गल्ली संसार

रोशन शेरचन

दशकौंअघि कवि भूपि शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे कवितासंग्रहमा ‘मेरो चोक’ शीर्षकमा यस्तो कविता लेखेका थिए  ।

गल्ली संसार

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
असंख्य रोग छ
केवल हर्ष छैन
यहाँ त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ

दशकौंपछि यो तिहारमा डेंगुले थलिएको जीउलाई ओछ्यानमा लडाएर भूपिको कविताका पृष्ठहरू पल्टाएँ । बिरामी अवसरमा केही पुस्तक पढें । एकाध सिनेमाहरू हेरें । पुस्तकमा भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे, मनु ब्राजाकीको अन्नपूर्णाको भोज, उपेन्द्र सुब्बाको लाटो पहाड र प्रेमचन्दको कथाहरू थियो । तीस वर्षअघि हेरेको दुईवटा पुरानो हिन्दी सिनेमा हेरें— एक रुका हुआ फैसला र प्रकाश झाँको परिणति । साथै हालको चर्चित सिनेमा आर्टिकल १५ र चार्ली च्यापलिनका केही सिनेमा पनि । तर भूपिको कवितांशले आफ्नो अवस्थितिको यथार्थलाई बढी प्रतिनिधित्व गरेको थियो । उँघिरहेको समयमा बूढो हुनबाट जोगिन किताब र सिनेमाजस्ता सिर्जनाको सहयोग लिएँ । थाहा छैन, कति सफल भएँ ।
लाखौं मध्यमवर्गीय नागरिकझैं काठमाडौंको साँघुरो गल्लीमा मेरो पनि सानो घर छ । तर चोक कतै देखिँदैन । कम्तीमा पनि विगत दस–बाह्र वर्षयता कतै चोक भएको मलाई थाहा छैन । अघि कतै थियो कि ? घर किनेको दस–बाह्र वर्ष भयो । त्यसो त शिवभक्त मार्ग दस–बाह्र वर्षअघिसम्म खासै साँघुरो गल्ली लाग्दैनथ्यो । टोलको वरपर केही खाली जग्गा देखिन्थ्यो । म मोटरसाइकल नजिकको खाली स्थानमै पार्क गर्थें । बढीमा चार, पाँचवटा मोटरसाईकलहरू हुन्थे । नजिकै जोडिएका घरहरू सबै अग्ला थिएनन् । अधिकांश एक वा दुईतले थिए । घरहरू माथि प्रशस्त आकाश देखिन्थे । हिँड्दा घचारो अनुभव हुन्नथ्यो । काठमाडौंका अधिकांश गल्ली हेरि त्यसलाई साँघुरो गल्ली भन्न मिल्दैनथ्यो । गल्ली सहज र परिचितै लाग्थ्यो । तर पछिल्लो पाँच, छ वर्षमा गल्ली तीव्र गतिमा फेरियो ।
शिवभक्त मार्गको साँघुरो गल्लीमा असंख्य रोग पनि होलान् । पक्कै छन् । बढी रोग त सम्बन्धका होलान् । महत्त्वाकांक्षाका होलान् । पुँजीका होलान् । केही रोगको साक्षी बसियो पनि । छरछिमेकमा हुने श्रीमान्–श्रीमतीबीचको झगडा देखियो । मध्यरातमा घरबेटी र भाडावालको चर्काचर्की पनि अनुभव भयो । केही त अदृश्य रोग होला । गुप्त रोग । कसैले नभनेसम्म थाहा नहुने । लक्षणहरू अनुहार र भावमा आएजस्तो लाग्ने तर किटानी भन्न गाह्रो । शंकाको लाभ उनैलाई दिनुपर्ने । पछिल्ला वर्षहरूमा थपिएका तलाहरूमा प्रशस्त भाडावालहरू आएका छन् । त्यसको भेउ अरू बखत लाग्दैन । जब फोहोर संकलन गर्ने गाडीवालाले सिटी फुकेर जनाउ दिन्छ, कहिल्यै