दस हजार माइलको यात्रा

जगत देउजा

राजगोपाल पीभी भारतका सुपरिचित गान्धीवादी अभियन्ता  । उनी बारम्बार दोहोर्‍याउँछन्— हिंसाको मूल कारक गरिबी, असमानता र विभेद हो  ।

दस हजार माइलको यात्रा

यसको जरोसम्म पुगेर समाधान खोज्नुपर्छ । तब मात्र शान्ति पाउन सकिन्छ । यसका लागि अहिंसात्मक आन्दोलन चाहिन्छ ।
‘एकता परिषद्’ को संयोजन गरिरहेका उनले भारतमा सयौं पदयात्राको अगुवाइ गरेका छन् । सन् २०१२ मा ग्वालिएरदेखि दिल्लीसम्म १ लाख मानिसको १ महिने यात्रा उनकै अगुवाइमा भएको थियो । त्यतिखेर १ लाख मानिस सडकमा नै खाने र सडकमा नै सुत्ने गरी व्यवस्थापन गरिएको थियो । तर गाडी सञ्चालनमा अवरोध पुर्‍याइएको थिएन । एक छाक मात्र खाएर यात्रा गरिएको थियो । पछि सरकारसँग भूमिसुधार लागू गर्नेलगायतका १० बुँदे सम्झौता पछि आन्दोलन समापन गरिएको थियो ।
यो पदयात्रामा एउटा अनौठो घटना भयो । यात्राका क्रममा ट्रक दुर्घटनामा परी दुई पुरुष यात्रीको मृत्यु भयो । उनीहरूका पत्नी पनि पदयात्रामा थिए । दुर्घटनापछि न ट्रक जलाइयो न मृतकका पत्नीहरू घर फर्किए । उनीहरू पदयात्रामा सहभागी भइरहे । उनीहरूले भने, ‘हामी जुन उद्देश्यका लागि आएका हौं, त्यो पूरा नभई फर्किन्नौं ।’ यो यात्रामा लेखकसहित केही नेपाली पनि सहभागी थियौं ।
यिनै राजगोपालको नेतृत्वमा दस हजार माइलको यात्रा भइरहेको छ ।

दिल्लीदेखि जेनेभा
‘जय जगत् २०२०’ नाम दिइएको यो यात्रा दिल्लीको राजघाटबाट सुरु भएको हो । २ अक्टोबर २०१९ मा गान्धीको जन्मदिन पारेर सुरु गरिएको यो एक वर्षपछि २ अक्टोबरमै जेनेभामा समापन हुनेछ । यात्रीहरू जेनेभा भने विश्व शान्ति दिवस २५ सेप्टेम्बरमा पुग्नेछन् । ८ लिन लगातार जनसंसद् आयोजनासँगै कार्यक्रमको विधिवत् समापन हुनेछ । जेनेभास्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअघि हुने यस संवादमा ५ हजारजना सहभागी हुनेछन् । संसद्मा समावेशिता, पर्यावरण, पुनर्निर्माण र सबैलाई सामाजिक न्याय हुनुपर्ने विषय उठाइनेछ ।
नोभेम्बरको पहिलो साता यात्रा हरियाणा, उत्तर प्रदेश, राजस्थान हुँदै मध्यप्रदेश पुगेको थियो । ५० जना यात्रीको यो टोलीले ३ सय ५८ दिन पैदलयात्रा गर्नेछ । ७० को दशकमा डाकुहरूले हतियार बिसाएर शान्ति ल्याएको चम्बलमा यात्री पुग्दा स्थानीयले स्वागत गरेका थिए । चम्बलका करिब ५ सय डाकुहरूलाई हतियार बिसाई अहिंसात्मक बाटोमा ल्याउने कार्यको मध्यस्थता यिनै राजगोपालले गरेका थिए ।
यो पदयात्राको यात्रीमा युवा र सामुदायिक अगुवाहरू छन् । तीमध्ये १० जना अभियानकर्मी छन् भने १० जना फ्रान्स, केन्या, बेल्जियम र स्विट्जरल्यान्डका नागरिक छन् । भारत–पाकिस्तान सीमा क्षेत्र ओरधास्थित गान्धी आश्रममा पुगेपछि यात्रा शान्ति सम्मलेनमा परिणत हुनेछ । यो यात्रा गान्धीको १५० औं र विनोभा भावेको १२५ औं जन्म दिनको सन्दर्भ पारेर आयोजना गरिएको हो ।
यात्रीहरू १३ देश पाकिस्तान, इरान, अजरबैजान, जर्जिया, बुल्गेरिया, सर्बिया, उत्तरी मासेडोनिया, कोसोभो, अल्वानिया, मोन्टेनेग्रो, बोस्निया, क्रोसिया, इटाली देश पार गर्दै स्विजरल्यान्ड पुग्नेछन् । केही अप्ठेरा ठाउँमा भने यात्रा गाडीबाट हुनेछ । पाकिस्तानको यात्रामा नेपाली टिमले अगुवाइ गर्नेछ । पूरै यात्रामा भाग लिन नसक्ने वा नचाहनेले ३० दिनका लागि मात्र पनि सहभागी हुन सक्नेछन् ।



