राष्ट्रवादको चिरफार

नारायणी देवकोटा

सन् १८१६ मा सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर भएपछि वर्तमान नेपालको सिमाना निधारण भएको थियो  । तर नक्साको आकार त्यसपछि पनि बदलिरहेको थियो  ।

राष्ट्रवादको चिरफार

सन् १८१६ मा सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर भएपछि वर्तमान नेपालको सिमाना निधारण भएको थियो । तर नक्साको आकार त्यसपछि पनि बदलिरहेको थियो । सन् १९४७ सम्म बेलायतको उपनिवेशको हैसियतमा रहेको र उपनिवेश बन्नभन्दा अगाडि सयौं राज्यमा विभाजित भारतले पटकपटक आफ्नो नक्सा बदलिरहन्छ । सुरुसुरुमा नक्सा बदलिरहनु भारतका बाध्यता भए पनि पछिल्ला वर्षहरूमा सिमानामा रहेका देशहरूसँग झगडा गरिरहने र आन्तरिक मुद्दाहरूबाट सर्वसाधारणको ध्यान भड्काउने साधनको रूपमा छिमेकिमा माथि आफ्नो शक्तिको प्रदर्शन गरिरहेको कुरा कसैबाट छिपेको छैन ।


पछिल्लो समय भारतले आफ्नो मुलुकको नयाँ नक्सामा नेपाल, भारत र चीनबीचको सामरिक महत्त्वको मानिने नेपाली भूभागलाई राखेपछि भारतको मिचाहा प्रवृत्तिको नेपालभित्र विरोध भइरहेको छ । देशभर मानिसको रगत राष्ट्रवादको आगोले तात्दै गर्दा यो राष्ट्रवाद भन्ने चीज के हो ? यो मानिसको जन्मजात रगत उमाल्ने कुरा हो कि सभ्यताको धेरै पछि आएको कुरा हो ? कि मानिस स्वभावैले राष्ट्रवादी हुन्छ ? वा यो कुनै निश्चित समयको परिघटना मात्रै हो ? भन्ने कुरा गर्न नखोज्नु सायद समयसँग नचल्नु पनि हो ।
वर्तमान सरकारलाई जनताले दिएको मत पनि धेरै हदसम्म राष्ट्रवादको कुरा थियो । नेपाल मात्रै होइन संसारभर यति बेला राष्ट्रवादको मुद्दा यसरी उठिरहेको छ कि लाग्छ यो राष्ट्रवादको समय हो । संसार यतिबेला एकातिर नवउदारवादीको असीमित र खुला बजारको कुरा गरिरहेको छ, अर्कोतर्फ चलिरहेको छ सिमानाको फेरबदल, सिमानामा बार र राष्ट्रवादी नारा र मुद्दाका कुरा । राष्ट्रहरूको सिमानाको कुरा आउँदा म विजय मल्लको कविता ‘छोरीलाई मानचित्र पढाउँदा’ सम्झन्छु । तसलिमा नसरिनको ‘लज्जा’ उपन्यास पढ्रे तर्सेको सम्झन्छु ।


संसारभरि राष्ट्रवादको लहर विशेषगरी सन् १९३० पछि साम्राज्यवादविरुद्ध उठेको थियो । साम्राज्यवादविरुद्ध उठेको लहर बिस्तारै जातीय नरसंहारसम्म पुग्यो । राष्ट्रवादको नाममा करोडौँ मानिसको जीवन समाप्त भएपछि ‘यो के हो ?’ भन्ने विषयमा समाजविज्ञ (समाज वैज्ञानिक) हरूको ध्यान गएको देखिन्छ । जसको फलस्वरूप सन् १९६० को दशकमा आएर राष्ट्रवादको विषयमा बेलायतको छुट्टाछुट्टै विचारधारा बोक्ने चार समाजविज्ञ (एली किदोरी, अर्नेस्ट गेल्नर, एरिक हबसम र एन्थोनि स्मिथ) ले गम्भीर अध्ययन गरिरहेका थिए । तर, उनीहरूले आफ्ना अध्ययन सन् १९७७ सम्म पनि सार्वजनिक बहसमा राखेका थिएनन् । यही विषयमा अमेरिकी भाषाविद् बेनेडिक्ट एन्डरसनले आफ्नो अध्ययन अगाडि बढाएका थिए ।


