नयाँ जमाना, नयाँ काम !

प्रकाशचन्द्र तिमिल्सेना

दसैं बिदामा गाउँ खल्लाजयपुर बर्दिया पुगे पनि दुई/चार दिनमै फोटो खिच्ने हुटहुटी सुरु भइहाल्यो  । क्यामेरा बोकी गाउँकै साथी अमर थापाको मोटरसाइकलमा राजापुर बजारतिर लागियो  ।

कुनै समयमा पश्चिमकै प्रख्यात बजार राजापुरमा कसो केही नपाइएला भनेर म उतै लागेको थिएँ । तर त्यस्तो हुन सकेन । मैले केही सामान्य फोटोमात्र खिच्न पाएँ । त्यसपछि हामी आसपासका गाउँतिर छिर्‍यौं ।

शान्तिपुर पुग्दा साथीले मोटरसाइकलको तेल सकिन लागेको बताए । हामी नजिकैको पेट्रोल पम्पमा पुग्यौं । पेट्रोल पम्प अरुजस्तै थियो । तर, यसमा एउटा कुरा भने फरक थियो । हामी पेट्रोल हाल्न कुर्दै गर्दा एकजना महिला कति लिटर तेल हाल्ने सोध्दै हामीतिर आइन् ।

मैले यसअघि कुनै पनि पेट्रोल पम्पमा महिलाले पेट्रोल हाल्ने काम गरेको देखेको थिइनँ । हुन त पछिल्लो समय सैनिकदेखि सार्वजनिक सवारीका चालकसम्मका पेसामा महिलाहरुलाई देख्न पाइन्छ । तैपनि, परम्परागत रुपमा महिलालाई कमजोर ठानेर ‘जोखिम’ का काममा नलाइलगाइने भएकाले हो, पेट्रोल पम्ममा महिलाहरुले रोजगार गरेको देखिएको थिएन ।


उनले बाइकमा पेट्रोल भर्न थालिन् । यो दृश्यको मैले फोटो नखिच्ने कुरै थिएन । उनी हुन्– बर्दिया राजापुर नगरपालिका शान्तिनगरकी २४ वर्षीया गीता चौधरी । उनी तेल हाल्दै गर्दा उनका पति अनिल जैसी छेउमै काखे भतिजो खेलाउादै थिए । कुरा गर्दा थाहा भयो, यो पम्पका सञ्चालक नै यी दम्पती रहेछन् । उनले आफूले यसरी तेल हाल्न थालेको दुई वर्ष भएको बताइन् । यी दम्पतीले आफूबाहेक अन्य दुईजनालाई पनि रोजगार दिएका छन् ।

‘आफ्नै पम्प भएकाले म बेलाबेला तेल हालेर पनि सघाउँछु,’ गीताले भनिन्, ‘सामान्यभन्दा अलि फरक काम गर्न रुचाउने भएकोले नै मलाई पनि यो काम रमाइलो नै लाग्छ ।’ उनले भनिन्, ‘हाम्रो पम्पमा तेल हाल्न आउने प्रायः मान्छेले मैले तेल हालेको देखेर अचम्मै मान्छन् ।’

प्रकाशित : कार्तिक १६, २०७६ १०:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लोप भइरहेको पुस्तक संसारको आख्यान

युयुत्सु आरडी शर्मा

विश्वभरि एउटा असजिलो त्रास व्याप्त छ  । भन्ने गरिन्छ, मानव उत्पत्तिको उद्गमपछि पहिलो चोटि यति तीव्र गतिले मानव समवेदनाको ह्रासको प्रक्रिया शुरु भइसकेको छ  ।

यो पनि भनिन्छ, हाम्रा संवेदनाको समृद्धिका सूत्रधार पुस्तकहरूको संसार पनि लोप हुने स्थितिमा छन् र पुस्तकलाई प्रवर्द्धन गर्ने संस्थाहरू विशेष रुपले स्वतन्त्र, ससाना निजी पारिवारिक पसल र उनीहरूसित सम्बन्धित स्थल फटाफट लोप भइरहेका छन् । तैपनि केही वर्षयता केही अदृश्य कारणहरूले गर्दा पश्चिमेली संसारमा किताब पसलले अचानक एउटा देवस्थलजस्ता हैसियत आर्जन गरिसकेका छन् ।


