कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतको अशुद्ध उच्चारण

भाषा

संस्कृत विश्वको सबभन्दा धनी भाषा हो  । संस्कृत मात्र विश्वको त्यस्तो भाषा हो, जसमा ऋग्वेद (इपू. १५००–१२००) देखि आज सम्म झन्डै साढे तीन हजार वर्ष सम्म अटुट रूपमा ग्रन्थहरू लेखिएका भेटिन्छन्  ।

संस्कृतको अशुद्ध उच्चारण

पाणिनि (इपू. चौथो शताब्दी) ले लेखेको संस्कृत भाषाको व्याकरण (अष्टाध्यायी सूत्रपाठ) मा झन्डै ४००० ओटा बीजगणितीय सूत्रहरूले ऋग्वेददेखि आज सम्म लेखिने संस्कृत भाषाका नियमहरू समेटेको छ । कम्प्युटरको प्रोग्रामिङमा पाणिनिको त्यो व्याकरण सबभन्दा सजिलो सिद्ध भएको छ । त्यो व्याकरण जत्तिको यान्त्रिक व्याकरण आजको कम्प्युटरको युगमा पनि सम्पूर्ण प्राविधिक साधनले सुसज्जित आधुनिक युगका पाणिनि मानिने एमआइटीका प्राध्यापक मेरा गुरु चोम्स्कीले पनि अङ्ग्रेजी लगायत विश्वको अरु कुनै भाषाको व्याकरण बनाउन सकेका छैनन् । त्यो काम कम्प्युटरले पनि गर्न सक्छ कि सक्तैन, थाहा छैन ।

पाणिनिले आफ्नो व्याकरणको सुरुमै संस्कृत भाषाको वर्णमाला ‘अइउण्’, ‘ऋलृक्’, आदि चौध ओटा सूत्रका आधारमा दिएका छन् । समग्र भाषाको शब्द निर्माणमा उपयोग गरिने वर्ण परिवर्तनका नियमहरू कम्प्युटरैले बुझ्ने गरी पाणिनिले बनाएको संस्कृतको त्यो वर्णमालासँग एक छेउ मात्र पनि विश्वको कुनै भाषाको व्याकरणमा पाइने वर्णमालाले होड गर्न सक्तैन । अष्टाध्यायीमा वर्णहरू एकातिर शब्द निर्माणमा लाग्ने वर्ण परिवर्तनका नियमहरूसित यान्त्रिक रूपमा उपयोग हुने गरी अनि अर्कातिर ध्वनि वैज्ञानिक (फोनेटिक) कसीमा पनि ठ्याक्क मिल्ने गरी सजाइएका छन् ।

संस्कृत व्याकरण परम्परामा दुई किसिमका वर्णमाला छन् । (क) पाणिनिको संस्कृत वर्णमालामा वर्ण वैज्ञानिक (फोनिमिक) दृष्टिले आदर्श रूपमा वर्णहरू सजाइएको छ भने, (ख) ध्वनि वैज्ञानिक (फोनेटिक) रूपले संस्कृत भाषाका वर्णहरूलाई आदर्श रूपमा सजाइएको संस्कृत भाषाको अर्को वर्णमाला छ, जसलाई नेपालीहरू ‘नेपाली वर्णमाला’ भनेर चिन्छन् । संस्कृतका व्यञ्जन वर्णहरू सजाउने यो दोस्रो खालको वर्णमाला चाहिँ सबभन्दा पहिले ऋग्वेद प्रातिशाख्य र वाजसनेयी प्रातिशाख्य (इपू पाँचौँ शताब्दी) मा पाइएको हो ।

लन्डनको गुरुकुलका भाषा वैज्ञानिक फर्थ (१९३४ इ, ‘द वर्ड ‘फोनिम’) लेख्तछन्, भारतीय व्याकरणकार र ध्वनि वैज्ञानिकहरूको (विलियम) जोन्स (१७८६ इ) ले दिएको सूचना विना हाम्रो युरोपको १९ औँ शताब्दीको ध्वनि विज्ञानका गुरुकुलको कल्पना गर्नु पनि गारो छ (माधव पोखरेल, २०५४, ‘ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय’, पृ. १५) । प्राध्यापक फर्थले सङ्केत गरेको ध्वनि विज्ञान चाहिँ पाणिनिको होइन, प्रातिशाख्यहरूको हो ।

