कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अद्भुत ठेंहे

भुइँतलामाथि छतमा एउटा घर अनि त्यसको माथि अर्को घर गरेर कम्तीमा पाँच घरदेखि तीस घरसम्म बनाइएका थिए । घरको पर्खाल ढुंगाको भए पनि काठ र बाँसका खम्बाले घर ठड्याइएको थियो ।
महेशविक्रम शाह

मैले विभिन्न समयमा तीनपटक कर्णाली प्रदेशको अति दुर्गम हुम्लाको यात्रा गरेको छु  । ती यात्राहरू हुम्लाको सदरमुकाम सिमकोटमा नै सीमित थिए  ।

अद्भुत ठेंहे

एकपटक सिमकोटबाट मानसरोबर जानेक्रममा हेलिकप्टरबाट हुम्लाको उत्तरी नाका हिल्सासम्म पुगेको थिएँ । भीर–पहरामा खनेको कच्ची सडकमाथि कछुवा गतिमा गुड्ने थोत्रो जिपमा ज्यान हत्केलामा राखेर सदरमुकामको दक्षिण कर्णालीको तीरमा अवस्थित खार्पु गाउँलाई पनि एकपटक अँगालो मार्न भ्याएको थिएँ । यसभन्दा पर भने जान पाएको थिइनँ ।
मलाई हुम्लामा ट्रेकिङ गर्ने इच्छा थियो । समय जुरेको थिएन । मैले आगामी साहित्यिक कृतिका रूपमा कर्णालीका कथाहरू लेख्ने उद्देश्यअनुरूप कथाहरू खोज्न कर्णालीका पाँचवटै हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटका दुर्गम बस्तीहरूमा पैदलयात्रा गर्ने योजना बनाएँ । सोही योजनाअनुसार पछिल्लोपटक हुम्लाको सिमकोटदेखि हिल्सासम्म पैदलयात्रामा निस्कें । त्यो दूरी छिचोल्न मलाई पाँच दिन लाग्यो । यात्राको क्रममा बाटोमा पर्ने गाउँ बस्तीहरूमा घुस्दै स्थानीय बासिन्दाहरूसँग भलाकुसारी गरें । तिनका वास्तविक भोगाइहरूसँग साक्षात्कार गरें । गाउँका घरघर, गल्ली गल्छेंडो, पानी पँधेरो, खेतका कान्ला गरा, बाटोघाटो, नदीका तीरैतीर, वनजंगल र पाखा–पहरामा आफूले खोजेका कथाका पात्रहरू भेटें । स्थानीय बासिन्दाहरूले लेकको ओसिलो माटोमा घुँडा धस्साउँदै टपक्क यार्सा कीरा टिपेझैं मैले तिनकै माझबाट सुटुक्क तिनका कथाहरू टिपें ।
म कथा यात्राका लागि हुम्ला जाँदै छु भन्ने थाहा पाएर कर्णाली प्रादेशिक योजना आयोग, सुर्खेतका सदस्य डा. दीपेन्द्र रोकायाले मलाई भन्नुभयो, ‘हुम्ला यात्रामा जाँदै हुनुहुन्छ जसरी भए पनि ठेहें गाउँ पुग्नुहोला है ।’ यात्राको प्रारम्भदेखि नै म ठेंहे गाउँ जान हुरुक्कै थिएँ । हिल्साबाट सिमकोट फर्केको दोस्रो दिन म बिहानै ठेंहे गाउँतिर लागें । मेरा पथप्रदर्शक रामबहादुर भण्डारी थिए । उनी ठेंहे गाउँका स्थानीय बासिन्दा हुन् । सुधीर खड्का र खम्ब विक पनि मेरो साथ लागे ।
ठेहें जाने आधा बाटो मात्र डोजरले खन्न भ्याएको थियो । गाडी नजाने विन्दुमा पुगेपछि हामी पैदल हिँड्न कस्सियौं । बीचमा मेरो परिचित बरगाउँ आइपुग्यो । म यहाँ कहिल्यै आएको थिइनँ तर बरगाउँमा फलेका रसिला स्याउको स्वाद थाहा पाएपछि म यो गाउँको जबरदस्त फ्यान बनेको थिएँ । मैले जुम्ला, डोल्पा, मुगु र कालीकोटमा फलेका स्याउ पनि अघाउन्जेल खाएको छु । तर हुम्लामा पनि अन्य गाउँका भन्दा बरगाउँमा फलेका स्याउको स्वाद कहिले नबिर्सिने खालको थियो । कोही साथीभाइ हुम्ला जान लाग्दा वा हुम्लाबाट आउन लाग्दा म भन्ने गर्छु, ‘सकिन्छ भने मलाई बरगाउँका स्याउ ल्याइदेऊ है !’