नदेखेका नौला मानिसहरू फोहोरको गुजुल्टो प्लास्टिक वा बोरा बोकेर घरबाट सर्‍याकसुरुक निस्कन्छन् । केही मिनेटअघिसम्म शान्तप्रायः यो साँघुरो गल्लीमा त्यति बग्रेल्ती मानिस बस्छन् भनेर सोच्न पनि कठिन हुन्छ । सातामा एक दिन प्रायशः आठ–नौ बजे बिहान गाडी फोहोर उठाउन आउँछ । घर भएको मौका पर्दा फोहोरको प्लास्टिक वा बोरा बोकेर म नजिकको सडक वा चोकसम्म निस्कन्छु । अन्यथा सो काम श्रीमतीले गर्छ । फोहोर बोकेर बाहिर निस्कँदा पचासौं मान्छे त्यस्तरी नै फोहोरको प्लास्टिक वा बोरा बोकेर गल्लीमा निस्किएको भेट्छु । अपवादलाई छाडेर खासै कुराकानी हुँदैन । हरेक फोहोरलाई शीघ्रतम तह लगाऊ भन्ने ध्याउन्नमा हुन्छन् । गल्लीको संसार मानौं सिटीको आवाजसँगै व्युँतिएको छ । गल्लीको बाटो पनि मानौं सयौं पाइतालामुनि कुल्चिएर सुन्निएको छ ।
उक्त दृश्यमा मलाई गोर्कीको उपन्यास ‘आमा’ को पहिलो पृष्ठको सम्झना हुन्छ । जहाँ साइरन बजेलगत्तै शिविरबाट मान्छेका धमिला आकृतिहरू धूवाँको मुस्लो पुत्पुताइरहेको कलकारखानातर्फ दौडन्छन् । शिवभक्तमार्गमा एउटै समय मान्छेहरू निस्कने यही एक घटना भएकाले सहचार्यमा आमाको दृश्य सम्झेको हुँला । नत्र त गोर्कीको आमामा श्रमिकहरू चरम शोषणमा परेका हुन्छन् । त्यहाँ क्रान्तिको पृष्ठभूमि निर्माण भएको हुन्छ । यहाँ त्यस्तो केही हुँदैन । आफैंले उत्पादन गरेको फोहोर बोकेर मान्छेहरू फ्याँक्न जाँदै छन् । घतलाग्दो भनेको, सबै एकै समयमा निस्केका छन् । अरू बेला मानिसहरू आ–आफ्नै अनुकूलतामा निस्कन्छन् । साँघुरो गल्लीको आफ्नै संसार देखेर र त्यतिविधि मान्छे अटाएको सम्झेर, छक खाएँ । मोटामोटी हिसाब गरें । करिब पच्चीस घर, तीन तलाको हिसाबले पचहत्तर परिवार । झन्डै यो गल्लीमा चार सय पचास मानिस बस्दा रहेछन् । यही असोज महिनामा मनाङको नारपाभूमि पुगेको थिएँ । नारपाभूमिको जनसंख्या जम्मा पाच सय अठतीस । भौगोलिक क्षेत्रफल नै करिब ८४० वर्ग किमि । दर्जनौं पहाड, वन, खर्क, हिमाल र खोलानालाहरू । थोरै नपुग नारपाभूमिको जनसंख्या जति त यही साँघुरो गल्लीमा बसोबास गरेको रहेछ । हिँड्दा चार मिनेटमा सकिने गल्ली छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्लाका जनसंख्या अटाउने गल्लीहरू यस महानगरमा कति होलान् ? छकले नपुगेर चित खाएँ । लाग्छ, घरबाट मान्छे हैन, दुलाबाट साङ्ला निस्किरहेका छन् । मान्छेलाई पनि धाप दिनैपर्छ । घचपच गरेर बस्न मान्छेलाई साङ्लाले पनि सक्दैन । भूपिको कविता सदर गर्दै म भन्छु— सत्य हो, साँघुरो गल्लीमा मेरो घर छ । यहाँ के छैन । सब थोक छ ।
