बोल्न किन डरायौ आमा ?

खै त तिम्रा कथामा कतै सुखका कुरा भेट्दिनँ ! के तिमी कहिले खुसी हुनै पाइनौ त ?
तिम्रो कथा सुन्दा लाग्छ संघर्षमै बित्यो तिम्रो जिन्दगी ।
स्वीकृति बराल

हाम्रो पालामा हामी एक छिन खाली बस्दैन थियौँ  । अहिलेका केटीहरू पटक्कै काम गर्न नसक्ने  ।

बोल्न किन डरायौ आमा ?

स्वाङ पारेको हो कि के हो ? हामी त एकाबिहानै घरका अरू उठ्नुभन्दा अघि नै उठेर आधा काम सकिसक्थ्यौँ । घाँस लिन कति परपरसम्म जानुपर्थ्यो । अरू त के कुरा घाँस काटेर फर्कंदा बच्चा जन्माएर आफैँले सालनाल काटेर घाँसको भारीसँगै बोकेर फर्कन्थ्यौँ । राति सुत्नुअगाडि घरका सबैको गोडामा तेल लगाइदिएर अनि मात्र हामी सुत्थ्यौँ । न कसैले हामी सुतेको देख्थे न उठेको । हामीले त कति गरेर घरजम चलायौँ । कहिलेकाहीँ त बच्चालाई बिहानै झोलुंगोमा सुताएर गयो आउँदा साँझै पर्थ्यो । बिचरा आची, सु गरेर त्यसमै डुबेर बसेको हुन्थ्यो ।

बच्चाले पनि भोक लाग्नेबित्तिकै कहाँ खान पाउँथ्यो र । अरू कुरा त परै जाओस् कहिलेकाहीँ त जंगलमा घाँस काट्न जाँदा बाघकै सामना गर्नुपर्ने । जाबा सर्प त कति मारियो मारियो । यत्तिकै आजका दिनसम्म आइपुगेका कहाँ हौँ र ! अचम्म लाग्छ आजकालका भुराभुरी देख्दा, एउटा काम गर्‍यो अर्को गर्न सक्दैनन् । हिम्मत नभएकाहरू । घरको सारा काम एकै जनाले गरिन्थ्यो । चुइँक्कसम्म गरिएन । त्यसै त कहाँ चल्छ र घरगृहस्थी !’

यी भनाइ मेरा हैनन्, मेरी आमा र मेरी आमाजस्तै अरू थुप्रै आमाका हुन् । कतिलाई यी कुरा किंवदन्तीजस्ता लाग्लान्, कतिलाई २० वर्षअगाडिका थोत्रा कुराजस्ता लाग्लान् । तर, हैन आज पनि थुप्रै आमा, दिदीबहिनी र छोरीहहरूको जिन्दगी यसरी नै चलिरहेको छ, चुँइक्क नबोलेर । आमाका कथा सुनिरहँदा मनमा अनेक प्रश्न उब्जन्छन् । यी कथाहरू सुनाउने मेरी आमाको कथामा म बहादुरी कतै भेट्दिनँ बरु म त लाचारी पाउँछु । किन गरेको त्यति धेरै काम आमा ? किन एक शब्द नबोलेको ? रहरले कि करले कि डरले ? डर र करले हो भने किन सुनाउँछ्यौ बहादुरी गरे जसरी र यदि रहरले हो भने हामी पनि त आफ्नै रहरमा चल्न पाउनुपर्‍यो नि !

किन अचेलका केटीहरू यस्ती र उस्ती भन्छ्यौ ? मलाई पटक्कै तिमीले गरेका कामहरू रहरले गरेकी हौलीजस्तो लाग्दैन । तिमीले तिम्रो कहानी सुनाउँदा नै मलाई कहाली लाग्छ, अझै पनि तिमीजस्ता धेरै छन् भन्दा त झन् वैराग्य लाग्छ आमा । अझै त्योभन्दा धेरै नरमाइलो त मलाई आफैँले त्यति दुःख सहेर, देखेर, भोगेर आएर पनि मैलेजस्तो दुःख कसैले गर्न नपरोस् भनेर तिमीले भन्न नसकेको देखेर लाग्छ । तिमी त भाग्यले बाँचिछ्यौ आमा भयानक दुःखका कथा सुनाउन पायौ । सम्झ त तिम्रा साथीसंगी, छोरीहरू कतिले अकालमै ज्यान गुमाए र अझै पनि गुमाइरहेका छन् । तिनले त आफ्नो कथा सुनाउन नि पाएनन् । तिमीलाई त थाहा छ नि आमा, किन भन्दिनौ तिनका कथा, मृत्युको कारण र आफ्ना कमजोरीहरू ।

