कुनै सीमान्तकृत नागरिकजस्तो भएरढुङ्गा थिएँ – म ढुङ्गा जीवनको किनारतिर कतै बगरमा पल्टिरहेको घामको झरी सहिरहेको बेलाबेलामा चल्ने असिनाको हुरी भोगिरहेको
स्थिर थिएँ/जड र अप्रगतिशील थिएँ
मौन थिएँ/लाटो र अवाक थिएँ
झरी पर्थ्यो–पीरो बनाएर जान्थ्यो नाक
हुरी चल्थ्यो–आँखामा खसाएर जान्थ्यो बालुवा
बाढी खस्थ्यो–तड्पाएर जान्थ्यो मेरो आत्मा
त्यो लोकगायक नदी हुन सकिनँ
जससँग थिए हृदय छुने गीतहरु
त्यो आदिकवि सूर्य पनि त हुन सकिनँ
जसले लेख्थ्यो घामका उज्याला पंक्तिहरु
त्यो कलाकार चरा हुन सकिनँ
जसले बनाउँथ्यो आफ्नै सीपले कलात्मक गुँड
टाढा हिँडेको माझीजस्तो बाटो
वा कोमल हृदयजस्तो पग्लिरहेको मेघ
त्यस्तो केही हुन सकिनँ,
बरू एक दिन ईश्वरको अवतार भएँ म, ईश्वर !
जब लग्यो कुनै कलाकारले मलाई
हिर्कायो शरीरका एक–एक विन्दुमा
ताछ्यो पत्र–पत्र छाला र फुटायो पुराना अंगहरु
उता माल्सिरीको मीठो स्वरलहरी गुन्जिँदा
म चिच्याउँथेँ कर्कश आर्तनादले यहाँ,
बिहान हुन्थ्यो
र, पन्छीहरु उड्थे उन्मुक्त आकाशमा
साँझ हुन्थ्यो र
रातो–रातो खुल्दथ्यो सुदूर क्षितिज
म खस्दथेँ– क्षण प्रतिक्षण टुक्रिँदै आफैँबाट यहाँ,
म खप्दथें– छिनो र हथौडा र मार्तोल
म सहन्थें– प्रहार र चोट र दुःख
अनि एउटा शुभ बिहान पाएँ नवीन स्वरुप
र प्रतिष्ठापित भएँ म– अग्लो मन्दिरमा,
अचेल– बेलपत्र/अक्षता/सिन्दूर
अनि घाम/शीत छेक्ने छानो
बस्नलाई आसन र सुँघ्नलाई वासना र हेर्नलाई रङ
सुन्नलाई लयात्मक श्लोकहरु– के छैन मसँग ?
एउटा साधारण ढुंगाले ईश्वर बन्नु
किमार्थ एउटै थियो तर रहस्य–
कि मैले पीडाको लामो यात्रा हिँडेको थिएँ !