किस्सागोपाल

संगीत
भूपेन्द्र खड्का

स्वरसम्राट् नारायणगोपालको २९ औं स्मृति दिवस मंसिर १९ गते मनाइयो  । उनको स्वरमा गाइएका गीत जति लोकप्रिय छन्, उनीबारे उनका समकालीन साथीहरूले सुनाउने गरेका किस्सा पनि त्यत्तिकै रोचक छन्  ।

किस्सागोपाल

एक गायक गीतमा मात्र बाँच्दैन, विभिन्न स्वरूप र मिथमा पनि बाँच्छ । प्रस्तुत छ, गुच्चा खेल्ने उमेरदेखिका नारायणगोपालका दौंतरी गायक–संगीतकार प्रेमध्वज प्रधानका सुनौला गोपाल–किस्सा ।

बेला–कुबेला सम्झिने नाम हो, नारायणगोपाल । दुःखमा, सुखमा, हाँसोमा, रोदनमा । झरीमा, बादलमा । साँझमा, बिहानमा ।


स्वरसम्राट्को सम्मान मलाई दिनुपर्दैन भन्दाभन्दै उनी आज हामी सबैमाझ स्वरसम्राट्को छवि बनाएर गुन्जिएका छन् । नारायणगोपाल जति राम्रा संगीतका ज्ञाता–गायक–संगीतकार थिए, त्योभन्दा बढी अन्य विषयका जानकार, जिज्ञासु र चतुर मानुष थिए । खासमा कस्तो मानिसको संगत गर्दा केमा कति नाफाघाटाको हिसाब हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । उनी राम्रो शब्द छान्न गीतकारका घर–अफिससम्म चहार्थे र डायरीका पाना च्यातेरसमेत ल्याउँथे । नारायणगोपालले डायरीका पाना च्यातेविरुद्ध कोही बोल्न सक्दैनथे किनभने उनको गायकीले सबै डोमिनेट थिए । अझै उनी पहलमानको नामबाट पनि परिचित भैसकेका थिए, । त्यो पहलमानी उनको एकल कार्यक्रममा पनि देखिइसकेको हो । त्यसैले सर्वगुण सम्पन्न यस्ता व्यक्तिदेखि कोही किन समीप–दूर नहोस् !


उनी मासु, रक्सी, फुटबल, तास, चुरोट आदिका पारखी थिए, त्यो पनि जगजाहेर छ । उनको सेन्स अफ ह्युमर त यस्तो गज्जब थियो कि मृत्युको अन्तिम समयमा वीर अस्पतालमा छटपटाउँदै गर्दा पनि यसरी कुरा गर्थे :

नारायणगोपाल टेलिफोनमा, ‘ए, विश्वम्भर ! राजा वीरेन्द्रको फोन नम्बर पत्ता लगाऊ न, कुरा गर्नुपर्‍यो !’
‘किन र दाइ, के पर्‍यो त्यस्तो ?’ विश्वम्भर प्याकुरेलको जवाफ !

‘हेर न, अब उनी पनि संवैधानिक राजा भए, काम खासै छैन ! म पनि बिरामी, अब तास खेलेर बस्नुपर्‍यो !’


यो एउटा उदाहरण मात्रै हो । यस्ता र यति स्मृतिले मात्रै नारायणगोपाललाई सम्झेर पुग्दैन । यहाँ खासमा नारायणगोपालको गायकीको खासियत पर्गेल्न पनि खोजिएको होइन । यस युगका संगीतका महान् ज्ञातालाई पनि त्यो हम्मेहम्मे पर्छ । यहाँ नारायणगोपालबारे धेरैले (सम्भवतः कसैले पनि) थाहा नपाएका केही कुरा उनीजस्तै उनका अर्का लजालु बाल र युवा सखा प्रेमध्वज प्रधानले बताएका सम्झना रसिक तवरमा जस्ताको तस्तै पस्कने काम मात्रै गरिँदै छ । म विसं २००८ सालदेखि ०२८ सालसम्मको नारायणगोपालको सम्झनामा तपाईंलाई विचरण
गराउँदै छु ।

