समाज : पितृसत्ता नै बोक्ने ?

सुशीला शर्मा

एक दिन बिहानै टेम्पोमा चढियो अफिस जान । यात्रा गर्दा माइक्रो बसभन्दाबढी टेम्पो नै चढ्छु । त्यसमा पनि महिलाले दक्षताका साथ टेम्पो हाँकेको एकदमै राम्रो लाग्छ । यसले क्षमता बढाउन र आर्थिक रूपमा सबल हुन टेवा दिन्छ । यस्ता पेसा व्यवसायमा संलग्न हुँदा एक हिसाबले महिलालाई सशक्त पार्छ ।

समाज : पितृसत्ता नै बोक्ने ?

सवारी चालकको पेसा एक आत्मविश्वासी, निडर, सक्षम खालको पेसा हो । एउटा दक्ष सवारी चालकले दैनिक सयौं यात्रीलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछन् । महिला सवारी चालकहरूले पनि उस्तै सुरक्षित तरिकाले यात्रुहरूलाई गन्तव्यमा ओसारपसार गराइराखेका हुन्छन् । तर हाम्रो समाजमा, सवारीका अखडाहरूमा महिला चालकहरूप्रतिको धारणा नकारात्मक छ । उनीहरूलाई गरिने बोलीव्यवहार भद्दा खालका लाग्छन् कहिलेकाहीँ ।


प्रायः महिला सवारी चालकले नियममा सवारी हाँक्ने, यात्रुहरूसँग खुसमिजासले बोल्ने, अन्जान यात्रुलाई सही गन्तव्यबारे बताइदिने गरेको पाउँछु । अहिले गर्न लागेको कुरा भने अलिक भिन्न छ ।


म जुन टेम्पोमा चढेकी थिएँ, त्यो टेम्पोमा अन्तकतैबाट एकजना महिला पनि चढेर आएकी थिइन् । उनी हेर्दा निराश र उदास देखिन्थिन् । उनी कुनै चिन्ता या सुर्तामा थिइन्, उनको भावभंगिमाले देखाउँथ्यो । टेम्पो निश्चित गन्तव्यमा रोक्दै यात्रु ओराल्दै, चढाउँदै अगाडि बढिरहेको थियो । जब टेम्पो जावलाखेल पुग्यो तब मात्र ती महिलाले भनिन्, ‘मलाई लगनखेलमा रोकिदिनुस् है ।’


टेम्पो चालक महिलाले ‘लगनखेल त अघि नै गइसक्यो, किन नओर्लेको ?’ भनेर झपारिन् । ती महिलाले ‘ल हेर, मलाई यहाँ कस्तो आपत् परिरहेछ, झन् केके आइलागेको’ भन्दै ओर्लेर हिँड्न सुरु गरिन् । टेम्पो चालकले भनिन्, ‘ल भाडा देऊ, अरू कुरा थाहा छैन ।’
ती यात्रु महिलाले भनिन्, ‘मसँग पैसा छैन, यहाँ मलाई कस्तो दुःख परिरहेछ ।’

यात्रु महिलाको कुरा सुनेर टेम्पो चालक निकै रिसाइन् । विवाद नचर्कियोस् भनेर मैले भनें, ‘ल बैनी, उहाँको भाडा म तिरिदिन्छु जाऊँ ।’ तर ती टेम्पो चालक महिलाले पैसा नतिरी जाने यात्री महिलालाई तथानाम गाली गरिन्, ‘...यति जनासँग... केके गरेर आको होला अनि अहिले टेम्पो चढ्दा पैसा छैन भन्छ ।’ यति सुनेपछि असहज’ जस्तो लागेर सोधें, ‘के तपाईं उहाँलाई चिन्नुहुन्छ र ?’ उनले बर्बराउँदै भनिन्, ‘मान्छे हेर्दै थाहा भइहाल्छ नि । हेर्नु न कस्ती छे, लुगाको गति कस्तो छ । भर्खर सुतेर उठेको जस्तो... ।’