बरगाउँको दर्शनले मेरो मन पुलकित भयो । घरघरमा स्याउका बोट । हाँगाहाँगामा लटरम्म फलेर लत्रेका स्याउका दानालाई धित मरुन्जेल हेरें । हातले मुसारें । हुम्लाको यात्रा धेरै अर्थमा सार्थक भएको अनुभूत गरें मैले । भण्डारीजीले छक्क लामाको घर लगे । लामाजीले भुइँमा भेडाको ऊनले बुनेको लिउ बिछ्याएर हामीलाई बसाले । तातो चिया र बिस्कुट खुवाए । ठेंहे गाउँ पुग्न ढिला हुने भएकाले लामाजीलाई धन्यवाद दिँदै हामी कागुनो र चिनोका लहलह बालाहरू झुलेका खेतका गराहरू छिचोल्दै ओरालो झ‌र्‍यौं ।
आधा घण्टा जति ओरालो झरेपछि उत्तर पूर्वबाट बग्दै आएको दोजाम खोला देखियो । पारिपट्टि देवीज्वारान डाँडो थियो । नदीको पश्चिम छेउको ठीक मास्तिर घरैघर देखिए । ‘बाफ रे ! मौरीको चाकाजस्तै छन् त घरहरू !’ म कराएँ । मलाई हेर्दै तीनैजना गलल्ल हाँसे ।



‘यै हेर्न आएका त हौं नि । घरमाथि घरैघर !’ भण्डारी बोले । म भने उनका कुरा सुन्नभन्दा छिटोभन्दा छिटो ठेंहे गाउँ पुग्न फाल हाल्दै दौडिरहेको थिएँ । गराका डिलमा गाउँका महिलाहरू घाँस काट्दै थिए । कागुनोको बारीमा झार उखेलिरहेकी एउटी यौवना देखिइन् । मैले क्यामेरा तेर्स्याएँ । उनी मतिर हेर्दै मुख छोपेर मुसुक्क हाँसिन् । क्यामेराले ब्रस्ट मोडमा खिच्यो पाँच तस्बिर । ‘के नाम होला तपार्इंको ?’ नाम नसोधी अगाडि बढ्न सकिनँ म । ‘मेरो नाम काली बोहोरा हो हजुर !’ खितखित गर्दै बोलिन् उनी । गरिब नेपालीहरूको यही निश्चल हाँसोमा त छ संसारले नदेखेको खुसी !
ठेंहे गाउँ मेरा आँखाअगाडि थियो । म हतप्रभ, विस्मित बनेर उभिइरहें एक छिन । घरमाथि घर, त्योमाथि अर्को घर । फेरि त्योमाथि अर्को घर । घरमाथि घरैघर !! अद्भुत थियो ठेंहे गाउँ । यस्तो गाउँ जीवनमा मैले कहिल्यै देखेको थिइनँ । ऊफ् ! कुन शताब्दीको गाउँ हो यो ? आफैंसँग सवाल गरें मैले ।
भण्डारीजीले हामीलाई आफ्नी फुपू बाँसकला बोहोरा कहाँ पु‌र्‍याए । फुपू हाम्रो स्वागतार्थ थालमा राता अक्षता र फूलका थुंगा सजाएर भुइँतलाको ढोकानिर उभिएकी थिइन् । निधारमा राता अक्षताको स्पर्शले मन फुरुंग भयो । माथिल्लो तला उक्लियौं । त्यहाँबाट सारा गाउँ मनमोहक देखिँदो रहेछ । स्कुलका सहायक हेडमास्टर दल भण्डारी हामीसँगसँगै आएका थिए । उनी हाम्रा लागि ठेंहे गाउँको कथावाचक बने । मैले पालैपालो रामबहादुर भण्डारीजी, माड्साहब, भण्डारीजीकी फुपू बाँसकला, बहिनी दीपाकलीसँग ठेंहे गाउँका बारेमा आफ्ना जिज्ञासाहरू राखें । केही समयको गलफतीपछि हामी फुपू बाँसकलाले पकाएको खाना खान तल्लो तला झ‌र्‍यौं । ‘मुख आँ गर्नेबित्तिकै झिंगा मुखभित्र पस्छन् । खाँदा होस गर्नुहोला,’ भण्डारीजीको कुराले म झस्कें । साँच्चै नै ठेंहे गाउँ प्रवेश गर्नेबित्तिकै झिंगाले हामीलाई नराम्रोसँग लखेटिरहेका थिए ।