गुच्चेगोपाल
विसं २००७/०८ सालतिर प्रेमध्वज प्रधान मछिन्द्रबहाल केलटोलतिर गुच्चा खेल्न जान्थे । उनको उमेरले गुच्चा खेल्न छाडेर संगीतलाई समात्न थाल्दै गर्दा राममान तृषित भेडासिंहमा ‘नेपाल कलाकार परिवार’ नामक संस्था खोलेर कलाकारलाई गीत गाउन लगाउने स्टेज कार्यक्रम आयोजना गर्थे । त्यहीं थियो— व्यापारी लक्ष्मण श्रेष्ठको रुवा र धागो पसल । उनी चिया, खाजा खुवाउने व्यक्ति पनि थिए । भेडासिंहको रुवा र धागो पसलमा एक दिन प्रेमध्वज प्रधानलाई लक्ष्मणले एक जना नयाँ मान्छेसँग परिचय गराइदिए— यी हुन् ‘सानोबाबु’ भन्दै ।

प्रेमध्वजले ‘ए...’ मात्रै भने । उनको हातमा धूलैधूलो थियो, खल्तीमा गुच्चा थिए । त्यहाँ नारायणगोपाल काठको फलेक ठटाएर गीत मात्रै गाउँदैनथे, मस्तसँग गुच्चा पनि खेल्थे । लक्ष्मणले ‘उसले गीत खुब राम्रो गाउँछ’ भन्दा नारायणगोपालले काठको फलेकमा हातले तबलाजस्तै बजाउँदै मन्नाडेको गीत गाएर आफ्नो गायकीको परिचय दिएका थिए । नारायणगोपाल जति लजालु थिए, त्योभन्दा चौपट प्रेमध्वज थिए । उनले त्यहाँ आफ्नो गायकीको परिचय नारायणगोपाललाई दिन सकेनन्, भलै लक्ष्मणले एक–एक गिलास चिया भने दुवैलाई खुवाए । त्यसपछि नारायणगोपाल र प्रेमध्वज साथी बने । ‘सानोबाबु’ सँगको त्यो चिनजानले ‘नेपाल कलाकार परिवार’ को भाडाको घरका दुइटा कोठामा भाडाको माइक र स्पिकर जोडेर ‘मेरो आवाज कस्तो सुनिन्छ ?’ भन्दै एक–अर्कालाई आ–आफ्नो आवाजमा गीत सुनाउने अवस्थासम्म पुर्‍यायो ।

अम्मलीगोपाल
नारायणगोपाल चुरोटका अम्मली थिए भन्ने सबैलाई थाहा छ । तर, उनी कसरी त्यस्ता लती बने भन्ने थाहा नहुन सक्छ । मछिन्द्रबहाल केलटोलमा हरेक साँझ भजनमण्डलीले भजन गाउँथ्यो । मनोरञ्जनको कुनै साधन नभएको त्यो समय के बाल, के वृद्ध– सबै जना त्यो भजन–साँझमा जम्मा भैहाल्थे । नारायणगोपाल पनि त्यसमा सहभागी हुन्थे— तबला बजाउँथे, भजन गाउँथे । त्यो भजन मण्डली चिलिममा भरेर कक्कड खान्थ्यो । वातावरण धूवाँको कोलाजमा रङ्मगिन्थ्यो । नारायणगोपाल पनि त्यही मण्डलीबाट एक सर्को, दुई सर्को हुँदै चुरोटको तलतलले छटपटाउने भएका थिए । उनलाई त्यो कक्कडको सर्को तनाउने तबलावादक ‘भाइदाइ’ भन्ने थिए ।

