प्रकृति र मानवको सहचेतनाको उडान

रजनी ढकाल

पर्यावरणीय चेतनाको उच्चबोध गर्दै पक्षी, मानिस तथा अन्य प्राणी र वनस्पतिसहितका अनेक कथामा ‘हंस’ उपन्यास संरचित छ  । मानिस, जनावर, पशुपक्षी र वनस्पतिका अनेक संवेदनासहित फरक शैलीमा बुनिएको यस आख्यानले मानवीय ‘हंस’ मा अपुग रहेका अनेक चेतनाका तहलाई पनि खोलेको छ  ।

उपन्यासले आख्यानको संरचनाबाट चरासहित अन्य मानवेतर प्राणीका कथालाई उभ्याउँदै मानवीय चेतनाको तहलाई फराकिलो पार्ने दृष्टिकोण पनि पेस गरेको छ । मानवीय मनसोरवरमा सम्बन्धका अनेक संकुचन छन् । ती संकुचनलाई चरा तथा सरिसृपका अनेक कथाबाट व्यंग्य गर्दै मानिस आफैंले बनाएको समाज र सभ्यताको माकुरे जालोमा कसरी प्रताडित छ भन्ने यथार्थ बोलेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय नियमका अनेक जालोमा आजको मानिसको स्वतन्त्रता बन्दी छ तर पनि मानिस आफ्नो सभ्यता र उपलब्धिको गुड्डी हाँक्छ अनि भौतिक सुखको खोजीमा ताहुरमाहुर गरिरहन्छ । उपन्यासमा चरा जति पनि स्वतन्त्र हुन नसक्ने लुगा लाउने मानिस (आवरणमा मात्र रमाउने, भित्री सुख नभेट्ने) देखेर हाँस, गाड्यौला र सर्पहरू पनि व्यंग्य गर्छन् ।

म पात्रको जीवनको जालो परिबन्दमा परेको छ । समाख्याता म पात्र पत्नी सीमालाई अर्कैले लगेको झोंकमा हिंसात्मक मनोवृत्तिमा पुग्दै गर्दा आख्यानको आरम्भ हुन्छ । पढ्दै जाँदा म पात्र मात्र होइन उसको जार अनुज पाँडे पनि उस्तै परिबन्दमा परेर विसंगत जीवनको महाजालोमा बेरिएको हुन्छ । यी दुवैका कथासँग आप्रवासी अनुभव, प्रेम, विछोड, ईर्ष्या, हिंसा आदिजस्ता चरम नकारात्मक संवेगका अनेक सन्दर्भ आउँछन् । तर जति आउँछन् तिनले जीवनको विसङ्गत पाटोलाई मात्र उजागर गर्छन् । यसबाट वर्तमान जीवनको यथार्थबोध हुन्छ ।

पश्चिमा जीवनको भौतिकता र उपभोक्तावादी संस्कृतिको महाजालोमा फसेका दक्षिण एसियाली निमुखा नागरिक पात्रहरू समुन्नत र न्यायपूर्ण भनिएको समाजमा पनि शोषणमा नै परेका छन् । कमाइको लालसाले डो‍र्‍याएको जीवनले सधै जीवनलाई संकटको मझधारमा उभ्याएको छ । अवसरको थलो मानिएको अमेरिका मोहको आजको यथार्थ र त्यहाँ भासिएका जीवनको निरीहपनलाई उपन्यासले उधिनेको छ ।

वनस्पति, प्राणी र पक्षीका अनेक संवेदना बोकेको सञ्जीव उप्रेतीको यस आख्यानमा उड्ने हाँस र नउड्ने हाँसको प्रेमकथा रोचक छ । स्वैरकल्पनाको प्रयोगमा नागराजा, नागरानी र डोब्रे सर्पको त्रिकोणात्मक प्रेमको लोककथाले आख्यानमा अझ रोचकता थपिन्छ । टौदहको वास्तविक प्राकृतिक सेरोफेरोमा आख्यानको स्वरैकाल्पनिक बुनोट वास्तविकझैं भान हुन्छ ।

