१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘भाग्य’ को खेल

राजु घिसिङ

तेक्वान्दोकी मनिता शाही र उसुकी निमा घर्तीमगर दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितिसकेका खेलाडी हुन् । आइतबार सुरु हुने १३ औं सागमा उनीहरू त्यो सफलता दोहोर्‍याउने अभियानमा छन् । जनमुक्ति सेनाको सिन्धुली क्याम्पमा तीन वर्ष बिताएकी अनुपमा मगर पनि कराँतेमा स्वर्णकै कोसिसमा छिन् ।

‘भाग्य’ को खेल

निमा घर्तीमगर १९ वर्षकी छन् । उनीभन्दा नौ वर्ष जेठी हुन्, अनुपमा मगर । र, अनुपमाभन्दा नौ वर्ष बढी उमेरकी हुन् मनिता शाही ।

यी तीनै जना आ–आफ्नै विशेषता र बेग्लाबेग्लै स्वभावका छन् । अनुपमा टिकटकमा खुबै सक्रिय हुने छिन् । गीत गाउँछिन् र मोडलिङ गर्छिन् पनि । मनिता २० महिनाकी छोरीलाई हुर्काइरहेकी छन् । निमा पढाइ र खेलमै केन्द्रित छिन्, बेलाबेला फेसबुकमा देखिन्छिन् ।


तीन जनाको एउटै विशेषताचाहिँ– यी सबै खेलाडी १३ औं सागमा स्वर्णका दाबेदार हुन् । निमा उसु खेल्छिन् । मनिता तेक्वान्दो । अनुपमा कराँते । अहिले सबथोक छाडेर उनीहरू १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा जुटेका छन् । औपचारिक रूपमा आइतबार सुरु हुने सागमा घरेलु मैदानमा सहभागी हुने मात्रै उनीहरूको लक्ष्य होइन । मार्सल आर्ट्सका यी तीनै खेलाडी देशलाई स्वर्णपदक दिलाउन चाहन्छन् ।

दक्षिण एसियाली खेलकुदको महाकुम्भमा तेस्रोपल्ट सहभागी हुने अवसर पाएकी मनिता काठमाडौंकी रैथाने हुन् । उनले १० औं साग (कोलम्बो २००६) मा स्वर्ण र ११ औं साग (ढाका २०१०) मा रजत जितेकी थिइन् । १५ औं एसियाली खेलकुद (दोहा २००६) मा पनि कांस्य हात पारेकी उनी यो सागमा प्रतिस्पर्धा गर्न भने अमेरिकादेखि आइपुगेकी हुन् । असन–डल्लुकी ३७ वर्षीया उनको बिहेपछि घर फेरियो र त्यो पनि राजधानीकै कीर्तिपुर । अहिले छोरी मेल्बिना कीर्तिपुरमै बुबासँग हुर्किरहेकी छन् ।


रोल्पाली छोरी हुन्, निमा । उनी ६ वर्षको छँदै अभिभावकसँगै राजधानी छिरेकी हुन् । गुवाहाटी र सिलोङमा तीन वर्षअघि भएको १२ औं सागमा नेपालले तीन स्वर्णपदक जितेको थियो । त्यसमा पहिलो स्वर्ण निमाले चुमेकी थिइन् । त्यस बेला जम्मा १६ वर्षकी थिइन् । स्वर्ण जितेर फर्केको अर्को महिना एसएलसी दिइन् । अहिले स्नातक तहमा पुगेकी छन् । त्यस बेला कुराकानीमा उनी बाल्यकालमै रहेको प्रस्टै झल्किन्थ्यो । परिपक्व भइरहेकी उनी दोस्रोपल्ट सागमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी हुने अभियानमा छिन् ।


उदयपुरकी हुन्, अनुपमा । उनी स्कुल पढ्ने १४ वर्षको उमेरमै नाचगानमा आकर्षित भएर माओवादीको पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । त्यो २०६२ साल हो । कुन महिना भन्ने उनलाई पनि याद छैन । पढाइमा लाग्ने त्यो उमेरमै उनले माओवादी जनयुद्धको बेला गोली, ग्रिनेड बोकेर तोकिएको ठाउँमा पुर्‍याउने काम गरिन् । अर्को वर्ष (२०७३ साल जेठ) मा लोकतन्त्र आयो । गृहयुद्ध रोकियो । उनी जनमुक्ति सेना (पीएलए) को सिन्धुलीस्थित डिभिजन कार्यालय पुगिन् । त्यहाँको तीनवर्षे बसाइमै कराँते सिक्न थालेकी उनी पहिलोपल्ट सागमा प्रतिस्पर्धा गर्दै नेपाललाई पदक दिलाउने योजनामा छिन् ।


