लोप भइरहेको पुस्तक संसारको आख्यान

युयुत्सु आरडी शर्मा

विश्वभरि एउटा असजिलो त्रास व्याप्त छ  । भन्ने गरिन्छ, मानव उत्पत्तिको उद्गमपछि पहिलो चोटि यति तीव्र गतिले मानव समवेदनाको ह्रासको प्रक्रिया शुरु भइसकेको छ  ।

लोप भइरहेको पुस्तक संसारको आख्यान

यो पनि भनिन्छ, हाम्रा संवेदनाको समृद्धिका सूत्रधार पुस्तकहरूको संसार पनि लोप हुने स्थितिमा छन् र पुस्तकलाई प्रवर्द्धन गर्ने संस्थाहरू विशेष रुपले स्वतन्त्र, ससाना निजी पारिवारिक पसल र उनीहरूसित सम्बन्धित स्थल फटाफट लोप भइरहेका छन् । तैपनि केही वर्षयता केही अदृश्य कारणहरूले गर्दा पश्चिमेली संसारमा किताब पसलले अचानक एउटा देवस्थलजस्ता हैसियत आर्जन गरिसकेका छन् ।


गत वर्ष मैले जर्मनीको पुरानो विश्वविद्यालय नगर हाइडलवर्गको एउटा सानो किताब पसलमा कविता पाठ गर्दा यस्तो अनुभूति पाएको थिएँ । चर्चित जर्मन उपन्यासकार निकोल इकहार्टले सो कार्यक्रम आयोजना गरेका थिए । त्यहाँ पुग्नु एक महिनाअघि नै उनले मलाई त्यस कार्यक्रमको गाइडलाइन पठाएका थिए । कवितापाठको विषय नै किताब पसल र पुस्तकालयहरू हुने निधो गरिएको थियो । कविता पाठका लागि यो विषय मलाई निकै असजिलो लागेको थियो ।

हामीकहाँ कवितापाठ अति उच्चस्तरीय विषयवस्तु र कदममाथि केन्द्रित हुने गरेकाले मैले यस्तो विषयमाथि कविता वाचनको औचित्यबारे प्रश्न गरेको थिएँ । कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमाथि मात्र केन्द्रित गर्न अनुरोध गरेको थिएँ । निकोलले कार्यक्रममा किताब र पुस्तकालयमाथि केन्द्रित गर्न पुनः आग्रह गरेपछि मैले यस विषयमा कलम कोरेको थिएँ ।

इकहार्टका लागि नेपाल कुनै अपरिचित ठाउँ होइन । दुई दशकअघि नै उनले चर्चित पत्रिका ‘डर फर्युन्ड’ को स्थापना काठमाडौंमा गरेका थिए । उनी नेपालमा गरेको अवतरणको सम्झना अति अविस्मरणीय रहेको बताउँछन् । हवाइजहाज काठमाडौं उपत्यकामा प्रवेश गर्नेबित्तिकै देखिएको मनोरम परिदृश्यको रोमाञ्चित क्षण उनले कहिल्यै बिर्सन सकेका छैनन् । ‘मैले यस्तो अद्भूत एयरपोर्ट कहिल्यै देखेको थिइनँ,’ उनले भनेका थिए । हवाइजहाजबाट बाहिर निस्केपछि उपत्यकालाई घेरेका हिमशृंखलालाई नियाल्दा उनी मन्त्रमुग्ध भएका थिए । विश्वको कुनै पनि राजधानीको विमानस्थलमा यस्तो दृश्य हेर्न सकिँदैन ।


त्यस रात इकहार्टले वसन्तपुरको फ्रिक स्ट्रिटस्थित होटल सुगतमा चेकइन गरेका थिए । ब्रेकफास्ट गरेपछि उनलाई जीवनभरि देखेको एउटा अन्तर्राष्ट्रिय साहित्यिक पत्रिका निकाल्ने सपना साकार गर्ने समय आएको जस्तो लागेको थियो । उनले सुगत होटलको साहुजीलाई भेटेर लामो समयका लागि एउटा अफिस भाडामा लिन प्रस्ताव राखेका थिए ।

माथिल्ला दुईवटा कोठाको बीचको पर्खाल भत्काएर पत्रिकाका लागि उपयुक्त हुने अफिस बनाएर ‘डर फर्युण्ड’ को स्थापना उनका मित्र प्रसिद्ध जर्मन उपन्यासकार क्रिस्चियन कराचसित मिलेर गरेका थिए । पछि गएर यो पत्रिका जर्मन साहित्यको इतिहासमा एउटा महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको थियो ।