सन् १९८० को दशकमा राष्ट्रवादका किताबहरू धमाधम बजारमा आए । भाषाशास्त्री बेन्डिक्ट एन्डरसनको किताब ‘इम्याजिन्ड कम्युनिटी’, समाजशास्त्री अर्नेस्ट गेल्नरको किताब ‘नेसन एन्ड नेस्नालिजम’ र एन्थोनी डी स्मिथको ‘स्टेट एन्ड नेसन इन थर्ड वल्ड’ एकै वर्ष सन् १९८३ मा प्रकाशित भए । यहाँ ‘इम्याजिन्ड कम्युनिटी’ र ‘नेसन एन्ड नेस्नालिजम’को छोटो चर्चा गरिएको छ । यी पुस्तकलाई आज पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको सैद्धान्तिक बहसमा नपढी नहुने किताबको रूपमा लिइन्छ ।


‘इम्याजिन्ड कम्युनिटी’मा आफ्नो प्रध्यापनकालमा अत्यधिक चर्चित मानिने भाषाविद् तथा एसिया विज्ञको छवि प्राध्यापक बेन्डिक्ट एन्डरसनले राष्ट्रवादलाई समुदायको परिकल्पनाको रूपमा लिएका छन् । किताब परिचयदेखि किताबको जीवनकथासम्म १२ भागमा विभाजन गरिएको उक्त किताबको परिचय खण्डमा उनी राष्ट्रवादलाई ‘राजनीतिक समुदायको परिकल्पना जो भित्रैदेखि सीमित र सार्वभौम हुन्छ’ भन्छन् । किन राष्ट्रवाद परिकल्पना मात्रै हो भन्नेबारेमा उनले दुई पेज लामो स्टेटमेन्ट लेखेका छन् । जसमा राष्ट्रका सदस्यले अर्को सदस्यलाई कहिल्यै नदेखेको नभेटेको वा उसको कुरा नसुनेको भए पनि आफ्नो समुदायका सदस्यको रूपमा परिकल्पना गर्छ । तर, त्यसरी परिकल्पना गर्दा उसले आममानव समुदायको परिकल्पना गर्दैन । उदाहरणका लागि काठमाडौंको मान्छेले लिम्पियाधुराका मान्छेलाई कहिल्यै देखेको छैन तर तिनीहरू नेपाली भएको परिकल्पना गर्छन् । तर त्यही ठाउँ वरपरका भएका नेपालीबाहेकका चिनियाँ वा भारतीयको परिकल्पना गर्दैनन् । त्यसमाथि मानिसको उक्त परिकल्पना कसैले लादेको भन्दा पनि सार्वभौम प्रकारको हुन्छ ।


त्यसो त किताबकै परिचय खण्डको सुरुआत उनी मार्क्सवादी आन्दोलन र मार्क्सवादमा अब (सन् १९८३, जहिले सोभियत युनियनको पतन पनि भएको थिएन) आधारभूत रूपमा नै परिवर्तन आएको कुराबाट गर्छन् । मार्क्सवादमा आएको उक्त परिवर्तनलाई पुष्टि गर्नका लागि उनले चीन, भियतनाम र कम्बोडियामा कम्युनिस्टहरूले गरेको राष्ट्रिय स्वतन्त्रताको आन्दोलनको कुरालाई जोड्छन् । यसलाई तन्काउँदै दोस्रो विश्वयुद्धपछिका सबै क्रान्तिहरूले राष्ट्रियतालाई केन्द्रमा जोडेको सम्म लैजान्छन् । तर, यत्रा ठूला ठूला क्रान्ति भए पनि अरू ‘वाद’ हरूले जस्तो राष्ट्रवादले आफ्नो कुनै ठूला व्याख्याताको विकास गर्न नसकेको कुरा लेख्न उनी छुटाउँदैनन् ।


