पर्यावरणीय चेतनाको उच्चबोध गर्दै पक्षी, मानिस तथा अन्य प्राणी र वनस्पतिसहितका अनेक कथामा ‘हंस’ उपन्यास संरचित छ । मानिस, जनावर, पशुपक्षी र वनस्पतिका अनेक संवेदनासहित फरक शैलीमा बुनिएको यस आख्यानले मानवीय ‘हंस’ मा अपुग रहेका अनेक चेतनाका तहलाई पनि खोलेको छ ।

उपन्यासले आख्यानको संरचनाबाट चरासहित अन्य मानवेतर प्राणीका कथालाई उभ्याउँदै मानवीय चेतनाको तहलाई फराकिलो पार्ने दृष्टिकोण पनि पेस गरेको छ । मानवीय मनसोरवरमा सम्बन्धका अनेक संकुचन छन् । ती संकुचनलाई चरा तथा सरिसृपका अनेक कथाबाट व्यंग्य गर्दै मानिस आफैंले बनाएको समाज र सभ्यताको माकुरे जालोमा कसरी प्रताडित छ भन्ने यथार्थ बोलेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय नियमका अनेक जालोमा आजको मानिसको स्वतन्त्रता बन्दी छ तर पनि मानिस आफ्नो सभ्यता र उपलब्धिको गुड्डी हाँक्छ अनि भौतिक सुखको खोजीमा ताहुरमाहुर गरिरहन्छ । उपन्यासमा चरा जति पनि स्वतन्त्र हुन नसक्ने लुगा लाउने मानिस (आवरणमा मात्र रमाउने, भित्री सुख नभेट्ने) देखेर हाँस, गाड्यौला र सर्पहरू पनि व्यंग्य गर्छन् ।
म पात्रको जीवनको जालो परिबन्दमा परेको छ । समाख्याता म पात्र पत्नी सीमालाई अर्कैले लगेको झोंकमा हिंसात्मक मनोवृत्तिमा पुग्दै गर्दा आख्यानको आरम्भ हुन्छ । पढ्दै जाँदा म पात्र मात्र होइन उसको जार अनुज पाँडे पनि उस्तै परिबन्दमा परेर विसंगत जीवनको महाजालोमा बेरिएको हुन्छ । यी दुवैका कथासँग आप्रवासी अनुभव, प्रेम, विछोड, ईर्ष्या, हिंसा आदिजस्ता चरम नकारात्मक संवेगका अनेक सन्दर्भ आउँछन् । तर जति आउँछन् तिनले जीवनको विसङ्गत पाटोलाई मात्र उजागर गर्छन् । यसबाट वर्तमान जीवनको यथार्थबोध हुन्छ ।
पश्चिमा जीवनको भौतिकता र उपभोक्तावादी संस्कृतिको महाजालोमा फसेका दक्षिण एसियाली निमुखा नागरिक पात्रहरू समुन्नत र न्यायपूर्ण भनिएको समाजमा पनि शोषणमा नै परेका छन् । कमाइको लालसाले डोर्याएको जीवनले सधै जीवनलाई संकटको मझधारमा उभ्याएको छ । अवसरको थलो मानिएको अमेरिका मोहको आजको यथार्थ र त्यहाँ भासिएका जीवनको निरीहपनलाई उपन्यासले उधिनेको छ ।
वनस्पति, प्राणी र पक्षीका अनेक संवेदना बोकेको सञ्जीव उप्रेतीको यस आख्यानमा उड्ने हाँस र नउड्ने हाँसको प्रेमकथा रोचक छ । स्वैरकल्पनाको प्रयोगमा नागराजा, नागरानी र डोब्रे सर्पको त्रिकोणात्मक प्रेमको लोककथाले आख्यानमा अझ रोचकता थपिन्छ । टौदहको वास्तविक प्राकृतिक सेरोफेरोमा आख्यानको स्वरैकाल्पनिक बुनोट वास्तविकझैं भान हुन्छ ।
म पात्रको सीमासँग प्रेम सुरु भएको थलो टौदहमा हाँसहँसिनी, नागनागिनी आदिका प्रेमकथा जोडिएका छन् र समाख्याताले कथा भन्न रोजेको थलो पनि टौदह नै हो । पत्नी सीमालाई लगेको जारसँगको रोचक भेट पनि टौदहमा नै भएको छ । जारको घाँटी छिनाएर आत्मसन्तुष्टि लिन चाहने म पात्रको हिंसात्मक सोचसँगै कथाले यही ठाउँबाट गति लिएको छ ।
घटनाका अनेक उतारचढावमा हिंसा गर्न चाहने मपात्रको मनस्थितिको उथलपुथलसँगै कथा अझ कुतूहल बन्दै जान्छ । टौदहका किनारमा वृद्धाको सान्निध्य र उनीबाट सुनेका अनेक किंबदन्ती लोककथाका शैलीमा कथामा जोडिँदै जान्छन् नागनागिनी र हाँसहँसिनीका प्रेमकथाहरू बन्दछन् । परिवेशमा अनेक वनस्पतिको स्थिति र अन्य चराका सन्दर्भ पनि आउँछन् । उपन्यास त्यतिबेला अझ रोचक लाग्छ जतिबेला मानवप्रेम र पक्षी तथा नागनागिनको प्रेमका कथा उस्तैजस्ता लाग्छन् । आखिरमा प्रेम नै ब्राहृमण्डमा सबैले बुझ्ने साझा भाषा रहेछ !