ठेंहे गाउँलाई पहिला टें भनिन्थ्यो । तिब्बती भाषामा टेंको अर्थ उवा हुन्छ । उवा हुम्लामा उब्जाउ हुने खाद्यान्न हो । ठेंहे गाउँको छेउछाउमा तिब्बतबाट आएका लामाहरूको बस्ती थियो । माथि डाँडाको पाखामा उवा नहुने तर तल बेंसीमा उवाको बाली राम्रो हुने हुँदा तिब्बतीहरूले यस ठाउँको नाम लिंदा टें भन्न थाले । पछि गएर टेंमा बसोबास गर्नेहरूलाई टेंवा भन्न थालियो । अहिले पनि ठेंहे गाउँका बासिन्दालाई तिब्बती भाषामा टेंवा भन्ने गरिन्छ । कालान्तरमा टेंलाई जनजिब्रोले ठें (हे) उच्चारण गर्न थालेपछि ठेंहेका बासिन्दालाई ठ्याल भन्न थालियो । माड्साब दल भण्डारीले अचम्म मानेझैं गरी भने, ‘तर खै आजकल जलवायु परिवर्तनको कारण हो कि माथि डाँडामा पनि उवा फल्न थाल्यो त !’
मलाई ठेंहे गाउँको सबैभन्दा लोमहर्षक लागेको दृश्य घरमाथि घर हुनु हो । कर्णालीका प्रायः सबै जिल्लामा एउटा घरमाथि दुई तीनवटा घर खप्टाएर बनाएको पाइन्छ तर ठेंहे गाउँको संरचना भिन्न थियो । यहाँ भुइँतलामाथि छतमा एउटा घर अनि त्यसको माथि अर्को घर गरेर कम्तीमा पाँच घरदेखि तीस घरसम्म बनाइएका थिए । घरको पर्खाल ढुंगाको भए पनि काठ र बाँसका खम्बाले घर ठड्याइएको थियो । घरहरूको कुनै निश्चित बनावट र संरचना थिएन । जस्तो ठाउँ थियो घरको बनावट पनि त्यस्तै थियो । भुइँतलाको घरदेखि तीसौं तलाको माथिल्लो घरसम्म जानलाई काठका लिस्नाहरू सोझ्याइएका थिए । भुइँघरदेखि माथिसम्म लिस्नैलिस्नाको चाङ । घरको छत आँगनझैं समथर थियो, माटोले पुरिएको । एक घरको छत अर्को घरको आँगन ! कुनै घरका छतमाथि काठ तथा बाँसका लिङ्गोको टुप्पोमा सोलार प्यानल राखिएको थियो । केही घरबाहेक प्रायशः सबै घर झ्यालविहीन थिए । हावा जाने र मान्छे जाने बाटो एउटै थियो— ढोका । घरहरू लहरै एकअर्कासँग जोडिएका ! एक घरबाट अर्को घर जान बाटो खोज्नु नपर्ने । बस्तुभाउ हुनेहरूले भुइँतलामा गोठ बनाएका थिए । यहाँ छाउपडीका लागि छुट्टै छाउघर बनाएको देखिएन । छाउपडीहरू गोठमा बस्दा रहेछन् ।