धार्मिक सम्प्रदायले मानिसको आत्माको मृत्यु नहुने र वर्तमान जीवन मानिसले आफैं गरेको कर्मको फलको रूपमा व्याख्या गर्न खोजेकै कारण विभिन्न बिरामी, दमन, मृत्यु र दुःखका बाबजुद पनि धर्महरू (लेखककै भाषामा, बुद्ध, इस्लाम र इसाई) हजारौँ वर्ष टिकेका हुन् । यस्तो परिकल्पनामा सुरुमा धर्मका पवित्र लिपिहरूले बाँधेर राखेको थियो । बिस्तारै राज्य र राजसंस्थासँग जोडियो । जसले समाजलाई प्राकृतिक रूपमा नै विभाजित भएको परिकल्पना गर्‍यो । राजा हुनु भनेको उसको अलौकिक शक्तिको कारण हो भन्नेमा जोडियो । यसैले राजा पनि अलौकिक कुरालाई लिएर गरिएको समुदायको परिकल्पना थियो । बिस्तारै उक्त परिकल्पनाहरू भत्कन थाले । यसरी समुदायको पुरानो परिकल्पना भत्कनुको दुई कारण एन्डरसनले जोडेका छन् । जब लामोलामो यात्रामा मानिस निस्कन थाले उनीहरूले आफ्नोभन्दा फरक धर्म पनि संसारमा हुँदो रहेछ भन्ने कुरा थाहा पाए । उदाहरणका लागि इटालीका मार्को पोलोको एसियाको यात्रा वर्णन र पर्सियन यात्री रिकाले युरोप यात्राको बारेका लेखेका कुरालाई एन्डरसनले जोडेका छन् ।


दोस्रो युरोपमा ल्याटिन भाषाको वर्चस्वमा बिस्तारै कमी आउँदै गयो । १५०० अघि संसारभर प्रकाशित हुने किताबमध्ये ७७ प्रतिशत ल्याटिन भाषाका थिए । १६४० मा आउँदा यो संख्या निकै घट्यो । १८ औँ शताब्दीमा आउँदा युरोपभर उपन्यास र पत्रिकाको व्यापार र वर्चस्व बढ्यो । जसले समुदायको परिकल्पनालाई झन् बलियो बनाउँदै लग्यो । जुन बिस्तारै युरोपबाट संसारभर फैलियो भन्छन् उनी ।


राष्ट्रवादको परिकल्पनाको विकासलाई छापाखाना र त्यसको प्रचारप्रसारले जोडेको कुरा रोचक छ । युरोपमा ल्याटिन भाषा धेरै कम मानिसले पढ्थे । पढेका मध्ये धेरै कमले मात्र त्यसलाई व्याख्या गर्थे । तर, बोलीचालीमा स्थान विशेषका भाषाहरू थिए । सोह्रौं शताब्दीमा आफ्ना आफ्ना बोलीचालीका भाषामा किताबहरू लेखिन थालियो । आफ्नाआफ्ना भाषामा किताब लेखिन थालिएपछि ल्याटिन भाषाका आधारमा गरिएको क्रिस्टियानिटी सुमदायको परिकल्पनालाई भाषा विशेषका समुदायको परिकल्पनाले प्रतिस्थापन गर्दै गएको कुरालाई लेखेका छन् । यो सन्दर्भ नेपालको सन्दर्भमा पनि हिन्दु धर्मको आधारमा भएको समुदायका परिकल्पना बिस्तारै नेपाली भाषाका समुदायको परिकल्पनाले लिएको भनेर केही हदसम्म भन्न सकिन्छ ।


अठारौं शताब्दीमा आउँदा भाषालाई ‘राष्ट्रिय’ भन्दै राजनीतिक महत्त्व दिन थालियो । अठारौं शताब्दीको मध्यदेखि युरोपमा भाषा विज्ञान, शब्दकोश, व्याकरण र साहित्यले मानवीय श्रमको एउटा क्षेत्रको रूपमा विकसित हुने अवसर पायो । यसरी प्रकाशित भएका किताबहरूका ग्राहक कामकाजी पुरुषहरूभन्दा पनि घरमा नोकर भएका महिलाहरू र विद्यालयमा पढिरहेका बालबालिका हुन्थे । आफ्नो आफ्नो भाषाको शब्दलाई अर्को भाषाको शब्दसँग तुलना गर्ने र आफ्नो समुदायको परिकल्पना गरी राष्ट्रवादको आन्दोलन अगाडि बढाउने काम मध्यम वर्गका मानिसमार्फत भएको थियो । १९ औँ शताब्दीमा आउँदा युरोपका धेरै मुलुकले कर्मचारीतन्त्रका लागि ठूलो बजेट छुट्याउन थाले र त्यसरी छुट्याएको बजेट कर्मचारीको भाषिक दक्षता वृद्धिका लागि पनि थियो । साथसाथै आफ्ना उपनिवेश वा प्रभाव क्षेत्रहरूमा पनि आफ्नो भाषालाई अनिवार्य सरकारी कामकाजको भाषा बनाए ।


