कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अत्यासलाग्दो नेपाली निद्रा

यादव देवकोटा

अनेकन मरुभूमि, पर्वतमाला नाघेर दुई हजार वर्षअघि नै एसियाको सिंह बनिसकेको चीनतर्फको बाटोका कठिनाइको व्याख्या हामी भने सिरक ओढेर अल्छे निद्रा झिक्दै रकेट युगमा फलाकिरहेछौं ।

अत्यासलाग्दो नेपाली निद्रा

उपोद्घात

चिनियाँ राष्ट्रपति सी चिनफिङले तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिको तहमा नेपालको भ्रमण गर्दाका दिनमा हामीकहाँ रेल, विकास, सम्झौताहरूबारे जुन स्तरको बहसको वर्षा भएको थियो अब विस्तारै सेलाउन थालेको छ  । चिसो हिमाली सिरेटोले डामिएको उच्च शृंखला पार गर्दै यता तातिन आइपुगेको नेपाली समृद्धिको बहसमा चिनियाँ सहायताको विमर्श विस्तारै सेलाउँदै जानेछ  ।

बौद्धिकहरूमाझ चलेको चीन नेपाल सम्बन्ध या चीनको अन्तर्राष्ट्रिय सान्दर्भिकताबीच नेपालको अनुकूलताबारेका टिप्पणीहरू पनि अब मुर्झाउनेछ । यो आलेखले भने मध्य–एसियामा अवस्थित चीन र यसका निवासी कसरी कमसेकम सत्र सय वर्षदेखि नेपालका लागि सदैव उत्तिकै सान्दर्भिक भएर उभिएका छन् भन्नेमा केन्द्रित रहनेछ ।

गोरेटो
‘नेपाल’ शब्द उल्लेख भएका विभिन्न सामग्री खोज्ने क्रममा उपलब्ध केही सीमित सामग्रीहरूकै सम्बन्ध पनि जोडिन्छ चीनतिरै । यसका बासिन्दाहरूले विभिन्न समयमा गरेको नेपाल यात्रा या त्यसबखतका बौद्ध साहित्य, सामग्रीको अनुवादमा सामेल चिनियाँहरू जोडिन आउँछन् नेपालको परिचयात्मक कालखण्डको सामग्रीदेखि नै । जिनमित्रको ‘मुलसर्वास्तिवाद संग्रह’ को अनुवाद गरेका छन् चिनियाँ यात्री इत्सिनले, जुन ग्रन्थमा बुद्ध नेपाल आएको उल्लेख गरेका पाइन्छ ।

स्वयम्भू पुराणले मञ्जुश्रीलाई महाचीनबाट आएको उल्लेख गरेको पाइन्छ । यद्यपि मञ्जुश्री नाम भने हिन्दु संस्कृतिको परिपोषक देखिन्छ, चिनियाँ नाम परम्परासँग मेल खाँदैन । वंशावलीले मञ्जुश्रीसँग ठूलो संख्यामा ब्राहृमण र क्षेत्रीय पनि साथै आएको उल्लेख गरेकाले उनी चिनियाँ थिएनन् भन्ने संकेत गर्छ । वंशावलीले त्रेता युगमा आएर उपत्यकाको पानी चोभारलाई खड्गले काटी निकास दिएको उल्लेख गरिएका मञ्जुश्रीलाई मञ्जुश्री मूलकल्पले गौतम वुद्धसँग शिष्यवत् प्रश्न गरेको उल्लेख हुनुले उनी ‘त्रेता युग’ का थिएनन् भन्ने उसै पनि प्रस्टिन्छ ।

त्यसपछि यहाँ बौद्ध ज्ञान र सम्बन्धित दर्शनका सामग्री खोज्न आएका चिनियाँ यात्रीहरूको वर्णनको उल्लेखबेगर नेपालको परिचयात्मक कालको इतिहास पूर्ण हुँदैन । हेर्दा भारतीय भूगोल र संस्कृतिसँगको सामीप्यता रहेको नेपालबारे प्राचीन भारतीय–आर्य–संस्कृत साहित्यमा निकै कम मात्र उल्लेख भएको पाइन्छ, जति चिनियाँ विवरणहरूमा लिखित छ । सेंग त्साई, फा–हियान, युवान च्वागं लगायतले उल्लेख गरेको यात्रा विवरणका आधारमा बुद्धको जन्मभूमि र कपिलवस्तुबारे भारतीयहरूले निकालेको भ्रमपूर्ण खिचलो समेत बखेडाको नियतबाट माथि उठ्न नसक्ने गरी खण्डित बनाइदिएको छ । यसका लागि नेपाली समाज चिनियाँ नागरिकको अठार सय वर्ष लामो योगदानलाई आत्मीयतापूर्वक कृतज्ञ बनिरहनेछ ।

