गान्धी विचारउपर प्रहार !- कोसेली - कान्तिपुर समाचार

गान्धी विचारउपर प्रहार !

यस वर्ष महात्मा गान्धीको १ सय ५० औं जन्मजयन्ती । अहिंसात्मक आन्दोलनलाई संसारभर स्थापित गराउने गान्धीका विचारबारे अहिले पनि बहस चलिरहेका छन् ।
शंकर तिवारी

धर्मान्ध नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गर्नुभन्दा तीन वर्षपहिले सन् १९४६ मा अम्बेडकरले गान्धीसम्बन्धी लेखिएका पुस्तकहरूको बढ्दो संख्यातर्फ इंगित गर्दै यस्तो टिप्पणी गरेका थिए, ‘यी वृद्ध मानिसमाथि लेखिएका पुस्तकहरू देखेर मेरो सातो जान्छ (होस उड्छ) !’

यसरी गान्धीको जीवनकालमै उनीमाथि विद्वत् समुदायको आकर्षणमा उनको जीवनलीला समाप्तिको सात दशकपछि पनि कुनै सुस्तता छाएको छैन, बरु त्यो आकर्षण झन् सघन र तीव्र हुँदै गइरहेको छ ।

दक्षिण अफ्रिकाको लहरो–पहरो
स्टानफोर्ड युनिभर्सिटी प्रेसले सन् २०१५ मा गान्धीसम्बन्धी ‘द साउथ अफ्रिकन गान्धी ः स्ट्रेचर बिअरर अफ इम्पायर’ शीर्षकको पुस्तक प्रकाशित गर्‍यो । दक्षिण अफ्रिकाको दुई भिन्न विश्वविद्यालयमा अलग–अलग विषय समाजशास्त्र र इतिहास प्राध्यापन गर्ने अश्विन देशाई र गोलाम वहेदले उक्त पुस्तक लेखेका थिए । यस पुस्तकले गान्धीको दक्षिण अफ्रिका बसाइका विभिन्न पाटोलाई सूक्ष्म रूपमा प्रकाश पारेको छ ।


सोही क्रममा गान्धीले दक्षिण अफ्रिकी रैथाने/आदिवासीलाई त्यतिबेला प्रयोग गरिने शब्द ‘काफिर’ प्रयोग गरेको खुलस्त पारिएको छ । समयक्रममा शब्दहरूले पनि रङ फेर्छन् । शब्दको भाव र अर्थ बदलिँदै जान्छन् । काफिर शब्द गान्धी दक्षिण अफ्रिकामा रहेको र त्यसपछिको लामो समयसम्म अफ्रिकी कालाहरूलाई सम्बोधन गर्न प्रयोग गर्ने शब्दको रूपमा चल्तीमा थियो । तर अहिले आएर नकारात्मक आशय ग्रहण गर्न पुगेको छ । अफ्रिकी कालाहरू काफिर शब्दलाई अपमानजनक ठान्छन् र काफिर शब्द प्रयोग गर्दा होच्याएको महसुस गर्छन् ।


गान्धी स्वयंले दक्षिण अफ्रिका बसाइका बारेमा ‘सत्याग्रह इन साउथ अफ्रिका’ शीर्षकको पुस्तक लेखेका छन् । त्यो पुस्तकको पहिलो संस्करण सन् १९२८ मै छापिएको थियो । यस पुस्तकमा दक्षिण अफ्रिकी रैथाने अश्वेतहरूको चर्चा गर्दा गान्धीले ‘काफिर’ शब्दको प्रयोग गरेका थिएनन् । तर जब कलेक्टेड वर्क्स अफ महात्मा गान्धी (छोटकरीमा सीडब्लूएमजी) को एक सयवटा अलग–अलग ग्रन्थ तयार पार्दा खोजकर्ताहरू गान्धीले लेखेका/बोलेका अक्षरहरू एकत्रित पार्दा मूल स्रोतमा पुगे । ती मूल स्रोतबाट बिनासम्पादन वा काँटछाट छापिए । दक्षिण अफ्रिका कार्यक्षेत्र बनाएका प्राध्यापकहरूले दक्षिण अफ्रिकी गान्धीका बारेमा पुस्तक लेख्दा पहिले छायामा/ओझेलमा परेको प्रसंग बाहिर आए । उक्त किताबमा चर्चा गरिएको प्रसंगलाई आधार मानेर गान्धीलाई रेसिस्ट (नश्लवादी) को आरोप लगाउँदै २०१८ को डिसेम्बरमा आक्रामा अवस्थित घाना विश्वविद्यालय परिसरमा रहेको महात्मा गान्धीको मूर्ति हटाइयो । यो समाचार सनसनीपूर्ण शैलीमा विश्वभर फैलियो । यो प्रकरण गान्धीको वैचारिकीमाथि गरिएको पछिल्लो र बहुचर्चित आक्रमण हो । गान्धीको त्यो मूर्ति घाना विश्वविद्यालय परिसरमै पुनःस्थापित गरिसकिएको छ ।


२०१९ अक्टोबरमा इन्स्टिच्युट अफ गान्धियन स्टडिज बर्धा महाराष्ट्रका प्रध्यापक डा.सीबीके जोसेफले लेखेको पुस्तक ‘गान्धी इन साउथ अफ्रिका : अर रेसिस्ट अर अ लिबरेटर ?’ भारत र दक्षिण अफ्रिकामा एकैपटक विमोचिन गरियो । उक्त पुस्तकले दक्षिण अफ्रिकी प्रध्यापकहरूले ‘द साउथ अफ्रिकन गान्धी’ पुस्तकमा तथ्यहरूको तोडमोड गरिएको र गान्धीका उद्धरणलाई तलमाथि पारिएको विवरण पेस गरेका छन् । जोसेफ भन्छन्, ‘बृद्धिजीवीहरू खास समयमा अभिव्यक्त भएका लामा उद्धरण र भनाइलाई छोट्याएर र अमिल्दा प्रसंगमा उद्धृत गर्ने आदतको सिकार हुन्छन् ।’


लेखिका अरुन्धती रोयले समेत त्यस्तै गरेकी छन् । अरुन्धतीले ‘द डाक्टर एन्ड द सेन्ट ः द अम्बेडर–गान्धी डिबेट’ मा गल्ती गरेको तर्फ जोसेफले इंगित गरेका हुन् । आखिर गान्धीमाथि उनको हत्याको यतिका वर्षपछि पनि वैचारिक आक्रमण किन भइराख्छ त ? यसका केही गम्भीर कारण छन् । यस्ता आक्रमण गान्धीको जीवनकालदेखि अनवरत रूपमा आजपर्यन्त चलिरहेको छ र यो रोकिनेवालासमेत छैन । यस्ता आक्रमणहरूले गान्धीको विचारको प्रसारण र फैलावटमा थप टेवा पुर्‍याइरहेका छन् । यसबारेमा विस्तृतमा चर्चा गर्नुपहिले दक्षिण अफ्रिकी राष्ट्र घानाको प्रसंग सान्दर्भिक हुन्छ ।