म पात्रको सीमासँग प्रेम सुरु भएको थलो टौदहमा हाँसहँसिनी, नागनागिनी आदिका प्रेमकथा जोडिएका छन् र समाख्याताले कथा भन्न रोजेको थलो पनि टौदह नै हो । पत्नी सीमालाई लगेको जारसँगको रोचक भेट पनि टौदहमा नै भएको छ । जारको घाँटी छिनाएर आत्मसन्तुष्टि लिन चाहने म पात्रको हिंसात्मक सोचसँगै कथाले यही ठाउँबाट गति लिएको छ ।

घटनाका अनेक उतारचढावमा हिंसा गर्न चाहने मपात्रको मनस्थितिको उथलपुथलसँगै कथा अझ कुतूहल बन्दै जान्छ । टौदहका किनारमा वृद्धाको सान्निध्य र उनीबाट सुनेका अनेक किंबदन्ती लोककथाका शैलीमा कथामा जोडिँदै जान्छन् नागनागिनी र हाँसहँसिनीका प्रेमकथाहरू बन्दछन् । परिवेशमा अनेक वनस्पतिको स्थिति र अन्य चराका सन्दर्भ पनि आउँछन् । उपन्यास त्यतिबेला अझ रोचक लाग्छ जतिबेला मानवप्रेम र पक्षी तथा नागनागिनको प्रेमका कथा उस्तैजस्ता लाग्छन् । आखिरमा प्रेम नै ब्राहृमण्डमा सबैले बुझ्ने साझा भाषा रहेछ !

यस आख्यानले पर्यावरणीय चेतनामार्फत् मानवीय हंसको संकुचन वा साँघुरो घेराको तुलनामा पक्षी वा हंसको फराकिलो जीवनशैलीको तुलना मात्र गर्दैन प्राकृतिक जीवनशैलीबाट विमुख हुँदै गएको मानव सभ्यताको समस्या र संकटलाई पनि संकेत गर्दछ । मानिसका मात्र कथालाई महत्त्व दिइने मानवीय सभ्यताको पृथ्वीमा अन्य प्राणीका पनि कथा हुन्छन्, तिनलाई हामीले सुन्न सक्नुपर्छ भन्ने चेतनाको विकास गरेको छ यस उपन्यासले । अन्य प्राणीमा रहेको चेतनाकै कारण उनीहरूका बीच पनि सामूहिकता, समता र प्रेमका भाव छन् भन्ने कुरा कथाले पुष्टि
गरेको छ ।

बकुल्ला र गँड्यौलाको एउटा संवाद :
‘...अनि आफ्नो थलो छाडेर अर्कै ठाउँमा जाँदा तिनेरु सजिलै जान पाउँदैनन् । तिनले कागज लिनुपर्छ ।’

‘कागज अरे !’ गँड्यौलाले अचम्म मान्दै सोध्यो ।

‘अर्काको ठाउँमा जान उनीहरूलाई कागज चाहिन्छ,’ बकुल्लाले भन्यो, ‘लुआ लाउनेलाई बाँच्नको निम्ति थुप्रै थरीका कागज चाहिन्छन् ।’

‘हो र ! कस्ता कागज ?’

‘आगरिकता, आस्पोर्ट, इसा, आलपुर्जा, खोई केके हो केके ! ...

‘बिचरा लुआ लाउनेको जीवन हामी भुइँहारा अड्यौलाहरूको भन्दा पनि कठिन रहेछ त !’ गँड्यौलाले भन्यो, ‘विचरा लुआ लाउनेहरूको कागजे जीवन ।’ (पृ. १९९) आख्यानले भाषाको साँघुरो घेरालाई नाघेर पक्षी र सरीसृपको भाषाको सिर्जना पनि गरेको छ । ‘अ’, ‘आ’, ‘इ’, ‘ओ’ जस्ता स्वरवर्णको आधिक्यमा तिनले प्रयोग गरेको भाषामा रोचकता मात्र पाइन्न, लेखकको चलाखी पनि भेटिन्छ । कतिपय अश्लील मानिएका शब्दको प्रयोगलाई आवरण दिन यी स्वरवर्णले सजिलो बनाएको छ ।

