१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यमदूतको आत्मसमर्पण

साधना प्रतीक्षा

यमराजको सभाकक्ष, चित्रगुप्तलगायत सबै पार्सद आ–आफ्नो स्थानमा बसेर उत्सुकताका साथ पर्खिरहेका छन्  । आज एउटा अनौठो समस्या आएको छ जुन यसअघि कहिल्यै आएको थिएन  ।

यमदूतको आत्मसमर्पण

अब यमराजबाट कस्तो निर्णय हुनेहोला भनेर सबैको मनमा केही शंका र केही त्रासको भाव सल्बलाइरहेको छ । गद्दीमा बसेका यमराज यसै पनि भयंकर झन् अहिले आफ्नो एऊटा दूतले गरेको अवज्ञाका कारण अत्यन्त त्रुद्ध देखिएका छन् । अन्य दूतहरू पनि डराइरहेका देखिन्छन् । अपराधीको कठघरामा उभिएको त्यो दूत दुवै हात जोडेर शिर झुकाउँदै थरथरी कामिरहेको छ । उसलाई निश्चित भैसकेको कि ऊ अब यमराजको प्रलयकारी क्रोधाग्निबाट बच्न सक्दैन । त्यसैले उसले आफ्नो सास गनिरहेको छ । महाराज यमराजको आज्ञा उल्लंघन गर्ने दुस्साहस उसले किन गर्‍यो त्यो पनि बिर्सिसकेको छ । उसलाई यति मात्र थाहा छ ऊ कसैलाई लिन मर्त्यलोक गएको थियो तर रित्तो हात फर्केर आएको छ । यमराजले गर्जंदै भने, ‘आजसम्म यो यमराजको आज्ञाको अवज्ञा गर्ने दुस्साहस कसैले गरेको थिएन किनभने यमको आज्ञा सदैव विधिविधानसम्मत हुन्छ । मृत्युलोकमा जसको भोग समाप्त हुन्छ उसलाई मेरो दरबारमा हाजिर हुनुपर्दछ । आज तैंले मिति पुगिसकेकी त्यस स्त्रीलाई यहाँ उपस्थित नगराएर मेरो मात्र होइन विधाताको विधिलाई नै चुनौती दिइस् । तँ भयानक दण्डको भागी छस् तर तँलाई उपयुक्त दण्डको घोषणा गर्नुअघि यस सभासमक्ष म यो जान्न चाहन्छु कि त्यस्तो कुन परिस्थिति आइलाग्यो जसका कारण तैंले यो यमराजको अवज्ञा गरिस् ?’ अब भने त्यो यमदूत घुँडा टेकेर बिन्ती गर्न थाल्यो, ‘प्रभू ! क्षमादानको योग्य छैन म त्यसैले क्षमायाचना गर्न पनि सक्दिनँ । म दण्डको पात्र हुँ । मैले मर्त्यलोकको त्यस घरमा गएर ती युवतीका जुन गतिविधि देखेँ त्यसले द्रवीभूत भएर प्रभूको आज्ञा उल्लंघन गर्न पुगें ।’ यमरज झनै गर्जिएर बोले, ‘लौ भन् त्यहाँ के देखिस् तैंले ? के गर्दिरहिछ त्यो स्त्री ? अनि किन छोडर आइस् त्यसलाई ?’ महाराज यमराजको क्रोधका कारण काम्दै गरेको यमदूतले आफ्नो अनुभव सुनाउँदै गर्दा त्यहाँको ठूलो पर्दामा मर्त्यलोकको परिवेश चित्रित हुन थाल्यो ।
सहरबीचको सानो घर, एउटा कोठाको खाटमा एक वृद्धा पल्टिरहेकी छ । अर्को, सायद भान्सा होला, चालीसको हाराहारीकी युवती काम गरिरहेकी छ । मध्यमवर्गीय परिवारकी उसलाई निकै हतार भएको देखिन्छ । छिटोछिटो काम सकेर ऊ अर्को कोठामा पस्छे । अस्तव्यस्त कोठा एकै छिनमा मिलाएर ऊ पुनः अर्को कोठामा छिर्छे । कोठाभरि किताबैकिताब हुन्छन् । किताबैले भरिएको टेबुलमा लेख्दालेख्दै छाडेको कागज थियो । त्यहीं कुर्सीमा बसेर उसले लेखनलाई निरन्तरता दिने प्रयास गर्छे । ‘ओहो ! यसलाई आजै पूरा गर्नुपर्ने ।’ मनमनै भनेर भित्ताको घडीमा आँखा पुर्‍याउँछे ‘ओहो ! १२ बज्न लागेछ । कक्षामा पनि त जानु छ । ठीकै छ पाठको तयारी त छँदै छ, बरु यसैलाई पूरा गर्छु ।’ उसले कलम चलाउन सक्दिन । कसैको उपस्थितिको आभास हुन्छ । यताउति आँखा डुलाउछे, कता–कता भित्तामा कालो छायाजस्तो देख्छे । अलि सशंकित भएर बोल्छे, ‘को छ त्यहाँ ?’ त्यो कालो छायाजस्तो आकृति दृढ भएर बोल्यो, ‘म यमदूत । तिमीलाई लिन आएको । तिम्रो आयु सकिंदै छ । अबको केही मिनेट मात्र तिमी यस लोकमा बस्न पाउँछ्यौ ।’ पलभरका लागि युवती स्तब्ध भई अनि अलि आत्तिँदै बोली, ‘यति चाँडै ! मेरो उमेरै... ओहो !
