१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पार्वती टेलर्स

सविता आचार्य

बोल्दाबोल्दै उनका आँखा भरिएर आए  । उनका आँखाले, ‘अब त्योभन्दा धेरै बोल्न सक्दिनँ म’ भन्ने भाव व्यक्त गरिरहेको थियो  । आँखासँगै उनको मन पनि भरिएर गह्रुंगो भएको थियो ।

पार्वती टेलर्स


मेरो काँधमा अडेस लागेर उनी धेरै बेरसम्म सुँक्कसुँक्क गरिरहिन् । मैले उनले नदेख्ने गरी बिस्तारै आँसु पुछेँ । उनको जस्तै मेरो पनि आँखा र मन दुवै भरिएका थिए ।


करिब दस मिनेटको सन्नाटा र सुँक्कसुँक्कपछि उनले मुख खोलिन्, ‘तपाईंलाई पनि यस्तै भएको भए के गर्नुहुन्थ्यो दिदी ?’ यो कस्तो प्रश्न हो ? म अवाक् भएँ । मसँग उनलाई दिनको लागि जवाफ थिएन । अझ भनौँ, कुनै शब्द नै थिएन । उनले जे भोगेकी थिइन्, त्यो कुरा मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो । त्यसैले उनलाई दिनका लागि मसँग कुनै जवाफ थिएन । शब्द थिएन । अनि, म मौन बसेँ ।


आफैँले भोग्दाको पीडा र अरूको पीडा सुनेर कठै ! भन्नुमा आकाश–जमिनको फरक छ भन्ने कुरा मैले त्यही बेला महसुस गरेँ ।

उनले आफैँ भनेकी थिइन्, ‘दिदी मेरोबारेमा कतै लेख्नुपर्‍यो, तपाईंको कार्यक्रममा (साथीसँग मनका कुरा) बजाउनुपर्ने भयो या त कसैलाई भन्नुपर्ने भयो भने अहिले नै नभन्नुस् है ?’


मैले मुन्टो हल्लाएर हुन्छ भनेँ ।


कारण जान्न मन थियो मलाई, त्यसैले सोध्नै लागेकी थिएँ ।


लामो सास फेर्दै उनी बोल्न सुरु गरिन्, ‘तपाईंले अहिले नै मेरोबारेमा कतै भन्नुभयो भने मलाई मान्छेले चिन्छन्, अनि किन भनेको भनेर फेरि ममाथि दुर्व्यवहार गर्न थाल्छन्, त्यसैले अहिले नै नभन्नुस् है ।’


‘अनि पछि भन्दा हुन्छ त ?’


‘अँ, पछि त केही हुँदैन । किनकि, म आफैँ पनि यस्तैयस्तै तालिम लिएर, बोल्न सक्ने हुन्छु, अनि आफूलाई परेको अन्यायको बारेमा बोल्न सक्छु । तर अहिले त मलाई केही कुरा पनि थाहा छैन । कसैलाई केही भन्न पनि सक्दिनँ । कसरी बोल्ने भन्ने पनि थाहा छैन ।’
‘अनि आजको तालिमबाट केही कुरा सिक्यौ त, जसले तिमीलाई बलियो बनाउँछ ?’ सोधेँ ।


उसका आँखा एक्कासि चम्किए । मानौँ अब उसले ठूलै कुरा मलाई सुनाउन तयार भएकी छ । नभन्दै, ऊ आँखा चम्किलो बनाएर, मभन्दा अलि पर सरेर बोल्न थाली ।


‘सिकेँ नि, धेरै कुरा सिकेँ । सबैभन्दा ठूलो कुरा त यी यसरी तपाईंसँग आफ्नो कुरा भन्न तयार भएकी छु । नत्र म अरूको अगाडि मेरो नाम पनि भन्न सक्दिनथेँ । तपाईंसँग तीन दिन बस्दा नै मैले धेरै कुरा सिकेँ । कसरी आफ्नो कुरा भन्ने ? आफूलाई नराम्रो महसुस हुँदा त्यसबाट कसरी बाहिर निस्कने भनेर सिकेँ । तालिम सकिँदासम्म त धेरै सिक्छु ।’


ऊ अझै धेरै कुरा भन्न चाहन्थी मलाई । तर किन हो एक्कासि टक्क रोकिई । अनि पुलुक्क मेरो आँखामा हेरी । उसका आँखा केही छिनअघिका जस्ता चम्किला थिएनन् । ओइलाएर बोट छोड्न लागेको फूलजस्तै भएका थिए !


