कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अमेरिकी बाख्रागोठमा दिदी पीके चौधरी

देवेन्द्र भट्टराई

यो भाग्य हो कि सपना, म भन्नै सक्तिनँ...’ अनि जोडजोडले हाँसे भिनाजु जेब काक्रिन । जेब नजिकै लिसोझैं टाँसिएकी थिइन्, दिदी प्रेमकुमारी चौधरी अर्थात् पीके । यो अजबगजबको कथा सुरु हुन्छ— झापाको जामुनखाडी, सुरुंगा छेउछाउबाट ।

अमेरिकी बाख्रागोठमा दिदी पीके चौधरी

आजभन्दा ३० वर्षअघि उमेरका २५ वर्षे जेब काक्रिन अमेरिकी स्वयंसेवी (पिस्कोर) बनेर पूर्वी नेपालको झापा पुगेका थिए । नेपाल बैंक लिमिटेडको सघन बैंकिङ कार्यक्रममा साना किसानलाई ऋण सहयोग दिन जेब खटिएका थिए । उनी कुहिरे टाइपको नेपाली बोल्थे, सुरुंगा आसपासका झुपडी पसलमा चिया–चना खाँदै टहल्थे र फुर्सदमा नजिकै माइखोलासम्म पुगेर बाँकटे हानिरहन्थे ।

साना किसानको समूहलाई ऋण दिने खासखुस हल्ला बढिरहेका बेला एक दिन बैंकमा एउटी नवयौवना आइन् । र, सीधै अफिसर जेब काक्रिनका अघि उभिएर सोधिन्— के हामीलाई ऋण दिनुहुन्छ ?

‘त्यो ऋण माग्न आएकी कालीकाली तर राम्री केटीले मेरो आँखामा आँखा जुधाएर कुरा गरेपछि म त भुतुक्कै भैहालें नि,’ फिल्मी कहानीका नायकजस्ता लाग्ने जेब सम्झन्छन्, ‘मैले यताउति नहेरी त्यो केटीका आँखैमा हेरेर जवाफ दिएँ— दिन्छु नि ।’


तर, यसरी ‘दिन्छु’ भने पनि दिनलाई त्यति सजिलो भने थिएन । भोलिपल्ट ती युवती फेरि बैंकमा आइन् । अनि जेबले फेरि आँखामा आँखा जुधाएरै सोधे, ‘तपाईं के गर्नुहुन्छ ? केका लागि ऋण दिने ?’

केटीले भनिन्, ‘मेरो आमा किसान हो, मैले एसएलसी गरेकी छु । अब भने आफैं सानोतिनो व्यापार गरौं कि भनेर सोचेकी छु ।’ यो जवाफ सुनेपछि जेब ऋणीको घर हेर्न बैंकबाट निस्किए । किनभने घर नहेरी र परिवारसँग कुरा नगरी ऋण दिन मिल्दैनथ्यो । केटीको घर जामुनखाडी नजिकै रहेछ । अनि कुरा मिल्यो पनि, ऋण सदर भयो । ४ जना साथीको समूहले ३ हजार रुपैयाँ ऋण पाए । कारण र उद्देश्य पनि स्पष्ट थियो— कोही सुँगुरपालन गर्ने, कोही चिउरा बेच्ने अथवा कोही बाख्रापालनमा लाग्ने ।


यसरी सबै कुरा ‘सदर’ भए पनि जेब ती युवतीलाई दिनहुँजसो बैंकमा बोलाइरहन्थे । कहिले कुनै कागज मिलेन भनेर, कहिले सबै कागज मिल्यो भनेर । उसबेला आँखामा आँखा जुधाएर कुरा गर्ने त्यो केटी अरू कोही थिइनन्, उनै दिदी प्रेमकुमारी चौधरी अर्थात् पीके थिइन् । ती हिजोका मगनमौजी लोन–अफिसर पनि अरू कोही थिएनन्, बरु आँखैसामु आफ्नो ठूलो भुँडी हल्लाउँदै हाँसिरहेका आजका भिनाजु जेब काक्रिन थिए ।

