रोल मोडल रुइत

जीवन क्षत्री

सन् २०१५ को नोभेम्बरमा न्युयोर्क टाइम्स पत्रिकामा एउटा लामो फिचर छापियो  । शीर्षक थियो– ‘इन फाइभ मिनट्स, ही लेट्स द ब्लाइन्ड सी  ।

अर्थात्, जो पाँच मिनटमा अन्धालाई दृष्टि दिन्छन् । उक्त पत्रिकाका यायावर स्तम्भकार निकोलस क्रिस्टोफको त्यो लेखले डा. सन्दुक रुइतलाई संसारका धेरै मानिसबीच चिनायो ।
क्रिस्टोफ आफैं आएर देखेर लेखेको उक्त लेखमा केही झट्ट सुन्दा अविश्वसनीय लाग्ने आँकडा छन् । जस्तै– अमेरिकामा २०० डलर पर्ने लेन्स नेपालमा ३ डलरमा उत्पादन हुन्छ । २५ डलरमा एउटा आँखाको शल्यक्रिया हुन्छ । आधाभन्दा बढीलाई निःशुल्क सेवा छ ।शल्यक्रियाको गुणस्तर र सफलता दर अमेरिकाको हाराहारी, खास किसिमको शल्यक्रिया अमेरिकामा भन्दा पनि राम्रो । शल्यक्रियासहितका आँखा शिविर चलाउने मात्रै नभएर आँखा उपचार प्रणालीको नै विकास जसको मोडलमा घाना र इथियोपियामा पनि उस्तै आँखा प्रणाली विकास गरिंदै छ ।
निकोलस क्रिस्टोफले उल्लिखित स्तम्भ लेख्नुभन्दा निकै अघि सन् २००७ मा प्रतिष्ठित‘अमेरिकन जर्नल अफ अप्थाल्मोलोजी’ मा प्रकाशित डा. रुइतको टिमको शोधमुलक लेखले उनलाई अन्तर्राष्ट्रिय चिकित्सा जगतमा चिनाइसकेको थियो । त्यसको निष्कर्ष थियो, नेपालमा न्युनतम स्रोत साधनका साथ विकट भूगोलमा समेत गरिने मोतियाविन्दुको शल्यक्रिया विधिको सफलता दर पश्चिमा जगत्को अत्याधुनिक विधिकै हाराहारी छ । त्यसअघि २००६ मा रुइतले म्यागासेसे पुरस्कार जितिसकेका थिए ।डा. रुइतको कर्मबारे संसारभर अनेक किसिमका चर्चा भएर उनले स्थापना गरेको तिलगंगा आँखा केन्द्रमा अहिले दर्जनौं देशबाट सिक्ने मानिसहरू आउने गर्छन् ।
तर नेपालमा उनी र उनले विकास गरेको उपचार तथा सेवा प्रवाह प्रणालीबारे अचम्मको बेवास्ता र मौनता देखिन्छ । पत्रपत्रिकामा डा रुइतले स्थान पाउनु बेग्लै कुरा तर डा रुइतले तिलगंगामा विकास गरेको मोडलबारे नेपालको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले सबैभन्दा बढी सरोकार राख्नुपर्ने हो । आँखा उपचारमा अमेरिकालाई टक्कर दिने बेला भइसक्दा बाँकी विधाको स्वास्थ्यमा हामी किन यति पछाडि, झन्डै दयनीय अवस्थामा छौं ? आँखाका हरेक भागको विशिष्टीकृत सेवा सुरु भइसक्दा क्यान्सर उपचारका लागि अत्यावश्यक एउटा पीईटी मेसिनको सेवासम्म देशमा अहिले किन छैन ? आँखा उपचारका लागि अहिले बर्सेनि लाखौं मानिस भारतबाट नेपाल आउँदै गर्दा अन्य उपचारमा किन मानिस कुँडुलो लागेर यहीं हुन सक्ने उपचारका लागि पनि भारत गइरहेका छन् ?घाना र इथियोपियाले तिलगंगा मोडलबाट सिक्न सक्छन् भने नेपालको बाँकी विधाको स्वास्थ्य क्षेत्रले किन सिक्न सक्दैन ?