आमा बितेपछि घर लेखानी पुगेर १५ दिनको काम २ दिनमा सकाएर अनुपमा नम्बर डिभिजन कार्यालय सिन्धुली फर्केकी थिइन् । अनि उनलाई बस्नै मन लागेर र निस्किइन् । पुगिन् बालाजु डोजो, जहा ध्रुवविक्रम मल्लसँग कराँते सिकाइलाई निरन्तरता दिन थालिन् । उनलाई सेना समायोजनमा माओवादी पूर्वलडाकुको रूपमा नेपाली सेनामा जागिर खाने अवसर पनि थियो । तर, उनले स्वैच्छिक अवकाश रोजिन् । त्यस बेलासम्म पनि उनलाई खेलाडी बन्छु भन्ने लागेको थिएन ।


अनुपमाले खासमा शरीरको तौल घटाउन कराँते खेल्न थालेकी थिइन् । तौल घटाइन् पनि । ६० केजीबाट ४९ केजीको भइन् । प्रतियोगितामै सहभागी हुन थालिन् । जनमुक्ति सेनाको आन्तरिक खेलकुदमा पहिलो हुनेले २०६५ सालमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो । जनमुक्ति सेनाका खेलाडीको त्यो सहभागिताले देशमा ठूलै राजनीतिक हलचल ल्याएको थियो । उनी त्यो खेलाडीमा परिनन् ।


भोजपुरकी मीरा राई पनि सिन्धुली क्याम्पमै थिइन् । साहसिक दौड (ट्रेल रनिङ) मा सफलता हात पार्दै मीरा विश्वमै चर्चित् भइन् । मीरा र अनुपमा सिन्धुलीको भेटयता मिल्ने साथी बने । एकअर्कालाई ‘दोस्त’ भनेर बेलाउँछन् । यी २८ वर्षीया अनुपमाले १७ औं एसियाली खेलकुद (इन्चोन २०१४) मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । त्यस बेला करातेको विवाद उत्कर्षमा थियो र उनी डोजोमा गरेको तयारीबाटै सीधै कोरिया पुगेकी थिइन् । उनीजस्तै पुगेकी विमला तामाङ त्यो एसियाडमा पदक (कांस्य) जित्ने एक्लो नेपाली भएकी थिइन् ।


यसपालि अनुपमा अरू खेलाडीसँगै क्लोज क्याम्पमा बसेर तयारी गरिरहेकी छन् । ‘क्लोज क्याम्पमा होटलमै बस्नुपर्ने रहेछ । सुरुमा घर जान पनि पाइँदैन भन्दा त कस्तो नरमाइलो लागेको थियो,’ २८ वर्षीया उनले भनिन् । उनी अहिले क्लोज क्याम्पमा सहज मानिरहेकी छन् । उनले गत महिना ढाकामा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा रजत जितेकी थिइन् । यसले पनि १३ औं सागमा उनलाई उत्साहित बनाएको छ । ६८ केजीमाथि प्रतिस्पर्धा गर्न लागेकी उनले भनिन्, ‘तयारी राम्रै भइरहेको छ । सफलता प्राप्त गर्नका लागि उच्च स्तरको प्रदर्शन गर्न सक्दो कोसिस गर्नेछु ।’


नाच्ने गाउने मोहले रहरैरहरमा माओवादीमा पुगेकी अनुपमा सिन्धुली क्याम्पबाट बाहिरिएपछि पार्टीमा सक्रिय छैनन् । उनको पदकको ग्राफ एकनासको छ । छैटौं राष्ट्रिय खेलकुदमा कांस्य, सातौंमा रजत र आठौंमा स्वर्ण । त्यही स्वर्ण र छनोटमा पाएको सफलताले उनलाई सागसम्म डोर्‍याएको हो । करातेको प्रिमियर प्रतियोगिता खेलिसकेकी उनलाई घरेलु च्याम्पियनसिपमा हात पारेको स्वर्णपदकको संख्या याद नै छैन । ‘धेरै जितेकी छु । तर कति खेल्यो र कति जित्यो भन्नेचाहिँ याद छैन,’ हाँस्दै भनिन् ।


मनिता र अनुपमामा एउटा समानता छ । दुवैले १७ वर्षको छंँदा खेल सुरु गरेका थिए । यसबीच मनिता नेपाली तेक्वान्दोको स्वर्णिम युगको खेलाडी बनिन् । केही वर्षअघिसम्म यी ५ फिट ७ इन्च अग्ली खेलाडीलाई घरेलु प्रतियोगितामा चुनौती दिने खेलाडी थिएनन् । उनी १७ औं एसियाडपछि आफैं खेलबाट टाढिएकी थिइन् । अमेरिका पुगिन् । विवाह गरिन् । छोरी जन्माइन् ।

