३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

किन लुकाउँछन् जन्ममिति ?

लक्ष्मी लम्साल

गत जुन १५ मा पन्ध्रौं एसियाली आत्मविश्वास निर्माण मापदण्ड एवं अर्न्तक्रिया (सीआईसीए)को सम्मेलनका लागि चीनका राष्ट्रपति सी चिनफिङ ताजकिस्तानको राजधानी दुशान्बे पुगेका थिए  । त्यस दिन बिहान अचानक रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सी बसेको होटलमै आइपुगे र चीन–रसिया सम्बन्ध विकासमा गरेको योगदानको प्रशंसा गर्दै जन्मदिनको शुभकामना दिए  ।

किन लुकाउँछन् जन्ममिति ?

उनी जन्मदिनको उपहार, चिनियाँ विशेषतायुक्त केक र आइसक्रिमको बाकस बोकेर गएका थिए । सीले जवाफमा चिनियाँ चिया दिँदै भने, ‘भ्लादिमिर पुटिन चिनियाँ जनतामाझ निकै लोकप्रिय हुनुहुन्छ ।’

यसअघि सन् २०१५ को जुलाई १ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ ट्वीटर मानिने ‘सिना वैपो’मा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङलाई शुभकामना सन्देश लेखे । त्यतिखेर ली युरोपको भ्रमणमा थिए । मोदीले चीन भ्रमणका क्रममा टेम्पल अफ हेभनमा प्रधानमन्त्री लीसँग लिएको सेल्फी पनि राखेर बिहान ६ बजेतिर वैपोमा लेखे, ‘प्रधानमन्त्री ली खछ्याङ, जन्मदिनको शुभकामना र दीर्घजीवनको शुभेच्छा । गत मेमा भएको हाम्रो भेटवार्ता मैले सम्झिरहेको छु ।’

यो सन्देश सार्वजनिक भएपछि धेरै विदेशीहरूले पनि चिनियाँ प्रधानमन्त्री लीको जन्ममितिबारे थाहा पाए । चिनियाँ कम्युनिष्ट पार्टीको समाचार अनलाइनले धरी ‘ली ख छ्याङ, जन्मः सन् १९५५ जुलाई’ मात्रै लेख्ने गरेका बेला मोदीले पूरा मितिको खुलासा गरिदिए ।

प्रधानमन्त्री बनेपछि मोदीले आफ्नो ६४औं जन्मोत्सव मनाउन प्रथमपटक भारतको राजकीय भ्रमणमा निस्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई २०१४ सेप्टेम्बर १७ तारिख गुजरातमै निम्त्याएका थिए । गुजरातमा जन्मदिन मनाउँदै उनले भने, ‘सीसँग जन्मदिन मनाउनु निकै अर्थपूर्ण छ जुन अविस्मरणीय हुनेछ ।’

उपराष्ट्रपति छँदा सन् २०१० को जुन १४ तारिखदेखि सी चिनफिङ बंगलादेश, लाओस, न्युजिल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा थिए । बंगलादेशको भ्रमण सकेर लाओस पुगेका बेला त्यहाँका नेताहरूले एउटा लञ्च कार्यक्रमलाई सी चिनफिङको जन्मोत्सव पार्टीका रूपमा रूपान्तरण गरिदिए । जन्मदिन मनाउनका लागि लाओस सरकार र नेताहरूले एउटा ठूलो ‘बर्थडे केक’ नै व्यवस्थापन गरेका रहेछन् । वरिपरि थुप्रै मानिसहरू भेला भएर ‘हृयाप्पी बर्थ डे’ गीत गुञ्जायमान गरिदिए । त्यतिखेर चकित हुँदै सीले भने, ‘यो निकै चलाखीपूर्ण काम होजस्तो लाग्छ । म चीनको ड्रागन बोट फेस्टिभलका दिन जन्मिएको थिएँ र आज त्यही दिन परेको छ ।’