आँखाको डिलबाट फुत्त आँसु झर्‍यो !


‘रोएर पुग्यो भन्या हैन अघि ?’ सोधेँ ।


आँसु र नाकको पोराबाट हाम फाल्न लागेको पानी एकैपटक पुछ्दै बोली ‘हो ।’


‘अनि ?’


‘रोक्नै सकिनँ ।’


‘किन ?’


‘हिजो तपाईंले हामीलाई सिकाउन खेल्नु भएको नाटक याद आयो, त्यो नाटक, नाटक थियो तर मैले त यही कुरा भोगेको छु नि दिदी, मालिकको छोराबाट ।’


ऊ फेरि निसास्सिई ।


मलाई कुनै सिनेमा हेरेको जस्तो लाग्न थाल्यो । केही बेरअघि रुँदारुँदा थाकेर आफैँले आफैँलाई सम्हालेकी ऊ फेरि रुन थाली । उसको आँसुले मेरो कुम भिज्यो ।

वर्ष १९, पार्वती चौधरी (नाम परिवर्तन) । घर, दाङ । जन्मिएकै साहुको घरमा । उनी जन्मिँदा आमाबुबा, बाजेबजैलगायत सम्पूर्ण परिवार नै साहुको गोठलाई आफ्नो सानो संसार मानेर बसेका रहेछन् ।

नेपाल सरकारले २०७० साल असार १३ गते मुक्त कम्लहरी राष्ट्र घोषणा गरे पनि २०६५ साल माघ एक गते दाङ मुक्त कमैया जिल्ला घोषणा भैसकेको थियो । सो घोषणापछि उनीहरूको परिवार साहुले दिएको एउटा सानो झुपडीमा बस्न थाले । तर नाम मात्रैको थियो उनीहरूको मुक्ति । पार्वती आफ्नी आमासँगै साहुको घरमा काम गर्न जान्थिन् भने उनका बुबा खेतबारीको काममा ।


केही समयपछि साहुले पार्वतीलाई बिहान–बेलुकाको काम सघाउँछे, दिउँसो पढ्न जान्छे, यसलाई मेरै घरमा राख्छु भन्दै लगे ।


पार्वती खुसीले गद्गद् भइन् । उनको सपना थियो पढेर आफ्नै नामको जमिनमा एउटा सानो छाप्रो बनाउने । साहुको कुरा नसकिँदै आमाको म्याक्सीको फेर समातेर साहुसँगै सधैँका लागि साहुको घरमा बस्न जानका लागि तयार भएको जनाउ उनले दिइन् । आमालाई उनको कुरा पटक्कै मन परेको थिएन । तर, साहुको अगाडि बोल्ने हिम्मत कसको ?


पार्वती सधैँका लागि साहुको घरमा गए पनि परिवारका सदस्यसँग दिनदिनै उसको भेट हुन्थ्यो । हरेक भेटमा आमा सोध्थिन्, ‘आज स्कुल गइनस् ?’ पार्वतीसँग जवाफ हुन्थेन । किनकि, उनलाई घरको कामबाट फुर्सद थिएन । भर्खरै सुत्केरी भएकी साहुकी बुहारी र नातिको स्याहार गर्नु नै उनको मुख्य ड्युटी थियो ।


दिन बित्यो । हप्ता बित्यो । महिना बित्यो । तर, उनको स्कुल जाने दिन आएन । एक दिन मुखै फोरेर डराउँदै साहुलाई भनिन्, ‘मालिक मलाई स्कुल कहिले पठाउने ?’