२०४६ सालपछि नेपालमा नागरिक समाजले खेलेको भूमिकाबारे पुस्तक निकाल्न थालेको मार्टिन चौतारीले मलाई यी प्रश्नमा घोत्लिने अवसर जुटाइदियो । कारणः पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रमा नागरिक समाजले खेलेको भूमिकाबारेको अध्याय लेख्ने मेरो जिम्मेवारी थियो । नेपालको आँखा उपचार क्षेत्र झन्डै पूर्ण रूपमा गैर–नाफामूलक संस्थाहरूले चलाएको हुँदा स्वास्थ्य क्षेत्रमा नागरिक समाजले खेलेको योभन्दा राम्रो अर्को भूमिका पाउनु सम्भव थिएन । त्यसैले प्रकाशोन्मुख पुस्तकको मेरो अध्याय नेपालमा आँखा उपचारको क्षेत्रले मारेको फड्कोमा केन्द्रित हुने भयो । त्यही लेखनका क्रममा अलि ग्रिपरले लेखेको डा. रुइतको जीवनीको नेपाली अनुवाद बजारमा आयो ।यसरी नेपालमा समग्र आँखा उपचार क्षेत्र विकासको पृष्ठभूमिमा राखेर डा. रुइतको जीवनबारे घोत्लिने अवसर पनि
मलाई जुर्‍यो ।
डा. रुइतलाई संसारले कसरी चिन्छ र उनको खास उत्कृष्टता के हो भन्ने जस्ता प्रश्न अवश्य सान्दर्भिक छन् । तर हाम्रा लागि झनै सान्दर्भिक अर्को प्रश्न छ– नेपाली स्वास्थ्य सेवाप्रवाह प्रणालीको कुन अवस्थामा कसरी उठेर कस्ता जटिलताको सामना गर्दै उनले त्यस्ता उपलब्धि हासिल गरे ? डा. रुइतको नेतृत्वमा खडा भएको तिलगंगा आँखा केन्द्रको सापेक्ष राखेर हेर्दा नेपालको बाँकी स्वास्थ्य सेवा प्रणालीका कस्ता समस्या दृष्टिगोचर हुन्छन् ?त्यसैले ग्रिपरको पुस्तकमा डा. रुइतको जीवनबारेका हरेक कुरा पढ्दा मेरो मस्तिष्कको कुनै कुनामा नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीको दुरूह अवस्था रहिरहेको हुन्थ्यो ।
समग्र अध्ययनको मेरो निचोडचाहिँ यस्तो रह्यो– नेपालमा आँखा उपचार क्षेत्रले बाँकी विधाको स्वास्थ्य सेवाभन्दा फरक मार्ग कोरेको चाहिं डा रुइतले सेवा सुरु गर्नुभन्दा अगाडि नै हो । डा. रामप्रसाद पोखरेलको नेतृत्वमा नेपाल नेत्रज्योति संघले सन् १९८० को दशकको सुरुबाट नेपालको आँखा उपचार क्षेत्रमा नयाँ प्रयोग थालेको थियो । त्यो हो स्वास्थ्य सेवालाई सरकारी संस्थाहरूको गतिविहीनता तथा निजी क्षेत्रको नाफाखोरीबाट टाढै राखेर गैर–नाफामूलक रूपमा चलाउने । जमिनलगायतका सरकारी स्रोत–साधन लिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको पर्याय बनेको सरकारी प्रशासन संयन्त्रबाट टाढै बस्ने । निजी क्षेत्रका धनाढ्यहरूको चल–अचल आर्थिक सहयोग लिने तर बदलामा नाफामूलक व्यवसायको सट्टा परोपकारका लागि इज्जत दिने । विदेशी संस्था र राष्ट्रहरूको सहयोग लिने तर तीप्रति परजीवी बन्नुको सट्टा तिनको सहयोगमा आत्मनिर्भरताको मार्ग बनाउने ।
त्यसैले सेवाकालको आरम्भतिर डा रुइतले हिंडेको पेसागत गोरेटो नेपालका बाँकी विधाका चिकित्सकहरूको भन्दा अलि फराकिलो थियो । अरू रोगका बिरामीले अस्पतालमा आएर पनि सेवा नपाउने समयमा आँखा शिविरहरू गाउँ गाउँ पुगेर बिरामी खोजेर उपचार थाल्नु नेपालमा विकसित हुँदै गरेको गैर–नाफामूलक आँखा उपचार सेवाको उपलब्धि थियो ।तर डा रुइतले सन् १९९० को हाराहारी सुरु गरेर सन् १९९४ मा तिलगंगा आँखा केन्द्र स्थापनाबीच जे गरे र तिलगंगाले त्यसपछिको यात्रा जसरी तय गर्‍यो, त्यसले नेपालको सापेक्षतः फराकिलो आँखा उपचारको गोरेटोलाई पश्चिमा देशहरूका स्वास्थ्य प्रणालीसँग तुलनायोग्य राजमार्ग बनाइदिए ।