हंसले पुंसत्व र नारीत्वका अनेक भाष्य पनि उजागर गरेको छ । म पात्रलाई राष्ट्रवादीजस्ता मित्रले गरेको व्यवहारबाट पितृसत्ताले पुरुषलाई पनि कसरी शोषण गरेको छ भन्ने कुराको पुष्टि गर्दछ । माया र सीमाका कथामा नारी स्वरका अनेक रूप भेटिन्छन् । समग्रमा भन्दा मानवकेन्द्रित विश्‍वदृष्टिलाई थोरै ओझेलमा पारेर प्रकृति र पर्यावरणका विषयलाई हंसले केन्द्रमा ल्याउन खोजेको छ ।

मानवीय चेतनाको आयातन फराकिलो पार्ने पर्यावरणीय चेतना नेपाली आख्यानमा सघन रूपमा खन्याउन सक्नु र अनेक मुद्दालाई सरल भाषामा समेट्न सक्नु यसको उपलब्धि बनेको छ । चरित्रको प्रगाढता मानवको कथामा पाठकले जति सजिलोसँग प्राप्त गर्छ हाँस र अन्य पक्षीका चरित्रलाई उति प्रगाढ स्मृतिमा राख्न पाठकलाई हम्मे नै पर्ला । लेखकले पक्षीको चरित्रलाई अझ विशेष बनाउन नसकेको भए जस्तो पनि लागिरहन्छ पढिसक्दा ।

‘घनचक्कर’ को उलपुलटमा आख्यानको जटिल तह बुनेका बौद्धिक लेखक सञ्जीव उप्रेतीको यो उपन्यास सरल लेखन हो । ‘घनचक्कर’ पागलपनको विषयमा केन्द्रित थियो र स्वाभाविक रूपमा भाषा पनि जटिल नै थियो । तर ‘हंस’ मा प्रेमको विषय प्राथमिकतामा छ ।

यस उपन्यासले मानिस र प्रकृतिमा रहने अनेक प्राणीको प्रेमलाई समभावमा हेर्न र बुझाउन खोजेको छ । मानव, हाँस, सर्प, वृक्ष आदिमा रहने प्रेमका विषयलाई उपन्यासमा रोचक रूपमा प्रस्तुत गरिएको छ । साथै प्रेमकै कारण उपन्यासमा सम्बन्धका अनेक रूपले मानवमा उत्पन्न हुने डाहा, ईर्ष्या, छटपटी, हिंसात्मक मनोवृत्ति आदि अनेक संवेगको पनि चित्रण गरिएको छ । प्रेम संसारमा सबैले बुझ्ने विषय हो र यसको भाषा सरल हुनुपर्छ भन्ने मान्यता उपन्यासमा छ ।

हेमिङ्गवेको ‘ओल्ड म्यान एन्ड द सी’ को विषय पनि उपन्यासमा ल्याउनुमा यही उद्देश्य देखिन्छ । सरल शब्द र वाक्य रचनाले सबै तहका पाठकले बुझ्ने उपन्यास लेखिएको छ । वास्तवमा प्रेमको भाषा कस्तो हुनुपर्छ भन्ने कुरातर्फ पनि यस उपन्यासले संकेत गरेको छ । त्यसैगरी संसारमा मानिस र प्राणीमा हुने प्रेम उस्तै हो भने यिनका भाषा एक अर्काले बुझ्न सक्छन् कि सक्दैनन् त भन्ने संवेदनशील पर्यावरणीय पक्षलाई पनि उपन्यासमा उठाइएको छ । आख्यानमा लोककथाको शैली पनि गाँसिएको छ जसले सरल भाषाको अपेक्षा गर्दछ ।

प्रकृतिको नजिक गई तिनको सूक्ष्म अध्ययन गरी फरक विषयमा आएको यो आख्यान रोचक र समय सान्दर्भिक छ । नेपाली साहित्यमा पर्यावरणीय पक्षसहितको नयाँ विश्वदृष्टिले यो कृति महत्त्वपूर्ण छ । गहन पर्यावरणको विषय, प्रेमको प्राकृतिक र ब्रमाण्डीय स्वरूप, लोककथात्मक र स्वैकल्पनात्मक शैलीको संयोजन तथा कथानकको कौतूहलपूर्ण बुनोट यस उपन्यासका शक्ति हुन् ।