भोग्नेलाई देख्ने र सुन्नेलाई भन्दा धेरै थाहा हुन्छ । तिमीलाई थाहा छ महिलाका पीर, व्यथा र अप्ठ्याराहरू । किन भन्दिनौ ? म त धन्न बाँचें अरूलाई त्यस्तो नपरोस् भनेर । किन भन्दिनौ मेरा छोरी बुहारीहरूलाई दुःख नपरोस् भनेर । तिमी मात्र बाँचेर भयो त आमा ? तिमीजस्ता कति आमाहरू गर्भवती हुँदा राम्रो स्याहार नपाएर मरे, कति सुत्केरी व्यथा लागेर मरे, कतिका बच्चा गर्भमै मरे, कति छाउपडीजस्तो कुप्रथाका कारण समाजको मूर्खता र असुरक्षाका कारण मरे । तिमीले त सब देखेकी छ्यौ, देखेकी मात्र हैन, भोगेकी पनि छ्यौ । तिमीलाई त थाहा छ नि सारा कुरा ! महिनावारी हुँदाको पीडा, गर्भवती हुँदाको पीडा, आफ्नो बच्चालाई समयमा ख्वाउन नपाउनुको पीडा, समयमा खान नपाउनुको पीडा, आफ्ना बच्चा कुपोषणको सिकार हुनुपरेको पीडा ! वषैँपिच्छे सन्तान जन्माउनुको पीडा । अनि त्यति दुःख गरेर जन्माएको बच्चा पनि अल्पायुमै संसारबाट बिदा भएको कुरा ।

खै त तिम्रा कथामा कतै सुखका कुरा भेट्दिनँ ! के तिमी कहिले खुसी हुनै पाइनौ त ? तिम्रो कथा सुन्दा लाग्छ संघर्षमै बित्यो तिम्रो जिन्दगी । अचेलका केटीलाई एउटा बच्चा हुर्काउन नि धौधौ भनेर अरूले भने पनि तिमीले भन्न सुहाउँछजस्तो लाग्दैन मलाई । तिमीले नै हामीले त कति गथ्यौँ अहिलेकालाई आराम चाहिने भनेर भन्दा अचम्म लाग्छ आमा । बुहारी माइत जान खोज्दा ससुरा र श्रीमान्भन्दा अगाडि सासू गमक्क परेको देख्दा अचम्म लाग्छ । आमाले छोरीलाई घरकाले गलतै गरे पनि ठूलो स्वर नगर्नु भनेको सुन्दा अचम्म लाग्छ । महिलाको कुरा महिलाले पहिला बुझ्नुपर्छ । तिमीले नबुझे अरूको त के आस गर्नु र खै । तिमीले त मेरो कुरा बुझिदिने कोही थिएन तिम्रो कुरा म बुझ्छु भन्नुपर्ने हैन र हामीलाई । उल्टै तिमी पो हाम्रा पालामा भन्दै वीरताको कथा सुनाए जसरी आफ्नै लाचारी प्रस्तुत गर्छ्यौ ।

तिमीले भन्दासम्म त भोगेकै कुरा सुनायौ, जे जानेको त्यही भन्यौ भनेर चित्त बुझाउन सक्छु । किनभने मान्छेले आफ्नो सोचअनुसार बोल्ने न हो तर तिम्रै पछिपछि लागेर तिम्रै कुरालाई आधार बनाएर महिलाका पीडा अनुभव पनि गर्न नसक्ने पुरुषले हाम्री आमाले ७/८ जना बच्चा जन्माएर घरको काम सबै हेर्नुहुन्थ्यो, तिमीहरूलाई केको गाह्रो भन्दै आफ्नी श्रीमतीलाई भनेको सुन्दा सहनै गाह्रो हुन्छ । कहाँबाट आयो आमा पुरुषमा यति हिम्मत ? के तिमीले सजिलै गरेकी थियौ र ? पक्कै थिइनौ । थिइनौ भने भन न आमा यस्तो बेला गाह्रो हुन्छ, माया चाहिन्छ, आराम चाहिन्छ । मैले त पाइन यिनीहरूले पाउनुपर्छ भनेर । किन भन्दिनौ आमा ? किन हामीले कति गर्‍यौं अहिलेका नसक्ने भन्छ्यौ ? हामी नसक्ने हैनौँ आमा, हामी गर्दैनौँ तिमीले गरेका जस्ता दुःख किनकि हामीलाई थाहा छ स्वस्थ शरीरको महत्त्व र तिमीले जस्तै दुःख गर्दा आइपर्ने भयावह परिणाम ।