चुरोटको तलतल लाग्यो भने नारायणगोपाल प्रेमध्वज प्रधानको घरमा जान्थे । किनभने प्रेमध्वजकी आमा प्राणदेवी पनि चुरोटकी अम्मली थिइन् । प्राणदेवी र नारायणगोपालको कुरा खुब मिल्थ्यो । पालैपालो चुरोट तान्दै गीत र गायिकीका कुरा गर्थे उनीहरू । किनभने प्राणदेवी पनि रेडियो नेपालकी (२००७ साल) गायिका र संगीतकार थिइन् ।

नारायणगोपालले भारतको बडौदामा शास्त्रीय संगीत सिक्दासिक्दै त्यो संगीत कक्षा छाडेर नेपाल फर्केका थिए । त्यसको एउटै मुख्य कारण थियो, चुरोट । संगीत स्कुलको छात्रावासमा चुरोट खान बन्देज थियो । कडा अनुशासनमा बस्नुपर्थ्यो । तर, नारायणगोपाल चुरोटको तलतलले छटपटाउँथे । हठी नारायणगोपाल जसरी पनि चुरोट खाएरै छाड्थे । शौचका समयमा शौचालयमा चुरोट तान्थे । त्यो गन्ध फैलिएर जताततै पुग्थ्यो । कैयौंपटक पक्रिए पनि । यो कुरा उनले प्रेमध्वज प्रधानलाई एचएमभीमा गीत रेकर्ड गराउन जाँदा कलकत्तामा सुनाएका थिए । सुगरले समातिसकेपछि पनि उनी दैनिक २५ खिल्लीसम्म चुरोट खान्थे । पहिले–पहिले दिनको ५५ खिल्लीसम्म खान्थे । रेडियो नेपालबाहिरको पोखरीको डिलमा बसेर खुट्टा हल्लाउँदै चुरोट तानिरहेका नारायणगोपाल भेटिन्थे । टुँडिखेलपट्टि फर्केर दायाँ हातमा गुदपाक र बायाँ हातमा चुरोट समाइरहेका नारायणगोपाल पनि देखिन्थे ।

हिसाबगोपाल
‘नेपाल कलाकार परिवार’ को आयोजनामा नारायणगोपालले २०१३ सालमा भेडासिंहमा पहिलोपटक स्टेजमा हार्मोनियम बजाएर नेपाल भाषाको गीत गाएका थिए :
‘गनच्वाक खंसा मयजु, केलेंमिखाँ स्वमाते न्हाँला’
(अचानक भेट्दा आँखाले नक्कल पारी नहेर्नू है)

यो गीतका रचनाकार र संगीतकार त्यतिबेलाका संस्कृत र नेपाल भाषाका गुरु ईश्वरानन्द श्रेष्ठाचार्य थिए । टोलमा उनको उपनाम ‘विद्वान् मास्टर’ थियो । नेपाल भाषाको गीत गाउँदा नारायणगोपालको उच्चारण ‘खास’ सुनिन्थ्यो ।

एक दिन प्रेमध्वज प्रधान भेडासिंहमा यत्तिकै हल्लिरहेका थिए । अचानक नारायणगोपालसँग भेट भयो । नारायणगोपालले भने, ‘मलाई हिसाब गाह्रो लाग्छ, त्यसैले सेन्टअप हापें, पढ्न छाडिदिएँ ।’ प्रेमध्वजले आफूले नि त्यसैगरी पढाइ हापेर फेरि पद्मोदय स्कुलबाट एसएलसी पास गरेको सुनाएपछि नारायणगोपाल पनि ठमेलको जेपी हाइस्कुल भर्ना भए र एसएलसी पास गरे । त्यही मेसोमा २०१६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिने भए । उनीसँग गीत भने थिएन । उनले प्रेमध्वजसँग आग्रह गरे । प्रेम–माणिकको जोडीले उनलाई गीत बनाइदियो । राममान तृषितको शब्दमा ‘पक्षीको पंखमा धर्तीको याद दियो’ बोलको गीत नारायणगोपालले दुई घण्टा सिके, किलागलको राममानको भाडाको कोठामा । त्यतिबेला प्रेमध्वजले अमेरिकन लाइब्रेरीमा जागिर खान थालिसकेका थिए । नारायणगोपाल आइपुगे र भने, ‘त्यो तिम्रो साइकल देऊ त !’ प्रेमध्वज प्रधानकै ‘रेली साइकल’ लिएर रेडियो नेपाल गए र स्वर परीक्षा दिए । ४ बजे फर्केर आए । ‘स्वर परीक्षा कस्तो भयो ?’ भन्दा ‘ठीकै’ भन्ने उत्तर दिए । केही दिनपछि रेडियो नेपालको स्वर परीक्षा पास भएको खबर दिन नारायणगोपाल फेरि प्रेमध्वजकै अफिस पुगेका थिए ।

