अनुभूति : यो मन कहाँ दुख्छ ?

एनाटोमीमा मैले कहिल्यै कतै ‘मन’ पढिनँ । शरीरका अन्य अंगहरूझै‘मन’ कुनै अंग विशेष र‘मन’ रहने ठाउँ र स्थानविशेषको बारेमा कतै पढेको वा उल्लेख भएको पनि पाइनँ । अनि यो ‘मन’ भन्ने चीजको उपस्थिति हाम्रो शरीरभित्र कहाँ र कसरी रह्यो ?
अनिल श्रेष्ठ

आज म धेरैचोटि आफैंसँग घोत्लिएको छु । मेरो यो घोत्ल्याइँले भने बिहानैदेखि घरमा श्रीमतीको छटपटीलाई बढाइरहेछ । मेरो यो घोत्लिनु र एकोहोरिनुले उनी निकैअघिदेखि अलमलिएर मलाई नियालिरहेकी छन् ।

मेरो व्यवहारमा आएको यो एक्कासि परिवर्तनले उनलाई पनि एउटा सन्तापले लखेटिरहेको हुँदो हो सायद । उनी घरीघरी मेरो नजिक आउँछिन् । मेरो कपाल मुसार्छिन् र मलाई सोध्छिन्, ‘सन्चो भएन कि के हो ? हँ ??’


म चुपचाप उनलाई हेरेर टोलाइरहन्छु । उनी दुविधापूर्वक मलाई हेरेरै टोलाइरहन्छिन् । र, फेरि सोध्छिन्, ‘सन्चो लाग्या छैन ?’
तर मेरो छेउमै उभिएको उनको त्यो उपस्थितिसँग भने म बेसरोकार छु । उनका ती प्रश्नहरूले मलाई छुँदैन । मेरो यो मौन व्यवहारले उनी अचम्म मानेर फेरि पनि मलाई नियालिरहन्छिन् । म उनको आँखा र निधारभरि उठिरहेको उनको त्यो असामन्जस्य, चिन्ता र छटपटीहरूलाई हेरिरहन्छु । र, निस्फिक्री छु । म आफ्नै मनसँग एकान्तमा छु । मनको एउटा लयमा छु । मनसँग एकालापमा छु । र, बेफिक्री छु ।

‘मन एकातिर बाँधिएर
एकातिर पोखिने वस्तु हो
मन एकातिर खुम्चिएर
एकातिर फैलिने वस्तु हो
मन एकातिर कठ्याङ्ग्रिएर
एकातिर बल्ने वस्तु हो
मन यी अन्तरद्वन्द्वलाई
सम्हाल्ने वस्तु हो
थाहा नपाए,
एउटा प्रवेशद्वार हुन्छ जिज्ञासाको
ढकढकाउनु राम्रो ।’
(संगतिहरूको आँखीझ्यालबाट, पारिजात)

जिन्दगी, साना–साना कुराहरूले टाल्दै हिँड्नुपर्ने । सिलायो, फुस्किन्छ । फेरि सिलायो, फेरि फुस्किन्छ । मन कहिले सियो बनिदिन्छ । मन कहिले धागो बनिदिन्छ । टाल्दाटाल्दै जिन्दगी मक्किएरै जानुपर्ने । च्यातिएरै सकिनुपर्ने ।किन यो मनसँग आज मलाई यतिधेरै घोत्लिरहन मन लागिरहेछ !

‘मन’ धेरैले, धेरैचोटि, धेरै ठाउँमा र धेरै प्रसंगमा प्रयोग र उच्चारण गरिरहने शब्द हो यो सायद । चाहे त्यो लेख्य साहित्य गीत, गजल, कविता होस् या दृश्यश्रव्य चलचित्रका संवाद, चाहे त्यो संवेगात्मक होस् या परिहासको अवस्था, दुःख होस् या सुख या एकान्तका क्षणहरू, मनको सम्बन्ध मनग्गे पाइन्छ । सामान्य बोलचाल र व्यवहारमा सधैं अस्तित्व जमाएर बस्ने यो भावपरक शब्दको प्रभाव र प्रयोग कहाँ र कसरी दोहोरिरहँदो रै’छ, एकचोटि हेरौं न ।