उसो त नेपालमा सभ्यताको विकासको मूलस्रोत चिनियाँ भूमिबाट आएका बासिन्दाहरू नै थिए भन्ने सवालहरू उठ्नु स्वाभाविक पनि छ । प्राचीन मानवाशेषहरू जे जति भेटिएका छन् नेपालको सरहदभित्र, प्राचीन समयमा विशाल समुद्री भेग नाघेर भन्दा मानव पुर्खाहरू चीनको सीमा नाघेर अग्ला पर्वतमालाहरू कठिनाइपूर्वक पार गर्दै यता आयो भन्ने तर्क बलशाली नै ठहरिन्छ । उपत्यकामा सभ्यताको सुरुवातकर्ता किरातीहरूको मूल दक्षिण भारतभन्दा चिनियाँ इलाका हुनु बढी भरपर्दो छ ।

न्वारन
विश्वको तेस्रो र एसियाको सबैभन्दा लामो नदी याङ्गत्जे (याङ्जी) र विश्वको छैटौं लामो नदी वयन–कारस (वयन–कारा–उल) का नामले चिनिने वयनहार पर्वतबाट निस्की बगेको हृवागं–हो (यल्लो रिभर) नदी बीचको पानीढलोमा विकसित सभ्यता कालान्तरमा चीनको नामले परिचित छ । झ्हृोंगुअ रेनमिन गोंगहेगुओ भनेर रैथाने भाषामा परिचित र औपचारिक तवरले जनवादी गणतन्त्र चीनका नामले चिनिने आजको चीनको नाम त्यहाँ विक्रमपूर्व नै शासनमा आएको चीनवंशबाट राखिएको उल्लेख भएको पाइन्छ । हानवंशको पालमा चीनलाई हानदेश भनेर चिनिन्थ्यो ।

फा–हियानले आफूलाई ‘हानवासी’ भनेर परिचित गराएको उनको यात्रा विवरण पढ्दा थाहा हुन्छ । झ्हृोंगुओ अर्थात् मध्यदेशका रूपमा चिनियाँहरूले परिचय दिने चीनमा समय क्रममा चाउवंश, चीनवंश, हानवंश, सुईवंश, तागंवंश, सुङ्गवंश, मिंगवंश, चिंगवंश लगायतले शासन गरेको पाइन्छ । खासमा अंग्रेजीमा ‘चीन’ का रूपमा उच्चारण गरिने ‘किन’ राजवंशलाई उच्चारण भेदले चीन बनाएको देखिन्छ । कतिपयले चीन भन्ने देश जनाउने शब्द संस्कृतको सिना शब्दबाट आएको उल्लेख गरेको पाइन्छ । हृवागं–हो नदीको किनारमा बसोबास गरी सभ्यता विकासको सुरुवात गरेका झ्हृोउ वंशबाट यो नाम लिइएको पाइन्छ (लटुरेट्टी, केन्नेथ स्कट–दी चाइनिज दिअर हिस्ट्री एन्ड कल्चर, भाग १, विभिन्न पृष्ठहरू) ।

पखेटा
हानवंशको उदयपछि आफ्नो आकार बढाउन पखेटा फिजाउँदै अघि बढेको चीनका शासकले चाङ कइएनलाई यूचीको राजधानी रहेको अक्सस भ्याली (कुषाण) मा कूटनैतिक मिसनका लागि पठाएको थियो विक्रमपूर्वर् १९५ मा । तर चिनियाँ सीमारेखा पार गर्नासाथ चांग हुणहरूद्वारा पक्राउ परे । चिनियाँ योजनाको कार्यान्वयनका लागि खटाइएका सम्भवतः पहिलो चिनियाँ दूत चांग पक्राउ परेपछि हुणहरूको मन जित्न तिनै हुणहरूकी छोरीचेलीसँग बिहे गरे । उतै थातथलो बनाउन अभिसारित भए । दस वर्ष लामो उनीहरूसँगको बसोबास र आत्मीयताको प्रयास सफल भएपछि उनी स्वतन्त्र भए । त्यहाँबाट उनी पश्चिम लागेर ब्याक्ट्रिएना (ताहिया) गए । चीनसँग मिलापको असफल प्रयास गरे र विक्रमपूर्वको १८३ मा चीन फर्किए ।

आफ्नो मिसन असफल भए पनि ताहियामा पुग्दा चांगले देखे–चिनियाँ कपास र बाँसका सामानहरू लामो बाटो पार गरेर त्यहाँ पुगिवरी कारोबार भइरहेको । त्यही कारोबारको सम्भावनाको रिपोर्ट उनले हानवंशको मुख्यालयमा बुझाए । परिणाममा त्यसले विशाल चिनियाँ सभ्यतालाई पर्सियन, रोमन र ‘भारतीय उपमहाद्वीप’ को संस्कृति, दर्शन, बजार, सभ्यतासँग अन्तरक्रियामा ल्यायो । त्यही अन्तरक्रिया र सामीप्यताको बाटो समाउँदै चिनियाँ बजार बाँकी सभ्यताहरूसम्म आफ्ना उत्पादनहरू लिएर पुग्यो (बाग्ची, प्रबोधचन्द्र–ए थाउजेन्ड इयर्स अफ कल्चरल रिलेसन,पृ. ६) ।