बडौदामा पढ्न जाँदा पाएको छात्रवृत्ति जोगाएर नारायणगोपालले ७ हजार रुपैयाँ जम्मा पारेका थिए । एक दिन प्रेमध्वजलाई भनेछन्, ‘एउटा कुरा सोधूँ, भूतबंगलामा साढे ३ रोपनी जग्गा साढे ८ हजारमा दिन्छु भनेको छ । किनौं कि के गरौँ ?’ प्रेमध्वजले तत्कालै जग्गा किन्ने सल्लाह दिए । अहिलेको महाराजगन्जलाई नारायणगोपाल ‘भूतबंगला’ भन्थे । उनले त्यतिबेला किनेको जग्गामा अहिले पनि नारायणगोपालको घर छ । त्यही घरलाई ‘नारायणगोपाल संगीत कोष’ बनाइएको छ । त्यतिबेला नारायणगोपालले गरेको हिसाबचाहिँ सही थियो ।

पहलमानगोपाल
भेडासिंहमा बिहान–बिहान दूध बेच्न आउनेहरूले किन हो कुन्नि नारायणगोपाललाई जिस्क्याउँथे रे ! त्यो क्रम २–४ दिन चलेपछि नारायणगोपाललाई झोंक चलेछ र दुई जनाको गालामा थप्पड हानेछन् । प्रेमध्वजसँग भेटेर भनेछन्, ‘मलाई सधैं जिस्क्याउँथे, आज देब्रे–दायाँ बजाइदिएँ । के म पहलमान नै भएँ कि क्या हो ?’ त्यसपछिको जीवनमा उनी पहलमानको नामबाट पनि चिनिए । जिमसमेत गरे । नारायणगोपाल कम बोल्थे । बोल्न थालेपछि आफू कहिल्यै हाँस्दैनथे तर अरूलाई मूर्च्छा पर्ने गरि हँसाउँथे । २०१५ सालमा नारायणगोपाल र प्रेमध्वज लरी चढेर भक्तपुर हुँदै सिन्धुपाल्चोकको चौतारा जाँदै थिए । प्रेमध्वजका काका भक्तध्वज प्रजापरिषद्बाट संसद्को निर्वाचनमा उम्मेदवार बनेका थिए ।

भक्तपुर कमलविनायाकको चुरौटेको घरमा बास बसेर भोलिपल्ट उनीहरू नगरकोट हुँदै इन्द्रावती पुगे । र, डुंगा तरेर भीमटार हुलाक हुँदै सिपाडाँडा पुगेर भात खाँदै थिए । एउटा तमाखु खाइरहेको बूढो मानिसले निकै खोकिरहेको रहेछ । त्यो बूढाले खोकेको शैलीमा दुई हातलाई बन्दुक बनाएर नारायणगोपालले पनि नक्कल गरेर देखाए । उनी अरूको शैली र आवाजको यस्तोसम्म नक्कल गर्थे कि कहिलेकाहीं सँगै हिँड्दा चराको आवाज आउँथ्यो, वरिपरि हेर्‍यो, चरा हुँदैनथ्यो, चरा–आवाजमा कराउने नारायणगोपाल आफैं हुन्थे । प्रेमध्वजका काका सांसद उठेका थिए । उनले चुनाव हारे । भोट हाल्ने दिन नारायणगोपाल र प्रेमध्वजले पहलमानको काम गरेका थिए । लाइन मिलाएका थिए । मान्छेलाई व्यवस्थित बनाएका थिए । १५ दिन चौतारा बस्दा बेखुलाल काकाकहाँ हार्मोनियम बजाएर भजन गायकीको पहलमानी पनि उनले देखाए ।

