‘युवाहरूको गीत’ को यादमा

क्लासिक
खगेन्द्र संग्रौला

याङ मो (१९१४ अगस्त २५– १९९५ डिसेम्बर ११) क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ लेखक हुन्  । सन् १९५८ मा प्रकाशित  ‘द सङ अफ युथ’ याङ मोको चर्चित उपन्यास हो  ।

१९५९ मा चिनियाँ क्रान्तिको दसौँ वार्षिकोत्सवको अवसरमा यस उपन्यासमा आधारित फिल्म पनि सार्वजनिक भयो । साठी–सत्तरीको दशकमा यो उपन्यास खुब पढियो । र, बजारले यसलाई ‘बेस्ट सेलर’ को संज्ञा दियो । यसलाई नेपालीमा २०४१ सालमै अनुवाद गरेका थिए— लेखक खगेन्द्र संग्रौलाले । याङ मो स्मृति दिवसका सन्दर्भमा संग्रौलाको अनुवाद अनुभूति :

सै जुनीमा औतार फेरिरहनेहरूका लागि स्मृतिहरू खतरनाक हुन्छन् । तिनले तिनलाई तर्साउँछन्, गिज्याउँछन् र धिक्कार्छन् ।

म पोखरामा छु । यस घडीमा पोखरामा एउटा पूरक चुनावी सभा हुँदै छ । यो सत्ताधारी कम्निस्टको चुनावी सभा हो । अचम्म ! चुनावी मञ्च उदेकलाग्दो गरी कर्मकाण्डी भजनमय छ । मञ्चमा छन् शिरमा जटा धारण गरेका, निधारमा खरानी घसेका र गलामा रुद्राक्षका माला लगाएका चटके अभिनयकर्मीहरू । सशक्त माइकमा उच्च स्वरमा गगनभेदी भजन गुन्जिन्छ :

हरि पान चढाऊँ, फू चढाऊँ, दूबो चढाऊँ, मेवा
एक मनको लड्डु चढाई भक्त गर्छन् सेवा
श्री गणेशाय नमः, सबै मिली गरौँ भजन ।

दर्शक जमात भीडमभीड छ । भीडका पुर्जारूपी भक्तहरूमध्ये एक जना छन्, सत्तावृत्तका एक बडे नेता । वास्तवमा यी रिकुटे टाइपका नयाँ भक्त हुन् । यी भक्त सत्ताको देखिने भत्ता–सुरक्षा र नदेखिने के–के क–के भोग गरिरहेका छन् । भजनद्वारा अभिभूत भई यी नवभक्त भन्छन्, ‘म सन्त हनुपर्ने मान्छे, कहाँबाट राजनीतिमा आएछु ?’ यसो भन्दै यी स्खलित मनुवा आफ्नो अतीत, आफ्नो आदर्श र आफू हिँडेर आएको बाटोलाई थुकिरहेका छन् । एकबारको जुनीमा यो यिनको दोस्रो औतार हो ।

सम्झेर ल्याउँद ताज्जुब लाग्छ । आखिर हिजैको कुरा त हो । विद्रोहको बाटो हिँडेर भुइँमान्छेहरूका आँसु, रगत र उत्सर्गले आफ्नो पहिचान बनाई प्रतिष्ठा कमाएकाहरू मसँग भेट भइरहन्थे । कहिले जीवनका दोबाटामा, कहिले चौबाटामा, कहिले कतैका कुइनेटामा । मलाई भेट्दा तिनलाई दुईटा कुराको झल्याँस्स याद आउँथ्यो । माओका ‘सैनिक रचनाहरू’ को र याङ मोकृत ‘युवाहरूको गीत’ को । ती मलाई घ्याप्प अँगालो मार्थे, मुसार्थे र म्वाई खान खोज्थे । र, बडो भावुक हुँदै ती भन्थे, ‘कमरेड, यी अनुवादहरूप्रति हामी भारी कृतज्ञ छौँ । यिनैका विचार, आवेग र समरनीतिको सहाराले त हो हामीले जनयुद्ध लडेका ।’ अनि आज ? आज मलाई भेट्दा ती कि परैबाट तर्केर भाग्छन् । अथवा असजिलो मान्दै मसँग हात मिलाउँछन् र पक्राउ पर्न लागेको पटके चोरझैँ हत्तपत्त आफ्नो बाटो तताउँछन् । हिजो ती उदात्त आदर्शमा प्रतिबद्ध थिए, आज ती निकृष्ट उपभोगमा स्खलित भएका छन् ।

हिजो ती त्यागपथमा थिए, आज ती विलासपथमा छन् । हिजो ती भाग्य मान्छेको आफ्नै हातले लेखिन्छ भन्थे, आज तिनले भाग्यको लगाम काठको गणेशलाई सुम्पिदिएका छन् । हिजो ती ‘द्वन्द्वात्मक भौतिकवाद’ को रटना गर्थे, आज ती ‘हरि भजन’ मा झुम्मिएका छन् । हिजो ती नास्तिकताको पैरवी गर्थे र लौकिताउपर बहस गर्थे, आज ती महिष पूजन, पाइलोट बाबा ढोगन र सायद ‘हनुमान चालिसा’ जपनमा समेत मग्न छन् । ती हिजो ती टाउको टेकेर उभिएका थिए, आज ती मुन्टो टेकेर लत्रिएका छन् । हिजो आफ्नो आदर्शबाट स्खलित हुने सहयात्रीलाई ती सढेको अण्डासँग तुलना गर्थे । विडम्बनावश, कम्निस्ट हौँ भन्ने उनै जीवहरूको यत्रो जमात आज थोक हिसाबले सढाउ अण्डामा स्खलित भइरहेको छ । यो यसै जुनीमा यिनको दोस्रो
औतार हो ।