सन् २००९ को हाराहारीमा उनीसितको मेरो भेट निकै महत्त्वपूर्ण सिद्ध भएको थियो । किनकि त्यसबेला म पहिलोचोटि नेपालबाट बाहिर जाने तरखरमा थिएँ । एउटा असल मित्र स्रष्टाझैँ इकहार्टले मलाई निकै हौसला दिएका थिए र मैले नचिनेको अञ्जान गन्तव्यतिर हिँड्ने त्रास उनलाई भेटेपछि हराएको थियो । यो रुपमा बाँच्नु कसरी ? कति पैसा चाहिन्छ होला एक दुई हप्ता बस्दा ? त्यहाँ खानेकुरा कति महँगो छ ? के खान्छु होला म ? त्यो मेरो फ्रयान्कफ्रर्ट पुस्तक मेला जाने प्रथम तरखर थियो । उनले भनेका थिए, ‘चिन्ता नगर्नू तपाईंको स्वागत हुनेछ, डराउनु पर्दैन अनेकौँ रिसेप्सनहरू हुन्छन् त्यहाँ । खाने खर्चको चिन्ता लिनुपर्दैन । तपाईंको लेखनले त्यहाँका मानिसको मन जित्नेछ ।’ त्यसमाथि उनले केही दिनका लागि फ्रयांकफर्टमा रहेका उनका साथीहरूसित परिचय गराएर त्यहाँ बस्ने व्यवस्था पनि मिलाइदिएका थिए ।

हाइडलवर्गको सानो पसलमा राखिएको कविता पाठ कार्यक्रम निकै सफल भएको थियो । मैले राणाकालदेखि किताबको स्थिति र पछिको प्रकाशनको विकासमाथि कुरा गरेर गोपालप्रसाद रिमालको जीवन संघर्ष र कविहरूको भाग्यमाथि कुराकानी गरेँ ।

इकहार्टले काठमाडौँमा पत्रिका निकाल्ने प्रकरणमाथि र त्यससित सम्बन्धित यात्रामा आधारित पुस्तकबाट केही अंश पढ्नाका साथै किताब र त्यससित सम्बन्धित संस्थाहरूको निर्माण रचनात्मक ऊर्जाको अभिन्न अङ्ग रहेको तथ्यमाथि जोड दिएका थिए ।

उनको भनाइअनुरूप हाल केही वर्षयता विश्वभरि नै किताब र किताब पसलप्रति अनाकर्षण देखिन्छ । कर्पोरेट हाउसहरूको जगजगी भएको विलिनेयरहरूले संसारको अर्थव्यवस्थामाथि आफ्नो पकड मजबुत गर्ने प्रयासमा ससाना बिजनेस र संस्थाहरू कुडादानमा फ्याँकिरहेको देखिन्छ । हलउडले पनि ‘नटिङ हिल’, ‘यु ह्याभ गट मेल’ र ‘बिफोर सनसेट’ जस्ता चलचित्रमा पुस्तक संसारको कुरा उठाएको छ ।

कुनै बेला अमेरिका र विश्वको सांस्कृतिक केन्द्र मानिने न्युयोर्कको ग्रिनेच भिलेज बीसौँ शताब्दीको संस्कृति र राजनीतिलाई प्रभाव पार्न सक्ने शक्ति केन्द्रका रूपमा रहेको थियो । यो अहिले ‘जेन्ट्रफिकेसन’ को कुप्रभावअन्तर्गत अत्यधिक महँगो रेजिडेन्सियल एरिया बनेको छ । लेखक र कलाकारहरूलाई भिलेजबाट निष्कासित हुन बाध्य बनाइएको छ । यो कुनै आश्चर्य होइन, हाल धेरैजसो लेखक, कलाकार बुक्रलिनको ससाना शहरतिर सरेका छन् । बुक्रलिन ‘नयाँ वेस्ट भिलेज’ बनेको छ, एउटा नयाँ सांस्कृतिक टापु ।

न्युयोर्कमा एक दशकभन्दा बढी समयदेखि भ्रमण गरिरहँदा मैले अनेकौँ पुस्तक पसल र अन्य सम्बन्धित सांस्कृतिक पसलहरू बन्द भइरहेको देखेको छु । गत वर्ष चर्चित पुस्तक पसल सेन्टमार्कस बन्द भयो भने ओर्क लेखक, गीतकार र कलाकारहरूको प्रिय स्थल मानिने कोर्निलिया स्ट्रिट क्याफे पनि बन्द भयो ।