गत वर्ष मैले जर्मनीको पुरानो विश्वविद्यालय नगर हाइडलवर्गको एउटा सानो किताब पसलमा कविता पाठ गर्दा यस्तो अनुभूति पाएको थिएँ । चर्चित जर्मन उपन्यासकार निकोल इकहार्टले सो कार्यक्रम आयोजना गरेका थिए । त्यहाँ पुग्नु एक महिनाअघि नै उनले मलाई त्यस कार्यक्रमको गाइडलाइन पठाएका थिए । कवितापाठको विषय नै किताब पसल र पुस्तकालयहरू हुने निधो गरिएको थियो । कविता पाठका लागि यो विषय मलाई निकै असजिलो लागेको थियो ।

हामीकहाँ कवितापाठ अति उच्चस्तरीय विषयवस्तु र कदममाथि केन्द्रित हुने गरेकाले मैले यस्तो विषयमाथि कविता वाचनको औचित्यबारे प्रश्न गरेको थिएँ । कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमाथि मात्र केन्द्रित गर्न अनुरोध गरेको थिएँ । निकोलले कार्यक्रममा किताब र पुस्तकालयमाथि केन्द्रित गर्न पुनः आग्रह गरेपछि मैले यस विषयमा कलम कोरेको थिएँ ।

इकहार्टका लागि नेपाल कुनै अपरिचित ठाउँ होइन । दुई दशकअघि नै उनले चर्चित पत्रिका ‘डर फर्युन्ड’ को स्थापना काठमाडौंमा गरेका थिए । उनी नेपालमा गरेको अवतरणको सम्झना अति अविस्मरणीय रहेको बताउँछन् । हवाइजहाज काठमाडौं उपत्यकामा प्रवेश गर्नेबित्तिकै देखिएको मनोरम परिदृश्यको रोमाञ्चित क्षण उनले कहिल्यै बिर्सन सकेका छैनन् । ‘मैले यस्तो अद्भूत एयरपोर्ट कहिल्यै देखेको थिइनँ,’ उनले भनेका थिए । हवाइजहाजबाट बाहिर निस्केपछि उपत्यकालाई घेरेका हिमशृंखलालाई नियाल्दा उनी मन्त्रमुग्ध भएका थिए । विश्वको कुनै पनि राजधानीको विमानस्थलमा यस्तो दृश्य हेर्न सकिँदैन ।


त्यस रात इकहार्टले वसन्तपुरको फ्रिक स्ट्रिटस्थित होटल सुगतमा चेकइन गरेका थिए । ब्रेकफास्ट गरेपछि उनलाई जीवनभरि देखेको एउटा अन्तर्राष्ट्रिय साहित्यिक पत्रिका निकाल्ने सपना साकार गर्ने समय आएको जस्तो लागेको थियो । उनले सुगत होटलको साहुजीलाई भेटेर लामो समयका लागि एउटा अफिस भाडामा लिन प्रस्ताव राखेका थिए ।

माथिल्ला दुईवटा कोठाको बीचको पर्खाल भत्काएर पत्रिकाका लागि उपयुक्त हुने अफिस बनाएर ‘डर फर्युण्ड’ को स्थापना उनका मित्र प्रसिद्ध जर्मन उपन्यासकार क्रिस्चियन कराचसित मिलेर गरेका थिए । पछि गएर यो पत्रिका जर्मन साहित्यको इतिहासमा एउटा महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको थियो ।

सन् २००९ को हाराहारीमा उनीसितको मेरो भेट निकै महत्त्वपूर्ण सिद्ध भएको थियो । किनकि त्यसबेला म पहिलोचोटि नेपालबाट बाहिर जाने तरखरमा थिएँ । एउटा असल मित्र स्रष्टाझैँ इकहार्टले मलाई निकै हौसला दिएका थिए र मैले नचिनेको अञ्जान गन्तव्यतिर हिँड्ने त्रास उनलाई भेटेपछि हराएको थियो । यो रुपमा बाँच्नु कसरी ? कति पैसा चाहिन्छ होला एक दुई हप्ता बस्दा ? त्यहाँ खानेकुरा कति महँगो छ ? के खान्छु होला म ? त्यो मेरो फ्रयान्कफ्रर्ट पुस्तक मेला जाने प्रथम तरखर थियो । उनले भनेका थिए, ‘चिन्ता नगर्नू तपाईंको स्वागत हुनेछ, डराउनु पर्दैन अनेकौँ रिसेप्सनहरू हुन्छन् त्यहाँ । खाने खर्चको चिन्ता लिनुपर्दैन । तपाईंको लेखनले त्यहाँका मानिसको मन जित्नेछ ।’ त्यसमाथि उनले केही दिनका लागि फ्रयांकफर्टमा रहेका उनका साथीहरूसित परिचय गराएर त्यहाँ बस्ने व्यवस्था पनि मिलाइदिएका थिए ।