यस्ता अप्रीतिकर औतारीहरूको बिगबिगीमाझ म बडो उद्विग्न मुद्रामा थिएँ । तरुण मित्र दीपक सापकोटाले विद्युतीय यन्त्रमा मलाई ‘हेलो’ भने । गम खाँदै म चनाखो भएँ । पक्का पनि कुल्लीमा भर्ती गर्न यिनले ‘मलाई सम्झेका हुनन् । उनी बडो फुरनशील छन् । यिनको उर्वर मस्तिष्कमा घरीघरी के के फुरिरहन्छ । आफूलाई फुरेको कुरा यी शब्दशिल्पी कुल्लीलाई सुनाउँछन् । र, भन्छन्— यो गजपको विषय हो । नलेखी नहुने । र, यो लेख्ने सुयोग्य पात्र यस नरलोकमा तिमी हौ, र तिमी मात्र हौ । यी कुल्लीलाई यसरी विषयको महत्ताबोध गराउँछन्, फुर्क्याउँछन् र गाँजेर ‘ख’ गराउँछन् । सायद यिनलाई लाग्दो हो, गोर्खे कुल्लीहरू अल्छी र भुलक्कड छन् । त्यसैले त यी तिनलाई झिझ्याट लाग्ने गरी झकझक्याइरहन्छन्, स्मरण गराइरहन्छन् । विद्युतीय यन्त्रमा यिनले मलाई याङ मो र ‘युवाहरूको गीत’ को स्मरण गराए । जो कृतज्ञ छौँ भन्थे, ती हदै कृतघ्न भए । र, तिनलाई कालान्तरमा ‘युवाहरूको गीत’ को स्मृति घाँडो भयो । तर, दीपकले याङ मो र ‘युवाहरूको गीत’ बिर्सेका रहेनछन् । उनको यो स्मरणमा आदर्शप्रतिको निष्ठा कति छ र व्यवसायको गर्जो टार्ने धन्दा कति छ, त्यो म जान्दिनँ । जे होस्, उनको चञ्चल मस्तिष्कमा यो फुर्‍यो । मसँग थिएन, ‘युवाहरूको गीत’ उनैले हात लगाए ।

जिद्दीको भाकामा उनले मलाई भने— सात काम छाडेर भए पनि यो विषयमा लेख्नैपर्‍यो । लेख्न उनले मलाई दस दिनको भाका दिए । तर लेख्ने के ? लेख्ने विषयको चार किल्ला आफैँ बाँधेर उनले भने, ‘लेख्ने युवाहरूको गीतका घटना–प्रवृत्तिको इतिवृत्त वर्णन होइन । याङ मो को हुन् र के हुन् ? यो उपन्यास याङ मोद्वारा किन र कसरी लेखियो ? कुन प्रेरणा, आवश्यकताबोध वा संयोगले यसलाई नेपालीमा अनुवाद गरियो ? यसमा के त्यस्तो सम्मोहक तत्त्व छ, जसले गर्दा यो लाल वाम वृत्तमा यति धेरै पढियो ? अनि यति छिट्टै चीनमा पनि र नेपालमा पनि यसलाई किन यसरी बिर्सिइयो ? बस्, लेख्ने कुरा यी हुन् ।’

चालीस सालमा म चितवनबाट काठमाडौँ लखेटिएँ । लखेट्ने जीव थिए श्री रामकृष्ण पन्त । शाही सीडीओ, ऋषि देवकोटा ‘आजाद’ का जीवन हरणकर्ता । चितवन टेक्नु के थियो जल्लादी मुद्रामा तिनले मलाई भने, ‘विष्णुका बैरीलाई म... ।’ सतर्क हुँदै हेरेँ— हातमा अदृश्य राइफल छ, खल्तीमा नागरिक मार्ने हक छ । मार्ने राजकीय हक हुनेले मार्छु भन्नुको तात्पर्य मार्नु हो । जिउनलाई मसँग प्रिय आदर्श थियो, र काँधमा थियो दुई चिचिला सन्तानप्रतिको करुणामयी दायित्व । मलाई मरिहाल्न मन लागेन । तसर्थ अन्धकारको आवरणमा लुक्दै मैले काठमाडौँतिर टाप कसेँ ।

काठमाडौँ त जिउँदै आइपुगेँ तर अब गर्ने के ? बस्ने कहाँ ? खाने के ? बन्दीपुरे मित्र थिए एक जना, विद्या श्रेष्ठ । म तिनकहाँ अस्थायी शरणार्थी बनेँ । र, कामको खोजीमा म लागेँ भोटाहिटीतिर । त्यहाँ वैद्य दाइको देब्रे ढल्कुका पुस्तक पसल थियो । त्यसले अनुवाद प्रकाशन पनि गर्थ्यो । एक दिन दाइले मलाई ‘सङ अफ युथ’ नामक उपन्यास पढ्न दिए । त्यो चिनियाँ उपन्यास थियो, लेखक थिइन् याङ मो । मैले पढिसकेपछि दाइले केरकार गरे, ‘कस्तो लाग्यो ?’ ‘माल अब्बल छ,’ मैले भनेँ । ‘अनुवाद गर्ने हो ?’ दाइले सोधे । मलाई काम, दाम, माम तीनै थोकको खाँचो थियो । तसर्थ सहर्ष भनेँ, ‘गर्छु ।’ ज्यालाको दररेट तोकियो । र, मैले अनुवाद गर्ने इत्थमित्थ भयो ।