गम्भीरगोपाल
नारायणगोपाल गीत छनोट र गायकीमा गम्भीर थिए । २०१७ सालमा प्रेमध्वज जमलमा डेरा बस्थे । एक दिन अचानक नारायणगोपाल उनको डेरामा आए र भने, ‘मैले एउटा लय हालेको छु, सुन्ने हो ?’ प्रेमध्वज सुन्न राजी भए । उनले ‘स्वर्गकी रानी, मायाकी खानी नजाऊ तर्केर’ बोलको गीत सुनाए । प्रेमध्वजले अन्तराको ‘गोरा गुलाबी गाला’ मा ‘हो हो गाला हो गाला’ लय थपिदिएका थिए । उनले प्रेमध्वजको सल्लाहबमोजिम त्यसलाई रेकर्ड पनि गरे ।

रुन्चेगोपाल
नारायणगोपालले पेमलालाई दार्जिलिङबाट भगाएर काठमाडौँ ल्याइसकेका थिए । एक दिन प्रेमध्वजको घरमा नारायणगोपाल आइपुगे र भने, ‘मैले बिहे गरेँ, उनको नाम पेमला हो । हेर्ने हो पेमलालाई ?’ प्रेमध्वजले ‘हुन्छ’ भने । केही घण्टापछि प्रेमध्वज र उनकी आमालाई भेटाउन पेमलालाई लिएर आए नारायणगोपाल । उनले प्रेमध्वजलाई ‘पेमला कस्ती लागिन् ?’ भनेर सोधे । प्रेमध्वजले जवाफ दिए, ‘राम्री छ ।’ प्रेमध्वज जमलको डेराबाट बागबजार सरिसकेका थिए— घर बनाएर । बागबजारको घरमा अचानक नारायणगोपाल आइपुगे । रुन्चे स्वरमा उनले भने, ‘पेमलाको पाठेघरको देब्रे पाइपमा बच्चा बसेछ । पेमला बेहोस भई । पाठेघर सफा गर्दा पनि बेहोस भई । डाक्टरले अब बच्चा हुँदैन भनेको छ ।’ यति भनिनसक्दै नारायणगोपाल आवाज आउने गरी रुन थाले ।

प्रेमध्वजले उनलाई थुमथुम्याए, त्योभन्दा बढी उनकी आमाले ढाडस दिइन् । केही महिनापछि उनी त्यसरी नै प्रेमध्वजको घर आए । कम बोल्थे । चियाको चुस्कीसँगै उनका आँखा टिलपिलाइसकेका थिए । प्रेमध्वजले ‘किन रोएको’ भनेर सोध्दा बाल्यकालका दिन र आफ्ना आनीबानी याद आएर रोएको उनले बताए ।प्रेमध्वज भन्छन्, ‘नारनको देहावसान भैसकेपछि शवमा पुष्पगुच्छा चढाउँदा र आर्यघाटमा बिदाइ गर्दा म पनि रोएँ ।’

बा वैद्यगोपाल
प्रेमध्वज भन्छन्, ‘नारनका बा आशागोपाल गुरुवाचार्य प्रसिद्ध सितारवादक मात्रै थिएनन्, नामूद वैद्य पनि थिए । मेरी आमाले सधैं मलाई मेरो धातुस्थान कमजोर छ भन्थिन् । त्यसैले मैले नारनका बासित दुई महिनाको फरकमा सुवर्णभस्मको दुई मात्रा २०/२० रुपैयाँमा किनेर खाएको छु ।’

प्रकाशित : मंसिर २१, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?