'हामी गुड लभर'

अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक एवं अभिनेता निश्चल बस्नेतको जोडीलाई सुरुमा धेरैले 'नसुहाउँदो' भनेका थिए । अहिले भने उनीहरू वास्तविक जीवनमा मात्र नभई पर्दामा समेत जोडीका रूपमा आउँदै छन् ।
सुशील पौडेल

स्वस्तिमा खड्का । उमेर २० वर्ष । वर्ण गोह्रो । सहअभिनेत्रीका रुपमा अभिनित फिल्म ‘होस्टेल रिर्टन्स’ भर्खर भर्खर चलेको थियो ।
निश्चल बस्नेत । उमेर ३४ वर्ष । वर्ण श्याम । ‘लुट’ बाट निर्देशकमा चम्किसकेका उनी ‘उमा’, ‘फिटकिरी’, ‘कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ बाट कलाकारका रूपमा पनि स्थापित भइसकेका थिए ।

'हामी गुड लभर'

स्वस्तिमा र निश्चलले २०७२ फागुन ५ मा विवाह गरेपछि फिल्म क्षेत्रका अधिकांशलाई सरप्राइज नै भयो । धेरैले त्यही बेलादेखि नै भन्न थाले, ‘यो जोडी मिलेकै छैन, छिट्टै छुट्टिन्छ !’ शंका गर्नेहरू स्वस्तिमाले फिल्म खेल्न पाउने स्वार्थमा निश्चललाई रोजेकी र निश्चलले कलकलाउँदी राम्री केटीमा लोभिएको टिप्पणी गर्थे । कतिले त अझै पनि त्यही ठान्लान् । तर, यो जोडी भने वैवाहिक जीवनको चार वर्ष बित्न लाग्दा पनि आफूहरू अझै हनिमुन पिरियडमै रहेको हासो गर्छन् ।

कुनै बेला विवाहका लागि चर्को दबाब झेलेका निश्चललाई यति बेला सन्तान कहिले जन्माउने भन्ने अर्को दबाब पनि उत्तिकै छ । आखिर उमेर पनि त घर्कंदो छ । झन् त्यसमा पनि घरको एक्लो छोरो । निश्चल भने यी दुई दबाबको मात्राबारे भन्छन्, ‘अगाडि जुन पहाड छ, त्यही ठूलोलाग्दो रहेछ । पछाडी कत्रो पहाड चढियो भन्ने कुराले अर्थ नराख्दो रहेछ ।’

निश्चल, स्वस्तिमा कहिलेदेखि फेसबुक फ्रेन्ड बने दुवैलाई याद छैन । तर निश्चललाई स्वस्तिमाका बारेमा भन्ने र साथी बन्न उक्साउने भने उनकै भतिजी रहिछन् । निश्चलले स्वस्तिमाका कामका बारेमा फाट्टफुट्ट प्रतिक्रिया दिइरहन्थे भने स्वस्तिमालाई पनि निश्चलको कुरा गर्ने शैली र फेसबुकका स्टाटस राम्रा लाग्थे रे । ‘कतिपय निर्देशक, निर्माताहरू नयाँ हिरोइन भन्नेबित्तिकै जसरी बोल्न बहानामा नजिक हुन खोज्नुहुन्थ्यो, उहाँ (निश्चल) त्यस्तो हुनुन्नथ्यो । त्यही कुरा नै मलाई मन पर्थ्यो ।’ त्यसो त ‘कबड्डी’ हेरेपछि भने निश्चल अझ मन परेछ । ‘मान्छे त खासै राम्रो हैन । एक्टिङ पनि ठीकठाकै हो । तर मलाई खै कस्तो मन पर्‍यो,’ स्वस्तिमाले थपिन्, ‘म सिम्पल, जेन्युन मान्छेप्रति छिटो आकर्षित हुन्छु । अनि मभन्दा अलि पाको । स्कुलमा पनि मलाई सिम्पल दाइहरू देख्दा मन पर्थ्यो ।’

त्यसपछि च्याटमा लगातार ३, ४ दिन कुरा भएपछि एक दिन स्वस्तिमालाई निश्चलले म्यासेज गरे, ‘ह्याप्पी बर्थ डे खड्काजी । ट्रिट दिने हैन त ?’ संयोग, स्वस्तिमाको जन्मदिन २–३ दिनमै आउँदै रहेछ । उनलाई निश्चलले हाँसोमा भनेको कुरा साँच्चैजस्तो लागेछ । ट्रिटका लागि हुन्छ भनिदिइन् । ‘त्यसपछि त हाम्रो भेट दिनहुँ हुन थाल्यो । नभेटेको दिन मिस हुन्थ्यो,’ स्वस्तिमाले सुनाइन्, ‘उहाँले त्यस्तो साइडचाहिँ हान्नुहुन्थेन । त्यसैले पनि होला, मलाई उहाँप्रति रेस्पेक्ट थियो । अनि एउटै क्षेत्रमा भएकाले पनि मलाई बिहेपछि यसै क्षेत्रमा काम गर्न सहज हुन्छ भन्ने पनि लागेको थियो ।’

त्यसो त निश्चललाई पनि स्वस्तिमालाई प्रभावित पार्ने भन्ने दिमागमा आउँदै आएन । ‘हाम्रो कुराको सुरुआत यसलाई म प्रभावित गर्छु र प्रेममा पार्छु भन्ने तरिकाबाट नै भएन । यसै च्याटमा गफ हुँदाहुँदै दुवैलाई रमाइलो लाग्यो । म हत्तपत्त जोकोहीसँग बोलिहाल्न सक्दिनँ । तर उसँग टेक्स्टमा बोल्दा पनि मजा आयो । मान्छे राम्रो लाग्यो । तर पनि योसग बिहे गरौं वा लभ गरौं भन्नेजस्तो दिमागमा आएकै थिएन ।’ विवाहको प्रस्ताव स्वस्तिमाले नै राखिन् । निश्चलले पनि मन पराउने हिन्ट पाएपछि उनले विवाहको प्रस्ताव गरिन् । निश्चलले नमान्ने कुरै थिएन ।

अन्ततः बिहे भयो । सानै उमेरमा बिहे गर्न लागेको कुराले स्वस्तिमाका कतिपय साथीहरू त अचम्मै भए । कतिले चाहिँ बिहेपछि हिरोइनको करिअर सकिन्छ भनेर यति छिट्टै बिहे नगर्न पनि सम्झाए । ‘म आफैंलाई पनि यति छिटो बिहे गर्छु होला भन्ने लागेको थिएन । २७, २८ वर्षमा गर्छु होला भन्ने लाग्थ्यो । मैले भनेको भए उहाँले २, ३ वर्ष अझै कुर्नुहुन्थ्यो होला । तर उहाँकै सजिलोका लागि पनि मैले त्यो गर्न चाहिनँ । मैले नै बिहे गरौं भनेको थिएँ’ स्वस्तिमाले सुनाइन् ।

बिहेपछि निश्चल कहिलेकाहीं एक्लै छँदा साथीभाइहरूसँग गर्ने रमाइलो ‘मिस’ गर्छन् । ‘बिहेपछि आफ्नो जिम्मेवारी अरू कोही भइसकेको हुन्छ भने अरू कसैको जिम्मेवारी आफू बनिसकेको हुँदो रहेछ । एक्लो हुँदाको जस्तो त बिहेपछि हुँदै हुँदैन । त्योबेलाका मज्जा मज्जाको चीजहरू यसो सम्झिइन्छ तर अब त्यही पाराले हिँडेर त चल्दैन,’ निश्चलले फेरि भने, ‘कतिपय कुरा मिस त हुन्छ । तर त्यसले के फरक पर्छ र ? अहिलेको अवस्थामा बानी पर्न मात्रै समय लागिरहेको हो । अब आफ्नो लागि मात्रै सोच्ने दिन गए । मबाट हामी भनेर सोच्न केही समय लाग्ने रहेछ ।’

स्वस्तिमालाई निश्चल पतिका रूपमा भन्दा प्रेमीका रूपमा बढी जमेको लाग्छ । भन्छिन्, ‘हामी गुड हस्बेन्ड एन्ड वाइफभन्दा पनि गुड लभर हो जस्तो लाग्छ । पति–पत्नीको रूपमा हामी त्यो तहमा रेस्पोन्सिबल हुन सकिरहेको छैनौं ।’ यसैले पनि होला, स्वस्तिमा अहिल्यै सन्तान जन्माइहाल्ने पक्षमा छैनन् । ‘सन्तानका लागि जिम्मेवारी लिन सक्ने अवस्थामा हामी पुगिसकेका छैनौं, आर्थिक, मानसिक रूपले नै । कम्तीमा ऊ नभएको अवस्थामा पनि म आफैंले पनि जिम्मेवारी बहन गर्न सक्ने अवस्थामा हुनुपर्‍यो’ स्वस्तिमाको कुरा निश्चलले काट्न त सकेनन् तर ढिलो गरिहाल्ने पक्षमा पनि उनी छैनन् । बच्चा जन्माएपछि करिअर नै धरापमा पर्ने हो कि भन्ने डर सायद स्वस्तिमालाई छ ।

‘यो फेज मैले त अझै इन्जोए गरिरहेको छु । मैले दसवटै बच्चा पाएपनि करिअरका लागि पछि कसैसँग डिपेन्डेन्ट हुन नपरोस् । त्यो ग्यापले मेरो करिअरलाई असर नगर्ने अवस्था होस् । त्यो स्टेजको करिअरमा पुग्नुछ मलाई पहिले,’ स्वस्तिमाको कुरामा निश्चलले भने, ‘हामीले जहिलेसम्म सकिन्छ, यही फिल्डमा नै काम गर्ने हो । हाम्रो जस्तो फिल्म क्षेत्रमा बिहे गरेपछि, बच्चा पाएपछि करिअर नै सकिएको ठानिन्छ तर विदेशतीर बिहे गरोस् कि बच्चा पाओस् कि वा जुनसुकै उमेरकाको पनि सुहाउँदो भूमिका खोजिन्छ । हामीले पनि ती कुरालाई सेट गर्दै लग्नु जरुरी छ ।’

यी दुई पति–पत्नीले पहिलोपटक ठूलोपर्दामासँगै अभिनय गरेको फिल्म ‘घामड शेरे’ प्रर्दशनको क्रममा छ । कलाकारको रूपमा स्वस्तिमाले गत वर्षको फिल्म ‘बुलबुल’ बाट निकै ठूलो प्रशंसा र प्रायः सबैजसो पुरस्कार पाइन् । निश्चलका लागि भने यो एउटा परीक्षा नै हो । किनभने उनी मुख्य हिरो भएको यो नै पहिलो फिल्म हो । यसमा उनीहरू साली–भेनाको जोडीका रूपमा देखिँदै छन् । खोलालाई नै मुद्दा हालिदिने घामड चरित्रको रूपमा निश्चल यो फिल्ममा देखिएका छन् ।

‘लुट’ फिल्म बनाएर नेपाली फिल्मको नक्सा परिवर्तन गर्ने निश्चल र ‘बुलबुल’ बाट नयाँ छिमलमा अभिनयको नयाँ मानक बनाएकी स्वस्तिमाको यो जोडीले पर्दामा कस्तो कमाल गर्छ, हेरौं ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?