चिनियाँ नेताहरूले आफ्नो बायोडाटामा जन्म वर्ष र महिना मात्रै लेख्ने तर पूरा मिति लेख्ने गरेका छैनन् । सी चिनफिङ १९५३ जुन, ली ख छ्याङ १९५५ जुलाई, हु चिन्थाउ १९४२ डिसेम्बर, वन च्या पाओ १९४२ सेप्टेम्बर, चु रोङचि १९२८ अक्टोबर भनेर लेख्ने गरिएको छ । पूर्व राष्ट्रपति च्याङ च मिनको मात्रै पूरा जन्ममिति भेटिएको थियो, १७ अगस्ट १९२६ ।

थाहा भएअनुसार चिनियाँ नेताहरू आफ्नो जन्मदिनको बारेमा खुलासा गर्दैनन् । चिनियाँ विदेश मन्त्रालयअन्तर्गत अनुवाद कक्षका पूर्व निर्देशक एवं स्विडेनका लागि पूर्व चिनियाँ राजदूत छन मिङमिङका अनुसार च्याङ च मिनको जन्ममिति राष्ट्रिय नेता हुनुअगावै सार्वजनिक भइसकेको थियो ।

जब राष्ट्रिय नेता भए, त्यसपछि सर्वसाधारणले नै जन्मदिन मनाइदिन थालेपछि लुकाउन सकिएन । मृत्यु भएका नेताको मात्रै पूरा मिति देखाउने प्रचलन चिनियाँमा देखिन्छ । जस्तै माओको जन्ममित १८९३ डिसेम्बर २६ र मृत्यु १९७६ सेप्टेम्बर ९ तारिख । तङ स्याओ फिङ जन्मः १९०४ अगस्ट २२ र मृत्यु १९९७ फेब्रुअरी १९ तारिख ।

चिनियाँ नेताहरू आफ्नो पूरा जन्ममिति किन खुलाउँदैनन् भन्नेबारेमा ठोस कारण छैन । छन मिङमिङ भन्छन्, ‘माओ र तङले उनीहरूको जीवनकालभरि पूरा जन्ममिति खुलाएनन् । यो व्यक्तिपूजा रोक्नका लागि हुनुपर्छ ।’

चिनियाँ नेताहरूले जन्मदिन मनाउन कडाइका साथ निषेध गरिएको छ । यो राजनीतिक अनुशासनका रूपमा प्रस्ताव गरिएको छ । यो प्रचलन माओकालदेखि नै चल्दै आएकाले पनि हुन सक्छ । त्यसयता राष्ट्रिय नेताहरूको राष्ट्रव्यापी जन्मदिन मनाउने प्रचलन छैन । केही मानिसहरू नेताहरूका जन्मदिन प्रयोग गर्दै व्यक्तिगत स्टाटस देखाउन खोज्छन्, चन्दा उठाउन सक्छन्, नकारात्मक गतिविधि गर्न सक्छन् । त्यस्ता कुरालाई रोक्न पनि यस्तो गरिएको हुनुपर्छ ।

चीन नेताप्रधान मुलुक हो । अगुवाले जे जस्तो गरेको छ, त्यसका अनुयायी धेरै हुन्छन् । जसरी अहिले अन्तरदेशीय वा घरेलु सानातिना कार्यक्रमलाई पनि बेल्ट एण्ड रोड इनिसियटिभ भन्ने शब्दावली थप्ने फेशन नै बनेको छ । ‘जन्मदिन मनाउनु व्यक्तिगत गतिविधि हो, यसलाई राजनीतिक बनाइनुहुँदैन,’ छन मिङमिङ भन्छन्, ‘स्टालिनले जन्मदिन मनाउँथे, माओले कूटनीतिक शिष्टाचारका लागि शुभकामना सन्देश त पठाउँथे तर आफैं भने कहिल्यै मनाउँदैन थिए ।’

