कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘लेखकले जहिल्यै दुःख रोज्छ’

कान्तिपुर संवाददाता

साहित्यकार सरुभक्तको सातौं उपन्यास आएको छ, ‘प्रतिगन्ध’  । प्रवासी जीवनको कथा बोकेको यो उपन्यास उनकै मदन पुरस्कार विजेता उपन्यास ‘पागल बस्ती’ बाट कति भिन्न छ ? समकालीन आख्यान लेखन, निजी अनुभव र पाठक प्रतिक्रिया के कस्ता छन् ? यसै सेरोफेरोमा रहेर उनीसँग राजकुमार बानियाँले गरेको कुराकानी : 

‘लेखकले जहिल्यै दुःख रोज्छ’

नेपाली साहित्य उपन्यासको उरुङ्गोमाथि उभिएजस्तो देखिएको छ । तिनमा तागत कति छ ?
हिजोआज एक–दुईवटा कथासमेत नलेखी एकैचोटि उपन्यास निकालिरहेको देख्छु । कसरी लेख्न सम्भव हुन्छ ? मैले बुझ्नै सकेको छैन । किनभने उपन्यास लामो साधना र गम्भीर चिन्तनको परिणामबाट लेखिने विधा हो । साधारण हिसाबले कुनै स्तरीय उपन्यास लेख्न सकिँदैन । आख्यानमा यथार्थ र मायिकताका साथै स्वैरकल्पना पनि चाहिन्छ । त्यसो त राम्रा लेख्नेहरू पनि छन् । तिनलाई हतोत्साह हुने गरी पनि कुरा नगरौं । कतिपय लेखकहरू चर्चित पनि भइरहेका छन् । तिनले पनि साँच्चै राम्रो, महत्त्वपूर्ण र विशिष्ट औपन्यासिक कृति लेख्नु आवश्यक छ । आख्यानकारमा विश्व दृष्टिकोण अनि समय र परिवेशलाई गहनतापूर्वक अध्ययन र विश्लेषण गर्ने क्षमता चाहिन्छ । हामीसँग त्यस्ता अजम्बरी, अमर वा महान् साहित्यको टड्कारो अभाव छ ।

केही वर्ष पहिले तपाईंले ‘के मर्दै छन् नेपाली कविता ?’ लेख्नुभएको थियो । उपन्यासचाहिँ सकुशलै छ ?
हामीकहाँ धेरैजसोले सतही उपन्यास लेखिरहेका छन् । कति चर्चित भनिएका उपन्यासकार पनि त्यो अवस्थाबाट माथि उठ्न सकेका छैनन् । सप्पै उपन्यास त मैले पढेको छैन । तर धेरैजसो पढ्ने कोसिस गर्छु । आख्यानप्रति नयाँ पुस्ताको लगाव छ । नारायण वाग्लेभन्दा यता धेरै आख्यानकार जन्मिए । तिनको मूल्यांकनका निम्ति त्यति हतार पनि नगरौं । ‘रूपमती’ को जमानाको उपन्यासले अहिले काम चल्दैन । कम्तीमा अहिलेकै भाषाशैली र अन्तर्दृष्टि पक्रन सक्नुपर्छ । कथा भन्ने शैलीभन्दा पनि त्यो कथा किन भन्न चाहिरहेको छ भन्ने अन्तर्दृष्टि महत्त्वपूर्ण लाग्छ । त्यो खालका लेखकचाहिँ कमी छ तर नयाँ उत्साह
भने देखिन्छ ।

तपाईंको औपन्यासिक यात्रा कति सहज रह्यो ?
मैले बीसको दशकदेखि कविता र नाटक लेख्दै आएँ । आख्यानको क्षेत्रमा चालिसको दशकपछि मात्रै आएँ । आईए, बीएतिर एक–दुई उपन्यास लेख्ने कोसिस गरेँ पनि । त्यो बेलाको मनस्थिति अनुकरणात्मक ज्यादा हुन्थ्यो । आफैंले मूल्यांकन गर्दा पनि राम्रो उपन्यास भएन भन्ने लागिरहन्थ्यो । त्यसैले दुई–तीनवटा उपन्यास अधुरै रहे । कताकता उपन्यासै लेख्न सक्दिनँ कि भन्ने पनि लाग्थ्यो । सायद म उपन्यासका लागि परिपक्व भएको रहेनछु । रंगमञ्चमा लाग्दा म लेखनका साथै चिन्तनतिर आकृष्ट भएँ । अनि मात्र विज्ञानमा आधारित भएर ‘एक अभिनवको आत्मकथा’ लेखें । त्यसको केही वर्षपछि ‘पागल बस्ती’ को रचना गरें ।