मैले कति गर्न बाँकी छ, अहिल्यै कसरी जान सक्छु ? होइन, होइन यो मेरो भ्रम मात्र हो ।’ ऊ पुनः आफ्नो काममा लाग्न खोजी तर यमदूत नजिकै आएर बोल्यो, ‘भ्रम होइन, यो सत्य हो । यता हेर म तिमीलाई आफ्नो प्रस्ट स्वरूप देखाइदिन्छु ।’ युवतीले हेर्दा अजंगको यमदूत उभिएको देखी । उसले हातमा लिएको एउटा घडीजस्तो यन्त्र देखाउँदै भन्यो, ‘यता हेर, यसमा तिम्रो आयु तोकिएको छ । अब केही पला मात्र...।’ अब भने युवतीलाई पत्यार नगरी सुखै भएन । उसले यमदूतसँग बिन्ती गर्न थाली, ‘हे यमदूत π म तपाईंसँग जान राजी छु तर दया गरेर मलाई केही समय दिनुहोस् । केही जरुरी काम गर्नु छ । यदि मैले त्यसो गरिन भने धेरैलाई नराम्रो असर पर्छ । बिन्ती... !’ यमदूतलाई त्यस्तो बिन्तीले के छुन्थ्यो ? ऊ गर्जज थाल्यो, ‘यमदूतका अघि बिन्ती ? मिति पुगेपछि आजसम्म के यहाँ कसैले बस्न पाएको छ र ? ढिपी नगरीकन हिंड खुरुक्क ।’ उसले युवतीलाई समात्न मात्र के लागेको थियो अर्को कोठाबाट वृद्धाको जीर्ण स्वर सुनियो,
‘दुलही ! पानी लेऊ न, अलि गाह्रो हुन थाल्यो ।’ उसले, ‘ऊ हेर्नुस् बिरामी सासूले बेलाउँदै हुनुहुन्छ । म पानी दिएर आइहाल्छु’ भनी र त्यहाँबाट हिंडी । अलि शान्त भएजस्तो यमदूत पनि अदृश्य रूपमा उसलाई पछ्याउँदै त्यहीँ पुग्यो । युवतीले सासूलाई औषधि खुवाएर सुम्सुम्याउँदै सुताई अनि पुनः त्यही कोठामा आई ।
यमदूत बोल्यो, ‘ल अब त हिंड ।’ युवतीले भनी, ‘हुन्छ, तर बिन्ती ! केही बेर पर्खनोस् । सासूआमा भर्खर सुत्नुभएको छ, औषधिको असर सकिएपछि पुनः पीडाले छट्पटाउनुहुनेछ र पनि औषधि दिने कोही हुनेछैनन् ।
उहाँलाई अर्को डोज औषधि दिएपछि जाऔँला । त्यसको असर सकिँदासम्म त अरू पनि आइहाल्छन् ।’ यमदूतलाई यसरी पर्खाउने साहस आजसम्म कसैले गरेको थिएन, त्यसैले उसलाई के गरूँ के गरूँजस्तो लाग्यो । ऊ केही बोल्न सकेन । उसको मौनतालाई युवतीले स्वीकृति सम्झी अनि विनम्र भएर बोली, ‘यता सजिलोसँग बस्नुस् न ।’ सोफातिर इसारा गरेर ऊ पुनः बोली, ‘मेरो हातको एक कप चिया पिउनुहोस् । म अहिल्यै ल्याइहाल्छु ।’ एकै छिनमा चिया लिएर आएकी उसले यमदूतका सामु कप राख्दै भन्न थाली, ‘श्रीमान्लाई अचार नभई हँदैन । म नभएपछि कसले बनाइदेला ? एक–दुई सिसा अचार हाल्छु भनेर तयार पार्दैथिएँ... म तुरुन्तै त्यो बनाएर आइहाल्छु नि ।’ जवाफको प्रतीक्षा नै नगरी ऊ निस्की । यमदूत अक्क न बक्क भयो । युवती बाहिरिइसकेकी थिई । केही बेरमा ऊ पसिना पुछ्दै आइपुगी । यमदूत अलि रिसाएको पारमा बोल्यो,
‘हेर आजसम्म मैले कसैलाई पर्खेर यसरी विलम्ब गरेको थिइनँ । अब खुरुक्क हिंड, अन्यथा उठाएर लैजान्छु... ।’ उसको भनाइ नटुङ्गिँदै युवती आत्तिएर बोली, ‘त्यसो नगर्नुस् बिन्ती π मलाई जानु त छँदै छ, म गैहाल्छु केवल सासूआमाको औषधि... उहाँ पीडाले छटपटाउनुभएको मैले मात्र होइन तपाईंले पनि सहन सक्नुहुन्न ।’ यमदूतको मौनता देखेर ऊ पुनः आशावादी भएर बोली, ‘त्यतिन्जेल म यो शोधपत्र स्वीकृतिका लागि सिफारिस गरिदिन्छु । बिचरी ! त्यो छात्रा दुईजीउकी अझ, भरेभोलिको अवस्थामा छ । भाइभा सकेर अस्पताल जान पाए हुन्थ्यो म्याम भन्दै आँखाभरि आँसु बनाउँदै थिई । उसलाई यो लगेर बुझाउन भनी फोन गरिदिन्छु ।’
कागजमा सही गरेर फोन गरिसकेपछि ऊ ल्यापटप उठाउँदै बोल्छे, ‘तपाईंलाई त थाहै छ नि कसैको केही खाएर मर्नु हुँदैन । एउटा परियोजना प्रस्तावका लागि अग्रिम पैसा लिइसकेकी छु । सायद मासिइ पनि सक्यो । काम थोरै मात्र बाँकी छ, केवल निष्कर्ष । त्यसैले यसलाई पनि पूरा गरेर पठाइहाल्छु है ?’ यमदूतले यस्तो परिस्थितिको सामना कहिल्यै गरेको थिएन, फेरि उसलाई कसैले सुनाएको थियो, ‘कलियुगका आइमाई मापाका हुन्छन्’ भनेर । त्यसैले उसलाई यी आइमाई कस्ता हुँदा रैछन् त भनेर हेर्न मन लाग्यो । ‘जे पर्ला पर्ला आज यसको चर्तिकला हेरेरै छाड्छु’ भन्ने सोचेर ऊ चुप लाग्यो । युवती भने हौसिँदै आफ्ना अधुरा काम पूरा गर्न थाली । अचानक केही सम्झेझैं ऊ बोली, ‘ओहो π मेसिनमा लुगा धुन राखेकी भुसुक्कै बिर्सेछु । केटाकेटीका न्याना लुगा सुकाइहाल्नुपर्ने... ।’ भन्दै फुत्त निस्की अनि केही बेरमा स्याँ स्याँ गर्दै आइपुगी । ‘कलेज त अब जाने कुरै भएन, विद्यार्थीहरू कुरेका कुर्‍यै हुने भए । अँ, उनीहरूको आन्तरिक मूल्यांकनको नम्बर चढाउन बाँकी छ त्यो गरिहाल्छु’ भन्दै उसले एउटा फाइल पल्टाउन लागी । त्यसपछि फेरि केही सम्झेर बोली, ‘एउटा किताब तयार भैसकेको छ । अन्तिम प्रुफ हेर्न ल्याएकी थिएँ, मेल गरेर पठाइहाल्छु नि ।’ हस्याङफस्याङ गर्दै काममा लागेकी उसको मोबाइलको घण्टी बज्छ । छोटो कुराकानीपश्चात् यमदूतको नजिक आएर भन्छे, ‘साथीको बच्चा सिकिस्त भएर अस्पताल लगेकी छ रे । उसलाई तत्काल केही पैसा चाहिएछ, तल बस्ने भाइमार्फत उसलाई पैसा पठाइदिन्छु नि π बिचरीको त्यही एउटा बच्चा... श्रीमान् पनि पोहोर साल दुर्घटनामा परेर... ।’ वाक्य पूरा नगर्दै हावाको वेगमा बाहिरिई ऊ ।
एकै छिनमा आइपुगेकी उसले भित्ताको घडीमा आँखा लगाउँदै भनी, ‘अब आधा घण्टा मात्र बाँकी छ, त्यसपछि त... !’ अलि निराश र पीडामिश्रित भावमा बोली, ‘केटाकेटी आउनासाथ खाजा खान खोज्छन्, यसो बनाइहाल्छु नि ।’ ऊ भान्सातिर दौडी । यमदूतको छाया पनि उसको पछिपछि लाग्यो । भान्सामा खाजा बनाउँदै उसले बरबरी आँसु झारी र बोली, ‘आमाको हातको अन्तिम खाजा हो यो । अब तिमीहरूलाई... !’ सिक्रीमा बाँधेको सानो कुकुरलाई सुम्सुम्याउँदै खाने कुरा दिई । कौसीमा ढकमक्क फुलेका फूल हेरी मनमनै ‘ओहो π पानी त सुकेछ’ भन्दै पानी हाल्न थाली । ‘थाहा छैन अब तिमीहरूलाई पानी दिने कोही होला कि नहोला !’ गुलाफको फक्रनै लागेको कोपिला गालामा टाँसेर माया गरी । यमदूतको छायाको अनुभव भैरहेको हुनाले सोधी, “एकफेरा आमासँग कुरा गर्छु नि ! अस्ति फोनमा ‘दसैंमा त आउली नि नानी π कस्तो देख्न मन लागेको छ, म डाँडामाथिको घाम’ भन्दै थिइन् असी नाघेकी मेरी आमाले ।”
आमासँग कुरा गर्दा उसले आफूलाई यति संयमित गरी कि यमदूत चकित भयो । हाँसीहाँसी कुरा गरी । आमाको कुशलमंगल सोध्दै उनलाई चिन्ता नगरी नियमित औषधि सेवन गर्न सुझाव दिई । फुर्सद मिलाएर आफू भेट्न आउने आश्वासन दिन पनि बाँकी राखिन । फोन बन्द गरेपछि सप्कोले मुख छोपेर पीडा ओकल्दै थिई सासूको ऐया ऐयाको कहर सुनेर त्यतैतिर हानिई । यमदूतको छायाले पछ्याएकै थियो । सासूलाई औषधिका साथ दूध, फलफूल आदि खान दिई । उनको छरपस्टिएको कपाल समेटेर बाटिदिई । हातगोडा मुसारिदिई अनि बिस्तारै सुताएर ओढ्ने मिलाइदिई । थाहा नपाउने गरी गोडा ढोगेर मनमनै भनी, ‘आमा अब तिमीले दुःख पाउछ्यौ कि ?’ तत्कालै भान्सामा पुगी ‘ओहो ! केही सामान सकिएका छन् । अर्डर गरिहाल्छु’ भन्दै फोन गरी । ‘ए ! उहाँले एउटा जरुरी फाइल खोजिदिनु भन्नुभएको थियो, खोजेर आइहाल्छु ।’ भन्दै यन्त्रवत् आफ्नो कोठामा पुगेर पतिको तस्बिर हेर्दे केही वि≈वल बनी र पनि गर्न आएको काम तत्कालै सम्पन्न गरी ।
‘ओहो π मैले मलाई यहाँसम्मको योग्य बनाउने गुरुलाई कसरी बिर्सन सक्छु र ? यसो एउटा म्यासेज लेखिहाल्छु है ?’ भनेर मोबाइल चलाउन थाली । ‘अब एउटा अन्तिम काम मात्र बाँकी छ । त्यसपछि त म गैहाल्छु । अँ छोरो त अलि ठूलो छ बुझिहाल्ला । छोरी सानै छ । स्कुलबाट फर्कंदा बाहिरैबाट मलाई बोलाउँदै आउँछे । मलाई देखिन भने विचलित हुन्छे । एकफेरा उसलाई माया गरेर सुम्सुम्याएर आउँछु नि !’ हानिँदै केटाकेटीको कोठामा पसेकी उसले छोरीले बिहान फुकालेर गएका लुगा छातीमा च्यापी, म्वाई खाई, ऊ सुतेको ओछ्यान सुँघी अनि उसको ठूलो फोटो समातेर भनी, ‘छोरी, मलाई थाहा छ आज पनि तिमी बाहिरबाटै मलाई बोलाउँदै आउनेछौ तर... अब तिमीले सम्हालिनैपर्छ छोरी । यही सम्झ है म यहीँ कतै सदा तिम्रै साथ हुनेछु ।’ आँखाबाट बलिन्द्रधारा आँसु झार्दै छोरीको फोटो यथास्थानमा राखेर यमदूतसमक्ष बोली, ‘ल अब गैहालौं । अलिबेरमा छोरी आइपुग्छे । त्यसपछि उसले मलाई छाड्नेछैन । छिटो लैजानुस् मलाई !’
यमराजको उही सभा, आफ्नो कथा सुनाएर यमदूतले बिन्ती गर्‍यो, ‘प्रभु π मैले त्यो आमालाई त्यहीँ छाडी आएँ । मलाई जस्तो दण्ड बक्सन्छ शिरोपर छ ।’ यमराजको हातको विशाल गदा अचानक भुइँमा खस्छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?