एक घरमाथि अर्को घर हुँदै तीस घरसम्म कसरी बने त ? यसो हुनुका कारणहरू औंल्याए दल भण्डारीले । पहिलो कारण हो धार्मिक । यहाँका बासिन्दाहरू रामपाल नामका देवता मान्दछन् । रामपाल देवीका सेवक हुन् । ठेंहे गाउँमा देवी र रामपालको मन्दिर छ । स्थानीय बासिन्दाहरूको मान्यताअनुसार रामपालले ठेंहे गाउँको चार किल्ला छुट्याइदिएर तोकेको सीमाबाहिर गएर कसैले घर नबनाउने र बनायो भने निजको वंश नास हुने भनी भनेका हुँदा त्यो सीमाबाहिर गएर कसैले घर बनाउने आँट गरेका रहेनछन् । आँट गरेर ठेंहेबाहिर गई घर बनाउनेहरूका सन्तान नभई वंश सखाप भएको हुँदा यो डर झन् घनीभूत हुन पुगेछ । दोस्रो कारण हो भौगोलिक । ठेंहे गाउँको अवस्थिति अप्ठ्यारो ठाउँमा छ । अलि कम भिराला पाखामा घरहरू बनेका छन् । गाउँको मास्तिर आफैंमाथि खस्लाझैं डाँडो र तल दोजाम खोला । यो ठाउँबाहेक अन्य ठाउँ घर बनाउनका लागि उपयुक्त नभएकाले थोरै जमिनमा धेरै घर बन्न पुगे ।
सीमित र महँगो जमिन तेस्रो कारण हो । छुट्टै जमिन खरिद गरेर घर लगाउने हैसियत बहुसंख्यक स्थानीय बासिन्दाको छैन । यिनै कारणहरूले गर्दा ठेंहे गाउँमा पुस्ता दरपुस्ता एक घरमाथि अर्को घर खप्टिँदै गएका रहेछन् । प्रायशः एउटा कोठा नै एक घर हो । कोठा पनि साँघुरो हुँदो रहेछ । सामान्यतः दुई जना लोग्ने स्वास्नी पनि कोच्चिएर बस्नुपर्ने । अर्को घर अथवा कोठा नबनाएसम्म घरका सबै सदस्य जति छन् सबै एउटा कोठामा नै बस्दा रहेछन् । एउटा साँघुरो कोठामा बस्ने परिवारको संख्या कम्तीमा पाँचदेखि बाह्र जनासम्म हुँदोरहेछ । कोठामा बाह्र जना सुत्ने मात्र भए पनि कुरो अर्कै हुन्थ्यो, तर सरसामान राख्नेदेखि चुलोचौका पनि त्यही कोठामा हुँदो रहेछ ।




दल भण्डारीले यसरी घरमाथि घर बन्नुको कारण खोतले । एक जना ठेंहेवासीको एककोठे भुइँतले घर थियो । परिवारमा लोग्ने–स्वास्नी र दुई छोरा थिए । चारै जना एउटा कोठामा बस्थे । छोराहरू ठूला भए । जेठोले बिहे ग‌र्‍यो । बुहारी घर भित्रिए पनि दुलहा–दुलहीका लागि छुट्टै कोठा थिएन । नवनवेली दुलहीसहित परिवारका सबै सदस्य बस्नुपर्ने कोठा यौटै थियो । बिस्तारै छोरो बाउँठिन थाल्यो । अर्को घर बनाउने कुरो गर्न थाल्यो । त्यसपछि बाबु–छोराको सहमतिमा त्यही कोठालाई बीचमा बार हालेर अर्को कोठा निकालियो । एउटा कोठामा बाबु–आमा र भाइ र अर्को कोठामा आफ्नी दुलहीसहित जेठो छोरो बस्न थाल्यो । केही समयपछि कान्छो छोरोले पनि बिहे ग‌र्‍यो । उसले बाबुको घरमाथि ढुंगाले चिनेर अर्को घर बनायो र आफ्नी स्वास्नीसँग बस्न थाल्यो । यसरी परिवारको संख्या बढ्दै गयो । र, कहिले कोठालाई बीचमा बारेर त कहिले घरको छतमाथि अर्को कोठा थपेर भुइँतले एककोठे घर कान्छो पुस्तासम्म आइपुग्दा दुई, तीन, चार, पाँच हुँदै तीस घरहरूको एक ठाडो धर्सोजस्तो बन्न पुग्यो ।