‘त्यसो नभन न, मन दुख्छ ।’
‘मैले उसलाई मनमनै मन पराएँ ।’
‘मेरो मन खुसीले नाचिरह्यो ।’
‘मन फुकाएँ ।’
‘मन रोइरह्यो ।’
‘मनको चोट ।’ इत्यादि, इत्यादि ।

अधिकांश फिल्मका गीतका दृश्यहरूमा प्रेमी र प्रेमिकाबीचको एउटा प्रेमिल क्षणलाई अभिव्यक्ति दिनका लागि पनि यो मन शब्दको अधिक प्रयोग भएकै छ क्यार । आसक्ति, प्रेम र अनुराग भावलाई मनको अवस्थासँग प्रकट गरेर एउटा आह्लाद सिर्जना गरिएका श्रव्यदृश्य साहित्य पनि प्रशस्तै निर्माण गरिएका छन् । मनको यो विराट स्वरुप र व्यापकतालाई खोज्न पनि म अहिले यति विछट्टले एकोहोरिरहेको छु ।


कहिलेकाहीँ एकलकाँटे भइदिन्छ मन । एउटा यायावर जो क्षितिज खोज्दै हिँड्छ र ऊ क्षितिज भेट्न निरन्तर एक्लै यात्रामा हिँडिरहेको हुन्छ, ऊसँग सधैं एउटै प्रश्न रहन्छ त्यो शून्य आकाश परको जीवन कस्तो होला ! कहिलेकाहीँ म त्यो यायावरले झैं सोच्छु, साँच्चै मान्छेभित्र यो विराट मन अट्ने ठाउँ कस्तो होला ! एउटा व्यक्ति, व्यक्तिसँग जोडिने परिवार अनि समाज अनि देश अनि सिङ्गो मानव जाति र समुदाय, यी सबैसँग जोडिएर आउने भावना, विचार र स्वार्थ । ती आउँछन् कहाँबाट ?


म एकै छिन मनको अस्तित्वलाई खोज्छु । यो कहाँ, कुन आकार र स्वरूपमा, कुन आकृतिमा र कुन अस्तित्वमा विद्यमान छ ? घोत्लिन्छु । मैले स्वास्थ्य शिक्षा पढ्दा शरीरविज्ञान (एनाटोमी) पढेको छु । एनाटोमी भनेको शरीरका अंगहरू सम्बन्धी अध्ययन गर्ने विषय हो । मैले त्यहाँ हाडहरूको विषय पढेको छु । मान्छेको टाउकाको हाडभित्र रहने मस्तिष्क (गिदी), नसा र रक्तनलीहरू पढेको छु । छातीको हाड (करङ) भित्र रहेको मुटु, कलेजो, फोक्सो, आमाशय र पित्तथैली पढेको छु । र, पेल्भिस क्याभिटीभित्र रहेको मृगौला, मूत्रनली र मूत्रथैलीहरू पढेको छु । शरीरभित्र कहिलेकाहीँ यी अंगहरूमा हुने संक्रमित रोगहरूले यी अंगहरू दुख्छ । तर एनाटोमीमा मैले कहिल्यै कतै ‘मन’ पढिनँ । शरीरका अन्य अंगहरूझै ‘मन’ कुनै अंग विशेष र ‘मन’ रहने ठाउँ र स्थानविशेषको बारेमा कतै पढेको वा उल्लेख भएको पनि पाइनँ । अनि यो ‘मन’ भन्ने चीजको उपस्थिति हाम्रो शरीरभित्र कहाँ र कसरी रह्यो ? यो कसरी संक्रमित हुन्छ ? कसरी दुख्छ ? मन, न शरीरमा कतै यसको उपस्थिति छ, न आँखाले कतै यसलाई देख्न सकिन्छ, न यसलाई कुनै आकार र स्वरूपमा छाम्न सकिन्छ । फेरि पनि मान्छेलाई यसले दुखाउँछ, रुवाउँछ, हँसाउँछ, खुसी बनाउँछ ।