पश्चिममा ध्वनि विज्ञानको जन्म १९ औँ शताब्दीको उत्तरार्धमा लन्डनकै गुरुकुलमा भएको हो । विश्वको जुनसुकै भाषा सिक्न र सिकाउन त्यस भाषाको शुद्ध उच्चारण नसिकी र नसिकाई हुँदैन । त्यो काम लन्डनमा हेन्री स्विट (१८७० इ) र डेनियल जोन्स (१९१८ इ) ले थाले । आज संसारभरका भाषाहरूको शुद्ध उच्चारण लेख्न जुन अन्तरराष्ट्रिय ध्वनि वैज्ञानिक वर्णमाला प्रयोग गरिन्छ, त्यो लन्डनको गुरुकुलकै पल पासी (१८८९ इ) ले बनाएका हुन्, तर फर्थले भने झैँ, लन्डनको गुरुकुलका भाषा वैज्ञानिकहरूले वैदिक प्रातिशाख्य पढ्न नपाएका भए, पश्चिममा ध्वनि विज्ञानको जन्म हुने कल्पनै गर्न सकिने थिएन, तर हामी माल पाएर चाल पाउँदैनौँ । भारतीय उपमहाद्वीपको कुनै पनि संस्कृत विद्यालयमा प्रातिशाख्य (ऋग्वेद प्रातिशाख्य, तैत्तिरीय प्रातिशाख्य, वाजसनेयी प्रातिशाख्य, ऋक्तन्त्र व्याकरण, अथर्व प्रातिशाख्य र शिक्षा ग्रन्थहरू) पढाइँदैन, अर्थात्, संस्कृतको शुद्ध, आदर्श र मानक उच्चारण नै सिकाइँदैन । यस मूर्खताको परिणाम के भएको छ भने, उपमहाद्वीपभरिका संस्कृतका तथाकथित पण्डितहरूले आफ्नो आफ्नै मातृभाषाका वर्णमाला प्रयोग गरेर त्यसैलाई संस्कृतको शुद्ध उच्चारण मान्नु पर्ने दुर्भाग्यको रूढि व्याप्त छ ।

असमियाँ पण्डितहरूले दिएको आसिक नलिनु भन्ने आहानै छ, किन भने असमियाँ पण्डितहरू पनि ‘शुद्ध संस्कृत’ आफ्नै मातृभाषाका वर्ण प्रयोग गरेर बोल्छन् । असमियाँ भाषामा संस्कृतको ‘चार’ को उच्चारण ‘सार’ हुन्छ, ‘सार’ को उच्चारण अघोष ‘हार’ हुन्छ, अनि ‘हार’ को घोष उच्चारण पनि हुन्छ । असमिया ऐतिहासिक वर्ण व्याकरणको यस विशेषताले गर्दा पुरोहितहरूले ‘शतायु भव’ (सय वर्ष बाँचेस्) भन्नु छ भने, ‘हतायु भव’ (ठहरै मरेस्) भन्दछन् । असमियाँकै जस्तो यो उपमहाद्वीपभरि संस्कृतको मनपरी उच्चारणलाई शुद्ध मानिई रहेको छ । उपमहाद्वीपका संस्कृत विश्व विद्यालयहरूले सामूहिक गोष्ठी गरेर संस्कृतको मानक उच्चारण ठेगान लगाउनु पर्ने छ र त्यही आदर्श उच्चारण उपमहाद्वीपभरिका विद्यालय, विश्व विद्यालय र गुरुकुलहरूमा कडाइसँग लागु गर्नु पर्छ ।

संस्कृतको मनपरी उच्चारणको ‘भाँडभैलो’ नेपालीका केही उदाहरणबाट प्रस्ट पार्न सकिन्छ ।