गान्धीको वैचारिक विकास
गुजरातको समुद्र तट पोरबन्दरमा सन् १८६९ मा जन्मेका गान्धी कानुनको उच्च शिक्षा अध्ययनका लागि सन् १८८८ मा लन्डन पुगेका थिए । लन्डनमा रहँदा मनोवैज्ञानिक रूपमा गान्धीले सभ्यताको तहगत संरचनामा युरोपलाई माथि र भारत/इन्डियालाई त्योभन्दा तल राखेका थिए । त्यो उनको प्रारम्भिक बुझाइ थियो । पछि उनले १९०९ मा ‘हिन्द स्वराज’ (इन्डियन होम रुल) पुस्तक लेखेर युरोपेली सभ्यताको जडमा प्रहार गरे । गान्धीले १८९१ मा कानुनी शिक्षा पूरा गरेका थिए । १८९३ मा उनी दक्षिण अफ्रिकी सहर नाटाल पुगे र १९१५ मा मात्र पूर्णकालका लागि उनले अफ्रिका महादेशको बसाइलाई बिट मारे । झन्डै २३ वर्ष गान्धीले दक्षिण अफ्रिकामा बिताएका थिए । अपरिपक्व वकिलको रूपमा त्यहाँ पुगेका उनी समयक्रममा २० औं शताब्दीलाई दिशानिर्देश गर्नसक्ने महात्मामा परिणत भए । दक्षिण अफ्रिका उनको प्रयोग र परीक्षणहरूको भावभूमि थियो । त्यही कर्म थलोले उनलाई मोहनबाट महात्मामा रूपान्तरित गरेको थियो ।


आप्रवासी भारतीय मालिकको निजी वकिलको रूपमा दक्षिण अफ्रिका पुगेका गान्धी केही वर्षमै सिङ्गो आप्रवासी भारतीय समुदायको नेता बन्न पुगे । दक्षिण अफ्रिका त्यसबेला भारतजस्तै बेलायतको उपनिवेश थियो । सरकारी अड्डाहरूमा गोरा र कालालाई दोहोरो व्यवहार गरिन्थ्यो । भारतीय कामदारलाई सरकारले स्वाभाविक रूपमा रैथाने कालाहरू गर्ने दोस्रो दर्जाको सूचीमा राखेको थियो । ब्रिटिस सम्राज्यको नागरिक गान्धीलाई यो कुरा चित्त बुझेको थिएन । १८५७ मा भारतीय नागरिकहरूलाई आफ्ना नागरिकसरह व्यवहार गर्ने निर्णय बेलायत सरकारले गरेको थियो । गान्धीले सरकारले आफू भारतीयहरूलाई रैथाने अफ्रिकी ‘काफिर’ सरह व्यवहार गरिनु असुहाउँदो भएको उल्लेख गर्दै उक्त नियम बदली पाऊँ भनी निवेदन दिए । गान्धीले माग गरेजस्तै दक्षिण अफ्रिकी सरकारले भारतीयलाई एसियाटिक्सअन्तर्गत दोस्रो दर्जा दियो र अफ्रिकी कालाहरू तेस्रो दर्जाका बन्न पुगे ।


विरोधीहरूले अपरिपक्व गान्धीका धारणालाई मात्र आधार मानेर उनको सालिक स्थानान्तरण गरेको देखिन्छ । १९०९ देखियता गान्धीले सबै मानव जाति बराबर भएको धारणा विकास गरिसकेका थिए । त्यसैले यो विरोध एकांकी देखिन्छ । जुन कुरा विरोधीहरूले पनि बौद्धिकस्तरमा स्विकारेको देखिन्छ । त्यसो त गान्धीकै प्रेरणाबाट अहिंसात्मक शैलीमा दक्षिण अफ्रिकालाई उपनिवेशबाट स्वतन्त्रता दिलाएका नेल्सन मण्डेलाले भनेका छन्, ‘गान्धीलाई तत्कालीन सर्न्दभ र समयको कसीमा राखेर मूल्यांकन गर्नु वस्तुनिष्ठ हुन जान्छ ।’ गान्धीले आफ्ना धारणाहरूमा विरोधाभास/मतान्तर देखा परेमा अघिल्लोभन्दा पछिल्ला धारणा आधिकारिक हुनेछ भनेर आफ्नो वैचारिक जगलाई प्रस्ट्याएका थिए । उदाहरणका लागि उनले १९२० मा र १९३० मा एउटै विषयमा अलगअलग राय दिएको भए १९३० को रायलाई आधिकारिक मान्न भनेका थिए ।

मूर्तिबारे गान्धी–धारणा
गान्धी स्वयंलाई मूर्तिमा खास आकर्षण थिएन । फरवरी ११, १९३९ को ‘हरिजन’ पत्रिकामा उनको मूर्ति बनाउन चाहने शुभेच्छुकलाई त्यस्तो फाल्तु कार्यमा नलाग्न आग्रह गर्दै लेख्छन्, ‘माटोले बनेको मानिसमा पच्चीस हजार रुपैयाँ खर्च गरेर माटो वा धातुको मूर्ति बनाउनु भनेको पैसाको बर्बादीबाहेक केही होइन ।’ गान्धीले नचाहेको भए तापनि गान्धीको मूर्ति प्रत्येक ठूला–साना भारतीय सहर वा गाउँको मात्र शोभा बन्न पुगे । यो क्रम भारतबाहिर पनि फैलियो । हालै मात्र बेलायतको पार्लियामेन्ट स्क्वायरमा चर्चिलसँगै गान्धीको समेत ढलोटको मूर्ति स्थापित गरिएको छ ।


दक्षिण अफ्रिकी दिनहरूमा गान्धी अपूर्ण थिए तर समकालीनहरूभन्दा क्रान्तिकारी र प्रगतिशील थिए । गान्धीले विशेषगरी धर्म र सम्प्रदायको जगमा राजनीति गर्न चाहनेहरूको विरोधको सामना आजीवन गरे । उनले त्यही क्रममा शहादत पनि प्राप्त गरे । गान्धी मार्क्सवादीहरूबाट समेत आलोचित भए । अम्बेडकर र गान्धीको शास्त्रार्थलाई उनीहरूका चेलाहरूले अझै टुङ्गोमा पुर्‍याउन दिने संकेतसमेत दिएका छैनन् । गान्धीले जुनसुकै परिवर्तनका लागि अहिंसामा जोड दिए, हिंसाका पक्षपातीले सदैव गान्धीलाई प्रतिरोध गर्ने भइहाले । गान्धी सर्वधर्म समभावमा विश्वास गर्थे । उनको आश्रमको प्रार्थना सभामा मुख्य धर्मग्रन्थहरूबाट लिइएका श्लोकहरू सस्वर वाचन गर्ने परम्परा जीवित नै छ । धार्मिक कट्टरतामा विश्वास राख्नेहरूले गान्धीलाई एक नम्बरको दुस्मन मान्छन् । बहुसंख्यक मुस्लिमहरूलाई धर्मनिरपेक्षताको नाउँमा धेरै भाउ दिएको आरोप गान्धीलाई लगाइन्छ ।

वर्तमान भारतमा गान्धी
हिन्दु परम्परा र विचारलाई श्रेष्ठ ठान्ने विचारधारा अहिले भारतमा हावी भएको छ । राष्ट्रिय स्वयंसेवक संघको नाममा धार्मिक श्रेष्ठताको प्रचार प्रसार गर्न थालेको झन्डै एक शताब्दी पुग्न लागेको बेला भारतमा गान्धीको हत्यारा नाथुराम गोड्सेको मूर्ति बनाएर पुज्न थालिएको छ । त्यति हुँदाहुदै पनि राष्ट्रिय स्वयंसेवक संघको कार्यकर्ता भएर आफ्नो राजनीतिक बाह्रखरी प्रारम्भ गरेका वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्राष्ट्रिय मञ्चमा मात्र होइन राष्ट्रिय मञ्चहरूमा समेत गान्धीको नाम लिन बाध्य हुन्छन् ।


