१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिञ्जाली बिहानी

रुपेश श्रेष्ठ

कुनै बेला ऐतिहासिक जुम्ला राज्यको राजधानी थियो सिञ्जा उपत्यका । खस भाषा र सभ्यताको उद्गमका रूपमा यो उपत्यकाको महत्त्व अलग्गै भए पनि आज यो उपत्यका पुग्दा राज्यभन्दा निकै टाढा पुगेको अनुभूति हुन्छ । बिजुलीको केन्द्रीय प्रसारण लाइनमा अझै नजोडिएको सिञ्जालाई कच्ची सडकले बल्लबल्ल छोएको छ ।

सिञ्जाली बिहानी

हिमा नदीले सिञ्चेको सिञ्जाका फाँटहरूमा अहिले रातो र कालो मार्सी धान भित्र्याउने चटारो छ । कात्तिकको एक बिहान झल्लमल्ल घाम लाग्दा सिञ्जा यस्तो देखियो ।


सुर्ती, चुरोट र तमाखु खानेको संख्या यहाँ निकै ठूलो देखियो । महिला र पुरुष दुवै यो अम्मलमा उत्तिकै लिप्त देखिए । वृद्ध मात्र नभई नयाँ पुस्ताले चुरोट पिएको देखिन्छ । कर्णाली प्रदेश देशभरिमै सबैभन्दा कम सरदर आयु (५५.६ वर्ष मात्रै) रहेको प्रदेश हो । सिञ्जा र कणार्ली तमाखु धेरै खपत हुने मात्र प्रदेश भने होइन । यहाँका मार्सी र सिमी झन् लोकप्रिय छन् ।

जुम्लाको मार्सी र सिमी थन्क्याएको दृश्य पनि देखियो । विशेषगरी जुम्लाको मार्सी चामलको माग काठमाडौंलगायतका क्षेत्रमा बढ्दो छ । व्यापारीहरू अहिले जुम्लामा घरघरमै पुगेर मार्सी चामल र धान उठाउने गर्छन् जसले गर्दा किसानलाई अनाज बेचेर जीविका चलाउन थोरै भए पनि सहज हुन थालेको छ ।

सिञ्जामा खाना पकाउनका लागि अझै पनि दाउरा नै प्रयोग गरिन्छ । हुनेखाने केहीका घरमा ग्यास जोडिएको पाइन्छ तर अधिकांश घरका चुलोमा दाउरा नै बल्छ । सरकारी र गैरसरकारी पहलमा धेरैका भान्सामा सुधारिएको धूवाँरहित चुलो भने बनेका छन् ।
सिञ्जाका विद्यालयमा हाल छात्रहरूको तुलनामा छात्राको संख्या बढी छ । पढाइ नसकिँदै विद्यालय छोड्नेको संख्या पनि घट्दो छ । चेतना विस्तारले छोरीहरूको सानैमा विवाह गरिदिने प्रचलनमा पनि कमी आइरहेको छ तर बालविवाह निमिट्यान्न भइसकेको भने छैन ।

सिञ्जामा अहिले पनि ४० भन्दा बढी परम्परागत आरन छन् जहाँ कुटो, कोदालो र अरू हतियारहरू बनाउने काम हुन्छ तर यी आरनहरू व्यावसायिकभन्दा पनि पुर्ख्यौली पेसा जोगाउने शैलीमा मात्र चलेका छन् । यहाँका अधिकांश परिवारका पुरुषहरू रोजगारीका लागि कि नेपालगन्ज या सीमावर्ती भारतीय सहरहरूतिर जाने गर्छन् । महिलाहरू कृषि र घरधन्दामै व्यस्त हुने गर्छन् ।

प्रकाशित : कार्तिक २३, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?