१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पिँधका मान्छे र पुँजीवादको भविष्य

कान्तिपुर संवाददाता

पुँजीवाद वर्तमान विश्व आर्थिक प्रणालीको एउटा फराकिलो आयाम हो  । पुँजीवादको अनुहार कार्ल मार्क्सले परिकल्पना गरेजस्तो ज्यालामा ठगिएका मजदुरको ‘सरप्लस भ्यालु’ ले, खर्च कटौती एवम् ‘कन्जुमर्स सरप्लस’ ले वित्त प्रणालीमा गरेको बचतले, चिनियाँ शैलीको राज्य प्रवर्द्धित बजार प्रणालीले वा भूमण्डलीकरणलाई औजार बनाएर पश्चिमा विश्वले गरिब संसारमाथि बजार हैकम जमाउन अभ्यास गरेको चरम संरक्षणवाद, जेजे कारणले बनाएको भएपनि मानव जातिको पुँजीप्रतिको मोह र अपरिहार्यता यसले अकाट्य ढंगले स्थापित गरेको छ  ।

पिँधका मान्छे र पुँजीवादको भविष्य

पुँजीवादभन्दा पर मानवजीवनको कल्पना अब असम्भवप्रायःजस्तै देखिन्छ । तथापि, पुँजीवादको भविष्य आफैंमा समकालीन विश्व अर्थराजनीतिक बहसको केन्द्रमा, यतिखेर सर्वोपरि चिन्ताको विषय बनेर रहेको छ ।
गत डिसेम्बरमा प्रकाशित आफ्नो पछिल्लो पुस्तक ‘द फ्युचर अफ क्यापिटालिजम : फेसिङ न्यु एन्जाइटिज’ मा अर्थशास्त्री पल कोलियर तर्क गर्छन्– आदर्श पुँजीवाद आर्थिक निर्णयहरूको विकेन्द्रित प्रक्रिया हो । तर यसलाई स्वचालित प्रणाली (अटोपाइलट मोड) मा छोडिदिने हो भने यसको एकदमै खराबविमार्गी विचलन (डिरेलमेन्ट) हुन्छ । र, यस्तो ‘डिरेल्ड’ पुँजीवाद यसको मौलिक स्वरूपबाट प्राप्त हुने लाभ मनिसहरूलाई दिलाउन असफल हुन्छ । पुँजीवाद मूलतः औद्योगिक क्रान्तिउत्तर सैद्धान्तिक प्रादुर्भाव हो । कोलियर भन्छन्, ‘उन्नाईसौं शताब्दीयताका तीनवटा प्रमुख ‘डिरेलमेन्ट’ले पुँजीवादको भविष्यलाई संकटापन्न बनाएको हो ।’