डा. रुइतले विकसित गरेको उपचार पद्धतिको मात्रात्मकभन्दा गुणात्मक पाटो धेरै महत्त्वपूर्ण थियो । मोतियाविन्दुको शल्यक्रियापछि असुविधाजनक, बाक्ला र गह्रौं चस्माहरूको सट्टा आँखाभित्रै मसिना कृत्रिम लेन्स लगाउने विकसित देशहरूको थिति उनले नेपाल भित्र्याए । त्यसका लागि सुरुमा साथीहरूको सम्पर्कबाट अनुदानमा आउने बाकसका बाकस लेन्स प्रयोग गरे भने तिलगंगा आँखा केन्द्र बनेलगत्तै ती लेन्सको विश्वस्तरको कारखाना नै नेपालमा बनाए । नेपाल नेत्रज्योति संघले नेपालभर आँखा उपचार सेवा पुर्‍याउन र भारतको ठूलो जनसंख्यालाई नेपाल तानेर सेवा दिन सफल भएको थियो भने डा. रुइतले आँखाको परिष्कृत शल्यक्रियासहितको सेवा भारत, भुटान, कम्बोडिया, बर्मा, घाना र इथियोपियाजस्ता मुलुकहरूसम्म पुर्‍याए । जसको अन्यथा उपचार नहुने निश्चित थियो, त्यस्ता बीसौं हजारसम्म पुगे र उनले दृष्टि फर्काए ।
डा. रुइतको त्यो यात्रामा उनको खास व्यक्तित्वको कस्तो भूमिका थियो ? आम चिकित्सकहरूले आफ्नो जीविका मात्रै हेर्ने परिपाटी भएको नेपालमा उनको फरक खालको मूल्य प्रणाली र जीवन दृष्टि कसरी विकसित भयो ? जे नेपालीको प्रयास र नेपालमा भएका स्रोत–साधनबाट असम्भव थिए, कसरी मुलुकबाहिरका व्यक्ति र संस्थाको मद्दतले ती सम्भव भए ? धनाढ्यहरूबीच परोपकारको थिति नबसिसेकको नेपालमा तिलगंगा जत्रो संरचनाका लागि देशभित्रैबाट उल्लेख्य सहयोग कसरी जुट्यो ? धनाढ्य घरानाहरूबीच अचाक्ली महँगा अस्पताल खोलेर नाफा गर्ने होड चलेको नेपालमा तिलगंगा र नेपाल नेत्रज्योति संघअन्तर्गतका आँखा अस्पतालहरूको सफलताको कथा अन्य क्षेत्रमा दोहोरिन सम्भव छ कि छैन ? सम्बन्धित विषयमाशोधरत हुँदा ग्रिपरको पुस्तक पढेकाले डा. रुइतको जीवनबारे लेखिएका पानाहरू पल्टाउँदा मैले यी प्रश्नहरूको जवाफ खोजिरहेको थिएँ ।
डा.रुइतको व्यक्तित्व र मूल्य प्रणाली विकासको यात्रालाई उनी जन्मेको ताप्लेजुङको ओलाङचुगोलादेखि उनको पुर्ख्यौली तिब्बती गाउँ रुथोकसम्म कुशलतासाथ जोडेकी छन् ग्रिपरले पुस्तकमा । वालुङको विकटतम गाउँमा आधारभूत स्वास्थ्य सेवाभन्दा निकै पर ग्रामीण जीवनको त्रासद यथार्थ भोगेर नहुर्केको भए शायद जीवन र आफ्नो पेसाप्रति डा. रुइतको दृष्टिकोण निकै फरक हुने थियो । घरभन्दा निकै पर दार्जिलिङको स्कुले जीवनमा दशक लामो एक्लोपन नभोगेको भए र सानै उमेरमा बहिनी याङलालाई नगुमाएको भए पनि जीवन, जगत् र मानवीय भावनाहरूलाई हेर्ने उनको दृष्टिकोण फरक हुन सक्थ्यो ।
लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीमा एमबीबीएसको पढाइ र भारतकै उत्कृष्ट शिक्षण संस्था दिल्लीस्थित एम्समा आँखा विधामा स्नातकोत्तर त उनको पेसागत जीवनका ठोस खुड्किलाहरू नै थिए । ग्रिपरको लेखनको विशेषताचाहिँ के छ भने अध्ययनकालमा रुइतको जीवनका त्यस्ता पाटाहरू उनले खोतलेकी छन् जुन सजिलैसँग बेवास्ता हुन सक्थे । जस्तो कि एम्समा आँखा विशेषज्ञ बन्दै गर्दा डा. रुइतले पाठ्यक्रमले अनिवार्य गरेकोभन्दा निकै बढी समय र ऊर्जा खर्च गरेर बाँदरहरूको आँखामा शल्यक्रिया गर्दै आफ्नो सीप तिखारेका थिए ।
