किताब : इतिहासका साक्षी
कथा जति पुराना हुँदै जान्छन्, त्यति रोचक । कथा सबैसँग हुन्छन् तर भन्ने अवसर कमैलाई मात्र प्राप्त हुन्छ । यी हजुरआमा भाग्यमानी हुन्, जसलाई खोज्दै लेखक पुग्छिन् । तीनपुस्ते अनुभव उतार्छिन् । यी प्रतिनिधि पात्र हुन् ।
उनीहरूले समाजको पूर्ण प्रतिनिधित्व गर्दैनन् । छानिएका हजुरआमाका मुखबाट आएका इतिहासका कथाले त्यसबेलाको समाजको आधाआधीजस्तो चित्र दिन्छ किनकि उनीहरूले देखेको र भोगेको समाजभन्दा बाहिर अर्को समाज थियो र छ । तैपनि यति भन्न सकिन्छ— मनमै बिलाएर जाने कथा पुस्तक र डिजिटल दुनियाँमा रहनु महत्त्वपूर्ण उपलब्धि हो ।
करिब ८० वर्ष नाघेका हजुरआमाका कथा मात्र होइनन्, संघर्षका गाथा हुन् । जो ८० वर्ष बाँचे उनीहरू आफैंमा भाग्यमानी महिला हुन् । त्यतिबेला नेपालीको औसत आयु ५० वर्ष पनि थिएन । कथा भन्ने आमाहरूले अझै पनि सक्रिय जीवन बिताइरहेका छन् । ती हजुरआमाहरूले परिवारको माया पाएका छन् र माया दिएका छन् । उनीहरूले घरमा आफूले भोगेका कथाहरू आफ्ना छोराछोरी र नातिनातिनीहरूलाई सुनाउँदै होलान् । आफ्ना कथा लेखकलाई सुनाउन पाउनु हजुरआमाहरूका लागि मौका हो भने ती कथा घण्टौं सुनेर पुस्तकका रुपमा तयार पार्नु लेखकको धीरता ।
पत्रकार अमृता लम्सालको ‘हजुरआमाका कथा’ ले काठमाडौं उपत्यका र नेपालको पूर्वी भाग तथा दार्जिलिङको तत्कालीन समाजबारे धेरै कुरा भन्छ ।
महिला समानताको मुद्दा अहिले टड्कारो रूपमा उठेको छ । आजभन्दा ८० वर्षपहिलेको समाजमा भने लैंगिक असमानता र अन्धविश्वासको जाँतो कल्पना गरेभन्दा चर्को थियो, जसमा महिलाहरू पिसिन्थे । देशका कति भागमा अझै पनि त्यसको झलक देख्न सकिन्छ । लेखकले हजुरआमाले त्यसबेला भोगेको कठिन अवस्था र गरेका संघर्षको कथा जसरी उतारेकी छन्, अहिले पनि खासगरी पश्चिम नेपालका दुर्गम क्षेत्रका महिलाले भोग्दै छन् । हुन त समाज आफैं परिवर्तनशील छ, समयको गतिसँगै परिवर्तन भएको समाज पनि बदलिन्छ । मुख्य कुरा विगतको व्याख्या गर्नु मात्र होइन, मुख्य कुरा समाजलाई बदल्न कसले कति भूमिका खेल्यो भन्ने हो ।
समयको गतिको प्रवाहले मान्छेलाई बदल्छ भन्ने उदाहरण संग्रहमा आएका हजुरआमाहरू हुन् । कुनै बेला आफ्नो बुझाइमा कट्टर हजुरआमाहरू समयसँगै बदलिएका छन् ।
आफ्नी सासूबाट पिल्सिएका हजुरआमा आफ्ना बुहारीलाई छोरी समान अवसर दिन राजी भए । यो समयले बदलेको मनस्थिति हो । सन्देश दिएका छन्— आफूले भागेको दुःखबाट शिक्षा लिएर भावी पुस्ताका लागि सुखद आशीर्वाद दिनुपर्छ । हजुरआमाहरूको कथा आफैंमा इतिहास हो । त्यो इतिहास कतैबाट सन्दर्भ सामग्रीका रूपमा आएको नभई पहिलोचाटि उनीहरूबाट मुखरित भएको हो । हजुरआमाहरूले भनेका सबै तिथिमिति तलमाथि परेको हुन सक्छ । तर यसमा आएका कुराहरूले त्यसबेला खासगरी महिलामाथि समाजको दृष्टि झल्किन्छ ।
असी वर्षअघि महिलाले पढ्ने अवसर पाउनु दुर्लभ थियो । त्यो सुविधा काठमाडौं उपत्यकाबाहिर थिएन । त्यो बेलामा काठमाडौंमा खुलेका स्कुलमा पढ्ने अवसर पाएका हजुरआमाले विभेदबीच पनि राम्रो अवसर पाए । समाजको संरचनाको बार नाघेर आफ्ना छोरीहरूलाई स्कुल पढाउने अभिभावक नमुना हुन् । जतिबेला राज्यमा पहुँच भएका खासखास परिवारका छोरीहरूले मात्र पढ्ने अवसर पाउँथे । हजुरआमाका कथामा यस्ता केही पात्र छन् । यसमा पहिलोपटक ब्राह्मण परिवारले हलो जातेका परिवारको बुहारीको कथा छ । लमजुङकी मित्रकुमारी अधिकारीको परिवारले हलो जोतेकै कारण भान्साबाट जात काढिएको थियो । २००६ साल साउन १ गते मित्रकुमारीका ससुराले गाउमा हलो जोतेपछि उनको परिवारले सामाजिक बहिष्कार गरेको उनले सुनाएकी छन् । यसलाई ‘हलो क्रान्ति’ पनि भनिन्छ ।
दार्जिलिङमा जन्मिएकी रत्ना राई चर्चित साहित्यकार शंकर लामिछानेकी पत्नी हुन् । लामिछाने परिवारसँग कुरा नमिलेपछि उनी अलग भइन् । तर उनको संघर्ष जारी रह्यो । उनलाई आफ्नो भाग्यप्रति कुनै गुनासो छैन । भन्छिन्, ‘जुन वर्तमान छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुपर्छ । अरूलाई खुसी दिन सकियो भने खुसी प्राप्त हुन्छ ।’
रजिया बेगम अर्की हजुरआमा हुन्, जसको नेपालका चर्चित क्याटरिङ व्यवसायी बीएल शर्मासँग विवाह भयो तर जीवनभर टिकेन । उनको यात्रा भने जारी रह्यो र अहिले पनि अघि बढिरहेको छ । शर्मासँग सम्बन्धविच्छेद भएपछि आफ्नो स्वाभिमानलाई जोगाइराखिन्, सायद उनको महानता पनि त्यही हो । लेखक अमृता लम्साल उनीबारे भन्छिन्, रजिया बेगमको सिन्ड्र्र्र्र्रेला मोमेन्ट छुटेको धेरै वर्ष भइसक्यो तर पनि उनको स्वाभिमानमा अलिकति पनि आँच आएको छैन ।
चर्चित गायिका शान्ति ठटाल दार्जिलिङमा जन्मिए पनि उनको कार्यक्षेत्र नेपाल बन्यो । उनको संगीतको संघर्षको कथा सुनाएकी छन् । संगीतमा लाग्दालाग्दै विवाह गर्न भुलेकी ठटालको कथा रोचक छ । केही हजुरआमाका छोराछोरी समाजमा चिनिएका छन् । लेखकले समाजमा चिनिएका छोराछोरीका आमा चयन गरेकी छन् । कुराकानीका दौरानमा सजिलो होस् भनेर समाजमा एउटा पहिचान बनाइसकेका छोराछोरीका आमा चयन गरेको हुनुपपर्छ ।
हजुरआमाका कथामा २३ हजुरआमाका अनुभव र संघर्ष कथा छन् । तीन नातिनी पुस्ताको अनुभव यसमा समेटिएको छ ।
हजुरआमाका सबै कथा सलल बगेका छैनन् । त्यस बेलाका कथा अहिलेको सन्दर्भमा जोड्न खोजिएको छ । तर त्यो जीवन्त बनेको छैन । हजुरआमाको आआफ्नो बोल्ने शैली र लवज हुन्छ । लेखकेले त्यो शैली र लवजलाई उतार्न चुकेकी छन् । भाषा शैलीलाई उनीहरूकै लवजमा राख्न सकेको भए पढ्न रोचक हुन सक्थ्यो ।
हजुरआमाका कथा राजधानीकेन्द्रित छन् । लेखक आफैंले पनि चाहँदाचाहँदै पनि उपत्यकाबाहिर गएर हजुरआमाका कथा संकलन गर्न नसकेको भूमिकामा उल्लेख गरेकी छन् । ‘यो पुस्तकको उद्देश्य घरमा बसेर परिवारका लागि श्रम र समय खर्चिएका तर सामाजिक पहिचान नपाएका हजुरआमा उमेरका महिलाले भोगेका अनुभव, समय र समाजका कुरा समकालीन पुस्ताका लागि पस्किनु हो,’ लेखकले पुस्तक लेख्नुको उद्देश्यबारे भनेकी छन् ।
यो पुस्तक पढ्दा लाग्छ, हजुरआमाहरूको यो कथा पुरानो पुस्तालाई एउटा सम्मान हो । ती हजुरआमालाई नमन जसले भावी पुस्ताका लागि अथक संघर्ष गरेर यहाँसम्म ल्याए । पुस्तकमा नअटाएका हजुरआमाहरूलाई पनि नमन, जसले आफूले दुःख भोगेर सन्तानलाई सुख दिए । आफू काँडाघारीमा हिँडेर भए पनि भावी पुस्तालाई सरल बाटो देखाउने प्रयास गरेका छन् ।