मान्छेमा रिस कहाँबाट आउँछ ? कहाँबाट आउँछ सुख ? दुःख कहाँबाट आउँछ ? र, कहाँबाट आउँछ अभिमान ? सबैले दिने एउटै जवाफ हुनेछ सायद, ‘मनबाट’ । यो रिस, सुख, दुःख, अभिमान, सन्ताप, प्रेम, घृणा, आक्रोश, खुसी, आनन्द सबैको स्रोत मन हो भने यो मनचाहिँ छ कहाँनिर ? एउटै हावाको स्पर्शले पनि किन कसैलाई आनन्द दिन्छ ? र, कसैलाई बिझाउँछ ? एउटै फूलको रङ किन कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन ? कुनै मान्छे, कुनै वस्तु या चीजसँगको आकर्षण किन हुन्छ ? मन मान्छेको शरीरभन्दा बाहिरको अस्तित्व हो भने मान्छेलाई यसले नदुख्नुपर्थ्यो । मान्छेलाई यसले नछुनुपर्थ्यो ।


एक दिन मेरो एकजना केटी साथीले एउटा सरप्राइज दिने कुराको गाँठो फुकाउँदै मलाई जिस्किएर भनिन्, ‘तिम्रो मन छामेकी ।’
मैले तुरुन्तै सोधें उसलाई, ‘कसरी फेला पार्‍यौ र मेरो मन ?’


उनी एकै छिन अलमल्ल परिन् र लजालु भावले मलाई हेरिरहिन् ।


अचम्मको छ यो मन । कतिले कतिलाई रुवाएको छ । कतिले कतिलाई दुखाएको छ । कतिले कतिलाई निस्फिक्रीसँग हँसाएको पनि छ । भन्छन् नि, ‘मन रोएको देखिँदैन । मन बिमारी भएको औषधि लाग्दैन ।’ बिचरा ! चिकित्सकहरू, शरीरको घाउ पो देख्छन् । उपचार गर्छन् र निको बनाउँछन् । मनको घाउ देख्दैनन् । जाँचपड्ताल गर्छन् । सबै अंग हेर्छन् । सबै उस्तै दुरुस्तै छन् । कुनै संक्रमण देखिँदैन । अनि भिटामिनको झोल लेखिदिन्छन् र भन्छन्, ‘लाऊ, यो खाऊ र एक सातापछि आऊ ।’


बिरामीको दुब्लाउँदै र पातलिँदै गएको जीउलाई हेरेर डाक्टरले छातीको भिडियो एक्सरे गरिदिन्छन् । तर कतै मस्तिष्कको, मुटु र कलेजोको छेउको कुनै भागमा मनको भाग देखिँदैन । अनि कुन अंगको उपचार गरिदेओस् चिकित्सकले !


म घोत्लिएको छु निकै दिनदेखि आफ्नो मनसँग । दुःख, पीडा, खुसी, हाँसो, उत्साह, निराशा, छटपटी, वेदना मान्छेको मनसँग गाँसिएर कसरी आउँछ ? मान्छेभित्र यो कसरी उब्जन्छ ? विचारहरूको तरंगले शरीरमा ल्याउने प्रभाव हो सायद मन । मेरा घोत्ल्याइँहरू बाँकी छन् अझै । म भने अरुणा लामाको सुमधुर आवाजमा राजेन्द्र थापाको गीतलाई गुन्गुनाइरहेको छु यतिखेर :

‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपालि त मनै फाट्यो
केले सिउने, केले टाल्ने हो !’

प्रकाशित : कार्तिक २३, २०७६ १४:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्मृति : मैले देखेको टुँडिखेल !

रामेश्वरप्रसाद बराल

पहिलोपटक म आइएको परीक्षामा सामेल हुन २०१८ सालको चैतमा काठमाडौं आएको थिएँ । म एक्लै होइन, मजस्ता धेरै मित्र यहाँ आएका थिए । काठमाडौं नै आउनुपर्ने हाम्रो बाध्यता थियो । भर्खर–भर्खरै शिशु त्रिभुवन विश्वविद्यालय आफैंले परीक्षा सञ्चालन गर्न थालेको थियो । नत्र यी सबै परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गर्दै आएको थियो ।

पटनाले सञ्चालन गर्दा परीक्षाफल उतैको समाचारपत्र ‘आर्यावर्त’ ले प्रकाशित गर्थ्यो । मेरो एउटा दाजुको आईकमको परीक्षाफल दुुई वर्षअघि यसैमा आएको मलाई सम्झना छ ।


त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर आफैं स्थानीय शिक्षक–परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराएर परीक्षाफल प्रकाशित गरे पनि परीक्षाकेन्द्र काठमाडौ मात्र थियो । काठमाडौँबाहिर जति पनि कलेजका परीक्षार्थीहरू थिए, सबैले यहीँको केन्द्रबाट सामेल हुनुपर्थ्यो । जस्तो हामी विराटनगरबाट आयौँ, उसैगरी धरान, वीरगन्ज, पोखरा, पाल्पा आदि कलेजबाट परीक्षार्थी यहीँ ओइरिन्थे । त्रिवि आफैंले परीक्षा चलाएको लाभमा परीक्षार्थीले भाषा माध्यम छान्न पाएका थिए, अंग्रेजी वा नेपाली । नत्र कि अंग्रेजी कि हिन्दीमा लेख्नुपर्थ्यो ।


त्यतिखेरको काठमाडौं न्युरोडको सेरोफेरो पूर्वपश्चिममा मुस्किलले टुकुचा र विष्णुमती भन्न सुहाउँथ्यो । हामी विद्यार्थीनिम्ति तीनवटा थलो बढी महत्त्वका थिए– होटल, बहाल कोठा र फराकिलो टुँडिखेल । घुम्न, होटलमा खान आउन वा यहाँबाट कोठामा फर्किन साझे बाटो थियो, न्युरोड । यहाँभन्दा पर्तिर पुग्नु वा जानु हामी विद्यार्थीनिम्ति उति जरुरी थिएन । मैले त्यो वर्ष देख्ताको टुँडिखेल एउटा फराकिलो उत्तर–दक्खिन फैलेको सग्लो चौर थियो । योसँग टाँसिएकामा उत्तरतिर दरबार हाइस्कुल, रानीपोखरी र त्रिचन्द्र कलेजका सरस्वती सदन र घण्टाघर थिए । पश्चिममा वीर अस्पताल थियो । यसै चौरमा दक्खिनतिर एउटा खरीको बोट थियो । यो बोट झ्याम्म परेको तलबाट माथि आकाश छिचल्न नमिल्ने बाक्लो देखिन्थ्यो । यसलाई इतिहास र राजनीतिको चौतारो मानिन्थ्यो । राणाकालदेखि बीपीसम्मको अन्त्य यसमा गाँसिएको थियो ।


यस्तो सपाट मैदानका चार कुनामा राणा शासकका घोडसवार सालिक थिए । बीचमा पूर्व लुमडीथान (भद्रकाली), अलिकति दक्खिनमा सेनाको ससानो ब्यारेक थिए । वरिपरि सल्ला, काइँयाजस्ता रूख बिरुवाले मन प्रफुल्लित गराउँथे । छेउछेउमा वरिपरि हरियाली, अझ हरियाम्मे, थियो । प्रदूषण के हो थाहा थिएन । वातावरण साह्रै स्वच्छ । न धूलो, न कार्बनडाइअक्साइड ।
त्यतिखेरका भेटघाट थलोमा न्युरोडपछि टुँडिखेल थियो । बाहिरबाट काठमाडौं आउनेहरू न्युरोडमा भेटिएनन् भने यो खुला चौरमा भेटिन्थे । फुर्सत वा अल्छीलाग्दा हामीले टहलिन जाने ठाउँ यही थियो । उत्तरमा अलिकति बाटोले छुट्याएको रानीपोखरीपछि यही थलो थियो जहाँ हामी बहालका गुम्सेका अँध्यारा कोठाबाट लामो सास फेर्न पुग्थ्यौं, हरियो दुबोमाथि बस्थ्यौं ।

कसैको छेकबार थिएन । फाट्टफुट्ट असन भोटाहिटीतिरका रैथाने यहाँ खुलापनको आनन्द लिन आएका हुन्थे । कोही लपेस, टपरीमा भोज खाइरहेका हुन्थे । स्कुले केटाकेटी भकुन्डो, क्रिकेट खेलेर रमाइरहेका देखिन्थे । कतैकतै गाईबस्तु र मानिसले गोब्य्राएको र थोप्य्राएको देख्नु भने सामान्य थियो । यहाँ सेनाका जवान, सेनाका घोडा र ट्राफिकका टाँगन घोडा तालिम खेपिराखेका देखिन्थे । आक्कलझुक्कल विदेशी किशोरकिशारीहरू घोडसवारीको रौस मेट्न घोडाका पिठ्युँमा मस्किरहेका र घोडा पड्केर लडिहाल्ने त्रासका अनुहारमा देखिन्थे ।


न्युरोड गेटको सोझो पूर्व टुँडिखेल छिचोल्दै विद्युत् कर्पोरेसनतिर बाटो काटिन्थ्यो। यहाँबाट दक्खिन एकैचोटि थोरैले घेरेको सैनिक क्षेत्र र सानो टुँडिखेल देखिन्थ्यो ।


पहिलोपटक आउँदा मलाई उपत्यकामा चैत महिनामा समेत जाडो भयो । मैले मेरो जीवनको पहिलो कोट सिलाएर लाउँदै विराटनगर फर्किनुपर्‍यो । काठमाडौँ पहिलोपल्ट छिर्दा मेरो बिजोक थियो । वीरगन्जबाट बस चढेर आएँ । ‘बाइरोडको बाटो’ ले भन्भनी रिङटा लागे । म टुँडिखेलको सामुन्ने धरहरामा ओर्लेको थिएँ । वीरगन्ज आइपुग्नसमेत विराटनगरबाट जोगबनी हुँदै भारतीय रेल चढ्दै, छोड्दै, फेरि अर्को चढेर रक्सौल हुँदै दुई दिन लागेको थियो । फर्किंदा फेरि त्यो बिजोक खेप्न मन लागेन । सट्टामा हावाइजहाज चढेँ । त्यतिखेरको फुर्तीमा अरूले देख्ता ‘ओहो ! जहाज चढ्ने ?’ भनुन् र तीभन्दा ‘मै जान्ने ! मै ठूलो !’ देखिन खोजेँ । मेरो यो हवाई यात्रा पनि पहिलो थियो । हवाइअड्डामा ओर्लंदा तराईहुँदो चलेको वैशाखको हावा भत्भती पोल्ने तातो थियो । यसले मेरो मनै विरसिलो बनायो र एकपटक फर्केर फेरि टुँडिखेलमा घण्टौँ अलमलिने सुषुप्त इच्छा भैरह्यो ।


दोस्रोपटक २०२० सालमा बीए परीक्षामा सामेल हुन आउँदा खरीको बोट अलप भैसकेको थियो । यतिखेर दिल्लीबाट आएका एक जना ‘प्राइभेट’ परीक्षार्थीसँग परीक्षाको साझे ‘पेपर्’ मा अरू दुई मित्रसमेत झई निकै लामो समयसम्म यसै चौरमा बसेर अन्तर्त्रिया गरेको सम्झन्छु । यसपछिका दिनमा यसका विनाश क्रम थपिँदै आए । यसैलाई विकास भनियो ।


तेस्रोपटक २०२१ सालमा महाँकाल मन्दिरपूर्व टुँडिखेलमा ह्वास्ह्वासती एउटा नौलो पक्की निर्माण देखेँ । यतिखेर म कसैका लहैलहैमा राजा महेन्द्रको जन्मोत्सव पारेर आएको थिएँ । यही निर्माणलाई सैनिक मञ्च भनियो र यसैमा विराजित राजा महेन्द्रलाई अघिल्तिरबाट हामी युवकले ‘मार्चपास’ गर्दै अभिवादन गरेका थियौँ । यसमा मेरो बाध्यता थिएन, रहर थियो । तिनताका काठमाडौं आउन कुनै उद्देश्य चाहिन्थ्यो र यो राजा महेन्द्रको जन्मोत्सव थियो । यो कार्यक्रममा भाग लिन मैले पहिरेका सेतो कमिज र सेतो प्यान्टलगायत बाटो खर्चसमेतमा आफ्नो परेको थिएन । यो कार्यक्रममा यसरी नै चौधै अञ्चलबाट आएका थिए । उपत्यकाबाहिरबाट यहाँ आउनुलाई ‘नेपाल जानु’ भनिन्थ्यो र यसरी आउन पाउँदा अरूले डाह गरेरसमेत हेर्ने गर्थे ।


मेरो पहिलोपटकको काठमाडौँ र यसपछिका पाँच वर्षमा टुँडिखेलको कायापलट भयो । रत्नपार्क बन्यो, सहिद स्मारक बन्यो, यो स्मारक हुँदै सिंहदरबारतिरको भद्रकाली वरिपरि फराकिलो बाटो खुल्यो । खरीको रूख मात्र होइन, धेरै बोट, बिरुवासमेत अलप भए । राणा शासक घोडा चढेका सालिकहरू चौरमा अर्काअर्का ठाउँ सर्नेमा परे । यिनको सर्ने क्रम रोकियो, रोकिएन समयले भन्ला !
टुँडिखेलमा एक्लो घाम ताप्ता मेरा विद्यार्थीकालको रौसमा महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ र नाटककार समका रचनाहरू सम्झिएँ । आफू साहित्यको विद्यार्थीसम्म र बाँकीमा केही नभए पनि नौला विचारमा यहाँ मगज रुमल्लिए ।

माथि आकाश नियाल्दा बादल तरेली पर्दै र तरंगित हुँदै विचरण गरेको देख्नु प्रकृतिको एउटा बेग्लै सहजता थियो । बादलका चोक्टा सोहोरिएर कतिखेर धुम्मिने र सिरिर्र बर्सने भन्न सकिन्नथ्यो । त्यतिखेर जिउले भन्थ्यो, ‘जाडो पो भयो ! न्यानो लुगा लाउनुपर्ने थियो !’ उत्तरमा शिवपुरी, दक्षिणमा गोदावरीका डाँडा देख्न आँखालाई बल पर्दैनथे । रुमल्लिँदै जाँदा रानीपोखरीको जलाशयमा घण्टाघरको टुप्पो पाएँ । अचम्म मानेँ घण्टाघरको टुप्पोमा माछा जलविहार गरिरहेका थिए । आकाशमा होइन, जलाशयभित्र चराचुरुंगी उडिरहेका थिए । एकमनले भन्यो, धरहरा गजूरको कलम तिखारेर रानीपोखरीको मसीदानीमा चोब्दै टुँडिखेलको सपाट मैदानलाई ती सर्जकले कति घोट्न पाए र कति सिंगारे हुन् ! अनि पो रहे अजर, अमर र कालजयी ।


हिजो ती कवि, साहित्यकारले तिखारेर र घोटेर आज धरहरा जर्बुटो र बोदो बनेको होइन, तिनले मसीदानी बनाएर चोब्दा–चोब्दा रानीपोखरीको जलाशय सुकेको होइन, लेख्तै फेरि चित्त नबुझेर च्यात्दै धुजा पारेर ‘डस्टबिन’ मा फाल्ने कागजका चिथ्राजस्तो तिनले चौरलाई च्यातेर धुजा–धुजा बनाएका पनि होइनन् । छेउ रैथानेका भोज, मानिस र पशुका गोब्रिएका थाप्राले यो दुर्गन्धित भएको पनि होइन । बरु यतिखेर मैले पेसाको सम्मानसाथ अबोध ज्यापूले अघिपछि काँधमा नोल भिर्दै सकी नसकी खर्पन बोकेको सम्झेँ । खर्पनले जैविक मलमा काउली सप्लाउन र फलाउन बोक्ने मोह देखाउँथ्यो । धेरै टाढा लैजानुपर्ने थिएन पनि, थियो आजको प्रज्ञा प्रतिष्ठान भएको काउली गरासम्म, कि आजको रमाइलो मेला थलो भृकुटीमण्डपको फाँटसम्म, कि सिंहदरबारअघि भद्रकालीपूर्वका गहिरी बारीसम्म । ज्यापूका जीवनकर्म चोखो थिए, आजका रासायनिक मलको संहारका लयभन्दा धेरै स्वास्थ्यकर ।

तिनका चोखो पाइला यही टुँडिखेल वा यसैको वरिपरिबाट देखिरहन पाइन्थ्यो । आज छेउमा चारैतिर ठडिएका सहिदहरूले सम्मान त पाए, तर आफ्नो तीन सय वर्षको इतिहास र संस्कृति धुल्याए । ठूलो र सानो टुँडिखेल गरी दुई माइल सग्लो, लामो टुँडिखेलको संस्कार चोक्टियो । पाँच–छ दशकअघिसम्म एसियाको सबभन्दा लामो ‘परेड ग्राउन्ड’ को भूगोल र रेखागणित मेटियो !
मेरो हुती अब मेरो टीठलाग्दो नजर हो !

प्रकाशित : कार्तिक २३, २०७६ १४:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×