यात्रा : खुम्बु फुटनोट्स

सगरमाथा आधार शिविर पुग्नुअगाडि मलाई लाग्थ्यो, आधार शिविरबाट सर्लक्कै सगरमाथा देखिन्छ ।होइन रैछ । सगरमाथा आधार शिविरबाट त जम्मा खुम्बु आइसफल मात्रै देखिने रैछ ।
विराट अनुपम

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न साहस भएर मात्रै पुग्दैन । पैसा पनि हुनुपर्छ । आधा करोड लाग्ने सगरमाथा आरोहणभन्दा आधा लाखमा सकिने आधार शिविर यात्रामा जानु मेरो एक्लो विकल्प बन्यो । लोन्ली प्लानेटदेखि नेसनल ज्योग्राफिकसम्मले विश्वका घुम्नैपर्ने गन्तव्यमा खुम्बु अर्थात् सगरमाथा क्षेत्रलाई राखेपछि मेरो उत्साहलाई थप ऊर्जा मिल्यो । धेरैअगाडिदेखि सोच बनाए पनि यो दसैंपछि मात्रै मित्र र मुद्रा दुवै व्यवस्थापन भएर यात्रा जुर्‍यो ।

विश्वको सबैभन्दा जोखिमपूर्ण विमानस्थल लुक्लाको अवलोकन, सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो रास्ट्रिय निकुञ्जको यात्रा र ८ हजार ८ सय ४८ मिटर अग्लो शिखरको पाउ अर्थात् आधार शिविर अवलोकन अनि कालापत्थर पाहाड आरोहणजस्ता कुरा कल्पिँदा मात्रै खुम्बु यात्रा रोचक बन्यो । कल्पनालाई यथार्थ बनाउन इटहरीबाट हामी पाँच भाइ १५ दिने यात्राका लागी कात्तिक २५ मा निस्कियौँ ।

प्रदेश ट्रेकिङमा नआएको ‘संघीयता’
खुम्बु क्षेत्र प्रदेश १ मा पर्छ । तर, प्रदेश १ कै हिमाल पुग्न हामी प्रदेशवासीहरू सबैभन्दा पहिले काठमाडौं जानुपर्छ । ट्रेकिङका सामानहरू प्रदेश १ मा उपलब्ध नभएकाले हामी काठमाडौं पुग्यौं । इटहरीबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी, त्यहाँबाट २ दिन लुक्ला अनि ७ दिनमा आधार शिविर पुगिने भए पनि सामान किन्न नपाइएकाले काठमाडौंकै रुट अनिवार्य बन्यो । सामानजस्तै विमानका लागि पनि प्रदेश १ बाहिरै पुग्नुपर्छ । प्रदेश १ मा विराटनगर र भद्रपुरजस्ता सुविधासम्पन्न विमानस्थलहरू छन् । लुक्ला उडान भने प्रदेश ३ स्थित रामेछापको मन्थलीबाट हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएकाले मन्थलीबाट मात्रै उडान गरिएको मन्थली विमानस्थल प्रमुख अमित चौरासियाले सुनाए ।


प्रदेश १ का हिमाल पुग्न आवश्यक सामग्री बेच्न नसक्ने प्रदेश १ का पर्यटन व्यवसायी र उडान गर्न नसक्ने विमान कम्पनी अनि सरकारलाई व्यंग्य गरेसँगै यात्राका साथी तथा नेकपा सुनसरी नेता सागर सुवेदीले भने, ‘ट्रेकिङ क्षेत्रमा सरकार र व्यवसायीहरूले अझै संघीयता ल्याएका रैनछन् ।’


ट्रेकिङको केन्द्रीयताले प्रदेश १ वासीलाई मात्रै हैन, सीमावर्ती भारतीयहरूलाई पनि समस्यामा पारेको रैछ । नाम्चे बजारदेखि दुई स्टेसनमाथि रहेको देबुचेमा भेटिएका पश्चिम बंगालका स्थानीय सौरभ चक्रवर्तीले सल्लेरीबाटै पैदल आएको बताए । उनी कलकत्ताबाट रक्सौल पुगे । रक्सौलबाट काठमाडौं । र, काठमाडौंबाट सल्लेरी । कलकत्ताबाट सिलिगुढी अनि इटहरी हुँदै तीन दिनमा आउन सकिने सल्लेरी उनी पाँच दिनमा मात्रै पुगे । भारतीय सेनामा १२ वर्षदेखि कार्यरत बताएका उनले आफूले ट्रेकिङ कम्पनीको सूचना हेरेर आएको बताए । पश्चिम बंगालसँगै जोडिएको नेपालको प्रदेश १ कै उत्तरी जिल्लामा खुम्बु भएको भन्दा उनी चकित भए । किनमेल र विमानस्थलमा मात्रै हैन काठमाडौंका ट्रेकिङ कम्पनीको कारणले सूचनामा पनि खुम्बु क्षेत्रमा संघीयता नआएर ट्रेकरहरू हैरान रैछन् ।

