२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रिप्ले खेल्न पाए हुन्थ्यो

खेल
विनोद पाण्डे

सन् १९९९ को दक्षिण एसियाली खेलकुद  । तत्कालीन समयको साफ गेम्स  ।

रिप्ले खेल्न पाए हुन्थ्यो

नेपालले आयोजना र सफलताको हिसाबमा जितिसकेको थियो, फुटबलको फाइनल र समापनअघि । बाँकी थियो त केवल फुटबलको स्वर्ण पदक, जुन बृहत् खेलकुदमा निकै वजनदार हुन्छ । नेपाल फुटबल फाइनलमा बंगलादेशसँग १–० गोलले पराजित भयो । दशरथ रंगशालाका भरिभराउ दर्शक स्तब्ध भए । निर्दोष अनुहारका वसन्त गौचनले आफूलाई सम्हाल्न सकेनन् । फाइनलमा निकै प्रभावशाली प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा नआएपछि उनी रुन पुगे । २० वर्षअघिको साफ खेलकुदलाई सम्झँदा धेरैले त्यही क्षण सम्झन्छन् । त्यही क्षणबारे नेपाली फुटबल टोलीका मिडफिल्डर गौचनको सम्झना :

आठौं साफ सम्झनेबित्तिकै मलाई दर्शक र फुटबल क्रेजको सम्झना आउँछ । बंगलादेशसँगको फाइनल खेल त कसरी भुल्न सकिएला र ! फाइनलमा हाम्रो आक्रमण पनि थियो । उनीहरूभन्दा हाम्रो टोली राम्रो थियो । घरेलु समर्थन भएकाले हामी आत्मविश्वासी पनि थियौं । क्रसिङदेखि आक्रमण सबै राम्रो भइरहेको थियो । पोस्टमा लक्षित आक्रमणहरू पनि भएका थिए । हरि (खड्का) र नरेश (दाइ) बाट प्रहारहरू पनि भएको थियो । त्योबाहेक अरू आक्रमण पनि भएको थियो । तर, हुनुपर्ने गोल पनि भएन ।

त्यहीमाथि दुर्भाग्य नै भन्नुपर्ला नराम्रो गोल पनि खाइयो । कर्नरबाट क्लियर हुन नसकेको गोल खाएपछि हामी अझ दबाबमा गयौं । हामीलाई दुई गोल फर्काउनुपर्छ भन्ने दबाब आइसकेको थियो । आक्रमण त थियो, जति रणनीतिक हिसाबमा जानुपर्ने थियो, त्यो थिएन भन्ने लाग्छ । सायद अलि बढी आक्रामक भयौं कि जस्तो लाग्यो । भारत सेमिफाइनलमा बंगलादेशसँग हारेपछि नै फुटबलको स्वर्ण पदक हाम्रोजस्तो भइसकेको धेरैले बुझेका थिए, स्वयं खेलाडीले पनि । आत्मविश्वास बढेको एकदम राम्रो हो । हामीलाई पनि जित्छौं नै भन्ने थियो । सोचेअनुसार, खेल पनि भइरहेको थियो । दर्शकको ठूलो साथ थियो । भारत बाहिर भएकोमा हामीलाई खासै नकारात्मक असर परेजस्तो लाग्दैन ।

इंग्लिस प्रशिक्षक स्टेफन कन्सटेनटाइनलाई म आफ्नो जीवनमा बिर्सन सक्दिनँ । रणनीतिक हिसाबमा उनले नेपाली फुटबलमा धेरै परिवर्तन ल्याइदिए । कसरी टिमका हिसाबमा खेल्ने, उहाँले नै सिकाउनुभयो हामीलाई । उहाँ अलि अनुशासन पनि खोज्नुहुन्थ्यो । आधुनिक फुटबल उहाँले नै ल्याउनुभएको हो— नेपाली टोलीमा । उहाँले फाइनल खेलमा लगाउनुभएको दौरा–सुरुवाल पनि एउटा आकर्षण रह्यो । फाइनलमा पुग्यो भने म नेपालको राष्ट्रिय पोसाक लगाएर प्रशिक्षण गर्छु भन्नुभएको थियो । फाइनल खेल्नुअघि उहाँ दौरा–सुरुवाल र भादगाउँले टोपी लगाएर होटलमा आउँदा हामी त अचम्मै परेका थियौं । विदेशी मान्छेलाई पहिलोपटक त्यस्तो देख्दा एकदमै नौलो लागेको थियो । उहाँलाई देखेर हामी हाँसेका पनि थियौं । उहाँको पोसाकले पनि मैदानको माहोल तातेको होजस्तो लाग्छ । एउटा विदेशीको हाम्रो देशप्रतिको माया थियो त्यो । दर्शकदीर्घामा पनि त्यसले निकै प्रभाव पारेजस्तो लाग्छ । हामी कमै लगाउँथ्यौं दौरा–सुरुआल । त्यो साफको बेलाचाहिँ लगाएका थियौं ।