पहिलेदेखि चल्दै आएको चलनबमोजिम चिनियाँ नेताहरूले जन्मदिन मनाएको सुनिएको छैन । उतिखेर सामन्ती राजतन्त्रकालमा जन्मोत्सव मनाउन उर्दी नै जारी गरिन्थ्यो । त्यस्तो नेपालमा पनि थियो । अहिले नेपालका सत्तासीन नेताहरूले पनि बेलाबेलामा केक काटेको फोटोहरू देख्न सकिन्छ । तर चिनियाँ नेताहरू यस्ता मामिलामा गुपचुप रहन खोज्छन्, बरू बाहृय नेताहरूका कारण उनीहरूको जन्ममितिबारे सर्वसाधारणले थाहा पाउँदै गएका छन् ।

केही समयअघि पिपुल्स डेलीको वीच्याट अकाउन्ट मिररले एसिया–युरोपको डिसेम्बर संस्करणमा प्रधानमन्त्री ली ख छ्याङको जुलाई १ तारिखका दिन पर्ने जन्म दिनमा कजाखस्तानका प्रधानमन्त्री मासिमोभले शुभकामना दिएको समाचार प्रकाशित गर्‍यो । सन् २०१३ को जुन १५ मा पनि कोरियन नेता किम जोङ उनले सीको ६० औं जन्मदिवसको उपलक्ष्यमा शुभकामना पठाएको कुरा त्यहाँका मिडियाहरूले सार्वजनिक गरे । अन्ततः चिनियाँ राष्ट्रपतिको जन्मदिन पनि सार्वजनिक भयो, तर त्यो बाहृय नेताहरूका कारण ।

गत वर्ष अप्रिल पहिलो साता चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय अनुशासन अनुगमन आयोगले आफ्ना पार्टी कार्यकर्ताहरूलाई वर्षमा दुई वटा जन्मदिन मनाउन सूचित गर्‍यो । एउटा उनीहरू भौतिक रूपमा जन्मेको दिन र अर्को पार्टीमा प्रवेश गरेको दिन । यो निर्देशानुसार ‘राजनीतिक जन्मदिन’ ले कम्युनिष्ट पार्टीका सिद्धान्त र प्रतिबद्धता पुनःस्मरण गर्न सहयोग पुग्नेछ । तर यो दुईथरी जन्मदिन सर्वसाधारणका लागि भने होइन । आयोगले यस कदमबाट राजनीतिक जीवनमा सकारात्मक ऊर्जा थपिने विश्वास लिएको बताएको छ ।

चीनमा कम्युनिस्ट पार्टी प्रवेश पनि चानचुने परीक्षा होइन । पार्टीको महत्त्व दर्साउन पनि जन्मदिनको विशेषण लगाएर सानो काम गरिएको होइन भन्ने दृष्टान्त दिन खोजिएको हुन सक्छ । राष्ट्रपति सी चिनफिङले पनि त्यति सजिलै पार्टी सदस्यता पाएका थिएनन् । कुनै पनि सदस्यले कडा मेहनतपछि मात्रै पार्टी प्रवेश गर्न सक्छ । त्यसको लागि पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता, एक वर्षसम्म पार्टी विधानको अध्ययन र परीक्षा पास भएपछि मात्रै सदस्य बन्न योग्य वा अयोग्य भनेर फैसला गरिन्छ ।

माओ वा अन्य पूर्व नामी नेताहरूको जन्म वा मृत्युका बेलामा नेपालका वामपन्थी नेताहरूले पनि सन्देश पठाइरहेका हुन्छन् । विश्वका अन्य देशबाट पनि यस्ता सन्देशहरू प्राप्त हुन्छन् । अलिअलि गर्दागर्दै चिनियाँ शीर्ष नेताहरूको जन्ममितिबारे खुल्दै गएको छ ।

तैपनि जन्ममिति आएको गएकोबारे न त नेताहरूले वास्ता गर्छन् न त चिनियाँ सर्वसाधारणले नै चाल पाउँछन् । यस्तो बेलामा कुनै विदेशी नेताले यी नेताप्रति जन्मदिनको शुभकामना सन्देश पठाएर आत्मीयता देखाउन खोज्यो भने पनि ‘हाँसको बथानमा बकुल्ला’ हुने सम्भावना हुन्छ ।
[email protected]

प्रकाशित : कार्तिक १६, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?