शान्ति र न्यायका लागि विश्व यात्रा
‘जय जगत्’ सबैलाई ब्युँझाउने यात्रा हो । आर्थिक, सामाजिक, वातावरणीय संकटलाई चाँडो सही तरिकाले सम्बोधन गर्न ढिला नगर्न सबैलाई चेतावनी यात्रा हो । जीवनको लयमा परिवर्तन गर्न आवश्यक छ । उपभोक्तावादी संस्कृतिले हामीलाई एक दिन नराम्ररी सिध्याउनेछ । यस्तै सन्देश बोकर यात्रीहरू गाउँ–गाउँ र बस्तीमा पुगेका छन् ।
यात्रीहरूले गान्धीका अलावा विनोभा भावे र अम्बेडकरलाई पनि आदर्श पात्रको रूपमा लिएका छन् । विनोभा भावेले सन् १९५० देखि १९६० को दशकमा भूमि प्राप्तिका लागि देशव्यापी यात्रा गरेका थिए । यात्रामा उनले ४२ हजार एकड जमिन दान लिए र पछि भूमिहीनलाई वितरण गरियो । जसलाई भू–दान अभियान भनिएको थियो । समाजमा व्याप्त गरिबी, असमानताको विरुद्ध अम्बेडकर जिन्दगीभर लडे ।
यो यात्रामा विश्व बैंक, संयुक्त राष्ट्रसंघजस्ता विश्वव्यापी संगठनको भूमिकाबारे पनि छलफल हुनेछ । जेनेभामा अहिंसात्मक अर्थव्यवस्थाको विषयमा तिनका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । नाफा र आर्थिक वृद्धिका कुरा मात्र गर्ने गरिबी र न्यायबारे नबोल्ने संगठनलाई अहिंसात्मक अर्थव्यवस्थाबारे सोच्न र बोल्न आह्वान गरिनेछ । यो यात्राले स्थानीय मुद्दालाई विश्वव्यापी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । ‘हामी समुदायका सानो कुरालाई महत्त्वका साथ उठाउँछौं । विकास तलबाट सुरु हुनुपर्छ भन्ने कुरालाई बहसमा ल्याउँछौं,’ केहीअघि यात्राको अन्तिम तयारी कार्यशालाका लागि नेपाल आएका रोजगोपलले भनेका थिए ।
शोषण, अत्याचार, दमन, गरिबी अप्रत्यक्ष हिंसा हो । प्रत्यक्ष हिंसालाई हामी देख्छौं र खुलेर विरोध गर्छौं । तर अप्रत्यक्ष हिंसामा हामी कम बोल्छौं । जबसम्म अप्रत्यक्ष हिंसाविरुद्ध बोल्दैनौं, तबसम्म दुनियाँमा हिंसा कम हुनेछैन । अप्रत्यक्ष हिंसाको अन्त्य नगरी प्रत्यक्ष हिंसा रोकिँदैन । शान्तिको रटानले मात्र पुग्दैन, शान्तिका लागि न्याय चाहिन्छ । यात्राले यो नाराको पनि पैरवी गर्नेछ ।
यात्राको छिनछिनको अपडेट सोसियल मेडियाबाट दिइएको छ । अभियन्ता अनिश यसका लागि खप्पिस छन् । उनका अनुसार यात्रा हालै झिरिया पुगेको छ । कहिले हिन्दी, कहिले स्पेनिस र कहिले फ्रेन्चहरू गीतहरू गुन्जिरहेका छन् । गीतले यात्रीहरूलाई ऊर्जा दिएको छ भने सर्वसाधारणलाई सन्देश । गाउँगाउँ बस्ती बस्तीमा उत्पीडित समुदायको अधिकारका लागि छलफल
भइरहेको छ ।
नोभेम्बर १६ तारेखका दिन झिरिया गाउँका पार्दी समुदायका महिला र पुरुषसँग रूखमुनि छलफल भयो । पार्दी समुदाय घुमन्ते हुन् । उनीहरूले जंगलको बास र जंगलमा आधारित जीवनकथा यी यात्रीलाई सुनाएका थिए । घुमन्तेहरूले कसरी मानिसहरूले वन विनाश निम्त्याइरहेका छन् र यसले घुमन्ते तथा जंगली जनावरको बासलाई असर गरिरहेको छ भन्ने सुनाएका थिए ।
यो यात्राको अर्को उद्देश्य समुदायहरूमा रहेका सीप र ज्ञानलाई चिन्ने पनि हो । स्थानीय उपाय र सीपलाई कसरी विश्वव्यापी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पनि यसले खोजी गर्नेछ ।

प्रकाशित : मंसिर १४, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?