आजको एसियाली प्रायद्वीपमा रहेको चीनसहितको दक्षिणी भेगका विकसित सभ्यताको इतिहास हेर्दा चिनियाँ, बाबुली र आर्यहरूबीचको आपसी सम्पर्कपछि यहाँ भव्यतम् व्यापार, विनिमय, ओहोर–दोहोरको शृंखला चलेको देखिन्छ । आर्यहरूले तिब्बतलाई लौकिक जगत्भन्दा माथि राखेर ‘त्रिविष्टम’ (स्वर्गलोक) को रूपमा अभिवादन गर्थे त्रिपुराधिपति भनिने ‘शिव’ को बासस्थान कैलाश उपस्थित रहेका कारण (आचार्य, बाबुराम–चीन, तिब्बत र नेपाल, पृ. ७) । चौबीस सय वर्षअघि चीनमा सिंहलाई संस्कृत शब्द प्रयोग गरी चिनाइएको पाइएकाले (जुन चिनियाँ परम्परामा पर्दैन) ले चीनमा बौद्ध साहित्यको प्रभाव या चिनियाँ समाजको तत्कालीन ‘भारतीय उप–महाद्वीप’ मा सम्पर्क र सम्बन्ध चलिसकेको देखाउँछ (गुडरिथ, एल करिङ्गटन–अ सर्ट हिस्ट्री अफ दी चाइनिज पिपुल, पृ. २८) ।

२२०० वर्ष आसपास पहिले सैन्य अभियानमा कुषाणमा आएका चिनियाँ सैन्य जनरलले (विक्रमपूर्व १८६) बुद्धको स्वर्ण प्रतिमा चीन पुर्‍याएका थिए । हानवंशका शासक मिंगले सपनामा ‘स्वर्ण मानव’ को आकृति देखेपछि त्यसबारे आफ्नो देशका मानिसबाट उनी बुद्ध भएको जानकारी लिएपछि बौद्ध धर्मप्रचारकहरूलाई निम्त्याउन उनले आफ्ना दूत पठाए ।

तिनै दूतले काश्यप मतंग र धर्मरक्षकलाई चीन पुर्‍याएका थिए । तिनले आफ्नो साथमा अमूल्य धार्मिक लेखोट, ग्रन्थहरू बोकेर चीन गए, अनुवाद गरे । ती बौद्ध भिक्षुहरूलाई भारतीय भनेर दाबी गरिए पनि ती खासमा भारतीय थिए कि हजारौं हजारको संख्यामा बौद्धदर्शनको बाटोमा लागेका तत्कालीन मझ्झिम भूगोलमा अकिंत कपिलवस्तु, कोलियका परिवारसँग सम्बन्धित आजको नेपाली भूगोलमा पर्ने भेकका जनहरू थिए भन्ने प्रमाणको अभावमा अस्पष्ट छ । शाक्य परिवारका सदस्य बुद्धभद्रलाई भारतीय उल्लेख गर्ने र निकै पछिसम्म नेपालको भूगोलको स्वतन्त्र अस्तित्वबारे बेखबरहरूले यताबाट गएका सबैलाई भारतीय ठान्नु अनौठो पनि थिएन ।

प्रसंगवश, त्यही मेसोमा त्यो व्यापारिक, धार्मिक मार्गको सम्बन्धरेखाभित्र आजको नेपाली भूगोल पनि जोडियो । उपल्लो मुस्ताङ (मोन्तांग) मा उपस्थित प्राचीन सभ्यताको अवशेष, त्यहाँका गुफाहरूमा पाइएका मानव अस्थिशेषहरू हेर्दा त्यही उपल्लो मुस्ताङको कोरला घाँटी हुँदै प्राचीन चीन–बौद्ध अधिराज्यहरूबीच कारोबार चल्ने गरेको लख काट्न सकिन्छ । सम्भवतः कुशीनगर, पभा, भोजनगर, वैशाली, राजगृहको व्यापारिक मार्ग कपिलवस्तु हुँदै मुस्ताङ छिचोलेर तिब्बत पुग्थ्यो ।

