कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमिश, रामकथा र शिवकथा

छुट्टाछुट्टै शृंखलाका आख्यान भए पनि अमिशका यी कथाहरू एकार्कासँग जोडिएका छन् । बेग्लै कालखण्डका पात्रहरू ऐतिहासिक समयरेखामा उपस्थित गरिएकाले फरक रूपमा भए पनि जोडिन आइपुगेको भान हुन्छ ।
राम लोहनी

पृष्ठभूमि
हिन्दु धर्ममा शिवलाई महादेव मानिन्छ  । महादेवको अर्को रूप रुद्र पनि हो  ।

अमिश, रामकथा र शिवकथा

हिन्दुहरूका अर्का दुई मुख्य देवता विष्णु र ब्रह्मा हुन् । ब्रह्माको कुनै अवतार छैन । विष्णुका विभिन्न अवतार छन् । ब्रह्माको काम सृष्टि, निर्माण र आविष्कार गर्नु हो । सृष्टिलाई टिकाउने र निर्माण तथा आविष्कारलाई सही ढङ्गबाट उपयोग गर्ने, गराउने अविभारा महादेव र विष्णुमा रहन्छ । सृष्टि अघि बढ्नेक्रममा प्रकृतिको दोहन हुन्छ ।

सिर्जना र आविष्कारले प्रकृतिको दोहनलाई सघाइरहेको हुन्छ । हरेक सिर्जना र आविष्कारका पाटा सकारात्मक मात्र हुँदैनन्, नकारात्मक पनि हुन्छन् । सकारात्मक तत्वको पहिचान गरेर त्यसको सही उपयोग गर्न सक्नुपर्छ । स्वार्थ, लोभ र अज्ञानताले नकारात्मक तत्त्वको वृद्धि गराउँदै जान्छ, सकारात्मक फल दिने तत्त्व पनि नकारात्मक हुन थाल्छ । त्यसैले यी दुई तत्त्वलाई सन्तुलनमा राख्नु जरुरी हुन्छ । अमिशले यही सूत्रलाई आफ्ना उपन्यास शृंखलाको आधार बनाएका छन् ।


अमिश सृष्टिको निरन्तरतालाई एउटा समीकरणको रूपमा प्रस्तुत गर्छन् । समीकरणमा सकारात्मक र नकारात्मक दुबै तत्त्व विद्यमान रहन्छन् । मान्छे स्वाभाविक रूपले सकारात्मकप्रति आकर्षित हुन्छ । तर वस्तुको अधिकतम खपतले पैदा गर्न सक्ने असन्तुलनलाई देख्ने दृष्टि सामान्य मानिसमा हुँदैन । समीकरणको असन्तुलनलाई पहिचान गर्ने र त्यसको उचित समाधान गर्ने दायित्व महादेव र विष्णुको हो । विष्णुको दायित्व सकारात्मक तत्त्वको पहिचान गर्ने र मानव कल्याणका लागि त्यसको उपयोग गर्न प्रेरित गर्ने हो । नकारात्मकता अत्यधिक बढ्न गइसकेको अवस्थामा नकारात्मक तत्त्वलाई सकारात्मक बाटोमा हिँडाउने वा नयाँ सकारात्मक तत्त्वद्वारा त्यसलाई प्रतिस्थापन गर्ने विकल्प बाँकी रहँदैन । यो अवस्थामा नकारात्मकको कारकलाई नै समीकरणबाट हटाउनुपर्ने हुन्छ । यो दायित्व महादेवको हो । यसप्रकार विष्णुले समीकरणमा सकारात्मक तत्त्वको वृद्धिको काम गर्छन् र भने महादेवले समीकरणबाट नकारात्मक तत्त्वलाई हटाउने काम गर्छन् ।

विष्णु र महादेवको परम्परा
अमिशले विष्णु र महादेवलाई फरक–फरक परम्परा मानेका छन् । परिस्थितिजन्य आवश्यकताअनुसार उनीहरूको अवतरण हुन्छ । विष्णु र महादेवको अवतरणलाई अमिश पारलौकिक चेतनाको परिणाम मान्दैनन् । उनीहरू लौकिक सिर्जना हुन् । हरेक विष्णु र महादेवले आफ्नो जीवनकालमा आ–आफ्ना उत्तराधिकारी समूह (ट्राइब) खडा गरेका हुन्छन् । उनीहरूको काम समीकरणमा पैदा भएको असन्तुलनको पहिचान गर्नु र आवश्यकताअनुसार नयाँ विष्णु वा महादेवको आविर्भाव गराउनु हो । नयाँविष्णुको आविर्भावमा महादेवका ट्राइबले सहयोग गर्छन् र नयाँ महादेवको आविर्भावमा विष्णुका ट्राइबले सहयोग गर्छन् ।


अमिशले रामको जीवनकाललाई आजभन्दा बाउन्न सय वर्षअघिको र शिवको जीवनकाल अड्तीस सय वर्षअघिको मानेका छन् । अमिशले शिव र रुद्रलाई छुट्टाछुट्टै कालखण्डमा प्रकट भएका महादेवका अवतारको रूपमा प्रस्तुत गरेका छन् । रुद्र रामभन्दा पनि अघिका हुन् । कथाअनुसार रुद्रको समयमा आमविनाशका दैवीअस्त्रहरूको प्रयोगमा व्यापकता थियो भन्ने अनुमान हुन्छ । दैवीअस्त्रहरूले सकारात्मकताको वृद्धि गरेन, बरू समीकरणमा नकारात्मकता बढ्न गई सृष्टि निरन्तरता नै अप्ठेरो स्थितिमा पुग्यो ।

त्यसैले रुद्रले समीकरणबाट दैवीअस्त्रहरूलाई हटाइदिने उद्घोष गरे । रुद्रको उद्घोषले दैवीअस्त्रहरूको पूर्ण बन्देज लगाइदियो । प्रतिबन्ध रुद्रको आदेशात्मक कानुन थियो । रुद्रले खडा गरेको ट्राइब वायुपुत्र रुद्रको यो कानुन लागू गराउन प्रतिबद्ध थियो ।


रुद्र पाचौँ विष्णु मोहिनीको समकालीन थिए । रुद्रको उत्तराधिकारी ट्राइब वायुपुत्र भएजस्तै मोहिनीको ट्राइब वाल्मीकि थियो । वाल्मीकिहरूले नै विष्णुको छैटौँ अवतार परशुरामको योजना गरेका थिए । परशुरामको आविर्भाव हुनुअघि समाजमा क्षत्रियहरूको निरंकुशता हाबी भयो । परशुरामको अभियानले शासनमा ब्राह्मणहरूको महत्त्व बढ्न थाल्यो र समाजमा सन्तुलन देखियो ।

परशुरामले मलायापुत्र नामको ट्राइब खडा गरेका थिए । समयक्रममा मलायापुत्र र वायुपुत्र दुवै सातौँ विष्णुको आवश्यकता भएको निष्कर्षमा पुगे । यो पृष्ठभूमिमा अमिशको रामचन्द्र शृंखलाको कथा आरम्भ हुन्छ ।

रामकथा
क्षत्रियहरू हाबी हुनुअघि समाजमा ब्राह्मणहरूको दबदबा थियो । अरू वर्ग उठ्नै सकेका थिएनन् । कट्टर वर्ण व्यवस्थाले गर्दा समाजलाई समय समयमा अवरुद्ध गर्थ्यो । परशुरामपछि सत्तामा ब्राह्मण र क्षत्रियहरू दुबै रहन थाले । तर उनीहरू व्यापार, व्यवसायलाई निम्न कोटीको कर्म ठान्थे । त्यसैले आर्यावर्तको व्यापारमा बाहिरियाहरूको हालीमुहाली भयो । व्यापारमा लंकाधिपति कुवेरको राज थियो । आर्यावर्तका सम्राट् र राजाहरू कुवेर आदि व्यापारीसँग कर असुलेर आफ्नो वैभव जमाउँथे । रावणले कुवेरको राज्य र व्यापारमाथि अधिकार जमाएपछि आर्यावर्तको अवनति सुरु भयो । ब्राह्मण कुलमा जन्मेको रावणमा क्षत्रिय र वैश्य गुणको उच्चता थियो ।


एकै गुरुकुलका विश्वामित्र र वशिष्ठबीच गुरुकुलकी छात्रा नन्दिनीसँगको सम्बन्धलाई लिएर योगायोग भयो र उनीहरू एकार्काका कट्टर दुश्मन बने । कालान्तरमा विश्वामित्र मलायापुत्रहरूको कुलपति चुनिए । मलायापुत्रको कुलपतिको रूपमा विश्वामित्रको महत्त्व आर्यावर्तभरि फैलियो । वशिष्ठ अयोध्याको राजगुरु भएपछि विश्वामित्र वशिष्ठको झन् आलोचक बने ।


वर्ण विभाजन आर्यावर्तको परम्परा थियो । व्यक्तिको वर्ण कर्मले होइन, जन्मले निर्धारण गर्थ्यो । ब्राह्मण स्वभावको व्यक्ति क्षत्रीय वा अन्य कूलमा जन्म लिएको भए पनि ऊ ब्राह्मण कर्म गर्न बाध्य हुन्थ्यो । त्यस्तै कर्मले वैश्य स्वभावको व्यक्ति ब्राह्मण कुल वा अन्यत्रै जन्म लिन पुग्थ्यो । ऊ पनि जन्मको कारण वैश्य कर्म गर्न बाध्य थियो । यसले गर्दा व्यक्तिको क्षमता विकास अवरुद्ध हुन पुग्यो र समग्र सामाजिक संरचनामै असन्तुलन पैदा भयो । फलस्वरूप आर्यावर्तको अवनति हुन थाल्यो । वशिष्ठ र विश्वामित्र दुवैलाई विष्णुको आवश्यकता महसुस भयो । उता वायुपुत्रहरू पनि नयाँ विष्णुका लागि उपयुक्त समय भएको बारे सचेत थिए ।

उनीहरूको रोजाइमा अयोध्या नरेश दशरथका पुत्र परेका थिए । राम वा भरतमध्ये कसलाई चयन गर्ने भन्नेबारे हनुमानमार्फत वशिष्ठसँग सम्पर्कमा थिए । विष्णु चयनको मुख्य अधिकार मलायापुत्र र विश्वामित्रमा थियो । विश्वामित्रको आँखा मिथिलाकी राजकुमारी सीतामाथि परेको थियो । विश्वामित्रले गोप्य रूपमा सीतालाई सातौँ विष्णुको रूपमा चयन गरेर त्यसअनुसार संस्कार र शिक्षादीक्षा सुरु गरिसकेका थिए ।


रत्नाकर वाल्मीकिकी छोरी राधिका सीताकी सहपाठी थिइन् विश्वामित्रको आश्रममा । राधिकामार्फत सीताको हनुमानसँग परिचय भएको थियो । रत्नाकर नियन्त्रित वन्यक्षेत्रमा वशिष्ठको आश्रम थियो । वशिष्ठको गतिविधिसँग राधिका परिचित थिइन् । आगामी विष्णुका लागि वायुपुत्र र वशिष्ठको रोजाइमा राम परेको जानकारी राधिकामार्फत सीतालाई भयो । पृष्ठभूमिमा भैरहेको यो मञ्चनसँग विश्वामित्र जानकार थिएनन् । नकारात्मक तत्त्वको प्रतिनिधिको रूपमा रावणको प्रभाव बढ्दो थियो । उपयुक्त समयमा विष्णुद्वारा रावणको वध गरेर समीकरणलाई सन्तुलनमा ल्याउन सकिने विश्वामित्रको सोच थियो । रावणसँगको सम्भावित युद्धका लागि विश्वामित्र दैवीअस्त्रको पनि निर्माण गर्दै थिए । यसको परीक्षण गर्न उपयुक्त पात्रको खोजीमा थिए विश्वामित्र । दैवीअस्त्रको प्रयोग गर्ने व्यक्ति रुद्रको नियमअनुसार दण्डभागी हुन्थ्यो । विश्वामित्रको कानमा दशरथ पुत्र रामको जानकारी पुग्यो ।


भारतको पश्चिम सीमा करचपामा रावणसँगको युद्धमा दशरथ पराजित भएकै दिन रामको जन्म भएको थियो । त्यसैले रामको जन्मलाई अपशकुन मानेर दशरथले रामलाई तिरष्कार गरेका थिए । राम कानुनको कट्टर पक्षपाती थिए । कानुनको भेदरहित पालनामा यिनको जोड थियो । यिनकै प्रयासबाट अयोध्यामा शान्ति सुव्यवस्था कायम भएको थियो । विश्वामित्रको आश्रममा ताडका र यिनको छोराका गणहरूले दुःख दिइरहेका थिए । ताडकाको समूहलाई नियन्त्रण गर्न विश्वामित्रले रामलाई आफ्नो साथमा लिएर गए । खासमा विश्वामित्र आफूले निर्माण गर्न लागेको दैवीअस्त्र रामका हातबाट परीक्षण गर्न लगाउन चाहन्थे भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि अमिशले त्यो प्रस्ट गरेका चाहिँ छैनन् । तर रामले कूटनीतिक तरिकाबाट ताडकाको समस्या समाधान गरेपछि विश्वामित्रको तत्कालको योजना तुहिएको देखिन्छ ।


सीतालाई रामप्रति चासो बढेको थियो । सीताको आग्रहमा विश्वामित्र रामलाई लिएर मिथिला पुगे । मिथिलामा सीताका लागि स्वयंवरको प्रतियोगिता आयोजना गरिएको थियो । मिथिलाका राजा शिरध्वजका भाइ कुशध्वजले रावणलाई पनि स्वयंवरमा निम्ता पठाइदिएका थिए, यद्यपि रावणलाई निम्ता गर्ने कुनै योजना थिएन । स्वयंवर सभाको सञ्चालक विश्वामित्रले स्वयंवरका लागि योग्यता देखाउने पहिलो अवसर रामलाई दिए । मिथिलाजस्तो तुच्छ राज्यमा समेत अग्राधिकार नपाएकोमा रावणको मन क्षुब्ध भयो । अपमानको बदला लिन रावणको सेनाले मिथिलामा आक्रमण गर्‍यो । रावणको सेनालाई परास्त गर्न विश्वामित्रले रामको हातबाट असुरास्त्र प्रक्षेपण गराए । असुरास्त्र पनि एक प्रकारको दैवीअस्त्र भएकाले राम रुद्रको कानुनअनुसार चौध वर्ष वनबास जानुपर्ने निश्चित भयो ।


अमिशले रामचन्द्र शृंखलाअन्तर्गत अहिलेसम्म तीनवटा खण्ड प्रकाशित गराइसकेका छन् । तीनवटै खण्डका कथाहरू समानान्तर रूपले अघि बढेका छन् । पहिलो खण्डमा राम, दोस्रो खण्डमा सीता र तेस्रो खण्डमा रावणलाई केन्द्रमा राखिएको छ । रावणद्वारा सीताको अपहरण भएको घटनासम्म पुग्दा तीनवटै खण्डको कथा एउटै विन्दुमा पुगेका छन् । कथा समानान्तर भएकाले घटनाहरू स्वाभाविक रूपमा दोहोरिएका छन् । प्रस्तुतिको दृष्टिकोणको फरकले त्यसलाई आकर्षक तुल्याएको छ । तर दोहोरिएका केही प्रसंगका वर्णन तीनवटै खण्डमा हुबहु पनि भेटिन्छन् । अन्यथा कथाको बुनोट आकर्षक छ र पाठकलाई कथाले तानिरहन्छ ।


घटना र पात्रलाई वास्तविक देखाउन लेखकले भरमग्दुर प्रयन्त गरेका छन् । रावणको जन्म भारतको उत्तर पश्चिमको ब्राह्मण परिवारमा भएको थियो । रावणलाई जन्मजात शारीरिक खोटको कारण घरबाट भाग्नुपरेको थियो । समुद्री व्यापारले रावणलाई असाधारण सफलता दिलायो । रावण सानो छँदा वैद्यनाथ मन्दिरकी कुमारी तीर्थाटनको क्रममा रावणको निवासमा पुगेकी थिइन् । कुमारीले रावणलाई सकारात्मक सोचको ऊर्जा प्रदान गरेकी थिइन् ।

तिनको नाम वेदवती थियो । वेदवतीप्रति रावणको अगाध श्रद्धा थियो । असामान्य परिस्थितिमा वेदवती र तिनका पतिको हत्या भएको घटनाले रावणलाई सम्पूर्ण आर्यावर्तप्रति वितृष्णा पलायो । सीतालाई यिनै वेदवतीको पुत्रीको रूपमा प्रस्तुत गरेर लेखकले कथालाई सनसनीपूर्ण र कौतूहलले भरपूर बनाइदिएका छन् । सीता रामभन्दा पाँच वर्ष जेठी मात्र छैनन्, कतिपय अवस्थामा बुद्धि, विवेकमा पनि यिनी रामभन्दा अब्बल देखिन्छिन् । तर सीता आफूलाई भन्दा रामलाई विष्णुको रूपमा स्थापित गर्न अग्रसर देखिन्छिन् । दैवीअस्त्र प्रहार गर्न रामलाई बाध्य तुल्याएकाले सीता विश्वामित्रप्रति सशंकित पनि थिइन् ।

शिवकथा
शिवको कथा रेखीय छ— पहिलो खण्ड जहाँ समाप्त हुन्छ, दोस्रो खण्ड त्यही विन्दुबाट सुरु हुन्छ, दोस्रो समाप्त भएको विन्दुबाट तस्रो खण्ड सुरु हुन्छ । शिव शृंखलाले सम्बोधन गर्न खोजेको समस्या रामले स्थापना परेको परम्पराबाट पैदा भएको नकारात्मकताबाट मुक्ति हो । शिवकथाका लागि रामकथा जान्नु जरुरी छैन । तर रामकथा पढिसकेपछि शिवकथाको पृष्ठभूमि रामकथामा जोडिएको ज्ञान हुन्छ । रावणसँगको युद्धमा असुरास्त्र प्रयोग गरेपछि रुद्रको नियमअनुसार चौध वर्ष वनबास जानेमा राम प्रस्ट थिए । वनबासमा सीताले साथ दिने भइन् । वनबासबाट फर्केपछि राज्य कसरी चलाउने भन्नेबारे राम र सीताको छलफल भएको थियो । राममा वशिष्ठको प्रभाव परेको थियो भने सीतामा विश्वामित्रको ।


राम र सीताले वशिष्ठ र विश्वामित्रको शिक्षालाई फ्युजन गरेर राज्य सञ्चालन गर्ने योजना बनाएका थिए । उनीहरूको योजनाअनुसारको राज्यमा सबैलाई समान व्यवहार हुन्थ्यो । समानताको प्रत्याभूति सोमरसको वितरणमा समेत देखिनुपर्ने अडान रामको थियो । सोमरसले मानिसलाई बूढो हुनबाट रोक्थ्यो र अजम्बरी हुन मद्दत गर्थ्यो । रामको समयसम्म सोमरस शासक वर्गका व्यक्तिहरूले मात्र प्राप्त गर्न सक्थे । रामले सोमरसको ठूलो कारखाना स्थापना गरेर राज्यका सबैलाई बिनाभेदभाव आवश्यक सोमरस उपलब्ध गराउने योजना अघि सारे ।

रामराज्यमा वर्णको पहिचान जन्मको आधारमा नभएर कर्मको आधारमा निर्धारित हुने निश्चित भयो । यसका लागि राज्यभित्र जन्मेका सबै बच्चा राज्यले जिम्मा लिने र निश्चित उमेरसम्म सबै प्रकारको आधारभूत शिक्षा उपलब्ध गराउने जिम्मा पनि राज्यकै हुने भयो । बच्चाले कर्मअनुसारको आचरण देखाउन र आफ्नो वर्णअनुसारको स्वभाव प्रदर्शन गर्न थालेपछि उसको वर्ण निर्धारण हुने निश्चित भयो । वर्ण निर्धारण भएपछि मात्र उक्त बच्चा थप शिक्षा पाउनयोग्य ठानिन्थ्यो । यो प्रथालाई अमिशले शिवकथामा माइका नाम दिएका छन् । सन्तानका आकांक्षी परिवारले आफ्नो वर्णअनुसारका बच्चा राज्यबाट प्राप्त गर्न सक्थ्यो । यसप्रकारको राज्यको नाम ‘मेलुहा’ रहने सहमति राम र सीताबीच भएको थियो ।


शिवको कथा यही मेलुहाको हो । शिवकथाको पहिलो खण्डमा मेलुहाका अजम्बरी नागरिकहरूको वर्णन गरिएको छ । सोमरसको कारण यहाँका बासिन्दाहरू लामो समयसम्म बाँच्थे । उनीहरूमा अतुलनीय देशप्रेम थियो, कानुनप्रति उनीहरूको सम्मान असाधारण थियो । रामले लगभग बाह्र सय वर्षअघि स्थापना गरेको राज्य थियो यो । मेलुहामा तामा, चाँदी र सुनको तीनवटा आकर्षक पुरहरूको निर्माण गरिएको थियो । मेलुहाको कथालाई अमिशले सरस्वती नदीको किनारमा विकसित हरप्पा र मोहन्दो जारोको सभ्यता (सिन्धु सभ्यता) को विनाशसँग जोडका छन् ।

लगभग त्यही समयतिर गएको शक्तिशाली भुइँचालोको कारण सरस्वती नदी सुकेको र त्यहाँको सभ्यता विनाश भएको बताइन्छ । पुराणहरूमा सरस्वती नदी जमिनमुनि धसिएर इलाहाबादस्थित त्रिवेणीमा गंगा र जमुनाको संगममा मिसिएको कथा पाइन्छ । मेलुहा सरस्वतीको किनारमा खडा थियो । अमिशको कथाअनुसार शिवले पाशुपतास्त्र प्रहार गरेर यसलाई समाप्त ध्वस्त पारिदिएका हुन् । शिवद्वारा एकै वाणबाट ध्वस्त पारिएको पुराण वर्णित त्रिपुरको कथालाई पनि लेखकले मेलुहामै समावेश गरिदिएका छन् ।


मेलुहावासीको सोमरसप्रतिको असामान्य लगाव नै मेलुहा ध्वस्त हुनुको कारण बन्यो । सोमरसले मेलुहावासीलाई दीर्घजीवी तुल्यायो । साथसाथै यसको नकारात्मक असर पनि भयंकर थियो । मेलुहावासीमा सन्तान उत्पादन गर्न सक्ने क्षमता गिर्दो थियो । जन्मेका सन्तान पनि विकृत शरीरको हुने क्रम बढ्दो थियो । सोमरसको कारखानाबाट पैदा भएको रासायनिक फोहोरले वातावरणीय विनाश र भयंकर रोग निम्त्याउन थालिसकेको थियो । सोमरसको बढ्दो उत्पादनबाट सिर्जित यो परिणामप्रति मेलुहावासी जागरुक थिएनन्, सोमरसप्रतिको उनीहरूको आकर्षण कम भएको थिएन । यो यथार्थ बोध गरेर शिवले सोमरसको उत्पादनमाथि प्रतिबन्ध लगाइदिए ।


रामकथामा जस्तै शिवको कथा रचना गर्दा पनि अमिशले पौराणिक पात्र र अवधारणालाई ऐतिहासिकता प्रदान गर्ने प्रयास गरेका छन् । मेलुहाका सम्राट्को नाम दक्ष थियो । दक्षकी छोरी सतीदेवीसँग शिवको विवाह भयो । शिव कैलाश–मानसरोवर क्षेत्रका बासिन्दाका गणपति थिए । मेलुहामा बसोबास गर्न बाहिरका मानिसहरू निम्त्याउने क्रममा नन्दीको नेतृत्वमा गएको समूहले शिव र शिवको गणलाई मेलुहा ल्याएको थियो । मेलुहालगायत सम्पूर्ण आर्यावर्तमा नीलकण्ठको आविर्भाव हुने र नीलकण्ठले दुःखहरण गर्ने विश्वास लामो समयदेखि कायम थियो । पहिलोपटक सोमरस ग्रहण गर्दा जसको घाँटी नीलो हुन्छ, उही नीलकण्ठ ठहर्ने विश्वास थियो उनीहरूमा । शिवमा त्यो घटना घट्यो, तर स्वयम् शिवका लागि भने यो घटना अप्रत्याशित थियो ।


शिवको घाँटी नीलो बन्नुमा उनका काका मानोभुको भूमिका थियो । शिव वायुपुत्रकै अंश थिए । त्यो पनि शिवलाई थाहा थिएन । वायुपुत्रहरूको नेतृत्व मण्डलीसँगको विवादपछि मानोभु मातृभूमि तिब्बत फर्किएका थिए । नीलकण्ठको रूपमा शिवको चर्चा चलेपछि मात्र वायुपुत्र कुलपति मिथ्राले शिव मानोभुले नीलकण्ठ अवतारमा उतार्न तयार पारेको व्यक्ति भएको चाल पाएका थिए । मानोभु एक्लैले तयार पारेका नीलकण्ठ शिवप्रति प्रारम्भमा वायुपुत्रहरूले समर्थन दिएनन् । सोमरस हानिकारक सिद्ध भैसकेको छ भन्नेमा पनि उनीहरू विश्वस्त थिएनन् । आर्यावर्तका ठूला ऋषि भृगु पनि शिवको विरोधी थिए । वायुपुत्रहरू भृगुसँग सम्पर्कमा थिए । भृगुले शिव र शिवका सहयोगीलाई समाप्त पार्न दैवीअस्त्र प्रयोग गरेपछि भने वायुपुत्रहरू भृगुसँग असन्तुष्ट भए । यसपछि मात्र शिवलाई वायुपुत्रहरूको समर्थन प्राप्त भयो ।


सातौँ विष्णु रामले आफ्नो जीवनकालमा स्थापना गरेका ट्राइब वासुदेव नामले परिचित थियो । शिवलाई वासुदेवहरूको समर्थन थियो । रामराज्यको उत्तराधिकारीको रूपमा मेलुहावासीले बेथिति निम्त्याएपछि वासुदेवहरूले महादेवकै नयाँ अवतारको आवश्यकता बोध गरेका थिए । यिनै वासुदेवहरूले कालान्तरमा आठौँ विष्णु वासुदेव कृष्णको चयन गरेको तर्फ अमिशको संकेत देखिन्छ । रामले खडा गरेको ट्राइब विश्वामित्र र वशिष्ठ दुवैलाई गुरु स्विकार्थे । जीवनकालको उत्तरार्द्धमा शिवले पनि आफ्नो ट्राइब गठन गरे । तिब्बतका लामाहरू नै शिवले गठन गरेको ट्राइब हो भन्ने अर्को दाबी अमिशको रहेको छ ।


मेलुहावासी सूर्यवंशी थिए र यसप्रति गौरव गर्थे । उनीहरू रामराज्यलाई आर्यावर्तभरि फैलाउन चाहन्थे । परिणामस्वरूप स्वद्वीपसँग उनीहरूको शत्रुता बढ्यो । गंगादेखि उत्तरको मैदानमा खडा स्वद्वीप साम्राज्य सम्राट् दिलीपबाट शासित थियो । स्वद्वीपवासी चन्द्रवंशी थिए । उनीहरू मेलुहाको निरंकुश शासनको विरोधी थिए । स्वद्वीपमा मेलुहामा जस्तो सोमरसको वितरण जनस्तरसम्म पुगेको पनि थिएन । सोमरसको संरक्षणका लागि भृगुले स्वद्वीप र मेलुहालाई एउटै मञ्चमा उभ्याइदिएका थिए ।


नीलकण्ठ शिवको अभियानमा केही मेलुहावासी र स्वद्वीपका राजकुमारसहित धेरैको सहयोग थियो । शिवको मुख्य सहयोगी थिए नाग । विकृत शरीर लिएर जन्मने मानव नाग मानिन्थ्यो र उनीहरूलाई राज्यले निष्कासन गर्थ्यो । सोमरसको सेवन बढ्दै गएपछि नागहरूको शय्या पनि बढ्दै गयो । विकृत शरीरधारी मात्र होइन, त्यस्ता सन्तान जन्माउने आमाबाबु पनि राज्यबाट बहिष्कृत हुन्थे । सतीदेवीले पहिलो विवाहबाट जन्माएको सन्तानको कान ठूलाठूला थिए, नाक पनि हात्तीको सूँढजस्तो लामो थियो । यो सन्तान नाग थियो । दक्षकी पत्नी विरणीले सतीसँगै जन्माएकी अर्की जुम्ल्याहा छोरीको काँधको दुवैतिरबाट एक–एकवटा अतिरिक्त हातजस्तो अंग झुन्डिएका थिए । निख्खर कालो रङको भएकीले यिनलाई काली भनिन्थ्यो । यिनी पनि नाग थिइन् ।

दक्षकी छोरी काली नागहरूकी रानी बनिन् र नागहरूको नेतृत्व गरिन् । सतीको छोरा गणेश कहलियो र कालीको संरक्षणमा रह्यो । विभिन्न राज्यबाट निष्कासित नागहरू नर्मदाको दक्षिणतिर पञ्चवटीमा बस्थे र त्यहाँबाट नागहरूको हकहितका लागि गोरिल्ला युद्ध गर्थे । शिव शृंखलाको दोस्रो भाग ‘नागहरूको रहस्य’ मा काली, गणेशलगायतका नागहरूको वर्णन गरिएको छ । रामकथाका रावण र कुम्भकर्ण पनि नाग नै थिए । नाग भएका कारण पिता विश्रवाको कोपभाजनबाट जोगिन उनीहरू घरबाट भागेका थिए ।


शिव नागहरूको इमानदारीबाट प्रभावित भए । काली, गणेश र कार्तिकको सहयोग शिवलाई प्राप्त भयो । कार्तिक शिव र सतीदेवीका छोरा थिए । उता ब्रह्मपुत्रको किनारको बस्ती ब्रांगामा सोमरसको कारखानाबाट फ्याँकिएको फोहोरको कारण हरेक वर्ष प्लेगको महामारी हुन थालेको थियो । ब्रांग्राका सम्पूर्ण सेनाको साथ शिवलाई थियो । यही क्रममा दक्ष र मेलुहाका एक सेनापति विद्युन्मालीको षड्यन्त्रमा परी सतीदेवीको मृत्यु भयो । सतीको मृत्युबाट विक्षिप्त शिवले पाशुपतास्त्र प्रयोग गरी मेलुहालाई ध्वस्त पारिदिए । शिवले सोमरसको प्रतिबन्धलाई स्वीकार नगर्ने मेलुहावासीविरुद्ध गरेको कारबाहीको बिस्तृत वर्णन नै शिव शृंखलाको तेस्रो भाग ‘वायुपुत्रहरूको शपथ’ को कथावस्तु हो ।

निष्कर्ष
छुट्टाछुट्टै शृंखलाका आख्यान भए पनि अमिशका यी कथाहरू एकार्कासँग जोडिएका छन् । बेग्लै कालखण्डका पात्रहरू ऐतिहासिक समयरेखामा उपस्थित गरिएकाले फरक रूपमा भए पनि जोडिन आइपुगेका भान हुन्छ । अमिशले एकातिर मिथलाई विमिथकीकरण गरेका छन् भने अर्कोतिर मिथकीय पात्रहरूलाई ऐतिहासिकता दिलाउने प्रयास पनि गरेका छन् । केही अपवादबाहेक घटनाहरूलाई सकेसम्म आधुनिक पाठकले स्विकार्न सक्ने ढंगबाट प्रस्तुत गरिएको छ ।

जंगलमा फ्याँकिएकी नवजात शिशु सीताको संरक्षण गिद्धले गरेको, पाँच वर्षका बालक कार्तिकको असाधारण युद्धकौशलता र सोमरसको ज्ञान संरक्षण गर्ने अभियानजस्ता घटना सामान्य अवस्थामा पत्याउन गाह्रो पर्ने प्रसंगहरू हुन् । अन्यथा उपन्यास पौराणिक पात्रहरूका कथा हो भन्ने भान पर्दैन । उपन्यासको अर्को महत्त्वपूर्ण कुरा अमिशले आफ्नो कथा संरचनामा लैंगिक विभेदको छाया पर्न दिएका छैनन् ।

पौराणिक प्रसंगलाई सजिलै बुझिने गरी आधुनिक ज्ञानको आलोकमा प्रस्तुत गर्न खोजिएको छ । यसले पुराण र काव्यमा कथा र कल्पना मात्र हुँदैन, इतिहास पनि हुन सक्छ भन्ने सम्भावनालाई उधिनेको छ । भाषाशैली पनि आजका पाठकहरूले रुचाउने खालको रहेकाले दुवै शृंखलाले पाठकलाई अन्तसम्मै बाँधिराख्छ ।

प्रकाशित : मंसिर ७, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?