लेखकहरूको स्वर्ग मानिने चार दशक पुरानो यस रचनास्थलको क्याफेको भुइँतलामा रहेको स्टेजमा नोबेल पुरस्कार, विजेता रोल्द होफ्फमन, सुजान वेगा, ओलिवर साक्स, युजिन मचकार्थी, विलियम कुशनरजस्ता हस्तीहरूले नियमित प्रस्तुति दिएका थिए । इव अन्स्लरले आफ्नो चर्चित ‘भजाइना मोनोलोग’ यहीँ नै पहिलो चोटि पढेका थिए । गत वर्ष मैले ‘प्रतीक’ पत्रिकाको शीतकालीन अंकको विमोचन पनि यहीँ नै गरेको थिएँ । अनेकौँ पुस्तकहरूको विषयवस्तु बनेको यो क्याफे चर्चित उपन्यासकार एरिका जोगको ‘फियर अफ फ्लाइङ’ र अन्य अनेकौँ विश्व प्रख्यात जज सङ्गीतकारहरूको विकासमा साझेदारी राखेको भेटिन्छ ।

यही वर्ष न्युयोर्कबाट नेपाल आउने दिन म प्रसिद्ध वाइट होर्सेज बार पनि बन्द हुने समाचार सुन्दा अति दुःखी भएको थिएँ । मेरो अमेरिकाको प्रथम भ्रमणमा नै म ग्रिनेच भिलेजको बैंक स्ट्रिटमा बस्न पाएको थिएँ जो यस बारको निकै नजिक छ ।

मेरो न्युयोर्कमाथि लेखेको ‘ए वलिजिड्ज इनमाई बोन्ज’ (हिउँहुरी मेरा हाडहरूमा) यही भिलेजको वरिपरिको ऐतिहासिक स्थलको पृष्ठभूमिमा केन्द्रित छ । विश्वप्रख्यात कवि डिलन थमसले आफ्नो जीवन यही वाइटर्हसज बारमा बिताएका थिए । विट कविहरूसितको सम्बन्ध र कार्यभार साझा गरेका थिए । यस्ता स्थलमा रक्सी खाएर कविता पाठ गर्दै उनको अवसान भएको थियो र पछि उनी एउटा लेजेण्ड बनेका थिए ।

मेरो विश्व भ्रमणका दुई दशकमा किताब पसलहरूमा भएका कविता पाठहरू मेरो बाँच्ने आधार बनेका थिए । लण्डनको पहिलो भ्रमणमा मैले चेरिङक्रस रोड र वेस्ट एन्डको छेउछाउमा रहेका दर्जनौँ ससाना पुस्तक पसलहरूमा अधिकांश समय बिताएको हुँ । फोयलज बुक स्टोर मेरो प्रियस्थल बनेको थियो र अधिकांश लेखन त्यस पुस्तक पसलको क्याफ्टेरियामा नै गरेको तथ्य म सम्झन्छु । त्यसैगरी पेरिसको पुस्तक पसल शेक्सपियर एन्ड कम्पनीले पनि मेरो जीवनमा युरोपेली संसारमा पस्न निकै मद्दत पुर्‍याएको थियो ।

यो पसल सफलतापूर्वक चलिरहेको छ । प्रसिद्ध ऐतिहासिक स्थल नोट्रेडेमको ठीक बायाँतिर रहेको यो पुस्तक पसल विश्वको साहित्यिक इतिहासमा एउटा प्रमुख स्थल मानिन्छ । नाम चलेका प्रायः सबैजसो साहित्यकारले यहाँ पुगेर पाठ गरेको पाइन्छ । अर्नेस्ट हेमिङ्वेले आफ्नो संस्मरण ‘ए मुवेबल फिस्ट’ मा आफ्नो प्रारम्भिक कालका संघर्षका दिनहरूमा यस पुस्तक पसल र यसकी मालिक्नी सिल्भियाबाट प्राप्त आर्थिक सहयोगको कुरा विस्तृत रुपमा गरेका छन् ।

हेमिङ्वेले पेरिसमा आफ्नो बसाइ र निर्धनताको चित्रण अति मार्मिक ढंगले गरेका छन् । पेरिसका गल्लीहरूमा भोको पेट हिँड्दा त्यहाँका रेस्टुरेन्टहरूबाट आएको स्वादिष्ट खानाको बास्नाको वर्णन गर्दा मेरो आँखाबाट आँसु झरेको थियो । दयालु दाता सिल्भियाले केही पसलसम्बन्धी काम अह्राएर उनलाई आर्थिक सहयोग गरेपछि उनी अमेरिकी नोबल पुरस्कार विजेता तथा सफल लेखक बनेका थिए ।

