१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

स्मृति : मैले देखेको टुँडिखेल !

रामेश्वरप्रसाद बराल

पहिलोपटक म आइएको परीक्षामा सामेल हुन २०१८ सालको चैतमा काठमाडौं आएको थिएँ । म एक्लै होइन, मजस्ता धेरै मित्र यहाँ आएका थिए । काठमाडौं नै आउनुपर्ने हाम्रो बाध्यता थियो । भर्खर–भर्खरै शिशु त्रिभुवन विश्वविद्यालय आफैंले परीक्षा सञ्चालन गर्न थालेको थियो । नत्र यी सबै परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गर्दै आएको थियो ।

स्मृति : मैले देखेको टुँडिखेल !

पटनाले सञ्चालन गर्दा परीक्षाफल उतैको समाचारपत्र ‘आर्यावर्त’ ले प्रकाशित गर्थ्यो । मेरो एउटा दाजुको आईकमको परीक्षाफल दुुई वर्षअघि यसैमा आएको मलाई सम्झना छ ।


त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर आफैं स्थानीय शिक्षक–परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराएर परीक्षाफल प्रकाशित गरे पनि परीक्षाकेन्द्र काठमाडौ मात्र थियो । काठमाडौँबाहिर जति पनि कलेजका परीक्षार्थीहरू थिए, सबैले यहीँको केन्द्रबाट सामेल हुनुपर्थ्यो । जस्तो हामी विराटनगरबाट आयौँ, उसैगरी धरान, वीरगन्ज, पोखरा, पाल्पा आदि कलेजबाट परीक्षार्थी यहीँ ओइरिन्थे । त्रिवि आफैंले परीक्षा चलाएको लाभमा परीक्षार्थीले भाषा माध्यम छान्न पाएका थिए, अंग्रेजी वा नेपाली । नत्र कि अंग्रेजी कि हिन्दीमा लेख्नुपर्थ्यो ।


त्यतिखेरको काठमाडौं न्युरोडको सेरोफेरो पूर्वपश्चिममा मुस्किलले टुकुचा र विष्णुमती भन्न सुहाउँथ्यो । हामी विद्यार्थीनिम्ति तीनवटा थलो बढी महत्त्वका थिए– होटल, बहाल कोठा र फराकिलो टुँडिखेल । घुम्न, होटलमा खान आउन वा यहाँबाट कोठामा फर्किन साझे बाटो थियो, न्युरोड । यहाँभन्दा पर्तिर पुग्नु वा जानु हामी विद्यार्थीनिम्ति उति जरुरी थिएन । मैले त्यो वर्ष देख्ताको टुँडिखेल एउटा फराकिलो उत्तर–दक्खिन फैलेको सग्लो चौर थियो । योसँग टाँसिएकामा उत्तरतिर दरबार हाइस्कुल, रानीपोखरी र त्रिचन्द्र कलेजका सरस्वती सदन र घण्टाघर थिए । पश्चिममा वीर अस्पताल थियो । यसै चौरमा दक्खिनतिर एउटा खरीको बोट थियो । यो बोट झ्याम्म परेको तलबाट माथि आकाश छिचल्न नमिल्ने बाक्लो देखिन्थ्यो । यसलाई इतिहास र राजनीतिको चौतारो मानिन्थ्यो । राणाकालदेखि बीपीसम्मको अन्त्य यसमा गाँसिएको थियो ।


यस्तो सपाट मैदानका चार कुनामा राणा शासकका घोडसवार सालिक थिए । बीचमा पूर्व लुमडीथान (भद्रकाली), अलिकति दक्खिनमा सेनाको ससानो ब्यारेक थिए । वरिपरि सल्ला, काइँयाजस्ता रूख बिरुवाले मन प्रफुल्लित गराउँथे । छेउछेउमा वरिपरि हरियाली, अझ हरियाम्मे, थियो । प्रदूषण के हो थाहा थिएन । वातावरण साह्रै स्वच्छ । न धूलो, न कार्बनडाइअक्साइड ।
त्यतिखेरका भेटघाट थलोमा न्युरोडपछि टुँडिखेल थियो । बाहिरबाट काठमाडौं आउनेहरू न्युरोडमा भेटिएनन् भने यो खुला चौरमा भेटिन्थे । फुर्सत वा अल्छीलाग्दा हामीले टहलिन जाने ठाउँ यही थियो । उत्तरमा अलिकति बाटोले छुट्याएको रानीपोखरीपछि यही थलो थियो जहाँ हामी बहालका गुम्सेका अँध्यारा कोठाबाट लामो सास फेर्न पुग्थ्यौं, हरियो दुबोमाथि बस्थ्यौं ।

कसैको छेकबार थिएन । फाट्टफुट्ट असन भोटाहिटीतिरका रैथाने यहाँ खुलापनको आनन्द लिन आएका हुन्थे । कोही लपेस, टपरीमा भोज खाइरहेका हुन्थे । स्कुले केटाकेटी भकुन्डो, क्रिकेट खेलेर रमाइरहेका देखिन्थे । कतैकतै गाईबस्तु र मानिसले गोब्य्राएको र थोप्य्राएको देख्नु भने सामान्य थियो । यहाँ सेनाका जवान, सेनाका घोडा र ट्राफिकका टाँगन घोडा तालिम खेपिराखेका देखिन्थे । आक्कलझुक्कल विदेशी किशोरकिशारीहरू घोडसवारीको रौस मेट्न घोडाका पिठ्युँमा मस्किरहेका र घोडा पड्केर लडिहाल्ने त्रासका अनुहारमा देखिन्थे ।


न्युरोड गेटको सोझो पूर्व टुँडिखेल छिचोल्दै विद्युत् कर्पोरेसनतिर बाटो काटिन्थ्यो । यहाँबाट दक्खिन एकैचोटि थोरैले घेरेको सैनिक क्षेत्र र सानो टुँडिखेल देखिन्थ्यो ।


पहिलोपटक आउँदा मलाई उपत्यकामा चैत महिनामा समेत जाडो भयो । मैले मेरो जीवनको पहिलो कोट सिलाएर लाउँदै विराटनगर फर्किनुपर्‍यो । काठमाडौँ पहिलोपल्ट छिर्दा मेरो बिजोक थियो । वीरगन्जबाट बस चढेर आएँ । ‘बाइरोडको बाटो’ ले भन्भनी रिङटा लागे । म टुँडिखेलको सामुन्ने धरहरामा ओर्लेको थिएँ । वीरगन्ज आइपुग्नसमेत विराटनगरबाट जोगबनी हुँदै भारतीय रेल चढ्दै, छोड्दै, फेरि अर्को चढेर रक्सौल हुँदै दुई दिन लागेको थियो । फर्किंदा फेरि त्यो बिजोक खेप्न मन लागेन । सट्टामा हावाइजहाज चढेँ । त्यतिखेरको फुर्तीमा अरूले देख्ता ‘ओहो ! जहाज चढ्ने ?’ भनुन् र तीभन्दा ‘मै जान्ने ! मै ठूलो !’ देखिन खोजेँ । मेरो यो हवाई यात्रा पनि पहिलो थियो । हवाइअड्डामा ओर्लंदा तराईहुँदो चलेको वैशाखको हावा भत्भती पोल्ने तातो थियो । यसले मेरो मनै विरसिलो बनायो र एकपटक फर्केर फेरि टुँडिखेलमा घण्टौँ अलमलिने सुषुप्त इच्छा भैरह्यो ।


दोस्रोपटक २०२० सालमा बीए परीक्षामा सामेल हुन आउँदा खरीको बोट अलप भैसकेको थियो । यतिखेर दिल्लीबाट आएका एक जना ‘प्राइभेट’ परीक्षार्थीसँग परीक्षाको साझे ‘पेपर्’ मा अरू दुई मित्रसमेत झई निकै लामो समयसम्म यसै चौरमा बसेर अन्तर्त्रिया गरेको सम्झन्छु । यसपछिका दिनमा यसका विनाश क्रम थपिँदै आए । यसैलाई विकास भनियो ।


तेस्रोपटक २०२१ सालमा महाँकाल मन्दिरपूर्व टुँडिखेलमा ह्वास्ह्वासती एउटा नौलो पक्की निर्माण देखेँ । यतिखेर म कसैका लहैलहैमा राजा महेन्द्रको जन्मोत्सव पारेर आएको थिएँ । यही निर्माणलाई सैनिक मञ्च भनियो र यसैमा विराजित राजा महेन्द्रलाई अघिल्तिरबाट हामी युवकले ‘मार्चपास’ गर्दै अभिवादन गरेका थियौँ । यसमा मेरो बाध्यता थिएन, रहर थियो । तिनताका काठमाडौं आउन कुनै उद्देश्य चाहिन्थ्यो र यो राजा महेन्द्रको जन्मोत्सव थियो । यो कार्यक्रममा भाग लिन मैले पहिरेका सेतो कमिज र सेतो प्यान्टलगायत बाटो खर्चसमेतमा आफ्नो परेको थिएन । यो कार्यक्रममा यसरी नै चौधै अञ्चलबाट आएका थिए । उपत्यकाबाहिरबाट यहाँ आउनुलाई ‘नेपाल जानु’ भनिन्थ्यो र यसरी आउन पाउँदा अरूले डाह गरेरसमेत हेर्ने गर्थे ।