उपन्यासमा हाँसको कथा बूढी आमैले सुनाउँछिन् तर पढ्दै जाँदा समाख्याता मपात्र नै यसमा मिसिन्छ । यसले घरीघरी पाठकमा अलमलको स्थिति पैदा पनि हुन्छ तर प्राणी र वनस्पतिको रोचक मानवीकरण र तिनको फरक भाषाको निर्माणले उपन्यासमा रौनक थपेको छ । जम्मा १२ ओटा छोटा छोटा खण्डमा संरचित उपन्यास २१९ पृष्ठमा रहेको छ र छोटैमा मानिस र अन्य प्राणीका धेरै कथा कथेको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महिनावारीले घर छोड्नु पर्दा...

मञ्जु भट्ट

पोहोर सालजस्तै यसपालि पनि चार दिनको कठिन यात्रापश्चात काठमाडौंबाट अछामको जामा फल्टाणे पुगियो  । यो चार दिनको गाडी यात्रा यत्तिधेरै अप्ठेरो र पीडादायी हुन्छ कि वर्णन गरिसाध्य छैन  । आर्मीकै सोर्सफोर्स लगाएर पाँचचोटि बसपार्क धाएपछि पाएको टिकट अमेरिकाको डीभी परेभन्दा पनि महत्त्वपूर्ण थियो हाम्रा लागि ।

काठमाडौंबाट धनगढीका लागि छुटेको सुपर डिलक्स गाडीमा एसीको सुविधासँगै टेलिभिजन पनि थियो । फोहोर फाल्न गाडीभित्रै डस्टबिनहरू राखिएका थिए । मोबाइल चार्ज गर्ने सुविधा थियो । फराकिला फोल्डिङ सिटहरू सजिला थिए । उल्टी आयो भने प्रयोग गर्नु भन्दै सिटसिटमा प्लास्टिकहरू राखिएका थिए । पानी पिउन प्रत्येक यात्रुलाई बोतलहरू बाँडिएका थिए ।

लम्कीबाट अछामतिर जाने गाडीमा भने झ्यालबाट उल्टी गरेर पूरै गाडीभित्र गन्हाइरहेको थियो । भुइँमा बसेका यात्रुको शरीर तथा सामानमै दसैंका लागि लगिएका बोका तथा खसीहरूले दिसापिसाब गरिरहेका थिए । आफ्ना लागि भने सामान तथा लोकल यात्रुहरू राख्न र ओराल्न जतिखेर पनि रोकिने गाडीमा साना केटाकेटीहरूलाई शौच आउँदा पनि रोकिएको थिएन ।

धेरैचोटि बच्चाहरूलाई बोतल र प्लास्टिकमा पिसाब गराएर झ्यालबाट बाहिर फालियो । थोत्रा गाडीमा टुटेफुटेका बांगिएका साँघुरा दुईजनाको सिटमा तीन जनासँगै बच्चालाई काखमा राखेर यात्रा गर्नु कष्टकर थियो । हावा पनि छिर्न नसक्ने छिनछिनमा रोक्दै गुडिरहेको गाडीमा २४ घण्टाभन्दा बढी लगातार यात्रा गर्दा थिल्लिएर जिउँदो लाससरह भएको थियो शरीर ।

कच्ची, हिलाम्मे सडकमा देशकै लामो नदी कर्णालीको तीरैतीर यात्रा गर्दा भगवान्को नामबाहेक अरू कुनै कुराको सम्झना आएन । मान्छेले चाहेको खण्डमा छोटो समयमा पनि धेरै परिवर्तन ल्याउन सकिन्छ । लाखौं खर्च गरेर बीस वर्ष अगाडि कमलबजार विमानस्थल निर्माण सुरु भएको थियो । यदि त्यही रफ्तारमा काम भएको भए उहिले नै विमान उडिसक्थ्यो । देश विकासमा रत्तिभर ध्यान नदीने सरकारका कारण हामीहरू सकसपूर्ण तरिकाले गाडीमा यात्रा गरिरहँदा गाईवस्तुहरू त्यहाँ मजाले घाँस चरिरहेका थिए । यसै कारणले पन्ध्रको चाउचाउलाई बीस, बीसको कुरकुरे तीस र सयको सिमकार्ड एक सय बीस हालेर किन्नु हाम्रो बाध्यता बनेको छ ।