विचलनको शृंखला
पहिलो ‘डिरेलमेन्ट’ सन् १८४० को दशकमा भएको थियो । हुन त यो औद्योगीकरणले छोएका मुलुकहरूको मात्रै कथा हो । किनभने, त्यतिबेला युरोपबाहिर पुँजी र प्रविधिको कमै प्रसार भएको थियो । तथापि कालान्तरमा यसको प्रभाव विश्वव्यापीरूपमै फैलियो । यतिबेला उच्च उत्पादकत्व र उच्च ज्यालाको दौडमा मानिसहरू सहरहरूतर्फ ओइरिए । प्रविधि र पुँजी त्यहीँ थियो । तर, जीवनका लागि आवश्यक पूर्वाधारहरू अपर्याप्त थिए । त्यसैले ती औद्योगिक सहरहरू छिट्टै मृत्यु मैदान (किलिङ फिल्ड) मा रूपान्तरण भए । मजदुरहरूको औसत आयु ३५–३६ वर्षमा सीमित भयो । सहरहरू सरुवा रोग एवम् संकटको पर्याय भए । फुँजीवादले त्रूर र चरम अमानवीय (फरक) अनुहार देखायो ।
दोस्रो ‘डिरेलमेन्ट’ सन् १९३० को दशकमा देखिएको आम बेरोजगारी (मास अनइप्लोयमेन्ट) का रूपमा प्रकट भयो । आर्थिक मन्दीले राज्यहरू नागरिकका चासो सम्बोधन गर्न असफल भएका थिए । र, त्यो असफलता आम बेरोजगारीमा रूपान्तरण भएको थियो । तेस्रो ‘डिरेलमेन्ट’ सन् १९८० मा सुरु भएर सन् २००८ मा चरममा पुगेको तर्क लेखकको छ । ‘सन् २००८ को अमेरिकी आर्थिक मन्दी बेरोजगारीमा सबभन्दा प्रखर ढंगले प्रकट भयो । यो युवाहरूप्रतिको बेवास्ताको कारक बन्यो । एउटा खोजले के देखायो भने रोजगारी दरमा १ प्रतिशतले कमी आउँदा बच्चाहरूप्रति गरिने बेवास्ता वा अपहेलनामा २० प्रतिशतले बढ्यो । यसले युवा वयोन्मुख केटाकेटीहरूलाई सर्वाधिक नकारात्मक प्रभाव पार्‍यो ।’
सन् २००८ को परिणति सन् १९८० यता विश्वमा विकसित भएको विभाजन (डाइभर्जेन्स) को परिणाम पनि थियो । कोलियरले तीन प्रकारका ‘डाइभर्जेन्स’ पहिचान गरेका छन् । पहिलो, एकातर्फ महानगरहरू र विश्वस्तरीय वित्तीय केन्द्रहरूको तीव्र विस्तार भयो भने अकोतर्फ प्रान्तीय वा क्षेत्रीय सहरहरूले आफ्नो हैसियत गुमाउँदै गए । दोस्रो ‘डाइभर्जेन्स’ वर्गीय विभाजनका रूपमा प्रकट भयो । उदाहरणका लागि, स्तरीय उच्च शिक्षा सीमित उच्चवर्गका लागि मात्र उपलब्ध हुने भयो र अरूले हासिल गर्नेचाहिँ निम्छरो शिक्षा (लेस एजुकेसन) मात्र भयो, अथवा जीवन उपयोगी भएन । र, तेस्रो विश्वव्यापी ‘डाइभर्जेन्स’ मा साना र गरिब मुलुकहरू उठ्नै नसक्ने गरी पछाडि परे । केही उदीयमान बजार अर्थतन्त्रहरू र चीनजस्तो ठूलो अर्थतन्त्र विश्वव्यापी सम्मिलन (कन्भर्जेन्स) उन्मुख भए । तर साना अर्थतन्त्रहरू झन्झन् तल झरेर असफल राष्ट्र बन्ने संघारमा आइपुगे । परिणामतः संसारका पन्ध्र प्रतिशत अथवा करिब १ अर्ब मानिस कहिल्यै वास्तविक समृद्धि अनुभव गर्न नसक्ने गरी आर्थिक पिरामिडको पिँधमा थिचिन आइपुगे । तिनीहरूको कुनै भविष्य टाढा क्षितिजमा पनि देखिएको छैन । (कोलियरको सन् २००८ मा प्रकाशित सर्वाधिक चर्चित पुस्तक ‘बटम विलियनः ह्वाई द पुअर कन्ट्रिज आर फलिङ एन्ड ह्वाट क्यान बी डन एबाउट इट’ मा यसबारे विस्तृत चर्चा छ ।
विश्वव्यापीकरण वा भूमण्डलीकरणका पनि दुईतिर फर्केका भर्‍याङ (अपवार्ड एन्ड डाउनवार्ड एस्केलेटर) छन् । प्रगतितर्फ जानेहरू मूल्य र उत्पादकत्वबीचको बढ््दो जटिलतम आयामलाई आत्मसात् गरिहेका छन् । विशिष्टीकृत शिक्षा र सीपमा प्रविधि मिश्रित उन्नयन छ । यसको चर्चा, प्रयोग र लाभ दोहन चरमोत्कर्षमा छ । अर्कोतर्फ भूमण्डलीकरणको भर्‍याङमा ओरालो लागेका मुलुकहरू छन् । उत्पादकत्व र पुनर्वितरणको प्राथमिकताबीच सधैं तनाव छ । शारीरिक श्रमले मूल्य नपाउने चिन्ताले अर्थतन्त्रहरू टाक्सिन बाध्य छन् । तिनको भविष्य कसैगरी माथि उठ्ने सम्भावना देखिएको छैन । तिनका लागि पुँजीवाद निरर्थक फोस्रो गफ सावित भएको छ ।