‘पख् न बुहारी माइत जान्छिन् अनि जालिस् । अहिले तँलाई स्कुल पठाएर नाति र बुहारीको स्याहार कसले गर्छ ?’


मालिकको कुरालाई उनले सहर्ष स्विकारिन् । अनि दिन गन्न थालिन् मालिककी बुहारी माइत जाने । नभन्दै, सुत्केरी भएको पच्चीसौँ दिनमा उनी माइत गइन् । अब भने पार्वती स्कुल जान पाउने भइन् । खाना खाएर हतारहतार घरधन्दा सकिन् अनि भर्‍याङमुनिको आफ्नो बिच्छ्यौनामा पल्टिइन् । त्यो दिन उनको मनमा छुट्टै उत्साह थियो । भोलि कहिले होला भनेर उनी घरी यता घरी उता गर्न थालिन् । कति बेला निदाइन् पत्तो भएन ।


एक्कासि कसैको हात उनको शरीरमा सल्बलाउन थाल्यो ! सुरुमा त उनलाई लाग्यो सपना होला । तर, सपना होला भनेर सोच्न नभ्याउँदै मालिकका छोरा उनीमाथि खनिन लागेको देखिन् तब उनको सपनाको पहाड खस्यो । आफ्नै हातले छुँदा, नुहाउँदा पनि दुख्न थालेका स्तन मालिकका छोराको हातमा परिसकेको थियो । उनी कराउन खोजिन् तर अहँ कराउन सकिनन् ।

उनको मुख थुनिएको थियो । आफूभन्दा ठूलो मान्छेबाट कसरी फुत्केर भाग्ने ! उनले कुनै उपाय देखिनन् । भगवान् पुकार्नुको विकल्प थिएन उनमा । भन्छन् नि कोही नहुनेको भगवान् हुन्छन् भनेर ! त्यही बेला भर्‍याङबाट कोही ओर्लिंदै गरेको आवाज उनको कानमा प‍र्‍यो । उनको मात्रै हैन मालिकको छोराको कानमा पनि प‍र्‍यो ।


‘म आएको कुरा कसैलाई भनिस् भने तँलाई मारेर फाल्दिन्छु ।’ यति भनेर ऊ अँध्यारोमा बिलायो ।

मालिकलाई उनको छोराले गरेको घीनलाग्दो व्यवहारको बारेमा भन्ने हिम्मत उनले जुटाउन धेरै प्रयास गरिन् तर अहँ सक्दै सकिनन् । आमालाई त ‘भन्न सक्छु’ भनेर हजारौँपटक मुख आँ गरिन् तर भन्न सकिनन् । खै किन सकिनन् उनी आफैँलाई पनि थाहा छैन ।

त्यसपछि हरेक दिन कुनै न कुनै बहानामा उनलाई मालिकको छोराले आफ्नो इच्छाअनुसार छुन थाल्यो । उसले जति नै नगर्नू भने पनि मानेन । उनलाई भर्‍याङमुनि सुत्नै मन लाग्न छोड्यो । भर्खरै पलाउन थालेकी उनी हरेक दिन निमोठिन थालिन् । उनलाई आफ्नै जीवन देखेर घीन लाग्न थाल्यो । आफैँले आफैँलाई धिक्कार्न थालिन् । मालिकको छोरालाई देख्दा रिसको पारो ह्वात्तै बढ्थ्यो । तर, अहँ मुखबाट कुनै शब्द निस्किँदैनथ्यो ।


केही भन्न खोजे पनि धम्कीपूर्ण आवाज निस्किहाल्थ्यो, ‘कसैलाई भनिस् भने मारेर फाल्दिन्छु ।’ अझ उसलाई अर्को त्योभन्दा ठूलो डर त परिवारलाई नै केही गर्दिन्छन् कि भन्ने थियो । त्यही डरले पनि बोल्ने हिम्मत जुटाउनै सकिनन् उनले ।


यति फरर भनेर उनी शान्त भइन् । मानौँ समुद्रमा छाल आउन रोकियो । केही बेरको सन्नाटापछि लामो सास फेरिन् अनि मुसुक्क हाँस्दै मतिर हेरिन् । म पनि जवाफमा मुसुक्क हाँसिदिएँ । अनि उनी बोल्न थालिन् ।


‘तपाईंलाई त कथाजस्तै लाग्यो होला है दिदी ? मैले केही बढाएर भनेको छैन । अझ कति कुरा त सम्झिन मन लाग्दैन मलाई । के गर्ने हामी गरिबको त कर्मै यस्तै रैछ भनेर चित्त बुझाउँछु ।’


उनी बोल्दै थिइन्, मैले बीचैमा रोकेर भनेँ, ‘एउटा कुरा सोधौँ ?’


‘सोध्नुस् न...’


‘मालिकको छोरालाई उसले तिमीमाथि गरेको दुर्व्यवहारको सजाय दिनुपर्छजस्तो लाग्दैन ?’


‘लाग्छ नि, तर अब मेरो कुरा कसले पत्याउँछ र ?’


‘मैले त पत्याए नि !’


‘तपाईंले पत्याएर के हुन्छ ? जसले मेरो कुरा सुन्नुपर्ने हो उनीहरूले पो सुन्नुपर्‍यो ।’


‘अनि के गर्ने ? त्यसलाई त्यत्तिकै छोड्ने ?’


‘मैले त बिर्सिसकेँ अब ।’


‘अनि आज किन भन्यौ त ?’


‘खै किन–किन मनको बह पोख्न मन लाग्यो, कसैलाई भन्न नसकेको अनि भन्न मन नलागेको कुरा तपाईंलाई भन्न मन लाग्यो । तर, मैले सबै पुराना कुरा बिर्सेर अगाडि बढिसकेँ । मलाई फेरि फर्केर त्यही कुरा कोट्याएर आफूलाई दुःखी बनाउनु छैन ।’


यति भनेर आफूले जितेको जस्तो गरेर मतिर हेरिन् ।


‘अब के गर्छौ त ?’ मैले फेरि सोधेँ ।


‘यो तालिम सकेर सिलाइकटाइको तालिम लिन्छु । मुक्त कम्लहरीका लागि एउटा संस्थाले तालिम दिन लागेको छ रे, मेरो पनि नाम लेख्या छ त्यसमा । सिलाइ–कटाइ सिकेपछि त आफैँले काम सुरु गर्छु अनि कसैको घरमा काम गर्न जानुपर्दैन, बरु मेरैमा आउँछन् मान्छे लुगा सिलाउने काम लिएर ।’


यति भनिसक्दा उनी एकदमै खुसी देखिएकी थिइन्, युद्ध जितेको सिपाहीजस्तो । अघिसम्म रोएकी उनलाई खै कुन कुराले यति शक्ति दियो थाहा छैन मलाई । तर, जे भए पनि उनलाई खुसी देखेर उनीसँगै खुसी भए म पनि । तर, खै किन हो ऊ कोठाबाट निस्केपछि भने मन अँध्यारो भयो । आफूले भोगेको दुर्व्यवहार पनि उनी सजिलै हाँसीहाँसी पचाउन सफल भएकी छन् । आउने भविष्यलाई लिएर मख्ख छिन् ।


आज पाँच वर्षपछि उनको बारेमा लेख्दै गर्दा, पाँच वर्षपहिले मेरो कोठाबाट निस्किँदै गर्दाको जस्तै खुसी देखिन्थिन् उनी । सिलाइ–कटाइको तालिम लिएर आफ्नै टेलर्स खोलेर बसेकी छन् । दोकानको नाम आफ्नै नामबाट फुराएकी छन् : पार्वती टेलर्स ।
Twitter@ACSabita

प्रकाशित : मंसिर १४, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?