पुस्तकको अर्को सबल पक्ष भनेको डा. रुइतको सपनालाई भरथेग गरेर विपना बनाउन सघाउने मानिसहरूबारे थोरै शब्दमा धेरै बताउनु हो । आफू अशिक्षित नुन व्यापारी भएर पनि छोराको शिक्षाका लागि हरसम्भव काम गरेका डा. रुइतका मातापिता, उनको प्रेरणाकी स्रोत बहिनी, उनको जीवनलाई स्थिर र प्रेममय बनाउने श्रीमती नन्दा तथा उनको पेसागत सेवालाई सहज बनाउने तिलगंगाको टिमले स्वाभाविक रूपमा पुस्तकमा ठाउँ पाउँछन् । तर फ्रेड हलोज र जेफ्री ट्याबिनजस्ता विदेशी आँखा विशेषज्ञहरू जसले डा. रुइतलाई विदेशबाट आँखाको कृत्रिम लेन्स ल्याउनेदेखि आधुनिक प्रविधि भित्र्याएर नेपालमै कृत्रिम लेन्सको कारखाना खोल्नेसम्मका काममा सघाए, तिनको उचित मूल्यांकन गरेर पुस्तकले हामीलाई ती परोपकारी मानवहरूप्रति कृतज्ञ हुन प्रेरित गरेको छ ।
नेपाल नेत्रज्योति संघले त्यसैगरी देशभर आँखा अस्पतालहरू विस्तार गर्दा विदेशी सीप र पुँजी भित्र्याएर अस्पताल सुरु गर्नेदेखि पहिला १०–१५ वर्ष अस्पतालै चलाएर तिनलाई आत्मनिर्भरताको बाटो हिँडाउनेसम्म जिम्मा त्यस्तै चिकित्सकहरूलाई दिएको थियो । जर्मनीका डा. अल्बर्ट हेनिङ, जापानका डा. इतारु कुरोजुमी, नर्वेका डा. ए. कोल्स्टाड, स्विजरल्यान्डका डा स्मिट, नेदरल्यान्ड्सका डा. जेराल्ड स्मिथ र सं.रा.अमेरिकाका डा ल्यारी ब्रिलियन्टको पनि त्यसैगरी मूल्यांकन गरेर हामी कृतज्ञ हुनु जरुरी छ ।
लेखन र सम्पादन दुवैमा शिल्प खर्चिएको, थोरै शब्दमा धेरै बोल्ने ग्रिपरको पुस्तकले नेपाली साहित्यमा रहेको त्यस्ता पुस्तकको खडेरीलाई झनै खट्काएको छ ।अब पुस्तकको नेपाली अनुवादबारे छोटो टिप्पणी गरौं । खगेन्द्र संग्रौलाको मौलिक भाषिक लालित्य पुस्तकमा प्रशस्तै छ । केही अनुवाद गर्न कठिन शब्दहरूको हकमा आफ्नो अनुवाद कर्मको लामो अनुभव उपयोग गर्दै संग्रौलाले सिर्जनशील उपायहरू अपनाएका छन् । जस्तो कि, ‘म्याभरिक्स’ शीर्षक एउटा अध्यायलाई उनले ‘रुढीविरुद्ध डाक्टर’ बनाइदिएका छन् जुन दुरुस्त शब्दान्तर हैन तर अध्यायका लागि एकदमै सुहाउँदो भावानुवाद हो । केही सन्दर्भमा भने भावानुवादभन्दा पनि शब्दानुवाद हुँदा त्यो अलि अमिल्दो हुन पुगेको छ । जस्तो कि, तिलगंगा अस्पताल खुल्ने अध्यायको अंग्रेजी शीर्षक ‘ओपन फर बिजनेस’ को भावानुवाद ‘शुभारम्भ’ वा ‘सेवाको शुभारम्भ’ हुँदा त्यो सहज हुन्थ्यो । तर संग्रौलाले त्यसलाई ‘व्यापारका लागि खुला’ बनाएका छन् जसको अर्थ अलि फरक पनि लाग्न सक्छ । समग्रमा चाहिँ स्कुले बालबालिकादेखि साहित्य पठन भर्खरै सुरु गर्ने मानिसहरूका लागि समेत पुस्तकको भाषा सहज र मीठासपूर्ण छ ।
सारमा, ४ कारणले डा. रुइतको जीवनी सबै वर्गका पाठकहरूका लागि पठनीय छ । पहिलो, पुस्तक पढेपछि कुनै पनि पेसेवर मानिसमा हुर्कंदो समयमा उपयुक्त वा समाजका लागि लाभदायी मूल्य प्रणाली विकसित हुनु कति महत्त्वपूर्ण छ भन्ने बुझिन्छ । आफ्नो कामलाई मानिसले आफूले गर्ने कमाइ र भोग्न सक्ने सुखसुविधाको चस्माले हेर्ने अवस्थाप्रति हामी अभ्यस्त छौं । तर डा. रुइतको जीवनले के देखाउँछ भने जीवनप्रतिको हाम्रो त्यो दृष्टिकोण निर्विकल्प होइन । मेडिकल विद्यार्थीले यो पुस्तक पढेर डा. रुइतबाट थोरै पनि प्रेरित हुने हो भने त्यसले उनीहरूको पेसागत जीवनमा धेरै फरक ल्याउन सक्छ ।