‘द सङ अफ युथ’ मैले टाइपराइटरमा अविराम पटटको लयमा गरेको पहिलो अनुवाद हो । यो टाइपराइटरको आफ्नै कथा छ । मेरा एक सदावहार साथी छन्, श्री स्वनाम साथी । एक दिन साथीले सोधे, ‘भेना, टाइपराइटर किन्ने हो ?’ ‘पैसा भए पो,’ प्रत्युत्तरमा मैले भनेँ । ‘सस्तो पाइया छ, किनम्,’ साथीले कर गरे । पहिले टीसीमा पढ्दा टाइप हान्न सिकेको थिएँ । कत्रो मिहिनेतले सिकेँ, त्यो सीपले कामै पाएन । ‘जे पर्ला, किन्छु,’ झ्याट्ट निधोँ गरेँ । र, यताउता यसोउसो गरेर टाइपराइटर किनेँ । रेमिङटन, मेड इन जर्मनी । माल नयाँसरह गजप छ ! छिपा अक्षर हान्छ । औँलाको चालमा, धड्कनको लयमा मुरली मकै पड्के सरी यो पड्किन्छ— पटट–पट्पट्, पटट–पट्पट्, पट्पट्–पट्पट्–पट्पट् ।



एकचालीस साल चैतमा छापिएको रहेछ यो । त्यो असहज घडीमा गर्नलाई मसँग अरू केही काम थिएन । जानलाई ठाउँ कहीँ थिएन । खुला हिँडिरहन मनमा कताकता सरकारी सुलसुलेको डर थियो । त्यसकारण म एमवी र काजीको ‘अर्द्ध भूमिगत’ शैलीमा गुप्तवासमा बसेँ । र, मैले दिनको झन्डै बाह्र घण्टाका दरले टाइप पड्काएँ । टाइपमा पहिलो पुस्तक अनुवाद गर्दा मनमा यसै पनि कौतुकमय उमंग र गहिरो आनन्द जागृत भयो । हस्त लेखनको भन्दा यो पटपटेको चाल कतिकति छिटो ! न कतै केरमेटको झमेलो छ, न साफी गर्ने लेठो छ । एकै पटकमा झिरिप्प छिपा ! वैद्य दाइले लेखेका रहेछन्, ‘यो कथित अनुवादको संक्षिप्त, सरल र अनुत्तरदायी बाटोचाहिँ होइन ।’ प्रकाशकीयको यो वाक्य पढ्दा मलाई अहिले हर्ष र गर्वबोध भयो । मेरो अनुवादमा हजार गल्ती होलान्, तर मैले निष्ठा र इमानसाथ यो कर्म गरेको छु ।

उपन्यासकार याङ मो को हुन् र के हुन् ? यो जिज्ञासाको मूर्त र सविस्तार उत्तर कतै फेला पर्दैन । नेपाल र चीनबीच भूगोलको दूरी जति छ, भावना र संस्कृतिको दूरी त्योभन्दा कतिकति धेरै छ । चीन र नेपालबीच दुर्लङ्घ्य पर्वतमाला छ । चीनसँग हाम्रो भूगोलको विकटतासँगै भाषाको विकटता पनि छ । आजसम्म एक जोडी चिनियाँ र नेपाली युवक–युवतीको बिहा भएको तपाईँलाई थाहा छ ? खै, मलाई छ थाहा छैन । बस्, यति भनेपछि यसबारे लामो गन्थन गर्नै परेन । याङ मोबारे मलाई जम्मा यत्ति थाहा छ, उनी क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ नारी हुन् । जन्म— १९१४ अगस्त २५, मृत्यु— १९९५ डिसेम्बर ११ । जन्मथलो पनि बेइजिङ, मृत्युथलो पनि बेइजिङ । रोचक कुरा, उइकिपिडिया भन्छ— याङ मोको पेसा लेखन हो । यसको अर्थ उनी पूर्णकालिक लेखक हुन् । र, यसको अर्थ हो— ‘युवाहरूको गीत’ बाट आर्जित ख्याति र यसको बिक्रीले याङ मोलाई जीवनभरि प्राण धान्न सघायो । अर्को रोचक कुरा, याङ मोका आफन्तहरूबारे उइकिपिया मौन छ । यसले यतिमात्र भन्छ— निकट नातेदारका रूपमा याङ मोकी केवल एक भगिनी थिइन् । तिनको नाम हो बाई याङ । बस् ।

‘युवाहरूको गीत’ को कथ्य चीनको सन् १९३० को दशकको पूर्वार्द्धको हो, यो लेखियो सन् ५० को उत्तरार्द्धमा । सन् १९३१ मा जापानले उत्तरपूर्वी चीनका चारवटा प्रान्तलाई अजिङ्गंगले झैँ सुलुक्कै निल्यो । र, अन्य निकटवर्टी प्रान्तहरूलाई निल्न हिंस्रक नङ्ग्रा गाड्यो । चीनको इतिहासमा त्यो हुनुसम्म अँध्यारो काल थियो । चीन संकटको मुखैमा पुग्यो, र सर्वत्र गहिरो हतासा एवं भयावह सन्नाटा व्याप्त भयो । शासनको आसनमा गजधम्म बसेको थियो ढ्याके क्वमिन्ताङ ।