(१) ‘विश्व’ शब्दमा एउटै ‘व’ को दुई खाले उच्चारण (जस्तै, ‘बिस्व’) पाइन्छ । ‘सिद्धान्तकौमुदी’ को सुरु (संज्ञाप्रकरण) मै संस्कृतको कुन वर्णको कसरी उच्चारण गर्ने भन्ने सिकाइएको छ । यो उच्चारण धेरैजसो ‘पाणिनीय शिक्षा’ मा आधारित छ । संस्कृतको वकारको उच्चारणका लागि त्यहाँ ‘वकारस्य दन्तोष्ठ्यम्’ (अर्थात्, संस्कृतको ‘व’ को उच्चारण गर्दा तल्लो ओठ माथ्लो दाँतको नजिक पु‍र्‍याउनु पर्छ) लेखिएको छ । वैदिक गुरुकुलीय शिक्षाको एउटा मुख्य विधि के हो भने, विद्यार्थीले गुरुले सिकाएको जुनसुकै पाठ घोकेर कण्ठस्थ पार्नै पर्छ । त्यस अनुसार संस्कृतको जुनसुकै आदर्श विद्यार्थीलाई ‘वकारस्य दन्तोष्ठ्यम्’ कण्ठस्थ हुन्छ, तर संस्कृतको कुनै गुरुले पनि कुनै चेलाले पनि ‘विश्व’ शब्दमा एउटै वकारको दुई खाले उच्चारण भएको र त्यो उच्चारण पनि तल्लो ओठ माथ्लो दाँत नजिकै पु‍र्‍याएर होइन, (क) व्यञ्जनको दाहिने तिर भए (स्वाद, स्वस्ति, क्वचित्, व्याप्त) माथ्लो ओठसँग नछुवाएर, (ख) अन्यत्र भए (कवि, विद्या, भाव, भागवत) ओठै छुवाएर (स्पर्श) पो उच्चारण गरिँदै छ भन्ने कुरो मनन गरेकै देखिँदैन र रूढि चली रहेको छ ।

संस्कृत भाषामा निम्न लिखित शब्दका जोडामा वर्णहरूको फरक फरक उच्चारण गर्नु पर्छ भन्ने कुरो वैज्ञानिक ढङ्गले प्रातिशाख्य र शिक्षा ग्रन्थहरूमा सिकाइएको छ, तर उपमहाद्वीपभरि संस्कृत सिकाउँदा, पढ्दा र बोल्दा माल पाएर चाल नपाउने बेथिति कायमै छ :
(२) ‘कश’ (कोर्रा), ‘कष’ (कसी) र ‘कस’ (फक्रेको) ।

(३) सुर ‘देउता’, सूर ‘सूर्य’ ।
(४) बल् ‘पुग्नु’, वल् ‘सास फेर्नु’ ।
उपमहाद्वीपभरि संस्कृत भाषाको शैक्षिक परम्परामा संस्कृत भाषाको उच्चारणमा मनपरी चली रहेको छ भन्ने अरु उदाहरण यस्ता छन् :
(५) हिन्दी भाषीहरू ‘ङ’ को उच्चारण ‘गँ’ गर्छन् ।

(६) ‘ञ’ को उच्चारण नेपालमा ‘यँ’ गर्छन्, सिन्धीहरू मात्र तालव्य ‘ञ’ गर्छन् ।

(७) ‘च, छ, ज, झ’ उच्चारण उत्तर तिर (नेपालमै पनि) ‘य’ उच्चारण हुने ठाउँ (तालु) मा जिब्रो पु‍र्‍याएर होइन, माथिल्ला दाँतको नजिकै (दन्तमूल) छुवाएर गरिन्छ ।

(८) ‘ट, ठ, ड, ढ, ण’ को उच्चारण गर्दा ‘घोडा’ शब्दको ‘ड’ को उच्चारणमा जिब्राको टुप्पो पछिल्तिर फर्काएर (मूर्धन्य) उच्चारण गरे जस्तो नगरेर माथिल्लो दाँतको नजिकै (दन्तमूल) जिब्राको धार छुवाएर गरिन्छ ।