मूलबाटो अर्थात् सिल्क रोड
त्यसरी बाँस र कपासका सामानहरूको व्यापारका लागि मार्गहरू तय गर्न र सुरक्षाका लागि चीनले मध्य–एसियामा दर्जनौं सैन्य अभियानहरू सञ्चालन गर्‍यो । विक्रमको पहिलो शताब्दीसम्म आइपुग्दा मध्य–एसियाका अनेकन स–साना राज्यहरूले चिनियाँ आधिपत्य स्वीकार गरे । त्योसँगै चीनको पश्चिमी दुनियाँमा पुग्ने व्यापारिक मार्ग खुला भयो । भनिन्छ खच्चड, गधा, उँटलाई सर्वप्रथम घरेलु तवरले प्रयोगमा ल्याउने चिनियाँहरू नै थिए, इसापूर्वको तेस्रो शदीअघि नै । रेशमी कपडाहरू पामिरको विशाल भूमि पार गरेर पश्चिमी बजारमा पुर्‍याउन ती उँटहरूको प्रयोग गरिन्थ्यो (गुडरिच, एल करिङ्गटन–अ सर्ट हिस्ट्री अफ दी चाइनिज पिपुल, पृ २८) । बाँस र कपासका उत्पादनको घनत्व बढाउन खोलिएको मार्गबाट रेशमबाट बनेका अनेकन सामानहरू पैठारी गर्‍यो चीनले । कालान्तरमा त्यही रेशमी सामान यात्रारत मार्ग रेशमी मार्ग (सिल्क रोड) का नामले विश्वपरिचित भयो ।

विक्रमपूर्वको ५५०–३९० देखि नै अनौपचारिक प्रयोगको रेशमी मार्ग ‘हानवंश’ को पालामा विक्रमपूर्व १८७ देखि औपचारिक तवरले प्रयोगमा आयो र पन्ध्रौं शताब्दीको मध्यतिर आएर यसमा अनेकन कारणहरूले अवरोध आयो । युनेस्कोको विवरणअनुसार शियान–तक्ला मकान मरुभूमि–पामिर–कश्मीर–गान्धार (अफगानिस्तान)–भियतनाम–टर्की–इरान–जाग्रोस पर्वतमाला–सुलेसिया–इराक (टिग्रिस नदी) –स्टेसिफोन –सिरियन मरुभूमि–पालमाइरन–रोम–ग्रिस–इजिप्ट –अफ्रिका पुग्ने ६४०० किमि लामो यो मार्गको भव्यतम् महत्त्व भने यी भूगोलवासीहरूबीचको संस्कृति, कला, धर्म, दर्शन, प्रविधि, भाषा, विज्ञान, वास्तुकलाको आदानप्रदान थियो । शत्रुहरूको भूमि छल्ने क्रममा यो मार्ग धेरैपटक अदलबदलमा पर्‍यो । रोमहरूले पर्सियनहरूलाई छल्न ककेससको बाटो अघि बढेको देखिनु त्यसको उदाहरण हो ।

त्यसरी बाँस र कपासका सामान बेच्न बाइस सय वर्षअघि खोलिएको मार्गले चिनियाँ सभ्यतालाई बाँकी विश्व बजारका आवश्यकताहरूको पूरकको रूपमा उभ्यायो । हामी भने त्यसरी चीनले रेशम मार्ग औपचारिक तवरले सञ्चालनमा ल्याएको बाइस सय वर्षपछि पनि चीनसँग जोड्ने भनिएको रेलमार्ग कि फराकिलो सडक मार्ग भन्ने बहसमा छौं । के ल्याउने, के लाने भन्ने पिरलोले डेढ अर्ब जनसंख्यासँग सहज तवरले जोडिने नेपाली सम्भावना कचल्टिएको छ ।

भारतसितको एकोहोरो निर्भरताको सिरानी हालेर अत्यासलाग्दो निद्रामा पल्टनु नेपाली चरित्रको रूपमा विकास भएको छ । त्यसैको फाइदा उठाएर भारतले नेपालमाथि पटकपटक लादेको हैकम र अप्ठेरोमा परेको बखतमा समेत आफ्नो निहीत स्वार्थ कार्यान्वयन गराउन नाकाबन्दी लगाउने हदमा उत्रिइरहेपछि नेपालले एकोहोरो निर्भरताको निद्राबाट बेलाबखत ब्युँझन खोजेजस्तो गरेको देखिन्छ । नाकाबन्दी या यस्तै अप्ठेरोहरू अलिक फुकेर गएपछि भने नेपाललाई फेरि पनि उही एकोहोरो निर्भरताको सिरानी हालेर निमग्न निदाउनमै फुर्सद हुँदैन ।

अनेकन आन्तरिक कमजोरी, मानिसले दैनिक जीवनमा व्यहोरेका अनेकन अप्ठेराहरूमाथि क्रूर टुक्काबाजीका बाबजुद पछिल्लो भारतीय नाकाबन्दीयता प्रधानमन्त्री केपी ओलीले जसरी चीनतिरको नेपाली मार्ग सहज गराउने धिमै सही, प्रयास अघि बढाएका छन्, त्यसको दूरगामी महत्त्व रहनेछ । ओली नेपाली इतिहासको टुक्रे हरफमा जति दुर्नाम महाकाली सन्धिमा प्रकट सन्दिग्ध सक्रियताका कारण सम्झिइनेछन्, उत्तिकै चीनसँग नेपालको दीर्घकालीन रणनीतिक सक्रियताका कारण सम्झिइनेछन् ।

