कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रोल मोडल रुइत

जीवन क्षत्री

सन् २०१५ को नोभेम्बरमा न्युयोर्क टाइम्स पत्रिकामा एउटा लामो फिचर छापियो  । शीर्षक थियो– ‘इन फाइभ मिनट्स, ही लेट्स द ब्लाइन्ड सी  ।

रोल मोडल रुइत

अर्थात्, जो पाँच मिनटमा अन्धालाई दृष्टि दिन्छन् । उक्त पत्रिकाका यायावर स्तम्भकार निकोलस क्रिस्टोफको त्यो लेखले डा. सन्दुक रुइतलाई संसारका धेरै मानिसबीच चिनायो ।
क्रिस्टोफ आफैं आएर देखेर लेखेको उक्त लेखमा केही झट्ट सुन्दा अविश्वसनीय लाग्ने आँकडा छन् । जस्तै– अमेरिकामा २०० डलर पर्ने लेन्स नेपालमा ३ डलरमा उत्पादन हुन्छ । २५ डलरमा एउटा आँखाको शल्यक्रिया हुन्छ । आधाभन्दा बढीलाई निःशुल्क सेवा छ । शल्यक्रियाको गुणस्तर र सफलता दर अमेरिकाको हाराहारी, खास किसिमको शल्यक्रिया अमेरिकामा भन्दा पनि राम्रो । शल्यक्रियासहितका आँखा शिविर चलाउने मात्रै नभएर आँखा उपचार प्रणालीको नै विकास जसको मोडलमा घाना र इथियोपियामा पनि उस्तै आँखा प्रणाली विकास गरिंदै छ ।
निकोलस क्रिस्टोफले उल्लिखित स्तम्भ लेख्नुभन्दा निकै अघि सन् २००७ मा प्रतिष्ठित ‘अमेरिकन जर्नल अफ अप्थाल्मोलोजी’ मा प्रकाशित डा. रुइतको टिमको शोधमुलक लेखले उनलाई अन्तर्राष्ट्रिय चिकित्सा जगतमा चिनाइसकेको थियो । त्यसको निष्कर्ष थियो, नेपालमा न्युनतम स्रोत साधनका साथ विकट भूगोलमा समेत गरिने मोतियाविन्दुको शल्यक्रिया विधिको सफलता दर पश्चिमा जगत्को अत्याधुनिक विधिकै हाराहारी छ । त्यसअघि २००६ मा रुइतले म्यागासेसे पुरस्कार जितिसकेका थिए । डा. रुइतको कर्मबारे संसारभर अनेक किसिमका चर्चा भएर उनले स्थापना गरेको तिलगंगा आँखा केन्द्रमा अहिले दर्जनौं देशबाट सिक्ने मानिसहरू आउने गर्छन् ।
तर नेपालमा उनी र उनले विकास गरेको उपचार तथा सेवा प्रवाह प्रणालीबारे अचम्मको बेवास्ता र मौनता देखिन्छ । पत्रपत्रिकामा डा रुइतले स्थान पाउनु बेग्लै कुरा तर डा रुइतले तिलगंगामा विकास गरेको मोडलबारे नेपालको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले सबैभन्दा बढी सरोकार राख्नुपर्ने हो । आँखा उपचारमा अमेरिकालाई टक्कर दिने बेला भइसक्दा बाँकी विधाको स्वास्थ्यमा हामी किन यति पछाडि, झन्डै दयनीय अवस्थामा छौं ? आँखाका हरेक भागको विशिष्टीकृत सेवा सुरु भइसक्दा क्यान्सर उपचारका लागि अत्यावश्यक एउटा पीईटी मेसिनको सेवासम्म देशमा अहिले किन छैन ? आँखा उपचारका लागि अहिले बर्सेनि लाखौं मानिस भारतबाट नेपाल आउँदै गर्दा अन्य उपचारमा किन मानिस कुँडुलो लागेर यहीं हुन सक्ने उपचारका लागि पनि भारत गइरहेका छन् ? घाना र इथियोपियाले तिलगंगा मोडलबाट सिक्न सक्छन् भने नेपालको बाँकी विधाको स्वास्थ्य क्षेत्रले किन सिक्न सक्दैन ?