यस आख्यानले पर्यावरणीय चेतनामार्फत् मानवीय हंसको संकुचन वा साँघुरो घेराको तुलनामा पक्षी वा हंसको फराकिलो जीवनशैलीको तुलना मात्र गर्दैन प्राकृतिक जीवनशैलीबाट विमुख हुँदै गएको मानव सभ्यताको समस्या र संकटलाई पनि संकेत गर्दछ । मानिसका मात्र कथालाई महत्त्व दिइने मानवीय सभ्यताको पृथ्वीमा अन्य प्राणीका पनि कथा हुन्छन्, तिनलाई हामीले सुन्न सक्नुपर्छ भन्ने चेतनाको विकास गरेको छ यस उपन्यासले । अन्य प्राणीमा रहेको चेतनाकै कारण उनीहरूका बीच पनि सामूहिकता, समता र प्रेमका भाव छन् भन्ने कुरा कथाले पुष्टि
गरेको छ ।
बकुल्ला र गँड्यौलाको एउटा संवाद :
‘...अनि आफ्नो थलो छाडेर अर्कै ठाउँमा जाँदा तिनेरु सजिलै जान पाउँदैनन् । तिनले कागज लिनुपर्छ ।’
‘कागज अरे !’ गँड्यौलाले अचम्म मान्दै सोध्यो ।
‘अर्काको ठाउँमा जान उनीहरूलाई कागज चाहिन्छ,’ बकुल्लाले भन्यो, ‘लुआ लाउनेलाई बाँच्नको निम्ति थुप्रै थरीका कागज चाहिन्छन् ।’
‘हो र ! कस्ता कागज ?’
‘आगरिकता, आस्पोर्ट, इसा, आलपुर्जा, खोई केके हो केके ! ...
‘बिचरा लुआ लाउनेको जीवन हामी भुइँहारा अड्यौलाहरूको भन्दा पनि कठिन रहेछ त !’ गँड्यौलाले भन्यो, ‘विचरा लुआ लाउनेहरूको कागजे जीवन ।’ (पृ. १९९) आख्यानले भाषाको साँघुरो घेरालाई नाघेर पक्षी र सरीसृपको भाषाको सिर्जना पनि गरेको छ । ‘अ’, ‘आ’, ‘इ’, ‘ओ’ जस्ता स्वरवर्णको आधिक्यमा तिनले प्रयोग गरेको भाषामा रोचकता मात्र पाइन्न, लेखकको चलाखी पनि भेटिन्छ । कतिपय अश्लील मानिएका शब्दको प्रयोगलाई आवरण दिन यी स्वरवर्णले सजिलो बनाएको छ ।
हंसले पुंसत्व र नारीत्वका अनेक भाष्य पनि उजागर गरेको छ । म पात्रलाई राष्ट्रवादीजस्ता मित्रले गरेको व्यवहारबाट पितृसत्ताले पुरुषलाई पनि कसरी शोषण गरेको छ भन्ने कुराको पुष्टि गर्दछ । माया र सीमाका कथामा नारी स्वरका अनेक रूप भेटिन्छन् । समग्रमा भन्दा मानवकेन्द्रित विश्वदृष्टिलाई थोरै ओझेलमा पारेर प्रकृति र पर्यावरणका विषयलाई हंसले केन्द्रमा ल्याउन खोजेको छ ।
मानवीय चेतनाको आयातन फराकिलो पार्ने पर्यावरणीय चेतना नेपाली आख्यानमा सघन रूपमा खन्याउन सक्नु र अनेक मुद्दालाई सरल भाषामा समेट्न सक्नु यसको उपलब्धि बनेको छ । चरित्रको प्रगाढता मानवको कथामा पाठकले जति सजिलोसँग प्राप्त गर्छ हाँस र अन्य पक्षीका चरित्रलाई उति प्रगाढ स्मृतिमा राख्न पाठकलाई हम्मे नै पर्ला । लेखकले पक्षीको चरित्रलाई अझ विशेष बनाउन नसकेको भए जस्तो पनि लागिरहन्छ पढिसक्दा ।