‘पागल बस्ती’ पछि थुप्रै उपन्यास लेख्नुभयो । तर, पाठकहरू ‘पागल बस्ती’ मै अड्किरहेजस्तो लाग्दैन ?
हो, हिजोआज धेरैजसो पाठकले ‘पागल बस्ती’ कै कुरा ज्यादा गर्छन् । त्यसपछिका मेरा उपन्यास ‘पागल बस्ती’ जस्तो भएनन् भन्ने प्रतिक्रिया दिन्छन् । त्यसलाई म गलत पनि भन्दिनँ । त्यो एउटा सोच हो । पारिजातले ‘शिरीषको फूल’ लेखिन् । पारिजात भनेकै ‘शिरीषको फूल’ भैदियो । मेरा लागि पनि अहिले ‘पागल बस्ती’ भनेकै सरुभक्तजस्तो भएको छ । मेरो व्यक्तिगत अनुभव के छ भने प्रकाशनलगत्तै मैले धेरै स्वागत पाएको छैन । ‘तरुनी खेती’, ‘समय त्रासदी’, ‘चुली’ आदि उपन्यासको पनि तुरुन्तै स्वागत भएको होइन । ‘तरुनी खेती’ आउँदा एकथरी महिला साहित्यकार मित्रहरूले त यो उपन्यासै भएन, के अभद्र नाम राखेको भन्ने प्रतिक्रियासमेत जनाए । बिस्तारै मैले बुझाएँ । अहिले ‘पागल बस्ती’ तपाईंको चर्चित उपन्यास हो तर शैलीगत र रचनात्मक हिसाबले ‘तरुनी खेती’ प्रिय लाग्छ भन्ने नयाँ पुस्ताका धेरै पाठक भेटिरहेको छु ।
‘समय त्रासदी’ आउँदा तिम्रो उपन्यास पढेर दसैँ बिगारेको छु भन्नेसम्मको प्रतिक्रिया पाएँ । त्यसको विषयवस्तु नै त्यस्तै थियो । हिमालको दुःखकष्टको सापेक्षमा जीवनको अध्ययन गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर ‘चुली’ लेखें । यो पनि बिस्तारै ग्राह्य हुँदै गयो । कुनचाहिँ उपन्यास प्रिय हुन्छ/हुँदैन, कुनचाहिँ पाठकको स्मृतिमा पछिसम्म बसिरहन्छ/रहन्न ? त्यो महत्त्वपूर्ण हुन्छ ।

तपाईंका उपन्यासले पाठकबाट चाँडै न्यानो स्वागतचाहिँ किन पाउँदैनन् ?
ठ्याक्कै यही कारण भन्ने छैन । मैले जुन प्रकारका विषयवस्तु र शैलीमा उपन्यास ल्याइरहेको छु, त्यसले सामान्य पाठकलाई सुरुमा अप्ठ्यारो लाग्न सक्छ । हालसालै रारा यात्राका क्रममा एक पाठकले भने, “दाइको ‘पागल बस्ती’ अझै पूरा पढेको छैन ।” ३० वर्षअघि नै प्रकाशित भएको उपन्यासले एकातिर मलाई आख्यानकारका रूपमा चिनायो भने अर्कातिर त्यही पुस्ताका पाठक पढ्न गाह्रो भयो भनिरहेका छन् । मलाई त्यही गजब लाग्छ ।

तपाईंका उपन्यासमा विषयगत विविधता हुनुको कारण के हो ?
‘चुली’ उपन्यासलाई गंकी वसुन्धरा पुरस्कार दिने सभामा समालोचक कृष्णचन्द्रसिंह प्रधानले ठ्याक्कै यही कुरा गरेका थिए, सरुभक्तका उपन्यासमा विविधता छ । ‘एक अभिनवको आत्मकथा’, ‘पागल बस्ती’, ‘तरुनी खेती’, ‘चुली’ मा बेग्लाबेग्लै विषयवस्तु छन् । चाहे आख्यानकार होस् वा अरू काव्यकार, लेखकको सफलता भनेको आफूलाई नदोहोर्‍याउनु हो ।
कतिपय पाठक ‘पागल बस्ती’ जस्तो अर्को उपन्यास लेखिदिओस् भन्ने चाहन्छन् । मलाई थाहा छ, त्यो ‘पागल बस्ती’ को अति प्रेमले भनिएको हो । त्यसमा मलाई सधैं खुसी लाग्छ । तर आख्यानकारका रूपमा ‘पागल बस्ती’ दोहोर्‍याउनुहुन्न भन्ने चेतना ममा छ ।