दैलेखको बाटो हुँदै अछाम जाने क्रममा बाटोमा थुप्रै पुलहरू निर्माण सुरु भएका थिए । बाह्र वर्षपछि त्यही बाटो जाँदा एक/दुईवटा बाहेक दैलेखको पातले खोलालगायत अरू ठाउँका पुल बनाउनेले पैंसा खाइसकेपछि अलपत्र छोडेको देखियो । सडकमा पहिरो खस्दा गाडी चलाउन एकदमै गाह्रो थियो । सुर्खेतको बडीचौरपछिको भयावह सडकका कारण रातिको एघार बजेदेखि उज्यालो नहुँदासम्म गाडी रोक्नुपरेको थियो । लामो रुटमा रातिको समयमा दुईजना चालक हुनुपर्ने भनिए पनि कहीँकतै लागू भएको देखिएन । घरसम्म जाने पाँच किलोमिटर सडक पाँच वर्षमा पनि पूरा हुन नसक्दा हिलाम्मे धानखेत भएर पाँच घन्टा हिँड्नुपर्दा रातको नौ बजे घर पुगियो ।

घर पुगेपछि अर्को समस्या आइलाग्यो । बाह्र वर्षकी छोरी र सानो छोराले खुला ठाउँमा शौच नगर्ने भनेर ट्वाइलेट जाने जिद्दी गरे । वर्षौं पहिला शौचालय बनाउन आवश्यक सामग्री गाउँभरि नै वितरण गरिएको थियो । धेरैजसोले शौचालय बनाए पनि पानीको अभावमा प्रयोगविहीन छन् । खाना पकाउन र अन्य आवश्यक कामका लागि पनि टाढाको कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण शौचालय प्रयोगमा ल्याउन नसकी शौचालयकै लागि टाढा खेतबारी वा खोलामा नै दौडनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा, शिक्षा, सूचना जस्ता अत्यावश्यक न्यूनतम आवश्यकताहरू उपलब्ध नभएको ठाउँलाई नगरपालिका र सिंगो देशलाई खुला दिसामुक्त घोषणा गरिएको देख्दा आवश्यक अध्ययन नै नगरी हचुवाको भरमा घोषणा गरिएको जस्तो देखिन्छ ।

रक्सीको महामारी
गाउँमा अलिअलि पढेर खेती गरेर बस्ने केही युवाहरू पनि छन् । तर दुःखलाग्दो कुरा, यी अपवादमात्रै छन् । धेरैजसोले त बाह्रै महिना रक्सी खाने गरेको उनीहरूका परिवारले बताउने गरेका छन् । तीमध्ये एकजना नजिकका दाइ मधुमेह र उच्च रक्तचापका बिरामी थिए । दसैंको बेला एकैचोटि रक्सी र मासुले अस्पताल नपुर्‍याउँदै तीन वर्षअघि ४५ वर्षमै उनको निधन भयो । अर्का एकजना दाइ पनि अत्यधिक रक्सी पिउँछन् । दुईचोटि बेहोस् भएर ढलिसके । डाक्टरले उच्चरक्तचापका कारण यस्तो भएको हुँदा सावधानी अपनाउन र उपचार गर्न सुझाएका छन् । पैसाजति रक्सीमा सकिने भएकाले उपचार गर्न उनलाई आर्थिक अभाव छ ।

अर्का एकजनाको एकापट्टिको शरीर राम्रोसँग चल्दैन । लठ्ठीको सहारामा हिँड्छन् । तर, जे भए पनि रक्सी पिउन नछोड्ने कसम खाएका छन् । यस्ता कतिपय रक्सी पिउनेहरूका बालबच्चा टुहुरा र श्रीमती विधवा भइसकेका छन् । तैपनि अहिलेका युवाहरू सचेत हुन सकेका छैनन् । पुरुष र युवाले रक्सीले ढल्ने भएकाले रातविरात जंगली जनावरबाट खेतबारी जोगाउन महिलाहरूले खटिने
गरेका छन् ।

