कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१.५९

हिमेश

दौडमा अलिकति पनि रुचि भएकाले भन्ने गर्छन्, कम्तीमा एकपल्ट त जीवनमा म्याराथन दौडेर पूरा गर्नैपर्छ । समयको चिन्ता कहाँ छ र ? ६ घण्टा लागोस् अथवा १२ घण्टा नै । एकचोटि न एकचोटि म्याराथन पूरा गर्नेको शान नै बेग्लै हुने गर्छ । खेलकुदको माध्यमबाट मानिसको सबैभन्दा ठूलो शारीरिक परीक्षा नै म्याराथन हो । आखिरमा एकैचोटि ४२.१९५ किलोमिटर दौडिनु भनेको त एक प्रकारले दुस्साहस पो हो । तर यही दुस्साहसमा रमाउन खोज्ने पनि त उत्तिकै हुने गर्छन् ।

१.५९

नेपालका पुराना म्याराथन धावक अर्जुन पण्डितले एकपल्ट आफ्नो अनुभव सुनाउने क्रममा भनेका थिए, प्रत्येकपल्ट उनले म्याराथन दौड पूरा गर्दा मुखमा काँचो रगत बगिरहेको अनुभव गर्छन् । यस्तो अनुभव उनलाई केही दिनसम्म भइरहन्छ । स्वास्थ्य विज्ञानको भाषामा भन्दा यस्तो सम्भव नहुन पनि सक्छ । तर, उनको आशय त प्रस्ट छ— म्याराथन दौडिन सजिलो छैन । दौडिहाले पनि मुखमा काँचो रगतको स्वाद आइरहन्छ । यो म्याराथन गाह्रो भएर नै हो ।

सबैभन्दा पहिले पुरानै कुरा । इसापूर्व ४ सय ९० मा ग्रिस र पर्सियाबीच ‘म्याराथन’ भन्ने स्थानमा युद्ध चलिरहेको थियो । त्यसमा विजयी रह्यो– ग्रिस । त्यो समाचार सुनाउने जिम्मा पाए, एक सैनिकले । ती सैनिक युद्ध स्थलबाट दौडेर एथेन्स पुगे । आफ्नो देश जितेको समाचार सुनाए । अनि त्यहीं ढले । फेरि कहिले पनि उठेनन् । त्यति बेला उनले ४० किलोमिटर जतिको दूरी दौडेर पूरा गरेका थिए । युद्धमा जितको समाचार सुनेर जहाँ ग्रिसवासीको खुसीको सीमा रहेन, त्यहीं ती सैनिकको बहादुरीसामु पनि सबै नतमस्तक भए ।

त्यसैले सन् १८९६ मा जति बेला ग्रिसको एथेन्सले पहिलो आधुनिक ओलम्पिक्सको आयोजना गर्‍यो, त्यसमा यस्तै दौड सामेल गरियो र त्यसको नाम राखियो— म्याराथन । त्यसो त ती बहादुर सैनिकको कथा धेरैपछि मात्र बुनिएको भन्ने पनि छन् । तर त्यही कथामा टिकेर म्याराथनको आयोजना भएको भए पनि यो विश्व खेलकुदको सबैभन्दा बढी चर्चामा आउने स्पर्धा रहेको छ । एथलेटिक्सको प्रतियोगिता हुनुपर्छ— म्याराथन छुट्दैन भन्दा हुन्छ ।

पहिलो आधुनिक ओलम्पिक्सको पहिलो विजेता रहे, ग्रिसकै स्पाइरिडन लुइस । पेसाले भेडा गोठाला उनी पूर्वसैनिक थिए । म्याराथनमा स्वर्ण के जिते, उनी पूरा देशकै नायक बने । उनले त्यो दौड दुई घण्टा ५८ मिनेट जत्तिको समयमा पूरा गरे । त्यही दौडमा एक ग्रिक महिला पनि सहभागी भएकी थिइन् तर उनलाई औपचारिक रूपमा समावेश गरिएको भने थिएन । दौडचाहिँ उनले पनि पूरा गरेकी थिइन् । जति बेला उनको दौड पूरा भएको थियो, समयले एक दिन छोइसकेको थियो ।

म्याराथनसँग जोडिएको इतिहास पल्टाउनुपर्छ, यस्तो मज्जाका कथा धेरै पाइन्छ । अनि यस्तै कथाबीच प्रायः सोधिने प्रश्न हो, मानिसले कति समय सीमाभित्र यो दौड पूरा गर्न सक्छन् ? अथवाको मानिसको म्याराथन दौडिने सीमा कुन विन्दुमा गएर रोकिनेछ त ? धेरै होइन, केही वर्षअगाडि मात्र खेलकुदमा अनुसन्धान गरिरहेका केही वैज्ञानिकको समूहले दाबी गरेको थियो— मानिसले कहिले पनि ४२.१५ किलोमिटरको दौड दुई घण्टाभन्दा कम समयमा सकाउन सक्ने छैनन् । केन्याली धावक इजियुड किपचोगेले हालै मात्र ती वैज्ञानिकको दाबीलाई गलत सावित गरिदिएका छन् । अस्ट्रियाको भियनामा आयोजना भएको विशेष म्याराथन दौड उनले पहिलोपल्ट दुई घण्टा कम समयमा पूरा गरे । ठ्याक्कै निस्केको समय थियो, १ घण्टा ५९ मिनेट र ४०.२ सेकेन्ड । यस क्रममा उनी म्याराथन दुई घण्टाभन्दा कम समयमा पूरा गर्ने पहिलो मानव बने । दुई वर्षअगाडि इटालीमा पनि उनले यस्तै प्रयास गरेका थिए तर सकेनन् ।