यसै वर्षको संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई हिटलरको नाजी पार्टीसँग तुलना गरे । भाजपाको माउ संस्था आरएसएस गान्धीको हत्यामा संलग्न भएको र गान्धीको रगतले लत्पतिएको पृष्ठभूमिको भनेर मोदीलाई रक्षात्मक हुन बाध्य पारे । यसरी विश्व रंगमञ्चको विशिष्ट थलोमा समेत गान्धी कारण–अकारण बहसको केन्द्रमा पुगिराख्छन् । नरेन्द्र मोदीले इमरान खानलाई जवाफ दिन ‘द न्युयोर्क टाइम्स’ पत्रिकाको अक्टोबर २ अंकमा गान्धीसम्बन्धी अग्रलेख नै लेख्नुपर्‍यो ।


भाजपाको नीति नेहरू र गान्धीलाई सकेसम्म उपेक्षा गर्ने भएकाले पनि मोदीले संसारकै अग्लो मूर्ति आफ्नो गृहनगर गुजरातमा गान्धीको नभएर बल्लभभाइ पटेलको बनाएको दृष्टान्त छ । तर, भारतीय सिनेमाका सेलिब्रेटीहरूसँग साक्षात्कार गर्दै मोदीले गान्धीको १५०औं जन्मजयन्तीका अवसरमा सिनेमा र कलाका विविध पक्षमा गान्धीलाई जोड्न आह्वान गरे । त्यसो त मोदीलाई ‘स्वच्छता अभियान’ भनेर शौचालय र सफाइ अभियानमा गान्धीलाई सीमित पार्न कोसिस गरेको आरोप नलागेको होइन । गान्धीको विश्वव्यापी स्वीकार्यताले गर्दा बगलीमा जे–जे भए तापनि मोदी मुखले भने गान्धीको नाम लिन बाध्य छन् । स्पष्ट रूपमा भन्नुपर्दा वर्तमान भारत गान्धीले चाहेको ‘हिन्द स्वराज भर्सेज सावरकरहरूले चाहेको ‘हिन्दु राज्य’ बीचको वैचारिक टकरावमा फसेको छ ।

नेपालमा गान्धीको चर्चा
आफ्ना विचार र कार्यबाट संसारलाई नै प्रभावित पारेका गान्धीले भारतको उत्तरी छिमेकमा रहेको देश नेपाल प्रभावित हुने नै भयो । बीपी कोइरालाले त्यसको वर्णन आफ्नो ‘आत्मकथा’ र ‘आत्मवृत्तान्त’ मा गरेका छन् । नेपाली कांग्रेस पार्टीको स्थापनामा गान्धीको ठूलो प्रभाव देखा पर्‍यो । गान्धीको सम्मानमा उनको हत्यापश्चात् नेपाली कांग्रेसले आफ्नो मुखपत्र ‘युगवाणी’ मा विशेष अंक प्रकाशित गरेको थियो । एक प्रकारले भन्नुपर्दा १९२० मा नै गान्धीको आह्वानमा भएको असहयोग आन्दोलनमा धेरै नेपालीले भाग लिएका थिए । लाइब्रेरी काण्डमा परी कारबाही भोगेका नवयुवक तुलसीमेहर श्रेष्ठ राणाहरूकै छात्रवृत्ति हात पारेर गान्धीको सावारमति आश्रम पुगेका थिए । तुलसीमेहरले नेपाल फर्केर स्थापना गरेको संस्था चर्खा प्रचारक गुठी नेपालको पहिलो गैरसरकारी संस्था बन्न पुग्यो । सय वर्ष पुरानो यो संस्थालाई बुढ्यौली लागेको छ । त्यतिले मात्र नपुगेर मुद्दा मामिलाले गर्दा राम्रोसँग काम गर्न पनि पाएको छैन । गान्धी आश्रममा पुगेर तालिम लिएर आएका भद्रा घले र उर्मिला उपाध्यायले खोलेका संस्थाहरूलाई समेत बुढ्यौली लागेको छ । यो त भयो गान्धीबाट प्रभावित भई खुलेका केही प्रतिनिधि संस्थाको कुरा । तर यो लेखको ध्येय गान्धी विचारको वैचारिक पाटो भएकाले मूल विषयमै चर्चा गरौं ।


गान्धीको जन्मतिथिमा विश्वभरि कार्यक्रम हुन्छन् । त्यही सेरोफेरोमा लेख विचार टिप्पणीहरू प्रकाशित हुन्छन् । गान्धीको जन्म तिथि र मृत्यु तिथिको आसपासमा छिटपुट मात्रामा नेपालमा उनको चर्चा हुने गर्छ । त्यसको अलावा केही मार्क्सवादी झुकाव भएका विद्वान्हरूले गान्धी विमर्शमा टेवा पुर्‍याइरहेका हुन्छन् । गान्धीलाई आलोचनात्मक चेतका साथ हेर्नेहरूले कि त मार्क्सवादी कि अम्बेडकरको फ्रेमबाट हेर्ने गर्छन् । बनीबनाउ आलोचनालाई उद्धृत गर्ने उपक्रमबाट उनीहरू माथि उठेको पाइँदैन । जबसम्म गान्धीलाई समालोचनात्मक वा त्योभन्दा सम्यक् दृष्टिले हेर्नलाई हामीले गान्धीका मूल रचनालाई/कार्यलाई आधार मान्दैनौं तबसम्म गान्धी विमर्श अपूरो रहिरहन्छ । गान्धीबारे टिप्पणी गर्दा केही वर्षपहिले यशपालको ‘गान्धीवादको शव परीक्षा’ को एकोहोरो सहारा लिनेहरू अहिले आएर बज्ररञ्जन मणिको उद्धरण गर्न लागिपरेका छन् । कम्तीमा मूल रूपमा कन्नडभाषी भारतीय चिन्तक यू यार अनन्थामुर्थीको अन्तिम पुस्तक ‘हिन्दुत्व अर हिन्द स्वराज’ को मात्र अध्ययन गर्ने हो भने पनि गान्धी विमर्शलाई न्याय हुन्थ्यो ।

धर्म र वर्णाश्रम
गान्धीका धर्मका बारेमा स्पष्ट मान्यता थिए । तीन सरल वाक्यमा उनका धर्मसम्बन्धी धारणाको सारलाई खिच्न सकिन्छ ।
१. सबै धर्ममा राम्रा पक्ष भएजस्तै नराम्रा पक्ष पनि छन् । त्यस मानेमा सबै धर्म अपूर्ण छन् ।
२. एउटा अपूर्णताबाट अर्को अपूर्णतामा फाल हान्दैमा (धर्म परिवर्तन गर्दैमा) पूर्णता प्राप्त हुन सक्दैन ।
३. त्यसैले सबैले आ–आफ्नो धर्ममा रहेका अपूर्णतालाई पूर्ण बनाउन त्यही धर्मभित्रै सुधारको उपाय खोज्नुपर्छ ।