कसले पाल्ने गाई ?
छोराछोरी टाढिएकाले उमेर ढल्केकाहरूलाई अहिले गाई पाल्न नयाँ समस्या आएको रहेछ । गाई बूढो भएपछि के गर्ने ? बूढो गाई कसैले नलाने ! आफैले पैंसा दिएर कसैले लिएर गए पनि आफ्नै घर नजिकै भीरबाट लडाएर जाने वा खोलामा छाडेर जाने हुँदा झन् पीडा हुने उनीहरूको भनाइ थियो । गाईका साना बाच्छाहरूलाई मान्छे मरेपछि तेह्र दिनको काममा पुरोहितलाई दान दिने गरिन्थ्यो । अहिले पुरोहितले पनि लिएर जान छोडेपछि गाई ब्यायो भने बाच्छाहरू कसरी पाल्ने भन्ने ठूलो समस्या भएको छ । यस कारण अहिले साना अछामे गाईहरू देख्न मुस्किल हुने गरेको छ । यसै कारण भारतको झुलाघाटबाट आउने ठूला दुधालु गाई पनि अहिले आउन बन्द गरिएको रहेछ ।

बाटोले बिगार्‍यो बानी
सुदूरपश्चिमका कतिपय जिल्लाका गाउँहरू सडक सञ्जालमा जोडिएका छन् । गाउँ नै छियाछिया हुनेगरी काटिएका यस्ता सडकहरूले वनविनाश त गरेकै छन् गाउँलेहरूको हिँड्ने बानी पनि बिगारेको छ । एक किलोमिटर हिँड्न पनि ऋण काढेरै भए पनि सवारीसाधन चढ्ने गरेका छन् । केही समय अघिसम्म सबैजसो गाउँलेहरू आफूलाई पुग्ने तरकारी आफ्नै खेतमा उब्जाउँथे । अहिले थोरै पैसा हुनेले पनि सवारीसाधनको सुविधाले गाउँमै उब्जाउन छोडेर आलु, प्याज, टमाटरजस्ता तरकारीहरू किन्न थालेका छन् । जसका कारण दिनप्रति दिन खाद्यान्नको आयात बढ्दै गएको छ । विदेशबाट प्राप्त हुने सडेको खाद्यान्न उपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने हो तर त्यो नभएर दिनप्रति दिन बढेको मात्रै छ ।

हाम्रा पूर्वजहरूले जीवनयापनका लागि चाहिने सबै आधारभूत कुराहरू त्यही ठाउँमा उत्पादन गर्न सक्थे भने अहिलेको युवाले नसक्ने, विदेशतिर मात्र हुँइकिने कारण खोज्न ढिला भइसक्यो । हैन भने असमान जनसंख्या वितरणले सामाजिक, सांस्कृतिक तथा वातावरणीय असन्तुलन भई देशलाई दूरगामी असर नपार्ला भन्न सकिन्न ।

महिनावारीका कारण छोड्नुपर्‍यो घर
तिहारसम्मै स्कुल बिदा भए पनि दसैं टीका सकिएसँगै एकखाले चिन्ताले सताउन थालेको थियो । तिहारसम्म घरमा बस्दा हामी दुइटै आमाछोरीको महिनावारी हुने पालो थियो । यही दसैंमा बिहे भएकी नन्दले आफ्ना दाइलाई यस्तै परिस्थितिका कारण अहिलेसम्म एकचोटि पनि तिहारमा टीका लगाउन पाएकी थिइनन् । हामी सबै धर्मसंकटमा थियौं ।

गएको एक दशकमा छाउपडी प्रथामा रत्तिभर परिवर्तन आएको देखिएन । अहिले पनि महिनावारी भएकी महिलालाई छ दिनसम्म घरभित्र पस्न दिने गरिएको छैन । गाउँमा रहेको एकमात्र छाउघरमा सुत्न जानुपर्छ । यदि त्यहाँ सुत्न ठाउँ भएन भने खुला आँगनको छेउमा वा पर गह्रामा पाल टाँगेर सुत्नुपर्छ । सहरमा महिनावारी हुँदा पलङमा आरामसाथ सुत्ने र आफूले प्रयोग गरेका तन्ना पनि धुन नमान्ने जम्मा बाह्र वर्षकी छोरीलाई चिसो अँध्यारो रातमा एक्लै घरबाहिर सर्प, कीराफट्यांग्रा आइरहने खलामा सुत्न लगाउनु र खोलामा गएर लुगा धोएर आऊ भन्नु मेरा लागि सोच्न नसकिने कुरा थियो ।