मेरो पहिलोपटकको काठमाडौँ र यसपछिका पाँच वर्षमा टुँडिखेलको कायापलट भयो । रत्नपार्क बन्यो, सहिद स्मारक बन्यो, यो स्मारक हुँदै सिंहदरबारतिरको भद्रकाली वरिपरि फराकिलो बाटो खुल्यो । खरीको रूख मात्र होइन, धेरै बोट, बिरुवासमेत अलप भए । राणा शासक घोडा चढेका सालिकहरू चौरमा अर्काअर्का ठाउँ सर्नेमा परे । यिनको सर्ने क्रम रोकियो, रोकिएन समयले भन्ला !
टुँडिखेलमा एक्लो घाम ताप्ता मेरा विद्यार्थीकालको रौसमा महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ र नाटककार समका रचनाहरू सम्झिएँ । आफू साहित्यको विद्यार्थीसम्म र बाँकीमा केही नभए पनि नौला विचारमा यहाँ मगज रुमल्लिए ।

माथि आकाश नियाल्दा बादल तरेली पर्दै र तरंगित हुँदै विचरण गरेको देख्नु प्रकृतिको एउटा बेग्लै सहजता थियो । बादलका चोक्टा सोहोरिएर कतिखेर धुम्मिने र सिरिर्र बर्सने भन्न सकिन्नथ्यो । त्यतिखेर जिउले भन्थ्यो, ‘जाडो पो भयो ! न्यानो लुगा लाउनुपर्ने थियो !’ उत्तरमा शिवपुरी, दक्षिणमा गोदावरीका डाँडा देख्न आँखालाई बल पर्दैनथे । रुमल्लिँदै जाँदा रानीपोखरीको जलाशयमा घण्टाघरको टुप्पो पाएँ । अचम्म मानेँ घण्टाघरको टुप्पोमा माछा जलविहार गरिरहेका थिए । आकाशमा होइन, जलाशयभित्र चराचुरुंगी उडिरहेका थिए । एकमनले भन्यो, धरहरा गजूरको कलम तिखारेर रानीपोखरीको मसीदानीमा चोब्दै टुँडिखेलको सपाट मैदानलाई ती सर्जकले कति घोट्न पाए र कति सिंगारे हुन् ! अनि पो रहे अजर, अमर र कालजयी ।


हिजो ती कवि, साहित्यकारले तिखारेर र घोटेर आज धरहरा जर्बुटो र बोदो बनेको होइन, तिनले मसीदानी बनाएर चोब्दा–चोब्दा रानीपोखरीको जलाशय सुकेको होइन, लेख्तै फेरि चित्त नबुझेर च्यात्दै धुजा पारेर ‘डस्टबिन’ मा फाल्ने कागजका चिथ्राजस्तो तिनले चौरलाई च्यातेर धुजा–धुजा बनाएका पनि होइनन् । छेउ रैथानेका भोज, मानिस र पशुका गोब्रिएका थाप्राले यो दुर्गन्धित भएको पनि होइन । बरु यतिखेर मैले पेसाको सम्मानसाथ अबोध ज्यापूले अघिपछि काँधमा नोल भिर्दै सकी नसकी खर्पन बोकेको सम्झेँ । खर्पनले जैविक मलमा काउली सप्लाउन र फलाउन बोक्ने मोह देखाउँथ्यो । धेरै टाढा लैजानुपर्ने थिएन पनि, थियो आजको प्रज्ञा प्रतिष्ठान भएको काउली गरासम्म, कि आजको रमाइलो मेला थलो भृकुटीमण्डपको फाँटसम्म, कि सिंहदरबारअघि भद्रकालीपूर्वका गहिरी बारीसम्म । ज्यापूका जीवनकर्म चोखो थिए, आजका रासायनिक मलको संहारका लयभन्दा धेरै स्वास्थ्यकर ।

तिनका चोखो पाइला यही टुँडिखेल वा यसैको वरिपरिबाट देखिरहन पाइन्थ्यो । आज छेउमा चारैतिर ठडिएका सहिदहरूले सम्मान त पाए, तर आफ्नो तीन सय वर्षको इतिहास र संस्कृति धुल्याए । ठूलो र सानो टुँडिखेल गरी दुई माइल सग्लो, लामो टुँडिखेलको संस्कार चोक्टियो । पाँच–छ दशकअघिसम्म एसियाको सबभन्दा लामो ‘परेड ग्राउन्ड’ को भूगोल र रेखागणित मेटियो !
मेरो हुती अब मेरो टीठलाग्दो नजर हो !

प्रकाशित : कार्तिक २३, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?