संकटमा साकिब

साँच्चै साकिब जत्तिको खेलाडी किन दीपकजस्ता सट्टेबाजको सम्पर्कमा रहे र त्यसबारे आईसीसीलाई सूचना दिन चुके ?
हिमेश

‘ब्रो एनिथिङ इन दिस सिरिज ?’सन् २०१८ जनवरी २३ मा साकिब अल हसनले ह्वाट्स एपमा यही सन्देश पाएका थिए, दीपक अग्रवालबाट  । अब साकिब को हुन र दीपक कस्ता मान्छे हुन, त्यसमा कुनै रहस्य छैन  ।

साकिब हुन्, विश्व क्रिकेटले देखेका अहिलेसम्मकै सबैभन्दा सफल अलराउन्डरमध्ये एक बंगलादेशी खेलाडी । अनि दीपक हुन्, क्रिकेटमा म्याच फिक्सिङका लागि दिनरात खटिरहने भारतीय सट्टेबाज । बंगलादेशसँगै श्रीलंका र जिम्बावे सम्मिलित सिरिजबारे दीपक साकिबबारे भित्री कुरा सुन्न चाहन्थे ।
खासमा त्यसको पनि एक वर्षअगाडि नै उनीहरूबीच ह्वाट्स एपबाट कुराकानी सुरु भइसकेको थियो । दीपक साकिबसँग व्यक्तिगत रूपमै भेट्न उत्सुक थिए । त्यही त्रिकोणात्मक सिरिजको एक खेलमा साकिब ‘म्यान अफ द म्याच’ भए । दीपकले त्यसकै लागि साकिबलाई सुरुमा बधाइ दिन चाहे र लेखे, ‘डु वी वर्क इन दिस अर आइ वेट टिल द आईपीएल ?’
अब यो ‘वर्क’ मा पनि कुनै ठूलो रहस्य त पक्कै लुकेको छैन । यसको अर्थ पनि सबै भित्री जानकारी कसरी पाउने हो भन्ने नै हो । पछिल्लो संस्करणको आईपीएल चलिरहेको बेला पनि शाकिबले अर्को सन्देश पाए र त्यसमा खास नामका खेलाडीले खेल्न पाउन छन् कि छैनन् भनेर सोधिएको थियो । दीपक यत्तिकैमा रोकिएनन्, उनले साकिबको बैंक खाताबारे पनि बुझ्न चाहे । उनले बुझ्न चाहेको त्यो बैंक खाता सामान्य खालको थिएन, त्यसले डलरको कारोबार हुनु पर्थ्यो ।
साकिबले ह्वाट्स एपमा दीपकसँग गरेका यी केही कुराकानी मात्र हुन् । उनले अरू यस्तै केही कुराकानी त ‘डिलेट’ गरिसकेका रहेछन् । जति बाँकी रहे, ती भर्खरै बाहिर आएका हुन् । त्यसो त साकिबले दीपकको करकापमा परेर केही लाख डलर कमाउने लोभमा खरावै काम त गरेनन् । त्यसो भनेको उनी सीधासीधा ‘म्याच फिक्सिङ’ तिर त लागेनन् । तर उनले जे जति भएको थियो, त्यो सबै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन ब्युरोलाई पनि भनेनन् ।
जति बेला यी सबै कुरा बाहिर निस्क्यो, उनी आईसीसीबाट दुई वर्ष प्रतिबन्धमा परे । त्यसमध्ये एक वर्ष उनले क्रिकेटसँग जोडिएर केही पनि गर्न पाउने छैनन् । उनी यसरी प्रतिबन्धमा परेको समाचार त केही दिन पुरानै हो, तर यससँग जोडिएका घटनाक्रम भर्खरै बाहिर निस्कँदै छन् । उनीबारे थरीथरी विचार पनि । अनि केही पूर्वानुमानसमेत । यससँग जोडिएर ठ्याक्कै एउटा खास मत आएको छ र अर्को प्रश्न । पहिला मत ।
पूर्व इग्लिस कप्तान माइकल भनजस्ताले यो मतको प्रतिनिधित्व गरिरहेका छन् । त्यसअनुसार साकिबले लगभग अर्को वर्षभित्र क्रिकेट खेलिसकेका हुनेछन् । यस्तोमा यो कारबाही नरम भएन त ? साकिबलाई त आजीवन प्रतिबन्ध पो लगाउनुपर्ने हो । क्रिकेट सफा हुनुपर्छ, यसमा कसको मात्र विमति हुन्छ र ? तर जसले यही खेललाई धमिलो पार्न खोज्छ, त्यसलाई सकेसम्म कडाभन्दा कडा कारबाही हुनुपर्छ । खासमा साकिब यस्तै ठूलो सजायबाट बचेकै हुन् ।
सायद साकिब यसपल्ट भाग्यमानी रहेभन्दा हुन्छ । भनले त केसम्म पनि भनेका छन् भने साकिब जत्तिका खेलाडी कारबाहीमा पर्‍यो भनेर मनको कुनै कुनामा सहानुभूति राख्नुपर्ने पनि छैन । अझ भन्न सक्नुपर्छ, साकिबले अब कहिले पनि क्रिकेट खेल्न नपाएकै बेस । जसले क्रिकेटमा ‘फिक्सिङ’ भित्र्याउने प्रयास गर्छ अथवा त्यस्तो कुनै भूमिकासम्ममा पनि सहभागी हुन्छ, त्यो क्रिकेटबाट टाढिएकै राम्रो । किन चाहियो यस्तो मान्छे ?