अमेरिकी राजधानी वासिङ्टन नजिकैको राज्य मेरिल्यान्डभित्रको यो बस्तीमा कुनै चाडपर्वको छेक परेको हो कि झैं लागिरहेको छ । दसैं–तिहारको नोस्टाल्जिया बोकेर डीसी, भर्जिनिया, पेन्सिलभेनिया, बाल्टिमोर वरपरका नेपालीहरू हूल बाँधेर आइरहेछन् । उनै पीके दिदी र जेब भिनाजुको घरबास नजिकै आएपछि कोही बाख्राखोरमा छिर्छन्, कोही सुँगुर हेर्न जान्छन् । कुखुरा, हाँस, तित्रा रोज्नेहरू पनि उत्तिकै भेटिन्छन् ।

दसैंको मुख पारेर जरेट्सभाइल पाइक, मोंक्टनस्थित ‘दिदिज् फार्म’ मा छिर्नेबित्तिकै हँसमुख भिनाजु जेब काक्रिन बाख्रागोठाबाट बाहिर आए । हामीले आफ्नो परिचय दिएपछि जेबले आफ्नो ठूलो भुँडीमा टाँसिने गरी गम्लङ्ग अँगालो हाल्दै मायाले भने— ओहो, मेरो ससुराली गाउँका साला केटाहरू पो आएका रहेछन् । कत्रो खुसीको कुरा ! आई एम सो ह्यापी, द्याट यु केम फ्रम माई ससुराली गाउँ... !

यो बातचित चलिरहँदा कोही डीभीको चक्करमा परेर अथवा कोही श्रीमतीको परिबन्दमा फँसेर केही वर्षअघि अमेरिका पुगेका भानिजहरू प्रमोद (लारुम्बा) र सुवास (आँगन) साथैमा थिए । अनि जेबले हामीलाई बाख्रागोठ नजिकैको आफ्नो घरमा लगे, ९३ वर्षीय बाबु फ्रान्सिसलाई हाम्रो परिचय गराए । उनकी दिदी, फुपू, सानिमा, माइजू सबैलाई चिनाए— नेपाली मिजासमा ।

चिनाजानी भैरहँदा दिदी पीके भने कुखुरा समात्न खोरभित्र हाँप र झाँप गरिरहेकी थिइन् । ‘एउटा कुखुराको त्यही २५/३० रुप्पे हो भाइ, यहीं बनाइतुल्याइ गर्ने ठाम पनि छ । खसी भने दसैंको छेक भएकाले सबै बुकिङ भैसक्यो । नयाँ लट भने फूलपातीको दिन मात्रै आउला है,’ दिदीले सुनाइन् ।

जामुनखाडीको चौधरी बोलीमा अम्रिकाने लवज केही मिस्सिएको रहेछ । तैपनि डलर भन्नुभन्दा अझै ‘रुप्पे’ भन्नुमा स्वाद लिइरहेकी थिइन् दिदी । दिदीको फार्ममा खसीबोका पेन्सेलभेनिया स्टेटबाट आउने रहेछ, कुखुरा केन्टुकीबाट । बाख्राका ससाना पाठापाठी आए भने ६ महिनाजति पालेर बिक्रीमा पठाइन्छ । धेरैजसो त दमकको बुधबारे हटियाजस्तो— खसीबोका ल्यायो, तु. बेचिहाल्यो ।‘भाइ, कुरो गर्‍यो कुरैको दुःख भन्छन् नि,’ दुइटा कुखुरा समातेर सरसफाइमा लागेकी पीके दिदी बोलिरहेकी पनि थिइन्, ‘२०४५ सालतिर सुरुंगाको बैंकले साना किसानलाई ऋण दिन्छ रे भन्ने सुनेर त्यहाँ गएकी थिएँ । आखिरमा त्यही ऋण दिने मान्छेको जिन्दगीकै साँवाब्याज बनेर यहाँसम्म आइपुगें । यो भाग्य पनि अनौठो चीज रहेछ भाइ ।’