क्वमिन्ताङ ऊर्फ मिचाहा जापानीको नोकरतुल्य सेवक र चिनियाँ जनताको जघन्य उत्पीडक । जब १९३५ को हिउँद आयो, जाग्न थालेका पेफिङका विद्यार्थीहरू झुरुम्मै सडकमा उत्रिए । ‘चीनका जनता देश जोगाउन उठ’ भन्ने नाराको तुमुल ध्वनिले चिनियाँ आकाश गुन्जियो । बस्, युवाहरूको गीतको जायजन्म त्यही ध्वनि र त्यही गुञ्जनबाट सुरु भयो । त्यस उप्रान्त याङ मोकै कथनमा, ‘मिसिनगन र संगीन, काराबास र यातना वा फाँसीसामुसमेत एकरत्ती नदबी असंख्य श्रेष्ठ तरुणहरू बैरीसँग दृढता साथ लडे । एक जना योद्धा ढल्यो, अर्को जना उसको ठाउँमा खडा भयो । देशको भविष्य उज्ज्वल छ भन्ने कुरामा ढुक्क हुँदै केही मानिस हाँसीहाँसी मरे, अरू धेरै मानिस ढालिएका मानिसहरूका रक्ताम्य पाइला टेक्दै अघि बढे । यो उपन्यास एक तरुण बौद्धिकको समाजप्रति विरोधको हुंकार हो ।’

‘युवाहरूको गीत’ लिन ताओ चिङको कथा र व्यथा एवं घर्षण र गाथाबाट निर्मित एक भव्य विम्ब हो । तत्कालीन जाग्रत र क्रान्तिकारी युवाहरूको एक जाज्वल्यमान प्रतिनिधि विम्ब । उपन्यासकी नायिक उनै हुन्, उपन्यासको केन्द्र उनै र यसको समापन पनि उनै । उनी बेइजिङकी जमिनदारकी छोरी हुन् । उनकी आमालाई जमिनदारले बलात् रखौटी बनाएको थियो । पछि उसले अर्की महिलासँग बिहा गर्‍यो र ताओ चिङकी आमालाई छिःछिः, दूरदूरको हदै सिकार तुल्यायो । त्यो उत्पीडन र अपमान यति चरम थियो, उसले ताओ चिङकी आमालाई छोरीलाई माया गर्न पनि दिएन । अतिशय उदास र हतास आमा हाम्फालेर आत्महत्या गर्न विवश भइन् । सौतेनी आमाले ताओ चिङलाई जब एक धनाढ्य पुरुषको हातमा बेच्न खोजेको पोल खुल्यो, उनले त्यो नारकीय घर छाडेर सुटुक्क टाप कसिन् । त्यो टाप कसाइ निसासलाग्दो पिँजराबाट बन्धित सुगाको मुक्त आकाशमा मुक्तितुल्य थियो । सतहमा त्यो ताओ चिङको एक अविदित र अनिश्चित जगत्तिरको पलायन थियो । तर, त्यो पलायनको अन्तर्यमा वास्तवमा स्वतन्त्रता र मुक्तिको उमंगमय भ्रूण थियो । कालान्तरमा, संगत र संघर्ष एवं स्वयंको अन्वेषण र आविष्कारको जटिल प्रक्रियामा, त्यो भ्रूणले कोपिलाको रूप धारण गर्‍यो । त्यो कोपिलो फक्रिएर फुल्यो । र, त्यसको सौन्दर्य एवं सुवास चीनभरि व्याप्त भयो । त्यो उदात्त आदर्शको सौन्दर्य थियो, त्यो साहसिक उत्सर्गको सुवास थियो ।

जीवनका कठिन र कष्टकर उकाली–ओरालीबीच लिन ताओ चिङको कम्निस्ट चेतनासँग साक्षात्कार भयो । यसबीच बेइजिङको एक विद्यार्थीसँग उनको मायापिर्ती बस्यो र बिहा भयो । स्वरूपमा त्यो पठ्ठो सुन्दर फूलजस्तो थियो तर सारमा त्यो करेटको औतारमा गोचर भयो । पहिले इतिहास र शास्त्रहरू पढ्नुपर्छ, बुझ्नुपर्छ र खार्नुपर्छ— ताओ चिङलाई उसले अर्ती दिया— अनि मात्र क्रान्तिमा लाग्नुपर्छ । अज्ञानी अन्धकारमा छामछाम–छुमछुम गर्दै कहीँ कतै पुग्दैन । त्यस पठ्ठाको यो उपदेशमा यथास्थितिको पूजा–आराधना अन्तर्निहित थियो । यसरी ऊ ताओ चिङको अग्रगति र प्रगतिमा पलपल बाधक बन्यो । कालक्रममा यो बाधा ताओ चिङका लागि असह्य भयो र उनले त्यो अतीतमुखी र भविष्य–निषेधी करेटलाई सदाका लागि परित्याग गरिन् ।
ताओ चिङको चिनियाँ कम्निस्ट पार्टीसँग नाता गाँसियो । र, उनी पार्टी चिन्तनको आलोकद्वारा प्रेरित भई संघर्षका अनेक मोर्चाहरूमा डटिन् । मुक्ति यात्रामा मानव स्वरूपमा सद्दे तत्त्वहरू भेटिए, खोटाहरू भेटिए । निष्ठावान र इमानीहरूको स्नेह र सहयोग प्राप्त भयो, औसरवादी र बेइमानहरूले धोका दिएर सताए । भूमिगत जीवनको साह्रोगाह्रो र काराबासको कहरले लिन ताओ चिङलाई इस्पाततुल्य तुल्यायो । यात्रामा कमरेडको आवरणमा प्रकट हुने छद्म जासुसहरूले उनलाई जासुसको आरोप लगाए । कारागारमा प्रहरी अधिकारीहरूले उनीसँग मायापिर्ती बसेको स्वाङ पारे । यी सब चालहरू ताओ चिङलाई कलंकित र पतित तुल्याउने जाली कतुर्तहरू थिए । ताओ चिङ क्रान्तिकारी जीवनको यो कठिन परीक्षामा सानदार ढंगले उत्तीर्ण भइन् । र, उनी समस्त चिनियाँ युवाहरूको आकर्षण, प्रेरणा र अनुकरणको सम्मोहक गीततुल्य बनिन् ।