(९) ‘न’ को उच्चारण गर्दा जिब्राको टुप्पाले दँत नछोए पनि (दन्त्य) त्यसलाई ‘त, थ, द, ध’ जस्तो ‘दन्तस्थानी’ भन्ने चलन छ ।
(१०) ‘य’ को उच्चारण शब्दको सुरुमा मैथिल पण्डितहरूले ‘ज्य’ अथवा ‘ज’ भनेर पढाउँछन् ।
(११) ‘र’ को उच्चारण स्थान संस्कृतमा (‘घोडा’ को ‘ड’ जस्तै) मूर्धन्य हुनु पर्ने हो, तर ‘दाँत’ को नजिकै (दन्तमूलीय) छुवाएर गरिन्छ ।
(१२) दाँतै नछोई (दन्तमूलीय) उच्चारण गरे पनि ‘ल’ लाई ‘दन्त्य’ (दाँत छोएर उच्चारण हुने) ध्वनि भन्ने
चलन छ ।
(१३) बङ्गाल र उडिस्सामा तिनै किसिमका सकार (श, ष, स) लाई ‘तालव्य’ (‘य’ को उच्चारणमा झैँ तालु नजिकै जिब्राको बिच पु‍र्‍याएर) उच्चारण गरिन्छ भने, अन्यत्र चाहिँ नेपालीमा जस्तै माथ्लो दाँत पछाडि जिब्राको टुप्पाको माथ्ला पट्टि नजिक पु‍र्‍याएर (दन्तमूलीय) उच्चारण गरिन्छ ।
(१४) ‘क्ष’ को उच्चारण महाराष्ट्र, उडिस्सा, गुजरात र आन्ध्र प्रदेशमा स्वर पछाडि ‘क्स’ हुन्छ, तर नेपाल र उत्तर भारतमा ‘क्छ्य’ (जस्तै, कक्षा), ‘छ्य’ (क्षार), ‘छ’
(क्षेत्रीय) हुन्छ ।
(१५) ‘ज्ञ’ को उच्चारण महाराष्ट्र, गुजरात, उडिस्सा र आन्ध्र प्रदेशमा ‘न्य’ हुन्छ, तर नेपाल र उत्तर भारतमा ‘ग्यँ’ हुन्छ ।
(१६) इकार र उकारको ह्रस्व दीर्घ दक्षिण भारतमा ‘तमिल, तेलुगु, कन्नड र मलयालम’ भाषाका वक्ताले मात्र छुट्याउँछन्, नत्र नेपाल र उत्तर भारतमा कतै पनि संस्कृतको उच्चारण गर्दा स्वरको लम्बाइ छुट्टिने गरी ‘ढिलो’ (दीर्घ) र ‘छिटो’ उच्चारण गरिँदैन । यसको परिणाम के हुन्छ भने, संस्कृतमा इकार उकारको ह्रस्व दीर्घ उच्चारणको फरकले अर्थमै फरक पर्छ भन्ने हेक्का नराखेर नेपाल र उत्तर भारतमा ‘मैले सीतासित भात खाएँ’ (मया सीतया सह ओदनं खादितम्) भन्न खोज्दा ‘मैले चिनीसँग भात खाएँ’ (मया सितया सह ओदनं खादितम्) भनेर सिकाउने चलन छ ।

(१७) वेद पढ्दा पनि स्वरको उच्चारणमा ‘उदात्त, अनुदात्त, स्वरित’ कसरी पढ्ने भन्ने कुरामा उत्तर र दक्षिणका पण्डित एकनासको उच्चारण गर्दैनन् ।
(१८) ‘ऋ’ को उच्चारण महाराष्ट्र, उडिस्सा, गुजरात र आन्ध्र प्रदेशमा ‘रु’ (जस्तै ‘ऋतु’ लाई ‘रुतु’), उत्तर पश्चिम भारतमा ‘र’ (जस्तै, ‘रतु’) भने अन्यत्र ‘रि’ (जस्तै, ‘रितु’) हुन्छ ।