हिमाल छुन पुग्ने दुर्लभ नेपाली ट्रेकर
२८ गते बिहान साढे एघार बजे लुक्ला ओर्लेर खानपानपछि अगाडि बढ्दै गर्दा नेपाली सुरक्षाकर्मीले रोकेर मुस्कुराउँदै सोधे, ‘इस्क्युज मी सर । चेकिङ ।’ ‘नेपालीलाई पनि चेकिङ हुन्छ र’ भन्दा उनले मुस्कुराएरै भने, ‘ओहो सरी सर । म त विदेशीजस्तै लागेर ।’ लुक्लामा मात्रै हैन अन्य केही स्थानमा पनि होटल व्यवसायीदेखि भरियाहरूसम्मले विदेशी सम्झेर अंग्रेजीमै कुरा गरे । ट्रेकरको हुलियामा पुगेका गहुँगोरो अग्ला आर्यन अनुहारलाई इजरायली, श्याम वर्णलाई भारतीय र अग्लो मंगोलियन अनुहारलाई जापानिज र कोरियनजस्तो ठान्ने स्थानीय गाइड बालकुमार तामाङले बताए ।

तामाङका अनुसार नेपालीहरू अत्यन्तै कम आउनाले यस्तो भएको हो । तामाङको तर्कलाई सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकले नै पुष्टि गर्छ । आर्थिक वर्ष २०७५/७६ मा ५८ हजार ३० जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा आउँदा जम्मा ७ सय ४१ जना मात्रै नेपाली आएको निकुञ्जका कर्मचारी केदार कट्टेलले जानकारी दिए । एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विसं २०१० जेठ १६ मा सगरमाथा चढेको ६६ वर्ष कटिसक्दा पनि हजारभन्दा कम नेपाली मात्रै एक वर्षमा यो क्षेत्रमा आउँदा रैछन् ।


३ हजार ८ सय ८० मिटर उचाइमा खुम्बु क्षेत्रमा रहेको विश्वको सबैभन्दा अग्लो स्थानको होटल एभरेस्ट भ्युका म्यानेजर आङनुरु शेर्पा नेपालीहरूले नेपाली हिमाल र सगरमाथाको महत्त्व नबुझेर कम आएको बताउछन् । १४० देखि १९० डलरमा बिक्री हुने आफ्नो होटलका १२ कोठा बुक गर्न आउने सबैजसो विदेशी भएको उक्त होटलमा तीस वर्षदेखि सक्रिय शेर्पाले बताए ।

उनले भने, ‘नेपालीहरू विदेशमा पुगेर मात्रै सगरमाथा र हिमालको महत्त्व बुझ्छन् ।’ शेर्पाको कुरामा सहमत भए इटहरीबाट हामीसँगै खुम्बु क्षेत्र हिँडेका ड्राइभिङ स्कुल सञ्चालक बाबुराम प्रधान । उनले हाँस्दै भने, ‘सिंगापुरमा सगरमाथा पुगेको छैन भन्दा विदेशीले खिसी गरेको देखेरै मैले यहाँ आउन त्यही बेला योजना बनाएको हुँ ।’ अर्का सहभागी सन्तोष निरौलाले पनि थाइल्यान्ड पुगेपछि मात्रै सगरमाथाको महत्त्व बुझेको स्विकारे ।