उसबेला प्रेमकुमारीको सानो व्यापार भने चिउरा खरिदबिक्रीको थियो । उनी होलसेलमा १० रुपैयाँ केजी चिउरा किनेर खुद्रा १२ रुपैयाँमा बेच्थिन् । अलिक धेरै चिउरा किन्यो भने ८ रुपैयाँमैं एक केजी चिउरा आउँथ्यो, उनले त्यसैका लागि ऋण लिएकी थिइन् । किस्तामा बैंकको ऋण तिरिसक्न झन्डै दुई वर्ष लाग्यो, अनि भने साँच्चिकै ‘लभ’ पर्‍यो । ‘एक दिन मलाई जेबले सोधे— तिमीलाई अमेरिका जान मन लाग्छ ?’ प्रेमकुमारी कुखुराको जाँते पखाल्दै गर्दा मायामा नोस्टाल्जिक बनेकी थिइन् । यो आफैंमा अचम्मको प्रश्न थियो । जामुनखाडी वरपरको गाउँठाउँ र नजिकै बिर्तामोडबाहेक काठमाडौं सहर पनि पत्तो नपाएकी प्रेमकुमारीलाई यो झट्का लाग्ने प्रश्न थियो ।‘जान त मन लाग्छ नि । तर, कता हो अमेरिका ? के कसरी जाने, केही थाहा छैन,’ उनको जवाफ थियो । फेरि जेबले मन चोर्ने तरिकामा भनेछन्— मलाई पनि तिमीलाई अमेरिका लगेर मेरो परिवार भेटाउने मन लागेको छ, आमाबालाई भेटाउन मन छ ।

अनि भने प्रेमकुमारीको प्रेम चञ्चल बन्न थाल्यो । रातारात गरेर उनी काठमाडौं आइन् । पर्यटक भिसाका लागि अन्तर्वार्ता दिइन् । तर, अमेरिकी भिसा मिल्न सकेन । अब अर्को उपाय लगाउनुपर्ने भयो । तब जेब र प्रेमकुमारीले कानुनी बिहा गरे । २०४७ सालमा जामुनखाडी गाउँमा बाजा बजाएरै बिहा गरेर देखाए । त्यसपछि भने उनले भिसा पाइन् र आइन् अमेरिका श्रीमान् जेब काक्रिनका साथमा । अनि त जिन्दगीको कुरै अर्को भयो ।

सुरुमा आएर जेब–पीके बाल्टिमोरकै फस्टन भन्ने ठाउँमा बसेका थिए । पीकेका सासू–ससुरा पनि साथै थिए । सुरुमा अंग्रेजी बोल्न नसक्दा इसाराका भरमा पीकेले घरधन्दा धानेकी थिइन् । सुरुंगाको कन्काई माविबाट एसएलसी गरेकी पीके अंग्रेजी बुझ्थिन् मात्रै मुस्किलले, फर्काउने बेलामा जिब्रो लाटिन्थ्यो । अमेरिकामा कम्युनिटी कलेज गएर एक वर्षजति अंग्रेजी भाषाको कक्षा लिएपछि मात्रै उनको बोली फुट्यो ।

पीकेलाई सासू–ससुराले साह्रै माया गर्थे । जेब भने ‘ट्री फर द फ्युचर’ भन्ने परियोजनामा देशदुनियाँ घुमिरहन्थे । रूख रोप्ने कार्यक्रम लिएर उनी इन्डोनेसिया, फिलिपिन्स, भारत, नेपाल (दाङ) गएर रूख रोप्दै घर फर्कने गर्थे । पीकेले भने आफ्नै बलबुतामा अमेरिका आएको एक वर्षमै ड्राइभिङ लाइसेन्स लिन सकिन् । अनि बेकरी आइटमको पसलमा काम थालिन् । वेयर हाउसमा पनि काम गरिन्, वायरलेस कम्युनिकेसनका भरमा प्याकिङका काम गर्थिन् । अनि फेरि १२ वर्षजति केही काम गरिनन् । त्यसबीचमा मेरी र टामस भन्ने छोराछोरी जन्मिए, हुर्किए । आज छोराछोरी २१, २२ वर्षका भए । यीमध्ये छोरो नेपाल जानै चाहँदैनन् भने छोरी नेपाल भनेपछि मरिहत्ते गर्छिन् ।