किताबको आधाजसो भाग साइटेसनले भरिएको ‘इम्याजिन्ड कम्युनिटी’ राष्ट्रवादको विषयमा चासो राख्नेलाई मात्रै होइन भाषा विज्ञान, किताबी ज्ञानको उत्पत्ति र विकासको बारेमा चासो राख्नेहरूलाई पनि उत्तिकै रमाइलो छ । राष्ट्रवादमा चासो राख्नेलाई त यो किताब मात्रै होइन, संसारमा कस्ताकस्ता किताब छन् भन्नेबारेमा पनि उनले निकै मेहनतका साथ उल्लेख गरेका छन् ।


‘इम्याजिन्ड कम्युनिटी’ निस्केकै समयमा बेलायती दार्शनिक अर्नेस्ट गेल्नरको ‘नेसन एन्ड नेसनालिजम’ (१९८३) प्रकाशित भएको थियो । गेल्नर नेपालविज्ञ मानवशास्त्री डेभिड गेल्नरका पिता हुन् । राष्ट्र, राष्ट्रियता र राष्ट्रवादबारे लामो समय विभिन्न देशमा अध्ययन गरेका उनको किताब ती अध्ययनको सारजस्तो लाग्छ ।


नौ उपशीर्षकमा बाँडिएको यो किताबको परिचयमा उनी भन्छन्, ‘राष्ट्रवाद भनेको आधारभूत रूपमा राजनीतिक सिद्धान्त हो, जुन कुनै न कुनै आकारमा विद्यमान हुन्छ ।’ राष्ट्रवाद आन्दोलन भए पनि, भावना भए पनि, राजनीतिक नै हो, जुन भौगोलिक रूपमा हेर्दा पनि सानासाना कोठाको रूपमा देखिन्छ भन्छन् उनी । राष्ट्रवादको कुरा गर्दा राष्ट्र र राज्यसत्तालाई फरकफरक बुझ्नुपर्छ । राज्यसत्ता भनेको सत्ता चलाउने मान्छेहरू वा मान्छेहरूको एजेन्सी हो भने राष्ट्रियता मानिसको एउटा नाक वा दुईवटा कान हुनुजत्तिकै सहज प्राकृतिक परिचयको कुरा हो । राष्ट्रियता आफ्नो समुदायमा भएका एक व्यक्तिको समुदायमा भएको अर्को व्यक्ति वा समुदायप्रति हुने परस्पर अधिकार, कर्तव्य र सहभागिताको कुरा हो भन्छन् उनी जुन संस्कृतिसँग जोडिएको हुन्छ । राज्यसत्ताको आधारमा कहिले दबिने र कहिले माथि उठ्ने गरी यो राजनीतिक विषय बन्दा त्योचाहिँ राष्ट्रवाद बन्छ ।


मानव समाजको सिकारी युगमा कुनै सत्ता नभएको हुँदा राष्ट्रवाद नहुने भन्दै त्यसलाई छोडेर उनले ग्रामीण समयदेखिको समाजमा कसरी राज्य, राष्ट्रियता र सत्ताको विकास भयो भन्नेबारेमा लेखेका छन् । उनले ग्रामीण युगका किसानहरू उक्त समयमा आर्थिक आवश्यकताले जोडिएका थिए भन्ने उदाहरणमा नेपालको उच्च हिमाली क्षेत्रका किसानको परिचयलाई जोडेका छन् । जुन धर्मको आधारमा, जातको आधारमा, थर गोत्रको आधारमा परिस्थितिवश जोडिएका छन् ।


ग्रामीण समाजको समयमा राज्य एउटा निकायको रूपमा त थियो तर त्यो केही स्वायत्त, केही साम्राज्यको रूपमा थियो भनेर उनले भनेको कुरालाई पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे पनि केही ठाउँ (बझाङ, मनाङलगायत) का राजा नेपाल राज्यभित्र पनि यथावत् रहेजस्तै गरी बुझ्न सकिन्छ । उक्त समयमा राज्यहरू कहिले फैलने, कहिले खुम्चने वा कहिले फुट्ने भइरहन्थे । यस क्रममा हारेका राज्य जो जितेको राज्यभन्दा कुनै न कुनै आधारमा फरक थियो उनीहरूभित्र पुनः आफ्नो राज्य जित्ने अभिलाषा हुन्थ्यो । जसै समाज कृषि युगदेखि औद्योगिक युगमा प्रवेश गर्‍यो । तब श्रम सराइको दर बढ्यो । श्रम सराइका कारण मानिसले अर्को र आफ्नोबारेमा फरक छुट्याउन थाल्यो र यहीँबाट आफ्नो परिचय र पहिचानको कुरा सुरु भएको मान्छन् गेल्नर ।