गल्ली संसारमा गर्नुपर्ने टन्टाहरू अनेकौं छन् । २०७२ माघ २० गते, महानगरपालिकाको टेकु कार्यालयबाट एघार सय सन्तानब्बे रुपैयाँ तिरेर कम्पोस्ट बिन ल्यायौं । बाइक चलाउदा श्रीमतीजीले समातेको ड्रम मेरो घुँडामा ठोक्किइरहने । कम्पोस्ट बिन भित्रिएपछि भने फोहोरमैला व्यवस्थापन सहज भयो । सबभन्दा बढी फोहोर किचेनबाटै निस्कने रहेछ । दिनमा झन्डै सानो बाल्टिनको आधा । कम्पोस्ट मल गज्जबको भयो । कौसी खेती सप्रियो । सिटी फुकेको सुन्नासाथ अरूको भन्दा थोरै फोहोर बोकेर छरितो गरी हिँड्दा अधिंकाश छिमेकभन्दा आफू सभ्य नागरिकजस्तो अनुभव हुने । निष्कासन गर्नुपर्ने फोहोर त कागज र प्लास्टिक मात्र । कम्पोस्ट बिन नहुनेहरू त गल्लीभरि नै फोहोरको झोल चुहाउँदै हिँड्छन् । गन्हाएर हत्तु । आफ्नो घर र भान्सा मात्र होइन, वरपरको वातावरण नै दुर्गन्धित बनाउँछ । आफ्नै फोहोर व्यवस्थापन गर्न नसक्नेहरू दुर्गन्धित मान्छे हुन् । कपडा सुकिलामुकिला लगाएका छन्, मेकअपमा सजिएका छन् तर आफैंले उत्पादन गरेको फोहोर व्यवस्थापन गर्न नसकी फोहोरको झोल चुहाउँदै बोरा घिसारेर हिँडेका छन् । समाजमा कुरूप मान्छेहरू पनि कति कति ।
छतमा रहेको प्लास्टिकको ड्रममा पानीे कति छ ? हेर्ने जिम्मेवारी मेरो र श्रीमतीजीको हुन्छ । पानी घट्दै गए मोटर चलाइहाल्नुपर्छ । भाडावालले पानी सक्किएछ भन्ने स्थिति नआसोस् भनि सचेत हुन्छौं । अहिलेसम्म त्यस्तो अवस्था आउन दिएको छैन । छतमा पुगेर ड्रमको पानी हेरेर केही समय अडिन्छु । तुरन्त ओर्लदिनँ । छतबाट प्रकृति केही नजिक पाउँछु । काठमाडौं उपत्यकावरिपरिका डाँडाहरू दृश्यमै भए पनि नजिक आइपुग्छ । उत्तरतर्फ शिवपुरी डाँडा । पश्चिम दिशामा लमतन्न सुतेको नागार्जुङ डाँडा र दक्षिणको चन्द्रागिरी । छतबाट स्काइलाइन अझै छ्वाङ्ङ देखिन्छ । शिरमाथिको उघ्रेको आकाश देखेर मन पुलकित हुने स्थान छतै हो । छत हो, सहरको आँगन । सहरीकरणले कस्तरी च्याप्दै लग्यो । छतबाट तल दृष्टि फ्याँक्छु । गल्ली खुम्चिएर झन् साँघुरो देखिन्छ । कंक्रिटको अट्टालिकाबीच च्यापिएर गल्लीहरू निस्सासिएको छ । प्रश्न उठ्छ, काठमाडौंमा यस्ता साँघुरो गल्लीहरू कति होलान् ? घाम हम्मेसी छिर्ने यस्ता गल्लीहरूमा मानिसका जीवन कति कुजिँदो हो ?
वातावरणले प्रभाव पार्छ । खुला स्थानमा बस्न पाए पो मान्छको मन फराकिलो हुन्छ । फरासिलो ह्दय र सोचाइ बनाउनै अतिरिक्त बल लगाउनुपर्ने स्थितिले विस्मातकै पक्षमा त बोल्छ । विस्मातकै कथा त भन्छ । हर्ष दुर्लभ भैसक्यो । यथार्थ हो, सबै थोक छ तर हर्ष छैन । घाम नछिर्दा र हावा प्रशस्त आवतजावत गर्न नपाउँदा हुर्कने शोक र रोग नै हो । कवि भूपिको कविताहरू अझै कति सामयिक ।