‘मेरो श्रीमान्को परिवार पनि पहिले कृषक थियो । गाईगोरु निकै थिए । खेती ठूलो थियो । त्यही भएर किसानीमा मन मिल्यो,’ बर्मा गए कर्मसँगै भनेझैं अमेरिका आएर पनि सुँगुरलाई दाना, कुखुरालाई चारो दिइरहेकी पीकेले लगातार आफ्नाबारे भनिरहिन्, ‘म नेपालमा पनि किसानकै छोरी हुँ । यहाँ आएर पनि यस्तै माटोसँग जोडिएको काम गर्न मन लाग्यो ।’

पीके खसीबोका, कुखुराको व्यापारबाहेक हाउस क्लिनिङको काममा व्यस्त हुन्छिन् । ४ वर्षअघि थालेको फार्म हाउस त साइड–जबजस्तै हो उनका लागि । झन्डै ६ करोड रुपैयाँमा किनिएको १० एकड जमिनमा बाख्राफार्मबाहेक खेतीपाती पनि हुन्छ । यहाँ मकैबाली भर्खरै उठाइएको छ, अब गहुँ लगाउने कुरा छ । अझ स्वादको कुरा के छ भने पीके दिदीले बाख्राका बड्क्यौंला थुपार्ने ठाउँमै पूर्वी नेपालबाट ल्याएको अकबरे खोर्सानी पनि रोपेकी छन् । फार्ममा खसी–कुखुराको सिकार गर्न आउने नेपालीहरू अकबरेको बोटमा ‘सेल्फी’ लिन खुबै मन पराउने रहेछन् ।

बाख्रा फार्ममा पिकनिक खाने बहानामा नेपालीको हूल आइरहन्छ । कतिपय मादल लिएर आउँछन्, रातभर मादलको तालमा नाचगान चलिरहन्छ । सात समुद्र पारको यो बिरानो माटोमा ‘सालको पात टपरी बुनेर’ को भाकामा नेपाली दाजुभाइ नाचिरहँदा पीके–जेब दिदी–भिनाजु उसैगरी दंगदास पर्ने गरेका छन् ।

‘ए पीके दिदी, खसीको आन्द्राभुँडी पकाइदिनुस् न है, अकबरे हालेर...’ यसो भन्दै फर्माइस् पनि आइरहन्छ । अनि झनै आनन्द मान्छिन् पीके । भन्छिन्— त्यसबेला उही आफ्नै जामुनखाडी पुगेजस्तो लाग्छ ।

‘खोइ भाइ, यो सबै भाग्य त होला नि । मैले चिताएकी पनि थिइनँ । म एकदमै खुसी छु । मैले भनेजस्तो श्रीमान् पाएँ । जेबले अहिलेसम्म एउटा वचन लगाएर बोलेको छैन । बरु म पो गाली गर्छु । घरमा भात पकाउन भ्याइएन भने किन पकाइनस् भनेका छैनन् । जे हुन्छ, पाउरोटी–चिउरा खाएर चुप लागेर सुत्छन्,’ पीके दिदीसँग सबैभन्दा ठूलो खुसीको कुरा छ ।

बाख्रा–कुखुराको गोठधन्दा सिध्याएर नजिकै आएका थिए— भिनाजु जेब काक्रिन ।

‘सबै नेपाली केटी शिर निहुराएर बोल्छन्, ठाडै बोल्नै सक्तैनन् । यो केटी भने कसरी आँखा जुधाएर ठाडै बोल्न सक्छे ? त्यही भएर मलाई यो केटी मन पर्‍यो,’ फेरि जेब सुरुंगा–डेजमा फर्किएका थिए ।

