'लुम्बिनीले बचाउन सकेन'

मनोज पौडेल

प्रसंग २६ सय वर्षअघिको हो  । एक दिन राजकुमार सिद्धार्थका काकाको छोरा देवदत्तले वाण हानेर ठूलो सारस हाँस खसाले  ।

'लुम्बिनीले बचाउन सकेन'

घाइते उक्त हाँस संयोगले राजकुमार सिद्धार्थको अघि आएर खास्यो । उनले मल्हमपट्टी गरेर हाँसलाई राहत प्रदान गरे । प्राण जोगाए, मर्न दिएनन् ।

देवदत्तले भने आफूले वाण हानेर खसालेकाले त्यसमा आफनो अधिकार दाबी गरे । सिद्धार्थले घाइते बनाउनेभन्दा ज्यान बचाउनेको अधिकार लाग्ने भन्दै दिन इन्कार गरे । यो विषय राजसभासम्मै पुग्यो । व्यापक छलफल भयो । छलफलमा एक युवा सभासदले भने यो विषयमा धेरै विवाद आवश्यक छैन । कुनै पनि प्राणीको जीवन मार्न खोज्नेभन्दा रक्षा गर्नेको हुन्छ । त्यसकारण हाँसमा अधिकार सिद्धार्थको लाग्छ । हाँसले नयाँ जीवन पाउँछ ।

अहिले लुम्बिनीमा सारस हाँसलाई कसैले वाण हान्दैन । तैपनि, बिजुलीको तार र कुकरको टोकाइले सारसले अकालमा ज्यान गुमाइरहेका छन् । यिनलाई जोगाउने सिद्धार्थ भने यता कतै छैनन् ।भदौ दोस्रो साता र असोज पहिलो साता लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई जोडी सारस मरे । एउटा जोडी वार्ड नं. ४, महुवारीमा । अर्को जोडी वार्ड नं. १, भगवानपुरमा । एक जोडी विश्वमै दुलर्भ सारस महुवारीमा पश्चिमबाट पूर्वतिर उड्दै थिए । होचो ठाउँबाट तानिएको ३३ हजार भोल्टको बिजुलीका नाङ्गो तारमा खुट्टाले छोयो । दुवै चरा भुइँमा बजारिए । छटपटाए । र, प्राण त्याग गरे ।

भगवानपुरमा भने कुकुरले लेखेटेर सारसलाई मारेको थियो । गत चैतमा लुम्बिनी यही नगरपालिकाको खुनगाईमा पनि बिजुलीको तारमा अल्झेर एउटा सारस मरेको थियो । ‘५/६ वर्षअघिसम्म बर्सेनि ३/४ वटा मर्थे,’ संरक्षणकर्मी अर्जुन कुर्मीले भने, ‘अहिले बढेर दोब्बर भएको छ ।’

बढ्दो सहरीकरणसँगै घाँसे मैदान र सिमसार घटेकाले आहाराका लागि परपरसम्म पुग्नुपर्दा समस्या भएको उनले बताए । लुम्बिनी नेपालमै सबैभन्दा बढी दुर्लभ सारस पाइने स्थल हो । चराविद् दिनेश गिरी दुई वर्षअघि दानव नदीको किनारमा एकैपटक ९८ वटा सारस देखेको सम्झेर अहिले पनि रोमाञ्चित हुन्छन् । उनका अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटकमा केही सारस हेर्न आउने पनि हुन्छन् । ‘तर, लुम्बिनीमै सारस बर्सेनि असुरक्षित हुँदै जाँदा नराम्रो सन्देश जान्छ,’ अर्का चराविद् हेमसागर बरालले भने ।


चराविद्हरूका अनुसार बिजुलीका नाङ्गा तार र भुस्याहा कुकुर सारसका लागि चुनौती बनेका छन् । ओथारो बस्ने बेला मानिसबाट उनीहरू असुरक्षित हुन्छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी लुम्बिनी गुरुयोजनाभित्र भूमिगत तार बिछ्याएर लाइन वितरण गर्ने काम सकिने आवस्था पुगेको बताउँछन् । नगरपालिकाले गत वर्ष सारसलाई नगर पन्छी घोषणा गरेको थियो ।

संरक्षणको काम भने प्रभावकारी नभएको चराविद्हरू बताउँछन् । नगरप्रमुख मनमोहन चौधरी बलरामपुरमा सिमसार क्षेत्र र आमा गाउँमा बर्ड पार्क बनाउन थालेको बताउँछन् । उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा सारस हो । यो करिब १० किलो तौलसम्मको हुन्छ ।

वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पन्छी प्रजातिमध्ये एक हो । नेपालमा ५ सय सारस भएको अनुमान गरिएको छ । जसमा कपिलवस्तु, रूपन्देही र नवलपरासीमा मात्रै ३ सयभन्दा बढी सारस भएको चराविद् डा. बरालले बताए । कम देखिन थालेपछि सन् २००० मा सारस दुर्लभ पन्छीमा सूचीकृत भएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?