कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सधैं गतिशील

ध्रुव तुलाधर

'ओल्ड इज गोल्ड,' दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरले स्वर्ण पदक जितेपछि भोलिपल्टको भारतीय दैनिकहरूले लेखे । ‘उमेर ३५, दौड्ने २०’ भन्दै समाचारमा उनको खुबै तारिफ भयो । तन्नेरी धावकले जसरी दौडिएको भनेर चर्चा गरिएको थियो । कोलकाता रंगशालामा ३३ वर्षअघि पाएको वैकुण्ठको त्यो सफलताको चर्चा अहिले पनि उत्तिकै छ ।

सधैं गतिशील

जब दक्षिण एसियाली खेलकुद (साग) आउँछ, तब उनको त्यो स्वर्णको कथा कोरिन्छ । तत्कालीन दक्षिण एसियाली महासंघीय (साफ) खेलकुद, अहिले परिवर्तित नाम सागको तेस्रो संस्करण भारतको कोलकातामा भएको थियो । सन् १९८७ मा वैकुण्ठले कोलकातामा रचेको म्याराथनको कीर्तिमान तेजस्वी छ । पहिलो र दोस्रो साफमा स्वर्ण जितिसकेकाले स्वर्णको ह्याट्रिक गर्ने पालो थियो । तयारी राम्रो थियो । त्यसले गर्दा टाइमिङ सुधार्नुपर्ने दबाब उत्तिकै थियो उनमा ।


कोलकाता जानुअघि सबैको हौसला र साथ पाएका थिए उनले । तत्कालीन राजा वीरेन्द्रले समेत उनलाई हौसला भरिदिएका थिए । प्रशिक्षणमा विशेष प्राथमिकता गराइदिएको थियो । जर्मन र रसियन प्रशिक्षकको निगरानीमा थिए । वैकुण्ठ सम्झन्छन्, ‘त्यसले मलाई धेरै ऊर्जा दियो । मैले पनि केही गर्नुपर्छ भन्ने अठोट रह्यो । त्यो कोलकाताको ट्र्याकमा देखाएँ । तेस्रो स्वर्ण जितें । कीर्तिमान पनि बनेछ । त्यो मेरा लागि एउटा बयान गर्न नसकिने क्षण थियो । कोलकातामै मेरो चर्चा चुलिएको थियो ।’


उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको म्याराथन टाइमिङ निकालेका थिए । दोस्रो साफ (१९८५) मा कायम गरेको भन्दा ७ मिनेट सुधारेका थिए । जबकि २ घण्टा २२ मिनेट ०७ सेकेन्डमा ढाकामा उनले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालको स्वर्ण जित्नेमा वैकुण्ठ मात्र रहे । लामो दूरीमा नेपाली धावकलाई पहिलो र दोस्रो संस्करणमा कमैले चुनौती दिन्थे । सन् १९८४ को काठमाडौं साफमा २ घण्टा २७ मिनेट ११ सेकेन्डबाट स्वर्ण जित्दा वैकुण्ठलाई चुनौती दिने आफ्नै देशका अर्जुन पण्डित थिए । अर्जुनले २ घण्टा ४२ मिनेट लगाएर रजत जितेका थिए ।


तेस्रोमा भने उनलाई श्रीलंकन धावक समरासिंघेलाई कडा टक्कर दिएका हुन् । वैकुण्ठले सम्झिए, ‘उनी म सँगसँगै दौडिरहेका थिए । उसलाई त कुनै पनि हालतमा जित्छु भन्ने मेरो ध्यान थियो । अन्तिमतिर गति बढाएँ । उनलाई पछाडि पारें ।’ चौथो संस्करण (इस्लामाबाद, १९८९) मा उनै समराले वैकुण्ठलाई पछाडि पार्दै स्वर्ण जिते पनि टाइमिङ (२ः१९ः४२) मा उछिन्न सकेनन् । त्यसमा वैकुण्ठले कांस्य पदक जिते । उनी चाहन्थे, आफ्नै चेला टीकाबहादुर बोगटीले पदक जितुन् भन्ने तर त्यस्तो भएन । चौथोदेखि आठौंसम्म वैकुण्ठको म्याराथन पथलाई टीका, विसनसिंह राउत, गणेशबहादुर राईले पछ्याएका थिए । कोलम्बो (१९९१) र ढाका (१९९३) मा कांस्यमा चित्त बुझाएका टीकाले मद्रासमा स्वर्ण जिते ।


२० वर्षपछि नेपाली भूमिमा साग आयोजना हुँदै छ । साग पूर्वसन्ध्याले आम खेलकर्मीलाई चटारो छ । त्यही मेसोमा भेटिँदा वैकुण्ठ भने फुर्सदिला देखिए । देशकै लिजेन्ड धावक भए पनि उनी भूमिकाविहीन छन् । ६८ वर्षे वैकुण्ठको दशरथ रंगशालामा धाउनेक्रम रोकिँदैन । बिहान सबैरे आइपुग्छन् । पुनर्निर्माणको अन्तिम चरणमा रहेको रंगशाला फन्का हाल्छन् । साथीभाइ भेट्छन्, चेलाहरूसँग गफिन्छन् अनि कलंकी सुनार गाउँस्थित घर फर्कन्छन् । डेढ दशकअघि मुटुको भल्भ फेरेका उनको कर्म मैदानमा आउन खुट्टा रोकिँदैन ।


झन्डै चारपल्ट वैकुण्ठ रंगशाला पुनर्निर्माण भएको आफैंले देखेका छन् । आठौं साफमा पनि पुनर्निर्माण भएको थियो । त्यसअघि २०३७ साल र २०२८ सालमा पनि पुनर्निर्माण गरिएको थियो । २०२८ सालमा त उनीहरू दौडिएर रंगशाला र कभर्डहलको उद्घाटन गरेका थिए । त्यसैले रंगशालाप्रति उनको मोह अत्यधिक छ ।


१३ औं सागमा तपाईको कुनै भूमिका छैन ? एक छिन उनी अनुत्तरित भए । भने, ‘मलाई कहाँ भूमिका दिन्छन् । मेरो डाह गर्ने धेरै छन् । म छुच्चो छु । मनमा लागेको बोल्छु । त्यो खेलकुदका शासकलाई मन पर्दैन, पच्दैन । म आशा पनि गर्दिनँ । नयाँ पिँढीले पाउनुपर्छ । उचित मान्छेलाई उचित ठाउँ दिइनुपर्छ तब मात्र खेलकुद विकास हुन्छ ।’


साग उद्घाटनको दिन ओलम्पिक टर्च बाल्न पाउनेमा भने विश्वस्त छन् । ‘ओलम्पियन अनि यही सहरको वासिन्दा भएको नाताले ओलम्पिक टर्च बाल्न पाउनु मेरो अधिकारमा पर्छ,’ चारपल्ट ओलम्पिक खेलेका वैकुण्ठले सुनाए ।


दक्षिण एसियाली खेलकुद नजिकिएसँगै सधैं उनको मनमा भुटभुटी चल्छ । आफ्नो नामको कीर्तिमान अरू कुनै देशका खेलाडीको नाममा नजाओस् । कीर्तिमान नेपालकै धावकको नाममा लेखिएको देख्न चाहन्छन् उनी । सम्भव छ त ? यस किसिमको छोटो तयारीले कीर्तिमान तोड्न गाह्रो हुने उनी ठोकुवा गर्छन् । ‘३–४ महिनाको तयारीले कहाँ पुग्छ ? लामो क्याम्पमा राख्नुपर्छ । त्यो पनि खेलाडीको ट्रेनिङ एज हुन्छ । त्यतिबेला राम्रो प्रशिक्षण पाउनुपर्छ । तब नतिजा त्यहीअनुसार दिन सक्छ । नत्र सम्भव हुँदैन,’ लामो दूरीका धावक तयार पार्न सानै उमेरदेखि हरेक पक्षमा ध्यान दिनसके नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमै राम्रो सफलता पाउने उनको बुझाइ छ ।


देशको भौगोलिक बनावटका कारण नेपाली दौडमा सफल हुने वैकुण्ठको अनुभव छ । ‘दौडका लागि हाम्रो ‘जिन’ नै राम्रो छ । अफ्रिकी देशले जस्तै योजना बनाएर अगाडि बढ्नुपर्छ । तब मात्र हामी धावकहरूले भरिएको देश हुन सक्छौं,’ उनी भन्छन्, ‘नीलेन्द्रराज श्रेष्ठले ल्याएको सहर म्याराथनको अवधारणामा जान सके त्यसले खेलाडी र देशको आर्थिक र सांस्कृतिक पक्षको पनि विकास हुन्छ ।’


सागमा लगातार तीन स्वर्ण जित्नुको रहस्य के थियो त ? खेलाडीमा हुनुपर्ने गुण थियो, ‘अनुशासन, मिहिनेत र देशप्रति समर्पण ।’ यिनै कुराले उनको खेलाडी जीवनलाई बाँधिरह्यो । आफ्नो खेलप्रति कुनै पनि समय विचलित भएनन् । अनि अर्को उनलाई तत्कालीन शासकहरूको बलियो साथ रह्यो । राजा वीरेन्द्रले समेत उनको ट्रेनिङबारे चासो राख्थे अनि हौसला भर्थे रे । त्यसले उनलाई राम्रो गर्न प्रेरित गरिरह्यो । भन्छन्, ‘जहिल्यै मैले केही गरेर देखाउनुपर्छ भन्ने लागिरहन्थ्यो ।’


दोस्रो साफमा स्वर्ण जितेपछि प्रबल गोर्खा दक्षिणबाहु पाए भने तेस्रो जितेपछि विख्यात त्रिशक्तिपट्ट थापे । उनले राजदरबारमा पदक थाप्न जाँदाको एउटा घटना सुनाए, ‘राजा (वीरेन्द्र) ले विशिष्ट श्रेणीमा पर्ने पदक दिन चाहेका रहेछन् । परिषद्बाट सिफारिस अर्कैमा गएछ । अनि मलाई राजाले छुट्टै बोलाएर भने— तिमी देशकै ठूलो सम्पत्ति हौं । देशको नाम फैलायौं ।

भन तिमीलाई के आवश्यक छ, के गर्नुपर्छ ? खेलाडीका लागि धेरै सुविधा छैन ।’ मैले भनें, ‘सरकार, ठीक छ । मलाई मात्र गरेर हुँदैन । अरू धेरै खेलाडी छन् । मेरोभन्दा कमजोर स्थिति भएकालाई हेर्नुपर्छ ।’ राजाले ‘हुन्छ’ भने । मलाई १० हजार रुपैयाँ दिए । त्यतिबेला पदक मात्र दिने चलन थियो । मलाई पैसा लिनु कि नलिनुजस्तो भयो । तर लिएँ । योगदानको कदर गरिएको हो भन्ने लाग्यो । त्यो जमानामा १० हजार ठूलो रकम थियो ।’
twitter:@tuladhardhurba

प्रकाशित : मंसिर १४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?