आज भने उही पीकेका सामु जेब आँखा झुकाएर बोल्ने रहेछन् । पीकेको मायाले गलक्कै गलेका रहेछन् जेब । ‘म आफूलाई एकदमै भाग्यमानी मान्छु । पीकेजस्तो केटी नेपाल, अमेरिका कतै पनि पाउँदिनँ । नेपालकै सबैभन्दा राम्री केटी हो ऊ । त्यही भएर मैले टिपेर ल्याएको,’ यति भनिसक्दा भिनाजु जेबको ठूलो भुँडी हल्लिएको देखिन्छ, अट्टाहाससँगै ।

जेब ससुराली गाउँ जामुनखाडी निकैपटक पुगेका रहेछन् । ७५ वर्षीया सासूआमा नेत्रकुमारी चौधरी पनि २ पटक अमेरिका आएकी रहिछन् ।

‘पीकेको आमाबुबा एकदम गरिब थिए । तर, घर सफासुग्घर थियो । उनीहरूमा आत्मसम्मान निकै थियो । ती एकदमै दयालु, मायालु थिए । जीवनलाई सकेसम्म राम्रो बनाउने प्रयत्नमा थिए उनीहरू,’ जेब सम्झन्छन्, ‘म निकै आँट गरेर र राम्रो मुखले छोरी माग्न गएको थिएँ । उसकी आमा पहिले त रिसाएकी थिइन्, कुहिरे ज्वाइँ भनेर । छोरी नदिएको भए भागिन्थ्यो होला कि सायद... ।’

त्योबला डेटिङ न सेटिङ । यसो कतै सँगै निस्कियो त कुरा काट्न थाल्ने रहेछन् । ‘ओहो, यो कुहिरे त सल्केछ कि क्या हो भन्थे । अनि म खुम्चिएरै बस्थें,’ मीठो नेपालीमा जेब भन्छन् । यत्ति हो, कहिलेकाहीँ समूहको पिकनिकमा जेब जान्थे । त्यो हूलमा पीके पनि हुन्थिन् । टाढैबाट मस्कामस्की गर्‍यो, बस !


जेबलाई तराई–मधेसका थारू, चौधरीहरूको थोरतिनो कथा पनि थाहा रहेछ । स्थानीय जमिनदार र धनीमानी चौधरीहरू कसरी गरिब बन्दै गएका हुन् भन्ने दारुण कुरो छ यो कथामा । ‘मैले भेट्दासम्म मेरी सासूआमाका कानका लोती माथिदेखि तलसम्म छेडिएको थियो । दुवै कान लच्कने गरी सुनका गहना ढाकिएका थिए । पछिपछि ती कानमा छेडिएका दुलाहरू मात्रै बाकी रहे, सुन भने थिएन,’ सामु झुन्ड्याइएको एउटा रंगीन चित्र बयान गरेझैं जेब भनिरहेका थिए, ‘मेरा ससुराबा पनि राम्रै किसान थिए । थुप्रै बिघा जमिन थियो । पछिपछि पहाडतिरबाट मान्छे आउँदै गए, सस्तोमस्तोमा जमिन लिँदै गए । मेरा ससुराली बर्सेनि गरिब झन् गरिब हुँदै गए ।’

मेरिल्यान्ड राज्यमैं जन्मे–हुर्केका जेबले बाल्टिमोरकै विद्यालयमा पढे, कोर्नेल युनिभर्सिटीमा पढे । पढाइपछि ‘अरू मान्छेलाई सकेको सेवा दिनुपर्छ’ भनेर आफूखुसी उनले स्वयंसेवा रोजेका थिए । एउटै लटमा पिस्कोर स्वयंसेवी बनेर जेबसँगै १० जना नेपाल आएका रहेछन् । उनीहरू त्यसबेला डुम्रे, चितवन, उर्लाबारी, सर्लाही सबैतिर गएका रहेछन् । सुरुमा काठमाडौं, गोदाबरीमा नेपाली भाषाको तालिम लिएपछि जेबले भने हेटौंडामा एउटा परिवारसँग बसेर भाषा सिकेका रहेछन् । ‘अनि म अवसर र भाग्यले तानिएर सुरुंगा पुगें, अढाई वर्ष त्यहाँ बसें । त्यसपछि पीकेलाई साथमा लिएर यता आएँ,’ जेबले सुनाए ।