तिमीले बताएका बहादुरीका कथाको अर्को पाटो हामीलाई राम्रोसँग थाहा छ । हामीलाई धेरै कथा थाहा छ— कुसंस्कृति र कुप्रथाका कारण सहिद भएकाहरूको जो आफ्नौ ज्यानै जाने बेलासम्म पनि चुइँक्क एक शब्द बोलेनन् । समाजले संस्कारी भनेर कमजोरीको तारिफ गरिदियो तिमी मख्ख पर्‍यौ । के दोष थियो र महिनावारीको कारण छुट्टै राखिएका कारण मर्नेहरूको ? महिनावारीले कसको के बिगारिदिन्छ र छुँदै नछोएर ज्यानै जाने गरी पर राख्नुपर्ने ? गल्ती तिम्रो हो आमा जे सिकाए खुरुक्क पत्यायौ, तिमीले आवाज उठाइदिएको भए के थाहा धेरैको ज्यान बच्थ्यो कि ? तिमीले एक शब्द प्रतिकार नगरेर हाँसीहाँसी सारा काम गरिदिएर त होला उनीहरूलाई सहज लागेको । सोचे होलान्— महिनाबारी हुँदा, गर्भवती हुँदा केही अप्ठ्यारो हुँदैन, किनकि तिमीले आपत्ति कहिले जनाइनौ । किन बोलिनौ आमा, रहरले कि करले कि डरले ? तिमी त अझै पनि बोल्दिनौं । के तिमीलाई तिमीले बाँचेकै जीवन सुन्दर लागेको थियो ?

गर्भवती भएको बेला गरिएका काम, सुत्केरीमा नगरिएको स्याहार र जीउले थेग्नै नसक्ने कामका कारण कतिको पाठेघर खस्यो, कति महिला प्रसव पीडा सहन नसकेर मृत्युको मुखसम्म पुगे, कति महिला पाठेघर कुहिएर गनाउँदासम्म कसैलाई बताउन नसकेर चुपचाप बसे, कति बच्चा कुपोषणका सिकार बने, कति मरे यी कुराहरू पो बताउनुपर्छ । किन बताउँदिनौ यी कुराहरू ? बताए पो थाहा हुन्छ आमा । तिम्रा कथा सुन्दा लाग्छ तिमी त भाग्य बलियो भएका कारण मात्र बाँचेकी रहिछौ । तिमी मात्र हैन तिमीजस्ता थुप्रै महिला अझै पनि भाग्यकै भरमा जिन्दगी दाउमा लगाएर हिँडिरहेका छन् ।

दुःख त तिमीले धेरै गर्‍यौ, गरिनौ त म भन्नै सक्दिनँ तर बिन्ती आफ्ना दुःखका र लाचारीका कथालाई वीरताको कथा जसरी नसुनाऊ । हाम्रो पालामा हामी यस्ता थियौँ, यति गर्थ्यौं अहिलेकाहरू केही गर्दैनन् नभन । हामी हाम्रा काम र कर्तव्य देखेर काँप्दा पनि काँप्दैनौं र डराउँदा पनि डराउँदैनौं तर तिम्रा कथा सुनेर चाहिँ तर्सन्छौं । घरीघरी मनमा एउटै प्रश्न आउँछ— आफ्नो वास्तै नगरी किन गरेको, करले कि रहरले कि डरले ? आफू नै नरहे के अर्थ भयो ?