हिन्दु धर्मको वर्णाश्रम व्यवस्थाले समयक्रममा मानिसहरूबीच जुन प्रकारको विभेद थोपार्ने कार्य गर्‍यो, गान्धी त्यसको सदैव विरोधी थिए र जीवनको उत्तरार्द्धमा उनी धेरै प्रस्ट थिए । वर्णाश्रमअनुसार कामको विभाजनको परिकल्पना उनलाई सुन्दर लागेको थियो । तर कालक्रममा जब कामको प्रतिष्ठा हराउँदै गयो र जातीय रूपमा उचनीचको भावना हावी हुन थाल्यो । गान्धी यो कुरा बदल्न चाहन्थे । श्रमको सम्मान गर्ने भएकाले आश्रमको परिसर र शौचालय सफाइमा आफैं अग्रसर हुन्थे । शूद्र वा दलित वा जो कुनै पीडित/दमित व्यक्ति/समुदायलाई गान्धीले ‘हरिजन’ को उपमा दिएका थिए ।


गान्धी दर्शनलाई बुझ्न चाहनेले जोन रस्किनको पुस्तक ‘अनटु द लास्ट’ एकपटक पढ्नैपर्ने हुन्छ । गान्धी यस पुस्तकबाट यति बढी प्रभावित थिए कि उनले यसै पुस्तकको सारलाई अनुवादसमेत गरे र सबैको श्रमको सममूल्य र बराबरी प्रतिष्ठा हुनुपर्छ भन्ने मान्यतामा अडिग रहँदै त्यसको व्यावहारिक प्रयोगका लागि आश्रमको स्थापनासमेत गरे । गान्धी विचार कहिल्यै पनि जड हिन्दुत्वको पक्षपाति थिएन । गान्धी विचारले अनेकान्तवादलाई प्रश्रय दिन्छ ।

दलित र अम्बेडकर
सन् १९३२ मा अंग्रेज सरकारले कम्युनल अवार्डअन्तर्गत दलित पनि समावेश भएको सेड्युल कास्टलाई अलग निर्वाचन क्षेत्र कायम गर्ने प्रस्ताव अघि सार्‍यो । गान्धीले अलग निर्वाचन क्षेत्रले हिन्दु धर्ममा विभाजन हुने र त्यसले भारतीय समाजमा नकरात्मक प्रभाव पार्ने निर्क्योल गरे । गान्धीले सरकारी निर्णयको खिलाफमा अनशन बसे र अलग निर्वाचन क्षेत्रको सट्टा संयुक्त निर्वाचन क्षेत्रमा सहमति भयो । दलित/अल्पसंख्यकलाई सोही बेलादेखि निर्वाचनमा आरक्षणको सिट कायम भएको हो । जुन आजपर्यन्त भारतमा प्रचलनमा छ । अनशन बसेका गान्धीको स्वास्थ्यमा तलबितल परेमा दंगा भड्किने र गान्धी हत्याको आरोप लाग्ने भएकाले अम्बेडकरले ‘पुनः सम्झौतामा’ हस्ताक्षर गर्न पुगे । सरकारले सुरुमा प्रस्ताव गरेकोभन्दा धेरै सिट दलितहरूले आरक्षणको रूपमा पाए ।


गान्धीले दलित समस्यालाई हिन्दु धर्मभित्रको समस्याको रूपमा हेरे । जीवनको आखिरीमा अम्बेडकरले दलित मुक्तिका लागि हिन्दु धर्म नै परित्याग गर्ने नीति अख्तियार गरे । अम्वेडकरले दलित मुक्तिका लागि धर्म परिवर्तन गर्ने सुइँको पाएपछि मुस्लिम र क्रिस्चियन धर्मका अनुयायीसमेत अम्बेडकरलाई आफ्नो धर्ममा सामेल गर्नमा जोडतोडले लागि परेको पाइन्छ । अम्बेडकरले अन्तिममा हिन्दु धर्म परित्याग गरी बौद्ध धर्ममा धर्मान्तरण गरे । गान्धी र अम्बेडकर दुवै दलित मुक्तिका लागि क्रियाशील थिए तर उनीहरूको बाटो अलग थियो । त्यसका लागि अलग्गै लेखमा चर्चा गर्नुपर्छ ।

अन्त्यमा,
सत्य र अहिंसाका पुजारी गान्धीलाई वर्तमान भारतीय संस्थापनले उपेक्षा गरे पनि विश्वले चर्को स्वरमा अंकमाल गर्दै गइरहेको छ । वातावरणीय विनाशले विकास अधकल्चो भइरहको छ । अन्तरधार्मिक समन्वयको आवश्यकता अपरिहार्य भएको छ । गान्धीले समयमा नै यी समस्याका साथै समाधान पनि सुझाएका थिए जो अहिले पनि सान्दर्भिक छन् ।


संयुक्त राष्ट्रसंघले कुनै पनि व्यक्तिको जन्मदिन पारेर दिवस घोषणा गरेको छ भने त्यो गान्धीको जन्मदिन हो । गान्धीको जन्मदिन अक्टोबर २ लाई २००७ मा अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा घोषित गरिएको हो । भारतका लागि गान्धी अन्तर्राष्ट्रिय कूटनीतिक ‘सफ्ट पावर’ भएका छन् ।


गान्धी सामान्य मानिसका रूपमा जन्मेका थिए । उनले आफूले बाँचेको समयमा भोगेका असंख्य प्रश्नलाई मानव सभ्यताको बृहत्तर फ्रेममा राखेर हेर्ने कोसिस गरेका थिए । मानव सभ्यताले सामाना गर्नुपरेका प्रश्नहरूको उठान गर्ने शैलीले उनलाई मौलिक चिन्तक बनायो । मौलिक चिन्तकहरू चौतर्फी आक्रमणको निसाना बन्न पुग्नु कुनै अस्वाभाविक विषय रहेन ।


आज सयभन्दा धेरै देशले गान्धीको तस्बिर अंकित हुलाक टिकट जारी गरेका छन् । गान्धीको नाममा टिकट जारी गर्ने दोस्रो राष्ट्र अमेरिका थियो । अहिले संसारभर उत्तेजित संशोधनवादीहरू इतिहासको परिष्कार गर्न लागिपरेका छन् । गान्धी विचारसमेत त्यसको मारमा परेको छ । उदारवाद र लोकतन्त्रको क्षयीकरण भइरहको वर्तमान विश्वमा गान्धी आशाको मधुरो प्रकाश बनेर सिङ्गो संसारलार्ई प्रदीप्त पारिरहेका छन् ।
@Shankarktm1

प्रकाशित : मंसिर १४, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

असाधारण गान्धीको साधारण चित्र

शंकर तिवारी

सन् १९०९ मा प्रकाशित ‘एमके गान्धीः एन इन्डियन प्याट्रियट इन साउथ अफ्रिका’ महात्मा गान्धीबारे प्रकाशित पहिलो पुस्तक थियो  । त्यतिबेला उमेरका हिसाबले भर्खर ४० टेकेका उनी महात्मा बनिसकेका थिएनन्  ।