भिनाजु जेब ३० वर्षअघिको सुरुंगा सम्झनेबित्तिकै हुरुक्क हुन्छन्, अझै पनि । ‘कति राम्रो सानो गाउँ थियो सुरुंगा । त्यहाँ बिजुली थिएन । गाडीहरू धेरै थिएनन् । बिहानै कुखुराले बासेर उठाउँथ्यो । परपरबाट मिल चलेको आवाज सुनिन्थ्यो— पुकपुक, पुकपुक..,’ जेब एक निमेषमा सम्झिरहेका थिए ती दिन, ‘मनसुनका बेलामा खरको छानोबाट चुहिने पानीका थोपा आफैंमा मीठो संगीतजस्तै लाग्थ्यो । पछि धान काट्ने बेलामा त्यस्तै रमाइलो पहेंलपुर बारी देखिन्थ्यो । म सुरुंगाको दसैं–तिहार पनि खुबै सम्झन्छु । पिङ र खसी सम्झन्छु । सुन्दर हरियाली धानखेत सम्झन्छु । लक्ष्मीपूजा सम्झन्छु । झिलिमिली बत्ती सम्झन्छु । गर्मी सिजनमा रातभर पंखाले हम्कँदै बाटातिर टहलिएको पनि सम्झन्छु ।’

जेब सुरुंगावासी राम मैनालीकहाँ डेरा बस्थे । मैनाली सडक बनाउने निर्माण व्यवसायी थिए । नजिकै चियापसलमा गुरुङ्नी दिदी थिइन् । उनको सानो घुम्ती थियो । गुरुङ्नी दिदीलाई निकै दुःख थियो । उनलाई अलिकति भिटा किनिदिएर घर बनाइदिएका रहेछन् जेबले । ‘हो, कृष्णमाया गिरी (गुरुङ) दिदीले मलाई निकै माया गर्थिन् । अहिले पनि सुरुंगा बजार मास्तिर ती दिदीको घर छ । म पछि पनि २००६, २००९ मा सुरुंगा गएँको थिएँ । त्यो आफ्नो ठाउँमा पुग्दा झन्डै रोएको थिएँ म,’ भिनाजु भावुक बनिरहेका थिए, ‘तपाईं झापा जाँदा सुरुंगा गयो भने मेरो साथीभाइ, गुरुङनी माइली दिदीलाई भन्दिनू— मैले खुबै सम्झेको छु । मिस भैरहन्छ । सबैले चिन्छन् मलाई सुरुंगामा ।’

अनि सुरुंगा बस्ने राम मैनाली र ओलीहरूको सम्झना गर्दै थिए जेब । नारायण ओली, कैलाश लिम्बू, गोविन्द जोशीको नाम लिंदै थिए । सुरुंगा बैंकका त्यसबेलाका म्यानेजर युवराज भण्डारी, केदार पोखरेल, लामिछाने सबैलाई सम्झेका छन् उनले । ‘महिनाको ३ सय रुपैयाँ मेरो कोठाको भाडा थियो,’ उनी सम्झन्छन्, ‘त्यसबेला १ डलरको २८ रुपैयाँ थियो । जोशीजीकहाँ मासुभात खाएमा महिनाको ५ सय रुपैयाँ तिर्नुपर्थ्यो । म भने शाकाहारी हुन्थें, पैसा जोगाउन । दालभात, नुनखोर्सानी, दही, प्याज... ओहो, कुरा नगरौं ।’
३० वर्षअघिको कुरा हो यो । तर, नशा कस्तो बनेको रहेछ भने जेबलाई अहिले पनि कम्तीमा हप्तामा एकचोटि अघाउने गरी दालभात खानैपर्छ । जेबलाई आफ्नो फार्ममा नेपाली आउँदा साह्रै खुसी लाग्छ, किनभने यसमा उनको सुरुंगा–कनेक्सन छ । ‘योभन्दा बढी मेरी बूढी प्रेमकुमारीले यता टाढासम्म केही माइती चेली भेट्न आएको सम्झन्छे, मलाई खुसी लाग्छ,’ भिनाजु जेब बेलाबेला कविझैं सुनिन्छन् ।