किताब पसलहरू कुनै पनि घुमन्ते लेखकका लागि एउटा ऊर्जा पम्पझैँ रहेका छन् भन्ने कुरा मैले भ्रमण गर्ने क्रममा थाहा पाएको हुँ । सेक्रामेन्टोको टावरबुक्स र टाइम टेस्टिङ बुक्स, कलिभलयण्डको मैकस वैकस बुक्स, बेइजिङको बुकवार्म, एम्स्टर्डामको वाटर स्टोनज र अमेरिकन बुकशप, बोस्टनको गऐलियर बुकशप, डबलिनको बुक्स अपस्टेयरज, फ्र्यांकफर्टको हुगनदुब्ल बुक्स सप, लस एन्जेलसको वियान्ड बारोक इत्यादि पुस्तक पसल मेरा घुमन्ते साहित्यिक जीवनको आधारशिला नै बनेको जस्तो मलाई लाग्छ । सन फ्रान्सिस्कोमा कवि लारेन्स फर्लन्यङ्हिटीको सिटिलाइट बुक्स अमेरिकी साहित्यको धरोहर नै मानिन्छ ।

यस अर्थमा पुस्तकहरू कुनै पनि देशको चेतनाको मानचित्र हुन् भन्न सकिन्छ । कुनै पनि राष्ट्रको परिदृश्य त्यहाँ भएको सांस्कृतिक चेतनाबाट निर्धारित गरिन्छ । तीन दशकअघि काठमाडौंमा बस्दा मैले चिनेको काठमाडौँं त्यहाँ भएका पुस्तक पसलबाट नै हो । मेरो पहिलो संग्रह ‘ए प्रेयर इन डेलाइट’ भर्खर प्रकाशन भएको थियो ।

त्यसबेलाको काठमाडौंको सम्झनाले मेरो मस्तिष्कमा एउटा स्थायी छाप छाडेको छ । घन्टाघरको हिमालयन पुस्तक पसल, असनको रत्न पुस्तक भण्डार, महाकालको एजुकेसन बुकस्टोर, पुतलीसडकको पैरवी पुस्तक पसल, विमल निभाको नयाँ सडकको साहित्यघर, थापाथलीको एकता बुक सप इत्यादि ल्यान्डमार्कहरूको मानचित्र बोकेर म अहिले पनि मेरो ३७ सालतिरको काठमाडौंको सम्झनालाई लिएर धुवाँ र धुलोले घेरिएको सहरमा हिँडिरहेको आफूलाई पाउँछु ।

ठमेल क्षेत्रमा त्यस बखत तीन चार ससाना पुस्तक पसल मात्र देखेको थिएँ जहाँ मेरो अनुरोधमा साहुजीले मेरो प्रथम पुस्तक त्यहाँ राखिदिएका थिए । मलाई लाग्छ यी पुस्तक पसलहरू नभएको भए म कहिल्यै कवि बन्ने थिइनँ । पछि गएर ठमेलको पुस्तक पसलको विस्तारले मलाई लेखक भएर पनि बाँच्न सकिन्छ भन्ने महसुस गराएको थियो । पोखरा जाँदा त्यहाँका ससाना पसलहरूले गर्दा नै म निरन्तर अन्नपूर्णतिर जान थालेको हुँ र अहिले त्यहाँको अलौकिक चकमन्नता मेरो लेखनमा उतार्न सकेको छु ।

दुई दशकयता काठमाडौं एसियाको सबैभन्दा बढी पुस्तक पसल हुने सहरको ख्यातिबाट पनि सुशोभित भइसकेको हो । गत दशकमा काठमाडौं सबैभन्दा बढी पुस्तक पसल भएको सहरका रूपमा चिनिने भएकाले यसले एउटा विश्वका उच्चतम ठाउँमा रहेको अद्भूत सहरका रूपमा नाम कमाएको थियो ।

यस दशकमा भने वातावरण विनाश र अनियन्त्रित सहरीकरणले गर्दा राजधानीको उज्ज्वल विम्ब दूषित भएको छ । त्यसका साथै वर्तमान सरकारले किताबमाथि कर लगाएर विश्वकै उचाइमा रहेको सर्वाधिक आकर्षक प्राचीन सहरको मनोरम छविलाई धमिल्याएको छ । यो सत्य हो– नेपाल पाइरेट, नक्कली र चोरिएका पुस्तकहरूको स्वर्ग बनेकाले, पुस्तक व्यवसायमाथि नियन्त्रणको आवश्यकता छ तर सम्पूर्ण किताब जगत्माथि कर लाग्नु निकै आश्चर्यलाग्दो हो जसले राणाकालको सम्झना दिलाएझैँ लाग्छ ।

विश्वमै किताबको साम्राज्य लोप हुने बेला एसियाको सर्वाधिक युवा गणतन्त्रबाट किताब जगत्माथि यस्तो व्यवहार हुन अति अशोझनीय छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?