हाइडलवर्गको सानो पसलमा राखिएको कविता पाठ कार्यक्रम निकै सफल भएको थियो । मैले राणाकालदेखि किताबको स्थिति र पछिको प्रकाशनको विकासमाथि कुरा गरेर गोपालप्रसाद रिमालको जीवन संघर्ष र कविहरूको भाग्यमाथि कुराकानी गरेँ ।

इकहार्टले काठमाडौँमा पत्रिका निकाल्ने प्रकरणमाथि र त्यससित सम्बन्धित यात्रामा आधारित पुस्तकबाट केही अंश पढ्नाका साथै किताब र त्यससित सम्बन्धित संस्थाहरूको निर्माण रचनात्मक ऊर्जाको अभिन्न अङ्ग रहेको तथ्यमाथि जोड दिएका थिए ।

उनको भनाइअनुरूप हाल केही वर्षयता विश्वभरि नै किताब र किताब पसलप्रति अनाकर्षण देखिन्छ । कर्पोरेट हाउसहरूको जगजगी भएको विलिनेयरहरूले संसारको अर्थव्यवस्थामाथि आफ्नो पकड मजबुत गर्ने प्रयासमा ससाना बिजनेस र संस्थाहरू कुडादानमा फ्याँकिरहेको देखिन्छ । हलउडले पनि ‘नटिङ हिल’, ‘यु ह्याभ गट मेल’ र ‘बिफोर सनसेट’ जस्ता चलचित्रमा पुस्तक संसारको कुरा उठाएको छ ।

कुनै बेला अमेरिका र विश्वको सांस्कृतिक केन्द्र मानिने न्युयोर्कको ग्रिनेच भिलेज बीसौँ शताब्दीको संस्कृति र राजनीतिलाई प्रभाव पार्न सक्ने शक्ति केन्द्रका रूपमा रहेको थियो । यो अहिले ‘जेन्ट्रफिकेसन’ को कुप्रभावअन्तर्गत अत्यधिक महँगो रेजिडेन्सियल एरिया बनेको छ । लेखक र कलाकारहरूलाई भिलेजबाट निष्कासित हुन बाध्य बनाइएको छ । यो कुनै आश्चर्य होइन, हाल धेरैजसो लेखक, कलाकार बुक्रलिनको ससाना शहरतिर सरेका छन् । बुक्रलिन ‘नयाँ वेस्ट भिलेज’ बनेको छ, एउटा नयाँ सांस्कृतिक टापु ।

न्युयोर्कमा एक दशकभन्दा बढी समयदेखि भ्रमण गरिरहँदा मैले अनेकौँ पुस्तक पसल र अन्य सम्बन्धित सांस्कृतिक पसलहरू बन्द भइरहेको देखेको छु । गत वर्ष चर्चित पुस्तक पसल सेन्टमार्कस बन्द भयो भने ओर्क लेखक, गीतकार र कलाकारहरूको प्रिय स्थल मानिने कोर्निलिया स्ट्रिट क्याफे पनि बन्द भयो ।

लेखकहरूको स्वर्ग मानिने चार दशक पुरानो यस रचनास्थलको क्याफेको भुइँतलामा रहेको स्टेजमा नोबेल पुरस्कार, विजेता रोल्द होफ्फमन, सुजान वेगा, ओलिवर साक्स, युजिन मचकार्थी, विलियम कुशनरजस्ता हस्तीहरूले नियमित प्रस्तुति दिएका थिए । इव अन्स्लरले आफ्नो चर्चित ‘भजाइना मोनोलोग’ यहीँ नै पहिलो चोटि पढेका थिए । गत वर्ष मैले ‘प्रतीक’ पत्रिकाको शीतकालीन अंकको विमोचन पनि यहीँ नै गरेको थिएँ । अनेकौँ पुस्तकहरूको विषयवस्तु बनेको यो क्याफे चर्चित उपन्यासकार एरिका जोगको ‘फियर अफ फ्लाइङ’ र अन्य अनेकौँ विश्व प्रख्यात जज सङ्गीतकारहरूको विकासमा साझेदारी राखेको भेटिन्छ ।

