पत्र : बाबा, आकाशमा गएपछि पनि रक्सी पिउने ?

सुकन्या
सुकन्या

अपराजिता,
यो एउटी बालिकाको मन छुने उद्गारमा मुखरित भएको एक कटुसत्य हो, जुन समाजमा दिनदिनै मौलाउँदै छ । यहाँ आम नेपाली गृहिणीले भोगिरहेको एक जटिल समस्याको चिरफार गर्दै समाधानको प्रयत्न गरेकी छु । चाहन्छु, तिमीलाई सम्बोधित यो चिठीमार्फत अरूमा पनि पुगोस् ।

‘बाबा, बूढो भएर आकाशमा गएपछि पनि रक्सी पिउने ?’ यो उत्सुक प्रश्न हो, एक पाँच वर्षीया बालिकाको बालसुलभ विरोधको अबोध झटारो । बालिकाको दिइएको धारणा अथवा उसलाई पिलाइएको ज्ञान हो— मानिस मरेपछि माथि अर्थात् स्वर्ग जान्छ र आकाश नै स्वर्ग हो । हरे बाल मनस्थिति, जे पिलायो त्यही पिउँछ !

यस उद्गारमा अबोध व्यङ्ग्य र याचना दुवै समावेश भएको स्पष्ट छ । एक पिताबाट आशा गरिने माया र सुरक्षाको आभासको आशा गर्दागर्दै मानौं ऊ थाकिसकेकी छ । यसमा व्यङ्ग्य अवश्य छ, कारण उसको पिताको घृणित मदिरा लत उजागर गर्ने आफ्नै तरिकाको सुझबुझ थियो त्यो । व्यङ्ग्यको आवाजमा चेतावनीको रङ पनि बोकेको भान हुन्छ । सम्भवतः आकाश (स्वर्ग) मा मदिरासेवकहरूलाई प्रवेश निषेध होला कि ?

हरेक साँझ मदिरामा धुत्त पिताको ताण्डवनृत्य, गालीगलौज, दोषारोपण, तोडफोडका दृश्यले लाचार भइसकेकी छ ऊ । पिताको विशाल छातीमा मायामिश्रित सुरक्षाको ग्यारेन्टी खोज्ने उमेर हो उसको । तर पिताबाटै सुरक्षाको घात हुँदा विक्षिप्त बालिका भाइको सुरक्षा गर्न साना कोमल हातहरूले अँगाल्छे । साना हत्केलाले आमाको आँसु पुस्छे । ऊ विचलित छे ।

ऊ हरेक बिहान फूलजस्तै झपक्क फुलेकी हुन्छे, हरेक साँझ विस्फारित नेत्रहरूले चारैतिर नियाल्दै, आगामी घटनाको असहज प्रतीक्षामा बेचैन देखिन्छे ऊ । दिन ढल्किँदै जाँदा उसको व्यवहारमा अस्वाभाविक उतार–चढाव महसुस गर्न सकिन्छ । कुनै बेला मातापिता दुवैको उपस्थितिमा हात समातेर उभिने अवसर पाउँदा उसको हाउभाउ नै बेग्लै हुन्छ, आँखामा असीम विश्वास र सन्तोष पाइन्छ— मानौं जो कसैलाई चुनौती दिन सक्छे ।

ऊ त भर्खर मात्रै ‘टुइङ्कल टुइङ्कल लिटल स्टार, बाबा ब्ल्याकसिप ह्याभ यु एनी बुल’ छिचोलेकी बालिका । उसमा छ परिस्थिति मूल्यांकन गर्न सक्ने ज्ञान । उसमा छ पिताले सामना गर्नुपर्ने भवितव्यको परिकल्पना गर्न सक्ने क्षमता । त्यसैले बालिकाका शब्द छ, उसकै मनोदशाको सकारात्मक प्रतिछाया ।

अहिलेदेखि नै यति ठूलो दायित्वको बोझ ! त्यो पनि कहिलेसम्म ? मेरो अन्तरआत्मा तिलमिलाउँछ, सकस अनुभूत गर्छु । केवल एउटै तथ्यसँग अवगत हुन चाहन्छु । त्यो हो— बालिकाको आगामी मानसिक विकास । भय नै भयको यस महासागरमा, प्रतिरक्षाको उपाय खोजिरहनुपर्ने उसको दैनिकीले यस भर्खर प्रस्फुटित कोपिलाको विकासमा अवरोध खडा नगर्ला ? विज्ञ पाठकहरूको सुझाव अपेक्षित छ ।

