सबैको ‘उस्तै’ मन

मान्छेको मन महासागरभन्दा विशाल छ  । कहिले दौडन्छ, कहिले स्थिर भइदिन्छ  । यो वास्तवमै रहस्यमय छ । यस्तै अपरिभाषित मान्छेको मनसँग जोडेर डा. विश्वबन्धु शर्माले ४० वर्षदेखिको आफ्नो अनुभवलाई शब्दमा अनुवाद गरेका छन्, ‘मान्छेको मन’ भित्र । यो पुस्तक हातमा लिइरहँदा म गहिरोसँग अतीतमा पस्न पुगेँ ।

सबैको ‘उस्तै’ मन

‘निद्रा आँखामा बस्दैन । खानामा मेरो अरुचि बढेको छ । मनमा अनेक कुरा खेल्छन् । यसरी त म मर्छु होला,’ तीन वर्षअगाडि आमाले फोनमा भन्नुभएको थियो । मैले देखेकी थिएँ– आमाको घाँटीछेउका हाडहरू नमज्जाले उचालिएका । आँखाहरू गालाका हाडभित्र गाडिन सुरु भएको थियो । दिन र रातको भेउ पाउन छाडेको थियो आँखाहरूले । निष्पट्ट अँध्यारोमा पनि ती टल्किन्थे । साँध लगाइको हतियारजस्तै । मन अस्थिर भइरहेको थियो । मैले उपचारका लागि सहरको नाम चलेका केही अस्पतालमा लगेँ । खासै प्रभाव देखिएन । आमाको अवस्था पहिलेभन्दा खराब भएर गएको थियो । पछि एक शुभचिन्तकबाट मैले डा. विश्वबन्धु शर्माबारे सुनेँ । मैतीदेवीस्थित उनको क्लिनिकको फोन नम्बर पत्ता लगाएँ । समय लिएँ । एक हप्तापछिको समय मिल्यो ।


डा. शर्माको डेस्कमा पुगेको केही दिनबाट आमाका आँखाहरूले शीतलता प्राप्त गर्‍यो । मनको चञ्चलता घट्दै गयो । खानामा रुचि बढेर गयो । औषधि खासै महँगो थिएन । धेरै पनि थिएन । तर व्यथा कम हुँदै गएको देखेर म चकित भएँ । यस्तो प्रतीत भयो कि, आमाको ज्यानमा स्फूर्ति कतैबाट हाम्फालेर आइपुगेको छ । छ महिना निरन्तरको फलोअपले आमा ठीक हुनुभयो । औषधिको साइडइफेक्टले कपाल भने झर्न थालेको थियो । हामीलाई लाग्यो– आमा त ठीक हुनुभो ।


अहिले नियमित औषधि सेवनले अवस्था सामान्य हुँदै गएको छ । यसैबीच उनको पुस्तक ‘मान्छेको मन’ सार्वजनिक भयो । यो पुस्तक पढिसक्दा म धेरै कुरामा ‘कन्भिन्स’ भएँ । मसँग भएका भ्रमहरू भत्किएर गएका छन् । मानसिक स्वास्थ्य र यसबारे म अझ बढी सचेत भएकी छु । ४० वर्षदेखि मान्छेको मनको उपचारमा तल्लीन उनै डाक्टरले लेखेको पुस्तक हो ‘मान्छेको मन’ ।


सामान्यतया आममानिसमा डिप्रेसन (अवसाद) देखिन्छ । त्यस्तै एन्जाइटी (अत्यास), सिजोफ्रेनिया (मनोरोग प्रभावित खराबी), बाइपोलर डिसअर्डर (द्विध्रुवी मानसिक विकार) पनि देखा पर्न सक्छ । एकाग्र हुन नसक्ने । निद्रा नपर्ने । भीडभाडदेखि डराउने । आफ्नोविरुद्ध कसैले षड्यन्त्र गरिरहेको आभास हुने । अरूले नसुनेका कुराहरू सुनेजस्तो लाग्ने । कोही आएर कानमा लगातार बोलिरहेको महसुस गर्ने । कसैले लखेटेजस्तो देख्ने । आत्महत्या गरूँ लाग्नेजस्ता लक्षणले मानसिक रोगलाई इंगित गर्छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ५५ लाख मानिस मानसिक रोगबाट प्रभावित छन् । यो कहालीलाग्दो सत्यबोधले कतै हामी पनि मानसिक रोगी त छैनौं ? स्वाभाविक प्रश्न तेर्सिन्छ ।


पृष्ठभूमिमा गोधूलिको रङ । सेता, साना–ठूला पुतलीहरूको उडान । पुस्तकको आवरण सुन्दर देखिन्छ । तीन खण्डमा लेखकले विषयलाई बाँडेका छन् । ४० वर्षमा उनले मानसिक बिरामीहरूको बीचमा बिताउँदाका अनुभवलाई पहिलो खण्डमा राखेका छन् । जसमा उपचारका क्रममा भेटिएका बिरामी र रोगका प्रकृतिलाई प्रस्तुत गरेका छन् । एउटा मानसिक चिकित्सक हुनुको धर्म उनले मज्जाले निर्वाह गरेका छन् । रुसबाट मानसिक स्वास्थ्य अध्ययन गरेर नेपालमै बिरामीको सेवा गर्छु भनेर प्रतिबद्ध डा. शर्माले सुरुआती दिनमा भोग्नुपरेका अप्ठ्यारा, हैरानी र संघर्षलाई दोस्रो खण्डमा व्यवस्थित गरेका छन् । त्यस्तै, आफ्ना निजी प्रसंगहरूलाई पुस्तकको अन्त्यमा, तेस्रो खण्डमा प्रस्तुत गरेका छन् ।


सबैलाई आफ्नो संघर्ष ठूलो र चुनौतीपुर्ण लाग्नु स्वाभाविक पनि हो । डा. शर्माले पनि आफ्ना बाल्यकालीन दिनहरू, अध्ययनका क्रममा भोग्नुपरेका हैरानीहरू, प्रतिस्पर्धा, धोका, अभावहरूलाई सरस तवरले पुस्तकमा प्रस्तुत गरेका छन् । स्याङ्जा जिल्ला नागडाँडामा जन्मिएका डा. शर्माले रुसमा गएर आफ्नो अध्ययनलाई पूरा गरेका थिए । मानसिक स्वास्थ्य के हो ? यसको उपचार सम्भव छ भन्नेबारे नेपाली समाज अनभिज्ञ रहेको समयमा डा. शर्माले आफ्नो करियर सुरु गरेको प्रसंग निकै रोचक छ ।


यस पुस्तकको अर्को रोचक पक्ष के हो भने, मानसिक बिरामीका बारेमा उल्लेख गरिएका घटनाहरूको फेहरिस्त । बिरामीका सामान्यदेखि अपत्यारिला स्वभाव र व्यवहारहरूले पाठकको ध्यान तान्छ । पुस्तकमा एउटा यस्तो बिरामीबारे पनि उल्लेख छ, जसलाई सधैं डर मात्र लागिरहन्थ्यो । भीडभाडमा जान नसक्ने । गाडी देख्दा मुटु भरंग हुने । त्यो बिरामीको उपचार कसरी भयो भनेर डा. शर्मा बताउँछन् । बिरामीको बाल्यकालदेखिका घटनाहरू केलाउँदा पनि कारण पत्ता नलागेर डा. रन्थन्छिन् ।

अनेकौं प्रयासमा बिरामीभित्रको ग्लानि, पश्चात्ताप पत्ता लगाउँछन् । बिरामीले कुनै समय वर्कसप चलाउने गरेको पत्ता लाग्छ । एकपटक उसले कामदारलाई जबरजस्ती पेट्रोल ट्यांकभित्र पसेर टाल्न लगाउँदा दुर्घटना हुन पुग्छ । ट्यांक विस्फोट भएर कामदारको मृत्य हुन्छ । यो घटना बिरामीको अन्तस्करणमा पश्चात्ताप बनेर रहेकाले मानसिक समस्या देखिएको पत्ता लाग्छ । निरन्तरको काउन्सिलिङ र औषधिले बिरामीको अवस्थामा सुधार आउँछ । यसले मानिसमा हुने मानसिक विकारको कारक तत्त्वमा पश्चात्ताप पनि एक हुन सक्ने निर्क्योलले पाठकलाई सचेत गराउँछ ।