एनिभर्सरी, डेटिङ र सरसफाइ
नेपाली कम पुगेपछि खुम्बुमा विदेशीहरू भने अत्यधिक जाने पाइयो । ८ वर्षका बालकदेखि ७७ वर्षीय वृद्धसम्म खुम्बु यात्रामा भेटिए । एक जना त ह्विलचेयरमा समेत लुक्ला पुगेकी थिइन् । उनलाई आफ्ना सहयोगीले हिँडाइरहेका थिए । उनी घोडा चढेर बेसक्याम्पसम्म जाने बताउँदै थिइन् । आधार शिविर पुग्न काठमाडौंबाट चार्टर गरिएका हेलिकप्टरदेखि लुक्लाबाट पाइने घोडासम्म उपलब्ध रैछन् । यही सुविधा लिएर शारीरिक अशक्तता भएकाहरूसमेत आधार शिविर पुग्दा रहेछन् । ३ हजार हाराहारी डलरको हेलिकप्टर चार्टर गरेर एकैछिनमा सगरमाथा आधार शिविर पुगेर आउनुभन्दा लुक्ला ओर्लेर प्रतिक्याम्प यात्राको १ सय डलरमा पाइने घोडामा आधार शिविर जानेहरू पनि पाइए ।


लुक्लाबाट आधार शिविर र आउन्जेलका १३ दिने यात्रामा गफिएका दर्जनौँ पर्यटकले फरकफरक कारणले खुम्बु ट्रेकिङ आएको बताए । आधार शिविरमा भेटिएका भारत उत्तर प्रदेशका २९ वर्षीय प्रदेश सांसद (एमएलए) प्रतीक भूषण सिंहले आफू महात्मा गान्धीको १५० औ जयन्ती मनाउने क्रममा आएको बताए । जेनेभाका ६३ वर्षीय मार्कले आफ्नो तौल घटाउन आएको बताए । केही फ्रान्सेली जोडीहरूले भने आफ्नो विवाह एनिभर्सरी मनाउन र डेटिङ गर्न आएको समेत खुलेर बताए । स्याङ्बोचेमा भेटिएका बेलायतका नागरिक तथा सगरमाथा नेक्स्ट कार्यक्रमका टोमी र आधार शिविरमा भेटिएका बेलायतकै जे बोथ आफूहरू सगरमाथा क्षेत्रको सफाइमा काम गर्न आएको बताए ।

खुम्बु मेन्युमा प्रोफेसनल शेर्पा, लिबरल गैरशेर्पा
१४ दिने सगरमाथा आधार शिविर यात्राको योजनाताका मलाई लाग्थ्यो, नाम्चेमाथि कुनै बजार छैन । टेन्ट, स्लिपिङ ब्यागदेखि सातुसामल सबै बोक्नुपर्छ । यस्तो होइन रहेछ । सगरमाथाको तीन घण्टा वरसम्म बजार रैछ । लुक्लादेखि सात क्याम्प यात्रामा पुगिने बेसक्याम्पसम्मका हरेक क्याम्पमा पसल र टी सप रैछन् । २८५० मिटर उचाइको लुक्लादेखि ५१९० मिटरको गोरक्षेपसम्मका सात क्याम्पमा जत्ति उकालो लग्यो, मेन्युको रेट पनि उत्ति उकालो लाग्ने । बेसक्याम्प नजिकैको बजारसम्म उपलब्ध हुने इन्टरनेटको रेट पनि उचाइअनुसार उकालो लाग्ने ।


मुख्यगरी शेर्पाहरूका टी सप र लजहरू पाइने यी क्षेत्रमा राई, तामाङ, मगर आदि समुदायले पनि टी सप सञ्चालक गरेका छन् । उनीहरूको लगभग एकै खाले मेन्यु रहेको छ । सामान्यतया खानाको ६ सयदेखि एक हजारसम्म र चियाको तीन सयदेखि पाँच सयसम्मको मेन्यु रेट देखिन्छ । यो रेटमा डिस्काउन्ट माग्दा शेर्पा साहुजीहरूले असहज माने । हाम्रा सहयात्री सुरेश कार्कीले सगरमाथादेखि दुई स्टेसनमुनिको लोबुचेको एक टी सपमा डिस्काउन्ट हुन्न भन्ने प्रश्न गर्दा उनले प्रतिप्रश्न गरे, ‘काठमाडौंको रेस्टुरेन्टमा गएर तपाईं डिस्काउन्ट माग्नुहुन्छ ?’


