३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिंहदरबारको गणेश–मूर्ति

सिंहदरबार सत्ता सञ्चालनको केन्द्रविन्दु बनेको इतिहास धेरै पुरानो होइन । वसन्तपुर दरवार सर्वेसर्वा थियो उ बेला । दरबारबाट हात्तीमा चढेर सहर घुम्न निस्केका शाहवंशका राजालाई देखेर जय–जयगान गर्थे बाटाछेउ बसेका जनता ।
शिशिर वैद्य

उपत्यका पुराना तस्बिरहरूमा जति सुन्दर र आकर्षक देखिन्छ यसको इतिहास षड्यन्त्र, जालझेल, हिंसा र हत्याका कथाहरूले भरिएको भेटिन्छ  । धर्मकर्ममा अगाध श्रद्धा राख्थे शासकहरू  ।

सिंहदरबारको गणेश–मूर्ति

केही कवि मनका पनि थिए । तर ती शासकहरूमा यतिबिघ्न कपट र हिंसात्मक सोच किन र कसरी आयो होला ? सामाजिक सञ्जालले विश्वलाई साँघुरो बनाएको आजको युगमा इतिहासका कुरा सुन्ने फुर्सद कसैलाई छैन । तर तिनै सामाजिक सञ्जालका भित्ताहरूमा ऐतिहासिक तस्बिरहरू टाँसिदा प्रफुल्लित हुने, आहा ! काठमाडौं भन्नेहरूको संख्या गनेर साध्य छैन । भनिन्छ, ‘आफ्नो संस्कृति, इतिहास र उद्भवबारे थाहा नपाउने मानिस जराबिनाका रूखजस्तै हुन् ।’ वर्तमान पुस्ताका अधिकांश युवा इतिहासका कुरा गर्न रुचाउँदैनन् । संस्कृति मनाउन रुचाए पनि पढ्न मन गर्दैनन् । जराबिनाका रूख बन्दै गएका नयाँ पुस्ताले इतिहासबारे थाहा नपाए पनि ऐतिहासिक तस्बिरहरू देखेर मन्त्रमुघ्ध हुन्छन् । नयाँ पुस्ता आफ्नो आवश्यकताअनुसार इतिहास पढ्छन् । संस्कृतिलाई बुझ्छन् र रमाउँछन् ।
किंवदन्तीहरू भन्छन्— देवीदवतासँग मल्ल राजाहरू खड्ग साट्थे । पासा खेल्थे । खड्ग साट्ने चलन अझै छ उपत्यकामा । खड्ग जात्रा त्यसैले निरन्तरता हो । नेपालको इतिहासमा स्वर्णिम कालका रूपमा लिइने मल्लकालमा थुप्रै सांस्कृतिक एवं धार्मिक चलनहरू बसाइएको थियो । तिनै चलनहरू हाम्रा सांस्कृतिक
धरोहर हुन् ।
विशेष महत्त्व बोकेको युग थियो त्यो । गाउँजस्ता लाग्ने बस्तीहरू अद्भुत सहरमा रूपान्तरित भएको युग । सिँचाइका लागि दूरदराजका मूलबाट कुलो खनेर सहरका उर्वर खेतीयोग्य भूमिहरू सिञ्चित भएको युग । खानेपानीका लागि ढुंगेधाराहरू बनेको युग । अनेक बहाः, बहीः, चुक, ननी, मठ, मन्दिर, पाटी, पोखरी, लाक्षीहरूले सहरलाई व्यवस्थित बनाएको युग । कर्मअनुसार जाति व्यवस्थामा समाज बाँधिएको युग । स्वर्णिम त्यसै भनिएको होइन ती युगलाई । शासकहरू दूरदर्शी थिए । जनताका आवश्यकता र पीरमर्का बुझ्थे । त्यसैले त बालबलिकादेखि वृद्धवृद्धासम्म सबैलाई आवश्यक स्थानहरू
थिए सहरमा ।
मल्लकालमा काठमाडौं खाल्डोका राज्यहरूबीच सौहार्दता पनि थियो प्रतिस्पर्धा पनि । प्रतिद्वन्द्वी राज्यका रूपमा रहेका थिए कान्तिपुर र ललितपुर । ललितपुरको सिंहासनमा अनेकपटक कान्तिपुरका शासकहरू बस्न पुगेका थिए । इतिहासका पानाहरू साक्षी छन् यसका । राजा बनाउन र राजच्यूत गर्न सक्ने ललितपुरका छ प्रधान राजपरिवारभन्दा शक्तिशाली थिए । षड्यन्त्र, कपट र हिंसाका अनेक शृंखलाले भाइभाइबीच चिरा पार्न सफल थिए ती प्रधान । उपत्यकाका मल्ल राजाहरूका बीच कलह हुँदा गोरखाका राजा पृथ्वीनारायणले पनि कहिले कसलाई, कहिले कसलाई मद्दत गरेर नेपाल राज्यको राजकाजमा हात हाल्ने प्रयास नगरेका होइनन् । पाठ्यपुस्तकमा पढिएजस्तो त्यति सजिलै जितेका थिएनन् उनले कान्तिपुर । निकै शक्तिशाली थियो कान्तिपुर । मल्लकालदेखि शक्तिशाली राज्यका रूपमा स्थापित काठमाडौंको शक्ति आजसम्म पनि कायमै छ । तर इतिहासमा एक समय यस्तो पनि भेटिन्छ जब ललितपुरको प्रभाव काठमाडौं र भक्तपुर दुवै राज्यमाथि परेको थियो । ललितपुरका राजा सिद्धिनरसिंहको कुरा काट्न सक्ने आँट कसैमा थिएन । लोकाख्यान भन्छ— सिद्धिनरसिंह धार्मिक थिए । प्रजावत्सल थिए । कवि थिए । नाटक लेख्थे । गीतसंगितमा पारंगत थिए । पाटन दरबारको डबलीमा चल्ने महिना दिन लामो कार्तिक नाच उनैको देन हो । पाटन भण्डारखालमा सिद्धिनरसिंह सम्झाउने कृतिहरू अझै सुरक्षित छन् ।
राजा सिद्धिनरसिंहको सिद्धिको राज पत्ता लगाउन भक्तपुरका राजाले गुप्तचर लगाए । दरबारको द्वारबाट बाहिर निस्कँदा दाहिनेपट्टि रहेको गणेशको मूर्ति ढोगेर मात्रै निस्कन्थे राजा सिद्धिनरसिंह । त्यसैले उनी सधैं तर्कवितर्कमा जित्थे । गुप्तचरले पत्ता लगाएको राज थियो यो । षड्यन्त्र र कपट गरेर सिद्धिनरसिंहलाई गणेश हटाउन सफल भएका थिए कान्तिपुर र भक्तपुरका शासक । गणेश देब्रे पारेर नरसिंहलाई दाहिने पारेर दरबार बाहिर निस्कन थालेदेखि सिद्धिनरसिंहको सिद्धि नास भयो । ललितपुर कमजोर हुन थाल्यो । प्रत्यक्षदर्शी भन्छन् सिद्धिनरसिंहको पालामा बायाँ पारिएको गणेशको मूर्ति निकै पछि मात्र सच्याइयो । ललितपुरले राज्यको अस्तित्व गुमाएको सयौं वर्ष नाघिसकेको छ । गणेशको आसन सच्चिएर सिद्धि पाउन न त्यहाँ राजा छन्, न प्रधान । फर्पिङ हुँदै टिस्टुङ पालुङसम्म फैलिएको ललितपुर खोलालाई आधार बनाएर जिल्ला बनाईंदा साँघुरियो । अहिलेको भूगोलमा संकुचित हुन पुग्यो ।
गुह्येश्वरीको द्वार, पाटन ढोकाको द्वारलगायत थुप्रै मन्दिर र ढोकामा गणेश दाहिने भेटिन्छन् । अर्थात् ढोकाबाट बाहिर निस्कँदा दाहिने । गणेश दाहिने पार्दा शुभ हुने जनविश्वास छ । धर्म निरपेक्ष देशका नयाँ पुस्ता द्वारमा गणेश राख्ने कुरामा विश्वास राख्दैनन् । दैवी शक्तिमा विश्वास नराख्नेहरू सत्तामा बसेका बेला यस्ता चर्चा महत्त्वहीन हुन सक्छ । विश्वास भए पनि नभए पनि, आस्था राखे पनि नराखे पनि