अर्का विरामीले श्रीमतीलाई शंका गर्ने, कुटपिट गर्ने गरेपछि उपचारका लागि लगिन्छ । औषधि र डाक्टरको काउन्सिलिङबाट रोग कम भएर जान्छ । यस्तैमा बिरामीकी आमाले औषधि छुटाइदिन्छिन् । रोगको मात्रा बढेर जाँदा अन्ततः श्रीमतीलाई उसले काटेर मार्छ । चिया पकाएर खाइरहेको अवस्थामा परिवारले फेला पारेको सन्दर्भ डरलाग्दो छ । यस प्रसंगले डक्टरको सल्लाहबेगर आफूखुसी बिरामीमाथिको निर्णय लिने प्रवृत्तिलाई निरुत्साहित गर्छ ।


धेरैजसो घटनामा निरन्तर औषधि सेवन र काउन्सिलिङबाट मानसिक रोग ठीक भएको देखिन्छ । एकपटक मानसिक रोग देखा परेपछि निको हुँदैन भन्ने भ्रमलाई पुस्तकमा उल्लेख गरिएका प्रसंगहरूले गलत साबित गरिदिएका छन् । कतिपय घटनाहरूमा भने मानसिक रोगप्रतिको मानिसको परम्परागत धारणाले जटिलता थपिदिएको उल्लेख छ । पुस्तकमा घटना विवरण पढिरहँदा दैवी प्रकोप, शत्रुले भेदेको, भूतप्रेतको कारण मान्छेमा डराउने, सामान फाल्ने, आत्महत्याको प्रयास गर्ने, अरूलाई कुटपिट गर्ने, अत्यधिक शंका गर्ने, गतिविधि दोहोर्‍याउने, एकोहोरिनेजस्ता लक्षण देखिएको अन्धविश्वास अझै पनि नेपाली समाजमा रहेको देखिन्छ ।


शब्दको अगाडिको अक्षर मात्रै उच्चारण गर्ने, बाँकी शब्द उच्चारण नगर्दै जिब्रो बटारिने भोकल टिक डिसअर्डर, रोक्दा रोक्दै फोहोरी शब्द उच्चारण गर्ने टुरेट सिन्ड्रमबारे हामीमध्ये धेरै अनभिज्ञ छौं । यस्ता समस्याको हल हुन्छ भन्ने त झन् परको सोच हो । कोही हात धोइरहन मन लाग्ने, हात रगडिरहने, रुमालले पुछिरहने, चस्मा मिलाइरहनेजस्ता क्रियाकलाप गरिरहन्छन् । उनीहरू आफूले गलत गर्दै छु भन्ने थाहा भए पनि नियन्त्रण गर्न नसक्ने समस्याबाट ग्रस्त हुन्छन् । यसलाई ओसीडी भनिन्छ । बिरामीले मस्तिष्कमा आफ्नै संसार रचना गर्ने गर्छन् । आफ्नै तवरले गतिविधि गर्छन् । जुन गतिविधि समाजमा अपाच्य हुन्छ । अस्वीकृत हुन्छ । यसरी मानिसमा देखिने विविधखालको मानसिक रोग र त्यसको निराकरणमा परिवारले खेल्नुपर्ने भूमिकाबारे पुस्तकमा डा. शर्माले आफ्नो चिकित्सकीय अनुभव उजागार गरेका छन् ।


यस पुस्तकले मानसिक विकृतिको कारक तत्त्वहरूबारे पाठकलाई सचेत गर्न मद्दत गरेको छ । त्यस्तै, मानसिक रोगी हुनेबित्तिकै बाँकी जीवन ध्वस्त नहुने कुरा पनि किताबले बुझाउँछ । निरन्तरको औषधि सेवन र काउन्सिलिङबाट जटिलभन्दा जटिल रोग पनि सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने विश्वास पुस्तकले दिलाएको छ । आवश्यक छ मात्र हाम्रो प्रतिवद्धता । बिरामीमाथिको ‘केयरिङ’ । हामी, हाम्रा परिवारका सदस्य अथवा जो कोही पनि मानसिक समस्याबाट गुज्रिरहेको हुन सक्छ । त्यस्ता रोगीहरूको पहिचान, शीघ्र उपचारमा हाम्रो चेत खुलाउने उद्देश्यमा यो पुस्तक केन्द्रित छ । लेखकले प्रस्तुतिमा लय दिन सकेको भए पठन थप सहज हुन्थ्यो । सिलसिलेबार ढंगबाट विषयवस्तु पस्कनबाट पुस्तक चुकेको छ । भाषामा मीठास खोज्ने पाठकले पुस्तक यत्तिकै थन्क्याउने सम्भावना पनि छ ।

प्रकाशित : मंसिर १४, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?