चीनको युवा संघर्षका लक्ष्य दुइटा थिए । एउटा, विदेशीको कब्जामा रहेको भूमिलाई मुक्त गर्नु । अर्को, समस्त चिनियाँ समाजलाई सामन्ती एवं औपनिवेशिक शोषण र दोहन तथा दासता र पछौटेपनबाट मुक्त गर्नु । कमान्डमा कम्निस्ट पार्टी थियो । जीवनपथको दिग्दर्शन गर्ने दर्शन मार्क्सवाद थियो । र, युवा संघर्षको अग्रभागमा खडा भएकी ताओ चिङका हातमा हसिया–हथौडा अंकित लाल झन्डा थियो । कम्निस्ट घोषणापत्रको भाषामा ‘जित्नलाई सारा संसार सामुन्ने थियो, गुमाउनलाई सिक्री सिबाय केही थिएन ।’ बस्, युवाहरूको गीतको कथासार
यस्तैयस्तै हो ।

उपन्यासको अन्त्यतिर, लाल युवा आन्दोलनको उत्कर्षको घडीमा, संग्रामी मानवसागर उर्लिन्छ । ताओ चिङ सागरको अघिल्लो भागमा हुन्छिन् । ताओ चिङको अनुहारमा रगत र आँसु लपतिएको छ । गलो बसको स्वरमा ताओ चिङ आह्वान गर्छिन्, ‘दास बन्न इन्कार गर्ने सबै मानिस हो, उठ र लड !’ ताओ चिङको उत्ताल आवेगयुक्त यो स्वरको अन्तरधारमा मलाई उपन्यासकार याङका यी उदात्त वचनहरू ध्वनित भएझैँ लाग्छ, ‘प्रकाश अन्धकारभन्दा बलशाली हुन्छ, उच्चता नीचताभन्दा बलशाली हुन्छ, स्वार्थीपनमाथि निःस्वार्थपनको र दुःखमाथि सुखको विजय हुन्छ, हुन्छ ।’
बस्, ‘युवाहरूको गीत’ सकियो ।

‘युवाहरूको गीत’ प्रकाशित भएको सुखद साल हो सन् १९५८ । सन् १९५९ मा चिनियाँ क्रान्तिको दशौँ वार्षिकोत्सवको औसरमा यस उपन्यासमा आधारित फिल्म सार्वजनिक भयो । साठी–सत्तरीको दशकमा यो उपन्यास लटालट बिक्यो, खुब पढियो र यसको औधी चर्चा भयो । र, बजारको भाषामा यसलाई ‘बेस्ट सेलर’ को संज्ञा दिइयो । जब सन् १९७६ आयो, याङ मो र ‘युवाहरूको गीत’ का दुःखका दिन सुरु भए । उक्त साल, सनातनी क्रान्तिकारीहरूको आक्षेपकारी भाषामा, शासनको बागडोर ‘पुँजी पन्थीहरू’ का हातमा पर्‍यो । त्यसपछि के भयो ? चतुर शासकको ‘कालो बिरालो’ र ‘सेतो’ बिरालोको कथनले बजार पिट्यो । अब व्यक्तिवादले टाउको उठायो । संस्कृतिमा स्वार्थी प्रतिस्पर्धा हावी भयो । लोभले त्यागलाई ओझेलमा पार्‍यो । सादगीलाई विलासिताले निस्तेज तुल्यायो । र, ‘पुँजी पन्थी’ संस्कृतिमा छिटो धनी हुनु पराक्रम र श्रेष्ठताको अब्बल मानक बन्यो । यस पृष्ठभूमिमा युवाहरूको गीत सक्रिय पठनबाट स्मृतिको नेपथ्यतर्फ धकेलियो । सन् १९८० मा याङ मोको ‘युवाहरूको गीत’ को ‘सिक्वेल’ अर्थात् उत्तरभाग प्रकाशित भयो । तर, पठन र चर्चाको बजारमा कतै पनि त्यसको अस्तित्वको खासै आभास भएन । बजार ‘जंक फुड’ तुल्य पठन सामग्रीहरूले ढाकिएको थियो ।

नेपाली लाल वाम वृत्तमा गोर्कीको ‘आमा’ पछि सर्वाधिक पढिएको उपन्यास हो— याङ मोकृत ‘युवाहरूको गीत’ । ‘आमा’ खास गरेर सहर–बजारका हुनेखाने पठितहरूले पढे । तर, ‘युवाहरूको गीत’ दुर्गम भेगका गाउँ–देहातका साक्षर गरिबहरूले पनि पढ्न भ्याए । यसलाई जनयुद्धको आँधीबेरीले बोकेर त्यता पुर्‍यायो । धर्मभीरुहरूका लागि ‘हनुमान चालिसा’ जस्तो हो, क्रान्तिकारी जमातका लागि यो उपन्यास त्यस्तै भयो । ‘युवाहरूको गीत’ युवाहरूका हातहातै सर्दै गयो, र यसलाई पालो पर्खीपर्खी पढियो ।

तिनताक क्रान्तिका नायकहरू यो अनूदित उपन्यासको जनजागरणकारी एवं सौन्दर्यबोधी भूमिकाप्रति मुखर रूपमै कृतकृत्य थिए । तर, अचेल ती यसबारे सर्वथा मौन छन् । ऊबेला ती जुन आदर्शका पैरवीकार एवं योद्धा थिए, अहिले ती त्यही आदर्शलाई कुल्चिँदै र थुक्दै हिँडिरहेका छन् । नायकहरू खलनायकमा पतीत भएका छन् । र, तिनका लागि ‘युवाहरूको गीत’ एकदमै त्याज्य बनेको छ । सकिने भए सायद तिनीहरू ‘युवाहरूको गीत’ को स्मृतिलाई मस्तिष्कका चिप्सहरूबाट सदाका लागि खुर्केर फाल्दा हुन् । दुर्भाग्यवश, सकिँदैन । बरा यी खलनायकहरू हदै दुःखी जीव हुन् । यिनलाई हिजो आफैँले बडो अनुरागपूर्वक मस्तिष्कमा अंकित गरेको ‘युवाहरूको गीत’ को स्मृतिले तर्साइरहेछ, गिज्याइरहेछ र धिक्कारिरहेछ । प्रकाशित : मंसिर २१, २०७६ ०९:२६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जोक्कर सरको रजगज

खगेन्द्र संग्रौला

पहिले–पहिले स्कुलमा नाटक देखाउँदा बीचबीचमा कमिक राखिन्थ्यो । कमिक झल्लाझल्ला खालको हास्यरस भएको सपाट जोक्कर्‍याइँ हो । जोक्कर्‍याइँ जीवनको अभिन्न अङ्ग हो, अनिवार्य तत्त्व हो । पलभरका लागि नै सही, तनाव, आह र औडाहालाई मत्थर पार्ने थेरापी हो यो ।

जोक्कर्‍याइँ जीवनको प्रधान तत्त्व होइन, सहायक तत्त्व हो । नभई नहुने, ज्यास्ती भए बित्यास पर्ने । त्यसैले जोक्कर नाटकको नायक होइन, केवल खलनायक महलको जीव हो । जीवनको वास्तविक नाटकमा जब खलनायक मार्काको जोक्कर नै नायक बन्छ, जीवनको अर्थ र गरिमा चौपट हुन्छ । सत्ता राजनीतिको हकमा पनि कुराको चुरो यही हो । जब सत्ता राजनीति कमिकतुल्य र सत्ताको माउ कर्ता जोक्करतुल्य बन्छ, तब कुरो गडबड हुन्छ । सिसिफसको वेदनामय किस्सामा झैँ हरिप जिन्दगीमा झल्ला कमिक दोहोरिँदो छ । यो प्रत्यक्ष देखिँदै छ, कष्टसाथ भोगिँदै छ र त्यसैत्यसै आजित भइँदै छ ।

ट्वीटको जङ्गलमा म उत्सुक आँखा दौडाउँदै के थिएँ, अजिवको जीवसँग जम्काभेट भयो । जीव युट्युबमा छ । ऊ तामसी हाउभाउसाथ बोल्दै छ । उसको कुटिल अनुहारमा दम्भ छ, ढोँगी बोलीमा अहंकार छ, र बोलाइको लय र तालमा झल्ला जोक्कर्‍याइँ छ । केके न ठूलो कुरा गरेझैँ वक्ता भन्छ— ‘म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ— अब काठमाडौँमा नाक समातेर हिँड्नुपर्दैन । अब मास्क लगाउनुपर्दैन । म प्रधानमन्त्री भएको बेला काठमाडौँको आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो, अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।’

सोचेँ— यो जो बोल्दै छ, केवल राजनीतिक नाटकको जोक्कर हो । जोक्कर बोल्यो र श्रोतागणले गलल्ल हाँस्दै परर्र ताली बजायो । नयनराज पाण्डेले ट्वीटमा टिप्पणी गरे— ‘रमाइलो छ संसार !’ एक गम्भीर स्रष्टाको यो टिप्पणीले मलाई किञ्चित् आश्वस्त तुल्यायो— हो, यो जोक्कर्‍याइँयुक्त राजनीतिक नाटक हो, यथार्थ जीवनको यथार्थ दृश्य किमार्थ होइन । यो त केवल झल्ला कथ्यमा हल्का मनोरञ्जनको लेप लगाइएको झल्ला दृश्य हो । तर लाल मजदुर नामक ब्रोको ट्वीटे टिप्पणीले भने मलाई किञ्चित् झस्कायो । यी लालबाबुले कटाक्ष गरे— ‘सारा सडक खाली गरेर हिँडेछि मास्क कता देखिनु नि ब्रो ?’ ए गाँठ्ठे ! कमिकतुल्य यो दृश्य त वास्तविक पो हो कि ? वक्ता उही धरती र आकाश कब्जा गरी घरी बाहिर, घरी भित्र सवारी हुने औतारी मानव पो हो कि ? सान्त्वनाको खोजीमा मेरो बेचैन चित्त हास्य उस्ताद मिस्टर मनोज गजुरेलतर्फ मोडियो । प्रधानमन्त्रीको अभिनयमा सायद छद्मभेषी मनोज होलान् । र सायद यो गाईजात्राकालीन झल्ला हास्य होला । यसरी गम खाँदै दृश्य दोहोर्‍याएर हेरेँ । वचन ध्यान दिएर सुनेँ । अरे, जोक्कर त साँच्ची नै वास्तविक जीवनको वास्तविक पात्र जस्तो पो छ बा ! म झन् झस्केँ ।