आफ्नो मेन्युमा क्लियर र प्रोफेसनल देखिएका शेर्पा व्यवसायीहरूभन्दा अलिक लिबरल लागे अन्य समुदायका व्यवसायी । उनीहरूले नेपाली भनेर मेन्यु रेटमा आधा नै छुट दिए । ५ हजार ५० मिटर उचाइमा अवस्थित संसारको सबैभन्दा अग्लो स्थानको पिरामिट रिसर्च सेन्टरले सञ्चालन गरेको लजका म्यानेजर काजी विष्टले त नेपालीहरू भनेर हाम्रो समूहबाट कुनै पैसा लिएनन् । हामीलाई मात्रै हैन विष्टले भरियाहरूलाई माया गरेर कतिपयलाई निःशुल्क खाना र बस्न दिँदा रहेछन् ।


तीन दिन बास र गाँसको पैसा लिनै मानेनन् विष्टले । दिनैपरे आफ्ना मिहिनेती किचन स्टाफहरूलाई टिप्स दिन आग्रह गर्दै उनले भने, ‘मलाई विदेशीको टिप्स नै ६० हजारसम्म आउँछ । नेपाली दाजुभाइहरूलाई किन पैसा लिनु ?’

तेङ्बोचे:जहाँबाट सुरु हुन्छ हिमालयन उपत्यका
लुक्ला ओर्लनासाथ हिमाली क्षेत्र महसुुस हुने यात्राले ३८ सय ६० मिटरमाथिको तेङ्बोचे पुगेपछि आकर्षक मोड लियो । निकै पर देखिने हिमाल आँखैअगाडि देखिन्छ । एकातिर मात्रै हैन चारैतिर हिमालै हिमाल । अगाडि दगुर्दै झ्याम्म हिमालमा उक्लिन सकिन्छजस्तै गरी आमादब्लम उभिन्छ । थामसेर्कु, ल्होत्से, नुप्से र सगरमाथाको झल्को पनि तेङ्बोचेले दिन्छ । पहिलोपटक हिमाल अगाडि उभिएको अनुभव दिने तेङ्बोचे धार्मिक तथा सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । हिमालयन भव्य दृश्यलाई सन् १९२३ मा बनेको तेङ्बोचे गुम्बाले अर्को भव्यता दिन्छ ।

कालापत्थर:सगरमाथा हेर्ने प्राकृतिक भ्यु टावर
सगरमाथा आधार शिविर पुग्नुअगाडि मलाई लाग्थ्यो, आधार शिविरबाट सर्लक्कै सगरमाथा देखिन्छ । होइन रैछ । सगरमाथा आधार शिविरबाट त जम्मा खुम्बु आइसफल मात्रै देखिने रैछ । ५३६४ मिटर उचाइमा रहेको आधार शिविरबाट नदेखिने दृश्यको प्यास मेटाउनै उभिएको जस्तै छ कालापत्थर । ५५४५ मिटर उचाइमा आधार शिविरभन्दा अग्लो कालापत्थरबाट ल्होत्से र नुप्से आसपास राखेर उभिएको विश्वको सर्वोच्च शिखर सगरमाथा आँखैअगाडि देखिन्छ । सगरमाथा पुग्नुअगाडिको गोरक्षेप बजारबाट उकालो साढे दुई घण्टामा पुगिने कालापत्थरको चुचुरो गोरक्षेपबाटै तीन घण्टा तेर्सो हिँडेर पुगिने आधार शिविरको भन्दा भिन्न छ ।


कालापत्थरभन्दा १ सय ८१ मिटर होचो आधार शिविरमा निरन्तर हिउँ पर्छ र हिउँका ढिक्का अत्यन्तै देखिन्छ । कालापत्थरमा हिउँका ढिक्का देखिन्न । सगरमाथाभन्दा ३३०३ मिटर मात्रै होचो कालापत्थरमा कालापहाड खुम्बु क्षेत्रको भीआईपी भेन्यु हो । यही स्थानमा २०६६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद्को बैठक गराएर जलवायु परिवर्तनको असरबारेमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

आधार शिविर, भोक हड्ताल र रोमान्टिक ढुंगाहरू
सगरमाथा आधार शिविर पुगेपछि सबैभन्दा धेरै दुविधा आधार शिविरकै उचाइमा हुन्छ । आधार शिविरका दुई ढुंगामा दुईखाले उचाइ लेखिएको थियो । एउटामा ५ हजार ३ सय ६४ मिटर, अर्कोमा ५ हजार ३ सय ६५ मिटर । यत्ति मात्रै हैन आधार शिविरमा सरसफाइ गर्न आएका बताउने बेलायती नागरिक जे बोथले ५३४५ मिटर मात्रै भएको बताउँदै थिए ।खुम्बु क्षेत्रको सुन्दरता महसुस गर्ने र प्रदेश १ का आझेलमा परेका साहसिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने हाम्रा दुई मिसन पूरा भए । आधार शिविरमा २४ घण्टा भोक हड्ताल गरेर वातावरणीय न्यायको माग गर्ने मिसन भने समूह सदस्य बाबुराम प्रधानलाई लेक लागेर समस्यामा पर्‍यो । आधार शिविर पुग्न लाग्दा अत्यन्तै धेरै लेकको समस्याले उनले लोबुचेबाट हेलिकप्टर चार्टर गरेर लुक्ला आउनुपर्‍यो ।

थोरै उचाइको तराईबाट आएका सदस्यहरूको अक्सिजन लेभल कम हुँदै गयो । सामान्यतया ‘पल्स अक्सिमिटर’ ले नाप्दा ७५ प्रतिशत अक्सिजन हुनुपर्नेमा धेरै सकसले मात्रै त्यो लेभल पुगेपछि अर्को समस्या थपियो । त्यसमाथि हिउँ पर्‍यो । मौसमदेखि स्वास्थ्य जटिलताले हाम्रो भोक हड्ताल स्थगितको अवस्थामा आयो । स्थगनभन्दा सकेको गरौँ भनेर हामीले चार घण्टाको मात्रै कार्यक्रम राख्यौँ । २४ घण्टा र पाँच सदस्य कार्यक्रममा लेक लागेर अनुपस्थित एक सदस्यको नाम ब्यानरमा छोपियो । २४ घण्टामा २ छोपेर ४ मात्रै देखाएर हाम्रो कार्यक्रम चल्यो ।


सगरमाथा आधार शिविरको अर्को रोचक पक्षचैं आधार शिविरका हिउँका ढिस्काले थामिएर उभिएका रोमान्टिक ढुंगाहरू । त्यी ढुंगाहरूमा ट्रेकरहरूदेखि आरोहीसम्मले आफ्ना प्रेमिल सन्देशहरू लेखेका पाइए । नेपाली, अंग्रेजी, हिब्रु, स्पेनिसदेखि फ्रान्सेली हुँदै रसियन तथा चिनियाँ अक्षरमा मायालु सन्देशहरू लेखिएका ढुंगा बेसक्याम्पभरि भेटिए । यी रोमान्टिक ढुंगाहरू देखेर उत्साहित बने हाम्रो समूहका सदस्य सुरेश कार्की । विगत तीन दिनदेखि झर्किंदै श्रीमतीको फोन रिसिभ नगरिरहेका उनले एकाएक एक गोरा पर्यटकसँग कालो मार्कर मागे । र, आफ्नी श्रीमतीको नाममा अंग्रेजी सन्देश लेखे, ‘आई लभ यु विनिता । योर सुरेश ।’


-विराट अनुपम

प्रकाशित : कार्तिक २३, २०७६ १४:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कविता : प्रभु ! यत्ति भए त...

लेखनाथ भण्डारी

प्रभु ! यत्ति भए त... लेखनाथ भण्डारीको कविता :

घाँटीमा
एउटा–दुईटा दुपट्टा
छातीमा
एउटा–दुइटा तक्मा
भित्तामा
एउटा–दुइटा अभिनन्दन र प्रशंसापत्र
दोबाटोमा
एउटा–दुइटा सालिक र शिलापत्र
प्रभु !
यत्ति पनि नभए त जिन्दगी
व्यर्थै हुने भयो?

प्रभु !
चाहिंँदैन बाँकी अरु कुनै वरदान
यति भए त
जीवन सार्थक हुनेथियो
शान्तिले सास जानेथियो।

प्रभु !
यति भए त हुनेथियो
कुनै कीर्ति नै नरहे
फुर्ती पनि केही नरहने भयो।

घाँटीमा...
छातीमा...
भित्तामा...
र, दोबाटोमा पनि...
त्यतिचैं भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो।

प्रभु!यति भए त
जोरी–पारीको हाँसो पनि जाने थियो
श्रीमती र छोराछोरीको हाँसो छरिने थियो।

हो प्रभुजी !
यति भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो।

प्रकाशित : कार्तिक २३, २०७६ १४:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्