‘घनचक्कर’ को उलपुलटमा आख्यानको जटिल तह बुनेका बौद्धिक लेखक सञ्जीव उप्रेतीको यो उपन्यास सरल लेखन हो । ‘घनचक्कर’ पागलपनको विषयमा केन्द्रित थियो र स्वाभाविक रूपमा भाषा पनि जटिल नै थियो । तर ‘हंस’ मा प्रेमको विषय प्राथमिकतामा छ ।
यस उपन्यासले मानिस र प्रकृतिमा रहने अनेक प्राणीको प्रेमलाई समभावमा हेर्न र बुझाउन खोजेको छ । मानव, हाँस, सर्प, वृक्ष आदिमा रहने प्रेमका विषयलाई उपन्यासमा रोचक रूपमा प्रस्तुत गरिएको छ । साथै प्रेमकै कारण उपन्यासमा सम्बन्धका अनेक रूपले मानवमा उत्पन्न हुने डाहा, ईर्ष्या, छटपटी, हिंसात्मक मनोवृत्ति आदि अनेक संवेगको पनि चित्रण गरिएको छ । प्रेम संसारमा सबैले बुझ्ने विषय हो र यसको भाषा सरल हुनुपर्छ भन्ने मान्यता उपन्यासमा छ ।
हेमिङ्गवेको ‘ओल्ड म्यान एन्ड द सी’ को विषय पनि उपन्यासमा ल्याउनुमा यही उद्देश्य देखिन्छ । सरल शब्द र वाक्य रचनाले सबै तहका पाठकले बुझ्ने उपन्यास लेखिएको छ । वास्तवमा प्रेमको भाषा कस्तो हुनुपर्छ भन्ने कुरातर्फ पनि यस उपन्यासले संकेत गरेको छ । त्यसैगरी संसारमा मानिस र प्राणीमा हुने प्रेम उस्तै हो भने यिनका भाषा एक अर्काले बुझ्न सक्छन् कि सक्दैनन् त भन्ने संवेदनशील पर्यावरणीय पक्षलाई पनि उपन्यासमा उठाइएको छ । आख्यानमा लोककथाको शैली पनि गाँसिएको छ जसले सरल भाषाको अपेक्षा गर्दछ ।
प्रकृतिको नजिक गई तिनको सूक्ष्म अध्ययन गरी फरक विषयमा आएको यो आख्यान रोचक र समय सान्दर्भिक छ । नेपाली साहित्यमा पर्यावरणीय पक्षसहितको नयाँ विश्वदृष्टिले यो कृति महत्त्वपूर्ण छ । गहन पर्यावरणको विषय, प्रेमको प्राकृतिक र ब्रमाण्डीय स्वरूप, लोककथात्मक र स्वैकल्पनात्मक शैलीको संयोजन तथा कथानकको कौतूहलपूर्ण बुनोट यस उपन्यासका शक्ति हुन् ।
उपन्यासमा हाँसको कथा बूढी आमैले सुनाउँछिन् तर पढ्दै जाँदा समाख्याता मपात्र नै यसमा मिसिन्छ । यसले घरीघरी पाठकमा अलमलको स्थिति पैदा पनि हुन्छ तर प्राणी र वनस्पतिको रोचक मानवीकरण र तिनको फरक भाषाको निर्माणले उपन्यासमा रौनक थपेको छ । जम्मा १२ ओटा छोटा छोटा खण्डमा संरचित उपन्यास २१९ पृष्ठमा रहेको छ र छोटैमा मानिस र अन्य प्राणीका धेरै कथा कथेको छ ।
प्रकाशित : कार्तिक १६, २०७६ १०:२८