दोस्रो, देश, काल र परिस्थितिका अनेक प्रतिकूलताहरूका कारण समाजलाई खास योगदान गर्न सकिएन भन्ने मानिसहरूलाई यो पुस्तकले एकपल्ट आफ्नो जीवनदृष्टिलाई पुनर्मूल्यांकन गर्न घच्घच्याउँछ । ‘केही असम्भव छैन’ भन्ने कोरा नारा व्यवहारमा उत्र्यो भने केसम्म हुन सक्छ भन्ने डा. रुइतको जीवनले देखाउँछ । तेस्रो, रोल मोडलहरूको खडेरी परेको नेपाली समाजमा खासगरी स्कुले बालबालिका र किशोरकिशोरीहरूको अहिलेको पुस्ताले यो पुस्तकमार्फत आफूले कहिल्यै नदेखेको, नभोगेको र कल्पनासमेत नगरेको संसारमा चियाउन सक्छन् । पुस्तकमा पढ्ने गरेको परोपकार व्यवहारमा यस्तो हुँदोरहेछ भनेर महसुस गर्न सक्छन् । उनीहरूको जीवनप्रतिको दृष्टिकोण विकासमा यो पुस्तकले आधारभूत भिन्नता ल्याउन सक्छ ।
चौथो र सबैभन्दा महत्त्वपूर्ण, नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीले डा. रुइत र तिलगंगा अस्पतालबाट सिक्न सक्ने धेरै कुरा पुस्तकमा छन् । अब पनि तिलगंगा मोडलबाट नसिक्ने हो भने मेरो विचारमा आगामी कैयौं दशकसम्म हामी अपर्याप्त र गतिविहीन सार्वजनिक र अचाक्ली महँगो र नाफाखोरी निर्देशित निजी क्षेत्रको स्वास्थ्य सेवाको चेपबाट निस्कन सक्नेछैनौं ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यमदूतको आत्मसमर्पण

साधना प्रतीक्षा

यमराजको सभाकक्ष, चित्रगुप्तलगायत सबै पार्सद आ–आफ्नो स्थानमा बसेर उत्सुकताका साथ पर्खिरहेका छन्  । आज एउटा अनौठो समस्या आएको छ जुन यसअघि कहिल्यै आएको थिएन  ।

अब यमराजबाट कस्तो निर्णय हुनेहोला भनेर सबैको मनमा केही शंका र केही त्रासको भाव सल्बलाइरहेको छ । गद्दीमा बसेका यमराज यसै पनि भयंकर झन् अहिले आफ्नो एऊटा दूतले गरेको अवज्ञाका कारण अत्यन्त त्रुद्ध देखिएका छन् । अन्य दूतहरू पनि डराइरहेका देखिन्छन् । अपराधीको कठघरामा उभिएको त्यो दूत दुवै हात जोडेर शिर झुकाउँदै थरथरी कामिरहेको छ । उसलाई निश्चित भैसकेको कि ऊ अब यमराजको प्रलयकारी क्रोधाग्निबाट बच्न सक्दैन । त्यसैले उसले आफ्नो सास गनिरहेको छ । महाराज यमराजको आज्ञा उल्लंघन गर्ने दुस्साहस उसले किन गर्‍यो त्यो पनि बिर्सिसकेको छ । उसलाई यति मात्र थाहा छ ऊ कसैलाई लिन मर्त्यलोक गएको थियो तर रित्तो हात फर्केर आएको छ । यमराजले गर्जंदै भने, ‘आजसम्म यो यमराजको आज्ञाको अवज्ञा गर्ने दुस्साहस कसैले गरेको थिएन किनभने यमको आज्ञा सदैव विधिविधानसम्मत हुन्छ । मृत्युलोकमा जसको भोग समाप्त हुन्छ उसलाई मेरो दरबारमा हाजिर हुनुपर्दछ । आज तैंले मिति पुगिसकेकी त्यस स्त्रीलाई यहाँ उपस्थित नगराएर मेरो मात्र होइन विधाताको विधिलाई नै चुनौती दिइस् । तँ भयानक दण्डको भागी छस् तर तँलाई उपयुक्त दण्डको घोषणा गर्नुअघि यस सभासमक्ष म यो जान्न चाहन्छु कि त्यस्तो कुन परिस्थिति आइलाग्यो जसका कारण तैंले यो यमराजको अवज्ञा गरिस् ?’ अब भने त्यो यमदूत घुँडा टेकेर बिन्ती गर्न थाल्यो, ‘प्रभू ! क्षमादानको योग्य छैन म त्यसैले क्षमायाचना गर्न पनि सक्दिनँ । म दण्डको पात्र हुँ । मैले मर्त्यलोकको त्यस घरमा गएर ती युवतीका जुन गतिविधि देखेँ त्यसले द्रवीभूत भएर प्रभूको आज्ञा उल्लंघन गर्न पुगें ।’ यमरज झनै गर्जिएर बोले, ‘लौ भन् त्यहाँ के देखिस् तैंले ? के गर्दिरहिछ त्यो स्त्री ? अनि किन छोडर आइस् त्यसलाई ?’ महाराज यमराजको क्रोधका कारण काम्दै गरेको यमदूतले आफ्नो अनुभव सुनाउँदै गर्दा त्यहाँको ठूलो पर्दामा मर्त्यलोकको परिवेश चित्रित हुन थाल्यो ।