अफिस आउजाउ गर्दा गल्लीकै एउटा कुनामा भाडामा बस्ने एक जना महिला बच्चासँग सधैं देखिन्छ । बच्चा नजिकै खेलिरहेको हुन्छ । महिला भने प्रायशः स्मार्टफोनमै घोल्तिरहेको देखिन्छ । निरर्थक समय मात्र भागमा परेकोजस्तो । सिनेमा धोबीघाटको वृद्वाको ऐकान्तिकताको झल्को आउँछ, त्यो दृश्यमा । महानगरको ऐकान्तिकता पनि महागहिरो नै हुन्छ । पहाडी गाउँबाट छोराछोरी पढाउन वा कामविशेषले काठमाडौंको साँघुरो गल्लीमा बस्न आएकी होलिन् । गाउँको जस्तो खुला परिवेश र सामुदायिक भावना नभएको चिसो गल्लीमा प्रायःजसो संघारमै देख्दा विरक्त लाग्छ । पति सायद खाडीमा कमाउन गएको होला । कस्तो एकलासको जिन्दगी, बाइकमा आउजाउ गर्दा त्यस मोडमा निराशाले घेर्छ । गल्लीको अरू भाग त मेरो निम्ति अपरिचित संसार हो ।
आफ्नै गल्ली अब मेरैनिम्ति पनि त्यति परिचित छैन । वरपरको दुई–चार घरसँग कुराकानी हुन्छ । सन्चोबिसन्चो सोधिन्छ । कहिलेकाहीं भान्सामा विशेष केही पाक्दा वा पकाउँदा बाँडचुँड हुन्छ । कम्तीमा सामाजिक प्राणी भएर बाँचिरहेछौ भन्ने भाव त्यतिखेर मात्र उत्पन्न हुन्छु । नत्र त अपरिचित गल्लीले दिउसै लखेट्छ । चोक अब नीलसरस्वती मन्दिर क्षेत्रतिर मात्र होला । चोक भएकैले काठमाडौंका रैथानेहरूका बालबच्चाहरू विगतमा सुरक्षित स्थानमा खेल्न पाउँथे । हामीजस्ता काठमाडौंमा बसाइ सरेकाहरूको निम्ति त चोक कल्पनामा मात्र छ । अहिले त टुँडिखेल नै मासिसके ।
भत्कँदै गएको चोक वा साँघुरिँदै गएको गल्लीमा भुस्याहा कुकुरहरूको बिगबिगी बढ्दो छ । गल्लीमा ती कुकुरहरूले फोहोर गरेर हिँड्नै सकस लाग्छ । केही छिमेक कुकुर पाल्ने सोख त राख्छ तर कुकुरको गुहु सोहोर्न सक्दैन । दायित्वबिनाको सोखले टोलवासीलाई पिरोल्नु पिरोलेको छ । धेरै सास्ती पाएपछि श्रीमतीजीले उपाय निकालेका छन् । सखारै उठेर सबभन्दा पहिला घरअगाडिको गल्लीमा फिनेल–पानी छर्किन्छिन् । एकाबिहान घरबाट निस्कनासाथ दैलोमै कुकुरको गुहु देखिनु जति नमज्जाको अनुभव केही हुँदैन । फिनेल–पानीले सफा त बनाउँछ तर गल्लीभरि छर्कन सम्भव छैन । मौकाको ताकमा बसेको कुकुरको गुहु कतै न कतै देखिइहालिन्छ । कुकुरले फोहोर थाहा नपाएझैं गर्नेर् ेछिमेकजस्तो असामाजिक प्राणी कोही लाग्दैन ।
पचासको दशकको अँध्यारा दिनहरूमा म एक जना पश्चिमा गायकलाई खुब सुन्थें । लु रिडलाई । भेल्भेट अन्डरग्राउण्डका फ्रन्टम्यान । केही वर्षअघि उनको निधनको खबरले दुःखी तुल्यायो । नागर संसारको स्खलन, दुविधा र महत्त्वाकांक्षाको कथा उनको संगीतको विशेषता । खस्रो र अपरम्परागत शैली । साँघुरो गल्लीमा बसेर त्यो पनि प्रदूषित महानगरको, लु रिडको गीतलाई सम्झनु जति प्रांसगिक कर्म यति बेला अरू हुन्न ।

म मानह्याटनलाई फोहोरेको थैलामा बोक्छु जसमा ल्याटिन भाषामा लेखिएको छ अरूको हित चिताउनुजस्तो अपजस अहिलेको समयमा केही छैन –लु रिड

प्रकाशित : कार्तिक ३०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?