कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संगत गुनाको फल

बालिका थपलिया

‘तिमी यस नेपालमा खेर गइरहेका नदी सरह हौ,’ श्रीमान् गोविन्दराज भट्टराईले आफूलाई यस्तो वाक्य प्रयोग गरेपछि अञ्जनाको मनमा काँडा बिझेझैं भयो  । यही वाक्यले उनलाई नियात्राकार पनि बनायो  ।

संगत गुनाको फल

केही लेखेर देखाउन मन लाग्यो । उनको क्षमताले उनलाई चुनौती दियो । त्यसपछि उनले ‘जीवनका घुम्ती र देउरालीहरू’ नामक कृति जन्माइन् । ‘यात्रामा पनि ठूलो शिक्षा लुकेको हुँदो रहेछ’ अञ्जना आफनो आत्मसंस्मरणमार्फत् यही वास्तविकतालाई प्रस्ट्याउन चाहन्छिन् ।

उनले कृतिको सुरुवातमा ताप्लेजुङको महत्त्वलाई बयान गर्दै ‘ताप्लेजुङ यात्राको संयोगले ब्युँझाएका सम्झनाका पत्रहरू’ शीर्षकको संस्मरण लेखेकी छन् । त्यो ठाउँ उनको श्रीमान्का पुर्खाहरूको थातथलो पनि हो । दोस्रो लेखले इलामको महत्त्वलाई दर्सार्एको छ । जहाँ उनले इलामको शैक्षिक र प्राकृतिक महत्त्वको चर्चा गरेकी छन् । तेस्रा नियात्रामा उनले नगरकोटको प्राकृतिक सुन्दरताको बयान गरेकी छन् ।

चौथो संस्मरणमा उनले श्रीलंका यात्राबारे लेखेकी छन् । राष्ट्रसंघको महासभाका निम्ति उनलाई जाने अवसर मिलेको थियो । कोरिया भ्रमण गर्दा सियोल, ग्वाङ्जु, मोक्पो, दक्षिण कोरियाको दक्षिणी सिमाना आदि ठाउँ घुम्दाको अनुभवको बयान गरेकी छन् ।
परिवारसँग भारत भ्रमण गर्दा अनि धार्मिक स्थलमा जाँदा उनले गरेको अनुभवलाई यसरी व्यक्त गर्छिन्, ‘शक्तिका प्रतीक देवीस्थलहरू किन उचाइमा हुँदा रहेछन् ? शक्तिछेउ पुग्न सजिलो हुँदैन, कडै परिश्रम गर्नुपर्छ भनेर होला त ।

हुन त अन्य कति देवताका मन्दिर पनि चुचुरामा हुन्छन् । उदाहरणस्वरूप नेपालको मुक्तिनाथ, भारतको बद्री केदारलाई लिन सकिन्छ तर उचाइमा हुने देवीस्थलको संख्या अन्यको तुलनामा बढी नै देखिन्छ ।’ त्यसपछि उनी अमेरिकाको नेब्रास्का जाँदा घुमेका विभिन्न ठाउँको बारेमा आफनो अनुभव लेख्छिन् । त्यहाँको युनिभर्सिटी, पुस्तकालय, फार्मर्स मार्केट, चिडियाखाना, बेलेभ्यु विश्वविद्यालय, प्रविधि विभाग, ग्यालप, डेरी, स्टेट क्यापिटल, स्ट्राटेजिक एयर कमाण्ड म्युजियम, वासिङटन, स्टेट डिपार्टमेन्ट र क्यापिटल हिल आदि ।

‘मोक्पो राष्ट्रिय विश्वविद्यालयको निमन्त्रणा’ शीर्षकको संस्मरणमा कोरिया यात्राको बारेमा लेखेकी छन् । यात्राको क्रममा भेट भएकी एउटी पाकी महिलाले जुस पिएका ग्लासलाई टिसुले पुछपाछ पारेर आफ्नो ब्यागमा खुसुक्क छिराएको देख्दा मानवीय स्वभावमा समानता भएको अनुभव गर्छिन् लेखक ।

मानवीय स्वभावलाई जाति, धर्म, भाषा, भूगोलले अन्तर नल्याउने उनको ठम्याइ छ । अर्को संस्मरण ‘एक आकस्मिक यात्रा’ मा जीवनका आरोह–अवरोहलाई यसरी परिभाषित गरेकी छन् ‘आरोह–अवरोह जीवनका अभिन्न गहना हुन् । कुन क्षण के हुन्छ सधैं अनिश्चित ।’ यसभित्र उनले आफूलाई मुटुको समस्या हुँदा झेलेको समस्या र उपचारको बारेमा उल्लेख गरेकी छन् । अखिल भारतीय आयुर्विज्ञान संस्थानमा नयाँदिल्लीमा गएर मुटुको उपचार गरेको बारेमा उनले यसमा उल्लेख गरेकी छन् ।

आफ्नी छोरीसँग थाइल्यान्डमा यात्रा गरेको प्रसंगलार्ई उनले ‘थाइल्यान्डको पर्यटकीय यात्रा’ शीर्षकको संस्मरणमा सम्झना गरेकी छन् । यस कृतिमा समेटिएको अन्तिम संस्मरण ‘दिल्लीको अस्पताल बसाइ र पठन’ मा आफ्ना श्रीमान् बिरामी भएर भारतको अस्पतालमा उपचार गराउँदाको समयलाई अभिव्यक्त गरेकी छन् ।

सरल लेखनशैलीमा जीवनको गहनतालाई अञ्जना वस्तीले आफ्नो पुस्तकमा प्रस्तुत गरेकी छन् ।

आफ्नो जिन्दगीका भोगाइलाई शालीन शैलीमा उत्खनन् गरेकी छन् । यसलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशित गरेको छ । कुनै पनि व्यक्तिको जीवनमा परिवारको महत्त्व अतुलनीय हुन्छ भन्ने वास्तविकतालाई लेखकले प्रस्ट्याएकी छन् । ‘यात्रा अनन्त ज्ञानको स्रोत हो’ यो भनाइलाई उनले आफ्नो लेखनमा उतारेकी छन् ।

साहित्यिक परिवारसँग नाता जोड्न पुगेकी र आफू पनि लामो समयसम्म त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन क्षेत्रमा संलग्न रहेकी उनी संगतबाट लेखक भएको यथार्थलाई आफ्नो लेखाइमार्फत् उजागर गर्छिन् ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?