(१९) नेपाली वर्णमालाका किताबमा ‘लृ’ को पनि ह्रस्व दीर्घ छुट्ट्याइएको समेत पाइन्छ, तर संस्कृत भाषामा ‘लृ’ को दीर्घ नै हुँदैन (‘लृ’ वर्णस्य दीर्घो नास्ति) भनेर पाणिनिले (र शिक्षा ग्रन्थहरूले) नै लेखेका छन् । नेपाली भाषामा दीर्घ ‘ऋ’ भएको संस्कृत भाषाको एउटै शब्द पनि प्रयोग हुँदैन, तर हाम्रो सावाँ अक्षर चिनाउने परम्पराले कुनै पनि नेपाली कोशमै नभएको दीर्घ ‘ऋ’ पनि पढाई रहेकै छ । समस्त संस्कृत वाङ्मयमा ‘लृ’ को प्रयोग भएको एउटा मात्र शब्द ‘क्लृप्त’ (कल्पना गरिएको) छ भन्ने कुरो हिृवट्नी (१८८० इ, ‘संस्कृत ग्रामर’) ले उनको संस्कृत व्याकरणका किताबमा लेखेका छन् । त्यो ‘क्लृप्त’ शब्द पनि नेपाली कोशहरूमा पर्दैन । नेपाली कोश मात्र होइन, त्यो शब्द संस्कृतकै कोशमा पनि पाइनु पर्ने होइन । अर्को कुरो, संस्कृत वर्णमालामा ‘ऋ’ र ‘लृ’ लाई फरक फरक वर्ण मानिएको त पाइन्छ, तर वर्ण व्याकरणको सिद्धान्त अनुसार संस्कृत भाषामा ‘ऋ’ र ‘लृ’ लाई छुट्टै वर्ण प्रमाणित गर्न सकिँदैन । यसको कारण के हो भने, संस्कृत भाषामा ‘ऋ’ र ‘लृ’ को लघुतम युग्म नै बन्दैन, जस्तै,
अ. ‘कृप्’ धातुको अर्थ पनि ‘कल्पना गर्नु’ हो भने,
आ. ‘क्लृप्’ धातुको अर्थ पनि ‘कल्पना गर्नु’ नै हो ।
अर्थात्, संस्कृत भाषाका यी एक जोडी धातुमा उच्चारणको फरक हेर्दा यो जोडी ‘ऋ’ र ‘लृ’ छुट्याउने लघुतम युग्म नै हो कि जस्तो लाग्न सक्छ, तर उच्चारणमा फरक भए पनि यी दुइटै धातुको एउटै अर्थ (कल्पना गर्नु) भएकाले, अर्थात्, उच्चारणमा पनि अर्थमा पनि फरक नपरेकाले धातुको यस जोडीले संस्कृत भाषामा ‘ऋ’ र ‘लृ’ फरक फरक वर्ण सिद्ध गर्न सक्तैन, त्यसैले व्याकरणकार कात्यायनले ‘कृप्’ धातु भने पनि ‘क्लृप्’ धातु भने पनि अर्थमा फरक नपर्ने हुनाले संस्कृत भाषामा ‘लृ’ को कामै छैन भन्ने ठानेका छन् (चारुदेव शास्त्री, सं०, ‘व्याकरण महाभाष्य’)।
हाम्रो वर्णमालामा भएका ‘ऋ’ र ‘लृ’ संस्कृत भाषाका आक्षरिक व्यञ्जन (सिलेबिक कन्सोन्यान्ट) हुन् । अगाडि पछाडि कुनै स्वर नै नराखी संस्कृत भाषामा (ऋ) र ‘लृ’ वर्णको ऊच्चारण गर्न सकिन्थ्यो, जस्तै,

क. ऋतु (र्.तु), कृति (र्त्र्.ति), पितृ (पि.त्र्)
ख. क्लृप्त –क्ल्प्.त) ‘कल्पना गरिएको

वैदिक कालमा जुन वेला संस्कृत भाषा मातृभाषाका रूपमा बोलिन्थ्यो, त्यस वेला यी आक्षरिक व्यञ्जन ‘ऋ’ र ‘लृ’ को उच्चारण अगाडि पछाडि स्वर नराखी गर्न सकिन्थ्यो, तर जब मातृभाषाको रूपमा संस्कृत बोल्न सक्नेहरू सिद्धिए, अनि संस्कृतबाटै विकसित भएका अथवा बेग्लै मातृभाषा हुनेहरूले आफ्नो मातृभाषामा यस्ता आक्षरिक व्यञ्जन वर्ण नभएकाले संस्कृत भाषाका यी दुइटा आक्षरिक व्यञ्जनको उच्चारण ठिकसित गर्न सकेनन् । त्यसको परिणाम के भयो भने, भारतीय उपमहाद्वीपमा कतै पनि संस्कृतका यी दुइटा आक्षरिक व्यञ्जनको उच्चारण गर्न सक्ने पण्डितहरू नै छैनन् ।

