कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

के भयो श्रीलंकामा ?

जगदीश्वर पाण्डे

सन् २०१७ अघि श्रीलंकाको नाम सुन्नेबित्तिकै मलाई क्रिकेटको याद आउँथ्यो । अन्तर्राष्ट्रिय स्तरमा राम्रो क्रिकेट खेल्ने श्रीलंकन क्रिकेट टिम एकतर्फ मेरो आकर्षणको केन्द्र थियो भने अर्कोतर्फ थिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई श्रीलंकन प्रशिक्षक रोय लुक डायस र पुवुदु दासानायके (उनी अहिले क्यानेडेली नागरिक हुन्) । श्रीलंका अर्थात् क्रिकेट ।

के भयो श्रीलंकामा ?


तर सन् २०१७ मा जब मैले भारतको तमिलनाडुको राजधानी चेन्नाईमा पत्रकारिता पढ्दा पढ्ने अवसर पाएँ । त्यस बेला श्रीलंकाका तमिल र मुस्लिम दुवै साथी थिए । उनीहरूसँगको उठबस र तमिलनाडुबाट नजिकै रहेको श्रीलंकालाई मैले बुझ्ने र चिन्ने अवसर पाएँ । श्रीलंकाबाट विस्थापित भएका शरणार्थीको जीवनयापद गरिरहेका श्रीलंकन तमिलहरूसँग पनि भेटेर कुरा गर्ने अवसर मिल्यो ।
त्यसैले अहिले श्रीलंका भन्नेबित्तिकै ममा श्रीलंकाका अल्पसंख्यक तमिल र मुस्लिम जातिहरू र उनीहरूले भोगेका पीडाको सम्झना आउने गर्छ । सन् १९८३ देखि २००९ सम्म अल्पसंख्यक तमिल विद्रोही र करिब ७५ प्रतिशत जनसंख्या रहेको सिन्हाली समुदायले सञ्चालन गरेको राज्यसत्ताबीच चलेको द्वन्द्वको याद आउँछ । युद्धमा करिब ४० हजारभन्दा बढी मरेको अनुमान गरिएको छ । बेपत्ता, क्षति र घाइतेको अझै पूरा रूपमा यकिन हुन सकेको छैन । चारैतिर समुद्रले घेरिएको पूर्व ब्रिटिस शासित मुलुक लामो जातीय द्वन्द्व, राजनीतिक उतार–चढाव र अन्तर्राष्ट्रिय राजनीतिक खिचातानीले गर्दा अन्तर्राष्ट्रिय चासोमा छ ।
नोभेम्बर १८ मा श्रीलंकाले नयाँ राष्ट्रपतिका रूपमा गोटाभया राजापाक्ष पायो । त्यसको तीन दिनमा उनले आफ्ना दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री चयन गरे । दुईपटक राष्ट्रपति र एकपटक प्रधानमन्त्री भइसकेका महिन्दा सन् २०१५ मा राष्ट्रपति निर्वाचनमा मैत्रिपाला सिरिसेनासँग पराजित भएका थिए ।
सन् २००० को सुरुआतदेखि राजनीतिको केन्द्रमा रहेका महिन्दाले आफ्नो नेतृत्वमा सन् २००९ मा गृहयुद्ध त अन्त्य गरे तर त्यसमा मुलुकको उत्तर–पूर्वी क्षेत्रमा बस्ने कति तमिलको ज्यान गर्‍यो भन्ने कुनै पर्वाह गरिएन । सन् २०१५ मा महिन्दा सत्ताच्युत भएपछि मुलुकमा सामुदायिक हार्दिकता भएको अपेक्षा गरिएको थियो । श्रीलंकाकै तमिल समुदायका व्यक्तिको भनाइअनुसार मुलुकमा अब जातीय द्वन्द्व घट्दै जाने अपेक्षा थियो । किनकि श्रीलंकाका तमिल महिन्दालाई मुलुकमा जातीय हतियार प्रयोग गर्ने शासकको रूपमा लिन्छन् ।
महिन्दा सत्ताबाट गएलगत्तै श्रीलंकाको चीनले लगानी गरेको हम्बनटोटा पोर्ट र त्यसबाट निस्केको ‘डेप्ट ट्र्याप’, निर्वाचनको केहीअघि अप्रिलमा भएको इस्टर बम हमलाले तथा आन्तरिक रूपमा महिन्दाले पटक–पटक चालेका कार्डका कारण फेरि राजापक्ष परिवार नै श्रीलंकाको मुख्य नेतृत्वमा फर्किएको छ । महिन्दाले आफ्ना भाइ गोटाभयालाई श्रीलंका पिपुल्स फ्रन्ट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाए र जिताउन सफल भए । लगत्तै आफू प्रधानमन्त्री भए र पछिल्ला दुई दशक श्रीलंकाको राजनीतिक राजपाक्ष परिवारकै वरिपरि घुमाउन सफल भए ।