निरीह विचारधाराहरू
यी बहुआयामिक प्रकृतिका ‘डाइभर्जेन्स’का चिन्ताहरूलाई राजनीतिक विचारधाराहरू, दक्षिणपन्थी र वामपन्थी दुवैले सम्बोधन नगरेको निष्कर्ष कोलियरको छ । मूलतः अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गरेट थ्याचरको उदयलाई उनले परम्परागत सरकारहरूको अपहरणको कालखण्ड विभाजनका रूपमा चित्रित गरेका छन् । सन् १९७० को दशकमा मिल्टन फ्रिडम्यानले ‘कम्पनीहरूको एकल उद्देश्य नाफा अधिकीकरण गर्नु हो’ अथवा ‘लोभ राम्रो हो’ भनिदिए । रेगन–थ्याचर स्कुलले सरकार नै समस्या हो भन्यो । उदार दक्षिणपन्थले सरकार अनावश्यक भएको ठोकुवा गर्‍यो । यसले साझा बौद्धिक एजेन्डा र सहभावयुक्त उदार दक्षिणपन्थको भूमिका समाप्त भयो ।
वामपन्थको एक खेमाले संसारको सहकारिता आन्न्दोलनले निर्माण गरेको पारस्पारिक दायित्व (रेसिप्रोकल अब्लिगेसन)को परम्परालाई समाप्त पार्‍यो जुन मूलतः विश्वास, आदर, न्यायजस्ता छवटा मूल्य प्रणालीमा आधारित थियो । र, उग्रवामपन्थले राज्यको उपादेयता सायद सत्ताप्राप्तिभन्दा अर्को देखेन । साथै, एउटा अनौठो उपयोगितावादी (युटिलिटारियन) दर्शनको प्रवर्द्धन हुँदै गयो, मानिसहरू उपभोगबाट उपयोगिता लाभ (युटिलिटी) प्राप्त गर्छन् र काम वा श्रमबाट हानि (डिसयुटिलिटी) मात्र पाउँछन् । नैतिकताको कसीमा ‘डिसयुटिलिटी’ को यो व्याख्या पुँजीवादलाई जरैबाट हल्लाउने कडी हो । किनभने, बिनाश्रम पुँजी निर्माण हुने अर्को कुनै माध्यम छैन । अहिले हामीलाई चाहिएको श्रमबाट सम्मान र ‘युटिलिटी’ दुवै हो । अर्को चाहिएको, मानवजातिको आफूमाथिको विश्वास हो । उनीहरूमा हामी आफ्नो जीवन आफैं व्यवस्थित गर्न सक्छौं भन्ने विश्वास अहिले खस्कँदो छ ।
पुँजीवादलाई बचाउने उपाय पनि निमिट्यान्नै भइसकेका भने छैनन् । तर ती अत्यन्त सीमित हुँदै गएका छन् । नैतिक राज्य (एथिकल स्टेट) को अवधारणालाई पुनर्जागृत गर्नु सर्वोपरि आवश्यकता हो । सावर्जनिक नीतिहरूको व्यावहारिक पुनरावलोकन, निर्वाचित राजनीतिक नेतृत्वको वैधताको सुदृढीकरण र सुसूचित समाजलाई राज्य सञ्चालनको गुरुत्वमा स्थापित गर्नु आवश्यक छ । लेखकले सामाजिक भौतिकवादको अवधारणा प्रस्तुत गरेका छन्, जसले युवा दम्पतीहरूबीच विछोडको जोखिम घटाउने, विद्यालय जाने केटाकेटीहरूलाई अभिमुखीकरण गर्ने र शिक्षालाई वास्तवमै सबैको पहुँचमा पुर्‍याउन आवश्यक छ । त्योभन्दा पनि महत्त्वपूर्ण, क्रमशः असाध्य हुँदै गएको बहुआयामिक ‘डाइभर्जेन्स’लाई उल्ट्याउनु आवश्यक छ । उदाहरणका लागि, कम शिक्षितहरूलाई पनि उनीहरूको जीवन सफल बनाउने उपाय सोचेर त्यसलाई कार्यान्वयन गर्न सकियो भने, पुँजीवादले कम गाली पाउने छ । यसको भविष्य जिउँदै रहनेछ ।
@DrAchyutWagle

प्रकाशित : कार्तिक ३०, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?