युरोपमा भएको औद्योगिक क्रान्तिसँगै बढेको कामदारको माग र बढ्न थालेको बसाइ–सराइले मानिस–मानिसको बीचमा यो हाम्रो यो अर्काको, हाम्रो चलन राम्रो, उसको नराम्रो वा राम्रो भन्ने भावनाको विकास भयो । जसले मानिसहरूको बीचमा आफ्नो पहिचानको महत्त्व बढ्न थाल्यो र राष्ट्रियताले बलियो हुने मौका पायो । तर, राष्ट्रवादको भावना कसरी विकास भयो भन्नेबारेमा उनले अगाडिकै कुरा जोड्छन्, राजनीतिक सिमाना बढ्दा वा घट्दा राजनीतिक नेतृत्वलाई कि जितको उन्माद भयो र जितेको समुदायप्रति दमन गर्‍यो । हारेकाहरूलाई पनि हार स्विकार्न गाह्रो भयो र राष्ट्रवादको उदय भयो भन्छन् उनी ।

तर यसरी उदय हुने राष्ट्रवाद न त भाषाको आधारमा राष्ट्रवाद हुन्छ, न त सांस्कृतिक आधारमा हुन्छ भन्दै संसारभर आठ हजार भाषा भएकोमा आठ हजारथरी राष्ट्रवाद हुँदैन भन्दै यो राजनीतिका खेलाडीहरूले कुन कुरालाई राष्ट्रवादी रङ दिँदा उचित हुन्छ, त्यसलाई राष्ट्रवाद बुझिने गरिएको बताउँछन् । राष्ट्रवाद कहिले भाषाको आधारमा, कहिले भूमिको आधारमा (दुई हजार वर्षअगाडिदेखि टाढा भएका जियुजहरूलाई जेरुसेलमसँग जोडेर गरिने व्याख्या), कहिले शरीरको रूपका रङको आधारमा, कहिले संस्कृतिको आधारमा भएको उनी व्याख्या गर्छन् ।


राष्ट्रवाद र आदिवासी जनजाति (इथ्निक) को परिचयको कुरा एउटै होइन भन्दै आदिवासीको परिचय राष्ट्रवादको अवधारणा सुरु नहुँदा पनि थियो र यो सकिएपछि पनि जनजातिको पहिचान परिचय कहीँ जाँदैन भन्छन् । ‘राष्टवादी भनेर जसले आफूलाई भनेको छ उसले पनि राष्ट्रवाद यो हो भनेर व्याख्या गरेको छैन,’ उनी लेख्छन् । उनले कार्लमार्क्स र फेडरिक एंगेल्सको इथ्नोग्राफिक डक्ट्रिनले केही व्याख्या गर्न खोजे पनि त्यो राष्ट्रवादको सन्दर्भमा होइन भन्छन् । न त राष्ट्रवादको विरोध गर्नेहरूले नै त्यसलाई राम्ररी व्याख्या गरेका छन् भन्छन् ।

अन्तमा,
सारमा भन्नुपर्दा राष्ट्रियता भन्ने कुरा आफ्नो भन्ने कुराबाट आउँछ । जसमा म, मेरो, हाम्रो हामी भन्दै मानिसले मानिसको बीचमा फरक छुट्याउन थाल्छ तब राष्ट्रियताको कुरा आउँछ । तर, जब त्यसमा राजनीतिक रङ मिसिन्छ त्यसले राष्ट्रवादको रूप लिन्छ । राष्ट्रवादको मुद्दा चर्काइरहने धेरैलाई यो भनेको के हो भन्ने पनि स्पष्ट छैन न त यसको कुनै स्पष्ट राजनीतिक सिद्धान्त र विचारधारा नै छ भन्नेमा दुई विज्ञ सहमत देखिन्छन् । अनि यी दुई विज्ञले आफ्नो ज्ञान र विज्ञताका आधारमा राष्ट्रवाद यसरी आएको देखिन्छ है भन्ने कुरालाई जोड दिएका छन् । न कि यस्तै हो, यस्तै हुनुपर्छ भन्ने अर्थमा ।

प्रकाशित : मंसिर १४, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?