चिनियाँहरूले समेत निकै कठिन भनेको रेलको धूनमा निमग्न हुन छाडेर चीनतिरको बाटो फराकिलो बनाउने, नाका चुस्तदुरुस्त बनाउने काममा सक्रियता देखाउन सके त्यसले न ओलीको रेलको किस्सा फितलो हुनेछ न उनको अहम्को घोडाको नाथ्री फुट्नेछ । उसै पनि केरुङ–काठमाडौं सडक दूरी छोट्याउन सुरुङ बनाउन सघाउने चिनियाँ प्रतिबद्धता रेल कठिन सडक सहज भन्ने चिनियाँ निष्कर्षको रूपमा हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक नेपाल भ्रमणका क्रममा प्रकट भएकै छ ।

कठिनताको अल्छे सिरक
विसं ४५६ मा ‘बौद्ध अधिराज्य’ हरूको भ्रमणमा निस्किएका चिनियाँ बौद्ध यात्री फा–हियान जब सिन्धु नदी पार गरेर उद्यान जनपदतिर अघि बढे, मानिस उनको यात्राबारे इच्छुक देखिए । सर्वथा नौलो र फरक भेषको मानिस देखेपछि उनीसँग विहारका भिक्षुहरू तर्किए । केहीले उनको यात्राबारे जिज्ञासा पनि राखे ।

बाटोमा जिज्ञासा राखेका मानिससँग आफू तीन वर्ष लामो कठिन यात्राबाट त्यहाँ आइपुगेको बताएपछि मानिसले आश्चर्य माने । चीनमा बौद्ध दर्शनका ग्रन्थहरू भ्रष्ट र अपर्याप्त मात्रामा रहेको महसुस गरेपछि बौद्ध दर्शनको अध्ययन र सामग्रीहरूको संकलनका लागि जीवन दाउमा राखेर त्यसरी ज्ञान संकलनका लागि अघि बढेको चिनियाँ भेटेपछि विहारका भिक्षुहरू आफूहरूको अल्छेपना र जागिरे स्वभावको नियमित तयारी पाठहरूको घोकाइ सम्झेर सम्भवतः व्याकुल भए ।

चांगगान–लुंग–लियंग–यांगलो–चांगयी–तुनहृवांग–गोवी मरुभूमि–ऊए–खोतन–सुगलिग पर्वत–किशा/कैकेय (सख ?)– सिन्धु नदी–उद्यान जनपद–सुहोतो (शिवी)–गान्धार–तक्षशिला–पेसावर–नगार–हेलो–लोए–योना–पितू जनपद–मथुरा–संकाश्य नगर–कान्यकुब्ज–आलेग्राम–साकेत–श्रीवास्ती (जेतवन विहार)–कपिलवस्तु–लुम्बिनी–रामग्राम–वैशाली–पाटलीपुत्र–सारनाथ–ताम्रलिप्ती–श्रीलंका–पलेमवांग–नान्जिन उनको यात्रा मार्ग थियो (भिक्षु, आनन्द ज्योति–चाइनिज पिलग्रिम्स टु सेन्ट्रल एसिया, इन्डिया एन्ड एसई एसिया, पृ. ३) ।


बौद्ध ग्रन्थहरूको पूर्णकृति प्राप्तिको उद्देश्यले फा–हियान भिक्षु संघका अन्य सदस्यहरू हृवेचिगं, त्वचिगं, हृवेयिगं, हृवेविईसहित ६० वर्षको उमेरमा बौद्ध अधिराज्यहरूको भ्रमणमा निस्किएका थिए, जसको सर्वथा अभावले चिनियाँ बौद्ध समाज तड्पिएको थियो । विशाल मरुभूमिको बाटो हुँदै फा–हियान चीनबाट यता आएका थिए । त्यस्तो अत्यासलाग्दो मरुभूमि जहाँ न आकाशमा उडिरहेका चराहरू देखिन्थे न जमिनमा जनावर । चरा उडेको देख्नसम्म पाए पनि तिनैले कावा हानेको दिशा ताक्दै अघि बढ्न सक्थ्यो उनको टोली ।

त्यो विशाल गोवी मरुभूमिको बाटो हुँदै पहिले हिँड्दा मरेकाहरूको सुक्खा हड्डीहरूको निसाना टेक्दै ऊनीहरू अघि बढेका थिए (सेन, सुरेन्द्रनाथ– इन्डिया थ्रु दी चाइनिज आई, पृ. ५) । सुकेका हड्डीहरूमा टेक्दै यहाँ आइपुग्नुलाई समेत कुनै कठिनाइ नमानेका फा–हियान यता आइपुगेको सोह्र सय वर्षपछि पनि हामी भने चीनतर्फको बाटो कठिन भएको झ्याउरे रट्न व्यस्त छौं ।