अब प्रश्न । साँच्चै साकिब जत्तिको खेलाडी किन दीपकजस्ता सट्टेबाजको सम्पर्कमा रहे र त्यसबारे आईसीसीलाई सूचना दिन चुके ? यसको उत्तर साकिबले मात्र दिन सक्छन् । होइन भने उनीजस्तै यसअघि सट्टेबाजको सम्पर्कमा रहेर कारबाही भएका खेलाडीले नै । साकिबले यसबारे धेरै बोलेका छैनन् । बोल्न चाहेका बेला पनि उनलाई चुप लगाइएको छ । बरु हिजैजस्तो समाचार के आएको छ भने उनले ढाकामा कतै फुटबल खेले र त्यसमा फुटबल खेलाडी पनि हुनुको केही झलक देखाए ।
त्यसअगाडि एउटा पत्रकार सम्मेलनमा उनले के मुख खोल्ने प्रयास गरे, तत्काल उनलाई त्यही रोकियो । साकिबले खालि यति मात्र दोहराए कि उनले भूल गरेकै हुन्, उनी कारबाहीका लागि योग्य छन् । यसका लागि उनले माफी पनि मागे । यी सबै भनाइ त उनले आईसीसीले जारी गरेको वक्तव्यमै भनिसकेका थिए । तय छ, अबका केही वर्षसम्म साकिबले यसबारे बोल्ने छैनन् । सायद यसका लागि उनले कुनै दिन किताबै लेख्नेछन् ।
सबैको यस विषयमा एकमत के छ भने साकिबसँग जोडिएर जे जति घटना भए, ती सबै ठूलो शिक्षाका रूपमा आएको छ । यसले विश्व क्रिकेटलाई ठूलो पाठ पढाएको छ । जत्तिकै ठूला स्टार खेलाडी किन नहोस्, अथवा भर्खर क्रिकेट खेल्न सुरु गरेका खेलाडी नै, साकिबले जस्तो काम बिर्सेर पनि गर्नुहुन्न । हुन सक्छ, दीपकजस्ता सट्टेबाजले खेलाडीको नजिक आउने प्रयास गर्नेछ नै । तर यसबारे खेलाडीले तुरन्तै आईसीसीको त्यो एन्टी करस्पन ब्युरोलाई सूचना दिइहाल्नुपर्छ ।
जति बेला उनी आईसीसीको प्रतिबन्धमा परे, त्यति बेला उनी बंगलादेशी टेस्ट टिमका कप्तान थिए । यसअघि उनले इंग्ल्यान्डमा भएको वान डे विश्वकपमा गज्जब प्रदर्शन गरेका थिए । त्यसक्रममा उनी एउटै विश्वकपमा छ सय रन बनाउने र १० भन्दा बढी विकेट लिने पहिलो खेलाडी भएका थिए । यो तथ्यांकले पनि देखाउँछ, उनी वास्तवमै कत्तिको खेलाडी हुन् भनेर । सन् २०१४ मा बंगलादेशले ट्वान्टी ट्वान्टी
विश्वकपको आयोजना गर्दा पनि उनले यस्तै नाम कमाइसकेका थिए ।
नेपालले पनि त्यो विश्वकप खेलेको थियो । प्रतियोगिताअगाडि आयोजित पत्रकार सम्मेलनमा साकिबलाई पनि केही बोल्न दिइएको थियो । त्यसको अन्त्यतिर नेपाली पत्रकारसँग विशेष रूपमा बोल्ने जिम्मेवारी उनलाई दिइएको थियो । उनी नेपाली पत्रकार बसेको राउन्ड टेबलमा आए र आफ्ना केही अनुभव सुनाए । उनलाई पनि नेपालले त्यो विश्वकप खेलेकोमा खुसी थियो र भनेका थिए, ‘विश्व क्रिकेटमा कुनै दिन नेपाल पनि बलियो टिम हुनेछ ।’ खुबै लज्जालु देखिएका थिए, उनी । शब्दहरू खोजी खोजी बिस्तारै सावधानीपूर्वक बोलिरहेका थिए ।