नभन्दै झल्ला हास्यका झल्ला अभिनयकर्ता त श्रीमान् ओली सर पो रहेछन् । सर्वज्ञानी एवं सर्वशक्तिमान् ओली सर । नेकपाका दुईदुनी चार डाक्टर सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली । ओली सरको झल्ला हास्यप्रति झल्ला प्रतिक्रिया गर्दै जसले थप्पडी बजाए, ती को हुन् ? हास्यकारका आउरे–पाउरे र धुपौरेहरू ? निजहजुरका हुक्के, ढोके र बैठकेहरू ? निज प्रभुका आज्ञाकारी भक्त–भक्तिनीहरू ? हैकमी एवं तजबिजी सत्ताद्वारा पालित, पोषित र रक्षित अरिङ्गालहरू ? आत्महीन एवं स्वाभिमानविहीन दास–दासीहरू ? कि रैतीबाट नागरिकमा नफेरिन जिद्दी गर्ने कमारा–कमारीहरू ? आफ्नै विशिष्ट स्वत्व र निजत्वसहितका जीव हुँदा हुन् त तिनले आफैप्रतिको क्रूर ठट्टा झल्किने झल्ला कथनको प्रतिक्रिया झन् झल्ला मुद्रामा त्यसरी किन पो गर्दा हुन् र ? चिउँडा–चिउँडामा मास्क झुन्ड्याएका छन्, अथवा झोलाझोलामा मास्क कोचेका छन् । र, ती नवनरेशको परम अनुकम्पाले जीवन मास्कमुक्त भएको कथनको अनुमोदनमा अट्टहासका साथ थप्पडी बजाइरहेछन् । ल हेर, कठोर शासक मास्क लगाएर कष्टको कहर काटिरहेको दयनीय जनजीवनफ्रति त्रूर ठट्टा गरिरहेछ ! त्यो क्रूर ठट्टाबाट मानौँ पुलकित हुँदै झल्ला भीड कर्कश हल्ला गरिरहेछ ।

गणतन्त्रको सत्ताको गद्दीमा ओली सर विराजमान छन् । सत्ताको मुहुनीमय गद्दा हेरेर घुटुक्क थुक निल्दै पुष्पकमल ब्रो ट्वाँ परेर टोलाइरहेका छन् । राजधानीमा आर्थिक प्रदूषण, नैतिक प्रदूषण र वायु प्रदूषण दिन दुगुना रात चौगुना बढ्दो छ । तैपनि बिनालाज, बिनासंकोच सत्तासीन चटकेश्रीबाट आज्ञा हुन्छ— मेरो पौरखी शासनमा हिजोको आजै काठमाडौँ प्रदूषणमुक्त भयो । यथार्थमा काठमाडौँ छ प्रदूषणद्वारा हदै आक्रान्त, ढाँटकलामा विशारदप्राप्त चटके ख्वामितबाट आज्ञा हुन्छ यस्तो ! तर कुरा अचम्मको छ । स्वयंप्रतिको यो क्रूर ठट्टालाई मानौँ कोही पनि गम्भीर रूपले लिँदैन । नयनराज पाण्डेजस्ता संवेदनशील एवं मानवतावादी स्रष्टासमेत यसलाई हल्का टिप्पणीमा फुस्स उडाइदिन्छन् । आखिर किन ? सायद सत्ताधारी जोक्करले अहोरात्र जोक्कर्‍याइँ गर्दागर्दा हाम्रा संवेदन तन्तुहरू भुत्ते र थेत्तरा भएर । सायद झल्लापन नै जीवन–यथार्थको नित्य दिनचर्या भएर । सायद लापरबाही र खेलाँचीसामु जीवनको गम्भीरता आजित, पराजित एवं लाचार भएर ।

देशको कार्यकारी प्रमुख ठट्टा होइन । देश–दुनियाँको जीवनमा उसका एकएक वचन, एकएकं सङ्केत र एकएक हाउभाउको सुल्टो वा उल्टो, सुखद वा दु:खद, क्षणिक वा दूरगामी प्रभाव त पर्छ नै । कार्यकारीले जनजनको पीडाप्रति
मनोरञ्जक मुद्रामा यति क्रूर ठट्टा गर्दा मिडियामा बबाल प्रतिक्रिया हुनुपर्ने हो । बुद्धिजीवीहरूमाझ उत्पात खैलाबैला हुनुपर्ने हो । मानव अधिकारवादीहरू प्लेकार्ड उचालेर सडक–सडकमा लाम लाग्नुपर्ने हो । युवा विद्यार्थीहरूका उत्ताल आक्रोशका स्वरले आकाश घन्किनुपर्ने हो । र, माइतीघर मण्डलमा जनसागरको आवेगी लहर उर्लिनुपर्ने हो । तर छैन ! ट्वीटर–फेसबुकका खत्र्याक–खुत्रुक प्रतिक्रियासिवाय कतै केही देख्नु–सुन्नु छैन । किन ? किनभने शासक महलका भुइँफुट्टाहरूको बकवास सुन्दासुन्दा लोकको संवेदना जडवत् भएको छ । सत्तासीन चटके भन्छ— एक वर्षमा देश तुइनमुक्त हुन्छ । वर्ष बित्छ, तुइनबाट खसेर मान्छे मर्ने क्रम तुरिँदैन । चटके पुस १६ गते पानीजहाजको टिकट काट्न आऊ भन्छ । पुस १६ आउँछ, टिकटले हावा खान्छ । चटके अब कसैले भोकै मर्नुपर्दैन भन्छ, दीनदु:खी भोकै मरिरहन्छ । चटके अब कसैले जाडो र गर्मीले मर्नुपर्दैन भन्छ, गरिब जाडो र गर्मीले मरी नै रहन्छ । चटके यावत् सडक चिल्ला र आरामदायी भए भन्छ, सडकका खाल्डामा खसेर बालक मरिरहन्छ । तर यो सब चुपचाप सहिन्छ, कतै बबाल विरोध हुँदैन । किन ? सायद चटकेका सिल्ली आश्वासनहरूको अनवरत शृङ्खलाले मानवीय संवेदनालाई चुटेर, लेथ्नो बनाएर, भुत्ते पारेर र थेत्तरो तुल्याएर ।

