१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'दादा' गिरी

भारतीय क्रिकेट टिमलाई 'एग्रेसिभ' नेतृत्व दिएका सौरभ गांगुली अहिले क्रिकेट बोर्डको अध्यक्ष बनेका छन् । के यसमा कुनै राजनीतिक कारण पनि होला ?
हिमेश

केही वर्षअगाडिसम्म पनि भारतीय क्रिकेट टिम त्यस्तो थिएन, जस्तो अहिले छ  । भारतसँग सचिन तेन्दुलकर त थिए तर टिमले पस्कने क्रिकेट धारिलो थिएन  ।

'दादा' गिरी

सन् २००० सुरु हुनै लाग्दा भारतीय टिम ठूलै समस्यामा थियो । त्यति बेला केही प्रमुख खेलाडी खेल मिलोमतो प्रसंगमा नराम्रोसँग फसेका थिए । यसमा कप्तान मोहम्मद अजहरुद्दिन नै थिए । ‘म्याच फिक्सिङ’ काण्डपछि भारतीय क्रिकेटको लोकप्रियता खस्कँदो थियो ।

क्रिकेट भारतमा यति धेरै बदनाम कहिल्यै थिएन । जतिले भारतीय टिमका लागि खेलिरहेका थिए, त्यसमा कुनै दम थिएन । भारतले क्रिकेट त खेल्थ्यो तर त्यसमा जितको चाहना थिएन । विदेशी भूमिमा भारतले जित्नु भनेको त असम्भव नै थियो । तेन्दुलकर आफैंले पनि केही गर्न सकिरहेका थिएनन्, उनको ब्याटबाट रन त निस्किरहेको थियो तर त्यसले चमत्कार गर्न सकेको थिएन । भारतीय टिमका खेलाडी अल्छी देखिन्थे । अहिले नयाँ पुस्तालाई ती दिनका कथा सुनाउनुपर्छ, पत्याउन गाह्रो हुन्छ ।

ठीक यही बेला सौरभ गांगुलीको उदय भयो । उनले के भारतीय टिमको नेतृत्व सम्हाले, प्रदर्शनमा युगान्तकारी परिवर्तन आयो । उनी वास्तवमै कस्ता खेलाडी र कप्तान थिए, त्यसको झल्को दिन एउटा दृश्य काफी छ । सन् २००२ को नटवेस्ट ट्रफीको फाइनलमा भारत र इंग्ल्यान्ड भिडेका थिए । खेल लर्डसमा भइरहेको थियो । लक्ष्य पछ्याइरहेको भारत एकाएक पतनको सिकार भयो । सबैलाई लाग्न थालेको थियो— अब भारतले खेल जित्नेछैन । तर त्यस दिन युवराज सिंह र मोहम्मद कैफले गज्जब खेले । जति बेला भारतको जित निश्चित भयो, लर्डसको प्रसिद्ध बार्दलीमा रहेका गांगुलीले आफ्नो सर्ट फुकाले । उनी ‘टपलेस’ भए । अनि हावामा त्यही सर्ट खुसीले घुमाउन थाले । उनको अनुहारमा खुसी मात्र थिएन, एक प्रकारको हुँकार पनि थियो । गांगुलीले यस्तो गर्नेछन् भनेर कसैले सोचेका पनि थिएनन् ।

त्यसमा भलाद्मीपन पक्कै थिएन । तर यो भारतीय क्रिकेट फेरिँदै छ भन्ने पक्कापक्की प्रमाण थियो । पश्चिम बंगालका यी गांगुलीलाई धेरैले ‘दादा’ भन्ने गर्छन् । जति समय उनले भारतीय टिमका लागि खेले, दादाको जवाफ थिएन । कप्तान छँदा उनले एकपछि अर्को साहसिक निर्णय लिए । त्यसले नतिजा पनि ल्यायो । गांगुलीले भारतलाई विदेशी भूमिमा पनि जित्न
सक्ने टिम बनाइदिए । अहिले भारतीय टिमजस्तो छ, त्यसको जग उनकै पालामा बसेको थियो ।

उनको समयमा भारतीय टिमको ब्याटिङ वास्तवमै निकै बलियो थियो । भारतीय टिमको ब्याटिङ क्रम हेर्नुपर्थ्यो— प्रतिद्वन्द्वी टिमको बलरको पसिना छुट्थ्यो । यो ब्याटिङ क्रमलाई अचेल ‘फ्याब फाइब’ भन्न थालिएको छ । यसमा एक जना त गांगुली नै भए, अरू थिए, वीरेन्द्र सहवागदेखि तेन्दुलकर, राहुल द्रविड र भीभीएस लक्ष्मण । विश्व क्रिकेटमा यत्तिको ब्याटिङ क्रम विरलै देखापरेका छन् । कम्तीमा भारतमा दोहोरिएर देख्न पाइने छैन ।

यिनै गांगुली अहिले भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष भएका छन् । विश्व क्रिकेटकै सबैभन्दा धनी संस्था हो, यो । पूरा विश्व खेलकुदकै सबैभन्दा धनी संस्था भन्दा हुन्छ । गांगुली आउनुअगाडि यो विवादै विवादमा अल्झेको थियो । बीसीसीआईसँग जोडिएका एकपछि अर्को काण्ड भए । पछिल्ला केही वर्ष त भारतीय उच्च अदालतले गठन गरेको समितिले बीसीसीआई चलारहेको थियो । अब भने यही संस्थाले चुनावबाट पक्का अध्यक्ष पाएको छ ।

अब के हुन्छ त ? सबैभन्दा महत्त्वपूर्ण प्रश्न त यही हो । के उनले बीसीसीआईलाई पनि त्यसरी नै चलाउनेछन्, जसरी भारतीय टिमको नेतृत्व गर्दा गर्ने गर्थे ? उनीसँग खेलेका धेरैले भन्न सुरु गरिसकेका छन्— गांगुलीमा कुनै परिवर्तन आएको छैन । उनी त्यस्तै छन्, जस्तो पहिले थिए । त्यसो भनेको उनले बीसीसीआई चलाउँदा पनि त्यसमा आक्रामकपन हुनेछ । उनी जे सोच्छन्, जे निर्णय गर्छन्, त्यसलाई लागू गर्न पटक्कै पछाडि हट्दैनन् ।

साँच्चै अब के हुन्छ त ? यसको उत्तर चारथरीको सम्भवनामा टिकेको छ । बीसीसीआईमा गांगुलीको उदयले भारतीय क्रिकेट ढाँचामा धेरै परिवर्तन आउनेछ । भारतमा क्रिकेट जत्ति लोकप्रिय रहे पनि, बीसीसीआई नै जत्ति धनी भएपछि यो ढंगले चल्दैन भन्ने धेरै छन् । देशका लागि खेल्ने र आफ्नो प्रान्तका लागि खेल्ने खेलाडीमा ठूलो अन्तर ठ्याक्कै देख्न सकिन्छ, विशेषतः उसले कमाउने रकमले । गांगुली सबैभन्दा पहिले भारतीय क्रिकेटको ढाँचामा परिवर्तन गर्न चाहन्छन् ।

दोस्रो सम्भावना हो, अब भारतीय टिममा कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीको जुन दबदबा थियो, त्यो रहनेछैन । कोहलीलाई त धेरै फरक पर्नेछैन, तर शास्त्री दृश्यबाट हराउन सक्नेछन् । यी प्रशिक्षकको एउटा खराब बानी छ, ठूल्ठूला कुरा गर्ने । उस्तै दाबी पनि भयंकर विशाल गर्ने गर्छन् उनी । उनले कतिसम्म भनेका छन् भने अहिलेको जत्तिको भारतीय टिम यसअघि कहिले पनि थिएन । यसले धेरैलाई चिढाएको छ । भनिन्छ, गांगुलीलाई शास्त्री मन पर्दैन । हुन सक्छ, अब शास्त्री आफ्नो वास्तविक आकारमा खुम्चिनेछन् ।

तेस्रो सम्भावना के पनि छ भने अबका दिनमा विश्व क्रिकेटमा भारतले आफ्नो भूमिका अझ बढाउन खोज्नेछ । पछिल्लो समय विश्व क्रिकेट भारतसँगै इंग्ल्यान्ड र अस्ट्रेलियाले चलाइरहेको थियो । यी तीन देशलाई ‘बिग थ्री’ पनि भनिन्छ । भारत ‘बिग वान’ बन्न चाहन्छ । यसका लागि उससँग पैसा त थियो तर नेतृत्व थिएन । अब गांगुलीको उदयले त्यस्तो नेता पनि पाएको छ, भारतले ।

चौथो सम्भावना भने विशाल छ र यसले अझ धेरै अर्थ राख्छ । यसको सीधासीधा सम्बन्ध क्रिकेटसँग छैन, बरू यसले पूरा भारतीय राजनीतिको समीकरण फेरिन सक्नेछ । अबको एक वर्षपछि पश्चिम बंगालमा चुनाव हुँदै छ । अहिले त्यहाँ तृणमूल कांग्रेस र यसकी नेता ममता बनर्जीको शासन चलिरहेको छ ।

भारतमा पश्चिम बंगाल नै त्यस्तो राज्य हो, जहाँ केन्द्रको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले राम्रोसँगग धाबा बोल्न सकेको छैन । पश्चिम बंगालमा भाजपाको सबैभन्दा ठूलो समस्या नै मुख्यमन्त्री बन्न सक्ने व्यक्तिको अभाव हुनु हो । भाजपाले त्यस्तो व्यक्ति खोज्न थालेको धेरै भइसकेको छ, जसले ममता दिदीलाई चुनौती दिन सकोस् । सायद भाजपाले त्यस्तो उम्मेदवार पाएको छ । ती हुन्— यिनै गांगुली । गांगुली पश्चिम बंगालमा कति धेरै लोकप्रिय छन्, त्यो भनिरहनु पर्दैन । बंगालीहरू त्यसै पनि क्रिकेट भनेपछि हुरुक्क हुने खालका छन्, त्यसमाथि गांगुली जत्तिको व्यक्तित्व !


लगभग सबै भारतीय मिडियाले एक स्वरमा भन्न थालिसकेका छन्, गांगुलीकै अनुहार बेचेर भाजपा पश्चिम बंगालमा अबको सरकार बनाउन चाहन्छ । सबै घटनाक्रम हेर्दा हो नै जस्तो छ । बीसीसीआईको चुनावमै पनि गांगुलीलाई अध्यक्ष पदसम्म पुर्‍याउने काम भाजपाकै त हो ।

अझ अमित शाहको काम भन्दा हुन्छ । उनले नै गांगुलीलाई बीसीसीआईमा ल्याउन सबै प्रकारको सेटिङ मिलाएका हुन् । अहिले भारतीय क्रिकेटमा पर्दापछाडि सबैभन्दा बलियो भाजपा नै छ । शाह जे भन्छन्, भारतीय क्रिकेटमा त्यही हुने स्थिति छ । त्यसैले त उनकै छोरा जय शाह बीसीसीआईका सचिव पनि भएका छन्, जुन अध्यक्षपछि सबैभन्दा बलियो पद हो, त्यो संस्थामा ।

अहिलेका लागि चाहिँ के भन्न सकिन्छ भने गांगुली एक्लैले आफ्नो सुझबुझमा बीसीसीआई चलाउनेछन् । त्यसो भनेको अबको केही समय भारतीय क्रिकेटमा ‘दादा’ गिरी चल्ने निश्चित छ । यसैमा टिकेर कुनै दिन गांगुली भारतीय राजनीतिकै ठूलो नाम पनि हुन सक्नेछन् ।
twitter : @himeshratna

प्रकाशित : कार्तिक ९, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?