कविता : प्रभु ! यत्ति भए त...
प्रभु ! यत्ति भए त... लेखनाथ भण्डारीको कविता :
घाँटीमा
एउटा–दुईटा दुपट्टा
छातीमा
एउटा–दुइटा तक्मा
भित्तामा
एउटा–दुइटा अभिनन्दन र प्रशंसापत्र
दोबाटोमा
एउटा–दुइटा सालिक र शिलापत्र
प्रभु !
यत्ति पनि नभए त जिन्दगी
व्यर्थै हुने भयो ?
प्रभु !
चाहिंँदैन बाँकी अरु कुनै वरदान
यति भए त
जीवन सार्थक हुनेथियो
शान्तिले सास जानेथियो ।
प्रभु !
यति भए त हुनेथियो
कुनै कीर्ति नै नरहे
फुर्ती पनि केही नरहने भयो ।
घाँटीमा...
छातीमा...
भित्तामा...
र, दोबाटोमा पनि...
त्यतिचैं भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो ।
प्रभु !यति भए त
जोरी–पारीको हाँसो पनि जाने थियो
श्रीमती र छोराछोरीको हाँसो छरिने थियो ।
हो प्रभुजी !
यति भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो ।
प्रतिक्रिया