यी सबै जिम्मेवारीलाई केही समयका लागि अलग्गै राखेर उनी फेरि किक र पन्च प्रहार गर्न फर्किएकी हुन् । इन्चोन एसियाडयता पहिलोपल्ट देशको प्रतिनिधित्व गर्न लागेकी मनिता भन्छिन्, ‘मैले धेरै खेलें । अब अरूले अवसर पाउनुपर्छ भन्ने लाग्यो । त्यसैले चार वर्ष तेक्वान्दोबाट अलग भए । फर्किन्छु भन्ने सोचेकी थिइनँ ।’ पतिको प्रेरणा र साथीहरूको हौसलतामा छोरी जन्माएपछि पनि प्रतिस्पर्धा गर्ने हिम्मत आएको उनले बताइन् । क्लोज क्याम्पमा बसेयता उनले कीर्तिपुरमा रहेकी छोरीलाई देख्न नपाएको एक महिनाभन्दा बढी भयो ।


छोरी जन्माएको एक वर्षपछि एरिनामा पुनरागमन गर्दै उनले गत चैतमा भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितिन् । तर, २० भदौमा भएको सागको छनोटमा असफल भइन् । अनि छोरीको हेरचाहमा लागिन् । छनोट भएका खेलाडीले १८ वर्षभन्दा कम उमेरको भएकीले खेल्न नपाउने भइन् । यसले मनितालाई अर्को मौका दिलायो । फेरि ३ कात्तिकमा भएको छनोटमा सफलता हात पार्दै उनले ५ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरिन् । लगत्तै भर्जिनिया (अमेरिका) उडिन् । उतैबाट चीनमा भइरहेको नेपाली टिमको क्लोज क्याम्पमा पुगिन् । र अहिले स्वदेश फर्केर सागमा तेस्रोपल्ट प्रतिस्पर्धा गर्ने संघारमा आइपुगेकी छन् ।


छोरी हुर्काउनु सजिलो कि खेल्नु ? ‘बच्चा हुर्काउनु सबभन्दा गाह्रो रहेछ,’ दैनिक ६ घण्टा अभ्यास गरिरहेकी मनिताले हाँस्दै जवाफ दिइन् । आफ्नो पुनरागमनबारे भन्छिन्, ‘दीपक गुरु (विष्ट) ले यस्तै उमेरमा सफलता हात पार्नुभयो भने हामी (छोरी मान्छे) ले किन नसक्ने भन्ने लाग्यो ।’ छनोटबाट बाहिरिएर फेरि फर्कंदा तयारी गर्ने समय कम भएको उनको अनुभव छ । ‘पहिलाभन्दा स्पिड घटेको छ । तर, बिस्तारै राम्रो भइरहेको छ । फेरि एकपल्ट स्वर्ण जित्ने कोसिस गर्नेछु,’ उनले भनिन् । २० वर्षे करिअरको अनुभवलाई उपयोग गर्न सके उनलाई मिडलवेट (७३ केजीमुनि) स्वर्ण चुम्न गाह्रो नहुन सक्छ ।


१९ वर्षीया निमाले १२ औं सागको स्वर्ण जित्दाको बेला कोट्याइन्, ‘साह्रै चकचके थिएँ । अरूलाई एकदमै दुःख दिन्थे । ती दिनहरूलाई लिएर सम्झँदा हाँसो लाग्छ । अहिले परिपक्व भएकी छु । अरूलाई दुःख दिन्नँ ।’ उनलाई पहिलोपल्टै देशको प्रतिनिधित्व गर्ने अवसर पाउँदा स्वर्ण जित्छु भन्ने लागेको थिएन । उनलाई भाग्यले पनि साथ दिएको थियो ।

उनी १३ औं सागमा त्यही सिलोङको सफलता दोहोर्‍याउने अभियानमा छिन् । यसका लागि उनले दैनिक ८ घण्टासम्म अभ्यास गरेकी छन् । ‘मेरो खेल पहिलाभन्दा राम्रो भएको छ । त्यसैले फेरि स्वर्ण जित्ने कोसिस गर्दै छु,’ लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भेटिएकी उनले भनिन् । उनी भारतीय खेलाडीलाई नै आफ्नो मुख्य प्रतिद्वन्द्वी मान्छिन् । उनले थाउलको नान छ्वान/नान ताओ स्पर्धामा भारतीय खेलाडीलाई पछाडि पार्दै सिलोङमा सफलता हात पारेकी थिइन् । यसपालि पनि त्यही स्पर्धामा चुनौती पस्कँदै छिन् ।


निमा १४ वर्षको छँदै १७ औं एसियाडमा छनोट भएकी थिइन् । तर, अन्तिम समयमा उनको स्पर्धामा खेलाडी नपठाउने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरिदियो । त्यसपछि झन्डै दुई साता स्कुल नै नगएकी उनी घरमै रुँदै बसेकी थिइन् । त्यसको दुई वर्षपछि सागमा पाएको स्वर्णले उनलाई अर्कै तहमा पुर्‍यायो । त्यो च्याम्पियनको स्तरमा रहिरहने चुनौती उनलाई यसपालि आएको छ । ६ वर्षअघि लुम्बिनी च्याम्पियनसिपमा तेस्रो भएयताका सबै घरेलु प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी उनले १२ औं सागमा स्वर्ण जितेयता तीनपल्ट मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।
Twitter:@rghising

प्रकाशित : मंसिर १४, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?