तत्कालीन उयगं (हाल शान्शी) मा जन्मेका फा–हियानको बाल्यकालको नाम कुंग थियो । तीन दाजुभाइहरू दस वर्षको अन्तरालमा बाल्यकालमै बितेपछि जन्मिएका कुंगलाई उनका मातापिताले भिक्षु संघलाई दिएका थिए । ‘सामनेर’ को चरणबाट ‘प्रवज्या’ लिएपछि उनको नाम ‘कुंग’ बाट ‘फा–हियान’ रहन गएको थियो ।

‘फा’ को अर्थ ‘धर्म’ र हियानको अर्थ ‘रक्षक’ या आचार्य हुने भएकाले उनलाई संस्कृत साहित्यमा धर्मरक्षकका नामले समेत उल्लेख गरेको पाइन्छ । विसं ४५६ देखि ४७१ सम्म यताको भ्रमण सकेर नानकिन फर्किएपछि नेपाली भिक्षु बुद्धभद्रसँग मिलेर अनेकन बौद्धग्रन्थहरूको चिनियाँ अनुवाद गरे र आफ्नो यात्रा विवरण लेखे र ८८ वर्षको उमेरमा उनको निधन भयो (बिल, सामुइल–बुद्धिस्ट रेर्कड्स अफ दि वेस्टर्न वर्ल्ड) ।

सत्रवर्षे उमेरमा बौद्धविहारमा गएका कपिलवस्तु जनपदका शाक्यमुनि परिवारका बुद्धभद्र ४०८ मा चीन गए र बौद्धग्रन्थहरूको अनुवाद गरे । सुरुमा चागंएनमा बसेका उनी पछि त्यहाँ असमझदारी भएपछि (कुमारजीवसँग) ४० अन्य भिक्षुहरूसहित लुन्सान गए । त्यहाँबाट पछि नानकिन गएर फा–हियानसँग मिलेर झन्डै एक सय पच्चीस जति ग्रन्थहरूको अनुवाद गरे । तिनमा महापरिनिर्वाणसुक्त, विनयपट्टजस्ता अनमोल कृतिहरू पनि समाहित छन् (अक्सफोर्ड रिफ्रेन्स) ।

फा–हियानले लेखेबमोजिम उनी आइपुगेको बखत कपिलवस्तु, तिलौराकोटको दरबार क्षेत्र उजाड थियो । आफ्नो यात्रा विवरणमा उनले लेखेका छन्– ‘कपिलवस्तु जनपदशून्य छ । निवासीहरू निकै कम छन् । केही भिक्षु र दस घरजति सर्वसाधारण मानिसको आवादी छ । शुद्धोधनको दरबारमा कुमार र उनकी आमाको मूर्ति बनाइएको छ । बाटोभरि सेता हात्ती र बाघको बिगबिगी छ । बिनातयारी, सावधानी त्यहाँ जानु खतरनक छ’ (गिल्स, एच ए–दी ट्राभल्स अफ फा–हियान, रेकंड्स अफ दि बुद्धिस्ट किङ्गडम, पृ. ३९/४०) । त्यसको सत्र सय वर्षपछि पनि कपिलवस्तुको तिलौराकोटस्थित हंसावती दरबार परिसर उस्तै उजाड छ ।

विदेशी विश्वविद्यालयका पुरातत्त्वका विद्यार्थीहरूलाई शिशिरको बिदामा उत्खनन्को परीक्षणात्मक शिक्षा दिने प्रयोगशाला बनेको छ । तीन हजार वर्ष पुरानो पुरातात्त्विकस्थल वर्षको केही महिना डुर्हम विश्वविद्यालयका विद्यार्थीको पुरातत्त्व उत्खनन्को प्रयोगात्मक ज्ञान लिने प्रयोगशाला भएको छ र त्यसलाई उत्खनन्को नाम दिएर सुकिलिने खेलोमा सामेल भई बसेका छन् पुरातत्त्व विभागदेखि लुम्बिनी विकास कोषसम्म ।

फा–हियानपछि विक्रमको सातौं शताब्दीको उत्तरार्द्धमा हुएन च्वागं पनि तासकन्द मरुभूमि हुँदै पामिर पर्वतमाला पार गरेर कश्मीर हुँदै बुद्धज्ञान क्षेत्रको भ्रमणमा आएका थिए । उनी कपिलवस्तु–लुम्बिनी–रामग्रम हुँदै काठमाडौं आइपुगेका थिए । सम्भवतः काठमाडौं उत्रने पहिलो चिनियाँ (लिखित विवरणअनुसार) यिनै हुएन च्वागं थिए ।

