कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कविता : चप्पलहरू

भूपेन्द्र खड्का

काठको साँघु तर्दै गर्दा
एक दिन मेरा कलिला पैतालामा
ठेड्को पस्यो,
देब्रे हातको कमिजको बाहुलाले
नाकको सिंगान पुछ्दै

दायाँ हातले चप्पल समाउनै लाग्दा
मेरो दायाँ चप्पल काँठेखोलामा खस्यो
र, हेर्दाहेर्दै पानीको भुमरीमा
चक्कर मार्दै बगेर गयो बर्खेभेलमा
स्कुल हिंँडेको म
देब्रे चप्पल हातमा समाएर घर फर्कें
खाली खुट्टामै सकियो मेरो
कखरा जुनी !

किशोरवयमा
लामो झोलुङ्गे पुल तरेर
कलेज जान थालें,
ढल्किएको लठो
मक्किएको काठको फलेकको प्वालबाट
फेरि मेरो यौवनको चप्पल
खोलामै खस्यो
र, बगायो खोलाले उसै गरी
मेरो किशोर जुनी !

यौवनमा
एक साँझ सहर पस्दै गर्दा
बसको खुट्किलोबाट
उसैगरी खस्यो मेरो दाहिने चप्पल
र, बगायो यसपालि काली खोलाले !

दर्जनौं वर्षहरू बिते,
बाल्यकालको मेरो चप्पलमा
कीराहरूले कति प्वाल पारे होलान्
किशोरवयको मेरो चप्पलमा बसेर
खोले गाड्यौलाहरूले कति यात्रा
तय गरे होलान् !
यौवनको मेरो चप्पल त
कालीगण्डकीमा बग्दाबग्दै
शालिग्राम पो बनिसक्यो कि !

आज जीवनको पुछारमा
समुद्रको किनारमा उभिएको छु !
पालैपालो
मेरो बाल्यकाल, किशोरवय र यौवनका
चप्पलहरू मेरो सामुन्नेमा
बग्दैबग्दै आएका छन् !
दशकौंको उमेर
पार गरेका मेरा चप्पलहरू
मजस्तै छिद्रैछिद्रा परेका
दुब्ला र पातला छन्

तर,
भेट्नो चुाडिएरपछि
मेरी आमाले धरो च्यातेर बाँधेका डोरा
आमाको उस्तै गन्धमा आज पनि
यी चप्पलहरूमा मोतीजस्तै टल्किरहेछन् !

प्रकाशित : कार्तिक १६, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?