्हू पुखू’ (रानीपोखरी) सफा गर्दै डुंगासमेत चलाउनुपर्ने, पौडी खेल्न सिकाउनुपर्ने, सिंगो तिनिखेलमा राष्ट्रिय पार्क बनाउनुपर्ने र सानो तिनिखेलमा स्टेडियम निर्माण गर्नुपर्ने माग माननीय स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्रीसामु पेस गर्नु जरुरी भएको छ । ‘भोक लाग्यो भने बच्चा नरोएसम्म आमाले समेत दूध खुवाउँदिनन्’ भन्ने कुरा हामीलाई थाहा छँदै छ । त्यसैले हामीलाई आवश्यक पोखरी, पार्क र स्टेडियम नभई भएन भन्दै खासगरी माननीय मन्त्रीलाई, नेपाल सरकारलाई समेत सबै नागरिक एकजुट भएर जोडतोडका साथ आन्दोलन गर्न सकेनौँ भने यी अत्यावश्यक वस्तु आकाशबाट झर्नेवाला छैनन् ।

साथीहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, पुरुष र महिलावृन्द तथा ज्येष्ठ नागरिकहरू सबैलाई मेरो अनुरोध छ— आजभोलि स्थापित नागरिक हकमध्ये सबैभन्दा पहिलो हक नै स्वायत्त शासन (लोकल सेल्फ गभर्नान्स) भएकाले र यस लेखमा लेखेको विषय पनि यही विभागअन्तर्गत भएकाले अलिकति पनि समय नगुमाईकन माथि उल्लिखित तीनवटा वस्तुका लागि छिट्टै माग गरौं । पटक्कै ढिलाइ नगरौं । अब सवाल उठ्छ— सिपाही दाजुभाइहरूले पल्टन कहाँ खेल्ने त ? यस प्रश्नको उत्तर हो— उनीहरूका लागि छाउनी (क्यान्टोनमेन्ट) छँदै छ नि ? साँच्चै भन्दा, आजभोलिका तमाम मुलुकमा, कम्तीमा पनि मैले यात्रा गरेका देशमा मात्रै हेर्दा पनि सिपाही दाजुभाइहरूले कवाज खेल्ने चौर सहरभन्दा अलिक टाढा नै रहेको देखें, सहरभित्र वा सहरको नजिकै रहेको कम मात्रै पाएँ ।

त्यसैले हामीले नारा लगाउनु छ, ‘सिपाहीहरूका लागि खेल्न छाउनी, जनताका लागि खेल्न तिनिखेल पार्क !’ कारण कुनै पनि राष्ट्रको मेरुदण्ड भनेको खालि वीर सिपाहीहरू मात्रै होइनन् । सायद, त्यसभन्दा बेसी मात्रामा त्यस देशका जनताको औसत स्वास्थ्य र स्वच्छ–शुद्ध मस्तिष्कमा त्यो मेरुदण्ड निर्भर छ ।

च्वखामुना’ (नेसं १०७६) बाट
अनुवाद : राजेन्द्र महर्जन

प्रकाशित : मंसिर २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एउटा मूर्तिको आत्मसंस्मरण

कविता
रमेश क्षितिज

कुनै सीमान्तकृत नागरिकजस्तो भएरढुङ्गा थिएँ – म ढुङ्गा जीवनको किनारतिर कतै बगरमा पल्टिरहेको घामको झरी सहिरहेको बेलाबेलामा चल्ने असिनाको हुरी भोगिरहेको

स्थिर थिएँ/जड र अप्रगतिशील थिएँ
मौन थिएँ/लाटो र अवाक थिएँ
झरी पर्थ्यो–पीरो बनाएर जान्थ्यो नाक
हुरी चल्थ्यो–आँखामा खसाएर जान्थ्यो बालुवा
बाढी खस्थ्यो–तड्पाएर जान्थ्यो मेरो आत्मा

त्यो लोकगायक नदी हुन सकिनँ
जससँग थिए हृदय छुने गीतहरु
त्यो आदिकवि सूर्य पनि त हुन सकिनँ
जसले लेख्थ्यो घामका उज्याला पंक्तिहरु
त्यो कलाकार चरा हुन सकिनँ
जसले बनाउँथ्यो आफ्नै सीपले कलात्मक गुँड

टाढा हिँडेको माझीजस्तो बाटो
वा कोमल हृदयजस्तो पग्लिरहेको मेघ
त्यस्तो केही हुन सकिनँ,

बरू एक दिन ईश्वरको अवतार भएँ म, ईश्वर !

जब लग्यो कुनै कलाकारले मलाई
हिर्कायो शरीरका एक–एक विन्दुमा
ताछ्यो पत्र–पत्र छाला र फुटायो पुराना अंगहरु

उता माल्सिरीको मीठो स्वरलहरी गुन्जिँदा
म चिच्याउँथेँ कर्कश आर्तनादले यहाँ,

बिहान हुन्थ्यो
र, पन्छीहरु उड्थे उन्मुक्त आकाशमा
साँझ हुन्थ्यो र
रातो–रातो खुल्दथ्यो सुदूर क्षितिज

म खस्दथेँ– क्षण प्रतिक्षण टुक्रिँदै आफैँबाट यहाँ,
म खप्दथें– छिनो र हथौडा र मार्तोल
म सहन्थें– प्रहार र चोट र दुःख

अनि एउटा शुभ बिहान पाएँ नवीन स्वरुप
र प्रतिष्ठापित भएँ म– अग्लो मन्दिरमा,

अचेल– बेलपत्र/अक्षता/सिन्दूर
अनि घाम/शीत छेक्ने छानो
बस्नलाई आसन र सुँघ्नलाई वासना र हेर्नलाई रङ
सुन्नलाई लयात्मक श्लोकहरु– के छैन मसँग?

एउटा साधारण ढुंगाले ईश्वर बन्नु
किमार्थ एउटै थियो तर रहस्य–
कि मैले पीडाको लामो यात्रा हिँडेको थिएँ !

प्रकाशित : मंसिर २१, २०७६ १०:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×