२०४६ सालपछि नेपालमा नागरिक समाजले खेलेको भूमिकाबारे पुस्तक निकाल्न थालेको मार्टिन चौतारीले मलाई यी प्रश्नमा घोत्लिने अवसर जुटाइदियो । कारणः पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रमा नागरिक समाजले खेलेको भूमिकाबारेको अध्याय लेख्ने मेरो जिम्मेवारी थियो । नेपालको आँखा उपचार क्षेत्र झन्डै पूर्ण रूपमा गैर–नाफामूलक संस्थाहरूले चलाएको हुँदा स्वास्थ्य क्षेत्रमा नागरिक समाजले खेलेको योभन्दा राम्रो अर्को भूमिका पाउनु सम्भव थिएन । त्यसैले प्रकाशोन्मुख पुस्तकको मेरो अध्याय नेपालमा आँखा उपचारको क्षेत्रले मारेको फड्कोमा केन्द्रित हुने भयो । त्यही लेखनका क्रममा अलि ग्रिपरले लेखेको डा. रुइतको जीवनीको नेपाली अनुवाद बजारमा आयो । यसरी नेपालमा समग्र आँखा उपचार क्षेत्र विकासको पृष्ठभूमिमा राखेर डा. रुइतको जीवनबारे घोत्लिने अवसर पनि
मलाई जुर्‍यो ।
डा. रुइतलाई संसारले कसरी चिन्छ र उनको खास उत्कृष्टता के हो भन्ने जस्ता प्रश्न अवश्य सान्दर्भिक छन् । तर हाम्रा लागि झनै सान्दर्भिक अर्को प्रश्न छ– नेपाली स्वास्थ्य सेवाप्रवाह प्रणालीको कुन अवस्थामा कसरी उठेर कस्ता जटिलताको सामना गर्दै उनले त्यस्ता उपलब्धि हासिल गरे ? डा. रुइतको नेतृत्वमा खडा भएको तिलगंगा आँखा केन्द्रको सापेक्ष राखेर हेर्दा नेपालको बाँकी स्वास्थ्य सेवा प्रणालीका कस्ता समस्या दृष्टिगोचर हुन्छन् ? त्यसैले ग्रिपरको पुस्तकमा डा. रुइतको जीवनबारेका हरेक कुरा पढ्दा मेरो मस्तिष्कको कुनै कुनामा नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीको दुरूह अवस्था रहिरहेको हुन्थ्यो ।
समग्र अध्ययनको मेरो निचोडचाहिँ यस्तो रह्यो– नेपालमा आँखा उपचार क्षेत्रले बाँकी विधाको स्वास्थ्य सेवाभन्दा फरक मार्ग कोरेको चाहिं डा रुइतले सेवा सुरु गर्नुभन्दा अगाडि नै हो । डा. रामप्रसाद पोखरेलको नेतृत्वमा नेपाल नेत्रज्योति संघले सन् १९८० को दशकको सुरुबाट नेपालको आँखा उपचार क्षेत्रमा नयाँ प्रयोग थालेको थियो । त्यो हो स्वास्थ्य सेवालाई सरकारी संस्थाहरूको गतिविहीनता तथा निजी क्षेत्रको नाफाखोरीबाट टाढै राखेर गैर–नाफामूलक रूपमा चलाउने । जमिनलगायतका सरकारी स्रोत–साधन लिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको पर्याय बनेको सरकारी प्रशासन संयन्त्रबाट टाढै बस्ने । निजी क्षेत्रका धनाढ्यहरूको चल–अचल आर्थिक सहयोग लिने तर बदलामा नाफामूलक व्यवसायको सट्टा परोपकारका लागि इज्जत दिने । विदेशी संस्था र राष्ट्रहरूको सहयोग लिने तर तीप्रति परजीवी बन्नुको सट्टा तिनको सहयोगमा आत्मनिर्भरताको मार्ग बनाउने ।