यसै समस्याले गर्दा ‘लृ’ को उच्चारण सिकाउँदा गुरुहरूले नेपाली विद्यार्थीहरूलाई त्यहाँ हुँदै भएको ‘रि’ अक्षर जोडेर (ल्रि) उच्चारण गर्न सिकाउँछन् । नेपाली र भारतका कुनै पनि भाषामा प्रचलित संस्कृत शब्दमा दीर्घ ‘ऋृ’ भएको शब्दको प्रयोगै हुँदैन ।

यस विवरणबाट के बुझिन्छ भने, आफ्नो आफ्नै मातृभाषामा ‘शुद्ध’ संस्कृत पढ्ने भारतीय उपमहाद्वीपका पण्डितलाई एउटै वेद मन्त्र पढ्न दियो भने, अनेक थरी ‘शुद्ध’ उच्चारण गर्छन्, तर सबै पण्डितलाई ‘म चाहिँ वेद मन्त्रको शुद्ध उच्चारण गर्छु’ भन्ने भ्रम हुन्छ ।

चेलाले गुरुसँग एक चौथाइ ज्ञान मात्र सिक्ने हो, दोस्रो चौथाइ चेलाले गुरुको त्यो पाठलाई मनमनै खेलाएर आफ्नै प्रतिभाले थप्छ, तेस्रो चौथाइ चाहिँ साथीभाइसँग छलफल गरेर थप्छ भने, बाँकी चौथाइ चाहिँ व्यवहारमा परेर सिक्छ (‘आचार्यात् पादमादत्ते, पादं शिष्यः स्वमेधया । पादं सब्रहृमचारीभ्यः, पादं कालक्रमेण च’) भनेर वैदिक गुरुकुलीय शिक्षामा भनिएको छ, तर आज नेपालको शिक्षामा मनन, छलफल र व्यवहार पनि शून्य छ, पाठ घोक्ने कुरो त संस्कृतमा पनि गई सक्यो । गुरुकुलीय शिक्षा पद्धति गए पछि संस्कृत शिक्षामा पनि ‘विश्व’ शब्दमा संस्कृतको एउटै वर्णको उच्चारण पाणिनिले नै नसिकाएको भई रहेको न गुरुले मनन गरेछन्, न चेलाले मनन गरेछन्, न संस्कृतका विभागीय गोष्ठीमा, न व्याकरणको पाठ्यक्रम परिमार्जनमा, न उपमहाद्वीपभरिका अन्तरविश्वविद्यालयीय सम्मेलनमा यो समस्या मनन गरिएछ ।

आज भन्दा २ हजार वर्ष अगाडि नै पतञ्जलि (इपू १५०) ले आफ्नो ‘महाभाष्य’ को सुरुमै संस्कृत (विशेष गरी वेद) का विद्यार्थीहरू उच्चारणमा कमजोर हुन थालेको कुरो अघि सार्दै तिनीहरूको उच्चारण ठिक पार्न नै व्याकरण पढाउनु परेको हो भनेका छन् । यो कुरो उपमहाद्वीपका संस्कृत विश्व विद्यालयहरूले विवेक राखेर बुझ्न नसकेकाले कक्षामा प्रातिशाख्यबाट संस्कृतको मानक उच्चारण सिकाउन प्रातिशाख्यहरूको अभ्यास गराउँदैनन् । फलतः संस्कृतको मानक उच्चारणै सिक्न नपाई विद्यार्थीहरू स्नातक हुन बाध्य भएका छन् ।

संस्कृत शिक्षाको प्रभाव उपमहाद्वीपको सबै विद्यामा अनिवार्य रूपमा परेको छ । संस्कृतको शुद्ध उच्चारण सिक्न नपाएका ती ‘विद्वान्’ हरूको उत्पादनले नेपाली जस्ता आधुनिक भाषाको वैज्ञानिक शिक्षणमा बाधा पुर्‍याएको छ । छ ओटा वेदाङ्ग (शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष) मध्ये पहिलो नै ‘शिक्षा’ थियो । त्यस ‘शिक्षा’ को काम नै वेदको शुद्ध उच्चारण सिकाउनु मात्र थियो, तर आजको उपमहाद्वीपको संस्कृत शिक्षाले शिक्षाको त्यो पुरानो अर्थ चाहिँ पुरै बिर्सेको छ ।

(यस लेखमा प्रयुक्त हिज्जे र पदयोग–वियोग चलाइएको छैन ।)

प्रकाशित : मंसिर २१, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?