ठेंहेका हरेक घरहरूले घर मालिकको पुस्तान्तरणको इतिहास बोकेका छन् । प्रत्येक घरहरूको शृंखलालाई हेरेर अनुमान गर्न सकिन्छ कि यो गाउँ कम्तीमा ढाई–तीन सय वर्ष पुरानो हो । ठेंहे गाउँमा करिब पाँचसय धुरी घरहरू छन् । ठेंहे गाउँका बासिन्दाहरूबीच धनी र गरिबको त्यति भिन्नता र अन्तरविरोध देखिंदैन । जग्गा र पाठा बढी भएकालाई धनी मानिए पनि लवाइ, खवाइ र बसाइमा कुनै तात्त्विक अन्तर नदेखिने हुँदा सबैको स्तर लगभग समान देखिन्छ ।
आजकल ठेंहे गाउँका बासिन्दाहरू गाउँको छेउछाउ टिनको छत हालेर घर बनाउन थालेका छन् । तर देवता रामपालले कुनै किसिमको क्षति नपु‌र्‍याउन भनेर घर बनाउनुअघि धामीलाई पतुर्‌न लगाएर हेराउँछन् कि रामपालको आदेश के छ ? घर बनाउन लागेको ठाउँ सही छ वा छैन भनी जानकारी माग्छन् । कथंकदाचित धामीले त्यो ठाउँमा घर बनाउनु उपयुक्त छैन भनेर बोले भने त्यसपछि घर नबना भनेको ठाउँमा घर ठड्याउने हिम्मत आजसम्म कसैले गरेको छैन ।
ठेंहेवासीले पूजा गर्ने देवीको मन्दिरमुनि रामपालको मन्दिर छ । रामपालको प्राचीन मूर्ति चोरी भएपश्चात् ढुंगाको अर्को मूर्ति बनाएर स्थापना गरिएको रहेछ । तर पुजारीबाहेक कसैले पनि मूर्ति हेर्न नपाउने हुनाले रामपालको वास्तविक आकार कस्तो छ ? कोही भन्न सक्दैनन् । जनश्रुतिअनुसार रामपालका बाह्र भाइ छन् । रामपालका मुख्य बडिगार्ड आन्नेढुंगो हुन् । यिनको पूजा हुन्छ । हेडीडाँगी, जाँडखाँदो र खोपोलाई रामपालका सहायक बडिगार्डको रूपमा मानिंदो रहेछ । यहाँकी देवीलाई बलि चढ्दैन । देवीलाई दूध चढाइन्छ । रामपाललाई खसी र बोका बलि दिइन्छ भने तिनको गार्डलाई प्रायशः कुखुरा, हाँस र अण्डा चढाइन्छ । कसलाई के बलि चढाउने भन्ने कुरा धामीले पतुरेर भन्छन् । स्थानीय जनविश्वासअनुसार रामपालको नाममा भाकल ग‌र्‍यो भने मनले मागेको कुरा पूरा हुन्छ । यसको विपरीत रामपालको आदेशबिना केही उपद्रो काम भयो भने रामपाल रिसाउँछन् र खति हुन्छ । देवी र रामपालको पुजारी क्षत्री हुन्छन् । भण्डारी, रावल र बोहोरा जातका व्यक्ति मात्र पुजारी बन्नका लागि योग्य ठहरिन्छन् । यस गाउँका बासिन्दाहरू बसाइँ सरेर अन्यत्र गए वा कामको खोजीमा बाहिर कतै गए भने आफू बसेको ठाउँमा रामपालको मूर्ति स्थापना गरी पूजा गर्न चाहे भने पनि त्यसो गर्न मिल्दैन र तिनीहरू रामपालको पूजा गर्न ठेंहे गाउँकै मन्दिरमा आउनुपर्ने मान्यता रहेको छ ।
ठेंहे गाउँका घर र त्यहाँका गाउँलेहरूको बसाइ देख्दा मलाई आश्चर्य लाग्यो । साथसाथै दुःख पनि लाग्यो कि आधुनिक संसार कहाँबाट कहाँ पुगिसक्यो तर यहाँका मानिसहरू अझैं आदिम युगका मान्यता र सभ्यता बोकेर बाँचिरहेका छन् । तर हामीले अनुमान पनि गर्न नसक्ने अवस्था र परिस्थितिमा बाँचिरहेका यहाँका बासिन्दाहरूको आफ्नो भोगाइप्रति कुनै गुनासो छैन । जे जस्तो भए पनि आफूहरू रामपाल देवताको संरक्षणमा बाँचेकोमा गर्व गर्छन् । घरभित्र र घरबाहिरको मसिनो काम प्रायशः महिलाले गर्छन् ।

खेती गर्ने जमिन सीमित भएकाले प्रायशः पुरुषहरू मजदुरी र जंगलबाट जडीबुटी संकलन गरी बेच्ने गर्छन् । मैले भेटेजति हरेक उमेर र वर्गका महिलाहरूसँग कुरा गरें । एउटा कुराबाट म विशेष रूपमा प्रभावित भएँ । ठेंहे गाउँको पुरातन संस्कृति र रूढिग्रस्त मान्यताबाट निर्देशित समाजमा महिलाहरू आफ्ना लोग्ने, सासू–ससुराहरूको सामुन्नेमा नै अपरिचित मान्छेसँग निर्धक्क र खुलेर बोलिरहेका थिए । निसंकोच खित्का छोडेर हाँसिरहेका थिए । महिलाहरूमा देखिएको आत्मविश्वास र निर्भीकता अपत्यारिलो थियो । सायद आधुनिक र सभ्य भनाउँदा समाजमा महिलाले गर्ने व्यवहारहरूमा बन्देज र आडम्बर बढी हुने गर्छ । जति आधुनिक त्यति जीवनमा जटिलता ! जति सभ्य त्यति नै जीवनमा सीमितता ! सायद आधुनिकता र सभ्यताले छुन नसकेको ठेंहे गाउँको आदिम मान्यता र संस्कृतिलाई अँगालेर बाँचिरहेको समाजको कारण नै महिला र पुरुषले प्रदर्शित गर्ने व्यवहार र स्वतन्त्रतामा कुनै फरक न देखिएको हो कि !! यहाँको समाजको यो पाटोचाहिँ गर्व गर्ने खालको थियो ।
म थर्क्यामा उभिएर ठेहेंवासीसँग कुरा गरिरहेका बेला मेरा आँखा सानो बच्चालाई पिठ्युँमा बोकेर हाम्रा कुरा चाख मानेर सुनिरहेकी एक महिलाको अनुहारमा ठोक्किए । म उनीतिर उन्मुख भएँ ।
‘म गौमती बोहोरा,’ उनले आफ्नो परिचय दिइन् ।
‘तपाईंको घर कहाँ छ ?’ मैले सोधें ।‘त्यै त हो नि,’ उनले ठीक पछाडिपट्टिको सानो ढोका भएको घरतर्फ देखाइन् ।‘देखाउनुहोस् न है,’ मेरो कुरा सुनेर उनको मुख उज्यालियो । उनी आफ्नो घरतिर लम्किन् ।
हामी भित्र प्रवेश गर्‍यौं । दुई साँघुरा कोठा थिए । बाहिरको कोठामा पुराना, फाटेका, च्यातिएका, टालिएका, सामानहरूले भरिएको थियो भने भित्रको एकदम साँघुरो कोठामा चुलोमाथि प्रेसर कुकरमा भात पाक्दै थियो । दुवै कोठा धूवाँले भरिएका थिए । झिंगाहरूको फौजले अनुहारमा लगातार आक्रमण गरिरहेको थियो । म उकुसमुकुस भएँ । मलाई सास फेर्न मुस्किल भयो ।
‘कहाँ सुत्नुहुन्छ ?’
‘यै भुइँमा ।’ हातले भुइँ देखाउँदै गौमती बोलिन् ।कोठाको लम्बाइ यस्तो थियो कि सुत्ने मान्छेले घुँडा खुम्च्याउनुपथ्‌र्यो । ‘श्रीमान् काँ छन् ?’ मेरो प्रश्न झर्न नपाउँदै गौमतीले भनिन् :
‘ताक्लाकोट ।’
‘कति भयो ?’ मैले सोधें ।‘गएको त ज्यास्तै भयो तर बीच–बीचमा आउँदा छन् ।’
‘अरू को छन् घरमा ?’
‘सासू–ससुरा छन् । पल्लो कोठामा बस्दा छन् । हामीले ससुराको घर बारेर दुई घर बनाएका हौं ।’‘अब यो छोरो ठूलो भयो भने काँ बस्छ ?’ मैले उनको पिठ्युँको गादोमा बसेको सानो छोरोतिर हेर्दै सोधे ।
‘काँ जाला र ? यै घर बारेर त बस्ला ।’ खितखित हाँस्दै बोलिन् गौमती । उनको अनुहारमा न वर्तमानको सन्तापको भाव थियो न त भविष्यको चिन्ता !! उनको अनुहारमा देखिएको निश्छल मुस्कान देखेर कसले भन्न सक्थ्यो उनी सुखी छैनन् । उनका सीमित आवश्यकताहरू थिए । र, त्यो सीमितताबीच उनले आफ्नो सानो संसार सजाएकी थिइन् ।
सुर्खेतमा मलाई दीपेन्द्र रोकायाले ठेहेंवासीले जीवन धान्नका लागि घरेलु सीपको प्रयोग गरी लारु बनाउँछन् र छिमेकी गाउँहरूमा बेचेर आम्दानी गर्छन् भनेको स्मरण गरें । मैले रामबहादुर भण्डारीलाई सोधें । ‘यो लारु भनेको के हो भण्डारीजी ?’ भण्डारीजीले लारुको बारेमा बताउन थाले, ‘जाँड बनाउने अन्नलाई कुहाउनका लागि नभई नहुने औषधि हो लारु । ठेंहेंवासीहरू छिमेकी गाउँबाट जौ लिएर आउँछन् । जौलाई पिंसेर पिठो बनाउँछन् । पिठो चाल्दा चाल्नोमा बाँकी रहेको जौको चाल्नामा उवाको पिठो, गुड, सुकमेल, ल्वाङ, जाइफल, जिरा, ज्वानो, पुरानो लारु र जेठी मह नामक जडीबुटी मिसाएर स–साना डल्ला बनाएर घाममा सुकाउँछन् । ती डल्लाको माला बनाएर अन्य गाउँमा लगेर बेची आफ्नो गर्जो टार्छन् । एउटा मालाको तौल करिब सय ग्राम जति हुन्छ । एउटा मालामा कम्तीमा चौबीस लारु हुन्छन् । एउटा मालाको डेढ सय रुपैयाँ पर्छ । एक माला लारु बराबर डेढदेखि दुई किलो जौ, गहुँ वा चामल पाउँछन् । त्यै जौंको पिठो आफू खान्छन् र पिठो बन्न नसकेको चाल्नामा जडीबुटी हालेर लारु बनाएर फेरि त्यै गाउँमा लगेर बेच्छन् । गज्जबको उपाय भएन त हजुर यो ?’ भण्डारीजीको मुस्कान गहिरो भयो ।
ठेंहेवासीका अनुहारहरूमा निराशा, कुण्ठा, हीनता र विषादका भावहरू देखिएनन् । आफूसँग जे छ त्यसमै खुसी थिए ठेंहेवासी । आफ्नो जिन्दगीसँग कसैको कुनै गुनासो थिएन । आफूले विरासतको रूपमा पाएको आर्थिक विपन्नता, अशिक्षा, अन्धविश्वास, कुरीति, परम्परा र कुसंस्कारप्रति नतमस्तक हुँदै जे भयो र जे हुँदै छ सबै भगवान्को लीला हो भनी विश्वास गर्नेहरूको संख्या ठूलो छ । ठेंहे गाउँका बासिन्दाको चेतनाको विकासमा राज्यको दायित्वका बारेमा मैले जिज्ञासा राख्दा ‘सके गरिदिए हुने हो’ भन्ने भाव देखियो । आफ्नो दुःख व्यक्त गरे पनि राज्यप्रति गुनासो र आक्रोश कसैले प्रकट गरेनन् ।
डाँडामुनि सूर्य खस्नै लागेका थिए । हामी फर्किने तरखर गर्न थाल्यौं । बाँसकला बोहोराले भनिन्, ‘हरेक साल फागुन १२ गते यहाँ चैतलको मेला लाग्छ । हामी बैकिनीहरू रातभर देउडा गाउँछौं । तपईं पनि
पाल्नुहोला न ।’
‘हामी त नेपाल (राजधानी) बाटी आएका हौं । धेरै टाढा छ हाम्रो ठौर । कहरी आउन सकौंला त हजुर ! बरु चैतलमा गाउने देउडा गाएर सुनाइदिनुहुन्छ कि ?’ मैले अनुरोध गरें ।फुपू बाँसकला बोहोरा र भदै दीपाकली बोहोरा गालामा हात राखेर गाउन थाले,
‘जेठासी रुँडाले लैग, कार्तिक्या आसै नै
ठेंगाउँमा जनसंख्या बढी, बसन्या बास नै
ऐले मेरो ओखर पालो, रूखका रूखै छन्
दुर्गम हुम्ला पछि पर्‍यो, दुःखैका दुःख छन् ।’

प्रकाशित : कार्तिक ३०, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?