दक्षिण अफ्रिकी पादरी एवं गान्धीका मित्र जोसेफ जोन डोकेले उक्त पुस्तक लेखेको एक शताब्दीभन्दा लामो समय भएको छ । त्यसयता गान्धीका बारे हजार बेसी पुस्तक प्रकाशित भएका छन् । गान्धी बारे नयाँ नयाँ रहस्योद्घाटन गरेर पुस्तक प्रकाशित हुने क्रम रोकिएका छैन । उन्नाइसौँ शताब्दीमा भारतको गुजरात राज्यमा जन्मेर बीसौं शताब्दीमा सिंगो संसारको ध्यान आफूतर्फ आकर्षित गर्न सफल गान्धीकबारे एक्काइसौं शताब्दीका मानिसहरूको रुचि घट्नुका साटो बढेको बढेकै छ ।


भारतका सेलिब्रेटी इतिहासकार रामचन्द्र गुहाले गान्धीको विश्वव्यापी क्रेज बढिरहनाको कारण खोतल्दै गान्धीको जीवनीको दोस्रो खण्ड ‘गान्धीः द इयर्स द्याट चेन्ज्ड द वर्ल्ड १९१४–१९४८’ अघिल्लो वर्ष २०१८ मा सार्वजनिक गरे । सन् २०१३ मा गुहाले ‘गान्धी बिफोर इन्डिया’ शीर्षकमा गान्धीको जीवनको प्रारम्भिक खण्डका बारेमा लेखेका थिए । इतिहास लेखनको परम्परागत शैलीभन्दा पृथक् धार निर्माण गर्दै २००८ मा गुहाले स्वाधीन भारतको इतिहास ‘इन्डिया आफ्टर गान्धी द हिस्टोरी अफ द वर्ल्डस लार्जेस्ट डेमाक्रेसी’ मार्फत आफ्नो लोकप्रियता स्थापित गरेका थिए । एक दशकमा उनका अरू पनि पुस्तक प्रकाशित छन् तर गान्धी नामसँग जोडेर लेखेका पुस्तक मानक बन्न पुगेका छन् । आफ्नो जीवनकालमा एसिया, युरोप, अफ्रिका घुमेका गान्धी ब्रिटिस साम्राज्यको सबैभन्दा ठूलो उपनिवेश भारतलाई स्वतन्त्र गराउने क्रममा प्रयोग गरेको कार्यशैली, जीवनचर्या र कोरा राजनीतिभन्दा पर सामाजिक जीवनमा पारेको बृहत्तर प्रभावले आफ्नो जीवनकालमै किंवदन्ती बन्न पुगे । जसरी प्रत्येक नयाँ पुस्ताले बेलायतमा चर्चिल, फ्रान्समा दे गाल, अमेरिकामा रुजवेल्टको पुनर्मूल्याङ्कन गरिरहेका हुन्छन्, त्यसैगरी भारतीयले गान्धीको पुनर्मूल्याङ्कन गर्नु जरुरी ठान्छन् । यो पुस्तक त्यही सिलसिलको निरन्तरता हो ।


महात्मा गान्धीबारे भारतीयले भन्दा गैरभारतीयले लेखेका पुस्तक चर्चित छन् । नोबेल पुरस्कार विजेता फ्रेन्च लेखक रोमन रोँलाले लेखेको ‘महात्मा गान्धी ः द म्यान हु बिकेम वान विद द युनिभर्सल विइङ’ (१९२४) र अमेरिकी पत्रकार लुई फिसरले लेखेको ‘द लाइफ अफ महात्मा गान्धी’ (१९५०) त्यस्ता पुस्तक हुन् । गुहाका गान्धीको जीवनमाथि आधारित पुस्तक त्यस मानेमा अपवाद हुन् । जिसस, क्राइस्ट र मार्क्सपछि सर्वाधिक साहित्य लेखिएका व्यक्ति गान्धीका बारेमा लेख्न खोज्नु आफैंमा दुर्बोध्य कार्य हो । पुराना कुरा कति दोहोर्‍याउने, नयाँ तथ्य कहाँबाट खोजी गर्ने ? गुहाले यो चुनौतीलाई सहजै स्विकार्दै गान्धीका बारेमा नयाँ तथ्यको आलोकमा उनको जीवनीलाई खोतल्ने कोसिस गरेका छन् । त्यसका लागि गुहा ६० वटा पुस्तकालय र ६ अभिलेखालय पुगे । गान्धीका बारे सार्वजनिक नभएका हजारौं सामग्रीहरू पहिलोपटक हेर्ने सौभाग्य पाए र हाम्रामाझ सरल र रोचक शैलीमा प्रस्तुत गर्ने जमर्को गरे । गुहाले गान्धीलाई सुपर ह्युमन, अति वा महामानवभन्दा पनि सामान्य मानिसका रूपमा चिनाउने कोसिस गरेका छन् ।


आम मानिसजस्तै गान्धीको पारिवारिक जीवनमा केही खटपट थियो । उनी विवाहइतर प्रेम सम्बन्धमा फसेका थिए । छोराहरू त्यसमध्ये पनि पहिलो छोरासँग उनको मिलती भएन । उनले छानेका उत्तराधिकारी नेहरुसँग धेरै कुरामा धारणा मिल्दैनथ्यो । त्यसमाथि मोहमद अली जिन्ना र अम्बेडकरसँग त उनको आजीवन कुरा मिलेन । १९३० को डान्डी मार्च अर्थात् नमक सत्याग्रहपश्चात् राजनीतिभन्दा पर रचनात्मक कार्यक्रममा उनले बिताएको समय रहस्यमय लाग्छन् । हिन्दु मुस्लिम एकता र सद्झाव, दलित मुक्ति, महिला मुत्ति उनका लागि भारतको राजनीतिक स्वतन्त्रतभन्दा महत्त्वपूर्ण विषय थिए । कोरा राजनीतिक स्वतन्क्रता खोत्रो हुनेछ र दिगो हुनेछैन भन्ने अन्तर्ज्ञान उनलाई थियो । त्यसैले उनले अन्तर्धार्मिक समन्वय, दलित र महिलाको उत्थानमा महत्त्वपूर्ण समय लगाएका थिए । उनले आम मान्छेलाई अभय वा भयरहित हुन सिकाए । राजनीति र अध्यात्मलाई सार्वजनिक जीवनमा जोड्ने कोसिस गरे । आफूले लेखेका र भनेका कुरालाई अभ्यास गर्ने कोसिस गरे । दुनियाँमा विचार त धेरैले दिएका छन् तर गान्धी माक्रै एक त्यस्ता व्यत्ति हुन्, जसले ती विचारलाई प्रयोग गरेका थिए । उनका सबै प्रयोगहरू खुला किताबसरह थिए । कथनी र करनी उनका लागि अभेद्य थियो । गुहाले गान्धीको जीवनलाई आममानिसको जीवनजस्तै देखाउन चाहेका छन् ।