यही वर्ष न्युयोर्कबाट नेपाल आउने दिन म प्रसिद्ध वाइट होर्सेज बार पनि बन्द हुने समाचार सुन्दा अति दुःखी भएको थिएँ । मेरो अमेरिकाको प्रथम भ्रमणमा नै म ग्रिनेच भिलेजको बैंक स्ट्रिटमा बस्न पाएको थिएँ जो यस बारको निकै नजिक छ ।

मेरो न्युयोर्कमाथि लेखेको ‘ए वलिजिड्ज इनमाई बोन्ज’ (हिउँहुरी मेरा हाडहरूमा) यही भिलेजको वरिपरिको ऐतिहासिक स्थलको पृष्ठभूमिमा केन्द्रित छ । विश्वप्रख्यात कवि डिलन थमसले आफ्नो जीवन यही वाइटर्हसज बारमा बिताएका थिए । विट कविहरूसितको सम्बन्ध र कार्यभार साझा गरेका थिए । यस्ता स्थलमा रक्सी खाएर कविता पाठ गर्दै उनको अवसान भएको थियो र पछि उनी एउटा लेजेण्ड बनेका थिए ।

मेरो विश्व भ्रमणका दुई दशकमा किताब पसलहरूमा भएका कविता पाठहरू मेरो बाँच्ने आधार बनेका थिए । लण्डनको पहिलो भ्रमणमा मैले चेरिङक्रस रोड र वेस्ट एन्डको छेउछाउमा रहेका दर्जनौँ ससाना पुस्तक पसलहरूमा अधिकांश समय बिताएको हुँ । फोयलज बुक स्टोर मेरो प्रियस्थल बनेको थियो र अधिकांश लेखन त्यस पुस्तक पसलको क्याफ्टेरियामा नै गरेको तथ्य म सम्झन्छु । त्यसैगरी पेरिसको पुस्तक पसल शेक्सपियर एन्ड कम्पनीले पनि मेरो जीवनमा युरोपेली संसारमा पस्न निकै मद्दत पुर्‍याएको थियो ।

यो पसल सफलतापूर्वक चलिरहेको छ । प्रसिद्ध ऐतिहासिक स्थल नोट्रेडेमको ठीक बायाँतिर रहेको यो पुस्तक पसल विश्वको साहित्यिक इतिहासमा एउटा प्रमुख स्थल मानिन्छ । नाम चलेका प्रायः सबैजसो साहित्यकारले यहाँ पुगेर पाठ गरेको पाइन्छ । अर्नेस्ट हेमिङ्वेले आफ्नो संस्मरण ‘ए मुवेबल फिस्ट’ मा आफ्नो प्रारम्भिक कालका संघर्षका दिनहरूमा यस पुस्तक पसल र यसकी मालिक्नी सिल्भियाबाट प्राप्त आर्थिक सहयोगको कुरा विस्तृत रुपमा गरेका छन् ।

हेमिङ्वेले पेरिसमा आफ्नो बसाइ र निर्धनताको चित्रण अति मार्मिक ढंगले गरेका छन् । पेरिसका गल्लीहरूमा भोको पेट हिँड्दा त्यहाँका रेस्टुरेन्टहरूबाट आएको स्वादिष्ट खानाको बास्नाको वर्णन गर्दा मेरो आँखाबाट आँसु झरेको थियो । दयालु दाता सिल्भियाले केही पसलसम्बन्धी काम अह्राएर उनलाई आर्थिक सहयोग गरेपछि उनी अमेरिकी नोबल पुरस्कार विजेता तथा सफल लेखक बनेका थिए ।