सहरबीचको सानो घर, एउटा कोठाको खाटमा एक वृद्धा पल्टिरहेकी छ । अर्को, सायद भान्सा होला, चालीसको हाराहारीकी युवती काम गरिरहेकी छ । मध्यमवर्गीय परिवारकी उसलाई निकै हतार भएको देखिन्छ । छिटोछिटो काम सकेर ऊ अर्को कोठामा पस्छे । अस्तव्यस्त कोठा एकै छिनमा मिलाएर ऊ पुनः अर्को कोठामा छिर्छे । कोठाभरि किताबैकिताब हुन्छन् । किताबैले भरिएको टेबुलमा लेख्दालेख्दै छाडेको कागज थियो । त्यहीं कुर्सीमा बसेर उसले लेखनलाई निरन्तरता दिने प्रयास गर्छे । ‘ओहो ! यसलाई आजै पूरा गर्नुपर्ने ।’ मनमनै भनेर भित्ताको घडीमा आँखा पुर्‍याउँछे ‘ओहो ! १२ बज्न लागेछ । कक्षामा पनि त जानु छ । ठीकै छ पाठको तयारी त छँदै छ, बरु यसैलाई पूरा गर्छु ।’ उसले कलम चलाउन सक्दिन । कसैको उपस्थितिको आभास हुन्छ । यताउति आँखा डुलाउछे, कता–कता भित्तामा कालो छायाजस्तो देख्छे । अलि सशंकित भएर बोल्छे, ‘को छ त्यहाँ ?’ त्यो कालो छायाजस्तो आकृति दृढ भएर बोल्यो, ‘म यमदूत । तिमीलाई लिन आएको । तिम्रो आयु सकिंदै छ । अबको केही मिनेट मात्र तिमी यस लोकमा बस्न पाउँछ्यौ ।’ पलभरका लागि युवती स्तब्ध भई अनि अलि आत्तिँदै बोली, ‘यति चाँडै ! मेरो उमेरै... ओहो !
मैले कति गर्न बाँकी छ, अहिल्यै कसरी जान सक्छु ? होइन, होइन यो मेरो भ्रम मात्र हो ।’ ऊ पुनः आफ्नो काममा लाग्न खोजी तर यमदूत नजिकै आएर बोल्यो, ‘भ्रम होइन, यो सत्य हो । यता हेर म तिमीलाई आफ्नो प्रस्ट स्वरूप देखाइदिन्छु ।’ युवतीले हेर्दा अजंगको यमदूत उभिएको देखी । उसले हातमा लिएको एउटा घडीजस्तो यन्त्र देखाउँदै भन्यो, ‘यता हेर, यसमा तिम्रो आयु तोकिएको छ । अब केही पला मात्र...।’ अब भने युवतीलाई पत्यार नगरी सुखै भएन । उसले यमदूतसँग बिन्ती गर्न थाली, ‘हे यमदूत π म तपाईंसँग जान राजी छु तर दया गरेर मलाई केही समय दिनुहोस् । केही जरुरी काम गर्नु छ । यदि मैले त्यसो गरिन भने धेरैलाई नराम्रो असर पर्छ । बिन्ती... !’ यमदूतलाई त्यस्तो बिन्तीले के छुन्थ्यो ? ऊ गर्जज थाल्यो, ‘यमदूतका अघि बिन्ती ? मिति पुगेपछि आजसम्म के यहाँ कसैले बस्न पाएको छ र ? ढिपी नगरीकन हिंड खुरुक्क ।’ उसले युवतीलाई समात्न मात्र के लागेको थियो अर्को कोठाबाट वृद्धाको जीर्ण स्वर सुनियो,
‘दुलही ! पानी लेऊ न, अलि गाह्रो हुन थाल्यो ।’ उसले, ‘ऊ हेर्नुस् बिरामी सासूले बेलाउँदै हुनुहुन्छ । म पानी दिएर आइहाल्छु’ भनी र त्यहाँबाट हिंडी । अलि शान्त भएजस्तो यमदूत पनि अदृश्य रूपमा उसलाई पछ्याउँदै त्यहीँ पुग्यो । युवतीले सासूलाई औषधि खुवाएर सुम्सुम्याउँदै सुताई अनि पुनः त्यही कोठामा आई ।
यमदूत बोल्यो, ‘ल अब त हिंड ।’ युवतीले भनी, ‘हुन्छ, तर बिन्ती ! केही बेर पर्खनोस् । सासूआमा भर्खर सुत्नुभएको छ, औषधिको असर सकिएपछि पुनः पीडाले छट्पटाउनुहुनेछ र पनि औषधि दिने कोही हुनेछैनन् ।
उहाँलाई अर्को डोज औषधि दिएपछि जाऔँला । त्यसको असर सकिँदासम्म त अरू पनि आइहाल्छन् ।’ यमदूतलाई यसरी पर्खाउने साहस आजसम्म कसैले गरेको थिएन, त्यसैले उसलाई के गरूँ के गरूँजस्तो लाग्यो । ऊ केही बोल्न सकेन । उसको मौनतालाई युवतीले स्वीकृति सम्झी अनि विनम्र भएर बोली, ‘यता सजिलोसँग बस्नुस् न ।’ सोफातिर इसारा गरेर ऊ पुनः बोली, ‘मेरो हातको एक कप चिया पिउनुहोस् । म अहिल्यै ल्याइहाल्छु ।’ एकै छिनमा चिया लिएर आएकी उसले यमदूतका सामु कप राख्दै भन्न थाली, ‘श्रीमान्लाई अचार नभई हँदैन । म नभएपछि कसले बनाइदेला ? एक–दुई सिसा अचार हाल्छु भनेर तयार पार्दैथिएँ... म तुरुन्तै त्यो बनाएर आइहाल्छु नि ।’ जवाफको प्रतीक्षा नै नगरी ऊ निस्की । यमदूत अक्क न बक्क भयो । युवती बाहिरिइसकेकी थिई । केही बेरमा ऊ पसिना पुछ्दै आइपुगी । यमदूत अलि रिसाएको पारमा बोल्यो,
‘हेर आजसम्म मैले कसैलाई पर्खेर यसरी विलम्ब गरेको थिइनँ । अब खुरुक्क हिंड, अन्यथा उठाएर लैजान्छु...।’ उसको भनाइ नटुङ्गिँदै युवती आत्तिएर बोली, ‘त्यसो नगर्नुस् बिन्ती π मलाई जानु त छँदै छ, म गैहाल्छु केवल सासूआमाको औषधि... उहाँ पीडाले छटपटाउनुभएको मैले मात्र होइन तपाईंले पनि सहन सक्नुहुन्न ।’ यमदूतको मौनता देखेर ऊ पुनः आशावादी भएर बोली, ‘त्यतिन्जेल म यो शोधपत्र स्वीकृतिका लागि सिफारिस गरिदिन्छु । बिचरी ! त्यो छात्रा दुईजीउकी अझ, भरेभोलिको अवस्थामा छ । भाइभा सकेर अस्पताल जान पाए हुन्थ्यो म्याम भन्दै आँखाभरि आँसु बनाउँदै थिई । उसलाई यो लगेर बुझाउन भनी फोन गरिदिन्छु ।’
कागजमा सही गरेर फोन गरिसकेपछि ऊ ल्यापटप उठाउँदै बोल्छे, ‘तपाईंलाई त थाहै छ नि कसैको केही खाएर मर्नु हुँदैन । एउटा परियोजना प्रस्तावका लागि अग्रिम पैसा लिइसकेकी छु । सायद मासिइ पनि सक्यो । काम थोरै मात्र बाँकी छ, केवल निष्कर्ष । त्यसैले यसलाई पनि पूरा गरेर पठाइहाल्छु है ?’ यमदूतले यस्तो परिस्थितिको सामना कहिल्यै गरेको थिएन, फेरि उसलाई कसैले सुनाएको थियो, ‘कलियुगका आइमाई मापाका हुन्छन्’ भनेर । त्यसैले उसलाई यी आइमाई कस्ता हुँदा रैछन् त भनेर हेर्न मन लाग्यो । ‘जे पर्ला पर्ला आज यसको चर्तिकला हेरेरै छाड्छु’ भन्ने सोचेर ऊ चुप लाग्यो । युवती भने हौसिँदै आफ्ना अधुरा काम पूरा गर्न थाली । अचानक केही सम्झेझैं ऊ बोली, ‘ओहो π मेसिनमा लुगा धुन राखेकी भुसुक्कै बिर्सेछु । केटाकेटीका न्याना लुगा सुकाइहाल्नुपर्ने...।’ भन्दै फुत्त निस्की अनि केही बेरमा स्याँ स्याँ गर्दै आइपुगी । ‘कलेज त अब जाने कुरै भएन, विद्यार्थीहरू कुरेका कुर्‍यै हुने भए । अँ, उनीहरूको आन्तरिक मूल्यांकनको नम्बर चढाउन बाँकी छ त्यो गरिहाल्छु’ भन्दै उसले एउटा फाइल पल्टाउन लागी । त्यसपछि फेरि केही सम्झेर बोली, ‘एउटा किताब तयार भैसकेको छ । अन्तिम प्रुफ हेर्न ल्याएकी थिएँ, मेल गरेर पठाइहाल्छु नि ।’ हस्याङफस्याङ गर्दै काममा लागेकी उसको मोबाइलको घण्टी बज्छ । छोटो कुराकानीपश्चात् यमदूतको नजिक आएर भन्छे, ‘साथीको बच्चा सिकिस्त भएर अस्पताल लगेकी छ रे । उसलाई तत्काल केही पैसा चाहिएछ, तल बस्ने भाइमार्फत उसलाई पैसा पठाइदिन्छु नि π बिचरीको त्यही एउटा बच्चा... श्रीमान् पनि पोहोर साल दुर्घटनामा परेर...।’ वाक्य पूरा नगर्दै हावाको वेगमा बाहिरिई ऊ ।
एकै छिनमा आइपुगेकी उसले भित्ताको घडीमा आँखा लगाउँदै भनी, ‘अब आधा घण्टा मात्र बाँकी छ, त्यसपछि त... !’ अलि निराश र पीडामिश्रित भावमा बोली, ‘केटाकेटी आउनासाथ खाजा खान खोज्छन्, यसो बनाइहाल्छु नि ।’ ऊ भान्सातिर दौडी । यमदूतको छाया पनि उसको पछिपछि लाग्यो । भान्सामा खाजा बनाउँदै उसले बरबरी आँसु झारी र बोली, ‘आमाको हातको अन्तिम खाजा हो यो । अब तिमीहरूलाई... !’ सिक्रीमा बाँधेको सानो कुकुरलाई सुम्सुम्याउँदै खाने कुरा दिई । कौसीमा ढकमक्क फुलेका फूल हेरी मनमनै ‘ओहो π पानी त सुकेछ’ भन्दै पानी हाल्न थाली । ‘थाहा छैन अब तिमीहरूलाई पानी दिने कोही होला कि नहोला !’ गुलाफको फक्रनै लागेको कोपिला गालामा टाँसेर माया गरी । यमदूतको छायाको अनुभव भैरहेको हुनाले सोधी, “एकफेरा आमासँग कुरा गर्छु नि ! अस्ति फोनमा ‘दसैंमा त आउली नि नानी π कस्तो देख्न मन लागेको छ, म डाँडामाथिको घाम’ भन्दै थिइन् असी नाघेकी मेरी आमाले ।”
आमासँग कुरा गर्दा उसले आफूलाई यति संयमित गरी कि यमदूत चकित भयो । हाँसीहाँसी कुरा गरी । आमाको कुशलमंगल सोध्दै उनलाई चिन्ता नगरी नियमित औषधि सेवन गर्न सुझाव दिई । फुर्सद मिलाएर आफू भेट्न आउने आश्वासन दिन पनि बाँकी राखिन । फोन बन्द गरेपछि सप्कोले मुख छोपेर पीडा ओकल्दै थिई सासूको ऐया ऐयाको कहर सुनेर त्यतैतिर हानिई । यमदूतको छायाले पछ्याएकै थियो । सासूलाई औषधिका साथ दूध, फलफूल आदि खान दिई । उनको छरपस्टिएको कपाल समेटेर बाटिदिई । हातगोडा मुसारिदिई अनि बिस्तारै सुताएर ओढ्ने मिलाइदिई । थाहा नपाउने गरी गोडा ढोगेर मनमनै भनी, ‘आमा अब तिमीले दुःख पाउछ्यौ कि ?’ तत्कालै भान्सामा पुगी ‘ओहो ! केही सामान सकिएका छन् । अर्डर गरिहाल्छु’ भन्दै फोन गरी । ‘ए ! उहाँले एउटा जरुरी फाइल खोजिदिनु भन्नुभएको थियो, खोजेर आइहाल्छु ।’ भन्दै यन्त्रवत् आफ्नो कोठामा पुगेर पतिको तस्बिर हेर्दे केही वि≈वल बनी र पनि गर्न आएको काम तत्कालै सम्पन्न गरी ।
‘ओहो π मैले मलाई यहाँसम्मको योग्य बनाउने गुरुलाई कसरी बिर्सन सक्छु र ? यसो एउटा म्यासेज लेखिहाल्छु है ?’ भनेर मोबाइल चलाउन थाली । ‘अब एउटा अन्तिम काम मात्र बाँकी छ । त्यसपछि त म गैहाल्छु । अँ छोरो त अलि ठूलो छ बुझिहाल्ला । छोरी सानै छ । स्कुलबाट फर्कंदा बाहिरैबाट मलाई बोलाउँदै आउँछे । मलाई देखिन भने विचलित हुन्छे । एकफेरा उसलाई माया गरेर सुम्सुम्याएर आउँछु नि !’ हानिँदै केटाकेटीको कोठामा पसेकी उसले छोरीले बिहान फुकालेर गएका लुगा छातीमा च्यापी, म्वाई खाई, ऊ सुतेको ओछ्यान सुँघी अनि उसको ठूलो फोटो समातेर भनी, ‘छोरी, मलाई थाहा छ आज पनि तिमी बाहिरबाटै मलाई बोलाउँदै आउनेछौ तर... अब तिमीले सम्हालिनैपर्छ छोरी । यही सम्झ है म यहीँ कतै सदा तिम्रै साथ हुनेछु ।’ आँखाबाट बलिन्द्रधारा आँसु झार्दै छोरीको फोटो यथास्थानमा राखेर यमदूतसमक्ष बोली, ‘ल अब गैहालौं । अलिबेरमा छोरी आइपुग्छे । त्यसपछि उसले मलाई छाड्नेछैन । छिटो लैजानुस् मलाई !’
यमराजको उही सभा, आफ्नो कथा सुनाएर यमदूतले बिन्ती गर्‍यो, ‘प्रभु π मैले त्यो आमालाई त्यहीँ छाडी आएँ । मलाई जस्तो दण्ड बक्सन्छ शिरोपर छ ।’ यमराजको हातको विशाल गदा अचानक भुइँमा खस्छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×