उनले त्यसबखत आएर काठमाडौं उपत्यकामा जे देखें र त्यसको विवरण जसरी दिएका छन्, त्यो निकै रोचक छ–यहाँको हावापानी चिसो छ । यहाँका निवासीहरूमा सत्यता र इमानदारी त्यति साह्रो पाइँदैन । यहाँका निवासीहरू शिक्षित छैनन् । तर, कला र कौशलका काममा भने निपुर्ण छन् (थोमस, वाट्रेस–अन युवान च्वांग्स ट्राभल्स इन इन्डिया, पृ. ८३) ।’

फा–हियानबारेको भ्रम
नेपाली भूगोलमा आइपुग्ने र यहाँबारे लेख्ने पहिलो चिनियाँ भिक्षु भनेर यताका दिनमा केहीले फा–हियान(सियान) को नाममा भ्रमपूर्ण प्रचार गरेको पनि देखिन्छ । यर्थाथमा चीनका बौद्ध भिक्षु सेगं त्साई पहिलो चिनियाँ यात्री थिए जो विसं ४०७ देखि ४३२ को बीचमा कपिलवस्तु आइपुगेका थिए । फा–हियान भने विसं ४५८ देखि विसं ४६९ को बीचमा यहाँ आएका थिए ।

सेगं त्साईको यात्रा विवरणमा कपिलवस्तु र लुम्बिनीबारे त्यसपछिका चिनियाँ भिक्षुहरूको वर्णनमा परेभन्दा पनि प्रस्ट विवरण उल्लेख भएको पाइन्छ– ‘कपिलवस्तु राज्यले अहिले राजा पाएको छैन । सहर र पोखरीहरू मरुभूमिजस्तो उजाड मात्रै भएको छैन, प्रदूषित पनि भएको छ । त्यहाँ जम्मा बाह्र उपाशक (भिक्षु ?) र बीस घरजति शाक्य परिवार मात्रै छन्, जो शुद्धोधनको परिवारका शाखा–सन्तानहरू हुन् (पी., एल.–नर्दन इन्डिया एर्कोडिङ टु दि सुई–चिगं–चु, पृ. ३४) ।’

लुम्बिनीको विवरणमा उल्लेख छ– ‘जहाँ बुद्धलाई जन्माउँदा उनकी आमाले अशोक वृक्षको सहारा लिएकी थिइन्, त्यहाँ सम्राट् अशोकले रानीले रूखको हाँगो समाएर राजकुमारलाई जन्म दिएको मूर्ति कुँदाएका छन् । पुराना रूखहरू मर्दै गएपछि त्यसका अवशेष हटाएर त्यही ठाउँमा नयाँ रूख रोप्ने काम भिक्षुहरूले अविछिन्न तवरले गर्दै आइरहेका छन् । जहाँ राजकुमार जन्मिएपछि सात पाइल हिँडेका थिए, त्यो अझै संरक्षित छ । त्यहाँ अझै राजकुमारका सात पाइलाका डोब प्रस्ट देख्न सकिन्छ (पी., उही, पृ. ३५) ।

सम्पन्नताको 'ट्रान्जिट’
हामीकहाँ दाबी गरिएजस्तो लिच्छविकाल या मल्लकालमै पनि काठमाडौं उपत्यका या नेपालमा आर्थिक विकासको आधार कलकारखाना या उद्योगधन्दा थिएन । भोट र मैदानी प्रदेशका मुलुकहरूबीच चल्ने व्यापारको ‘ट्रान्जिट’ का रूपमा काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न भेगहरू सक्रिय थिए । जडिबुटी, कस्तूरी, कलाकृतिहरू नै नेपाली उत्पादनका रूपमा व्यापारमा अघि सार्न सकिने नेपाली सामान थिए ।

अन्यथा भोटबाट घोडा, ऊन, ऊनका तयारी माल, भेडा–च्यांग्र्रा, नुन, कस्तुरी, सुन, चाँदी, जडिबुटी, नाना प्रकारका रत्नहरू नेपालतिर आउँथे । नेपालतिरबाट विशेषत हिन्दुस्तान र बाहिरी मुलुकका कलकारखानाहरूमा तयार गरिएका दैनिक–जीवनोपयोगी मालहरू भोटतिर जान्थे (शर्मा, बालचन्द्र–नेपालको ऐतिहासिक रूपरेखा, पृ. ७) । वीरशमशेरको पालामा ब्रिटिससँग सम्झौता गरी सावरी नुन ल्याउन थालेपछि उत्तरी नाकाबाट ल्याइने हिमाली नुनसँगको नेपाली निर्भरताको लगभग दुई हजार वर्ष लामो निर्भरता दक्षिणतिर संकेन्द्रित हुन गयो ।


जसरी लिच्छविकालदेखि मध्य मल्लकालसम्म दुईतिरको ठूलो जनसंख्याको बीचमा बसेर ‘नेपाल’ ले व्यापारको ‘ट्रान्जिट’ बनेर प्रचूर आर्थिक उन्नति र सम्पन्नता हासिल गरेको थियो, आज पनि हामी झन्डै तीन अर्ब जनसंख्याको बीचको अनेकन ट्रान्जिटमध्ये एक बनेर यथोचित लाभ हासिल गर्न सक्छौं ।