रूख रोप्ने अभियान र अरू स्वयंसेवा गरेर संसारका निकै देश घुमेका जेबका लागि नेपाल–नेपालीजत्तिको हार्दिक कोही छैन, कतै छन् । भन्छन्, ‘नेपाली परिवारमा जस्तो मज्जाको जीवन संसारमा कहींकतै छैन । अमेरिकाले जो नेपाली यहाँ आउन चाहे पनि भिसा दिए हुन्थ्यो भन्ने लाग्छ ।’

बिरानो माटोमा दिदीभिनाजु भेटिंदा समयको ख्याल थिएन । छिनभरमै दिदी पीके नजिकै राखेको गल्फ–कार्ट (ट्रली मेसिनजस्तै) मा बसिन् र मकै ढोडले भरिएको बारीमा ट्रली कुदाइन् । निकै पर पुगेर बारीमा फोहोर फाल्दै ट्रली घुमाइन् । ‘यो जीवन के होला दिदी ?’ ट्रलीमा सँगै बसेर बारी–कान्ला कुदिरहेका बेला पीके दिदी झस्किएजस्तो गरिन्, ‘खोइ भाइ, नो आइडिया । जीवन यही हो भनेर आइडिया बनाउन थालेको भए म सायद यहाँ आउने थिइनँ कि ?’

बारीमा मल थुपारेर फार्मको किचेनमा पुग्दा भिनाजु ससुराली गाउँका नेपाली केटाले पकाएको कुखुराको सिकार चाख्दै थिए । ‘मीठो रहेछ, तर अलिक चाम्रो बनेछ । तिम्री दिदीको कुखुरो अलिक बूढो थियो कि ?’ अनि भिनाजु दिदी पीकेतिर हेरेर फेरि अट्टहास गरे । त्यही मौकामा भिनाजुलाई सोधियो, ‘यो जीवन के होला जेब भिनाजु ?’

‘जीवन के हो ? मलाई केही थाहा छैन । जीवन बनाउने कुरा होइनजस्तो लाग्छ, जीवन पाउने कुरा बढी होजस्तो लाग्छ । केही भाग्यको अंश पनि होला,’ यति भनेर भिनाजु केही छिन रोकिए । अनि एउटा कथा हाले, गुरुपुरोहित शैलीमा ।

‘एउटा मान्छेले हरेक दिन भगवान्को प्रार्थना गर्दै भनेछ— हे भगवान्, मलाई कुनै चिठ्ठा जिताइदिनुस् न, प्लिज । आज पनि त्यही भन्छ, भोलि पनि फेरि भन्छ... प्लिज । एक दिन भगवान् उसको सामु आएछन् र, भनेछन्— ए मान्छे, लटरी जित्नका लागि तिमीले एउटा टिकट त किन्नैपर्छ । सुरुमा टिकट त किन... ।’

हो, जीवन भन्नु यही हो कि ? केही प्रयास त गर्नैपर्छ, प्रयत्न हुनैपर्छ । नभए कसरी केही पाउन सकिएला ? सायद भगवान्ले मलाई प्रेमकुमारी भेटाइदिएका होलान् । तर, यसका लागि म नेपाल गएको थिएँ नि त, अनेक चुनौती बेहोरेर । हो, यही हो जीवन ।
सायद यो मैले काटेको त्यही लटरी टिकट हो, नेपाल जाने निर्णय । अनि मेरो चिठ्ठा हो— पीके चौधरी, जामुनखाडी ।
[email protected]

प्रकाशित : कार्तिक २, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?