अहिले यिनै खेलाडी आईसीसीको कारबाहीमा परे, त्यो पनि नचिताएको कारणमा । ठीक यहाँनिर उल्लेख गर्नैपर्ने के पनि हो भने साकिबमाथि कारबाही हुँदा बंगलादेशी क्रिकेट बोर्डलाई भने खुसी नै लागेको छ । यो प्रतिबन्धले बंगलादेशी क्रिकेटमा आउन सक्ने एउटा ठूलो दुर्घटना टरेको छ । भारत जाने टुरअगाडि बंगलादेशी खेलाडी आन्दोलनमा थिए । उनीहरूले धम्की दिइरहेको थियो, बोर्डले तलब र सुविधा बढाउने जस्ता केही माग पूरा नगर्ने हो भने भारत पनि जाने छैन्, टुर नै बहिष्कार हुनेछ ।
अनि खेलाडीको यो आन्दोलनको नेतृत्व गरिरहेका थिए, तिनै साकिबले । ठीक त्यही बेला आईसीसीको पनि निर्णय आयो, साकिबले त बोल्ने ठाउँ नै भएन, अरू खेलाडी चुपचाप भए । सुटुक्क भारत पनि पुगे । यी बंगलादेशी खेलाडी साकिबको अझै ठूला समर्थक भने हुन् र भनिरहेका छन्, ‘त्यो दिन अब धेरै टाढा छैन, जति बेला साकिबले फेरि बंगलादेशका लागि क्रिकेट खेल्नेछन् ।’
त्यति बेला भने साकिब बिर्सेर पनि दीपकसँग सम्पर्कमा आउने छैनन, आए पनि तुरुन्तै आईसीसीलाई झन्नेछन् ।
@himeshratna

प्रकाशित : कार्तिक ३०, २०७६ १०:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रायपुरममा असन !

रायपुरमका धेरै कुरा असनसँग मिल्दाजुल्दा लागे । कतिपय घरहरूले समेत असनकै झल्को दिए । उताझै यहाँ पनि सलल उकालो लागेका एक कोठे भवन प्रशस्त देख्न पाइन्छ ।
सजना बराल

यहाँ मैले गुनासो गर्नुपर्ने चीज धेरै थिए  । काठमाडौंमा भइदिएको भए यिनलाई हेरेर खुब रिसाइरहेकी हुन्थेँ होला  ।

मलाई त्यहाँको धूलाम्मे बाटो, फोहोरको डंगुर, छाडा चौपाया, गजगज हिलो, खचाखच मान्छेहरू देखेर दिक्क लाग्थ्यो । तर, उस्तै अवस्थाको रायपुरम पुग्दा म मुस्कुराएँ । लाग्यो काठमाडौंको कुनै गल्लीभित्र छिर्दै छु, अनि फोहोर पनि अचानक मगमगाउन थाल्यो ।
म पहिलोपल्ट उत्तर–चेन्नई डुल्दै थिएँ । म बस्ने दक्षिण–चेन्नईको अड्यार जिल्ला आधुनिक छ । यहाँका बस्तीहरू प्रायः प्लान गरेर बनाइएका छन् । रायपुरम भएको उत्तरी भेग यस्तो व्यवस्थित छैन । यो पुरानो बस्ती हो, हाम्रो असन बजारजस्तै लाग्ने । यताबाट छिरेर उतापट्टि निस्किने दुलाहरू भेटिन्छन् यहाँ । एडम स्ट्रिटबाट समु चेट्टी लेन, समु चेट्टीबाट पिल्लायर कोभिल स्ट्रिट र त्यहाँबाट वल्ड वासरम्यानपेट पुग्दा मेरो आँखाभरि असन नाचिरह्यो ।
रायपुरम माझीहरूको बस्ती हो । यहाँको ‘कासीमेडु फिसिङ हार्बर’ प्रसिद्ध छ । सोह्रौं शताब्दीदेखि यहाँ माछा मार्नका लागि हार्बर निर्माण गरिएको इतिहास रहेछ । तर, अहिले यो ठाउँ माझीहरूको बस्ती नभई उत्तर भारतीयहरूको थलोका रूपमा चिनिन थालेको छ । ‘यो फिसरम्यानहरूको एरियामा माछाको गन्ध आउन छोडेको धेरै भइसक्यो,’ मद्रास हाई कोर्टका वलिक एन. गणेशनले भने, ‘माछा मार्ने समुदाय यहाँबाट विस्थापित हुँदै छ ।’