नजिकै अर्को नयाँ घर पनि बनाइएको थियो । त्यो घरको गोठमा गाईवस्तु बाँध्ने गरे पनि माथिल्लो तला खाली नै थियो । महिनावारी भएकी महिलालाई त्यो घरमा पनि ठाउँ थिएन । गाईवस्तुलाई गोठमा बाँध्न हुने तर महिनावारी भएकी महिलालाई गोठमा पनि बस्न नहुने भन्दा हामी महिलाहरूलाई जनावरभन्दा पनि तल राखिएको भान भयो । सँगैको घरको गोठमा सुत्न पाइन्छ कि भनेर सोध्दा एउटै घरमा सुत्दा लसपस हुन गई घरका बूढापाकालाई रिंगटा लागेर ढल्ने, खान मन नहुने, सन्चो नहुने, काम्ने, देवीको बाहन बाघ घरमा आई बाख्राहरू खाने अनिष्ट गर्ने हुँदा सुत्न मिल्दैन भनियो । हामी आमाछोरी घर बाहिर वा छाउघर सुत्न नमान्ने र घरकाले घरमा सुत्न नदिने अवस्था आएपछि तिहारअगाडि नै घर छोडेर हिँड्नुपर्‍यो । यतिमात्र हैन, महिनावारी हुँदा घरभित्र सुत्न पाइएन भने अर्कोपालिदेखि घरमै नआउनेसम्म पनि भनियो ।

मेरै देउरानी र छिमेकी एकजना देउरानी हेल्थपोस्ट र अमेरिकी सहयोगमा सञ्चालित न्यायल स्वास्थ्यमा काम गर्छन् । महिनावारी हुँदा परिवारविरुद्धमा बोल्न नसक्दा साना बालबच्चासहित छाउघर या घरबाहिर आँगनमा सुत्न बाध्य छन् । पश्चिमका कतिपय गाउँहरूमा महिनावारी हुँदा घरभित्रै पनि सुत्न दिने गरिएको छ । जस्तो मेरो माइती गाउँ बैतडीमा घरभित्रै सुत्छन् । दूध, दही, घ्यू, मही, दूधचिया आदि दूधबाट बनेका परिकारहरू भने त्यहाँ पनि खान दिइँदैन । पाँच दिनसम्म साह्रै कठोर गरी बार्नुपर्छ । योचाँहि घरकी बुहारीका लागि । घरकै छोरीहरूलाई भने छ दिनसम्म बार्न लगाइन्छ । मठमन्दिर, पूजाकोठामा जान नपाइने । धामीझाँक्री हिँडेको बाटोमा तर्केर हिँड्नुपर्नेजस्ता अप्ठ्याराहरू कायमै छन् ।

सासंदहरूले २०७६ सालमै छाउपडीमुक्त गर्ने धाराणा संसद्मा राखेका छन् । यसलाई महिला, बालबालिका मन्त्रीले गम्भीरतापूर्वक लागू गर्ने बताएकी पनि थिइन् । महिला, बालबालिकासम्बन्धी संसदीय समितिले २ महिनाभित्र छाउपडी प्रथा उन्मूलन गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो । महिनावारी हुँदा छाउघर बस्न बाध्न पार्नेलाई तीन हजार जरिवाना तथा तीन महिना जेलको सजायसहितको कानुन पनि बनेको छ । तर, जस्तै कानुन बने पनि लागू गर्न भने सरकारले पटक्कै सकेको छैन । कानुन बनाउँदैमा सबै कुरीति हट्दैनन् । हट्ने भए नेपालमा छुवाछुत उहिल्यै हटिसक्थ्यो ।

हाम्रा दिदीबहिनीले कहिलेसम्म ज्यान जोखिममा राखी छाउघरमा शरण लिनुपर्ने हो अत्तोपत्तो छैन ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT