माछासँग ज्यामिति बाकस
तुलसीपुर उपमहानगरपालिका ११ सुकौराका भरत चौधरी (११) ६ कक्षामा पढ्छन् । घरमा आर्थिक अवस्था गतिलो नभएकाले पढ्ने सामग्री उनी आफैं जुटाउँछन् ।
आजभोलि बिदा भयो कि उनी खोलामा भेटिइहाल्छन् । ‘माछा किन्ने हो ?’ घाँसलाई डोरो बनाएर उनले आधा केजी जति माछा बल्झाएका थिए । मैले उनलाई माछा किनेर बेच्नुको कारण सोधें । भरतले अनुहारमा जुनको एक टुक्रा खसालेर ‘ज्यामिति बाकस’ किन्ने सपना पोखे । स्कुलमा गणित पढाउने सरले ज्यामिति बाकस ल्याउनु भनेकाले बिहानैदेखि माछा मार्न सुरू गरेको उनले सुनाए । एक हातले माछा समातेका उनको अर्को हात ठाउँ छोड्दै आँटेको सुरूआल समात्न बिजी थियो ।
दिनेश चौधरी (१२) पनि हातमा माछा बोकेर किन्नका लागि अनुरोध गर्दै थिए । ‘ज्यामिति बाकस जति रूप्पेमा आउँछ त्यति पैसामा लैजानुस्’ उनी आशावादी देखिन्थे । हामीले माछा किन्ने छाँट देखाएपछि उनीहरु खुसी भए । उनीहरुलाई ज्यामिति बाकस किन्ने पैसा दिएर हामीले माछा नलिएर आउनै लागेको बेला उनीहरुले अनुहारमा मिठाई घोलेर भने, ‘धन्यवाद !’