नभन्दै रायपुरमका गल्लीपिच्छे मैले हिन्दीभाषीहरू भेटेँ । चेन्नईमा हिन्दी बोल्नेसँग जम्काभेट हुँदा रमाइलो लाग्छ, गफ गर्न पाइने भएर । नत्र तमिल इल्ले (तमिल आउँदैन) भन्दै हच्किनुपर्छ । धन्न, अटो चालकदेखि मरिना बिचमा मकै पोल्ने अन्ना (दाइ) रेल गाडीमा गज्रा उन्दै गरेका अक्का (दिदी) हरू लाई समेत टुटेफुटेकै सही, अंग्रेजी बोल्न आउँछ र परदेशीहरूलाई सजिलो भइदिन्छ ।
हामी नेपाल, बंगलादेश, भुटान र अफगानिस्तानबाट चेन्नई पुगेकाहरू फरर हिन्दी बोल्छौं । यहाँ चेन्नइका भारतीयले हिन्दी नजानेको देख्दा सुरुसुरुमा सकसक लाग्यो । अलिअलि त आउँछ होला भन्ठानेकी थिएँ मैले । तर, दक्षिण भारतीयहरू मरेकाटे हिन्दी बोल्दैन रहेछन् । उनीहरू आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै पहिचानमाथि गर्व गर्छन् । सन् १९३७ मा भारतीय राष्ट्रिय कांग्रेसले विद्यालयमा हिन्दी भाषाको अध्ययन अनिवार्य गर्दा यहाँ ठूलो विरोध भएको थियो । त्यसयता तमिलनाडु र सिङ्गो दक्षिण भारतले हिन्दी बहिष्कार गर्दै आएको रहेछ ।
उत्तर भारतीयलाई त चेन्नइमा डेरा पाउन समेत मुस्किल पर्ने ! हाम्रो कीर्तिपुरमा पनि गोरखाका मान्छेलाई कोठा दिँदैनन् भन्ने सुनेको थिएँ, त्यही पो याद आयो । मेरा दिल्लीका साथीहरू चेन्नईमा डेरा नपाउँदाको हैरानी सुनाइरहन्थे । शुभम् भन्थ्यो, ‘मलाई कति ठाउँमा नर्थ इन्डियन भनेर सीधै लखेटे, यहाँका सारा मान्छे पूर्वाग्रही छन् ।’ उसले अन्ततः फेसबुकको फ्ल्याट एन्ड फ्ल्याटमेट्स ग्रुपमार्फत थिरुवान्मियुरमा कोठा पाएछ । घरबेटी जाती निस्किएपछि ऊ आफ्नो भनाइ संशोधन गर्न थाल्यो, भन्थ्यो, ‘कोही–कोही पूर्वाग्रही भए पनि धेरैजसो तमिल मनकारी नै छन् ।’
दिल्ली र मुम्बईका साथीहरू उतैको रेल र मेट्रो सही थियो भन्दै चुकचुकाइरहेका हुन्छन् । मलाई भने चेन्नईको सार्वजनिक यातायात ‘बढिया’ लागिरहेको छ । उनीहरूले आफ्नो ठाउँको प्रशंसा गरिरहेका बेला म पनि ‘हाम्रो देशमा पाइलैपिच्छे माइक्रोबस भेटिन्छन्, घुमफिर गर्न सजिलो छ’ भनेर गफ लाइदिन्छु । उनीहरू ‘हिमाल हेर्न आउँछु’ भन्छन् । हरिया डाँडा र सेतो हिमालका कुरा सुन्न यहाँ जो पनि लालायित हुने । हाम्रो देशलाई भारतका युवा पुस्ताले प्यारो गरेको देख्दा खुसी लाग्छ । तमिलहरूले पनि ‘नेपाली हुँ’ भन्नासाथ आतिथ्यता देखाउँछन् ।