कुनै पनि व्यक्तिको जीवनमा ऊ जन्मेको र बाँचेको समयले पार्ने प्रभाव महत्त्वपूर्ण हुन्छ । त्योभन्दा धेरै प्रभाव उसका समकक्षी र सहयोगीहरूले पारेका हुन्छन् । गुहाले यस पुस्तकमा गान्धीले आफू बाँचेको समयबाट प्रभावित हुँदाहुँदै पनि आफू बाँचेको समयलाई कसरी प्रभावित पार्न सफल भएका थिए, त्यो कुराको रोमाञ्चक वर्णन गरेका छन् । गान्धी हिन्द महासागर छेउको भूखण्डमा जन्मेको भए तापनि कसरी एसिया प्रशान्त महासागर हुँदै एट्लान्टिक महासागर पार गरे, कसरी र किन अमेरिकाबाट प्रकाशित हुने चर्चित पक्रिका टाइम म्यागाजिनले गान्धीलाई १९३० मा ‘वर्ष व्यत्ति’ घोषणा गर्‍यो, संसारभरका पत्रपत्रिकाले के र कसरी उनका बारेमा चर्चा गरे, त्यसको फेहरिस्त यस पुस्तकमा छ । लेखकले चयन गरेको पुस्तकको शीर्षकलाई जस्टिफाई गर्न कुनै कसर बाँकी राखेका छैनन् ।१९१४–१९४८ प्रथम विश्वयुद्ध सुरु, भएर दोस्रो विश्वयुद्ध समाप्तिको सुरुआती समय थियो । युरोप, एसिया र अमेरिकामा अनेक उतारचढाव देखा परे । रुजबेल्ट, चर्चिल, हिटलर, मुसोलिनी, लेनिनदेखि स्टालिन अनेकन नामहरू चर्चाको केन्द्रमा रहे । आजको मितिमा कसको प्रासंगिकता कति छ, त्यो प्रासंगिकताको/सान्दर्भिकताको जग त्यही तीन दशकमा बसेको थियो, गुहाको दाबा छ, गान्धी त्यही कारणले आफ्ना समकक्षीभन्दा अग्ला बन्न पुगेका हुन् । किनकि गान्धीको पदचाप संसार बदल्ने दिशामा सबभन्दा बढी प्रभावकारी बन्न पुगेका थिए र छन् ।


टाइम म्यागाजिनले बीसौं शताब्दीको ‘शताब्दी पुरुष’ वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई घोषणा गर्‍यो । गान्धीलाई रुजबेल्टसँगै दोस्रो स्थानमा राखियो । बर्लिनमा आइस्टाइनको अध्ययन कक्षमा, वैज्ञानिक न्युटन, फाराडे र कलार्क म्याग्सवेलका तस्बिर थिए । १९३५ मा अमेरिकाको प्रिन्सटन पुगेपछि त्यो लहरमा गान्धी थपिए । १९५४ मा आइपुग्दा आइन्सटाइनका अध्ययन कक्षमा एउटा मात्र तस्बिर थियो र त्यो तस्बिर अरू कसैको नभएर गान्धीको थियो । किन अरू भौतिकशास्त्रीको फोटा हटाएर गान्धीको मात्र तस्बिर राखेको भन्दा आइन्सटाइनको जवाफ थियो, ‘महात्मा गान्धी हाम्रो युगका सर्वश्रेष्ठ पुरुष हुन् ।’ गुहाले यदि आइन्सटाइन जीवित भएको भए, टाइम म्यागाजिनको त्यो घोषणामा लज्जित महसुस गर्ने थिए भन्ने दाबा गरेका छन् । यसरी भौतिकशास्त्रका महान् वैज्ञानिकले अध्यात्म र राजनीतिको समागम रहेको गान्धीलाई नैतिकताको सर्वोच्च मानक मान्दै उनको श्रेष्ठता स्वीकार गरेका थिए । आइन्सटाइनले १९४४ मा गान्धी जीवित हुँदै उनका बारेमा लेखेका थिए, ‘एउटा व्यक्ति जसले युरोपको बर्बरतालाई सरल मनुष्यको आवरणमा सहजै सामना गर्‍यो, त्यस्तो व्यक्ति सधैँ सर्वोच्च रहन्छ । भावी पुस्ताहरूले छाला र हाडले बनेको यस्तो मानिसले पृथ्वीमा हिँडेको थियो भनेर सजिलै पत्याउने छैनन् ।’


यो पुस्तक पाँच खण्डमा विभाजित छ । दक्षिण अफ्रिकाबाट भारत फर्केको सात वर्ष अर्थात् १९२२ सम्ममा गान्धी कसरी भारतको सबभन्दा अग्ला नेता कसरी बन्न पुगे भन्ने कुराको बेलिविस्तार पहिलो खण्डमा छ । दोस्रो खण्डमा उनको ख्याति भारतबाहिर कसरी छरियो, त्यसको वर्णन छ । तेस्रो खण्डमा अम्बेडकरसँगको बहस, गान्धीको आत्मशोधन र पुनर्नवीनीकरणको चर्चा छ । चौथो खण्डमा दोस्रो विश्वयुद्ध र १९४२ को विद्रोहको परिचर्चा छ । अन्तिम खण्डमा भारतको स्वतन्त्रता, भारत–पाक विभाजन, आफ्नै नातिनीसँगको विवादास्पद ब्रह्मचर्यको प्रयोग, आखिरी उपवास र शहादतको गहिरो मीमांसा छ ।


गुहाको लेखनको विशेषता के हो भने उनले गान्धीका विरोधीलाई पनि फुस्तकमा समाविष्ट गरेका छन् । मध्यमार्गीहरूले गान्धीलाई अति क्रान्तिकारी मान्ने तर मार्क्सवादीहरू गान्धीमा त्रान्तिकारिताको कमी देख्ने । विशेषगरी भारतीय आलोचक श्रीपद अमृत डाँगे, एमएन राय, सी शंकरन नायर, एम रुठनास्वामी, कान्तिलाल अर्मतलाले गान्धीका विचार र कार्यशैलीका बारेमा १९२० को दशकको सुरुआतमै पुस्तकमार्फत प्रहार गर्ने कोसिस गरेका थिए । उनीहरूका आलोचनाका केस्राहरूलाई गुहाले स्पष्ट रूपमा उनीहरूकै भाषामा उद्यत गरेका छन् । यो पाँचै जना विद्वान्हरू सार्वजनिक स्मृतिमा क्रमशः हराउँदै गए तापनि आफ्नो समयका कहलिएका व्यक्तिहरू थिए । गान्धीको सबभन्दा लामो शास्त्रार्स्थ अम्बेडकरसँग चल्यो । जसरी गान्धीको अति प्रशंसा र अति आलोचना गरिन्छ, अम्बेडकरलाई पनि प्रशंसक र आलोचकले त्यस्तै पंक्तिमा राख्ने गर्छन् । गुहाले अम्बेडकरलाई अरुन्धती रोय र अरुण सुरीको आँखाबाट हेरेका छन् । ‘कसैको जीवनचरित्र लेख्दा गाथाकारको काम प्रतितथ्य दिनु होइन । उसले त तत्क्षणमा के–के भएका थिए भनेर लिपिबद्ध गर्ने हो’ गाथालेखनको मामलामा यो गुहाको सिद्धान्त हो । गुहा भन्छन्, ‘गान्धीका बारेको अति आलोचनाको खण्डन गर्न मलाई नआउने होइन तर यस पुस्तक त्यस्तो कार्यका लागि उपयुक्त थलो होइन ।’ पुस्तकको उपसंहारमा पुगेर मात्र गुहाले गान्धीका बारेमा आफ्ना धारणा राखेको देखिन्छ । पुस्तकभरि नै आफूलाई तटस्थ गाथाकारको रूपमा उभ्याउने कोसिसमा गुहा तल्लीन देखिन्छन् र उनी यस कुरामा अब्बल सावित भएका छन् पनि । जीवनगाथा लेखनको यस्तै सम्यक् कलाले गर्दा नै गुहाले गरेका गान्धीको चरित्र चित्रण गान्धीका आलोचक र प्रंशसक दुवैले खोजी खोजी पढ्छन् ।