सन् २०१७ को त्यो प्रयासमा उनले दौड २ घण्टा ०० मिनेट २५ सेकेन्डमा पूरा गरेका थिए । त्यसो त अहिलेको समयलाई औचापरिक विश्व कीर्तिमानका रूपमा मानिने छैन् । यो कुनै आधिकारिक म्याराथन दौड होइन । तर पनि यसको विश्व खेलकुदमा भने ठूलो महत्त्व हुनेछ । यिनै किपचोगेकै भाषामा भन्दा मावन इतिहासमै चन्द्रमामा मानिसले टेकेको पहिलो पाइलाले जे अर्थ राख्छ, दुई घण्टाभन्दा कम समयमा म्याराथन दौडिने पनि त्यस्तै हो, विश्व खेलकुदका लागि ।

म्याराथनकौ औपचारिक विश्व कीर्तिमान पनि किपचोगेकै नाममा छ । उनले सन् २०१८ को बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका थिए । यसपल्ट भियना पार्कमा आयोजना गरिएको दौड भने खालि मानिसले म्याराथन दुई घण्टाभन्दा कम समयमै पूरा गर्न सक्छ भनेर देखाउने नै हो । यसका लागि अरू विशेष खाले व्यवस्था पनि गरिएको थियो । जस्तो किपचोगेको पछाडि पछाडि ४१ खेलाडीले पनि दौड लगाएका थिए ।

तिनलाई ‘पेस मेकर्स’ को भूमिका दिइएको थियो । यसमा पनि नामी धावकहरूकै बाहुल्य थियो । उनीहरूको काम नै थियो, किपचोगेको गतिमा कमी आउन नदिने । अझ भन्दा उनीहरूले एक प्रकारले किचचोगेलाई पछ्याइरहेका थिए, उनी आफैं भने उनीहरूबाट भागिरहेका थिए । दौड पूरा गरेलगत्तै उनले भनेका शब्दले पनि खास अर्थ राख्छ । उनको भनाइ थियो, ‘म दुई घण्टाभन्दा कम समयमा म्याराथन दौडिने पहिलो धावक बनें । खासमा म अरू धेरैका लागि प्रेरणा हुन चाहन्छु । मानिसको प्रदर्शनको कुनै सीमा छैन ।’

पूरा दौडका क्रममा उनले प्रत्येक २ मिनेट ५० सेकेन्डमा एक किलोमिटर पूरा गरे । दौडको बीचमा पुग्दा उनी आफ्नो लक्ष्यभन्दा ११ सेकेन्डले अगाडि रहिसकेका थिए, त्यसैले यसपल्ट कीर्तिमान बन्ने लगभग तयजस्तै भइसकेको थियो । उनले कीर्तिमान समयमा दौड पूरा गर्नुपछाडि केही ठोस कारण पनि थिए । कीर्तिमान समय निकाल्न भनेर नै दौडमा धेरै मोड राखिएको थिएन । अधिकांश समय किपचोगेले सीधा दौडिने मौका पाए, त्यो पनि हावाको बहाव कम भएको स्थितिमा ।

कसरी दुई घण्टाभन्दा कम समय निकाल्ने हो भनेर पूरा योजना बनाइएको थियो । अझ भनौं इन्च–इन्चको हिसाब तयार पारिएको थियो । दौडिने क्रममा उनी घाइते नहुन् भनेर पनि उत्तिकै सजगता अपनाइएको थियो । जे होस, यी सबै पृष्ठभूमिका बाबजुद किपचोगेको यो प्रदर्शन वास्तवमै ऐतिहासिक छ । अचेल उनी मात्र होइनन्, अरू केही धावक पनि दुई घण्टा १ मिनेटको हाराहारीमा औपचारिक म्याराथनमै दौडिने भइसके ।

जस्तो गत महिना मात्र बर्लिन म्याराथनमै इथियोपियाका केनेनिसा बेकेलेले २ घण्टा १ मिनेट ४१ सेकेन्डको समय निकाले । अब त्यो दिन धेरै टाढा छैन, जति बेला मान्यता प्राप्त दौडमै दुई घण्टा कम समयको प्रदर्शन निस्कनेछ । ‘मलाई पूरा विश्वास छ, मेरो यो दौडले अरू धेरै धावकलाई कीर्तिमान समय छुन प्रेरित गर्नेछ,’ उनको निचोड छ । हुन पनि खेलकुद नै त्यस्तो माध्यम हो, जसले मानिसको सीमा तोक्छ तर मानिस त्यही सीमा तोड्न जिद्दी देखाउँछ । अनि सफल पनि हुन्छ ।
twitter : @himeshratna

प्रकाशित : कार्तिक २, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?