यहाँ आएको दोस्रो दिन हामी तारामनीबाट रेल चढेर भेलाचेरी जाँदै थियौं । डब्बाभित्र एक जना प्रहरी अन्ना भेटिए । हामी नेपाली भएको चाल पाएपछि उनले हामीसँग नेपाली पैसा छ कि भनेर सोधे । अनीताले बीस रुपैयाँको नोट निकालिन् । ‘योर मनी इज भेरी ब्युटिफुल’ भन्दै उनले निकैबेर ओल्टाइपल्टाइ गरे । र, अन्तमा भारु बीस दिँदै नेरु बीस आफैं राख्छु भन्न थाले । अनिताले भारु पर्दैन, नेरु राख्नुस् भनेपछि उनी मक्ख परेका थिए । हरेकपटक रेल चढ्दा वा भेलाचेरी जाँदा हामी त्यो घटना सम्झन्छौं ।
चेन्नइमा छ वटा रेलवे लाइन र दुइटा मेट्रो लाइनले दैनिक हजारौं यात्रुलाई वारपार गराइरहेका हुन्छन् । भारतमा सन् १८३० को दशकमा चेन्नईबाटै रेलवे प्रणाली सुरु भएको थियो रे । तत्कालीन मद्रास सहरको पहिलो रेलवे स्टेसन रायपुरममा स्थापना भए पनि यो बिस्तारै लथालिंग भएछ । सन् २००६ मा दक्षिण रेलवे जोनले जीर्णोद्वार गरेर रायपुरम रेलवे स्टेसनलाई पुनर्जीवन दिएयता यसले भारतीय रेलवे सेवाको सबैभन्दा पुरानो संरचनाका रूपमा ख्याति कमाइरहेको छ ।
रायपुरमको जुन गल्लीमा म थिएँ, त्यहाँ जताततै कपडाका दोकान देखिन्थे । सबै सरप्लस स्टोर । सबैका कामदार उत्तर भारतीय । दिल्ली, बिहार, लखनउ, गुजराततिरबाट यहाँ आएर पसल थाप्ने क्रम बढ्दो छ । सटरपिच्छे कपडाका गोदाम र फेन्सी स्टोरहरू छन् । यहाँका कतिपय घरमुली तमिलहरू सारा घर भाडामा लाएर आफू अन्यत्रै बस्दा रहेछन् । सक्नेले मध्य र दक्षिण चेन्नईतिर घर किन्ने गरेको पाइयो ।
रायपुरमका धेरै कुरा असनसँग मिल्दाजुल्दा लागे । कतिपय घरहरूले समेत असनकै झल्को दिए । उताझैं यहाँ पनि सलल उकालो लागेका एककोठे भवन प्रशस्त देख्न पाइन्छ । तर, सारा रायपुरम एकनाश छैन । यसको दक्षिणी इलाका चर्च नै चर्चले भरिएको छ । यहाँ सेन्ट पिटर्स, सेन्ट जर्ज, म्याटर डोलोरोसाजस्ता दर्जनौं चर्च छन् । यिनको बनोट असाध्यै सुन्दर लाग्छ । चेन्नईमा हिन्दुपछिको ठूलो जनसंख्या क्रिस्चियनकै रहेछ ।
चर्चहरूको बगलमा पार्सी (इरानी) हरूको मन्दिर पनि छ । यसलाई ‘फायर टेम्पल’ भन्दा रहेछन् । सन् १९२० मा स्थापना भएको यो मन्दिरभित्रको आगो (बर्निङ फायर) आजसम्म कहिल्यै निभेको छैन रे । पुजारीहरूले दिनको पाँचपटक यसमा दाउरा झोस्ने गर्छन् । मन्दिरमा गैरपार्सीलाई प्रवेश निषेध छ । रेल, फिसिङ हार्बर र क्याथोलिक चर्चपछि रायपुरम पार्सी समुदायका लागि परिचित ठाउँ हो ।
भारतमा पार्सीको ठूलो संख्या गुजरात र मुम्बईमा छ । व्यवसायी रतन टाटा, गोदरेज खानदान, कलाकार बमन इरानी, अभिनेता जोन अब्राहमहरू भारतीय–पार्सी रहेछन् भन्ने कुरा मैले चेन्नई आएर बुझेँ । क्लबवाला, झुनझुनवाला, मोटरवालाजस्ता थर पनि पार्सीभित्रका रहेछन् । सन् १९०६ मा फिरोज एम क्लबवालाले
आफ्नो दिवंगत छोराको सम्झनामा रायपुरममा फायर टेम्पल स्थापना गरेका रहेछन् । अहिले दक्षिण भारतमा रहेका सारा पार्सी यहीँ आएर बलिरहेको आगोमा चन्दनको सुकेको डाँक्लो अर्पण गर्ने गर्छन् ।
यो समुदाय पहिले गुजरात र मुम्बईमा सीमित रहेछ । अब भने चेन्नईमा आफ्नो संस्कृति विस्तार गर्ने क्रममा छ । यहाँ इरानी क्याफे र रेस्टुरेन्टहरू थपिँदै गएका छन् । मुम्बईकी मेरी साथी सरस्वतीले बन मस्का (घिउ हालेको पाउरोटी) र खरी चाय (कडा चिया) नखाएसम्म पार्सी खानाको स्वाद चाल नपाइने बताइन् । अनि हामी एन्डिअप्पन स्ट्रिटको पर्सियन बेकरीतर्फ लम्कियौं । मैले मटन समोसा, अकुरी, नान–खटाईजस्ता परिकार ढ्याउ नआउन्जेलसम्म खाएँ ।
रायपुरममा पार्सीहरूको धर्मशाला, क्याफे, मन्दिर, मण्डप, रंगमञ्च आदि छन् । उनीहरूको जनसंख्या भने ३ सय मात्रै हो, त्यही पनि घट्दो क्रममा छ । यसलाई जोगाउने कुरामा पार्सीहरूको आफ्नै टाउको दुखाइ रहेछ । ‘जब हामी ८ औं शताब्दीमा इरानबाट भारत आयौं, हामीले यहाँका राजालाई स्थानीयसँग घुलमिल नहुने र गैरपार्सीसँग विवाह नगर्ने कसम खाएका थियौं,’ फायर टेम्पलका पुजारी बोमी वाजिफ्दारले भने, ‘अहिले हाम्रो जनसंख्या घट्दै गए पनि यो जोगाउने नाममा हामी बाहिरका सँग विवाह गरेर आफ्नो वाचा तोड्न सक्दैनौं ।’ बीबीसीमा प्रकाशित एक लेखअनुसार भारतमा १२ प्रतिशतका दरले पार्सीको जनसंख्या प्रतिदशक घटिरहेको छ ।
यो अल्पसंख्यक समुदायको पहिचान स्थापना गर्न चेन्नई सरकार भने गम्भीर रहेछ । उसले गएको अगस्टमा मद्रास सप्ताह मनाइरहँदा त्यसमा पार्सी समुदायलाई महत्त्वका साथ सामेल गराएको थियो । त्यो बेला रायपुरममा ‘ब्रेकफास्ट विद पार्सी’ नामक फुड टुर आयोजना गरिएको थियो । त्यसमा पार्सी समुदायले आफ्ना परिकार तमिलवासीलाई चखाएका थिए ।
पार्सीहरूको फुड टुरमा हिँडेको भोलिपल्ट म रायपुरमको असनझैं देखिने समु चेट्टी लेनतिर पुगेँ । त्यहाँका हरेक चोकमा मन्दिर देख्दा फेरि पनि काठमाडौंमै छु कि भन्ने आभास भइरह्यो । मन्दिरका मामिलामा सिंगो चेन्नई काठमाडौंसरह लाग्छ । काठमाडौंझैं यो पनि ‘मन्दिरै मन्दिरको सहर’ भन्न लायक छ । अनि दुवै ठाउँका भगवान्को स्वभाव पनि उस्तै– मौन छन् ।
रायपुरम भने आफ्ना देउताझैं शान्त छ्रैन । यहाँ रेलको छुकछुक, मन्दिर र चर्चको घन्टी, मान्छेका च्याउँच्याउँ, अटोवाला र स्कुटरको हर्न, कुकुरको ह्वाङह्वाङले कानको जाली खान्छ । त्यसमाथि चेन्नइमा अन्त कतै नभएको धूलो र हिलो पनि यहीँ छ । घरको हालतसँग मेल खाने भएर होला, मलाई भने रायपुरम चेन्नईकै प्रिय ठाउँमध्येमा लाग्छ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×