त्यसैले सेवाकालको आरम्भतिर डा रुइतले हिंडेको पेसागत गोरेटो नेपालका बाँकी विधाका चिकित्सकहरूको भन्दा अलि फराकिलो थियो । अरू रोगका बिरामीले अस्पतालमा आएर पनि सेवा नपाउने समयमा आँखा शिविरहरू गाउँ गाउँ पुगेर बिरामी खोजेर उपचार थाल्नु नेपालमा विकसित हुँदै गरेको गैर–नाफामूलक आँखा उपचार सेवाको उपलब्धि थियो । तर डा रुइतले सन् १९९० को हाराहारी सुरु गरेर सन् १९९४ मा तिलगंगा आँखा केन्द्र स्थापनाबीच जे गरे र तिलगंगाले त्यसपछिको यात्रा जसरी तय गर्‍यो, त्यसले नेपालको सापेक्षतः फराकिलो आँखा उपचारको गोरेटोलाई पश्चिमा देशहरूका स्वास्थ्य प्रणालीसँग तुलनायोग्य राजमार्ग बनाइदिए ।



डा. रुइतले विकसित गरेको उपचार पद्धतिको मात्रात्मकभन्दा गुणात्मक पाटो धेरै महत्त्वपूर्ण थियो । मोतियाविन्दुको शल्यक्रियापछि असुविधाजनक, बाक्ला र गह्रौं चस्माहरूको सट्टा आँखाभित्रै मसिना कृत्रिम लेन्स लगाउने विकसित देशहरूको थिति उनले नेपाल भित्र्याए । त्यसका लागि सुरुमा साथीहरूको सम्पर्कबाट अनुदानमा आउने बाकसका बाकस लेन्स प्रयोग गरे भने तिलगंगा आँखा केन्द्र बनेलगत्तै ती लेन्सको विश्वस्तरको कारखाना नै नेपालमा बनाए । नेपाल नेत्रज्योति संघले नेपालभर आँखा उपचार सेवा पुर्‍याउन र भारतको ठूलो जनसंख्यालाई नेपाल तानेर सेवा दिन सफल भएको थियो भने डा. रुइतले आँखाको परिष्कृत शल्यक्रियासहितको सेवा भारत, भुटान, कम्बोडिया, बर्मा, घाना र इथियोपियाजस्ता मुलुकहरूसम्म पुर्‍याए । जसको अन्यथा उपचार नहुने निश्चित थियो, त्यस्ता बीसौं हजारसम्म पुगे र उनले दृष्टि फर्काए ।
डा. रुइतको त्यो यात्रामा उनको खास व्यक्तित्वको कस्तो भूमिका थियो ? आम चिकित्सकहरूले आफ्नो जीविका मात्रै हेर्ने परिपाटी भएको नेपालमा उनको फरक खालको मूल्य प्रणाली र जीवन दृष्टि कसरी विकसित भयो ? जे नेपालीको प्रयास र नेपालमा भएका स्रोत–साधनबाट असम्भव थिए, कसरी मुलुकबाहिरका व्यक्ति र संस्थाको मद्दतले ती सम्भव भए ? धनाढ्यहरूबीच परोपकारको थिति नबसिसेकको नेपालमा तिलगंगा जत्रो संरचनाका लागि देशभित्रैबाट उल्लेख्य सहयोग कसरी जुट्यो ? धनाढ्य घरानाहरूबीच अचाक्ली महँगा अस्पताल खोलेर नाफा गर्ने होड चलेको नेपालमा तिलगंगा र नेपाल नेत्रज्योति संघअन्तर्गतका आँखा अस्पतालहरूको सफलताको कथा अन्य क्षेत्रमा दोहोरिन सम्भव छ कि छैन ? सम्बन्धित विषयमा शोधरत हुँदा ग्रिपरको पुस्तक पढेकाले डा. रुइतको जीवनबारे लेखिएका पानाहरू पल्टाउँदा मैले यी प्रश्नहरूको जवाफ खोजिरहेको थिएँ ।
डा. रुइतको व्यक्तित्व र मूल्य प्रणाली विकासको यात्रालाई उनी जन्मेको ताप्लेजुङको ओलाङचुगोलादेखि उनको पुर्ख्यौली तिब्बती गाउँ रुथोकसम्म कुशलतासाथ जोडेकी छन् ग्रिपरले पुस्तकमा । वालुङको विकटतम गाउँमा आधारभूत स्वास्थ्य सेवाभन्दा निकै पर ग्रामीण जीवनको त्रासद यथार्थ भोगेर नहुर्केको भए शायद जीवन र आफ्नो पेसाप्रति डा. रुइतको दृष्टिकोण निकै फरक हुने थियो । घरभन्दा निकै पर दार्जिलिङको स्कुले जीवनमा दशक लामो एक्लोपन नभोगेको भए र सानै उमेरमा बहिनी याङलालाई नगुमाएको भए पनि जीवन, जगत् र मानवीय भावनाहरूलाई हेर्ने उनको दृष्टिकोण फरक हुन सक्थ्यो ।
लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीमा एमबीबीएसको पढाइ र भारतकै उत्कृष्ट शिक्षण संस्था दिल्लीस्थित एम्समा आँखा विधामा स्नातकोत्तर त उनको पेसागत जीवनका ठोस खुड्किलाहरू नै थिए । ग्रिपरको लेखनको विशेषताचाहिँ के छ भने अध्ययनकालमा रुइतको जीवनका त्यस्ता पाटाहरू उनले खोतलेकी छन् जुन सजिलैसँग बेवास्ता हुन सक्थे । जस्तो कि एम्समा आँखा विशेषज्ञ बन्दै गर्दा डा. रुइतले पाठ्यक्रमले अनिवार्य गरेकोभन्दा निकै बढी समय र ऊर्जा खर्च गरेर बाँदरहरूको आँखामा शल्यक्रिया गर्दै आफ्नो सीप तिखारेका थिए ।
पुस्तकको अर्को सबल पक्ष भनेको डा. रुइतको सपनालाई भरथेग गरेर विपना बनाउन सघाउने मानिसहरूबारे थोरै शब्दमा धेरै बताउनु हो । आफू अशिक्षित नुन व्यापारी भएर पनि छोराको शिक्षाका लागि हरसम्भव काम गरेका डा. रुइतका मातापिता, उनको प्रेरणाकी स्रोत बहिनी, उनको जीवनलाई स्थिर र प्रेममय बनाउने श्रीमती नन्दा तथा उनको पेसागत सेवालाई सहज बनाउने तिलगंगाको टिमले स्वाभाविक रूपमा पुस्तकमा ठाउँ पाउँछन् । तर फ्रेड हलोज र जेफ्री ट्याबिनजस्ता विदेशी आँखा विशेषज्ञहरू जसले डा. रुइतलाई विदेशबाट आँखाको कृत्रिम लेन्स ल्याउनेदेखि आधुनिक प्रविधि भित्र्याएर नेपालमै कृत्रिम लेन्सको कारखाना खोल्नेसम्मका काममा सघाए, तिनको उचित मूल्यांकन गरेर पुस्तकले हामीलाई ती परोपकारी मानवहरूप्रति कृतज्ञ हुन प्रेरित गरेको छ ।
नेपाल नेत्रज्योति संघले त्यसैगरी देशभर आँखा अस्पतालहरू विस्तार गर्दा विदेशी सीप र पुँजी भित्र्याएर अस्पताल सुरु गर्नेदेखि पहिला १०–१५ वर्ष अस्पतालै चलाएर तिनलाई आत्मनिर्भरताको बाटो हिँडाउनेसम्म जिम्मा त्यस्तै चिकित्सकहरूलाई दिएको थियो । जर्मनीका डा. अल्बर्ट हेनिङ, जापानका डा. इतारु कुरोजुमी, नर्वेका डा. ए. कोल्स्टाड, स्विजरल्यान्डका डा स्मिट, नेदरल्यान्ड्सका डा. जेराल्ड स्मिथ र सं.रा.अमेरिकाका डा ल्यारी ब्रिलियन्टको पनि त्यसैगरी मूल्यांकन गरेर हामी कृतज्ञ हुनु जरुरी छ ।
लेखन र सम्पादन दुवैमा शिल्प खर्चिएको, थोरै शब्दमा धेरै बोल्ने ग्रिपरको पुस्तकले नेपाली साहित्यमा रहेको त्यस्ता पुस्तकको खडेरीलाई झनै खट्काएको छ । अब पुस्तकको नेपाली अनुवादबारे छोटो टिप्पणी गरौं । खगेन्द्र संग्रौलाको मौलिक भाषिक लालित्य पुस्तकमा प्रशस्तै छ । केही अनुवाद गर्न कठिन शब्दहरूको हकमा आफ्नो अनुवाद कर्मको लामो अनुभव उपयोग गर्दै संग्रौलाले सिर्जनशील उपायहरू अपनाएका छन् । जस्तो कि, ‘म्याभरिक्स’ शीर्षक एउटा अध्यायलाई उनले ‘रुढीविरुद्ध डाक्टर’ बनाइदिएका छन् जुन दुरुस्त शब्दान्तर हैन तर अध्यायका लागि एकदमै सुहाउँदो भावानुवाद हो । केही सन्दर्भमा भने भावानुवादभन्दा पनि शब्दानुवाद हुँदा त्यो अलि अमिल्दो हुन पुगेको छ । जस्तो कि, तिलगंगा अस्पताल खुल्ने अध्यायको अंग्रेजी शीर्षक ‘ओपन फर बिजनेस’ को भावानुवाद ‘शुभारम्भ’ वा ‘सेवाको शुभारम्भ’ हुँदा त्यो सहज हुन्थ्यो । तर संग्रौलाले त्यसलाई ‘व्यापारका लागि खुला’ बनाएका छन् जसको अर्थ अलि फरक पनि लाग्न सक्छ । समग्रमा चाहिँ स्कुले बालबालिकादेखि साहित्य पठन भर्खरै सुरु गर्ने मानिसहरूका लागि समेत पुस्तकको भाषा सहज र मीठासपूर्ण छ ।
सारमा, ४ कारणले डा. रुइतको जीवनी सबै वर्गका पाठकहरूका लागि पठनीय छ । पहिलो, पुस्तक पढेपछि कुनै पनि पेसेवर मानिसमा हुर्कंदो समयमा उपयुक्त वा समाजका लागि लाभदायी मूल्य प्रणाली विकसित हुनु कति महत्त्वपूर्ण छ भन्ने बुझिन्छ । आफ्नो कामलाई मानिसले आफूले गर्ने कमाइ र भोग्न सक्ने सुखसुविधाको चस्माले हेर्ने अवस्थाप्रति हामी अभ्यस्त छौं । तर डा. रुइतको जीवनले के देखाउँछ भने जीवनप्रतिको हाम्रो त्यो दृष्टिकोण निर्विकल्प होइन । मेडिकल विद्यार्थीले यो पुस्तक पढेर डा. रुइतबाट थोरै पनि प्रेरित हुने हो भने त्यसले उनीहरूको पेसागत जीवनमा धेरै फरक ल्याउन सक्छ ।
दोस्रो, देश, काल र परिस्थितिका अनेक प्रतिकूलताहरूका कारण समाजलाई खास योगदान गर्न सकिएन भन्ने मानिसहरूलाई यो पुस्तकले एकपल्ट आफ्नो जीवनदृष्टिलाई पुनर्मूल्यांकन गर्न घच्घच्याउँछ । ‘केही असम्भव छैन’ भन्ने कोरा नारा व्यवहारमा उत्र्यो भने केसम्म हुन सक्छ भन्ने डा. रुइतको जीवनले देखाउँछ । तेस्रो, रोल मोडलहरूको खडेरी परेको नेपाली समाजमा खासगरी स्कुले बालबालिका र किशोरकिशोरीहरूको अहिलेको पुस्ताले यो पुस्तकमार्फत आफूले कहिल्यै नदेखेको, नभोगेको र कल्पनासमेत नगरेको संसारमा चियाउन सक्छन् । पुस्तकमा पढ्ने गरेको परोपकार व्यवहारमा यस्तो हुँदोरहेछ भनेर महसुस गर्न सक्छन् । उनीहरूको जीवनप्रतिको दृष्टिकोण विकासमा यो पुस्तकले आधारभूत भिन्नता ल्याउन सक्छ ।
चौथो र सबैभन्दा महत्त्वपूर्ण, नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीले डा. रुइत र तिलगंगा अस्पतालबाट सिक्न सक्ने धेरै कुरा पुस्तकमा छन् । अब पनि तिलगंगा मोडलबाट नसिक्ने हो भने मेरो विचारमा आगामी कैयौं दशकसम्म हामी अपर्याप्त र गतिविहीन सार्वजनिक र अचाक्ली महँगो र नाफाखोरी निर्देशित निजी क्षेत्रको स्वास्थ्य सेवाको चेपबाट निस्कन सक्नेछैनौं ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?