श्रीलंका दक्षिण एसियाको विकासका सूचकांकहरूमा अन्य मुलुकभन्दा तुलनात्मक रूपमा अघि छ । महिन्दाले आफ्नो कार्यकालमा तमिललाई सिन्हाली बनाउन केसम्म गरेनन् ? उनले पूर्ण रूपमा सांस्कृतिक अतिक्रमण गरे । सिन्हालीलाई राष्ट्रिय भाषा बनाए । अध्ययन, अध्यापन सिन्हालीमै गराए । सत्ताविरुद्ध बोल्नेलाई कि त खोरभित्र हाले कि संसारै छाड्न लगाए । भाग्न सफल हुनेहरू नजिकै भारतको तमिलनाडुमा आएर बस्न थाले ।
१९९१ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको आत्मघाती बम विस्फोटमा हत्या भएपछि तमिलहरूलाई श्रीलंकाबाट भारत आउन पनि रोकियो । गान्धीको हत्या श्रीलंकाली तमिलले नै गरेको ठहर गरेर श्रीलंकाली तमिललाई भारतमा कडाइ गरियो । तमिलनाडु अवस्थित भारतीय सुरक्षाविज्ञ सूर्यनारायणका अनुसार राजीवकी आमा इन्दिरा गान्धीले श्रीलंकामा तमिल राज्यको माग गर्दै अघि बढेका तमिल विद्रोही र उसका मुख्य नाइके प्रभाकरणलाई दिल्लीमै बोलाएर भारतले उक्त आन्दोलनमा सहयोग गर्ने बताएकी थिइन् । त्यसको दुई दशकअघि गान्धीकै अग्रसरतामा पाकिस्तानबाट पूर्वी पास्कितानलाई फुटाएर नयाँ मुलुक बंगलादेश जन्मिएको थियो ।
तमिल संगठन लिट्टेले भारतको सहयोगमै सुरुआती दिनमा श्रीलंकामा गतिविधि बढायो । यसलाई आर्थिक, हातहतियार र शरणसमेत भारतबाटै प्राप्त हुने गरेको मानिन्थ्यो । विद्रोहीहरू तमिलनाडुमा लुक्थे । यसमा ठूलो सहयोगी तलिमनाडुको सरकार नै थियो । तमिलनाडुमा अधिकांश तमिल समुदाय छ । उनीहरूको वेशभूषा र चालचलन सबै मिल्छ । अर्को महत्त्वपूर्ण कुरा श्रीलंकाको तमिल र तमिलनाडुका तमिलबीच रगतको नातासमेत छ । ब्रिटिसले भारतमा राज गर्दा श्रीलंकाको उत्तर–पूर्वी भागमा राम्रो चिया खेती हुने कारणले गर्दा काम गर्नका लागि भारतबाट केही तमिलहरूलाई पनि लगेका थिए ।
सुरक्षाविद् सूर्यनारायणका अनुसार सुरुआती दिनमा तमिल विद्रोहीका नाइके प्रभाकरण चेन्नाईमै बस्थे र श्रीलंकामा आफ्नो संगठन चलाउँथे । ‘मैले प्रभाकरणलाई चेन्नाईको एक घरमा भेटेको थिएँ । उनले आफ्नो आन्दोलनमा भारत सरकार र तलिमनाडुको सरकारले साथ दिएको बताएका थिए,’ उनले सन् २०१७ मा भनेका थिए ।
सन् १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नो सुरक्षा गार्डबाट हत्या भएपछि प्रधानमन्त्री बनेका उनका छोरा राजीवले भारत सरकारले श्रीलंकाको तमिल विद्रोहीलाई गर्दै आएको सहयोग बन्द गर्न थाले । उनले श्रीलंकाली सरकारलाई साथ दिन थाले । राजीवले सन् १९८७–९० सम्म श्रीलंका सरकारसँग सम्झौता गर्दै शान्ति स्थापना गर्ने भारतीय फोर्स पठाए, जसले तमिल विद्रोहीलाई थप चिढ्यायो । त्यसको बदला दिन श्रीलंकाली तमिलले राजीवको आत्मघाती बम विस्फोटबाट हत्या गरे । उक्त हत्यामा संलग्न तमिलहरू अहिले पनि तमिलनाडुका विभिन्न जेलमा कडा सुरक्षाका साथ राखिएका छन्, जसलाई भेट्नसमेत भारत सरकारले कडाइ गरेको छ ।
छिमेकी भारतको असहयोगका कारण श्रीलंकामा तमिल विद्राहीको आन्दोलन तुहियो । सन् २००९ मा श्रीलंकन सरकारले तमिलले कब्जा गरेको सम्पूर्ण उत्तर–पूर्वी क्षेत्र आफ्नो कब्जामा लियो । उक्त काम अहिले फेरि प्रधानमन्त्री भएका महिन्दाले गरेका थिए । चार वर्ष सरकारबाट राजापाक्ष परिवार बाहिर हुँदा ‘सास फेर्न पाएका’ अल्पसंख्यक तमिल र मुस्लिमहरू फेरि उनीहरूको परिवारले राज्यसत्ता कब्जा गरेसँगै सशंकित भएका छन् ।
दाजु–भाइ राजापाक्षको यसपटक अल्पसंख्यक तमिल र मुस्लिमहरूलाई पनि सँगै लिएर अघि बढ्छन् वा पहिलेको जस्तै गरी दबाउँछन्, श्रीलंकाको भविष्य त्यसैमा निहित हुन्छ ।

प्रकाशित : मंसिर १४, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?