१६७४० फिट उचाइमा रहेको ओलाङचुङ (वुङ), १३९३३ फिटमा रहेको हटिया, १९०५० फिटमा रहेको नाम्पा, २१५४४ फिटमा रहेको कुती, ६००० फिटको केरुङ, १६५३७ फिटमा रहेको साल्बु, १७००० फिटमा रहेको लार्के, १२४०२ फिटमा रहेको ल्हो–मन्थाङ, १६२२० फिटमा रहेको नाम्जा, १६०१८ फिटमा रहेको टाकलाखार, महाकाली व्यासजस्ता नाकाहरू (शर्मा, उही, विभिन्न पृष्ठहरू) सहज बनाउन सके नेपालले पर्यटन र सामान आयातको बाटो सहज बनाउन सक्छ ।

आम्दानी बढाउन सक्छ । आजको दिनमा संसारभर सबैभन्दा बढी घुम्ने पर्यटकमा छिमेकका चिनियाँहरू छन् । आवश्यक सडक, बसोबास र गतिविधि बढाउन सके नेपालको प्राकृतिक सौन्दर्यमा रमाउन आउने चिनियाँ पर्यटकको संख्या बढाउन सके त्यो नै नेपालको आयआर्जनको प्रमुख स्रोत भएर जानेछ ।


रेल वा फराकिला सडक बनेर चल्ने सवारीमा हाम्रो आफ्नै के उत्पादन हालेर पठाउने भन्ने महत्त्वपूर्ण र प्राथमिक प्रश्न अवश्य हो । तर, त्यो नै अन्तिम सवाल भने होइन । राष्ट्रिय उत्पादन वृद्धि गरेर स्वावलम्बनको बाटो समात्ने, निर्यातजन्य वस्तु उत्पादनमा जोड दिने र सहज यातायातबाट तीन अर्ब जनसंख्याबीचको चलायमान ट्रान्जिट बन्ने आत्मविश्वास तयार गर्दै दुई भीमकाय हात्तीहरूमा सवार तीन अर्ब जनसंख्यालाई अल्छी गरेर सबैले देख्न सक्ने गरी सुतिबसेको चितुवा हेर्न ल्याउन सके मात्रै पनि यहाँको अर्थतन्त्रले फड्को मार्न समय लाग्दैन ।

तरुल कि चितुवा
यताको लामो समयदेखि नेपाललाई दुई ढुंगाबीचको तरुलको रूपमा व्याख्या गर्ने काम भइरहेको छ । खासगरी पृथ्वीनारायणको ‘उपदेश’ लाई सिरानी हालेर हामी त्यही माटोमुनिको तरुलझैं चुपचाप निदाइबसेका छौं ।

हाम्रो चेतना नै कस्तो भएको छ भने निद्रामा अलिकति चल्मलाए मात्रै पनि ढुंगाको बीचको हामी तरुल चोट लागेर घायल हुन सक्छौं भनेर शताब्दीभन्दा लामो कुम्भकर्ण निद्रामा निमग्न छौं बिनाचलमल । केहीले यसलाई दुई देशबीचको गतिशील पुल भन्ने गरेको पनि पाइन्छ । गतिशील भए पनि पुलको काम पनि स्थिर हुने या अरूको भरमा हल्लिनेबाहेक अरू केही हुन्न । नत्र निदाइबस्नु नै पुलको पनि नियति हो ।


खासमा नेपाल हुनुपर्ने दुईवटा विशालकायाका हात्तीहरूको बीचमा रहेको गतिवान् चितुवा हो । यस्तो चितुवा जो हात्तीहरूको गतिको चाल मारेर त्यहीबीचमा आफ्नो आवश्यकताको सीमारेखा तय गर्न सक्छ । हात्तिहरूले चढ्न नसक्ने अग्ला हिमाल, पहाडको चक्कर मार्न सक्छ । ती दुईबीचको संवाहक र तिनले टिप्न नसक्ने अक्करको फल टिप्न सक्छ र दुवैलाई दिएर आफू सम्पन्न हुन सक्छ ।

तर, हाम्रो नियति भने अजंगका दुई हात्ती आफूतिर बढ्दै आएर टाउकोमा लात्ती बर्जादासम्म पनि निमग्न निदाइराख्ने अल्छी चितुवामा विघटित छ । आफ्नै कुनै उद्यम नहुने र हात्तीले सिकार गरिदिएर पेट भरुँला भन्ने चितुवाको नियति अन्ततः भोकै मर्नुमा टुंगिने निश्चितै छ । किन पनि भने चितुवाको भोजन र हात्तीको भोजनको भिन्नता नचिनी हात्तीको भरोसामा बस्ने चितुवाले घाँस खाएर कति नै पो गुजारा चलाउन सक्छ र ?

प्रकाशित : कार्तिक १६, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?