किताब पसलहरू कुनै पनि घुमन्ते लेखकका लागि एउटा ऊर्जा पम्पझैँ रहेका छन् भन्ने कुरा मैले भ्रमण गर्ने क्रममा थाहा पाएको हुँ । सेक्रामेन्टोको टावरबुक्स र टाइम टेस्टिङ बुक्स, कलिभलयण्डको मैकस वैकस बुक्स, बेइजिङको बुकवार्म, एम्स्टर्डामको वाटर स्टोनज र अमेरिकन बुकशप, बोस्टनको गऐलियर बुकशप, डबलिनको बुक्स अपस्टेयरज, फ्र्यांकफर्टको हुगनदुब्ल बुक्स सप, लस एन्जेलसको वियान्ड बारोक इत्यादि पुस्तक पसल मेरा घुमन्ते साहित्यिक जीवनको आधारशिला नै बनेको जस्तो मलाई लाग्छ । सन फ्रान्सिस्कोमा कवि लारेन्स फर्लन्यङ्हिटीको सिटिलाइट बुक्स अमेरिकी साहित्यको धरोहर नै मानिन्छ ।

यस अर्थमा पुस्तकहरू कुनै पनि देशको चेतनाको मानचित्र हुन् भन्न सकिन्छ । कुनै पनि राष्ट्रको परिदृश्य त्यहाँ भएको सांस्कृतिक चेतनाबाट निर्धारित गरिन्छ । तीन दशकअघि काठमाडौंमा बस्दा मैले चिनेको काठमाडौँं त्यहाँ भएका पुस्तक पसलबाट नै हो । मेरो पहिलो संग्रह ‘ए प्रेयर इन डेलाइट’ भर्खर प्रकाशन भएको थियो ।

त्यसबेलाको काठमाडौंको सम्झनाले मेरो मस्तिष्कमा एउटा स्थायी छाप छाडेको छ । घन्टाघरको हिमालयन पुस्तक पसल, असनको रत्न पुस्तक भण्डार, महाकालको एजुकेसन बुकस्टोर, पुतलीसडकको पैरवी पुस्तक पसल, विमल निभाको नयाँ सडकको साहित्यघर, थापाथलीको एकता बुक सप इत्यादि ल्यान्डमार्कहरूको मानचित्र बोकेर म अहिले पनि मेरो ३७ सालतिरको काठमाडौंको सम्झनालाई लिएर धुवाँ र धुलोले घेरिएको सहरमा हिँडिरहेको आफूलाई पाउँछु ।

ठमेल क्षेत्रमा त्यस बखत तीन चार ससाना पुस्तक पसल मात्र देखेको थिएँ जहाँ मेरो अनुरोधमा साहुजीले मेरो प्रथम पुस्तक त्यहाँ राखिदिएका थिए । मलाई लाग्छ यी पुस्तक पसलहरू नभएको भए म कहिल्यै कवि बन्ने थिइनँ । पछि गएर ठमेलको पुस्तक पसलको विस्तारले मलाई लेखक भएर पनि बाँच्न सकिन्छ भन्ने महसुस गराएको थियो । पोखरा जाँदा त्यहाँका ससाना पसलहरूले गर्दा नै म निरन्तर अन्नपूर्णतिर जान थालेको हुँ र अहिले त्यहाँको अलौकिक चकमन्नता मेरो लेखनमा उतार्न सकेको छु ।

दुई दशकयता काठमाडौं एसियाको सबैभन्दा बढी पुस्तक पसल हुने सहरको ख्यातिबाट पनि सुशोभित भइसकेको हो । गत दशकमा काठमाडौं सबैभन्दा बढी पुस्तक पसल भएको सहरका रूपमा चिनिने भएकाले यसले एउटा विश्वका उच्चतम ठाउँमा रहेको अद्भूत सहरका रूपमा नाम कमाएको थियो ।

यस दशकमा भने वातावरण विनाश र अनियन्त्रित सहरीकरणले गर्दा राजधानीको उज्ज्वल विम्ब दूषित भएको छ । त्यसका साथै वर्तमान सरकारले किताबमाथि कर लगाएर विश्वकै उचाइमा रहेको सर्वाधिक आकर्षक प्राचीन सहरको मनोरम छविलाई धमिल्याएको छ । यो सत्य हो– नेपाल पाइरेट, नक्कली र चोरिएका पुस्तकहरूको स्वर्ग बनेकाले, पुस्तक व्यवसायमाथि नियन्त्रणको आवश्यकता छ तर सम्पूर्ण किताब जगत्माथि कर लाग्नु निकै आश्चर्यलाग्दो हो जसले राणाकालको सम्झना दिलाएझैँ लाग्छ ।

विश्वमै किताबको साम्राज्य लोप हुने बेला एसियाको सर्वाधिक युवा गणतन्त्रबाट किताब जगत्माथि यस्तो व्यवहार हुन अति अशोझनीय छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT