कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सकेका आमाहरूका कुरा

सावित्री गौतम

'एक्लै भएको बेला रेडियो राति उतैबाट बन्द नहुनेबेलासम्म बन्द गर्दिनँ  । बाहिरबाट सुन्दा यो घरमा मान्छे छन्, गफ गरिरहेका छन् भन्ने सोचुन् भनेर,’ म मेरी साहिली काकी सरिताले भनेको सम्झिन्छु  ।

सकेका आमाहरूका कुरा

स्याङ्जाको सेतीदोभान बजारमा बस्दाताका कुनै रात काकीले यो कुरा भन्नु भएको थियो । त्यतिबेला घरमा मान्छे कुरा गरिरहेका छन् भन्ठानेर चोरडाका घरभित्र नपस्ने भनेर काकीले त्यस्तो भन्नुभएको भन्नेबाहेक अरू कुरा दिमागमा आएको थिएन ।

बाल्यकालमा रेडियो हाम्रा लागि दुर्लभ चीज थिएन । साना भए पनि ‘बजार’ भन्न मिल्ने ठाउँमा बस्थ्यौं । बजारभरि पसलैपसल थिए । साँघुरो बजारमा छेउछाउका घरबाट लगातार रेडियो बजेको सुनिन्थ्यो, बिहान ‘उतैबाट’ खुलेदेखि राति बन्द नहुन्जेलसम्म । किराना पसलेहरूले त झन बाकसका बाकस ब्याट्री बेच्थे नै । ब्याट्री सकिने डरले थोरै समयसम्म मात्रै रेडियो वा टेपरेकर्डर बजाउन पाइने भन्ने नियम सायद बजारका कुनै पनि घरमा थिएन । पछि त सेतीदोभान बजारमा त्यहींको साना जलविद्युत् आयोजनाले गर्दा एक दिन बिराएर बिजुली पनि दिने भएपछि झन् सजिलो भएको थियो । मैले यहाँ रेडियो सुनाइबारे गफ गर्न लागेको भने होइन । आन्विका गिरीको कथा शृंखला ‘आमाले सक्नुहुन्छ’ का आमा र बुबा पात्र पढिसकेपछि उस्तै लागेका आफूले देखेका मान्छेहरूको बारेमा हो ।

‘आमाले सक्नुहुन्छ’ कथा शृंखलाकी सुत्रधार तेह्र वर्षीया माधवीले किताबभर आफ्नी आमाको कथालाई विभिन्न शीर्षकमा शृंखलाबद्ध तरिकाले भन्छिन् । माधवी आफ्नी आमाजस्तै आँटिली र दृढ छन् । उनकी आमा संगिनीहरूसँग मिलेर थोरैथोरै बचत गरेको रकमले हटियामा तरकारी व्यापार गर्छिन् । हटिया जान–आउन सहज होस् भनेर साइकल किन्छिन् र रातिराति साइकल सिक्छिन् । त्यसैमा तरकारीको ढकी राखेर हटिया पुग्छिन् । मज्जाले गोरुगाडा हाँक्छिन् । तरकारी व्यापारकै कमाइले अन्ततः उनले किराना पसल खोल्छिन् । सबैले ‘मानिआएको’ पहिलोपटक महिनावारी हुँदा छोरीलाई लुकाउने कुराको उनले विरोध गर्छिन् । मैले जे भोगें त्यो मेरी छोरीले भोग्दिन (पृ. १४९)’, मानिआउने कुरा हामी आइमाईका लागि मात्रै किन हुन्छ होला ? (पृ. १५०) ।

माधवीका बुबाले आमालाई साइकल सिकाउनेदेखि आमरूपमा ‘आइमाई’ का लागि भनेर छुट्ट्याइने सम्पूर्ण काम सहजै गर्छन् । यस्तो काम गरिदिएबापत धन्यवाद दिँदै निबन्ध लेखेकी माधवीलाई उनी हस्यौली तरिकाले ‘ती धन्यवाद दिनुपर्ने कुरा नभई मेरा आफ्नै काम हुन्’ भनेर सम्झाउँछन् । घरमा कुनै पनि लैंगिक विभेद नगर्ने पिता देखेकी माधवीलाई छरछिमेकमा, काकाको परिवारमा लैंगिक विभेद देख्दा, स्कुलमा समेत पिकनिक जाँदा ‘केटा विद्यार्थी’ लाई खेल्न कुद्न दिने र ‘केटी विद्यार्थी’ लाई तरकारी काट्न मात्रै लगाएर पिकनिकको मजा लिनै नदिने शिक्षकहरू देखेर अनौठो लाग्छ ।

यो किताब विमोचनको दिन राजनीतिज्ञ सरिता गिरीले किताबकी आमा पात्रले हटियामा गरेको व्यापारलाई तराईका बजारमा महिलाले हटियामा गरेको व्यापारसँग जोड्दै गरेको टिप्पणी गरेकी थिइन्, ‘आमाले सक्नुहुन्छ कि आमा त अझै एक कदम अगाडि बढेकी छन्, हटियाको व्यापारको हिसाब क्यालकुलेटरमा गर्न सक्ने भएकी छन् । तर तराईमा अधिकांश महिलाले क्यालकुलेटरबिनै ठूल्ठूला हिसाब गरिरहेका छन् । यस्ता व्यापारमार्फत महिलाले घरेलु अर्थतन्त्रमा पुर्‍याएको योगदानको कुनै गणना गरिएको छैन ।’


एक जना पुरानो छिमेकी आन्टी हुनुहुन्छ । धेरै वर्षदेखि नारायणगढको पुल्चोकमा उहाँको फलफूल पसल छ । अंकल बितेको केही वर्ष भइसक्यो । निःसन्तान हुनुहुन्छ । गएको वैशाखमा नारायणगढ गएको बेला देखें, आन्टी आजसम्म पनि धम्मरधुस गर्दै पुरानो ढकवाला तराजु प्रयोग गर्नुहुँदो रैछ । अचम्म मानेर सोधें, ‘डिजिटल तराजु किन नराख्नुभएको ?’ आन्टीले भन्नुभो, ‘पढ्न जान्नुपर्‍यो नि छोरी ।’ तराजुमा देखिने अंग्रेजी अंक आन्टी पढ्न सक्नुहुन्न । बढी नै हिसाब गर्नुपरे क्यालकुलेटर चलाउन कसैको सहयोग लिनुहुन्छ ।


माधवीकी आमाले पनि पहिला प्रशस्तै हिसाबकिताब बिगारेकी छन् । हिसाब गर्न नजानेकै कारण व्यापारमा उनलाई ग्राहकले ठगेका छन् । आफूले पनि ग्राहकबाट बढी पैसा लिएकोमा खिन्न भएकी छन् । उनै आमा किताब सकिने बेलासम्म त क्यालकुलेटर चलाउन सक्ने भइसक्छिन् । माधवीकी आमाजस्तै आजकलका आमाले नयाँ जमानासँगै भित्रिएका प्रविधिसँग कदम मिलाउन भरमग्दुर प्रयास गरिरहेका छन् । आजकल घरघरमा मोबाइल फोन, टीभी र वासिङ मेसिन भित्रिएका छन् । आमाहरूले अन्दाजकै भरमा फोन चलाएका छन् । रिमोट चलाएर टीभी हेरेका छन् । अन्दाजकै भरमा ‘टाइमर’ सेट गरेर मेसिनमा लुगा धोइरहेका छन् ।


जोदाहा नेपाली आमाहरू
काकीले ‘राति उतैबाट बन्द नहुन्जेल रेडियो बन्द गर्दिनँ’ भनेको सुन्ने बेला म निकै सानी थिएँ । उहाँ यस्तै २३–२४ कि हुनुहुँदो हो । अहिले काकीको त्यो भनाइको म एकभन्दा बढी अर्थ निकाल्छु । उहाँले त्यो भन्दै गर्दा हाम्रो बसोबास कुन भूगोल र कस्तो अवस्थामा थियो भन्ने पनि याद गर्छु । सेतीदोभान बजार गएर हामीले भाडामा लिएर बसेका घर हेर्छु । दुईवटा कच्ची घर थिए, एउटाबाट अर्कोमा जान सानो तीन फिट जति अग्लो– ढोका भन्नु कि प्वाल भन्नु थियो । सोच्छु ६ फिटभन्दा अग्ला मेरा बाहरू कसरी वर्षौंसम्म ती घरमा ओहोरदोहोर गरे होलान् । जोडले एकएक लात हाने गर्ल्याम्म भत्केलान्जस्ता घर । मेरी आमाको घर तनहुँ, काकीको चितवन, बुबाहरूको पुर्ख्यौली घर बागलुङ । फुपाजुको पनि उस्तै व्यापार र उस्तै ढुंगामाटोको घरमा डेरा । फुपाजुको पनि घर पर्वतको पाङ । रैथानेहरू वरिपरिका गाउँमा बस्ने । लगभग सबै बाहिरिया व्यापारीहरूले भरिएको डाँडामा भएको नाउँडाडा र आँधीखोला किनारमा भएको सेतीदोभान बजार ।

अहिलेजस्तो पाँच किलो चामल पनि उत्पादकले घरमै पु‍र्‍याइदिने चलन त्यति बेला कहाँ हुनु ? बजारभरिका व्यापारी पुरुषहरू चामल र अरू किराना सामान लिन भैरहवा र चिनी लिन वीरगन्ज आदि सहर जान्थे । घरघर डुलेर, जुटका एक–एक बोरालाई सुइरोले कोपेर चामल विचार गरेर मात्र लोड गर्थे । यसो गरीवरी फर्कँदा एक हप्ता जति लाग्थ्यो । बढीमा एक हप्ता बस्यो, फेरि जम्मा भएको पैसा बोक्यो, भैरहवा वीरगन्ज हिंड्यो । महिनाभरि सामान लिनको लागि भैरहवा–वीरगन्ज गरिरहने हूलका हूल पुरुषमध्येका पुरुषहरू मेरा बुबा, काका र फुपाजु । त्यसमाथि कहिलेकाहीं पुर्ख्यौली घरमा हजुरबा हजुरआमा भेट्न वा दसैंमा टीका थाप्न पनि जाने । हिंडेर जाँदा तीन र फर्कंदा तीन दिन गरेर ६ दिन त बाटोमै सकिने । बस्ने दिन अलग । ती दुई बजारका लगभग सबै पुरुष वर्षका धेरै दिन अनुपस्थित हुन्थे ।

गैंडाकोट बस्दा बुबा चामलका बोरा भरिएको ट्रक लिएर बेंसीसहर जानुहुन्थ्यो । बाटो राम्रो बनिसकेको थिएन । एक हप्ता वा त्योभन्दा बढी समयपछि मात्रै फर्कनुहुन्थ्यो । मान्छेले ‘गौतमजी खोइ त ?’ भनेर सोधे भने आमाले ‘पारि (नारायणगढ, जहाँ हाम्रो राइसमिल थियो) जानुभएको छ, मिलमा’ भन्नुहुन्थ्यो । अचम्म लाग्थ्यो । अहिले सोच्दा लाग्छ, बिरानो ठाउँमा, खोला किनारको सानो बजारमा एकै लातले ढल्नेजस्तो घरमा किशोरी उमेरमै बिहे गरेर भित्रिएका आमा, काकी, फुपूले आफू, छोराछोरी र व्यापारलाई जोगाउन कति तिकडम गरे होलान् । अहिले बल्ल म काकीको रेडियोवाला र आमाको बुबा ‘पारि’ मात्र जानुभएको छ भन्ने कुराको अर्थ एकभन्दा बढी पनि थिए होलान् भनेर निष्कर्ष निकाल्छु ।

‘सुत्केरीको निद्रा हुन्छ, बाक्सामाथि टाउको अड्याएर अलिकति झकाएको पाँचै मिनेट भएको हुन्छ, एक जना आएर साहुनी भन्छ ।’ फुपू, आमा र काकीबाट यस्ता किस्सा कैयौंपटक सुनिएको छ । स्याङ्जा र पर्वतका थुप्रै गाउँ हुँदै बागलुङ, बेनीसम्मका व्यापारीहरूले आफ्नो पसलका लागि चाहिने किराना समानको लिस्ट बनाएर भरियाहरूलाई पठाउँथे । स्कुलको मुखै नदेखेकी फुपू, तीन महिना मात्र स्कुल पढ्न पाएकी आमा र चार कक्षा पढ्दापढ्दै छुटाएर बिहे गरेर पठाइएकी काकीले ती लिस्ट चेक गरेर त्यसअनुसार रिठ्ठो नबिराई दिनभर दर्जनौं भारी पूरा गराएर पठाउनुहुन्थ्यो ।

त्यसबाहेक कुवाको पानी भरेर ल्याउने, खोलामा थाङ्ना धोएर आउने, वर्षौंटे छोराछोरीको स्याहारसुसार गर्ने, पकाउने, खुवाउने, स्कुल पठाउने, स्वेटर र गलैंचा बुन्ने आदि अरू अनगिन्ती काम । एकले अर्कोलाई सुत्केरी गराउने, कसैको साल झरेन भने दोकान बन्द गरेर सुत्केरी डो‍र्‍याएर पोखरा वा स्याङ्जाका अस्पताल पुग्ने । मेरा आमा, काकी र फुपू मात्र होइन ती दुई बजारभरिकै लगभग सबै महिला असाध्यै धेरै शारीरिक श्रम गर्ने मात्र होइन, मानसिक रूपमा पनि त्यत्तिकै बलिया देखिन्थे । यति गरिसकेर पनि एकदमै चल्ने व्यस्त व्यापारमाथि उनीहरूको कमान्ड उत्तिकै बलियो रहन्थ्यो । बागलुङदेखि अनेकौं हन्डर खाँदै, ठाउँठाउँमा बसाइ सर्दै, व्यापार गर्दै हिँडेका बुबाहरूलाई जोदाहा आमाहरूको साथले ऊर्जा नदिएको भए प्रगति गर्न निकै गाह्रो हुन्थ्यो भन्ने कुरामा कुनै शंका छैन ।

आन्विकाको ‘आमाले सक्नुहुन्छ’ कि आमा देख्दा नेपाली समाजका लगभग सबै घरमा रहेका यस्तै जोदाहा आमाहरूको झल्को आउँछ । सकेकै आमाहरूको बीचमा हुर्केको र आज पनि यस्तै महिला देखिरहेको कारण आमाले सक्नुहुन्छ कि आमा पात्र कतै पनि अस्वाभाविक लागिनन् । फुटपाथमा दिनभर कुटाइ र दुर्व्यवहार सहेर पनि व्यापार गरेर घरखर्च जुटाउने, रातिमा भए पनि साइकल सिक्ने, पछि बेच्न मिल्छ भनेर मजदुरी गरेको पैसाले सुन किन्ने वा दीर्घकालीन आर्थिक उन्नतिको आधारको रूपमा दोकान खोल्ने आदि सुझबुझ भएका आमा नेपाली समाजका परिचित आमा नै हुन् ।

बदलिँदा पिताहरू
अहिले पनि घर गएर हेर्दा रमाइलो लाग्छ, अत्यावश्यक परेको बेलाबाहेक हाम्रो घरमा दस नबजी बिहानको भात बसालिँदैन । बिहानभरि दसौं कप चिया खाँदै अनेकौं सामाजिक–राजनीतिक विषयमा बहस हुन्छ । बुबा, काका आमा, काकी, हामी छोराछोरी सबै जम्मा भएर गफ गरिरहेका हुन्छौं । त्यत्तिकैमा अद्वैत संस्था मान्ने काकालाई आमा भन्नुहुन्छ, ‘तपाईंका ती गुरुको पारा भएन है ! काली आइमाईले पनि बिहान उठ्नेबित्तिकै ऐना हेर्छे भनेर पो प्रवचन दिन्छन् ! के भनेको त्यस्तो ?’ काका मुसुमुसु हाँसेर भन्नुहुन्छ, ‘ती गुरु आफैंले तपाईं–हामीले जत्तिको बुझेका छैनन्, त्यसैले ।’ छोराछोरीकै अगाडि भाउजूले मलाई थर्काइ भनेर काकाले अप्ठ्यारो फिटिक्कै मान्नुहुन्न । अस्ति मात्र दसैंपछि काका म, आमा र बुबासँग बहस गर्दै हुनुहुन्थ्यो, ‘सरकारले स्यानिटरी प्याड निःशुल्क बाँडेर मात्र पुग्ने हो कि आफ्नै देशमा उत्पादन होस् भनेर पनि ध्यान पु‍र्‍याउनुपर्ने हो ?’

कहिलेकाहीं काम परेर फोन ग‍र्‍यो बुबाले उठाएर भन्नुहुन्छ, ‘आमा मन्चमा छ ।’ २०६२–६३ को आन्दोलनमा आमा, बहिनीहरू र म जुलुसमा हिँडेका दिनहरूमा बुबाले मेरा र बहिनीका छोराछोरी हेरेर घर कुर्नुभएको छ । ‘आइमाई’ हरू जुलुसमा नजाओ, हामी बाउछोरा मात्र गएर पुगेको छ भनेको सुनिएन । सुरुदेखिकै ‘ब्रह्मज्ञानी’ मेरा बाहरू पनि होइनन् तर आजको दिनमा हेर्दा आमाहरूको आवाजलाई उनीहरू नकार्दैनन् । बुबाहरूले सिक्दै र आफूलाई सुधार्दै गए होलान् । आमाहरूको घर र कारोबार धान्ने जोदाहापनसँग परिचित त थिए नै, बिस्तारै लैंगिक चेतनासँग पनि अभ्यस्त र सहमत हुँदै गए होलान् । शारीरिक रूपमा हट्टाकट्टा र आफ्नो व्यावसायिक क्षेत्रमा पनि दक्ष र प्रतिष्ठित उनीहरू आमाहरूको बलियो व्यक्तित्वको अगाडि आफूलाई कमजोर देख्छन् होला भन्ने लाग्दैन । महिला बलिया हुनु पुरुष कमजोर हुनु होइन भन्ने उनीहरूले बुझेकै छन्जस्तो लाग्छ ।

‘आमाले सक्नुहुन्छ’ कि सूत्रधार माधवीका पिता पनि त्यस्तै छन् । सुरुदेखिकै ‘ब्रह्मज्ञानी’ उनी पनि होइनन् । उनी पनि सिक्दै–जान्दै लैंगिक रूपमा चेतनशील हुन पुगेका छन् । उनी ‘आइमाईजस्तो घरको काम गर्ने’ भन्ने आफ्नै भाइलाई कडा स्वरमा भन्छन्, ‘मजस्तो भान्सामा पस्न जानेको भए हिजोको जस्तो चिउरा र गुन्द्रुक खान पर्दैन थियो ।’

पिता पात्र त्यस्ता मान्छेका लागि आफ्नै बुबा लाग्छन्, जसले घरमा बुबाले आमा, हजुरआमा, फुपू र दिदीबहिनीलाई ‘मान्छे’ को स्थान दिएको देखेर हुर्केको छ वा आज आफूले त्यो स्थान दिन सिक्दै छ । ‘वीर गोर्खाली’ को छविमा आजसम्म बाबुहरूलाई मात्र देखिरहेका कतिपयलाई माधवीका बुबा हिम्मत नभएका मान्छे लाग्न पनि सक्छ । तर सार्वजनिक जीवनमा कम सक्रिय रहनु, घरका महिलालाई हौसला दिएर आफू पृष्ठभूमिमा रहनु उनीहरूको कायरता नभई रोजाइ वा स्वभाव पनि हुन सक्छ भनेर बुझ्नेहरूलाई माधवीका पिता अस्वाभाविक लाग्दैनन् ।

बलिया आमा अर्थात् 'हर स्टोरी' का नायिका
वर्षौंदेखि अध्ययन वा रोजगारीका लागि भारतको बनारस, कलकत्ता वा उत्तराखण्डका विभिन्न सहर जाने खस–आर्य होउन् वा पहिलो र दोस्रो विश्वयुद्धमा लडेका जनजाति । वा आज खाडीलगायत विश्वका विभिन्न देशमा पुगेका नेपाली पुरुष, नेपाली समाजमा पुरुषहरूको ठूलो जनसंख्या सधैंजसो ‘एब्सेन्टी पपुलेसन’ अर्थात् अनुपस्थित जनसंख्याको रूपमा रहेको छ । घरका पुरुषको अनुपस्थितिमा महिलाले कृषि र व्यापार धानेका छन्, बच्चा हुर्काएका छन् । आफ्नो पढाइसमेत पूरा गरेका छन्, जागिर खाएका छन्, लोग्नेका वृद्ध र रोगी आमाबाबु स्याहारेका छन्, घरको सम्पूर्ण आर्थिक कारोबार र गतिविधि, बैंकसम्बन्धी कामकाज आदिमा पोख्त भइसकेका छन् । आफ्नै रेखदेखमा पक्की घर बनाएका छन् । सहकारी र महिला समूहका सदस्य छन् र त्यहीँबाट देश र विदेशसमेत घुम्न जान थालिसकेका छन् । अर्थात् उहिलेदेखि ‘सकिरहेका’ नेपाली महिलाले कत्तिको सक्छन् भन्ने कुरा यति बेला सतहमै देखिइसकेको छ । आमाले सक्नुहुन्छ त त्यसको एउटा सानो उदाहरण मात्रै हो ।

स्याङ्जाकै नाउँडाडा–सेतीदोभानको मिश्रित समुदाययुक्त बजारमा बितेको बाल्यकालका याद आउने थुप्रै रमाइला कुरामध्ये एउटा कुरा आफ्नो र छिमेकी घरमा खाइने चियाको फरक पनि हो । घरमा चिनी र चियापत्ती हालेर पकाएको चिया खाएको बानी । कहिलेकाहीं थकाली साथीहरूको घरमा गयो, मज्जाले मोही जसरी पारेको नुनिलो चिया दिन्थे । खानुपर्दा एकदमै अप्ठ्यारो लाग्थ्यो । आजकल महिलालाई केन्द्रीय पात्र, दृढ र बलिया पात्रको रूपमा देखाउँदा ‘यो त अलि बढी नै भयो’ भनेको टिप्पणी सुन्दा बाल्यकालमा आफूले ‘चिया’ भनेर स्विकार्न नसकेको थकाली साथीहरूको घरको चिया याद आउँछ ।

मैले नस्विकार्दैमा त्यो चीज चिया नहुने भन्ने हुँदैन । त्यो चियाको अर्को प्रकार हो र मेरो अस्वीकृतिको बाबजुद त्यो चिया नै रहन्छ । त्यस्तै सधैं ‘भाले बासेको’ सुनिरहेका हामीहरूलाई ‘पोथी बासेको’ सुन्न केही समय अस्वाभाविक पनि लाग्ला । तर दृढ र बलिया महिला हाम्रो समाजमा छ्याप्छ्याप्ती थिए र छन् । मात्र उनीहरूका कथा लेखिनुपर्ने जति मात्रामा नलेखिएका हुन् । अर्थात् आजसम्म पोथीहरू सुनिनेगरी बासेनन् । अब बास्न थालेका छन् र हामीलाई स्वाभाविक–अस्वाभाविक जे लागे पनि यो स्विकार्नुको विकल्प छैन ।

बाल साहित्यमा ‘लालित्य’ पढ्ने बानी परिरहेका हामीलाई किताबमा प्रयोग भएको लवज ठाडो लाग्न पनि सक्छ । चारकक्षा पढ्ने माधवीको मुखबाट ‘हर्कत’ (पृ. १९) जस्ता शब्दभन्दा उनको मुखबाट बढी स्वाभाविक सुनिने शब्द चयन गर्नुपर्ने । सौर्यमण्डल सजिलै भनेकी माधवीले कलमलाई ‘पेन’, छनोटलाई ‘सेलेक्ट’ नभनेको भए हुने । बाल्यकालदेखि नै बच्चाहरूको दिमागमा रहेको लैंगिकताका परम्परागत अवधारणा हटाउनु लेखकको मुख्य उद्देश्य हो भने बालबालिकालाई रुचिकर लाग्ने लवज र सजिला शब्दमा लेख्नको लागि मिहिनेत गर्नु पनि उत्तिकै जरुरी छ । त्यस्तै पहिलोपटक महिनावारीलाई अंग्रेजीको छोटकरी नाम ‘मिन्स’ (पृ. १३१) भनेकी माधवी र उनकी आमा महिनावारीलाई ‘पर सर्ने’ भन्दै संवाद गर्छन् । यहाँनिर लैंगिक रूपमा चेतनशील माधवीको घरमा माधवीले ‘पर सरें’ कसरी भनिन् र आमाले किन ‘पर सर्ने होइन’ भनिनन् भनेर छक्क परिन्छ । लेखकका आगामी बालसाहित्यका किताबमा यस्ता असावधानी नहोलान् भनेर आस गरौं ।

यी सबैका बाबजुद ‘आमाले सक्नुहुन्छ’ निकै थोरै मात्रामा लेखिएका–बोलिएका महिलाका कथा अर्थात् ‘हर स्टोरी’ को संग्रहमा थपिएको एउटा अर्को ‘हर स्टोरी’ हो ।’ किताबको शीर्षक त झन् ‘आमाले सक्नुहुन्छ’ नभई ‘आमाहरूले सकिरहेका छन्’ पो हुनुपर्ने । महिलाका योगदानको अभिलेखीकरण आख्यानमै गतिलोसँग भएको छैन, गैरआख्यानमा त झन् धेरै काम गर्न बाँकी छ । त्यो अभिलेखीकरण हामीजस्ता लेखनमै सक्रिय रहेका महिलाको जिम्मेवारी पनि हो । ‘आमाले सक्नुहुन्छ’मार्फत आन्विका गिरीले यो जिम्मेवारीको एउटा हिस्सा पूरा गरेकी छन् ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?