कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यानमारा बक्सिङ

विश्वमा व्यावसायिक बक्सिङमा सन् १८९० देखि २०११ सम्म जति पनि खेल भए, त्यसमध्ये भिडन्तकै क्रममा बोकेको चोटका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो भनेको वर्षमा १३ बक्सरको मृत्यु हुने गर्छ ।
हिमेश

खेलकुदको विषयलाई लिएर जति पनि सिनेमा बन्छन्, त्यसमध्ये आधा जति त एउटै खेलको मात्र हुन्छ– बक्सिङ  । खेलकुदबारे बनेका चर्चित फिल्म त सबैजसो बक्सिङकै छन् भन्दा पनि हुन्छ  ।

ज्यानमारा बक्सिङ

यो खेलमा कि त जीवन हुन्छ, होइन भने मृत्यु । बक्सिङमा अरू विकल्प हुन्न । त्यसैले त सिनेमाका लागि यो निकै उपयुक्त विषय हुने गर्छ । बक्सिङले पस्कने हार जित, बदलाको झावना, मिहिनेत, त्रुरता, अनि जीवन र मृत्यु, यी सबै विश्व सिनेमाका लागि खुबै उपयुक्त छन् ।

यी सिनेमाका खेलाडी पात्रको स्थिति जस्तै भए पनि त्यसको कम्तीमा मृत्यु त हुन्न । तर व्यावसायिक बक्सिङको रिङमा उत्रनु पर्छ, त्यसमा जित र हार मात्र हुन्न, मृत्यु पनि हुन्छ । यति धेरै ज्यानमारा खेल हो, बक्सिङ । पूरा विश्वमा व्यावसायिक बक्सिङमा सन् १८९० देखि २०११ सम्म जति पनि खेल भए, त्यसमध्ये भिडन्तकै क्रममा बोकेको चोटका कारण १ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो भनेको वर्षमा १३ बक्सरको मृत्यु हुने गर्छ ।

खेल्दा खेल्दै केही नहुने खेलाडी पनि उत्तिकै छन् । तर तिनले पनि ढिलो चाँडो केही न केही रोग बोकिहाल्छन् । जस्तो महान मोहम्मद अलिकै कुरा । आफ्नो जीवनको अन्त्यतिर उनलाई नशासम्बन्धी यस्तो रोग लाग्यो कि उनी कहिल्यै पनि सामान्य जीवनमा फर्कन सकेनन् । स्नायुसम्बन्धी रोगको पनि उत्तिकै डर हुन्छ । आखिरमा बक्सिङ यस्तो खेल हो, जसमा एकले अर्कोलाई सिधै अनुहार र टाउकोमै ताकेर हान्ने प्रयास हुन्छ । जसले बढी हान्न सक्यो, त्यही जित्यो । त्यसैले बक्सिङ ज्यानमारा खेल हो, यसलाई प्रतिबन्ध नै लगाउनु पर्छ भनेर समय समयमा आवाज उठ्ने गर्छ ।

अहिले फेरि दोहराएर यसको चर्चा किन भन्दा पछिल्लो केही समय खेलाडीको मृत्यु भएका घटना अलि बढी नै हुन थालेका छन् । केही दिन अगाडि मात्र अमेरिकाका २७ वर्षीय बक्सर प्याट्रिक डेको मृत्यु भयो । चार्ल्स कोनवेलविरुद्धको भिडन्तका क्रममा उनको टाउकोमा गहिरो चोट लागेको थियो । चोट बोकेको चार दिनपछि उनले अन्तिम श्वास फेरे ।

सेप्टेरम्बरमा मात्रै २१ वर्षीय बुल्गेरियाली बक्सर बोरिस स्टानचोभको पनि निधन भयो, अल्बानियामा खेल्ने क्रममा । जुलाईमै पनि दुई दिनको अन्तरमा दुई बक्सर मरे । मेरिल्यान्डमा भएको लाइट वेल्टरवेटको भिडन्तमा घाइते रुसी २८ वर्षीय म्याक्सिम डाडसेभ के ढले उठ्नै सकेनन् । सधैंका लागि बिलाए । त्यसको ठीक अगाडि अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको भिडन्तमा ह्युगो अल्फ्रेडो स्टानटिलन पनि चोटग्रस्ट भए । उनी त रिङमै ढले, फेरि उठेनन् ।

यसबीच चोट बोकेर अस्पतालमा लानु परेका खेलाडीको संख्या त कति छन् कति । खेलेरै गम्भीर चोट बोकेर थला परिरहेका खेलाडीको संख्या पनि उत्तिकै छ । अनि यो खेललाई प्रतिबन्ध लगाउनुपर्छ भन्नेको आवाज ठूलो हुने भयो नै । धैरै आलोचना भयो यो खेलसँग सम्बन्धितको उत्तर प्रायः एउटै आउने गर्छ । जस्तो, डब्लूबीएफका प्रवक्ताले केही समाचार संस्थालाई भनेका छन्, ‘बक्सिङलाई यस्तो आलोचनाको बानी परिसकेको छ, तर यसक्रममा धेरैले बक्सिङले गरेका राम्रा काम पनि बिर्सन गर्छन् ।’

व्यावसायिक बक्सिङको सबैभन्दा ठूलो केन्द्र त अमेरिकामा नै हो । सिनेमामा देखाइने गरेजस्तै, अमेरिकामा ठुल्ठूला सहरमा सडकमै हुर्केर त्यहीं अस्ताउने युवाको संख्या अत्याधिक हुने गर्छ । विशेषतः अश्वेत युवाहरू यसमा बढी पर्छन् । यिनीहरू हिंस्रक अनि आक्रामक पनि हुन्छन् । यी सबै गुण एकजना बक्सरमा हुनुपर्ने गुण हुन् । सडकमा हुर्किने प्रायः युवाहरूको खास लक्ष्य हुँदैन । कहाँ कतिबेला एकाएक हराउने हुन्, कसैलाई थाहा हुन्न । अनि यही बक्सिङले ती युवालाई अनुशासन र आत्मविश्वास दिने गर्छ ।