कुनै पनि लेखकले लेख्दा केही कुरा जानेर र केही कुरा नजानेर छुटाएको हुन्छ । लेखिएका कुरामा पनि केको चर्चा धेरै गरियो र केके चर्चा कम गरियो भन्नेले खास अर्थ राख्छ । यो कुरा लेखकको क्षमता र लेखकीय विशेषतामा भर पर्छ । लेख्दा के लेख्ने, के छुटउने के हाइलाइट गर्ने वा नगर्ने लेखक स्वयम्ले निरुपण गर्ने कुरा हुन् । गान्धीका बारेमा विज्ञ पाठकले सूक्ष्म रूपमा केलाउँदा यस्ता अनेकन प्रसंग यस पुस्तकमा तलमाथि पर्नु स्वाभाविक हो । अंग्रेज बर्बरताको पराकाष्ठा पुगेको ‘जालियावाला वागकाण्ड’ को किताबमा झिनो मात्र चर्चा छ । सायद त्यसका बारेमा पुरानै तथ्य मात्रै दोहारिने खतरा भएर हो कि ? यस पुस्तकको रोचक पक्ष भनेको अन्यत्र प्रायः चर्चामा नआएको गान्धीको ‘प्लेटोनिक’ प्रेम सम्बन्धको सविस्तार चर्चा पनि हो । गान्धीको विशेष सम्बन्ध भएकी सरलादेवी चौधरानी रवीन्द्रनाथ ठाकुरकी साख्य भतिजी थिइन् । ती बंगाली भद्र महिलाको विवाह पन्जाबी परिवारमा भएको थियो जो लाहोरमा बस्थे । जालियावाला वागकाण्डको विस्तृत अध्ययन गर्न जाँदा गान्धी सरलासँग मुग्ध भए । गान्धी आफैंले सरलालाई ‘स्पिरिचुयल वाइफ’ को संज्ञा दिएका थिए र यो सम्बन्धका जानकारले ‘इन्टेलेक्चुअल वेडिङ’ सम्म भनेका थिए । गान्धी लाहोरमा सरलाको घरमा बसेका थिए । सरलादेवीले गान्धीले प्रकाशित गर्ने पत्रिका योङ इन्डियामा लेख लेखिन् । सरलाले लाहोरमा गरेका समाज सुधारको कामको चर्चा ‘योङ इन्डिया’मा छापिए । सरला र गान्धीबीच असंख्य पत्राचार भए । यस्ता केही पत्र जो गान्धीका विश्वास पात्र महादेव देसाईको संकलनमा परेका थिए, ती जोगिएर रहे । गान्धीको पारिवारिक संकलनमा पुगेका अधिकांश पत्र परिवारबाट नष्ट पारिए ।


गान्धी आफ्ना निजी सहायक महादेव देसाईमाथि १९१८ बाट लगातार आश्रित रहे । महादेवले गान्धीका तीन चौथाइ काम गरिदिन्थे । गान्धीभन्दा आधी घण्टा ढिला सुत्नु र उनीभन्दा आधा घण्टा चाँडो उठ्नु महादेवको दैनिकी थियो । गान्धीले आफ्ना प्रिय सेवकलाई १९४२ मा गुमाउन पुगे । उनले महादेव देसाईको मृत शरीरलाई अन्तिम स्नान गराइदिएको वर्णन हृदयविदारक छ । महादेवले गान्धीसँग साथ रहेका पच्चीस वर्षमा एक पटक मात्र गान्धीको अवज्ञा गरे किनकि त्यति बेला उनी अचेत भइसकेका थिए । गान्धीले धेरै दिनसम्म महादेवको अस्तुको विभूति निधारमा लगाए । गुहा भन्छन्— गान्धीले भारत बदले, संसार बदले तर महादेव त्यस्ता व्यक्ति हुन् जसले गान्धीलाई बदले । महादेवले गान्धीसँगको सत्संगका बारेमा लेख्छन् ‘...टु लिभ विद सेन्ट इन हैभन इज ब्लिस एन्ड ग्लोरी ः टु लिभ विद सेन्ट इन अर्थ इज अ डिफ्ररेन्ट स्टोरी ।’


गुहाले आफ्नो मूल नायकलाई सहायक पाक्रहरूको लेन्सबाट हेरेर मूल नायकको जीवन चरित्रलाई जीवन्त बनाएका छन् । कट्टर हिन्दु समाजमा गान्धीको व्यत्तित्वमा यस्तो सम्बन्धले नकारात्मक असर पार्ने र यो सम्बन्ध छताछुल्ल हुँदाका बखत स्वतन्त्रता संग्रामलाई समेत आघात पुग्छ भनी सी राजागोपालाचारीले गान्धीसँग बुझबुझारथ गरे । त्यतिबेला गान्धी धाराबाहिक रूपमा ‘योङ इन्डिया’ मा आत्मकथा लेखिरहेका थिए । गान्धीका शुभचिन्तकहरू कतै त्यो आत्मकथामा सरलादेवीसँगको प्रेम प्रसंगले प्रवेश पाउँछ कि भनेर चिन्तित थिए । सरलासँगको सम्बन्धले आत्मकथामा प्रवेश पाएन । गान्धीले बिस्तारै आफूलाई सरलासँगको प्रेमबाट अलग गरे । प्रेमिल पत्रका ठाउँ औपचारिक पत्रले लिए । तैपनि उनीहरूबीचको भावनात्मक संवेग सरलादेवीको जीवनको आखिरी समयसम्म चलिरह्यो सन् १९१९/२० मा उत्कर्षमा पुगेको सम्बन्ध गान्धीले आफूलाई भेट्न आएका सरलाका छोराको आग्रहमा १९४५ मा लेखेको पत्रमा पुगेर टुंगिन्छ । दुखको कुरा गान्धीले लेखेको त्यो चिठी पढ्ने अहोभाग्य सरलालाई जुटेको रहेनछ । किनकि गान्धीले पत्र लेखेकै दिन सरलाको निधन भएको थियो । सरलासँगको केही उल्लेख्य पत्राचारलाई गुहाले पुस्तकमा यथाशक्य समेटेका छन् ।


आफूलाई उदात्त उदारवादी ठान्ने एसियाबाट साहित्यमा पहिलो नोबेल पुरस्कार विजेता बंगाली कवि रवीन्द्रनाथ ठाकुरले सुवासचन्द्र बोसको बचाउका लागि गान्धीसँग अपिल गरेका कुरालाई गुहाले रवीन्द्रनाथ साँघुरो क्षेत्रीय चिन्तनमा फसेकोतर्फ संकेत गरेका छन् । भारतीय कांग्रेसबाट केही समय आफूलाई अलग राखेका गान्धीले पार्टी कब्जा गर्ने नीति अख्तियार गर्दा निर्वाचित सभापति सुवासचन्द्र बोसलाई गरिएको व्यवहार सुपाच्य थिएन । बोसले गान्धीको समर्थन प्राप्त उम्मेदवार सीताराम पट्भैयालाई पराजित गर्दै भारतीय कांग्रेसको नेतृत्व लिएका थिए । बिरामी बोसलाई कार्यकाल सकिनु केही समयअगाडि गान्धीले राजीनामा गर्न बाध्य पारेका थिए । यो पाटोलाई पुस्तकले मर्मस्पर्शी शैलीमा समेटेको छ । तर तिनै सुवासचन्द्र बोसले चार वर्षपछि आजाद हिन्द सेनाका चार ब्रिगेडका नाम राख्दा पहिलो बिग्रेड महात्मा गान्धी र दोस्रो ब्रिगेड जवाहरलाल नेहरूको नाम राखेका थिए । २ अक्टोबर १९४३ मा ‘आजाद हिन्द’ रेडियोमार्फत विदेशी भूमिबाटै गान्धीको तारिफ गर्दै ‘राष्ट्रपिता’ को उपाधिले सम्बोधन गरेका थिए । गुहाले गान्धीको महत्त्व देखाउन गान्धीका समकक्षीलाई होच्याउने काम गरेका छैनन् । उनले गान्धीका समकालीनहरूलाई यथास्थान दिएर उनीहरूको व्यक्तित्वलाई समेत न्याय गरेका छन् ।


गान्धीलाई महात्माको उपाधि रवीन्द्रनाथ ठाकुरले दिएको आम बुझाइ सत्य नभएको भन्दै १९१० मा गान्धीको मित्र प्राणजीवन मेहताले पहिलोपटक उक्त सम्बोधन गरेको उल्लेख गरेका छन् । यस पुस्तकको अर्को उल्लेख्य पक्ष ७६ वर्षको उमेरमा किन गान्धीले नातिनी/भतिजीसँग ब्रह्मचर्यको परीक्षण गर्न चाहे त भन्ने रहस्यलाई सटीक शैलीमा प्रकाश पार्नु हो, महादेव देसाईको निधनपश्चात् गान्धीको प्रमुख निजी सहायक बन्न पुगेका प्यारेलालले मनुलाई एकतर्फी रूपमा मन पराउथे । यो कुराको आश्रममा हल्ला चलेपछि मनुको पवित्रता
परीक्षण गरिनुपर्ने एकोहोरो निष्कर्षमा गान्धी पुगे र त्यो ब्रह्मचर्यको परीक्षणको जाँचकीको रूपमा गान्धीले आफैंलाई होमिदिए । यसरी गान्धीको ‘अनौठो परीक्षण’ विवादास्पद बन्न पुगेको थियो । गान्धीको यस्तो अनौठो परीक्षणले आश्रमवासीमा हल्लाखल्ला भयो र गान्धीले आफूलाई पवित्र महसुस गरेपछि यो विवाद तत्कालका लागि साम्य भयो तर गान्धीका आलोचकले भने यो कुरालाई उछाल्न भने कहिल्यै छाडेनन् ।


अमेरिकी पत्रकार लुई फिसर लेनिनको जीवनी लेखेपछि महात्मा गान्धीसँग साक्षात्कार गर्न पुगेका थिए । फिसरका अनुसार गान्धी लेलिनजस्तो मोनोटोनस थिएनन् । गान्धी एउटै प्रश्नको उत्तर प्रत्येक पटक नयाँ शैलीबाट दिन सक्थे । गान्धीको दिमाग हरदम चलायमान रहने भएकाले यस्तो सम्भव भएको फिसरको तर्क छ । तुलनात्मक फ्रेममा राखेर हेर्दा गान्धीले नेतृत्व गरेको आन्दोलनमा लेनिन, माओ, होची मिन्ह वा फ्रिडेल क्यास्त्रोको आन्दोलनमा भन्दा धेरै जनता र विशेषगरी महिलाहरूको पनि सहभागिता थियो । भारतीय कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भियतनाम भ्रमणमा जाँदा कसरी तपाईंहरू सत्तामा पुग्नुभयो, हामीलाई त्यो कार्य असम्भव भयो भन्दा भियतनाम कम्युनिस्ट पार्टीका नेतासमेत रहेका राष्ट्रपति होची मिन्हले हाँस्दै यस्तो जवाफ फर्काएछन्— भारतमा, तपाईंहरूसँग गान्धी हुनुहुन्थ्यो । यहाँ त म स्वयं गान्धी हुँ नि । भियतनामका कम्युनिस्ट नेता होची मिन्हदेखी अमेरिकाका मार्टिन लुथर किङ, दक्षिण अफ्रिकाका नेल्सन मन्डेलादेखि पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत विश्वका असंख्य राजनेताहरूले गान्धीको सत्याग्रह र अहिंसाको आधारित प्रतिरोध आन्दोलनबाट प्रेरित भएको देखिन्छ । आधुनिक पुँजीवादले अन्धाधुन्ध रूपमा गरेको प्राकृतिक स्रोतको दोहनले गर्दा जलवायु परिवर्तनको समस्या २१ औँ शताब्दीको प्रमुख समस्या भएको छ । गान्धीले स्पष्ट किटान गरेर भनेका थिए, बेलायतजस्तो सानो भूगोल भएको देशले थोपरेका आर्थिक साम्रज्यवादले विश्व त्राहीमाम बन्न पुगेको छ, अरू देशले त्यस्तो पश्चिमा मोडल थेग्न सक्दैन । त्यसैले पर्यावरणीय अभियन्ताका लागि समेत रोलमोडल बन्न पुगेका छन्, गान्धी । गुहाको निष्कर्ष छ— सत्याग्रहका अलावा अन्तर्धार्मिक सद्भाव, वातावरणीय उत्तरदायित्व, ब्रिटिस साम्राज्यको अन्त्य, अछुतलाई अमान्य करार गर्न र सत्यको अभ्यास र तलास गान्धीका असाधारण उपलब्धिहरू हुन् ।


पंक्तिकार २००९/१० गान्धी दर्शनको आठमहिने पीजीडी तहको विद्यार्थी हुँदा गान्धीका बारेमा एउटै जीवनी पढ्न परे कसको पढ्ने प्रश्नमा लुई फिसरकृत जीवनी पहिलो रोजाइ हुन्थ्यो । अहिले २०१९ मा आइपुग्दा त्यो प्रश्नको उत्तर रामचन्द्र गुहाले लेखेको जीवनीमा पुगेर रोकिएको छ । संयोगवश गुहाले नेहरू मेमोरियल म्युजियम लाइब्रेरीको अभिलेख कक्षमा महात्मा गान्धी पेपर्स खोज्दै गर्दा एक हप्ता उनको रिसर्च गर्ने शैलीलाई प्रत्यक्ष देख्ने अवसर पाएको थियो । त्यतिबेला उनी यही पुस्तक दोस्रो खण्डको तयारीमा लागिरहेका थिए । उनले कागज चर्को आवाजमा पल्टाउँथे र तुफानी वेगमा ल्यापटपको अक्षर दबाउँदा त्यसको आवाजले नेहरू म्युजियमको सानो कक्षमा रहेको शोद्यार्थीहरूको ध्यान अनावश्यक रूपमा गुहातर्फ गइरहेको हुन्थ्यो । किताबका तयारी गर्दा बन्दकोठामा देखा पर्ने गतिमय/वेगवान आंतक किताब प्रकाशित भएपछि पाठकको दिमागमा पनि कायम गर्ने सिद्धि गुहाको लेखनीमा मौजुद छ । गुहाको पुस्तक यस मानेमा गान्धीका बारेमा विस्तारमा जान्न चाहनेलाई ‘वान स्टप सोलुसन’ अर्थात् ‘वेस्ट वे टु गान्धी’ बन्न पुगेको छ ।
Twitter : @Shankarktm1

प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×