अन्तिम १०–१५ मिनेटको खेल बाँकी रहँदा दबाब झन् बढेको थियो, हतासजस्तो पनि देखियौं होला । जसरी पनि बल अगाडि हान्नुपर्छ भन्ने मात्र भयो । त्यसले गर्दा मिस पास पनि भएको थियो । पासहरू भनेको ठाउँमा गएको थिएन । हामी अलिक स्पिडी भइरहेका थियौं । उनीहरूचाहिँ जसरी हुन्छ, बल क्लियरेन्स गर्ने र काउन्टर एट्याकमा खेलिरहेका थिए । हाम्रो रणनीति क्रसिङमा थियो, त्यो पनि राइट साइडबाट भएकाले मैले निरन्तर क्रस गरिरहेको थिएँ । ग्रान्ड क्रस पनि गरेको थिएँ । अभ्यासमा हामीले क्रसमा राम्रो गरेको थियौं । फाइनल अघि त्यो सबै सफल पनि भइरहेको थियो । हामीमा युवा जोस थियो । म विश्वस्त थिएँ एउटालाई काटेर लगेर क्रस गर्छु भन्नेमा । हुन पनि त्यही नै भइरहेको थियो । हाम्रो त्यो क्रस गर्ने योजना सफल पनि भएको हो र हामीले फाइनलमा त्यसैलाई जोड दिइरहेका थियौं ।

रेफ्रीले खेल सकिएको ह्विसल बजाएपछि मैले त केही पनि देखिनँ । पूरै अन्धकारमा छुजस्तो भएँ । स्तब्ध नै थिएँ । नसोचेको परिणाम भोग्नुपर्‍यो भन्ने लाग्यो । फाइनल जितिन्छ भन्नेमा विश्वस्त भएकाले होला हामीलाई त्यो नतिजा स्विकार्न गाह्रो भइरहेको थियो । मैदानभित्र व्यापक दर्शक थिए । देशभरिबाट हामीलाई ठूलो समर्थन थियो । देशमा भएको यत्रो ठूलो खेल र यत्रो माया पाएका बेला पनि हामीले दर्शकलाई खुसी दिन सकेनौंजस्तो लागिरह्यो । म पूरै भावुक भएँ । मेरो आँसु नरोकिनुको कारण त्यही होला । हामीले यति माया र समर्थन पाएका थियौं, त्यसलाई हामीले उपयोग गर्न सकेनौं । राष्ट्रले गरेको यत्रो मिहिनेतमा हामीले नतिजा दिन सकेनौं भन्ने लागिरह्यो । रंगशाला पूरै शून्य भएको थियो ।

त्यहीँबाट दर्शकले हामीलाई कति माया र समर्थन गर्नुभएको रहेछ, थाहा पायौं । दर्शकलाई खुसी पार्न सकिएन भन्नेचाहिँ मेरो मनमा रहिरह्यो । म भावविह्वल हुनुको कारण पनि त्यही थियो । ड्रेसिङ रुम फर्किंदा सबै कोही कता, कोही कता बसेर रोइरहेका थिए । एकान्तमा बसेर फ्रेस हुन खोजिरहेको थिएँ म । तर, प्रशिक्षक कन्सटेनटाइन आफैँ रोइरहेका थिए । त्यो रात सुत्नै सकिनँ । जुनैबेला त्यही खेल याद आउँथ्यो । फेरि त्यो खेल रिप्ले खेल्न पाएहुन्थ्योजस्तो लागिरहेको थियो । त्यो रात मात्रै होइन, मलाई धेरै रात सुत्न गाह्रो भयो । हामीले अझै मिहिनेत गर्नुपर्छ भन्ने त्यो खेलले सिकाएको थियो । त्यसपछि देशका लागि अझै केही गरौं भन्ने आयो ।

आठौं साफको त्यो फाइनल सम्झँदा मलाई अहिले पनि फेरि त्यही खेल खेलौंजस्तो लाग्छ । त्यसैले म अहिले पनि फुटबलमै छु, जहाँ बसे पनि । फाइनल हारे पनि रजत नै सही त्यसको महत्त्व मेरा लागि ठूलो छ । स्वर्ण जित्न नसके पनि मेरा लागि त्यो स्वर्ण समय थियो ।

प्रकाशित : मंसिर २१, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?