सफलता चुम्यो भने त अपार धन पनि । यस्ता पात्रमध्ये सबैभन्दा चर्चित त माइक टाइनसनै भए । उनी सडकबाटै माथि उठेका विश्वकै सर्वाधिक चर्चित खेलाडी हुन् । बक्सिङले टाइसन जस्ता युवाको भलो गरेकै पनि हो । टाइसनले बक्सिङ नखेलेको भए, उनी गुमनाम भएर हराइसक्थे ।

त्यसो त बक्सिङ खेलेरै मर्नेको संख्याको दर घट्दो भने छ । सन् १९२० तिर धेरै बक्सरको मृत्यु भएको थियो । सन् २००० तिर आएर मृत्यु हुनेको संख्या निकै भइसकेको छ । सन् १९८३ का एउटा चर्चित भिडन्तले व्यावसायिक बक्सिङमा धेरै सुधार ल्याउन बाध्य पारियो । लस भेगासमा भएको खेलमा दक्षिण कोरियाली खेलाडी डुक–को किम घाइते भए र त्यसको चार दिनपछि उनको मृत्यु पनि भयो । उनी रे मानचिनीविरुद्धको खेलमा नकआउट भएका थिए ।

यसपछि भने व्यवसायिक बक्सिङलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर चर्को स्वर उठ्यो । त्यो भिडन्त युट्युबमा उफलब्ध छ र बक्सिङ वास्तवमै कति त्रुर हुन सक्छ, थाहा पाउन सकिन्छ । त्यसपछि व्यावसायिक बक्सिङ १५ राउन्डबाट १२ मा झारियो । जम्माजम्मी तीन राउन्डको खेल कम हुँदा पनि त्यसले खेलाडीमा पर्ने चोट निकै कम भएको थियो । यस्तै खेलाडीलाई चोट कम लागोस भनेर अरू केही उपाय पनि अपनाइए ।

अमेरिकी मेडिकल काउन्सिलले सन् २००९ मा निकालेको एउटा रिपोर्ट अनुसार हजार भिडन्तमा खेलाडीको मृत्यु हुने सम्भावना ०.१३ मा हुन्छ । त्यसो भनेको वर्षमा नौ दस जना व्यवसायिक बक्सरको मृत्यु हुनु स्वाभाविक जस्तै हो । गैर व्यावसायिक बक्सिङमा भने खेलाडीको मृत्यु दर वर्षमा तीनको हाराहारीमा हुन्छ । खेलाडीको मृत्युको योभन्दा बढी सम्भावना भएका खेल त अरू पनि छन् । जस्तो, अमेरिकी कलेज फुटबल, मोटरसाइकल रेसिङ, डाइभिङ, माउन्टेनेरिङ, स्काइ डाइभिङ, हर्स रेसिङ आदि आदि ।

माउन्टेनेरिङलाई पनि पश्चिमतिर खेलकै रूपमा मानिन्छ र यसमा मृत्युको सम्भावना अत्याधिक छ । विश्वको दोस्रो अग्लो हिमाल के टुमा चढ्नेमध्ये २२ प्रतिशतको मृत्यु हुने गरेको छ, जसकी यस्तै तथ्यांक सगरमाथालाई लिएर तीन प्रतिशत मात्र छ । जब हिमाल चढ्ने धेरै मरे भनेर माउन्टेनेरिङमा प्रतिबन्ध लागेको छैन भने बक्सिङमाथि मात्र किन बढी आलोचना त ? यसको पनि एउटै उत्तर छ– बक्सिङ भनेको बक्सिङ नै हो, यो खेल नै ठूलो ।

जति बढी ठूलो खेल, उति बढी चर्चा पनि, चाहे त्यो सकारात्मक होस अथवा नकारात्मक । व्यावसायिक बक्सिङमाथि साँच्चै प्रतिबन्ध लाग्यो भने डर छ यो भूमिगत खेल हुनेछ । जति बेला बक्सिङ अन्डरग्रान्ड खेल हुनेछ, त्यो अझ डरलाग्दो हुनेछ । आखिरमा बक्सिङ त्यस्तो खेल पक्कै होइन, जहाँ फुटबल र क्रिकेटमा जस्तो केही साथी मिलेर आज रमाइलोका लागि खेलौं भन्ने हुन्छ ।

त्यसैले जत्तिकै विरोधमा आवाज उठेपनि व्यावसायिक बक्सिङमा प्रतिबन्ध लाग्ने छैन् । डेको मृत्युपछि उनका प्रतिद्वन्द्वी कोनवेल पनि साह्रै भावविह्वल भए । हुन् पनि आफूले हराएका खेलाडीको मृत्यु हुन्छ भने त्यसबाट सिर्जना भएको परिस्थिति सहन सजिलो हुन्न । कोनवेलले भने पनि, ‘मैले त्यस भिडन्तमा चाहेको एउटै तथ्य जित थियो, त्यो जितको बदलामा डे फेरि फर्किन्छन् भने त्यसका लागि म हार्न तयार छु ।’

तर के गर्नु ? यी त सबै भावनात्मक कुरा न भए । बक्सिङ खेल्छु भन्नु आखिरमा आफ्नै मृत्युमा हस्ताक्षर गर्नु जस्तै त हो !
twitter : @himeshratna

प्रकाशित : कार्तिक १६, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?