वर्तमान राज्य सञ्चालकहरू हरेक कार्यको शुभारम्भ र शिलान्यास गर्दा धार्मिक संस्कार अपनाइरहेका छन् । पहिलेपहिले धर्म अफिम हो भन्थे उनीहरू । अहिले बिस्तारै त्यही अफिमको लतमा फस्दै गएका छन् । पश्चिम फर्किएको देशको प्रमुख कार्यकारी भवन सिंहदरबारको मूल ढोकाका दुईपट्टि दायाँ र बायाँ कुमार र गणेशका मूर्ति छन् । धार्मिक आस्थाभन्दा फरक ढंगमा गणेश किन बायाँ राखियो ? कसैले वास्ता गरेजस्तो लागेन यो विषय । उहिले राजा महाराजामा देवीदेवताप्रति आस्था थियो । धार्मिक रीतिरिवाज मनैदेखि मान्थे । आजका राज्य सञ्चालकहरू धर्ममा आस्था राख्दैनन् । राजनीतिक फाइदा खोज्छन् । आस्था नभएपछि द्वारमा भएका गणेश द्वार सजाउन राखिएका मूर्ति मात्र भए तिनका लागि । सायद त्यहाँ यी दुई मूर्ति छन् भन्ने हेक्का पनि होला कि नहोला ? तर मलाई भने देशमा लामो समयदेखि चलिरहेको अस्थिरता, प्राप्त हुन नसकेको समृद्धिको कारक कतै गणेशको त्यो मूर्ति त होइन ? भन्ने आशंका उब्जिएको छ मनमा । सिंहदरबार देशको कार्यकारी प्रमुख बस्ने थलो हो । राज्य सञ्चालनको केन्द्रविन्दु हो । यहाँबाट हुने हरेक निर्णयले सम्पूर्ण देशलाई नै असर गर्छ ।
सिंहदरबार सत्ता सञ्चालनको केन्द्रविन्दु बनेको इतिहास धेरै पुरानो होइन । वसन्तपुर दरबार सर्वेसर्वा थियो उ बेला । दरबारबाट हात्तीमा चढेर सहर घुम्न निस्केका शाहवंशका राजालाई देखेर जय जयगान गर्थे बाटाछेउ बसेका जनता । महाराज जयजयगान सुनेर गदगद हुँदै जनतालाई पैसा फाल्थे । विष्णु र शिवको अंशका रूपमा विश्वास गर्थे जनता राजालाई । उनको दर्शन मात्र पनि पशुपतिको दर्शन पाए जति नै पवित्र मानिन्थ्यो । राजाहरू यसरी सहर घुम्न निस्कँदा कपालमा जुरो पारेका, निधारमा रातो टीका लगाएका आइमाईहरू सिंगारिई केटाकेटीसहित झ्यालमा बसी रमिता हेर्थे । राजाले बोलेको प्रजा बुझ्दैनथे । प्रजा ‘भाय् मसिया, सेवा जुजु महाराज’ भन्दै मुस्कुराउँदथे । केही ऐतिहासिक दस्तावेजहरूमा यस्तै लेखिएको छ । जमाना फेरिएको छ । राजामहाराजाको वंशाणुगत शासन जनताका हातमा आएको छ । हात्ती चढेर सहर सयर गर्दा रमाइलो पक्कै होला । तर हात्तीभन्दा महँगा गाडी चढेर अगाडि–पछाडि सुरक्षाकर्मीका लस्कर लगाएर शानका साथ सवारी चलाउन छाडेर हात्ती चढ्दा जमानाअनुसारको शान पक्कै नहोला । हो, जमाना फेरिएको छ, उहिले खसभाषी राजाले बोलेको नेपाल खाल्डोका जनता बुझ्दैनथे त्यसैले भाय् मसिया महाराज भन्थे । आजभोलिका राज्य सञ्चालकहरू जनताले बोलेको भाषा त बुझ्छन् तर भाव र पीडा बुझ्दैनन् । त्यसैले जनताको सेवा गर्न जनताले नै चुनेर पठाएकाहरू सेवक नभएर शासक बन्ने सपना बुन्दै छन् ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?