उ: सिंहासनधारी चटके सिल्ली मुद्रामा काइँकुत्ते स्वर उचालेर भन्दो छ— राजधानी सहर मास्कमुक्त भयो ! उता ऊ त्यसो भन्दो छ, यता राजधानीबासी मास्क भिरेर निसासिइरहेका छन् । चटके ब्रोका सल्लाहकारहरू सुन्छन्, ङिच्च हाँस्छन् र मौन रहन्छन् । ती आफ्ना ख्वामितलाई चुइँक्क केही भन्न सक्दैनन् । ती केवल ख्वामितलाई सलाम गर्छन्, निजका चरण स्पर्श गर्छन् र मस्ती मुद्रामा तलब–भत्ता ज्युनार गर्छन् । मन्त्रीहरू सुन्छन्, ङिच्च हाँस्छन् र ओठ जाम गर्छन् । आफ्ना प्रभुका असङ्गत वचनमाथि टिप्पणी गर्न तिनमा दुई पैसाको दम छैन । गरे प्रभुद्वारा आफ्नो सुस्वादु दानापानी हरण होला भन्ने भय छ । अनि संसदीय सभाका सभासद र सभामुख ? यी श्रीहजुरका सामु ती प्राय: हुचिलको छायामा परेको सर्पतुल्य निस्तेज हुन्छन् । बस, तैँ चुप् मै चुप् । तलब–भत्ता खाऊ र डकार । घूस–कमिसन खाऊ र मोजमस्ती गर । नवनरेशको असीम अनुकम्पाले हात लागेको ६ करोड पाकेट खर्च सभक्ति ग्रहण गर र बर्बराहटकारी प्रभुको जयगान गर ।
पहिले राजा त्रिभुवनको सिल्ली वचन सुनिन्थ्यो, अहिले छद्मभेषी राजा ओली सरको सिल्ली वचन सुन्नुपर्‍या छ । गरिब प्रजाले ‘खान पाइनँ सरकार’ भन्दा त्रिभुवन छक्क पर्दै ‘तैँले पेटभरि दूधभात पनि खान पाइनस् ?’ भनेर सोध्थे रे । अहिले उही गगनबासी त्रिभुवनको सिको गर्दै निजका उत्तराधिकारी भन्छन्— ‘अहिले काठमाडौँमा मास्क लगाएर कोही पनि हिँड्दैन !’ जनजीवनको असह्य कष्टमाथि यति क्रूर ठट्टा त्यसैले मात्र गर्न सक्छ, जो संवेदनशील जीवनको यथार्थ धरातल छाडेर छिचिमिरे औतारको कमिलोझैँ आकाशमा उडिरहेछ, जो जीवन–यथार्थका स्पन्दनशील प्रक्रियाहरूबाट बिलकुल विमुख छ, जो मानवीय करुणाशून्य छ, जो लज्जाहीन छ, जो जनजनका दु:खदर्दमाथि ठट्टा गर्नमा ठूलो पराक्रम र आनन्द अनुभूति गर्छ । भन्न असजिलो लाग्छ मान्यवर, तर यो भन्न म अभिशप्त छु । जो यो सब गर्छ, त्यो सिल्ली हो । यसो गम खाँदा मलाई त योभन्दा ठूलो अनिष्टको डर लाग्छ । धरातल छाडेको, तर्कसङ्गतिबाट च्युत भएको, लाज र घीन बिर्सेको, दम्भले उन्मत्त भएको, जनजनका दु:खमाथि निर्मम ठट्टा गर्दै आनन्द लिने शासक महलको अजिवको यो जीवले जे पनि भन्न सक्छ, जे पनि गर्न सक्छ । कुनै दिन यसले ‘बालुवाटार सेरोफेरोको समस्त भूमिको भूपति मै हुँ’ भन्यो भने !? ‘हाम्रा पुर्खाले कत्रा दु:खले आर्ज्याको यो गोर्खा राजको राजा मै हुँ’ भन्यो भने !? अचम्म छ, सिंहासनबासी प्रभुको घातक जोक्कर्‍याइँबाट आक्रान्त लोक यो विरल सरकारको स्वास्थ्य–परीक्षाको माग किन गर्दैन ?

हो, शासक पाषाणहृदयी छ । जनजीवनको दुर्दशामाथि ठट्टा गर्नु ऊसको अनिवार्य दिनचर्या बनेको छ । बिजुलीको लट्ठामा बसेर कौवा सोध्छ— यस्तो त्रूर ठट्टा आखिर कहिलेसम्म ब्रो ? प्रश्न शून्य आकाशमा तुन्द्रुङ्ग झुन्डिएको छ । आहत माइतीघर मण्डल मानौँ चारै दिशा हेर्दै व्यग्र मुद्रामा उत्तर पर्खिरहेको छ ।

प्रकाशित : असार १९, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×