आफू पनि स्वस्थ भएर अरूलाई स्वस्थ रहन सिकाउन पाए पो राम्रो ! समपर्णमै मात्र जिन्दगी बिताउनु पनि त राम्रो कुरा होइन । पक्कै पनि तिमीलाई लाग्यो होला घर संस्कार, संस्कृतिलाई जोगाउनुपर्छ । त्यसैले नारीले पीडामा पनि मुस्कुराउनुपर्छ, सक्दासम्म गर्नुपर्छ । तिमी कर्तव्यनिष्ठ भयौ होला तर के तिम्रो कर्तव्य त्यति मात्र थियो त । मैले भोगेको दुःख मेरा छोरी बुहारीले भोग्नु नपरोस् भनेर आवाज किन नउठाएको आमा ? तिम्रो सबैभन्दा महत्त्वपूर्ण कर्तव्य त त्यो थियो नि । किन नबोलेको डरले कि रहरले ?

तिमी डरायौ होली केही बोले संस्कृतिविरोधी, समाजविरोधी भन्लान् कि भनेर । डरायौ होली घरबाट निकालिदिन्छन् कि भनेर ! तिमी पक्कै पनि डरायौ आमा त्यसैले त केही बोलिनौ तर अब त सुनाऊ तिम्रा जमानाका अन्यायको कुरा, असमानताको कुरा, तिमीलाई मन दुखेको कुरा, चित्त नबुझेको कुरा । हामी छौँ नि तिम्रो साथमा ।

तिमीजस्तै हामी पनि केही नबोलेर बस्ने हो भने भोलि हाम्रा छोरी चेली पनि यही सानातिना कुरामा अल्झिनुपर्छ । त्यसैले तिम्रो बाटौ पटक्कै पछ्याउन मन छैन । नरिसाऊ आमा । हामीलाई त अधिकार प्राप्त गरेर समाजमा सम्मानका साथ बाँच्न मन छ, दिल खोलेर हाँस्न मन छ । जिन्दगीको तिमीले नहेरेको र नदेखेको पाटो हेर्न र जान्न मन छ । घरभित्र मात्र हैन घर बाहिर पनि छुट्टै संसार छ आमा, खुला आकाशमा उड्न मन छ । कति त कुसंस्कार, कुप्रथालाई छोडेर कताकता पुगिसके तर कति अझै तिमीले बाँचेकै जीवन बाँच्दै छन् । बाँचेकै त के भन्नु खै, धेरै अझै दुःख सहँदै, पटकपटक मर्दै छन् ।

जति दुःख संकट दिए पनि तिमी चुँइक्क नबोली बस्यौ । अब नबस । घरभित्र मात्र हैन, यो कुरा संसारलाई बताउनु छ । सुन्दर संसार बनाउनु छ जहाँ संस्कार र संस्कृति जगाउने ठेक्का नारीको मात्र नहोस् र त्यही संस्कार र संस्कृतिको नाममा अन्याय
नहोस् ! हामीलाई पनि घरबाहिर जाँदा घरभित्रको तनावले नपछ्याओस्, घरभित्र बस्दा केही बन्ने प्रेरणा मिलोस् । अनि पो जिन्दगी जिन्दगीजस्तो हुन्छ ।

तिमीले भोगेका दुःख अब कथामै सीमित रहून् । कसैले त्यस्तो कथा सुनाउनै नपरोस् । कसैले पनि अरूको रहर पूरा गर्दागर्दै आफ्नो रहर मार्नु नपरोस् । संसार जित्न सक्ने नारीहरूले आफ्नै घरभित्र हार्नु नपरोस् । यति हो आमा हामीले चाहेको । गलत हो र ? चाहेर मात्रै हुँदैन चाहेको कुरा व्यक्त नगरी थाहा हुँदैन । त्यसैले बोल्न जरुरी छ । चाहे संस्कृतिविरोधी भनून्, चाहे हिम्मत नभएका भनून्, अरूले जे भनून् आमा तिमीचाहिँ केही नभन्नू । किनभने यो तिम्रो पाला हैन यो हाम्रो पाला हो । तिमीले हाम्रा लागि जस्तो संसार तयार गरिदियौ, हामी त्यही संसारमा संघर्ष गर्दै छौँ र अब आउने पुस्ताका लागि कस्तो संसार तयार पार्ने हो त्यसमा लाग्छौं ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?