ती महिला चालकको टेम्पोमा धेरैपटक चढिसकेकी छु । बेलाबेला उनलाई पनि निकै तनाब र रिसाइरहेको देखेकी छु । कहिलेकाहीं फोनमा, सायद उनको श्रीमान्सँग झगडा गरिरहेको पनि पाइन्छ । आज उनले ती यात्री महिलालाई गाली गरिन् । उनले गाली गरेको दृश्य अरू यात्रीले देखेका सुनेका थिए तर सबैले नदेखे नसुनेझैं गरे ।


हुन त यात्रीको काम यात्रा गर्ने हो, म यात्रीमात्रै भएर बस्न सकिनँ । मेरो स्वभाव पनि अग्रसर भएर बोलिहाल्ने, कुनै विवादमा पक्ष लिइहाल्ने प्रकृतिको होइन । तर यहाँ चालक महिलाले यात्री महिलालाई गरेको खिसीट्युरी र अपमानजनक आक्षेपले भने मन अमिलो बनायो ।


धेरै नबोले पनि ती महिलाको पक्षमा केही बोल्नुपर्‍यो, ‘उनलाई केही मानसिक समस्या परेको, पीर परेको पनि हुन सक्छ । कहिलेकाहीं सोच्दासोच्दै बाटो बिर्सन पनि सक्छ ।’ मैले यति मात्रै के बोलेकी थिएँ, ती चालक महिलाले कडा आरोप लगाइन्, ‘केको मानसिक समस्या हुनु नि ? धेरै जनासँग शारीरिक सम्बन्ध राखेर (उनको भाषा अर्कै थियो, मलाई त्यो शब्द राख्न मन लागेन) त्यस्तो भाको ।’


म निःशब्द भएँ उनको नकारात्मकता मिसिएको आक्रोष देखेर । अब म धेरै बोलिनँ चालकसँग । मेरो गन्तव्य पनि आइसकेको थियो । म आफ्नो र अघि झरेकी महिलाको समेत भाडा तिरेर टेम्पोबाट झरेँ ।


मनमा कुरा खेलिरह्यो— हामी मान्छे अरूबारे कति छिटो अनुमान लगाउँछौं, मनपरी धारणा बनाउँछौँ, अझ गाली पनि गर्छौं, रिसाउँदै । वस्तुगत परिस्थिति नबुझी कुनै पनि मान्छेलाई ‘जजमेन्ट’ गर्ने अनुमान सतही हुन सक्छ । हामीले जन्मँदै यस्ता सोचाइ लिएर आएका त होइनौं, हुर्कंदै गर्दा हाम्रो जात व्यवस्था, लैंगिक द्वेष र उचनिचको सामाजिकीकरणले जजमेन्ट गरिरहेको हुन्छ ।


केही दशकयता हाम्रो मस्तिष्क निकै सतही र नकारात्मक बनेको । सामाजिक, सांस्कृतिक र पारिवारिक रूपमा आएका विखण्डन तथा व्यक्त हुने तिक्तता र वितृष्णा नै यसका उदाहरण हुन् । झन् नेपाली समाजमा महिलाहरूको चौघेरो सीमित छ । विविधतापूर्ण भावनालाई सहजताका साथ स्वीकार गर्न, घुलमिल हुन र फराकिलो दृष्टिकोण अपनाउन चिन्तन, मनन र अध्ययनको खाँचो पर्छ, जुन महिलाहरूले विरलै पाउँछन् । पितृसत्ताले ‘महिलाको शत्रु महिला हो’,‘पोथी बासेको’ जस्तो पगरी गुथाएर महिलाहरूलाई मौनताको संस्कृतिमा हुर्काएकाले पुरुषको तुलनामा महिलाहरूले कतिपय मामिलामा साँघुरा घेरा नाघ्न सकेका छैनन् ।


ती टेम्पो चालक महिला आफैं पनि पितृसत्ताबाट पीडित भइरहेको, अनगिन्ती पारिवारिक र सामाजिक समस्याबाट गुज्रिरहेको हुन सक्छिन्, हामी पनि कैयौं अप्ठ्यारा परिस्थितिमा रुमल्लिइरहेका छौं । यस्ता दैनिक समस्याले हामीहरूलाई साँच्चैको मानसिक रूपमा विचलित बनाइराखेको हुन्छ । २१ औं शताब्दीमा पनि हामी नेपाली महिलाहरू सामन्ती संस्कृति र पितृसत्ताबाट आक्रान्त छौं । मानसिक र शारीरिक रूपमा अस्वस्थ भए पनि तत्काल उपचार गर्ने संरचनामा पहुँच कम छ । हाम्रा मानसिक अवस्थाकै कारण हाम्रो अनुहार र लवाइखवाइ पनि बिग्रिराखेको हुन पनि सक्छ ।


यस्तो अवस्थामा सुनेका कुराको भरमा, झुलुक्क देखेका बाहिरी आवरणको आधारमा संगतै नगरी, वास्तविक जीवनको जानकारी नै नभई तुरुन्तै धारणा र अनुमान लगाउनमा हामी खप्पिस र अनुभवी छौंं । यस्तो सामाजिक अविकास, अचेतना र पछौटेपनका कारण हामी उत्पीडित महिलाले उत्पीडनमा परेकी अरू महिलालाई नानाथरी शंका–उपशंका गर्दै आरोप लगाउनसम्म पुग्छौं ।


यी सबै कुराले फेरि पनि पितृसत्तालाई नै फाइदा दिइराखेको त छैन ? महिलाका बाहिरी आवरण हेर्दै मनगढन्ते विचार बनाउँदा पुरुष प्रभुत्वलाई नै टेवा दिइरहेका त छैनौं ? पितृसत्ताको अचानोमा पिल्सिएका महिलाहरूकै घाउमा नुनचुक दलेर मर्दवादको आँत शीतल बनाउने काम त गरिराखेको छैनौं ? यस्ता अनेक प्रश्नबारे विचारविमर्श हुनु जरुरी छ ।


यो यात्राको सन्दर्भ त सानो उदाहरण मात्र हो तर आमरूपमा महिलाहरूप्रति गरिने व्यवहार यस्तै नै छ । ती दुई महिलामा पनि एउटी अलि सक्षम छिन् आर्थिक रूपमा । अरूलाई केही भन्न सक्ने छिन् अलि थर्काउन पनि । त्यस्तै परे आइलाग्नेमाथि जाइलाग्न पनि सक्ने देखिन्छिन् ।

सायद उनले गरेका संघर्षको क्रममा पुरुष सहकर्मीले गर्ने हेला, गालीगलौज, व्यंग्यलाई सामना गर्न आफूलाई यस्तो बनाइन् । यो आवश्यक पनि हुन सक्छ उनका लागि । तर आफूमाथि गरिएको उत्पीडन र अपमानको साटो आफूजस्तै अर्को एक अनजान महिलाप्रतिको अड्कल कत्तिको उचित होला ? टेम्पो चालक महिला थाहै नपाई अन्ततः पितृसत्ताकै बाहक बनिन्, जुन वर्तमान संरचना र संस्कृतिले खोज्छन् ।


गर्नुपर्ने त उत्पीडनका माखेसाङ्लोमा बाँधिएका अनगिन्ती महिलाबीच एकअर्कालाई समस्यामा परेका बेला मल्हमपट्टी लगाउने हो, हातेमालो गर्दै सघाउने हो । त्यत्ति गर्न सक्दा पनि महिलामहिलाबीच सम्मान र सहकार्य बढ्थ्यो अनि सिंगो परिवार र समाज नै सुन्दर र शान्त राख्न मद्दत पुग्थ्यो कि ?

प्रकाशित : कार्तिक २३, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?