मनोविज्ञले पोखेका विचार

अत्यधिक मदिरा सेवन गर्ने पुरुषले पहिले आफूले गरेका हिंसात्मक व्यवहार महसुस त गर्छ, तर पुनः कोट्याइएको खण्डमा नकार्छ । लाजको सामना गर्न नसकेकै कारण उसले आफ्ना गल्ती स्विकार्दैन ।

‘म सधैं ठीक छु र मैले गरेको जहिले पनि ठीक हुन्छ,’ यस्तो कुरामा विश्वास गर्नु चरम अहंको नतिजा हो । अझ यसो भनौं, यो हीनभावनाको द्योतक हो । ज्वाला भएर भड्किने यो अहं यथार्थमा कमजोरी हो ।

‘म सधैं ठीक छु’ भन्ने धारणा वास्तवमा ज्ञान–बोधको दिवालियापन हो । यो त यस्तै दुर्बल मनस्थिति भएको मानिसले लिने सुरक्षाकवच हो, जुन आधारभूत हिसाबले कमजोर हुन्छ । यसले जीवनलाई अझ बढी अनियन्त्रित बनाउँछ ।

यस्तो धारणाको प्रतिक्रिया के हुन्छ त ?

उसले अरूको जीवनलाई नियन्त्रण गर्नुपर्छ भन्ने ठान्छ । पुरुष मात्र होइन, कतिपय महिला पनि यस्तो निम्न कोटिको अहंको सिकार भएको भेटिन्छ । यस्ता पुरुष–महिला वास्तवमा कायर र कमजोर हुन्छन्, त्ससैले त अरूलाई शासन गर्छन् र आक्रामक हुन्छन् । आफ्नो मनको असुरक्षाको भावना व्यक्त गर्न विशेषगरी पुरुषहरूले यस्तै तरिका अपनाउँछन् ।

कुनै–कुनै पुरुषले आफ्नै मनोबल र इच्छाशक्तिले यस्ता लत त्यागेर सफल जीवन बिताएका मात्र छैनन्, आफ्ना असल क्रियाकलापले समाजलाई योगदानसमेत पुर्‍याएका छन् । तर बहुसंख्यक पुरुष यसरी नै परिवारलाई समेत मानसिक तथा आर्थिक रसातलमा डुबाएर पतन भएका छन् । कतिपयले घरलाई नै मसानमा परिणत गराएका छन् ।

परिवार सुरक्षाको समाधान के ?

वयस्क पुरुषले परिवारमा सन्तुलित वातावरण दिन सक्नुपर्छ, जसमा परिवारको शान्तिको ग्यारेन्टी मात्र होइन, बालबालिकाको भविष्य निर्माणको जग टिकेको हुन्छ । यद्यपि उसले हिंसा बारम्बार दोहोर्‍याइरहने गर्छ भने परिवारजनले नातागोतालगायत छिमेकको सहयोग लिने गर्नुपर्छ । अथवा संघसंस्था, सरकारी सहयोगसमेतको निम्ति अघि बढ्नुपर्छ । घरभित्रको कुरा भनेर लुकाउन खोजे पीडकले प्रोत्साहन पाउने गर्छ । यसमा अप्ठ्यारो मान्ने प्रश्न नै उठ्दैन किनभने यो विश्वब्यापी समस्या हो, जुन खुला किताबजस्तै छर्लंग छ ।

यति गर्दा पनि पार पाउन सकिएन भने ऊसँग सम्पूर्ण सम्बन्ध तोडिदिनुपर्छ । जबसम्म उसले आफ्नो जीवनलाई नियालेर हेर्दैन, आफूलाई परिवर्तन गर्दैन तबसम्म उसको क्रियाकलापमा परिवर्तनको सम्भावना न्यून रहन्छ । एक पीडकसँग सम्बन्ध तोड्नु शान्ति र सुखपूर्वक जिउन चाहने परिवारको आधारशिला हो । यसलाई पाप होइन, पुण्यकै काम सम्झनुपर्छ । अन्तमा एक सुन्दर अनूदित

कविता :
मसँगै हिँड्नोस्, बाबा
मसँगै हिँड्नोस्, बाबा,

मेरो हात समातेर
मैले धेरै कुरा सिक्नु छ
जुन म अहिले केही बुझ्दिनँ ।

हरेक दिन आइपर्ने खतराबाट
आफैंलाई कसरी सुरक्षित राख्ने, बाबा
घरमा, स्कुलमा अथवा खेल खेल्दा
कसरी सबैभन्दा राम्रो गर्ने, सिकाउनोस् ।

हुर्कंदै गरेका बच्चालाई डोर्‍याउने
मायालु हातहरू चाहिन्छन् नि
त्यसैले त म सँगसँगै हिँड्नोस् न, बाबा
हामीलाई धेरै टाढा जानु छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?