‘प्रतिगन्ध’ को नामै जटिल भयो भन्ने प्रतिक्रिया आइरहेको छ । ‘पागल बस्ती’ आउँदा के भनिएको थियो ?
‘पागल बस्ती’ को सुरुआत एक समयमा गरें, अन्त्य अर्को समयमा । ०३८ मा सुरु गरेको उपन्यास ०४८ मा सकियो । मेरो दिमागमा ‘पागल बस्ती’ को विम्ब त आइरहेको थियो । तर कथावस्तु अघि बढाउन सकिरहेको थिइनँ । युनिभर्सिटी पढ्दा त्यसलाई हेर्दै हेरिनँ । पोखरा फर्केपछि पूरा गरेँ । निकटका मित्र चैतन्य सिटौला प्रकाशकका रूपमा भेटिए । ०४८ मा ‘पागल बस्ती’ लोकार्पण हुँदा पनि खासै चर्चा भएन । डेढ–दुई सय रुपैयाँ थियो मूल्य । पोखराको गोरखापत्र बाजेमा राखेको । नबिकेर बाजेले तीन–चारचोटि मूल्य घटाउनुपर्‍यो भने । मेरा एक–दुई समकालीन भाइहरूले उपन्यासको नामै सस्तो भयो, फेर्नुपर्‍यो पनि भने । मैले उनीहरूलाई सम्झाएँ– के देवकोटा, रिमाललाई पागल भनिएको थिएन र ? कुनै पनि शब्दको प्रयोग कुन रूपमा गरिएको छ, त्यो पो हेर्नुपर्छ त ! अहिले सबैले त्यही नाम रुचाउँछन् । विश्व आतंकवाददेखि नेपाली जातिको संघर्षको कथालाई जोडेर लेखिएको आख्यान भएकाले ‘प्रतिगन्ध’ पनि ढिलोचाँडो मान्छेले रुचाउँछन् भन्ने लाग्छ ।

‘प्रतिगन्ध’ मा त दुःखको सरप्राइज प्याकेज नै छ क्यारे १
पोखराका एक पाठकले मसँग भने, ‘तपाईंले ‘प्रतिगन्ध’ मा लेखेजस्तो डायस्पोराको जीवन दुःखपूर्ण वा विछोडको मात्रै छैन । सुखसयल र प्रगति पनि गरिरहेका छन् ।’ हो, केहीले विदेशमा कुस्त कमाएका पनि छन् । तर, डायस्पोरामा हजारौंहजार मानिसले जसरी जीवन बिताइरहेका छन्, मैले तिनकै बारेमा लेखेको हुँ । सुख र दुःखलाई पक्ष र विपक्षमा बाँड्ने हो भने लेखकले जहिल्यै दुःखको पक्ष लिन्छ । सुखको चर्चाका लागि सरुभक्तले कलम घोटिरहनुपर्छजस्तो पनि लाग्दैन ।
‘मुनामदन’ मा पनि एउटा डायस्पोराकै कथा छ । काव्यको पात्र मदन पनि अहिले मध्यपूर्व वा अमेरिका गएजस्तो भोट गएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुखान्त नै गर्न सक्थे । तर दुःखान्त परिवेशले नै जीवनको आयामलाई अभिव्यक्ति गर्छ । परिवार र समाजको भित्री र बाहिरी अवस्थालाई गहनतापूर्वक प्रस्तुत गर्छ । मदनले भोटबाट कमाएर ल्याएर आमा, श्रीमती र दिदीलाई कोसेली/थैली दिने खालको सुखान्त कथा बनाएको भए मार्मिकता आउँदैनथ्यो । डायस्पोरामा बसेको, दुःख पाएको, घर परिवार सम्झेको भन्ने विषयमा त धेरैले लेखिरहेका छन् तर ‘प्रतिगन्ध’ मा मैले फरक किसिमले चरित्र निर्माण गरेको छु ।

उपन्यासमा महिलाहरूलाई अलि खराब देखाइएजस्तो लाग्दैन ?
पहिले पुरुष जति खराब भए पनि महिलालाई सहनशीला सुशीलाका रूपमा चित्रित गरिन्थ्यो साहित्यमा । ‘प्रतिगन्ध’ मा पुरुषहरू सहनशील अनि महिलाहरू अलिकता उन्मुक्त देखिएजस्तो परिवेश छ । मैले अमरको पक्षबाट उपन्यास लेखें । त्यही भएर आरतीले घर छोडेर जाँदा उसलाई दुःख लागेको बुझियो । मैले आरतीलाई खलपात्रका रूपमा चित्रित गरेको छैन । मैले ‘प्रतिगन्ध’ लेख्दा ठ्याक्कै यस्तै घटना देखेको थिएँ । आफ्नै आँखाले देखेका आरतीजस्तै चरित्रहरू त्यसरी हराएका छन् । म कसैलाई दोस्याउन सक्दिनँ । अमरको ‘प्वाइन्ट अझ भ्यु’ आफ्नै छ, आरतीको आफ्नै । अमरका आँखाले हेर्दा आरती घर भत्याङभुतुङ बनाएर गई भन्ने छ । आरती स्वाभिमानी छे । सानो बच्चाको लालनपालन गरेकी छ तर लोग्ने सँगै बस्न चाहेकी छैन । उमेर पुगेपछि छोरी स्वतन्त्र निर्णय लिने भएकी छे । त्यो असल या खराब के हो ? मैले नारी वा पुरुष कसैको पक्ष लिएको छैन ।

मानिसहरू सपना हराएर विदेश जान्छन् कि सपना देखेर ?
म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा देख्छु– सयौंको संख्यामा फूलमाला लगाएका नेपाली एकदमै अँध्यारो मुख लगाएर बिदा हुन्छन् । परदेसिनु आम नेपालीको बाध्यता हो । मलाई लाग्छ, सबै एउटै सपना देखेर अमेरिका गएका छैनन् । कोही आफ्नो देशमा सपना हराएर अमेरिका भासिएका छन् । मूलभूत प्रश्न डायस्पोरामै हराउने कि देशप्रतिको कर्तव्य र भावना पनि राख्ने भन्ने हो ।

कम्तीमा तपाईंले नयाँ शब्द त दिनुभयो नि ?
म प्रायः नाम आएपछि नै लेख्छु । ‘पागल बस्ती’ र ‘तरुनी खेती’ त्यसैगरी लेखें । कहिलेकाहीँ लेखिसकेपछि पनि नाम छनोटमा महिनौं लाग्छ । ‘चुली’ का बेला दर्जनौं नाम सोचें । एकपटक त उपन्यासभन्दा पनि नामको सूची नै लामो होलाजस्तो भयो । कहिलेकाहीँ अंग्रेजी नाम मात्रै दिमागमा घुस्छ । अंग्रेजी विद्यालयमा पढेको हुनाले नेपालीमा रूपान्तरण गर्नै आउँदैन ।
यसपालि सुरुमा दुई–तीनवटा नाम सोचें । नाम अझै सटीक लागेन । ‘प्रतिगन्ध’ शब्दकोशमा पनि रहेनछ । जटिल हुन्छ कि भन्दाभन्दै पनि यही नाम राखें । पाठकले बुझ्दै जान्छन्, बुझ्दै गएपछि जटिल भए पनि सजिलो हुन्छ । के मधुपर्क जटिल छैन र ?
मान्छेलाई फलानो ढिस्काना भनेर चिन्ने अनुहारले हो, उपन्यासलाई चिनाउने अनुहारचाहिँ नाम हो । तर अनुहार मात्रै सबैथोक पनि होइन । ‘प्रतिगन्ध’ शब्दको अर्थ लगाउन गाह्रो हुन्छ भनेर अमरको बोलीको अन्तिमतिर राखेको छु । मान्छेको स्वाभाविक गन्ध हुन्छ । त्यसको विपरीततर्फ लागेपछि ‘प्रतिगन्ध’ सुरु हुन्छ । त्यसले गर्दा संसारमा पारिवारिकदेखि सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय विग्रह सुरु हुन्छन् । अहिलेका पाठक जागरुक छन् । यस्ता शब्दलाई सहजै बुझ्ने क्षमता राख्छन् ।

अन्त्यमा, अविवाहित सेलिब्रिटीलाई सोधिने प्रश्न तपाईंलाई थाहै छ । हिजोआज बिहे गर भन्ने दबाब छ कि छैन ?
म ६४ वर्ष लागें । बुबाआमा हुँदासम्म त्यस्तो दबाब थियो । हामी मरेपछि तँलाई हेरेर को बस्छ भनेर सम्झाइरहनुहुन्थ्यो । अहिले धेरैले के बुझे भने यसलाई जति सम्झाए पनि काम लाग्दैन । त्यसैले कसैले केही भन्दैन ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?